डा.गोविन्दसिंह रावतको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको अमेरिकाको स्टेटस शीर्षकको कथा समेटिएको छ । यस कथाले अमेरिका पुगेर राम्रोसँग गरिखाइरहेको परिवारमा आएको विचलनलाई निकै जीवन्त रूपमा अभिव्यक्त गरेको छ । कथाले नारी र पुरुष मनोविज्ञानलाई पनि समेटेको छ । – सम्पा. |
रमलाले फोन गरेर मिल्छ भने अहिल्यै नै घर आउनु भनिन् । पावनालाई लिन जानुपर्ने भयो भनेपछि मैले हुन्छ भनेर अफिसमा घरायसी कारण बताएर बिदा लिएँ । पार्किङ्ग लटमा आएर फेरि रमलालाई फोन गरेँ । म आफै गएर पावना र भावना दुवैलाई लिएर आउछु नि भने । त्यसो भन्दा रमला मानिनन् । घर आउनु अनि सँगै जानुपर्छ । पावना मात्रै छोरी लिएर आउने हो भनेपछि मैले हुन्छ भनेर फोन राखिदिएँ ।
लगभग तीस वर्षकी भावना चार महिनाअघि कुनै सम्मेलनमा भाग लिन अमेरिकाको एरोजोना आएपछि अहिले दिदीभिनाजु पावना र प्रद्युम्नसँग यहीँ नै बस्दै आएकी छन् । प्रद्युम्न र पावनासँग हाम्रो राम्रो सम्बन्ध थियो । पावनाप्रति प्रद्युम्नको माया अगाद रहेको देखेर रमलाले कहिले काहीँ मलाईसमेत ‘देख्यौ प्रद्युम्नजी पावनालाई कति माया गर्नु हुन्छ’ भनेर उदाहरण दिने गर्थिन् ।
पावना र रमला पोखरामा स्कुलदेखिको साथी । काठमाडौं आएर दुवैले सँगै मेनेजमेन्ट पढेका थिए । बैंकको जागिर खादै गर्दा रमला अमेरिकामा एउटा ट्रेनिङमा भाग लिन आएपछि यहीँ कै भइन् र दुई वर्षपछि म पनि थपिएँ । पावनाको हकमा भने उनका श्रीमान प्रद्युम्न यहाँ आएका थिए । उनी यहाँ आएर स्थापित भएपछि पावनालाई बोलाएका थिए । शिकागोबाट चार वर्षअघि यहीँ सरेपछि रमला र पावनाका कारण हामीबिच आवतजावतले निरन्तरता पाउँदै जान थाल्यो । अझ भनौं एउटा पारिवारिक सम्बन्ध जस्तै भएको थियो ।
चार महिनाअघि अमेरिका आएकी भावनालाई पनि अमेरिका बस्ने विचार भएकोले यहाँको स्टेटस पाउने उपायहरू खोजिरहेको बारे मलाई पनि भनेकी थिइन् । भावना चिटिक्क परेकी राम्री थिइन् । राम्रीभन्दा पनि एकदम फिट भएर बस्ने भएकोले उनको सौन्दर्य देखेर आकर्षित नहुने पुरुष विरलै होलान् । म पनि रमलाले पावनालाई लिन पठाउँदा भावनालाई पनि सँगै ल्याउन पाउने भएकोले तुरन्तै हुन्छ भनिहाल्थेँ ।
के गर्ने मर्दको मन न हो, मनभित्र एक प्रकारको काउकुती जस्तै हुँदो रहेछ । फेरि पावनालाई लिन जाँदा पावना आफ्नो दुई वर्षको छोरालाई कारको सिटमा राखेर पछाडिनै बस्ने गर्थिन् भने भावना अगाडि मसँगै बसेर मीठा मीठा गफ हाँक्दै मनोरञ्जन दिदै जाने गर्थिन् । त्यासो भएकाले यात्राको बेग्लै मजा आउने गथ्र्यो । त्यसमा पनि भावनाले मलाई ह्यण्डसम भिनाजु भनेर बोलाउने गरेकोले त्यसको अर्कै मज्जा आउने गथ्र्यो । त्यसैले त रमलाले पावनालाई लिन जानु पर्छ भन्दा भावनालाई पनि सँगै ल्याउन पाइन्छ भनेर अफिसबाट चाडै निस्कने तारतम्य पनि मिलाई छाडेँ ।
