–कृष्णप्रसाद शर्मा
‘नमस्ते ! कताबाट आउनुभ’को ? हाम्रो गाउँ घुम्न आ’को हो ?’ बाटोमा हिँड्दै गर्दा अनायासै सोधिएको प्रश्न थियो ।
मैले हो मात्र भनेँ ।
‘हुम्.. कता जाने त घुम्न ! गुम्बा गाउँ जाने ?’
मैले सहमति जनाउँदै भने ‘हुन्छ’ । त्यसपछि मेरो यात्राको साथी बनिन् आइती ।
आइती सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपलिकामा बस्छिन् । कक्षा ८ मा पढ्दै गरेकी करिब १२ वर्षकी उनी निडर र साहसी स्वभावकी पाएँ मैले ।
मेरो पहिरन, झोला अनि क्यामरा देखेर होला उनले अनुमान गर्दै सोधिन्, ‘तपाईंं पत्रकार कि टुरिस्ट ?’ मलाई पनि सीधा जवाफ दिन मन लागेन । तर्क गर्न मन लागेर उल्टै प्रश्न सोधेँ, ‘म को होला जस्तो लाग्छ तिमीलाई ?’
अलि निधार खुम्च्याएर उनले भनिन्, ‘जो भए पनि मलाई के ?’ अनि थप्दै गइन्, ‘थाहा छ तपाईंलाई, हाम्रो कक्षाको दोर्जेले मेरो साथी सुनितालाई जिस्क्याएको नि अस्ति ! अनि मैले त हिजो थाहा पाएर त्यसको सर्टको कलर समातेर थर्काइदिएँ । केटी भनेर हेप्न मिल्छ र ?’ आफ्नो साहसको कथा सुनाइन् उनले ।
‘तिमी कतिमा पढ्छ्यौ ?’ भन्ने मेरो प्रश्नमा उनले भनिन्, ‘सेतीदेवी मावि पाङ्गरपुर, कक्षा–८ मा ।’
स्कुलकै पोसाकमा मसँगै हिँड्दै गरेकी उनले स्कुलमा गत साता भएको कार्यक्रमको बखान गरिन्, ‘अघिल्लो हप्ता हाम्रो स्कुलमा बालविवाहविरुद्ध नाटक देखा’को थ्यो’नि ! त्यसमा न्यायाधीश, नेता, कलाकार अनि हाम्रो गाउँपालिकाको उपाध्यक्ष पनि आ’को थियो ।’
मैले बीचैमा सोधेँ, ‘कस्तो लाग्यो त तिमीलाई त्यो नाटक ?’
‘राम्रै थ्यो ! मलाई त नेताको भाषण र उपाध्यक्षको कुरा बढी मन पर्याे । तपाईंलाई थाहा छैन म पनि पछि गएर नेता बन्ने ।’
‘किन नेता बन्ने नि ?’
‘मलाई अन्याय मन पर्दैन, झगडा पनि । केटाले केटीलाई हेपेको, बाआमाले रक्सी खाएर झगाडा गरेको केही पनि मन पर्दैन । त्यसैले सबैलाई न्याय दिन म पनि पछि उपाध्यक्ष बन्ने ।’
यति भनेर उनी सायद कुनै कल्पनामा हराउँदै थिइन् । फेरि मैले सोधेँ, ‘किन उपाध्यक्ष ? अध्यक्ष बने हुन्छ नि !’
‘हाम्रो सामाजिक पढाउने सरले भन्नु’भा न्यायिक समिति उपाध्यक्षको जिम्मेवारीमा हुन्छ रे त्यसैले म त उपाध्यक्ष नै बन्ने ।’
केही छिनको स्तब्धतालाई चिर्दै मैले सोधेँ, ‘अनि के गर्छाै नि उपाध्यक्ष बनेर ?’
