- निबन्ध
कृष्ण धरावासी (२०१७ साउन २, अमरपुर ७ पाँचथर, सुपुत्र: टीकाराम भट्टराई र अम्बिकादेवी भट्टराई) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनको कलम सिर्जना, समीक्षा, सम्पादनका बहुआयाममा चलेको छ । उनी मूलत: आख्यानकार र निबन्धकारका रूपमा स्थापित छन् । उनका बालक हराएको सूचना (२०४८), नारीभित्र त्यस्तो के छ हजुर ? (२०५३), उत्तमजङ सिँजापतीको आलु (२०५५), पाठकको अदालतमा (२०६२), मेरो साहित्यिक यात्रा र मदन पुरस्कार (२०६४), पाण्डुलिपि (२०६७) जस्ता निबन्ध कृतिहरू प्रकाशित छन् । उनका संस्मरणात्मक निबन्धहरूले पाठकको मनलाई उनकै संस्मरणका गहिराइमा पुर्याउँछन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा धराबासीको ‘रुसमा उभिएको नेपाली हिमाल’ शीर्षकको कृष्णप्रकाश श्रेष्ठ विषयका संस्मरणात्मक एवम् व्यक्तित्व प्रकाशमूलक निबन्ध समेटिएको छ । यस रचनाले कृष्ण प्रकाश श्रेष्ठको व्यक्तित्व उजागर गर्नका साथै धरावासीका श्रेष्ठसँगका सम्झना पनि उजागर गरेको छ ।
-सम्पा. |
श्री कृष्णप्रकाश श्रेष्ठलाई मैले पहिलोपल्ट सन् २०१४ मा मस्कोमा भेटेको थिएँ । सन्दर्भ थियो त्यो वर्षको भानु जयन्तीमा मस्को सहरभन्दा केही बाहिर रहेको एत्नोमिर भन्ने ठाउँमा बनेको नेपाली घरभित्रको एउटा हलमा भानुभक्तको सालिक अनावरण गर्ने । त्यसको लागि नेपालबाट अमर न्यौपाने र त्यसवेला म अमेरिका भ्रमणमा रहेकोले उतैबाट आएको थिएँ ।
जुन ११, २०१४ को बिहान म ब्युँझिएको थिएँ मस्को सहरभित्र रहेको नागातिन्स्कायास्थित एउटा पाँचतले भवनको तेस्रो तलाको कोठामा । मभन्दा पहिला उठिसकेका थिए अमर न्यौपाने ! बिहानको निजी कर्म सकेर नास्ता खाँदै गर्दा एकजना सेतै कपाल फुलेका हेर्दै भलाद्मी देखिने पुरुष आइपुग्नु भयो । हामीले भन्दा उहाँले नै पहिला अभिवादन गरी परिचय दिनुभयो । उहाँ हुनुहुन्थ्यो कृष्णप्रकाश श्रेष्ठ ! उहाँले हाँस्दै भन्नुभयो–‘आज यहाँ एउटै संस्थाबाट सम्मानित तीनजना भेला हुनपुगेका छौं ।’ वास्तवमा अमर र मैले मदन पुरस्कार पाएका थियौं र उहाँले जगदम्बाश्री सम्मान !