तर आज रमला पनि सँगै जाने र भावना नआउने भनेपछि मनमा खुल्दुली मच्चिन थाल्यो । रमलालाई भावना किन नआउने भनेर सोध्न पनि गाह्रो । भावना घरमा आउँदा उनीसँग वाइन पिउँदै गफिनुको मजा पनि बेग्लै हुन्थ्यो । त्यसैले भावनाको सुखद् उपस्थितिको कल्पना गर्दै म घर पुगेँ । घर पुगेपछि रमलालाई बाहिरैबाट फोन गरेर बाहिर निस्कन भनेँ । रमलाले मलाई नै भित्र आउन भनेपछि मोटर पार्क गरेर म भित्र पसेँ ।
भित्र पस्नासाथ रमलाले भनेको कुरा सुनेपछि मलाई छानाबाट खसे जस्तो भयो । मुखबाट अचानक ‘हैट कस्तो बोर !’ निस्कियो । मेरो शब्द सुनेपछि रमला मलाई हेर्दै, ‘के भनेको, के हो बुडा, तिमी पनि मलाई छोड्ने लाइनमा छौ कि क्या हो ?’ भनेर शब्द बाण हान्न थाली । मैले आफूलाई जोगाउँदै, त्यस्तो केही हैन, अचम्म लागेर पो, भनेर रमलालाई शान्त पार्दै हामी पावनाको घरतिर लाग्यौँ ।
बाटोभरि मेरो मन मस्तिष्कमा भावनाको मुहार र रमलाले भर्खर सुनाएको कुरा घुमी रहेको थियो । प्रद्युम्न त खतरा रहेछन् जस्तो पनि लाग्यो । तर यो उनको भूल पनि हुन सक्छ । यसरी एउटी महिलाको लागि आफ्नो सुन्दर गृहस्थी कसरी ध्वस्त पार्न सकेका होलान् भन्ने पनि लाग्यो । मलाई भावनामाथि पनि रिस उठिरहेको थियो । विदेशमा आएर दिदीकै शरण पाएर बस्दै आएकी भावना आफ्नै दिदीको गृहरूथीमा आगो लगाउन सक्ने कस्तो स्वार्थी । प्रद्युम्नले पनि मौकाको फाइदा उठाएको मात्रै हो कि ? साँच्चै नै आफ्नो सालीलाई श्रीमतीको दर्जा दिने हो ? हेर्न बाँकी नै छ ।
फेरि प्रद्युम्नले भनेबमोजिम गर्छ भन्ने के ग्यारेन्टी छ त ? प्रद्युम्नले भावनालाई तिमीसँग बिहे गरेर अमेरिकाको स्टेसस दिलाउँछु कसरी भन्न सक्या होला । अनी भावनाले एउटा स्टेटस पाउन आफ्नै दिदीको घर बिगार्न कसरी सकेकी होली । उनीहरूबिच कहिलेदेखि त्यस्तो सम्बन्ध रहँदै आएको रहेछ ? मोटरमा यस्तै यस्तै कुरा मनमा खेलिरहेको थियो । रमला पनि केही सोचिरहेकी जस्तै गरी चुप लागेर बसेकी थिइन् ।
रातो बत्तीमा मोटर रोकिएपछि रमलाले हामी लोग्ने मान्छेको आनिबानीमाथि प्रहार गर्दै शब्दबाण हान्न थालिन् । लोग्ने मान्छेको जात त के भन्ने नि, छि : । अलिकति पनि घर परिवारको नसोच्ने, जहाँ जस्तो पाए पनि इज्जतको ख्यालै नगरी लुत्रुक्क हुने । थुक्क : । मैले उसको अनुहारतिर हेर्न थालेँ, कतै मतिर फर्केर त थुक्क गर्या हैन ? हैन रहेछ । तर यसपटक भने मतिर फर्केर अचानक प्रश्न तेस्र्याई – क्या हो बुढा, भोलि मेरो बहिनी कमला आई भने तिमी पनि कतै अमेरिकाको स्टेटस दिलाइदिन्छु भनेर त्यस्तै गर्ने त हैनौ ?
