- निबन्ध
सुरेन उप्रेतीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी विदेशमा रहेर बहुमुखी ढङ्गले नेपाली साहित्यको विकासमा लागिपरेका प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा मुखौटो शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धमा माक्सलाई मूल विषय बनाई त्यसका माध्यमबाट नेपालमा विकसित विकृति विसङ्गतिको फेहरिस्त प्रस्तुत गरिएको छ । यो रचना आंशिक हास्यसहित व्यङ्ग्य प्रधान रचना हो ।
-सम्पा. |
‘मुखौटो’ नेपाली शब्द भए पनि धेरै नेपाली भाषीहरूका शब्दालयबाट लोपोन्मुख शब्द हो । यसलाई सजिलोसँग बुझाउनु पर्यो भने मुखौटोलाई विस्थापन गर्ने शब्द ‘मास्क’ भन्ने वित्तिकै ए भन्ने उच्चारण हुन्छ । मुख ढाक्न प्रयोग हुने वस्त्रलाई मुखौटो भनिन्छ । यो कुरा नेपाल प्रज्ञा–प्रतिष्ठानले निकालेको शव्दकोषमा लेखिएको छ । मास्क भन्ने शब्द अङ्ग्रेजी भाषामा १५३० मा फ्रेन्चको Masque af6 mask भएर आएको हो पनि भनिन्छ ।
यसको अर्थ अनुहारलाई लुकाउन या शुरक्षा गर्न प्रयोग हुने बस्तु भन्ने हुन्छ । ल्याटिन भाषामा Masca र अरविक भाषामा Maskhara,booftun भनिन्छ । हिब्रु भाषामा Masecha भनिन्छ ।
आजभन्दा ९०००बर्ष पुरानो मास्क पेरिसको Bibleet “Terr Sainte” म्यूजियममा रहेको छ । जर्मनीको Nondental Valley ३५००० बर्ष पुरानो मास्कका अवशेषहरू पाइएको छ । मानव सभ्यताको इतिहाँसमा हजारौँ बर्ष पहिलादेखि मास्कको प्रयोग भएको पाइन्छ । नाचगाँन र नाटकहरूदेखि लिएर धार्मिक कृयाकलापमा पनि मास्कको प्रयोग भएको पाइन्छ । बिभिन्न देवदेवीका, दानव र दैँत्यहरूका परिकल्पित प्रतिविम्वहरू झल्कने खालका मास्क प्रयोग हुँदै आएका छन् । नेपालमा नेवारी संस्कृतिका विविध पर्वहरूमा मास्कको प्रयोग हुने गरेको पाइन्छ । जस्तो गाईजात्रा लाखेजात्रा र विभिन्न चाडपर्वहरूमा मास्कको प्रयोग हुँदै आएको पाइन्छ । बिभिन्न साँस्कृतिक पर्वहरूमा प्रयोग हुने मास्कहरूले पुरै अनुहार ढाक्ने गर्दछन् । यी मास्क प्रयोग गरेर दर्शकहरूलाई हसाँउन र देवदेवीहरूको र भूतप्रेतहरूको प्रारूपमै सजिएर आस्थालाई अझ मज्बुत बनाउन प्रयोग हुँदै आएकाछन । ती मास्कहरू प्रयोग गरेर दिवंगत आत्माहरूसँग कुरा गर्न सकिन्छ भन्ने पनि जनविस्वास रहेकोछ ।
हाल सन्सारभरि कोरोनाको महामारी फैलिएको छ । कोरोना सर्नबाट बचाउने प्रमुख अस्त्रका रूपमा मास्क प्रयोग हुँदै आएको छ । कोरोना कालमा प्रयोग भएको नाक र मुख मात्र छोप्न प्रयोग हुने सर्जिकल मास्क चैँ १९०५ मा उत्तरी चिनका डाक्टर Wu Lien Tenn प्लेग रोगबाट बच्न पहिलो पटक प्रयोग गरेको थियो भनिन्छ ।
