SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » त्याग र समर्पणका अग्ला स्तम्भ कृष्णप्रकाश श्रेष्ठ
निबन्ध

त्याग र समर्पणका अग्ला स्तम्भ कृष्णप्रकाश श्रेष्ठ

Sahitya SagarBy Sahitya SagarDecember 5, 2021No Comments22 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email
  • निबन्ध
डा. गोविन्दराज भट्टराई नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनको कलम सिर्जना र समीक्षाका दुवै क्षेत्रमा निकै सशक्त ढङ्गले चलेको छ । उनको परिचय देवकोटा विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको रुसमा रहेर नेपाली साहित्यको अनुवाद र विकासमा समर्पित प्रतिभा कृष्णप्रकाश श्रेष्ठको स्मृतिमा आधारित छ । यस लेखले श्रेष्ठका विविध पक्षलाई बाहिर ल्याउन सकेको छ ।

-सम्पा.

 

कृष्णप्रकाश श्रेष्ठको परिचय सन्दर्भ र मूल योगदान
उहाँका सुरुका वर्षहरू रुसी साम्यवादी साहित्यको प्रचार सामाग्री अनुवादमा समर्पित देखियो । १९९० को परिवर्तनपछि उहाँका कर्ममा केही विचलन र परिवर्तन पनि आए । तर उहाँको ठुलो योगदान भनेको रुसी-नेपाली बिचका साहित्यको आपसी अनुवाद नै रह्यो । मौलिक कृति त्यति धेरै छैनन् ।

उहाँको चेतना र गहिराईले गरेका आजसम्मका कर्महरू हेर्दा नेपाली साहित्यमा पाँच विधामा उहाँको त्याग र समर्पणको मूल्याङ्कन र प्रशंसा हुनुपर्छ जस्तो लाग्छ । प्रत्येक विधामा एक एक शोधग्रन्थ तयार हुन सक्छ-

क) कोशकार कृष्णप्रकाश श्रेष्ठ
ख) साहित्य अनुवादक कृष्णप्रकाश श्रेष्ठ
ग) संस्कृतिबेत्ता कृष्णप्रकाश श्रेष्ठ
घ) समालोचक कृष्णप्रकाश श्रेष्ठ, र
ङ) नेपाल विद्याका संस्थापक कृष्णप्रकाश श्रेष्ठ

प्रत्येक दृष्टिले उहाँमाथि निचोड निकाल्न ता पूर्णकालिक र स्वतन्त्र अध्ययनको आवश्यकता पर्दछ । जुन आजको उद्देश्य होइन । यत्ति रूपरेखा कोर्ने मात्रै ।

म (घ)बाट एउटा दृष्टान्त दिन चाहन्छु- कृष्णप्रकाश श्रेष्ठको नेपाली समालोचक र समालोचना शीर्षक कृति २०५७ सालमा प्रकाशित भयो । म पनि समालोचना भित्र पस्ने रहरको गोरेटोमा थिएँ । त्यसैले बजारमा आउनासाथ किनेर ल्याएँ । २१ वर्षअघिको कुरा हो- ३०० पृष्ठको पुस्तकलाई रु २३३ मूल्य थियो । साझा प्रकाशनको आफ्नै ब्राण्ड, टेकवीर मुखियाको अमूर्त कलाले आवरण सजिएको ।

यस कृतिमा उहाँले ठहर गरेका एकासीजना साहित्यकारलाई चयन गरी तिनीहरूको समालोचकीय योगदानमाथि प्रकाश पार्नुभएको रहेछ । ती समालोचक चार खण्डमा विभाजित छन्, जस्तै-

साहित्य स्रष्टा समालोचक_ मोतिराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा ।
इतिहासबेत्ता समालोचक_ बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, बालचन्द्र शर्मा ।
परम्परावादी समालोचक_ सोमनाथ सिग्द्याल, चूडानाथ भट्टराय, रत्नध्वज जोशी, पारशमणि प्रधान ।
समन्वयवादी समालोचक_ यदुनाथ खनाल, रामकृष्ण शर्मा, ईश्वर बराल, वासुदेव त्रिपाठी, अभि सुवेदी, इन्द्रबहादुर राई ।
प्रगतिवादी समालोचक_ हृदयचन्द्रसिंह प्रधान, श्यामप्रसाद शर्मा, डीपी अधिकारी, ताना शर्मा, कृष्णचन्द्र सिंह प्रधान ।

यो एक अमूल्य ग्रन्थ हो । नेपाली साहित्यका अध्येताले यसबाट एक नवीन दृष्टिकोण प्राप्त गर्दछन् ।
यो कृति नेपाली साहित्यका अध्येताको निमित्त एक अपरिहार्य उपहार हो । कृष्णप्रकाशको दृष्टिकोण अत्यन्तै मौलिक र भिन्न भएकाले यो वर्गीकरण कसैकासित मिल्दैन । अनि यसले पाठकलाई एक नवीनतम निष्पक्ष दृष्टिकोण प्रदान गर्दछ ।
उहाँको अध्ययनविधि अत्यन्तै गहिरो र निष्पक्ष छ । नत्र यी नेपाली समालोचनाका शिखरहरूबारे यति बोल्न सकिने थिएन । बिच बिचका उद्धरण आदि र अन्त्यमा राखिएका २० पृष्ठ सन्दर्भ सूची देख्ता सामान्य पाठकलाई लाग्ने आश्चर्यको अनुमान गर्न सकिन्छ ।

यो कृति २०६२ मा दोस्रो संस्करण पनि निस्कियो । तर अर्का आएको छैन । त्यस यता साझा प्रकाशनै धराशायी छ । जसले सत्ता चलायो उसैले पार्टिपूजकका कृति छाप्यो, खायो । साझामा त्यति एउटा नियम बसेकोमा ढुक्क लाग्दछ ।

अन्त्यमा कृष्णप्रकाश श्रेष्ठज्यूको देहावसानले विश्व नेपाली साहित्यमा एक ठुलो रिक्तता उत्पन्न गर्‍यो । एउटा लामो जीवन सम्पूर्णरूपले भाषा, संस्कृति र साहित्य चिन्तन साहित्य चिन्तनमै अर्पिनु सानो कुरा होइन ।

त्यसको केही समयपश्चात् सन् २०२१ लागेपछि मलाई एकदिन तीनवटा पीडिएफ फाइल पठाएर अग्रज कृष्णप्रकाश श्रेष्ठले तलको भाषा लेख्नुभयो ।

खोलेर हेरेँ, फाइल नं. १ मा दुई राजधानी मस्को_ काठमाडौँ नामको कृतिको फाइनल रहेछ, पृष्ठ संख्या २५६
फाइल नं. २ मा आठ पृष्ठको आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोहप्रति समर्पित नेपाली र रुसी भाषामा प्रकाशित पुस्तकहरू शीर्षक पुस्तिका

