हुन त बाल्यकालका साथीहरूसँगको भेट कसका लागि रमणीय क्षण नहोला र ! कतिपय बाल्यकालका साथीहरू मैले सामाजिक सञ्जाल फेसबुकबाट भेट्ने अवसर पाउँदै आइरहेकी छु । कुरो आजभन्दा झण्डै दुई वर्षअघिको हो । दशकपछि साथीहरूसँगको भेट हुने उत्सुकताले मलाई त्यो दिन भोलि कहिले होला भनेर पलहरू बिताउन छट्पटी भइरहेको थियो । लाग्यो, जीवनका अमूल्य क्षणमध्ये साथीहरू भेट्न पाउनु पनि एक किसिमको आनन्दित अनि सब थोक भुलेर सुख प्राप्त गर्ने अनुपम अवसर । मलाई त्यो दिन साथी जय लक्ष्मीको घरमा भेट्नु भन्ने खबर पाएकीले सोही अनुरूप घर खोज्दै उनको घरमा पुगेँ ।
दशकपछि छुट्टिएर भेटेका साथीहरू, कति साथीलाई चिन्न अलि मुस्किल पनि परेको थियो । करिब हामी २० जना जतिको ग्रुपको भेटले हामी पुनः बाल्यवस्थमा पुग्यौँ । त्यो समय यति हल्ला, हसी मजाक र कुरो आदान प्रदानमा परिणत भयो कि लाग्थ्यो हामी कक्षा ३–४ का बालकहरू हौँ । २
बजे भेटको कार्यक्रम थियो । सबै साथीको उपस्थितपश्चात पनि साथी सहाराको कमीले सबलाई कौतूहल जाग्यो, तिनी किन उपस्थित भइनन् भनेर । वास्तवमा साथीहरू भेटको कार्यक्रम उनीबाट नै सुरु भएको रहेछ । कार्यक्रम तयारी गर्ने मुख्य पात्र नै उपस्थित नभएपछि मलाई पनि खल्लो लाग्न थाल्यो । हामीमध्येकै एकजनाले फोन गरेर भनिन्, कुर्न पनि एक घण्टासम्म पो हो । ओइ छिटो आइज, बेला भएन ?
फोन गर्दै गरेकी साथीले अनायासै ‘आमै कहिले र कति दिन भो भन्दै झस्किएको आवाजमा निन्याउरो बनेको देखेर वातावरणमा सन्नाटा छायो । कुरो टुङ्गो लागेपछि किन ? के भो ? भनी सबले एकै स्वरमा सोध्न पुग्यौँ । उनले अलि आत्तिएको स्वरमा भनिन्, ‘सहाराको छोरो बितेको ४ दिन भो रे !’ प्रत्युत्तरले हामी सब स्तब्ध भयौँ ।
दशकौँ पछिको पहिलो भेटमा दुखद् समाचार । ‘लौ न कसरी होला ! के होला, कसरी होला !’ सबले आआफ्नै तरिकाले प्रश्न गर्दै सहाराको के हालतबारे चिन्तित भयौँ । भनिन्छ श्रीमान् श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । सोहीअनुरूप साथीहरू पनि एकअर्काका दुःखसुखका परिपूरक हात हुन् भन्नुमा अनुपयुक्त नहोला । तिनको मन भित्रको पीडा तिनी आफै भोग्दै थिइन् । केही महिना बितेपछि हामी सहारालाई सान्त्वना पनि मिल्छ कि भन्ने सोचले अर्काे गेटटुगेदरको कार्यक्रम गर्याै । त्यो भेट ‘साथी वीणा’को घरमा थियो
सहारा धेरै उदास देखिन्थिन् तर आफूले आफूलाई सम्हालेकी थिइन् । कुरैकुराका क्रममा मैले थाहा पाएँ २०७२ सालको महाभूकम्पले घर भत्केर तहसनहस भोग्नुपर्याे रे । आजभन्दा ५ वर्ष अगाडि उनका श्रीमान् पनि बित्नुभएको रहेछ । जब मानिसलाई दुःखपछि दुःख ताँती लाग्दै जान्छ सोच्दो हो, भगवान् पनि निमुखा मानवप्रति किन निर्दयी बनेका होलान् ! के साँच्ची प्राणी दुःखमा ढुङ्गा झैँ अटल बनेर असह्य पीडा सहन बाध्य हुनुपर्ने ! बूढापाकाहरू भन्ने गर्थे ‘दैवको लीला अपरम्पार’ । हो, यो भनाइमा म पनि सहमत छु । एकपछि अर्काे दुःख खेप्न बाध्य हुनु प्राणी निश्चल निर्जीव वस्तुसरी जिउँदो लास समान जिउन बाध्य भइरहेका छन् । जसले निःस्वार्थ मनसायले कर्म गर्दागर्दै पनि दलदलमा खस्न पुग्छन् ।
गेटटुगेदरमा सब साथी सहाराकै विषयमा चिन्तित देखिन्थे, तिनलाई कुन तवरले सहयोग गर्न सकिएला भनेर । सबको सल्लाह उनकै सोच अनुरूप काममा व्यस्त हुनु नै मन बहलाउने सही मार्ग देख्यौँ । तसर्थ हामीले उनी काममै व्यस्त रहून् भन्ने चाह्यौँ । सबैले सोचेअनुरूप केही समयपछि कार्यालयको काममा व्यस्त हुन थालिन् । सयपत्री फूलका अनेक पत्रमध्य एक पत्रको उनको खुसी हाम्रा लागि पनि उनी कार्य व्यस्ततामै केन्द्रित रही बहलाउलिन् भन्ने सपना बुन्न थाल्यौँ ।