उनले आफ्ने सपना सुनाउनुअघि बाटोमा फालिएको पबजी लेखिएको चाउचाउको खोल टिपेर आफ्नो झोलामा हाल्दै भनिन्, ‘म गाउँपालिकाको उपाध्यक्ष भएपछि यी सबै पहाडको ढुङ्गा, माटो बेचिदिन्छु । तपाईंलाई थाहा छ ? याँ’को स्लेट, ढुङ्गा, बालुवा सबै काठमाडौँ अनि बाहिर पनि लान्छन् नि । अनि सबैसम्म भएपछि त विकास गर्न पनि सजिलो हुन्छ । ढुङ्गा, माटो बेचेको पैसा पनि हुन्छ, त्यसैले विकास पनि गर्ने अनि पैसा कमाउने उद्योग पनि खोल्ने । सबै गाउँमा पुग्ने सडक बनाउने, वर्षामा पनि गाडी गुड्ने सडक, अस्पताल बनाउने तर स्कुलहरू त बनाउनै पर्दैन । भूकम्पपछि सबै राम्रो पाक्की स्कुल बनिसक्यो । म त मेरो स्कुलको अङ्ग्रेजी पढाउने सर चाहिँ फेर्छु । आफैँ राम्रो नपढाउने अनि गाली पनि गर्ने । अनि नि.. मलाई पूmल एकदम मन पर्छ । म त सबै स्कुलमा राम्रोराम्रो बगैँचा बनाउन लगाउँछु । सबै हेरचाह पनि सरमिस र विद्यार्थीले गर्ने गरेर । मैले घर नजिकै पनि पूmलबारी बनाएको छु नि ! मेरो घर पसेर जानु है तपाईं पनि ।’ सहमति जनाउँदै मैले टाउको हल्लाएँ ।
उनको बोली अनि कुराको गहनताले मलाई मोहनी लगाएको थियो । मलाई आपूm बोल्न भन्दा पनि उनकै कुरा सुन्ने तीव्र इच्छा थियो । म सुन्दै गएँ, उनी भन्दै गइन् ।
‘जुगल हिमाल घुम्न जानेहरू हाम्रै घरको बाटो हुँदै जान्छन् अनि मेरो बगैँचामा पनि हेर्दै आनन्द मान्छन् । फोटो खिच्छन् । चरा, पुतली पनि रमाउँदै बस्छन् । मलाई सारै राम्रो लाग्छ । म उपाध्यक्ष भएपछि अझै धेरै पर्यटकलाई जुगल बोलाउँछु । सुनिताको बाआमाले त होमस्टेको तालिम पनि लिइसके । तर उहाँहरू रक्सी खाएपछि झगडा गर्नुहुन्छ । म नेता भएपछि रक्सी खाएर झगडा गर्ने, कुटपिट गर्नेलाई कडा सजाय दिन्छु तर सबैलाई न्याय दिन्छु । अरू केके गर्नुपर्छ उपाध्यक्ष भएपछि तपाईंलाई था’छ ?’
‘सुरुमा त्यति मात्र गर्याैं भने पुग्छ, त्यसपछि के गर्ने भनेर तिमी आफैँलाई थाहा हुन्छ, ‘राज्य, सरकारको दायित्व यी कलिली भावी नेतामा थोपर्न मलाई मन लागेन । उनकै योजना र इच्छा सुन्न मात्र मन लाग्यो ।
उनले गम्भीर हुँदै थपिन्, ‘मैले स्कुलमा आएको नेताले भनेको सुनेको, हाम्रो जुगल गाउँपालिकामा एक वर्षका लागि झन्डै पचास करोड पैसा आउँछ रे । तर केही काम गरेको देखिँदैन । म त त्यो सबै पैसा जनतालाई बराबर बाँडिदिन्छु । मैले सरहरूसँग सोधेर हिसाब पनि गरेको छु नि, एक जनाको भागमा कति पैसा पर्छ भनेर । त्यसपछि त सबैसँग पैसा पनि हुन्छ, न्याय पनि पाउँछन् ।’
मैले उनको सुन्दर सपनामा शङ्का गर्दै सोधेँ, ‘तिमी यति सबै काम गर्न सक्छ्यौ त ?’
उनले गर्व साथ भनिन्, ‘सक्छु नि, किन नसक्नु ? मेरो स्कुलको इङ्ग्लिस पढाउने सरले मात्र मलाई माया गर्नु हुन्न । अरू सरमिसहरूलाई सोध्दै काम गर्छु । अहिले स्कुलमा पढेको अनि होमवर्क गरे जस्तै । किन तपाईंलाई मैले सक्दिनँ जस्तो लाग्छ हो ?’