फाइन नं. ३ मा दुई राजधानीः मस्को काठमाडौँ शीर्षक पुस्तकको रङ्गीन गाता ।
त्यसको तीन महिना नपुगी (मार्च २९ को दिन) उहाँको देहान्त भयो । उक्त द्वैभाषिक कृति (रुसी-नेपाली) दुई राजधानी मस्को-काठमाडौँ प्रकाशित भयो भएन, थाहा पाएको छैन ।
उक्त कृतिमा साहित्यका चुनिएका रचनाको रुसी भाषामा अनुवादसमेत रहेको छ । पहिलो खण्ड निम्नानुसार छ_

भालेरी गालेच्यान_ परियोजना दुई राजधानी
कृष्णप्रकाश श्रेष्ठ_ एउटै बट्टामा दुई राजधानी
१. कृष्णप्रकाश श्रेष्ठ_ काठमाडौँको आत्मकथा (लेख)
२. दिनेश अधिकारी_ काठमाडौँ, खामभित्र प्रतिक्रिया(कविता)
३. चन्द्रकान्त आचार्य_ काठमाडौँमा एकदिन(लेख)
४. प्रभा आचार्य_ पहिले सुनसानको फाइदा अहिले भीडको आड
५. बानीरा गिरी_ धरहरा बाक्लो कुहिरोको खाष्टोभित्र (कविता)
६. अशेष मल्ल_ काठमाडौँ(कविता)
७. जीवा लामिछाने _ त्यो काठमाडौँ यो काठमाडौँ
८. विक्रम सुब्बा_ दुई किनारा
९. बालगोपाल श्रेष्ठ_ यो काठमाडौँ
१०. तेजप्रकाश श्रेष्ठ_ छक्क परिरहित द्यः मैजू

खण्ड_ दुई
१. ल्युदमिला भ्याज्मितिनोभा _ मेरो राजधानी अति प्यारो (लेख)
२. भासिली गालेच्यान_ इतिहासको रहस्य
३. ताच्याना भिनोदाग्रोभा_ पुरानो घरको सपना
४. उमुत कोमेल्बेकोभा_ सूर्यास्तपूर्वको अन्तिम घडी
५. नेन्ली कोपेइकिना_ झझल्को
६. भ्लादिस्लाभ लारिन_ दुई जना गोगोल
७. अलेक्सान्द्र लाजोभोइ_ बिरामीहरू
८. ताच्याना मिखाइलोभ्स्काया_हिमाच्छादित मस्को
९. आन्द्रेइ त्सुकानोभ _ मस्कोमा
१०. लरिशा चेर्कासिना_ पुश्किनेली मस्कोको सम्झना

भालेरी मालेच्यान र कृष्णप्रकाश श्रेष्ठ मिलेर रुसी र नेपालीको रचना सङ्कलन गरी रुसीलाई नेपालीमा र नेपालीलाई रुसीमा अनुवाद गर्ने काम उनै कृष्णप्रकाश श्रेष्ठको थियो ।

रुसमा नेपाली साहित्य अभिलेख सन्दर्भ
गतवर्ष अक्टोबर ११, २०२० का दिन कृष्णप्रकाश श्रेष्ठसित मैले गरेको इमेल संवाद अन्तिम रहेछ । त्यो दिन एउटा महत्वपूर्ण कर्मको बिट मार्ने दिन थियो । त्यो थियो_ जगदम्बा बृहत् नेपाली साहित्यको इतिहासका अंशहरूमाथि यसका लेखकहरूको अन्तिम स्वीकृति लिने प्रसङ्ग । अर्थात् ‘तपाईंको लेखमा कुनै प्रकारका भूल, त्रुटि छन् कि थपघट संशोधन बाँकी छन् कि हेरिदिनु होला, बाँधेर प्रेस पठाउने वेला भयो’ भनी यसका ८० जना लेखकलाई गर्ने अनुरोध थियो ।

प्रा. डा. माधव पोख्रेल त्यस परियोजनाका स्वप्नद्रष्टा, उहाँले नेपाली भाषा-साहित्यको इन्साइक्लोपिडिया (विश्वकोश) बनाउन थालौँ भनी राखेको प्रस्ताव एक दशकअघि कमल दीक्षितले स्वीकृत गर्नुभएको थियो । प्रस्तावअनुसार उन्नत भाषामा आफ्ना वाङ्मयका विविध पक्ष समेटेर विश्वकोश निर्माण गरिएका हुन्छन् । नेपाली भाषा साहित्यमा त्यो नभएर हामी पछि पर्‍यौँ जस्तो लाग्छ । यसको लागि हाललाई पाँच भोल्युम ग्रन्थ बनाउने, दुई वर्षमा लेखाउने, पाँच वर्षमा छपाइसक्ने भन्ने प्रस्तावना थियो ।
आफ्नो सम्पूर्ण सचेत जीवन नेपाली वाङ्मयमै अर्पण गर्ने, क.दी.ले त्यो कुरा स्वीकार गर्नुभयो । यसको नाम जगदम्बा बृहत नेपाली साहित्यको इतिहास (जनेवृइ) राख्ने सल्लाह भयो । अनि एउटा दलको निर्माण भयो । प्रधान सम्पादक/संयोजक प्रा. डा. माधव पोख्रेल हुनुभयो । प्रा. चूडामणि बन्धु, प्रा. दयाराम श्रेष्ठ जस्ता विशिष्ट विद्वान् समेतको टीममा हामी धेरै जना बाँधियौँ ।

मैले चाहिँ डायास्पोरिक नेपाली साहित्यको इतिहासको सङ्कलन र सम्पादनको जिम्मा प्राप्त गरेको थिएँ । तर नेपाल र भारतका विद्वान्मध्ये ज्ञानको नवीनतम हाँगो डायास्पोरा स्टडिजबारे ज्ञान भएको, रुचि राख्ने वा जानकारी राख्ने चिनिएको कोही थिएन । त्यसकारण डायास्पोरा शब्द सुन्नासाथ कतिपय भारतीय नेपालीहरू अस्वीकृति जनाउँछन् । कोही हाम्रो यो आफ्नै भूमि भन्छन्, कोही सयौँ वर्षदेखि हामीले निर्माण गरेको भन्छन्, कोही यहूदी बोधक शब्द हो भन्छन् । तर उनीहरूको परिचय ता दुईतिर टाँगिएकै छ, चिनाउन ‘भारतीय-नेपाली’ भन्नु पर्छ । त्यसो भएर नै भाषाको लागि लड्नु पर्‍यो । बास र पहिचानको लागि कति ठाउँमा अवसर र अस्तित्वको लागि कति ठाउँमा । उच्छेदन प्रयत्न कति ठाउँमा, बहिरागतको आरोप कति ठाउँमा । यसपालिलाई ‘डायास्पोरा’ हामीले भनेनौँ बुझेर भारतीय-नेपाली मित्रहरूले पछि आफैँ जे निर्णय गर्छन्, गरुन् ।

त्यसैले गुरुहरूले भन्नु भो नेपाल बाहिरको नेपाली साहित्य नाम राखौँ । त्यसो भने पनि त्यो समकालीन अर्थमा एक सिङ्गो शब्दमा ‘डायास्पोरिक नेपाली साहित्य’ नै हो । यता मूलभूमि