उहाँको नाम निकै पहिलेदेखि नै सुनेको थिएँ । विदेशमा रहेर नेपाली भाषा साहित्यको प्रवर्धन र विकासमा महत्त्वपूर्ण योगदान पुर्यानुभएकाले उहाँलाई मदन पुरस्कार गुठीले २०५९ सालको जगदम्बाश्री पुरस्कारले सम्मान गरेको थियो । रुसमा रहेर नेपाली साहित्यलाई रुसी भाषामा र रुसी साहित्यलाई नेपाली भाषामा अनुवाद गरी प्रचारप्रसार गर्ने काममा उहाँले गर्नुभएको योगदान अतुलनीय छ । उहाँले महाकवि देवकोटाको मुनामदनलगायत धेरै पुस्तकहरू रुसी भाषामा अनुवाद गर्नुभएको थियो । देवकोटाले सन् १९५८ मा तत्कालीन सोभियत गणराज्य उज्वेकिस्तानको राजधानी तासकन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा नेपाली प्रतिनिधिकोतर्फबाट अङ्ग्रेजीमा दिएको भाषणलाई समेत अत्यन्त आकर्षक र मौलिक नेपालीमा अनुवाद गर्नुभएको छ ।
उहाँ सन् १९६० मा पत्रकारिता पढ्नको लागि पूर्ण छात्रवृत्ति प्राप्त गरी रुस जानुभएको थियो । त्यहाँ उहाँले आफ्नो विषयमा राम्रो दखल दिइरहेका वेला सन् १९६२ मा रुसी सरकारले रेडियो मस्कोबाट नेपाली भाषामा पनि कार्यक्रम चलाउने भएपछि पत्रकारिता पढिरहेका उहाँलाई सो कार्यक्रम सञ्चालनका लागि अनुरोध आयो । तर उहाँले आफूमा त्यस्तो अतिरिक्त क्षमता नभएको भनी चलाउन अस्वीकार गर्नुभयो । सुरुमा टारे पनि बारम्बार अनुरोध आइ नै रह्यो । अन्त्यमा उहाँले आफ्नो पढाइ पूरा गरेपछि नेपाल फर्किने सर्तमा रेडियो मस्कोमा नेपाली भाषाको कार्यक्रम चलाउन थाल्नुभयो ।
सर्तअनुसार केही वर्षभित्र त्यो कार्यक्रमलाई स्थापित गराइ कसैलाई जिम्मा लगाएर नेपाल फर्किने उहाँको विचार बिस्तारै कमजोर हुँदै र भासिंदै जानथाल्यो । काम गर्दै जाँदा नेपाली भाषा र साहित्यलाई रुसी जनताबिच र रुसी साहित्यलाई नेपाली जनताबिच ल्याउने काममा उहाँको रुचि बढ्दै गयो ।
मानिसको जीवन आफ्नै निर्णयहरूले मात्र चल्न सक्दैन । अनेकौं यस्ता खुड्किलाहरू आउँदै जान्छन् त्यसमा उक्लिँदाउक्लिँदै फर्किनै नसक्ने अकरिलो भिरमा पुग्दछ । कृष्णप्रकाश श्रेष्ठको जीवन पनि त्यस्तै हुनपुग्यो । केही वर्षपछि नेपाल फिर्छु भन्ने उहाँले आफ्नो शरीरलाई ८४ वर्षको उमेरमा रुसी भूमिमै विर्सजन गर्न पुग्नुभयो । उहाँको जीवन आफैंमा विदेश पुग्ने हरेक व्यक्तिको यथार्थ विम्ब बन्न पुगेको छ । जीवनभरि नेपाल फिर्ने चाहना बोकेरै उहाँले आफूलाई रुसको जिम्मा लगाइदिनुभयो । हामीसँगको भेटको छोटो समयमा पनि उहाँले आफ्नो नेपाल मोहलाई बिर्सिनु भएको थिएन ।