उनले प्रयोग गरेपछि उत्तरी चीनमा सबैले प्रयोग गर्न थालेका थिए । यो नै संसारभरि फैलन सफल पहिलो मास्क भएको ठानिन्छ । अहिले सर्जिकल र ननसर्जिकल हुँदै N95 जस्ता एकदमै एयरप्रुफ मास्कहरू बजारमा पाइन्छन् । सुती, ढाका, कटन, फाइवर, पोलिस्टर, भिनायल जस्ता विविध बस्तुहरूको प्रयोग गरेर मास्कहरू बन्ने गरेका छन् ।
हाम्रो नेपाली समाजले त सयौँ अझ हजारौँ प्रकारका मास्कहरू प्रयोग गर्दै आएको छ । तपाईँलाई पत्यार नलाग्न सक्ला । ती मास्कतर्फ तपाईँको ध्यानाकर्षण नभएको हुन सक्छ । तर ती मास्कहरू यत्रतत्र प्रयोग भएका छन् । ती मास्कहरूलाई नाङ्गा आँखाले या चश्मा धडेका आँखाले पनि नदेख्न सक्छन् । अब फेरि आँखाले नदेख्ने मास्क भन्दा तपाईं अल्मलिनु होला । दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीहरूले मापसेले लठ्ठ भएका दीपेन्द्र देखेका थिए । फेरि एकै क्षणमा दुई तीन वटा बन्दुक भिरेर र्याट्याट्याट्या पार्दै आफन्त जति छान्दै निसाना साँध्ने पनि दीपेन्द्रलाई नै देखे । त्यस्तो दिपेन्द्रमय मास्क पनि हैन ।
अब तपाईंलाई खुल्दुली होला कस्तो नै मास्क होला त भन्ने । मान्छे जस्तो छ त्यस्तै नै देखिने मास्क छ । तपाईंले खुट्याउन, छुट्याउन, अड्कल काट्न पनि सक्नुहुन्न । छाम्दा, कोट्याउँदा, पानीले भिजाउँदा पनि मास्क चिनिँदैन ।
मानिसहरू बिभिन्न व्यवसायिक मास्कहरू पहिरिएर समाजमा फैलिएका छन् । तपार्इंले चिनेको मानिस कुनै एउटा पेसा या व्यवसायको भनेर चिन्नुहुन्छ । तर त्यो पेसा उसको मास्क मात्र हो । ऊ त्यो मास्क लगाएर अन्य जधन्य कामहरू गर्दछ । तपार्इंले कल्पना गरेको भन्दा धेरै टाढाको काम गर्छ । तपार्इंले सोच्दै नसोचेको । कोही डाक्टरको मास्क लगाएका छन् । सामान्य आर्थिक अवस्थाको सिकिस्त बिरामीलाई वार्डबाट निकालेर कुलीन बिरामीलाई बेड दिन्छन् । बिरामीका किड्नी झिक्छन् र अर्कैलाई बेची दिन्छन् । सामान्य विराम लागेका विरामीलाई पनि इसारा अनुरूप सुतिरहने बनाइदिन्छन् । उनको मास्क डाक्टरकै हुन्छ । डाक्टर नै देखिन्छन् तर त्यो मास्क मात्र हो । त्यही मास्क प्रयोग गरेर साना केटाकेटीलाई आमाविहीन बनाउँछन् । बाबुविहीन बनाइदिन्छन् । घरबारविहीन बनाइदिन्छन् । त्यस्तै नेताको मास्क लगाएकाहरू धेरै छन् ।
सबैले नेतानै मान्छन् । नेताकै जस्तो ब्यवहार गरेको पनि हुन्छ । उनीहरू सामान्य मान्छे जस्तै देखिन्छन् । तर त्यो मास्क भित्रबाट मानिस अपहरण गर्छन् । लुट्ने, कुट्ने, पिट्ने, तर्साउने, बर्षाउने जस्ता अनेकानेक खुराफात गर्छन् । आफै अपहरण गराएर आफै छुटाउँछन् । आफै भिरबाट गुल्ट्याइ दिएर आफै पत्ता लगाउन बाटो बाल्छन् ।