(मेनल्याण्ड) विषयका चार ठेली हुने भए र डायास्पोराहरूको एउटा ठेली । यसरी नेपाली जाति नेपाल बाहिर पनि स्थापित हुँदैछ भन्ने प्रमाणको नेपाली विद्वान्ले गरेको यो पहिलो दस्तावेज थियो ।

बाह्र सय पृष्ठको पहिलो ठेली छापिएर आइसकेको अवस्थामा दोस्रो प्रेस पुग्दै थियो । तेस्रोमा पर्ने डायास्पोरा खण्ड पनि तत्पर थियो जसभित्र क्रमशः नजिकदेखि टाढाका भूमिमा फैलेका नेपालीका नयाँ बस्तीका बयान छन् अर्थात् त्यहाँ नेपाली भाषा साहित्यको धुकधुकी कसरी चल्दैछ भन्ने विषयका चिन्ता छन् ।

कमिटिसँग सल्लाहको आधारमा मैले समेट्ने कुराहरूमा १. भूटान, २. बर्मा, ३. मलेसिया४. हङकङ, ५ दक्षिण कोरिया, ६. इजरायल, ७. रुस ८. युरोप ९. बेलायत १० अस्ट्रेलिया, अनि ११. अमेरिकाको भाग लगायौँ । यसबाहेक अफ्रिका, जापान, खाडी मुलुकका साहित्य सूचना दिने लेखक पनि सक्रिय थिए तर विश्वमहाव्याधि उत्पन्न भएपछि हामी सबैको धैर्य र आँट पनि खल्बलियो । थप्ने पछि थपौँला; यसपालि यत्तिमै रोकौँ भनेर बिस्तार रोकियो ।

अरू खण्डका लेखकको कुरा पछि आउला तर रसियामा नेपाली साहित्यको इतिहासका लेखक श्री कृष्णप्रकाश श्रेष्ठ हुनुहुन्थ्यो । उहाँसित मेरो हार्दिक सम्बन्ध भएकाले र रुसी नेपालीका एक आधिकारिक ज्ञाता उहाँ नै हुनुहुन्छ भन्ने कुरा अवगत भएरै मैले अनुरोध गरेको थिएँ । उहाँले परियोजनाको बिट मार्ने उद्देश्यले प्रा. माधवसरको सल्लाहले (अक्टोबर ११, २०२० का दिन) मैले यति लेखेँ_

आदरणीय अग्रज
हार्दिक नमस्कार
अनेक सम्झना

बल्ल यो कर्म फाइनल बनाएर प्रेसमा पुर्‍याउनुभयो माधव सरले एकपल्ट आफ्नो खण्डमा दृष्टि लगाउनुहोला । केही भए माधव सरलाई सूचित गर्नुहोला । समय धेरै छैन, तीनचार दिन !

विश्वस्त गोविन्द
त्यसपछि कृष्णप्रकाश श्रेष्ठलाई सबै मुलुकको नेपाली साहित्यको इतिहाससमेतको खण्ड पीडिएफ पठाएँ । अरूको हेर्नलाई मात्रै । उहाँको रुसको भागमा उहाँले टाइप गरी पठाएका फुल्स्केप साइजका सोह्र पेज थिए । यो लेख एक ऐतिहासिक वृत्तान्तको झलक थियो । उहाँ आफैँ पचास वर्ष अघिदेखिको रुसी-नेपालीको आत्मा थाहा पाउने स्रष्टा । पढ्न त्यहाँ पुगेका विद्यार्थीले मुखपत्रहरूबाट आरम्भ गरेको नेपाली भाषा साहित्य, गर्दागर्दै कहाँ पुग्यो त्यसको एक झलक बोकेको त्यो लेख सूचनामूलक थियो । सोही लेख यहाँ पनि साभार गर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । तर ठुलो ग्रन्थ प्रेसमा गइसक्यो, त्यसैमा आइहाल्नेछ भन्ने पनि लाग्छ ।

उहाँसित मेरो परिचय

अनि म सम्झिन थालेँ कहिलेदेखि मैले कृष्णप्रकाश श्रेष्ठलाई साहित्यिक रूपले चिन्न थालेँछु भन्दाहुँदी अघि २०३६ मा रहेछ । उहाँको स्थान नामकोशमा देखेँ । अङ्ग्रेजीमा अक्स्फोर्ड र क्याम्ब्रिजका डिक्सनरी अव् प्लेसनेम्ज किनेर प्रयोग गर्नु पर्थ्यो । नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले छापेको कृष्णप्रकाशको स्थान नामकोश ग्रन्थ देख्ता मलाई आश्चर्य र हर्ष लाग्यो । नेपालीमा पनि प्लेस नेम डिक्सनरी हुनेरहेछ भनेर लागेको खुसी । पछि झापाका हरिभक्त खत्रीको पनि आयो तर कृष्ण दाइको प्रथम थियो । जम्मा १७९ वटा कृति सन्दर्भ स्रोत प्रयोग गरी तयार पारिएको ग्रन्थ एक अमूल्य उपहार थियो । रुसी वाङ्मय बुझेका कृष्णप्रकाशको यो प्रथम प्रयासलाई बुझेर प्रकाशित गरिदिने संसार देखेका व्यक्ति (कुलपति) लैनसिंह वाङ्देल हुनुहुन्थ्यो । त्यसबाट उहाँलाई चिनेँ ।

नत्र मैले रुसमा रहेका नेपाली विद्वान् भनेर सन् २००९ को मात्र चिनेको थिएँ ।

एकदिन मस्कोका उद्यमी र स्रष्टा भाइ जीवा लामिछानेले डा. धु्रवचन्द्र गौतम र मलाई एक साहित्यिक यात्रामा बोलाए । २००९ को मे महिनामा हामी तीन हप्ता जति मस्कोमा बस्यौँ । यहाँका साहित्यिक कार्यक्रममा भाग लियौँ, यात्रा गर्‍यौँ । अनेक नेपाली सज्जनसित भेट भयो । त्यहाँका ऐतिहासिक कुरा अवलोकन गर्‍यो, आफ्ना कुरा सुनायौँ ।

तीमध्ये आधि समय कृष्णप्रकाश श्रेष्ठ हामीसितै हुनुहुन्थ्यो_ नेपाली दूतावासमा, त्यहाँको साहित्यकला एकेडेमीको कार्यक्रममा, यास्नाया पोल्याना (टोलस्टोयको जन्मघर)को भ्रमणमा अनि लेनिनग्रादको चारदिने भ्रमणमा । धेरै जसो रुसी मूलकी भाउजू पनि सँगै रहनुहुन्थ्यो । पिटर्सबर्गको यात्रा आइजाई रेलमा कम्ती रमाइलो थिएन ।