कमला मान्ली र ? मुखबाट फ्याट्ट निस्कियो । अनि तुरन्त जिस्केको, जिस्केको है भनेर प्रसङ्ग मोड्न खोजेको मात्र के थिएँ । रमला आफै भन्न थाली – मलाई त केही मतलब छैन बुढा, जहाँ जाउँ, जोसँग मरे पनि मर । यस्तो थाहा पाउनासाथ म त मरी गए फेरि तिम्रो मुख हेर्दिनँ । थुक्क लोग्ने मान्छे, फेरि सराप्न थाली । तर मैले बिचमा नै रमलाको कुरा काट्दै प्रद्युम्नको वकालात गरेझैँ गरी भनेँ –यसमा भावनाको पनि त बराबरी दोष छ नि । प्रद्युम्नले भन्दैमा मान्ने हो त ? भावनालाई अमेरिकामा बस्नुपर्ने, प्रद्युम्नले म सब मिलाई दिन्छु भनेर आफ्नो इच्छा पूरा गर्दै गयो होला अनि भावना पनि आफ्नो स्वार्थ पूरा गर्न दिदीकै अधिकार खोस्दै गएको हैन त ? भावनालाई अमेरिकामा बस्ने स्टेटस चाहिएको थियो । त्यो स्टेटस घरबाटै पाउने देखेपछि उनले यस्तो गरेको हुनुपर्छ जस्तो लाग्यो मलाई । नेपालबाट अमेरिका–क्यानडा आउन बिस–तीस लाख तिरेको सुन्दै आएको थिएँ । त्यसैले स्टेटस पाउन भावनाले प्रद्युम्नलाई रिझाएको पनि हुन सक्छ । यसमा पुरुष मात्रै हैन महिला पनि दोषी हो । मैले पनि आफू पुरुष भएको देखाउँदै भनि दिए । फरक यतिमात्रै हो कि मैले छि: र थुक्क: भन्न सकिन । आँटै आएन । किनभने अर्काको घरमा सल्केको आगोले बिनसित्तिमा हाम्रो घरलाई पनि समात्न खोज्दै थियो । स्वास्नी मान्छेको विनाकारण गर्ने शङ्का र लोग्ने मान्छेको परस्त्रीप्रतिको व्यवहार कहिल्यै रोकिँदैन । अमेरिकाको स्टेटस लिन मान्छेहरू जे पनि गर्न तयार हुन्छन् है ! मात्र के भनेको थिएँ रमलाले चुपलागेर मोटर हाँक भनेको सुने । अनि आज्ञाकारी भएर मोटर कुदाउँदै भावना अर्थात् पावनाको घर पुग्यौँ ।
भित्र पस्नासाथ पावनाले चारवटा सुटकेस देखाउँदै एउटा सुटकेस बोकेर डिकी खोलिदिन आग्रह गरिन् । रमलाले हात र आँखाबाट ईशारा गर्दै, उनीहरू खोई ? भनेर सोधी । पावनाले मुखैबाट छैनन् भन्दै सुटकेस भुइँमा राख्दै रमलालाई अँगालो मारेर रुदै आज बिहान मात्र थाहा पाएँ भन्दै भन्न थाली ।
‘बिहान बुढा काममा जान्छु भनेर निस्केको थियो । म छोरालाई खुवाइवरी सुताएर भान्सातिर जादै थिए । तर बुढालाई भावनाको कोठाबाट निस्किदै गरेको देखेँ । मलाई देख्ना साथ ऊ तुरन्तै भावनाको कोठामा पस्न खोज्दा म पनि जबरजस्ती कोठाभित्र पसेर कराउन थालेँ ।’ मैले भावनालाई तुरन्तै घरबाट निस्केर जा भनेर उसको ब्लेङ्केट तानेर फाल्न खोज्दा उसलाई निर्वस्त्र देखेपछि म फेरी ऊमाथि खनिँदै हात हाल्न पुगेछु । अनि त कहिल्यै हात नउँठाएको प्रद्युम्नले ममाथि हातै चलाएर पिट्न थाल्यो । उसले मलाई चिच्चाएर, त निस्केर गईहाल् । अब तेरो र मेरो कुनै सम्बन्ध रहेन । कानूनी रूपमा जे गर्नुपर्छ म गरुला सहुला र तँलाई आजैको मितिदेखि छोडेको घोषणा गरेर भावनासँग बिहे गर्ने जानकारी पनि तलाई दिए । उसले मलाई समातेर घिसार्दै कोठाबाट बाहिर निकालेपछि म आफ्नो कोठामा आए । त्यसपछि तिमीलाई फोन गरेर बोलाएको हो ।
पावनाले सुनाएका कुराहरू चलचित्रको दृश्य जस्तै मेरो अघिल्तिर आइरहेको थियो । रमलाले पावनालाई ढाढस दिँदै सबै ठिक हुन्छ । यो अमेरिका हो यहाँ रोएर बस्ने हैन । चुप लागेर हिड, भन्दै हामी पावनाका सुत्केसहरू राख्न थाल्यौँ । छोरालाई बोकेर पावना पनि मोटरमा आएर बसी ।