आफ्नै रहरले शिक्षा प्राप्त गर्नकै लागि रुस पुग्नुभएको उहाँ दिनदिनै थपिँदै जाने व्यावहारिक वाध्यताहरूले अल्झिदै जानथाल्नुभयो अनि उहाँलाई नेपाल कल्पनाको एक आधार मात्र भइरह्यो । व्यक्तिगत रूपमा उहाँलाई देश फिर्ने जुन इच्छा थियो त्यो त पूरा हुन सकेन तर त्यसको विकल्पमा नेपाली र रुसी साहित्यलाई एकअर्कामा अनुवाद गरेर जुन अतुलनीय काम गर्नुभयो त्यसको मूल्य भने हामीले सहजै तिर्न सक्दैनौं । कैयौं नेपालीहरू विदेशमा यस्तै अल्झनहरूमा लट्पटिएरै बितिरहेका हुन्छन् तर सबैले यस्ता युगान्तकारी कामहरू गर्न सकेका हुँदैनन् । यसबारेमा मैले अमेरिकी जीवनमा अल्झिएका नेपालीहरूका बारेमा ग्रेटफल्स भन्ने उपन्यासमा उल्लेख गरेको पनि छु ।
जागिरे जीवनमा पसेपछि त्यसैको बन्धनले कसिंदै जान स्वभाविक थियो । कालान्तरमा त्यहीं एक रुसी महिला इरिनासँग विवाह भएपछि र दुई छोरीहरू झान्ना र मारिनाको जन्म भएपछि त अब नेपाल फिर्ने कुरा एक प्रकारले सपनामै परिणत भयो । विवाहपछि मानिस जब गृहस्थीमा प्रवेश गर्छ त्यसपछि उसका स्वनिर्णयहरूले मात्र जीवनको बाटोलाई डोहोर्याउन नसक्ने हुन्छ ।
पत्रकारिता पढ्न त्यहाँ पुग्नुभएका उहाँले पत्रकारै हुन पाउनुभयो । त्यसमा उहाँ एकप्रकारले सन्तुष्ट हुनुहुन्थ्यो । तर त्यसवेलाको कम्युनिस्ट रुसको रेडियोमा काम गर्नु सजिलो कुरा थिएन । सानोतिनो गल्तीले पनि ठुलै दण्ड पाउन सकिन्थ्यो । त्यसैले उहाँलाई भाषानुवाद गर्दा कामचलाउ किसिमले गर्न पाउने छुट थिएन । उहाँले रुसी भाषाका समाचारहरूलाई नेपाली भाषामा र नेपाली भाषाका सामग्रीलाई रुसी भाषामा रूपान्तरण गर्नुपर्दा अत्यन्तै मिहिन र सतर्कपूर्ण ढङ्गबाट गर्नुपर्ने हुन्थ्यो, त्यसो गर्नुपर्दा दुवै भाषाको अध्ययनलाई यति कोणिक बनाएर लानुभयो, जसले दुवै भाषाका पाठक तथा श्रोतालाई मौलिक मूल भाषाको झलक दिन सक्थे ।
अनुवादको क्षेत्रमा काम गर्नु सजिलो कुरा हुँदैन । जुन भाषाबाट ल्याउनु छ त्यो भाषाको पनि र जुन भाषामा लानु छ त्यो भाषाको पनि भाषिक, सांस्कृतिक, व्याकरणात्मक र संरचनागत ज्ञान प्रचूर हुनुपर्छ । अचम्म लाग्दो क्षमता उहाँमा पाइन्थ्यो जब हामी उहाँले रुसीबाट नेपालीमा अनुवाद गरेका साहित्यिक तथा राजनीतिक पुस्तकहरू पढ्थ्यौं । उहाँसँग भौतिक रूपमा धेरैपछि भेट भए पनि उहाँबाट अनूदित रुसी साहित्यसँग भने विद्यार्थी कालमै प्रशस्त भेट भएको थियो । उहाँले अनुवाद गरेकै लियो टोल्सटोय, मेक्सिम गोर्की, मिखाइल सोलोखोब, आन्तोन चेखव, अलेक्जेन्डर पुस्किन आदिका रुसी कृतिहरू पढ्न पाएको थिएँ । ती पुस्तकहरू पढ्दा कुनै वेला पनि