त्यहाँदेखि मैले अग्रज कृष्णप्रकाश श्रेष्ठलाई कहिल्यै छोडिनँ । उहाँ भाषासेवी, समालोचक, स्रष्टा तर सर्वाधिक चाहिँ नेपाल देशप्रेमी व्यक्ति । नेपाली वाङ्मयलाई कसरी रुसीमा चिनाउनु, रुसी प्रतिभा र कर्मलाई कसरी नेपालीमा ल्याउनु _ उहाँको जीवनभरिको तपस्या यही मात्र थियो भन्नु जस्तो ।

उहाँले त्यही दिन (नववर्षको उपहार भनी) मलाई पठाउनुभएको तेस्रो सामाग्री थियो_ आदिकवि भानुभक्त द्विशतावार्षिकी समारोहप्रति समर्पित नेपाली र रुसी भाषामा प्रकाशित पुस्तकहरू शीर्षक पुस्तिका । रुस महासङ्घद्वारा प्रकाशित सो पुस्तिकामा निम्न पुस्तकको संक्षिप्त परिचय प्रस्तुत छ_

१) भानुभक्त आचार्य_ लोकको गरुँ हित भनी (फुटकर कविता र काव्यांश समेत)
२) लक्ष्मी प्रसाद देवकोटा_सुनको बिहान (बाल कविता)
३) इगोर एलिसेराभ_स्वर्गद्वारीको पूल
४) विष्णुबहादुर सिंहकृत_ कविताको रङ
५) रुसमा नेपालको विम्ब(प्राज्ञिक लेखसङ्ग्रह)
६) हिन्दूअधिराज्यबाट धर्म निरपेक्ष गणतन्त्रतिर
७) काव्यमय नेपाल (कवितासङ्ग्रह)
८) कृष्णप्रकाश श्रेष्ठको सृष्टि वर्णन
९) पुस्किनका कृतिको छन्दोबद्ध अनुवाद_ रुसाल्का
१०) गोनु झा, कथा कथुङ्ग्री (मैथिलीबाट रुसी अनुवाद)
११) नेपाली वाङ्मयका भानु (सङ्कलन)
१२)स्रष्टा र साहित्य(उत्तम कुँवरको)
१३) नेपाली कविता कुञ्ज
१४) नेपाली साहित्य संगम (आख्यान र कविता)
१५)नेपाली साहित्य संगम (४९ नेपाली र नेवारी कविता)

यो प्रत्येक कर्ममा कृष्णप्रकाश श्रेष्ठको उपस्थिति अनिवार्य देखिन्छ । रुसीबाट नेपाली अनुवाद गर्न होस् अथवा अन्य भाषाबाट रुसीमा लान । यी प्रत्येक जसो कृतिमा कृष्णप्रकाश श्रेष्ठ, रुसी अनुवादक मित्रहरू, कृष्णप्रकाशका भाइ तेजप्रकाश श्रेष्ठ जोडिएका हुन्छन् । यी प्रत्येकमा विश्व नेपाली साहित्य महासङ्घ, रुस शाखा रुस नेपाल विद्या केन्द्र पनि जोडिएका छन् । नेपाल बाहिरका कुनै देशमा (भारतबाहेक) बस्ने नेपालीले नेपाली भाषा साहित्यलाई यसरी त्यो देशमा वा त्यो देशका भाषामा रसाएको भिजाएको उदाहरण छैन । बेलायत, अमेरिकामा शक्तिशाली नेपाली पुगेका छन् तर यस्तो कर्म अलिकति पनि देखिँदैन । कृष्णप्रकाश त्यहीँ बसेर भिजेर त्यो भाषा पनि आफ्नो बनाएर त्यहीँ अनुवादक रेडियोकर्मी भई दशकौँ बिताएर त्यहाँको संस्कृतिसित पनि एकाकार भएकाले उहाँ एक सर्वोच्च स्थानको अभभिावक जस्तो हुनुभयो र यो उचाइ प्राप्त गर्नुभयो । यस्ता अमर कर्म गर्न सक्नुभयो ।

यताका डेढ दशकमा मैले तीनचारवटा परियोजनाको संयोजक बन्ने मौका प्राप्त गरेको थिएँ । ती थिए_
क) बीपी कोइराला जन्म शताब्दीको अवसरमा नेपाली लेखक सङ्घको उपाध्यक्ष तथा बीपी कोइराला शतावार्षिकी समितिका तर्फबाट अन्तर्राष्ट्रिय साहित्यिक. प्रमुख संयोजक ।
ख) अनुवाद सन्दर्भ ग्रन्थको प्रधान सम्पादक
ग) जगदम्बा बृहत् नेपाली साहित्यको बृहत् इतिहासअन्तर्गत नेपाल बाहिरको नेपाली साहित्यको सम्पादक।
यी चारकर्मको क्रममा तीनैपल्ट उहाँलाई अनुरोध गरेँ, उहाँले तीनैपल्ट मलाई सहयोग गर्नुभयो । अर्थात् ती प्रत्येक ग्रन्थमा आवश्यक लेख, रचना, सूचना जे हो उपलब्ध गराउँदै सहयोग गरिरहनुभयो।

२०७० भाद्रमा बीपी शताब्दी आरम्भ गरियो । यो बीपी साहित्य पुनर्जागरण वर्ष थियो । देश विदेशमा हुने कार्यक्रममा हामीले वर्षभरि बीपी साहित्यको चर्चा प्रचार विश्लेषण गर्‍यौँ । नेपालमा यसको अगुवा संस्था नेपाली लेखक सङ्घ थियो । एकवर्ष पछि वर्षभरिका पत्रपत्रिकामा प्रकाशित रचना आलेख कार्यपत्र आदि जोडेर लेखक नामक पत्रिकामा प्रकाशित गर्ने निर्णय भएपछि प्रधानसम्पादकको नाताले मैले कृष्णप्रकाश श्रेष्ठज्यूलाई एउटा लेख, रचना, संस्मरण कुनै कुरा उपलब्ध गराउन सक्नुहुन्थ्यो कि भनी अनुरोध गरेँ।

उहाँले मेरो स्मृतिमा भएको पुरानो कुरा छ, त्यो पठाइदिन्छु भन्नु भो र केही दिनमै मेरो स्मृतिपटलमा विश्वेश्वरप्रसाद कोइराला शीर्षक एक रचना पठाइदिनु भो । साढे तीनसय पृष्ठको ग्रन्थमा उहाँको लेख एक अविस्मरणीय उपलब्धी रहेको छ । त्यो प्रकाशन २०७२ मा सार्वजनिक भयो ।

त्यसपछि २०७३ सालदेखि म अर्को गम्भीर कर्ममा लागेँ । कर्म त नेपाल एकेडेमीको थियो तर आफू अनुवादकको विद्यार्थी भएकाले मनमा केही ता गरौँ भन्ने हुटहुटी थियो, टुङ्गो थिएन । विगतका दुई दशकमा अनुवाद विषयमा केही ऐतिहासिक कर्मको थालनी ता भइसकेको यसरी :

