- भाषा
मुकुन्दशरण उपाध्याय (१९९७ वैशाख ५, हेमजा कास्की, सुपुत्र : केशरकुमारी उपाध्याय र दशरथ उपान्याय) नेपाली साहित्यका सिर्जना, समीक्षा, भषा चिन्तन जस्ता बहुमुखी क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनले प्राकृत पोखरा कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका थिए । २०१६ सालमा मासिक सर्वेश्वर पत्रिकामा भागवत जयन्ती शीर्षकको संस्कृत भषाको कविता प्रकाशन गरी साहित्य जगत्मा सार्वजनिक भएका उपाध्यायका निम्बार्कचरितम् (२०१६) संस्कृत खण्डकाव्य, शैल सरिथन (संस्कृत कवितासङ्ग्रह २०३८) प्रकाशित छन् । उनका प्राकृत पोखरा ( २०२१) काव्य, धर्ती र आकाश (२०३४) कवितासङ्ग्रहहरू उल्लेख्य छन् । उनको कलम आख्यान क्षेत्रमा पनि चलेको छ । बरदान (२०१७) उनको औपन्यासिक कृति हो । उपाध्यायको भाषा चिन्तन पनि त्यत्तिकै उल्लेख्य छ । उनका प्रस्तावना र विवेचना (२०४३) सरल नेपाली शुद्ध नेपाली (२०४५) जस्ता महत्वपूर्ण भाषिक कृतिहरू प्रकाशित छन् । अछिल्लो समय उनी निरन्तर भषा, व्याकरण, कोश र साहित्य चिन्तनका सामग्री सार्वजनिक गरिरहेका छन् । साहित्यसेवाबापत दर्जनौँ मान, सम्मान, पदक र अलङ्कारहरू प्राप्त गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको शब्दहरूको आत्मकथा शीर्षकको लोककथा र भाषाव्यकरणको मिश्रण गरिएको सामग्री समेटिएको छ । यसको वर्णविन्यासलाई उपाध्यायकै लेखनशैलीमा प्रस्तुत गरिएको छ । |
=============
1. शब्द हरू को जन्म सँग गजब गजब का कथा जोडिएका हुन्छन् । कुनै शब्द ले संस्कृति बोकेका हुन्छन् त कुनै ले महत्त्व पूर्ण इतिहास । शब्द हरू को आआफ्नो डीएनए पनि हुन्छ । एस कारण भाषामर्मज्ञ हरू शब्द का हरेक ध्वनि वा वर्ण को शुद्धता अर्थात् डीएनए अखण्डनीय र संरक्षणीय हुन्छ भन्छन्। प्राचीन ऋषि हरू ले त अशुद्ध शब्द लाई वाग्वज्र नै भनेका छन् । वास्तव मा शुद्ध शब्द हरू को सहायता ले ठूला ठूला समस्या को हल पनि हुन्छ र गम्भीर रहस्य पनि उद्घाटित हुन्छन्। एसर्थ शब्द लाई हल्का पारा ले लिन हुँदैन । अस्तु,
=
शब्दशक्ति को एस प्रसंग मा आज मँ ‘ घाघरा ‘ र ‘ साकेत ‘ शब्द सँग जोडिएको एउटा प्राचीन कथा लाई सम्झने प्रयास गर्छू । ‘ घाघरा ‘ एउटा प्रसिद्ध नदी को नाम हो । यो नदी अहिले हिन्दुस्थान मा बग्दछ । तर एसको मुहान आज पनि नेपाल को महाकाली र कर्णाली नै हो । ई दुई नदी फरक फरक ठाउँ बाट जब नेपाल को सीमा नाघेर इण्डिया मा पस्दछन् परदेश मा भेटिएका दुई नेपाली झैं एक आपस मा अंकमाल गर्छन् र एकाकार बन्छन् । केही समय इनको नाम शारदा वा कर्णाली नै रहन्छ तर कालान्तर मा साकेतवन मा घटित भएको एउटा हृदय छुने घटना ले यो एकीभूत जलप्रवाह ‘ गर्गरा ‘ नाम मा परिवर्तित हुन्छ र पछि तेही गर्गरा ‘ घाघरा ‘ मा परिणत हुन पुग्छ ।
=