‘तिम्रो यति राम्रो सोच र योजना छ पक्कै सक्छौ जस्तो लाग्छ मलाई त ‘मैले उनको हौसला बढाउँदै भनेँ ।
उनले थपिन्, ‘एउटा कुरा त भन्नै बिर्सेंछु, मलाई गीत गाउन पनि सारै मनपर्छ नि । म त उपाध्यक्ष भएपछि एउटा गीतको एल्बम पनि निकाल्छु । ‘उनले हाँसेर मेरो मुखमा हेर्दै भनिन्, म पनि मुस्कुराएँ ।
टिनले छाएको, भुइँतल्ले घर देखाउँदै भनिन्, ‘हाम्रो घर पनि आइपुग्यो ।’
‘मेमे भोक लाग्यो, खाजा के छ ?’ कराउँदै आइती घरभित्र छिरिन् ।
पिँडीमा मकै छोडाउँदै गरेकी हजुरआमाले मेरो आतिथ्य गर्दै चिसो पानी दिनुभयो ।
आइती घरभित्रबाटै कराइन्, ‘घरभन्दा अलि पर देखिएको बगैँचा मेरै हो । तपाईं पनि गएर फोटो खिचे हुन्छ ।’
उनको कुरा सिध्दिन नपाउँदै हजुरआमा थप्नुहुन्छ, ‘सारै जिद्दी छे यो नातिनी, बाबु । हाम्रो बारी धेरै छैन । पूmलबारी बनाएर फलाउँदै आएको अन्न किन घटाउने, पूmलबारी नबना, त्यति बारीमा तलाई दुई महिनालाई पुग्ने अन्न फल्छ भनेको त तीन दिनसम्म खान नै खइन । मैले खाने कुरा उमार्ने ठाउँ जातिमा मात्र भए पनि पूmलबारी बनाउँछु भनेपछि मन थाम्न सकिनँ, माया लाग्यो । अहिले हप्ताको एक दिन व्रत बस्छे ।’
‘अहिले त राम्रो पूmलबारी छ । जानू न गएर हेर्नू’
मेरो भित्री मन रोयो । बाहिर भने आँशु देखाइनँ । यति सानी नानी अनि यस्तो विशाल इच्छा, कति दृढ इच्छा शक्ति ! एक्लै घुमेर आएँ त्यो रमाइलो पूmलबारी । प्रशंसा नगरी बस्नै सकिनँ ।
त्यसपछि हजुर आमाले थप्नुभयो, ‘नेता बन्छु भन्छे नानी के गर्ने होला ? सारै जिद्दी छे । राजनीतिमा चलखेल हुन्छ, यसले के बुझ्ली ?’
एकछिन गम्भीर हुँदै फेरि थप्नुहुन्छ, ‘हुन त सबैको भलाइका लागि यसरी व्रत बसेर भए पनि राम्रो काम गर्ने नेता भए त गाउँलाई पनि राम्रै हुन्थ्यो नि ।’
के बोल्ने के नबोल्ने अलमलमा परिरहँदा फेरि अर्काे प्रश्न तेर्सियो, ‘हाम्रा नेताहरूले पनि एक वर्ष मात्र व्रत बसेर (घुस नखाएर), निस्वार्थ भावले गाउँको सेवा गरे भने पाँच वर्षमा त हाम्रो गाउँमा पनि सबैले पेटभरि खान पाउँथे होला नि है ?’
म निःशब्द थिएँ । त्यसलाई चिर्दै करिब एक मिनेटपछि हतारिँदै ढोकाबाट बाहिर निस्किँदै आइतीले भनिन्, ‘मलाई त घाँस काट्न जान हतार भयो । तपाईं बस्ने कि जाने ?’
‘म पनि निस्कन्छु’, भनेर हिँड्न लाग्दा आइतीले सोधिन्, ‘तपाईंको फेसबुक छ ?’
छ भनेर जवाफ फर्काउन नपाउँदै उनले भनिन्, ‘मेरो पनि छ । हामी त्यैँ कुरा गरौँला है ! सुनिताको बा विदेशमा छन् । उनैले पठाइदिएको मोबाइलमा हामी फेसबुक चलाउँछौँ । अनिता तामाङ भनेर म्यासेज पठाउनु है ।’
मैले सोधेँ, ‘तिम्रो नाम त आइती हैन ?’
‘हो तर त्यो नाम राम्रो छैन रे । त्यसैले सुनिताले नै अनिता भन्ने नाम बाट खोल्देकी ।’ डोको बोकेर हतारिँदै, ‘पछि कुरा गरौँला, राम्ररी जानु ‘भनेर उनी घाँस काट्न गइन् ।
म पनि घरकी आमासँग बिदा मागेर, जुगलको भावी नेता आइतीको नेता बन्ने सपना दिमागमा खेलाउँदै तेम्बाथान जानको लागि हिडेँ ।