क) त्रिभुवन विश्वविद्यालयको एम.ए कार्यक्रममा अनुवाद विषयको पाठ्यक्रम लागू भयो ।
ख) नेपाल प्रज्ञा-प्रतिष्ठान अन्तर्गत अनुवाद विभागको पनि स्थापना भयो ।
ग) अनुवाद ग्रन्थ सूची भन्ने पुस्तक प्रकाशित भयो ।

प्राज्ञ माधवलाल कर्माचार्यको पालामा नेपाल प्रज्ञा-पतिष्ठानले प्रकाशित गरेको सो अनुवाद ग्रन्थ सूची(२०५९)ले नेपाली साहित्यको आरम्भदेखि कति कृति अन्य भाषाबाट नेपालीमा आए, कति कृति अन्य भाषामा गए भन्ने विवरण प्रस्तुत गर्दछ । यो एक ऐतिहासिक कर्म थियो ।

तर यसले नेपाली वाङ्मयमा समर्पित अनुवादक को को हुन्, कति पुगे भन्ने तथ्याङ्क दिँदैन । अनुवाद विषयको अध्ययन आरम्भ, अनुसन्धान आरम्भ यस्तै कुराको ज्ञान मात्र हुन्छ । माध्यमिक कालको नेपाली साहित्यको प्राण अनुवादै थियो । त्यहाँदेखि यता दिनानुदिन अनुवादक र अनुवादको मात्रा थपिँदै छ तर अुनवादकहरू गुमनाम छन्, उनीहरूको नाम इतिहासका पानामा मेटिँदै छ । यद्यपि बीसौँ शताब्दीमा आएर अनुवादकको मान्यता र महत्त्व पनि सम्पन्न भाषाहरूमा भने स्रष्टाको सरह उठेको छ । त्यसर्थ यो कर्म नै अधिक महत्त्वको होला सम्झेर एकेडेमीलाई सम्झाएँ अनि एउटा प्रोजेक्ट चल्ने भयो ।

यसको लागि पुराना सूचना संगेटतै दुई पल्ट आसामको यात्रामा निस्केँ । त्यहाँका मुक्ति बरालज्यूले एउटा यात्राको व्यवस्था मिलाउनु भो । अन्त्यमा सबै जोडेर एउटा ग्रन्थ तयार पारेँ, २०७५ सालमा एकेडेमीले अनुवादक परिचय कोश निकाल्यो । मैले सम्पादन गरेँ जसमा ७२० जना अनुवादक समावेश छन् । त्यहाँ २०० वर्षका नेपाली अनुवादक खोज्दा ७२० जना वाङ्मयमसेवी भेला भए । त्यसको क्राइटेरिया थियो_ दुईमध्ये एक भाषा (प्रापक होस् वा लक्ष्य भाषा) नेपाली हुनुपर्ने थियो । अझै कति छुटे होलान् तर यस प्रथम अनुसन्धानले अलिकति रूपरेखा अवश्य बसाल्यो ।

तीमध्ये रुसी-नेपाली साहित्यका एक स्रोत हुनुहुन्छ कृष्ण प्रकाश श्रेष्ठ । उक्त ग्रन्थमा परेका कृष्णप्रकाश श्रेष्ठको अनुवादक परिचय यस प्रकार छ_

‘काठमाडौँ चुनिखेलमा सन् १९३८ मा जन्मेका कृष्णप्रकाश श्रेष्ठले रुसबाट पत्रकारितामा एमए गरेका छन् । उनले विगत ५० वर्षदेखि रुसलाई कर्मथलो बनाउँदै आएका छन् । उनी नेपाली र रुसी भाषा संस्कृतिबिचको एक अतुलनीय साँघु हुन् । श्रेष्ठ एक वरिष्ठ अनुवादक, सम्पादक, समालोचक, नृतत्वशास्त्री विद्वान् हुन् । उनले रेडियो मस्कोमा नेपाली कार्यक्रम सञ्चालक, अनुवादक तथा सम्वाददाता भएर लामो समयसम्म कार्य गरे । उनी बहुकृतिक स्रष्टा एवम् रुसी-नेपाली भाषाका अनुवादक हुन् । उनका केही कृतिहरूमा रुसमा नेपालको अध्ययन (१९८०), स्थान नामकोश (१९८७), नेपाल भाषा साहित्य (१९९७), नेपालमा पशुपंक्षीको पूजा (१९९३), रुसमा नेपालको छवि (२०००) आदि रहेका छन् । आदिकवि भानुभक्त आचार्यको दुई शताब्दीय जन्म जयन्तीको अवसर पारी उनले रुसी विदुषी ल्युदमिला साल्तिकोभासँग मिलेर भानुभक्तका घाँसी, बालाजी, कान्तीपुरी नगरी, बधुशिक्षा, प्रश्नोत्तरमाला जस्ता १३ वटा रचनाको सङ्कलन लोक्को गरुँ हित् भनी शीर्षकमा रुसी भाषामा अनुवाद गरेका छन् । यसको प्रकाशन वि.स. २०७० मा विश्व नेपाली साहित्य महासङ्घ रुस शाखाले गरेको थियो । उनका अन्य अनूदित पुस्तकहरूमध्ये त्यसैगरी चेखबका कथाहरू (१९७१), इ.पा. मिनायभको नेपाल (१९७२), मिखाइल शोलोखोभको मान्छेको भाग्य र दोनका कथाहरू (१९८२), मिखाइल लेर्मोन्तोभको हाम्रो जमानाको चरित्रनायक (१८८३), लेभ तोल्सतोइ र अन्यको कथा-कहानी (१९८४), इभान तुर्गेनेभको पिता र पुत्र (१९८७), चिंगिज आइतमातोभको प्रथम शिक्षक (१९९०), मिखाइल भेर्शीनिनको लेनिन गाथा (१९९८), रसुल हम्जातोभको जीवित देवी र जीवनचक्र (१९९८), गोर्कीको मेरो विश्वविद्यालय रहेका छन् । अधिकांश यी अनूदित पुस्तकहरू रादुगा प्रकाशन मस्कोले छापेको हो । अरू पनि उनका अनुवादको सूची लामो छ ।

कृष्णप्रकाश श्रेष्ठ नेपाली-रुसी साहित्य बिचका अनुवाद सेतु हुनुहुन्छ । उहाँका मौलिक, अनूदित, सम्पादित गरी तीन दर्जनभन्दा बढी कृति छन्, कति अप्रकाशित होलान् । उहाँको नेपाली समालोचक र समालोचना (२०५७) एउटा बहुप्रशंसित कृति हो । निकै टाढा बसेर पनि उहाँको मन नेपाली भाषा साहित्य संस्कृतिको उन्नतिभन्दा बाहिर कहीँ पुग्न सकेन । परिणामस्वरूप आफ्नै साधनले उहाँ एउटा बौद्धिक प्राज्ञ र क्रियाशील व्यक्तिको रूपमा सम्मानित हुनुभयो ।