3. एस्तो घटना कसरी हुन पुग्यो भने प्राचीन समय मा ‘ साकेत वन ‘ भन्ने एउटा राम्रो तपोवन थियो । वन मा अनेक थरी फलफूल र कन्दमूल पाइने हुनाले त्याहाँ कुटिया बनाएर एकान्त साधना गर्ने ऋषि र साधु सन्त का केत (कुटिया) हरू बन्न थाले । तेसरी केत अर्थात् कुटिया हरू भएको त्यो तपोवन ‘ आ समन्तात् केता: यत्र ‘ भन्ने अर्थ मा ‘ साकेत ‘ भनिन थाल्याे । यहाँ स्मरणीय के पनि छ भने संस्कृत मा अति सामान्य कुटिया लाई ‘केत ‘ अल्लि राम्रो कुटिया लाई ‘केतन’ र अझै राम्रो कुटिया लाई ‘निकेतन’ भनिन्थ्यो । संस्कृत भाषा कति अद्भुत छ भने याहाँ शब्द को सानो भन्दा सानो अंश मा पनि कुनै विशेष तात्पर्य भेट्न सकिन्छ ।
=
4. हो, एही साकेत वन मा त्रेता युग मा अयोध्या का राजकुमार राम आफ्ना बुवा दशरथ को आज्ञा अनुसार १४ वर्षीय वनवास को क्रम मा पत्नी सीता र भाई लक्ष्मण सहित पुगेका थिए र केही अवधि का लागि कुटिया बनाएरै बसेका थिए । श्रीराम त्याहाँ तपस्वी हरू को संगत गर्ने र उनीहरू को सेवा गर्ने इच्छा ले गएका थिए । सम्भवत: उनी अयोध्या बाट उत्तर पश्चिम तर्फ का तपोवन हरू को भ्रमण का क्रम मा त्याहाँ आइपुगेका थिए र उनले केही वर्षै त्याहाँ बिताएका पनि थिए ।
=
5. श्रीराम को यो सानो परिवार त्यो चाैधवर्षे वनवास को क्रम मा जहाँ जहाँ पुग्थ्याे तहीँ माटा का भाँडा ले काम चलाउने गर्थ्याे । माटा कै तसला, माटा कै गाग्री र माटा कै डेक्ची । थाल र कचाैरा भने टपरी र बोहता हुन्थे। एसरी चल्थ्यो राम परिवार को वन्य जीवन । स्थानीय ऋषि हरू पनि तेसै गर्थे, अथवा ऋषि हरू बाटै रामपरिवार ले यो कुरा सिकेको हुन सक्छ। एसरी आफ्नो दैनिकी चलाउँदै साकेत वन मा तपोमय जीवन बिताउन पुगेका थिए वनवासी राजकुमार राम। उता अयोध्यापुरी को नन्दीग्राम मा पनि ठीक एही शैली अपनाएर दाई राम को स्वदेशागमन लाई पर्खिरहेका थिए उनका भाई भरत ले ।
=
6. तर साकेतवन मा बस्ती साह्रै पातलो हुनाले त्याहाँ सम्म माटा का भाँडा बोकेर कुमाले हरू आउन्नथे, एसर्थ वनवासी हरू ले कुनै नयाँ भाँडो चाहियो भने तपोवन बाट धेरै टाढा पुगेर ल्याउनु पर्थ्याे । राम परिवार मा पनि एक पटक तेस्तै समस्या पर्यो र लक्ष्मण ले सुदूर गाउँ मा गएर नयाँ ‘ गर्गर ‘ ल्याए । ‘ गर्गर ‘ अर्थात् माटा को गाग्रो। तेस ‘गर्ग’ मा कुटिया बाट नदी मा पुगेर पानी ल्याउने काम राम वा लक्ष्मण को हुन्थ्यो, सीता जी भोजन तयार गर्थिन् र दूना टपरी गाँस्थिन् ।
=
7. एक दिन राम र लक्ष्मण लाई कतै जाने काम पर्यो, सीता लाई कुटिया मै छोडेर । तेस्तो पर्दा ऋषिपत्नी हरू सीता लाई साथ दिन रामकुटिया मै आउने गर्थे । तर कुटिया मा भएको गर्गर मा तेस दिन पानी पर्याप्त थिएन । साथी हरू आउने दिन पिउने पानी को कमी नहोस् भनेर सीता स्वयं नै गर्गर लिएर नदी मा पुगिन् । नदी को वेग तेजिलो थियो र साथी हरू आइपुग्नु भन्दा अगावै कुटी मा पानी पुर्याउने केही हतारो पनि थियो सीता लाई। एसर्थ शीघ्रता पूर्वक गर्गर लाई नदी मा डुबाउने क्रम मा नदी को वेग ले गर्दा सीता को हात बाट गर्गर फुत्कियो र विशाल नदी मा बगेर विलीन हुन पुग्यो । एस अप्रत्याशित घटना ले सीता साह्रै दु:खित बनिन् ।