सहारा कहिलेकाहीँ मेरो अफिस आउने गर्थिन्, आफ्नो दुःख पोखेर मन हलुङ्गो भो भन्थिन् । उनको आँसुमा वास्तवमै दर्दनाक कथा लुकेको थियो, जो भोग्नेले मात्र बुझेका हुन्छन् । के कुरा सत्य हो भने जो दुःखको भागिदार हुन्छन् उनीहरू मात्र महसुस गर्न सक्छन् । दुःखमा रुमल्लिएका पीडाका पल कस्ता हुँदा रहेछन् भनेर । सहाराको दिनचर्यामा भिज्दैजाँदा कहिलेकाहीँ आफू पनि भाव विह्वल बन्न पुग्छु । उनी सुनाउने गर्थिन्, कोठा भाडामा राखेकी थिएँ । जसोतसो गुजारा चल्दै थियो त्यो पनि खै ! अब त आशै मरिसक्यो । यो लक डाउन, कोरोनाले बाहालवालाहरू पनि घर जाने निहुँमा बहाल नतिरी सम्पर्कविहीन हुन थाल्या छन् भन्या । यो कुराले मेरो मन पुनः एक पटक चिस्सियो । यस्तो पनि हुँदो रहेछ मान्छेलाई दुःखले लखेटेपछि ।
हुन त यो कोरोनाको लकडाउनले घरबेटी र बहालवालाको कहानीको खिचडी भएको घटना अनगिन्ती नै छन् तर मेरी सहारा पनि यो दलदलमा किन मुछिन् पुगिन् । सफल जीवन बित्दै जाने चाहनामा थपिँदै गएको अँधेरी कसलाई पो धैर्य गर्न सहज होला र ! तैपनि उनी साथीहरूको माझ रमाउन खोज्दै थिइन् । आफन्तहरू पनि उनलाई हौसला दिँदै मन बहलाउन ठाउँठाउँ घुमाउन लग्दा रहेछन् । जब सामाजिक सञ्जालमा सहाराको फोटोहरू पोस्ट गरिएको देख्छु, मन प्रफुल्लित भएको अनुभव गर्छु । साँच्चि उनी बिस्तारै नयाँ जीवनमा रमाउन थालेकी रैछिन् । मुहारमा केही खुसीका थोपाहरू झल्किएको अनुमान गर्न सकिन्थ्यो ।
सहारा र अरू साथीहरूसँग भेटघाट नभएको पनि निकै दिन बितिसकेको थियो । एक दिन मैले हाम्रो ग्रुपको मेसेन्जरमा शीघ्र स्वास्थ्य लाभको कामना सहारा भन्ने टेक्स्ट पढ्न पुगेँ र म झस्किएँ । बचेर बस्नु है, कोरोना बढ्दैछ । जताततै नजानू भनी मलाई सुझाव दिने सहारा आज स्वयम नै सिकार बन्न पुगेकी रैछिन् । साथीहरूले उनी भेन्टिलेटरको सहरामा बस्दैछिन् भन्ने कुरो पनि सेयर गरिएको थियो । उनी पाइपको सहाराले केही झोल खानेकुरा खाँदैछिन् रे ! उनको यो अचेत अवस्था सुन्दै असह्य लाग्न थाल्यो । मलाई अझै कुरोप्रति विश्वास गर्न कठिन भयो र साथीहरूलाई फोन गरी विस्तृत जानकारी लिएँ ।
अहिले हाम्रोमा कोरोनाले भयावह स्थिति छ । हर कार्यहरू कोरोनाका कारण ठप्प छन् । व्यपार व्यावसाय मात्र नभई मानव जीवन नै अस्तव्यस्त बन्दैछन् । लाग्छ प्रकृतिको हराभरा दृश्य पनि उजाड लाग्न थाल्दैछ । कसैसँग भेटघाट गर्नु त छुट्टै कुरो, कोही घर बस्दाबस्दै पनि कोरोनाको सिकार बन्न बाध्य भइरहेका छन् । सामाजिक सञ्जालतिर हेर्ने हो भने कोरोनाका कारण हाल आईसीयूमा छन्, बल्लतल्ल कोरोनालाई जित्न सफल भइयो । कोरोनालाई ख्यालठट्टा नगरौँ जस्ता म्यासेज सेयर गरिएका हुन्छन् । यस डरलाग्दो कोरोनाबाट सहारा पनि अछुतो हुन सकिनन् । साथी सहारा अहिले भेन्टिलेटरको सहारामा रोगसँग लडेर उन्मुक्त हुने मनसाय लिएर बसेकी छौ होला, कति कुरा भन्न मन लागिरहेको होला । जुन बोलीले प्रष्ट्याउन सकिरहेकी छैनौ । रोगले शिथिल अवस्था कसैको अँगालोमा डाँको छोडी रुन मन लाग्दो हो ।
कुनै कुनै परिस्थिति यस्ता पनि हुँदा रैछन् जसको विकल्पमा कुनै पनि कुराको प्रतिस्थापन गर्न नसकिँदो रहेछ । उनी त्यही स्थितिमा छिन् जसको शुभ—दिनको पर्खाइको हामी सब हतासमा छौ ।
सहारा तिम्रो शीघ्र स्वास्थ्यको कामना गर्दै हामी तिम्रो जीवनको सहारा अनि ‘तिमी’ हामी साथीहरूको कहिल्यै नछुट्टिने डोरीको सहारा बन्छ्यौ भन्ने अपेक्षा राख्दैछौं । हाम्रो पुनः भेटघाट छिट्टै नै होस् भनी हामी सबै साथीले भगवान्सँग प्रार्थना एवं कामना गर्दैछौँ । सी यु सहारा !