मलाई सन् २००९ मा रुस जाने अवसर मिल्यो । अघि भनिसकेँ अग्रज स्रष्टा धु्रवचन्द्र गौतमसित । यसको लागि नित्य म जीवा लामिछाने भाइको ऋणि रहेको छु । त्यहाँको तीन हप्ते बसाइ, घुमाइले हामीमा नयाँ दृष्टि उदायो । त्यसबिचमा सबैभन्दा बाक्लो संगत कृष्णप्रकाशज्यूसितै भयो । उहाँ(हरू)सित बसेका, बोलेका, घुमेका क्षणहरू सबै मेरो डायरीमा सुरक्षित छन् । मेरो रुस यात्राको सम्म्झना शीर्षक कृति प्रकाशनपश्चात् कृष्णप्रकाशज्यूले हामीलाई कसरी कहाँ डुलाउनुभयो, केके देखाउनु, सुनाउनुभयो भन्ने कुरा छर्लङ्ग हुनेछ । म समय पर्खिरहेको छु ।

त्यो देवकोटा जन्म शताब्दी थियो । उहाँहरूले हामीलाई रुसको लागि नेपाली दूतावामा ठुलो कार्यक्रम गरीइभान मिनाएभ र राजा जय पृथ्वीबहादुरसिंहको नाममा सम्मान पत्र र पुरस्कार राशीसमेत प्रदान गर्नुभयो । नेपालको भ्रमण गर्ने पहिला रुसी विद्वान् इभान मिनाएभ रहेछन् भने रुसको यात्रा गर्ने प्रथम नेपाली राजा जय पृथ्वीबहादुरसिंह रहेछन् । उसवेला इतिहासलाई साक्षी राखेर कृष्णप्रकाशकै सल्लाहमा हुनुपर्छ जीवाजीले त्यो सांकेतिक सम्मान, पुरस्कार स्थापित गर्नु भो । हामीलाई कत्रो आनन्द लाग्यो । मैले अन्तर्राष्ट्रिय जगत्मा पाएको त्यो सम्मानको नाम खेमलाल हरिकला लामिछाने डायास्पोरा पुरस्कार थियो । बेलाबेलै उहाँ मिनाएभका कर्म र योगदानबारे प्रकाश पार्नुहुन्थ्यो ।

उहाँले नेपाल स्टडिजलाई नेपाल विद्या नाम दिनुभयो । नेपाल विद्या भनेपछि हुरुक्क हुने विद्वान् कृष्णप्रकाश । नेपालको आत्मा कसरी यसको संस्कृतिमा छ, रुसीलाई ती कुरा चिनाउन दृढ प्रतिज्ञ उहाँ । उहाँको यो नेपाल विद्या भन्ने धारणा र पद कति प्रिय हुँदै छ भन्ने कुरा यसपालि प्रकाशित केदार भट्टराईको ५०० पृष्ठको नेपालमा विद्या नामको ग्रन्थबाट थाहा पाइन्छ । यस सम्बन्धमा अनुशन्धाता भाइ केदार वाशिष्ठले आफ्नो ग्रन्थमा यसरी कृष्णप्रकाशज्यूप्रति कृतज्ञता अर्पण गर्नुभएको छ_ नेपाल विद्याको विधागत अध्ययनको सङ्केत गर्ने र बेलाबेलामा मलाई सामग्रीबारे सूचना र प्रत्यक्ष सहयोग गर्नु हुने रुसमा नेपाल विद्याका प्रचारक कृष्णप्रकाश श्रेष्ठप्रति ससम्मान हार्दिक आभार व्यक्त गर्दछु । उहाँसँग सम्पर्कको चाँजो मिलाइदिनु हुने अरूण ओझालाई पनि धन्यवाद दिनु मेरो कर्तव्य रहेको छ ।

यस्ता विद्वान् साहित्य-मर्मज्ञसित मस्कोमा उठबस गर्न पाएको कुरा मैले मेम्वायर्स अव् अ जर्नी टु एन इस्थेटिक स्राइन नामक एउटा निबन्धमा लेखेँ । जुन निबन्धमा हल्का कुइरो लागेको मस्को सहरमा भेला भएर टोल्सटोयको घर हेर्न यास्नाया पोल्याना पुगेको, उनको आवास, पुस्तकालय र अन्त्यमा जङ्गलभित्र अवस्थित टोल्सटोयको समाधिस्थल दर्शन गरेसम्मको सन्दर्भ छ । त्यसका आदि र अन्त्य यस्ता छन्_

यस धरतीकै विशाल राष्ट्र रूस । रूसको राजधानी मस्को शहर । हामी मस्को आइपुग्दा म ब्यूँझन्छु । मस्को नगरी अतीव सुन्दर रहेछ । यस अलकापुरीको आँगनमा पहिलोचोटि पाइला राख्न पाउँदा म अत्यन्त हर्षविभोर हुन्छु । मेरो हृदय झङ्कृत हुन्छ, मेरो दृष्टि खुल्छ । सडकका दुवै किनारामा हुर्काइएका हरिया बोटवृक्ष, तिनका पातलाई फिरफिर नचाउँदै बहने मन्द पवन, कपासको भुवासरि श्वेत पङ्ख लिई ओइरिएको चाँदीमय तुषारो, अनि तल झरीले भिजेका सडकमा कमिलाको ताँती झैँ लामबद्ध भएका सवारी साधन र सन्ध्याकालीन समय । यस्तै अपूर्व दृश्यमा हामी चढेको ठूलो पर्यटक गाडी पंक्तिबद्ध हुन पुग्छःपृ ७३

हाम्रो समूहमा पचास जना थियौँ । त्यसमा रूसका लागि नेपाली राजदूत एवम् त्यहाँ बसोबास गर्ने नेपालीहरू पनि सहभागी थिए । त्यसमध्ये लब्ध-प्रतिष्ठित महानुभावहरू जस्तै- कृष्णप्रकाश श्रेष्ठ, उपेन्द्र महतो, जीवा लामिछाने, मणिराज पोखरेल, जुगल भुर्तेल, ध्रुवचन्द्र गौतम, डा. मधु माधुर्य, गोविन्द गौतम एवम् रसियाली विद्वज्जन तथा संस्कृतिविद्हरू सहभागी थिए । तसर्थ यस यात्राको असाध्यै ठूलो महत्त्व रहेको छ । त्यस यात्रा टोलीमा मस्कोमा अवस्थित विविध सङ्घ सङ्गठन एवम् उच्च तहका जिम्मेवार पदाधिकारी पनि थिए पृ.७५

मेरो जन्मभूमि ‘नेपाल आमा’ का कोखमा यतिबेला आइपरेको हिंसा र द्वन्द्वको आघात सम्झन्छु । त्यस प्रलयकारी अग्निज्वालाको आहत र युद्धाघातले मेरी मातृभूमिलाई छटपटी खेलाएको र भतभती पोलेको सम्झन्छु । अझै पनि त्यो कहालीलाग्दो त्रास र त्रूmरता पूर्णरूपेण समन भैसकको छैन । हाम्रा निम्ति दिन र रात उस्तै कहाली लाग्दा छन् । हामी यही अन्धकारमै नवीन मार्ग पहिल्याउन छामछुम गर्दैछौँ । तिम्रो अहिंसारूपी प्रेमपुष्पले हामीलाई कसो जागरूक नबनाउला र ? तिम्रै आलोकमा महात्मा गान्धीले विशाल भारतलाई प्रदीप्त पारेथे । हे टाल्स्टाय ! हामीलाई पनि निर्दयताको गुफाबाट मुक्त गरिदेऊ । हे पुण्यात्मा ! हामीलाई पनि कल्याणमार्ग देखाइदेऊ ।