तिनमा ननेपालीय गन्ध आउँदैन थियो । यस्तो लाग्थ्यो म मूल नेपालीमै लेखिएको पुस्तक पढिरहेको छु । उहाँ विदेशमा बसेर नेपाली भाषा साहित्यमाथि काम गर्नेमध्ये सबैभन्दा अघिल्लो पङ्क्तिमा उभिनुहुन्छ । उहाँका मौलिक र अनूदित गरी सयभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । त्यसैगरी अप्रकाशित अवस्थामा पनि दर्जनौं कृतिहरू छन् ।
मानिस परिस्थितिको यन्त्र हो । ऊ आफ्नो इच्छा र खुसीले कुनै निर्णय गर्न सक्दैन । जीवनमा कहिल्यै पनि, कसैले पनि आफू आफ्ना निर्णयहरूबाट पूर्ण सन्तुष्ट भएको कुराले खुसी देखिँदैन । ऊ कुनै न कुनै कारणले इच्छाविरुद्ध निर्णय गर्न बाध्य भएको कुरा भनिरहेको हुन्छ । कृष्णप्रकाश श्रेष्ठले मुखले असन्तुष्टि त व्यक्त गर्नुभएन तर उहाँको नेपाली भाषाप्रतिको अगाध मोहले नै भन्छ, उहाँ खुसी र रहरले नै सदाकालका लागि रुसी बन्नु भएको थिएन ।
उहाँले प्रयोग गर्ने भाषामा देखिएको विशुद्धता कैयौं नेपाली भाषाका विद्वान्हरूका लागि पनि चुनौती जस्तो थियो । हामीसँग भेट भएको वेला उहाँ रुसमा बस्नथालेको पचास वर्ष भइसकेको थियो तर उहाँको बोलीमा एउटा पनि रुसी वा अङ्ग्रेजी शब्द पसेको मैले सुनिनँ । जीवा लामिछाने भन्नुहुन्थ्यो–‘उहाँको भाषिक शुद्धता गौरव लाग्दो छ । नेपाली भाषाको शुद्धताका लागि मात्र काम गर्नुभएको छैन, यहाँ मस्कोका कैयौं ठाउँहरूलाई पनि नेपाली नाम दिएर चलाउनुभएको छ ।’
हामी नेपालमै हुनेहरूले पनि आफ्नो बोलीमा विशुद्ध नेपाली शब्दको प्रयोग गर्न छोडिसक्यौं । हामी हरेक वाक्यमा केही न केही अङ्ग्रेजी शब्द घुसाइरहेका हुन्छौं । अझ अचेल नेपालमा बजिरहने अनेकौं एफएमहरूले त नेपाली बोलेको हो कि अङ्ग्रेजी बोलेको हो ठम्याउनै गारो हुन्छ ।
नेपाली भाषा अब बिस्तारै अन्तर्राष्ट्रियकरण भइरहेको छ । जहाँ जहाँ नेपाली मानिसहरू पुग्दै जान्छन् त्यहाँ त्यहाँ नेपाली भाषाले बिस्तारै प्रवेश पाइरहेको हुन्छ । पहिला नेपाली भाषाले बर्मासम्म मात्र यात्रा गरेको थियो, अहिले त यो विश्वभरि पुगेको छ हरेक नेपाली जिब्रोसँगै । अब त नेपाली भाषाको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घ, एनआरएन आदि संस्थाहरू निरन्तर सक्रिय छन् । तर पनि हामीले गर्व गर्नुपर्छ आजसम्म विदेशमा बसेर नेपाली भाषालाई अनुवादको माध्यमबाट प्रचार गर्न काममा कृष्णप्रकाश श्रेष्ठ नै अग्रणी हुनुहुन्छ ।
०००