=
8. साकेत वन मा बस्दा बस्दै श्रीराम परिवार एति धेरै लोकप्रिय भएको थियो कि तपोवन का निवासी ऋषि र ऋषिपत्नी हरू मा एस घटना ले ठूलो चर्चा पायो । यो चर्चा सुदूर गाउँ हरू सम्म पनि पुग्यो । सून र चाँदी का भाँडा हुने घर की छोरी र अयोध्या दरबार की बुहारी सीता को कष्टमय जीवन को विवरण ले साकेत वरपर का जनता लाई भावुक बनायो, धेरै कुरा एस घटना सँग जोडिएर आए । मुख्य कुरा त सीता को सज्जनता र उनी प्रति को गहिरो सहानुभूति ले यो घटना घर घरै चर्चित हुन गयो।
=
त्यो सानो तर मार्मिक घटना ले शारदा वा कर्णाली नदी को नामै गर्गरा नदी रहन गयो । गर्गरा नदी अर्थात् ‘गाग्रे खोलो’ अथवा गाग्रो खाने खोलो। एही गर्गरा नाम कालान्तर मा ‘गागरा’ नदी मा परिणत भयो र गर्गरा नाम का अक्षर मा भाषाविज्ञान ले पनि आफ्नो हैकम चलाउन शुरू गर्यो ।
–
भाषाविज्ञान ले सर्वप्रथम क्षतिपूर्ति मा दीर्घ हुनु पर्ने नियम को प्रयोग गर्यो र गर्गरा लाई गागरा बनायो । तेस पछि उसले महाप्राणीभवन को अस्त्र प्रयोग गर्यो र गागरा को गकार लाई घकार मा परिणत गराएर ‘घाघरा’ बनाइदियो । एसरी हाम्रो शारदा वा कर्णाली नदी घाघरा मा परिणत भयो । अनि फेरिएको नाम का कारण हामी मध्ये कति ले त चिन्नै नसकिने पनि बन्यो ।
=
भाषाविज्ञान र लोककथामा आधारित रहेर लेखिएको ।



मुकुन्दशरण उपाध्याय (१९९७ वैशाख ५, हेमजा कास्की, सुपुत्र : केशरकुमारी उपाध्याय र दशरथ उपान्याय) नेपाली साहित्यका सिर्जना, समीक्षा, भषा चिन्तन जस्ता बहुमुखी क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनले प्राकृत पोखरा कृतिका लागि मदन पुरस्कार प्राप्त गरेका थिए । २०१६ सालमा मासिक सर्वेश्वर पत्रिकामा भागवत जयन्ती शीर्षकको संस्कृत भषाको कविता प्रकाशन गरी साहित्य जगत्मा सार्वजनिक भएका उपाध्यायका निम्बार्कचरितम् (२०१६) संस्कृत खण्डकाव्य, शैल सरिथन (संस्कृत कवितासङ्ग्रह २०३८) प्रकाशित छन् । उनका प्राकृत पोखरा ( २०२१) काव्य, धर्ती र आकाश (२०३४) कवितासङ्ग्रहहरू उल्लेख्य छन् । उनको कलम आख्यान क्षेत्रमा पनि चलेको छ । बरदान (२०१७) उनको औपन्यासिक कृति हो । उपाध्यायको भाषा चिन्तन पनि त्यत्तिकै उल्लेख्य छ । उनका प्रस्तावना र विवेचना (२०४३) सरल नेपाली शुद्ध नेपाली (२०४५) जस्ता महत्वपूर्ण भाषिक कृतिहरू प्रकाशित छन् । अछिल्लो समय उनी निरन्तर भषा, व्याकरण, कोश र साहित्य चिन्तनका सामग्री सार्वजनिक गरिरहेका छन् । साहित्यसेवाबापत दर्जनौँ मान, सम्मान, पदक र अलङ्कारहरू प्राप्त गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको शब्दहरूको आत्मकथा शीर्षकको लोककथा र भाषाव्यकरणको मिश्रण गरिएको सामग्री समेटिएको छ । यसको वर्णविन्यासलाई उपाध्यायकै लेखनशैलीमा प्रस्तुत गरिएको छ ।