अनन्तकालीन कान्ति, प्रेम र अहिंसाको पुञ्जरूपी त्यो साहित्यिक तीर्थस्थान मेरो दृष्टिबाट ओझेल हुनु अगावै मैले यिनै शब्दपुष्प लिएर अन्तस्करणदेखि नै प्रार्थना गरेँ । अस्तु पृ. ८४

विगत १५ वर्षदेखि उक्त लेख त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एम.एड अङ्ग्रेजीमा पढाइ भइरहेको छ । त्यसैमा आउँछन् बारम्बार कृष्णप्रकाश श्रेष्ठ, रुसको अप्रतीम सौन्दर्य र साहित्यिक परिवेश, त्यो दिनका यात्रीहरू । अहिले त यसको नेपाली अनुवाद पनि आइसक्यो । टेकनारायण ढकालद्वारा अनूदित सो निबन्ध आराधना शीर्षक निबन्धसङ्ग्रहमा सङ्कलित छ । मैले चिनेका कृष्णप्रकाश मेरो प्रकाशोन्मुख रुस यात्राको सम्झनामा बारम्बार आउनु हुनेछ ।

अनेसास सम्मेलनमा अमेरिकामा भेट
हाम्रो रुस भ्रमण सन् २००९ जुन महीनामा सम्पन्न भयो । त्यही वर्ष त्यसको दुई महिनापश्चात् मलाई अमेरिका भ्रमणको निमन्त्रणा प्राप्त भयो । त्यहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)ले प्रथम अन्तर्राष्ट्रिय सम्मेलन गराउने भयो । वाशिङ्टनमा हुने दुई दिने सम्मेलनका लागि अरू धेरै मित्र हुनुहुन्थ्यो तर नेपालबाट म र रसियाबाट कृष्णप्रकाश श्रेष्ठ दाजु हुनुहुन्थ्यो । म अगस्त महिनाको दोस्रो हप्ता अमेरिका उडेँ । यो मेरो दोस्रो अमेरिकी यात्रा थियो । मुख्य व्यक्ति होमनाथ सुवेदी, भारती गौतम (संस्थाकी उपाध्यक्ष), गीता खत्री हुनुहुन्थ्यो । संयोजक डा. सुमन तिमसिना यस्तै अरू कोको । म आफ्नो पारिवारिक नाता भएकी स्रष्टा दिदी भारती र डा. शिव गौतमको घरबार भएको ठाउँ बोष्टन पुग्ने गरी जापानको बाटो उडेँ । त्यहाँ पुगेर दुई दिन आराम गरेँ । उहाँसित रमाएँ, डा. शिवजीसँग हार्वार्डपरिवेश घुमेँ । डा. शिव त्यहीँ काम गर्नुहुन्थ्यो । नेपाली जातिको लागि यो एक गौरवको कुरा थियो । त्यहीँ आराम गर्दै, मिठो खाँदै इष्टमित्रलाई इमेल चिठी लेखेँ । सन् २००९ को १२ अगस्तका दिन त्यहीँबाटै कृष्णप्रकाश दाइलाई चिठी लेखेँ _

आदरणीय अग्रज श्री कृष्णप्रकाश श्रेष्ठज्यू
हार्दिक नमस्कार

म यहाँ बोष्टन आइपुगेँ । दुई दिन भयो । अब १४ र १५ तारिकका कार्यक्रममा तपाईं पनि आउनुहुन्छ भन्ने सबैको आशा र प्रतीक्षा छ । जसरी पनि आउनु होला । भेट गरौँ ।

विश्वस्त
गोविन्द
भोलिपल्ट (अगस्ट १३, २००९) मा उहाँले प्रत्युत्तर लेख्नु भो_

प्रिय गोविन्द जी
नमस्कार
आइ एम फ्लाइङ टुडे ।
मीट यू इन न्यू योर्क ।
थ्याङ्स
कृष्ण प्रकाश ।

अनि पर्सिपल्ट कार्यक्रम भेट्न हामी तीनैजना न्यूयोर्क पुग्यौँ । सम्मेलन भवनमा कृष्णप्रकाश दाजुभाउजू पनि पुग्नुभएको रहेछ । कम्ती खुसी लागेन । मेरो की नोट पेपर थियो_साहित्यमा डायास्पोरा : सिद्धान्त र समालोचनाको स्वरूप शीर्षकको । म अति दृढतासाथ दोस्रोपल्ट अन्तर्राष्ट्रिय जगत्मा ‘डायास्पोरा’ भन्ने शब्द र सिद्धान्तलाई स्थापित गर्ने उद्देश्य लिएर पुगेको थिएँ । तीन महिना अघि रुसमा पनि यही शब्द र यसका दृष्टान्त प्रस्तुत गरेको थिएँ । कृष्णप्रकाश दाइले पनि त्यही अनुकूलको आफ्नो कार्यपत्र ल्याउनुभयो_ युरोपिय डायास्पोरामा नेपाली भाषा र साहित्य शीर्षकमा हामी सबैका प्रस्तुति ज्ञापनपत्र छापिए । एक इतिहास स्थापित गर्‍यौँ जस्तो लाग्यो ।

त्यसपछि हामी छुट्टियौँ । तर हाम्रो बिचको सम्बन्ध प्रगाढ हुँदै गयो । अर्को वर्ष काठमाडौँमा नेपाल एकेडेमीको एक सम्मेलन भयो । उहाँ पुनः भाउजूसमेत लिएर उहाँ आउनुभयो ।

अन्त्यमा त्यो वर्ष (२००९) को अमेरिकी सम्मेलनको पृष्ठभूमिमा हामी कसरी नजिकियौँ त्यसको प्रमाण दिन चाहन्छु । यसमा अमेरिकाको साउदन इलिनोइ विश्वविद्यालयमा अध्ययनरत छोरी सेवा पनि सामेल भइन्_ त्यसवेलाका हामी तीनका बिच केही पत्राचार भए जसको ऐतिहासिक महत्त्व भएकाले यहाँ प्रस्तुत गर्दछु ।