कृष्णप्रकाश दाइसँग गफ गर्दागर्दै जीवा लामिछाने आइपुग्नुभयो । जीवाजीले कृष्णप्रकाश दाइबारे थप गर्दै भन्नुभयो–‘मस्कोमा रहेका नेपालीमध्येको सबैभन्दा जेठो मान्छे उहाँ नै हो । जेठो हुनका लागि चाहिने ज्ञान, अनुभव, परिपक्व, शालिनता सबै कुरा उहाँभित्र खाँदिएर भरिएको छ ।’ उहाँले यसो भन्दै गर्दा कृष्ण दाइ भने ती कुराको प्रतिकार गर्दै हुनुहुन्थ्यो ।
रुसको भूमिमा पाइला राखेको पहिलो बिहान थियो यो । केहीबेर अरू थप कुरा भएपछि हामी निस्क्यौं मस्कोका केही खास ठाउँहरूको भ्रमणका लागि । हामी चढेको गाडी रुसी जनमैत्री विश्वविद्यालय नजिकै पुगेर रोकियो । संसारका ठुलठुला मानिसहरूले पढेको त्यो विश्वविद्यालयमा नेपालका पनि धेरै विद्यार्थीले पढेका रहेछन् । डा. अवनीभूषण उपाध्याय, डा. अर्जुनदेव भट्ट, डा. माधव शर्मा, हरिबहादुर थापा, गणेश शाह, डा. गोविन्द शर्मा आदिले त्यहींबाट आफ्नो शिक्षा पूरा गरेका रहेछन् । राजा वीरेन्द्रले यही विश्वविद्यालयबाट अनररी डक्टरेट उपाधि पाएका रहेछन् । कृष्णप्रकाश दाइले पनि केही समय यही विश्वविद्यालयमा पढ्नुभएको रहेछ ।
त्यसपछि हाम्रो गाडी रोकियो भराभिए गोरी भन्ने एउटा अग्लो डाँडोजस्तो ठाउँमा पुगेर । त्यहाँबाट टाडाटाडासम्म मस्को सहरको फैलावट देखिंदोरहेछ । टाडाटाडासम्म हेर्नका लागि त्यहाँ ठुला ठुला दुर्बिन राखिएका थिए । त्यो ठाउँको अलग्गै नेपाली नाम राख्नुभएको रहेछ कृष्ण दाइले ‘भँगेरे भीर’ भनेर । नेपालीहरूले भँगेरे भीर भनेरै चिन्दा पनि रहेछन् । उहाँले निकै अघि नै नेपालका विभिन्न ठाउँहरू चिनाउने स्थान नामकोश प्रकाशित गरिसक्नुभएको रहेछ ।
जोडजोडले हावा चलिरहने त्यो ठाउँ मस्कोका युवाहरूको प्रेम अभिव्यक्ति गर्ने ठाउँका रूपमा पनि परिचित रहेछ । प्राय: हरेक बिहीवार विवाहित जोडीहरू आफ्ना वैवाहिक प्रकृया पूरा गरी प्रेमको अमर कामना गर्दै फोटो खिच्न त्यहाँ आउँदा रहेछन् । त्यही ठाउँको पश्चिमपट्टि एउटा निकै अग्लो चर्चजस्तो भवन थियो । मलाइ साँच्चै चर्च नै जस्तो लागेको थियो तर त्यो त मस्कोको सबैभन्दा पुरानो विश्वविद्यालय ‘मस्को स्टेट युनिभर्सिटी’ पो रहेछ । कृष्णप्रकाश दाइले यही युनिभर्सिटबिाट आफ्नो पढाइ पूरा गर्नुभएको रहेछ । उहाँले त्यो विश्वविद्यालयका बारेमा निकै लामो चर्चा गर्नुभयो । आफ्नो सुनौलो विद्यार्थीकालको पनि चर्चा गर्नुभयो । आफ्नो सत्तरी वर्षबाट उँभो उक्लिंदै गरेको उमेरलाई बिर्सिएर उहाँ आफ्नो विद्यार्थी कालका ती रोमाञ्चित दिनहरू सम्झिरहनुभएको थियो । खिइँदै गएका दाँतहरू, चाउरिँदै गएको अनुहारको छाला र फुलेर सेतै भएको कपालसँग आफ्नो विद्यार्थी जविनका चिसा दिनहरू, हिउँले ढाकिएको परिवेश र सपनाका रङ्गीन क्यानभासहरू देखिरहनुभएको थियो । उहाँको बोलाइसँगै अनुहारमा फैलिएका भावतरङ्गहरू अत्यन्त अर्थपूर्ण लागिरहेका थिए ।