माग गर्छन् । नाराजुलुस लाउँछन् । नारा गाउँछन् । आयोग बनाउँछन् र अध्यक्ष बन्छन् । सहर पस्छन् र सत्तामा बिराजमान हुन्छन् । राजा बन्छन् । अझै पनि नेताको जस्तै रूप हुन्छ । चर्चमा गएर गाउन लगाएर पादरी बन्छन् । प्रवचन दिन्छन् । बाहिर निस्कन्छन् र मन्दिर उद्घाटन गर्छन् । भैँसी पूजागर्छन् । मास्क नेताकै छ । साँझबिहान दूतावासमा गएर जम्लाहात गरेर निगुर्मुन्टी न हुन्छन् । खेर जाने पानी त हो नि भन्दै नदीनाला बेच्छन् । खरब खरब नाफा हुन्छ भनेर धर्धी थर्काउँछन् । विजुली अरूलाई दिएर सल्लाको दियालो बाल्ने बैज्ञानिक तरिका सिकाउँछन् । देश भित्र भएका उधोगधन्दा कलकारखाना छिमेकीलाई जिम्मा दिन्छन् । र तीनै छिमेकीसँग उत्पादित बस्तु महँगो दाममा खरिद गर्छन् । विदेसी योजना भित्र्याउने प्रपन्च रच्छन् । मास्क लगाएका नेताले अरबौँको भ्रष्टचारमा बार्गेनिङ गर्छन् । मास्क लगाएका नेताबाट नै भ्रष्टचारमा सून्य सहनशिलताको उद्घघोष गर्छन् । विदेशी गुप्तचरसँग रातभरि बैठक बस्छन् । विहान आँखा मिच्दै राष्ट्रवादको भाषण गर्छन् । अनि पनि राष्ट्रवादको नारा लाएर सडक नाप्न छोड्दैनन् । देख्दा सबै ठ्याक्कै नेताहरू जस्तै छन् । देश भक्त र राष्ट्रवादीकै मास्कमा छन् । तर मुखौटौ यानेकी मास्कले कुन सही हो, कुन गलत हो पहिचान गर्न नै गार्ह्रो पर्छ ।
त्यस्तै प्राध्यापकले मास्क लगाएको हुन्छ । सबैले प्राध्यापक नै देख्छन् । तर उसको असली चरित्र बेग्लै हुन्छ । कतै राजनितिक कार्यकर्ता झैँ झोला बोकेर पार्टीका काम गर्दै हिँड्छन् । पढाउने भन्दा गुणगान र भजनकिर्तनमा बढी समय खर्चन्छन् । निर्देशनअनुरूप सङ्गठन निर्माण गर्छन् । ठेक्का पट्टा गर्ने काम गर्छन् । जागिर लगाई दिन्छु पहुँच छ भन्छन् । अरूले देख्दा प्राध्यापक नै देखिन्छन् । आफ्नो शिक्षा दिने, ज्ञान दिने पेसा वास्तवमा देखाउने दाँत मात्र हुन्छ ।
न्यायालयमा उस्तै छ । देख्दा कालोकोटमा माननीय नै छन् । न्यायमूर्तिकै प्रतिरूप छ । तर त्यो मास्क लगाएर जग्गा प्लटिङमा सही गरेर सेयर लिन्छन् । ज्यान गायबको सक्कल प्रमाणलाई नै नक्कल बनाएर फैसला हान्दिन्छन् । मुद्दै नपरेको विषियमा फैसला गरेर पाटनरको भूमिका निर्वाह गर्छन् । राजनैतिक दलझैँ वार्गेनिङ गर्छन् । रूप हेर्दा ठ्याक्कै न्यायमूर्तिकै छ । यो सबै मास्कको कमाल हो ।
यस्ता मास्कहरू यत्रतत्र छन् । हरेक पेसामा छन् । हरेक व्यवसायमा छन् । पत्रकारमा छन् । लेखकमा छन् । उधोगीहरूमा छन् । शिक्षक, इन्जिनियर, कर्मचारी, ब्रहमचारी, धर्मप्रचारक, यातायात, संचार, भन्सार चारैतिर मास्कको बिग्बिगी छ । जेलरलाई कैदी हो कि मन्त्री हो । अख्तियार हो कि, प्रहरी प्रमुख हो । ज्यानमारा हो कि उधोगपति हो भन्ने असमञ्जस जस्तै । त्यो सही मानिस होकी मास्क हो छुट्याउनै गाह्रो छ । यस्ता सयौँ हजारौँ प्रकारका मुखौटाहरू नेपालमा प्रयोग हुँदै आएका छन् ।