मलाई उहाँको पुश्किन अनुवाद हेर्न पाए हुन्थ्यो भन्ने लाग्यो र चिठी लेखेको थिएँ । हाम्रो रुस यात्रामा पनि अनेकपल्ट पुश्किनको चर्चा निकाल्नुभएको थियो । नभन्दै मलाई १४, ९४१ शब्दको एउटा पुस्तिका पठाउनुभयो_रुसी साहित्यका भानु : अलेक्सान्द्रा सेर्गेयोयभिच पुश्किन शीर्षकमा । तर सारतत्व चाहिँ रहेछ रुसाल्काएक काव्य । सन २००० मै नेपाली अनुवादमा तयार पारिएको पुश्किनको यो काव्य अनुष्टुप छन्दमा रहेछ । यो उहाँको पृय छन्द हो । भानुभक्तसँग तुलना गरिएको रुसीमहारथीको कृतिलाई नेपालीमा ल्याउँदा एक शास्त्रीय छन्दको प्रयोग गर्नु भनेको त्यसलाई उचित माध्यमको चयन गर्नु जस्तो पनि थियो । रुसाल्का कस्तो काव्य थियो मलाई ज्ञान थिएन तर रुसी-नेपाली वाङ्मयलाई नजिक ल्याएर जोड्न उत्सुक उहाँले कत्रो निष्ठाले सो कर्म गर्नुभयो । पछि ता आदिकवि भानुभक्त आचार्य द्विशतावार्षिकी समारोहप्रति समर्पित पुस्तकको सूचीमा नं. ९ मा रुसाल्का रहेछ । पुश्किनको तस्वीर आवारण पृष्ठमा भएको कृति छापिँदा १२० पृष्ठको बनेछ ।

कृष्णप्रकाश श्रेष्ठका कृति र कर्महरू असाध्यै धेरै सम्हाली नसक्नु होलान् जस्तो लाग्छ । भाइ तेजप्रकाश श्रेष्ठलाई थाहा होला । उहाँलाई संसारले नै श्रद्धा र आदर गरेको कारण उहाँको त्यही समर्पण भाव हुनुपर्छ ।

नववर्ष २०२१ लाग्नासाथ विश्व नेपाली साहित्य महासङ्घले एउटा भर्चुअल साहित्यिक भेटघाट र कविता वाचनको आयोजना गरेको थियो । त्यसको नेतृत्व सुरेन्द्र परदेशीले गरिरहेका छन् । प्रमुख अतिथि बनेर म पुगेँ । त्यसमा चार÷पाँच सल्लाहकार पनि हुनुहुन्थ्यो, एक ता उनै कृष्णप्रकाश । त्यसमा उहाँ नेपाली-रुसी साहित्यबिच अनुवाद प्रयत्नमै केन्द्रित हुनुभयो । त्यसको केही दिनमा पूर्व अध्यक्ष विश्वासदीप तिगेलाले भने_ सर उहाँ ता एक्लै हुनुहुँदो रहेछ,८४ वर्षको मान्छे मैले केही दिन पहिले उहाँको विशेष अन्तर्वार्ता रेकर्ड गरेँ । दुई घण्टाभन्दा बढीको छ । त्यसमा अमूल्य कुरा छन् । उहाँले भोगेका यस्ता कुरा जो अन्यत्र प्रकट छैनन् ।

मैले प्रोत्साहित गरेँ_ तपाईं साहित्य सेवी हुनुहुन्छ भाइ, यस्तो सिनियर स्रष्टाहरूसँग सकेसम्म अन्तर्वार्ता सूचना लिइराख्नोस् । पछि ठुलो महत्व हुनेछ ।

त्यसको दुई महिना व्यतीत नभै उहाँको देहान्तको समाचार आयो । नव वर्षका उपलक्ष्यमा आयोजित प्रत्येक कर्ममा नेपाली साहित्य परिषद् विश्व नेपाली साहित्य महासङ्घ सबैले कृष्णप्रकाश श्रेष्ठले शोकमा श्रद्धाञ्जली अर्पण गरे ।

अन्त्यमा
उहाँले छोडेपछिका महिनामा पनि अनेक साहित्यिक समूहसँग हाम्रो भेटघाट भइरह्यो, उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिरह्यौँ_ अनेसास, बिनेसाम, नेपाली साहित्य परिषद् यस्ता अनेकौँ । यो रिक्तता त्यतिकै थियो, अपूरणीय थियो ।

पहिलोपल्ट अफ्रिकी स्रष्टा हिक्मत थापा भाइसित जोडियौँ । उहाँले कृष्णप्रकाश श्रेष्ठ स्मृति ग्रन्थबारे एउटा लेखको लागि आग्रह गर्नुभयो; मैले ‘हुन्छ’ भनेँ । फेरि केही दिनमा अर्को कार्यक्रममा डा. मन भुर्तेल भाइ आउनुभयो, उहाँलाई ‘हुन्छ’ भनेँ । केही समयपश्चात् रुसी कवि गोविन्द गौतम आउनुभो ‘हुन्छ’ भनेँ । त्यसपछि मेरा गाउँले भाइ सुरेन उप्रेती आउनुभो । उहाँले ससानो पत्राचार पुस्तिका पनि पठाउनु भो । उहाँले फेरि पनि सम्झाउनु भो । मन ता सधैँ नुहेकै हुन्छ तर समय नपुगेर नभ्याएर कस्तो साह्रो मुश्किल परिरहेको छ सधैँ । कोरोनाकाल यताका स्रष्टा र कलाकार गन्ती गरौँ_ रत्न शमशेर थापा, उत्तम नेपाली, राजेन्द्र सुवेदी, प्रेम प्रधान, चेतन कार्की, बानिरा गिरी, आनन्ददेव भट्ट, तेराख, अरू पनि ठाउँ ठाउँका थुप्रै हुनुहुन्छ, सम्झिँदा मन आत्तिन्छ अरू पचासौँ पुगेका छन् ।

सधैँ उज्याला हँसिला साहित्य सम्वार्तामा तत्पर अग्रज कृष्णप्रकाश श्रेष्ठबारे एक सिङ्गो किताब लेखे पनि धेरै कुरा लेख्न बाँकी रहला । आज दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै यत्तिमै रोकिन्छु ।

उहाँको जीवनभरिको त्याग, सङ्घर्ष र योगदानको कदर गर्दै नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपल्ट स्थापना गरेको दुई लाखको अनुवाद पुरस्कार यिनै तपस्वी कृष्णप्रकाश श्रेष्ठलाई दिने घोषणा गत वर्षै गरिसकेको थियो । २०२१ को भानु जयन्ती आयो तर तीन महिना पहिल्यै उहाँ दिवङ्गत भइसक्नुभएको थियो । त्यो प्राप्ति ठुलो कुरा हो । इतिहासका पृष्ठमा यो आभूषण कृष्णप्रकाश श्रेष्ठकै गलामा रहिरहनेछ । उहाँले प्रथम सम्मान प्राप्त गर्नुभएको थियो । उहाँको आत्माको चिर शान्तिको कामना गर्दछु ।

८भाद्र २०७८
सकर्मटोल, कीर्तिपुर

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 600
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

प्रमुख अतिथिहरू

January 29, 2024

एक तर्फे समाज

August 1, 2023

नेगेटिभ

July 26, 2023

सम्झनामा मात्र

July 17, 2023

किन र कसरी लेख्छु

June 26, 2023

प्रज्ञा, प्रज्ञा, प्रज्ञा !

May 29, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.