उहाँले रुसको सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षको निकै लामै चर्चा गर्नुभयो । उहाँले स्तालिन, ख्रुस्चेभ, ब्रेजनेभहरूका पालाको रुसी जीवनशैलीको चर्चा गर्दै कसका पालामा कस्ता भवन बने र रुसी भवनसंस्कृतिमा तिनको के अर्थ र महत्त्व छ भनेर रमाइलो विश्लेषण गर्नुभयो । उहाँका कुरा सुन्दासुन्दै म अनुमान गरिरहेको थिएँ, कृष्णप्रकाश दाइ छिचोल्न नसकिने धेरै मोटो र रहस्यमय किताब हो ।
त्यो दिन उहाँले हामीलाई गान्धी पार्कसम्म पुर्याएर फेरि अर्को दिन भेट्ने गरी बिदा लिनुभयो । त्यसपछि जीवाजीसँग म र अमर मात्र भयौं ।
करिब एक हप्ताको मस्को यात्राका क्रममा पटक पटक कृष्ण दाइसँग भेट भइरह्यो । उहाँले धेरै ठाउँमा हामीलाई रुसी नागरिकहरूका बिच दोभासेको काम गरेर सहयोग गर्नुभयो । तीस हजार सदस्य रहेको रुसी लेखक सङ्घले हामीलाई गरेको स्वागत कार्यक्रममा उहाँले नै मेरो मन्तव्यलाई रुसीमा तत्कालै अनुवाद गरेर सभामा सुनाइदिनुभएको थियो । त्यसबाट हामीलाई रुसी लेखकहरूसँग दोहोरो संवाद गर्न सकेकैजस्तो अनुभव भएको थियो ।
मस्को यात्राको अन्तिम साँझ ‘झोला’ फिल्म प्रदर्शन गर्नुअघि मैले फिल्मको कथावस्तु बारे बताउनुपरेको थियो । त्यसवेला पनि उहाँले मेरै छेउमा उँभिएर मेरो मन्तव्यलाई रुसी भाषामा प्रत्यक्ष अनुवाद गरिदिनुभएको थियो । हिन्दी, अङ्ग्रेजी, संस्कृत, नेवारी, रुसी भाषामा पारङ्गत उहाँको ज्ञानको भण्डार पनि उत्तिकै विस्तृत थियो । त्यसैले पनि होला उहाँमा कुनै घमण्ड नदेखिएको ।
पछिल्लो समय उहाँसँग म फेसबुकमा जोडिएको थिएँ । त्यसमा हाम्रो कुरा हुन्थ्यो । उहाँसँग धेरैजसो नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणका बारेमा कुरा हुन्थे । उहाँले मलाई लेख्नुभएको थियो–‘अनुवादको माध्यमबाट मात्रै हाम्रो नेपाली साहित्य विश्व साहित्यमा प्रवेश हुनेछ ।’ उहाँले लेख्नुभएको थियो–‘छिट्टै रुसी भाषामा नेपालका पुराकथा र किंबदन्ती प्रकाशित हुनेछ । पाइए जति प्रस्तुत गरिएको छ व्याख्या परिशिष्ट अनुक्रमणिकामा छ । ६९६ पेज हुने छ । यो किताब रुसी विज्ञान प्रतिष्ठानबाट निस्कनेछ ।’ थाहा छैन उहाँले भनेअनुसार त्यो पुस्तक निस्क्यो कि निस्कन बाँकी छ !
रुसमा हामीले उठाएको नेपाली भाषा साहित्यको हिमाल अब ढलेको छ । यो क्षतिलाई अब केले पूरा गर्न सकिएला भन्ने चिन्ता हामी सबैलाई छ ।