काठमाडौं : किताब यात्रा फाउन्डेसनको आयोजनामा हरेक वर्ष हुने ‘किताब जात्रा’ आइतबारबाट सुरु भएको छ। एपीवान टेलिभिजनमा एक सातासम्म प्रशारण हुने ‘किताब जात्रा’ को पहिलो दिन संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरिएको छ।
जोशीलाई नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिने ‘प्रेम साहित्य सम्मान’ प्रदान गरिएको किताब जात्राको फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिए। एक लाख एघार हजार एक सय एघार रूपैयाँ राशिको सो सम्मान सर्लाहीका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको हो।
यसैगरी किताब जात्राकै अवसरमा प्रदान गरिने ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ जीवा लामिछानेको कृति ‘देश देशावर’ले प्राप्त गरेको छ। किताब यात्रा डटकमले एक वर्षको अवधिमा आफ्नो प्ल्याटफर्ममार्फत सर्वाधिक बिक्री भएको पुस्तकलाई यो अवार्ड प्रदान गर्दै आएको छ।
किताब जात्राको पहिलो छलफलमा ‘कथा लेखनको कथा’ शीर्षकमा आख्यानकार नयनराज पाण्डे र अमर न्यौपानेसँग शोभिता सिंखडाले अन्तरक्रिया गरेकी थिइन्। गायक अमृत गुरुङसँगको अन्तरंग सम्वादलाई टीकाराम यात्रीले ‘नेपथ्यका सारथी ः अमृतका अन्तरकुन्तर’ शीर्षकमा प्रस्तुत गरेका थिए। ‘किताब जात्रा’ एक सातासम्म एपीवान टेलिभिजनबाट बेलुकी ६ बजेदेखि ७ बजेसम्म प्रशारण हुनेछ।