गौरव लुइटेल नवोदित लेखक हुन् । उनी समसामयिक विषय र अनुभूतिलाई लेखमार्फत प्रकट गर्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको कोरोना विरुद्धको लडाइँ शीर्षकको लेख समेटिएको छ । यस लेखले कोरोनाबाट बच्ने केही घरेलु औषधी र उपचार विधिका बारे पनि प्रकाश पारेको छ ।
– सम्पा. |
वैशाखको दोश्रो हप्ता छिटो छरितोरूपमा बहिनीको विवाह सम्पन्न गरेको दोश्रो दिन उमेरले ५० टेक्नुभएकी हाम्री आमाले पसलको सटर पुनः खोल्नु भयो । कोरोना कहरको दोश्रो लहर सुरु हुने तरखर गर्दै थियो । आमाले विगत दुई दशकदेखि घरमै सानो तरकारी, फलफूल तथा किराना पसल सञ्चालन गरिरहनु भएको थियो । बुबा र म दुवै जागिरे भए पनि पसल नै घरको मुख्य आयस्रोत हो भन्दा अतिशयोक्ति नहोला । तर खानलाउनलाई त्यति दुःख नभएकाले कम्तिमा यो कोरोना कहर नसकिँदासम्म पसलको दुःख आमाले नगरिदिए हुन्थ्यो भन्ने हामी सबैको राय थियो । तर जति कर गर्दा पनि कोरोनाको पहिलो लहरमा उहाँले दैनिकजसो कालिमाटीबाट तरकारी र फलपूल ल्याएर पसलको कामलाई बिराम लाउनु भएन । सायद कोरोनाको पहिलो लहरले नछोएकोमा उहाँमा एक प्रकारको विजयोन्माद हुँदो हो ।
दोश्रो लहरले आक्रान्त रूप लिँदै गर्दा कोरोनाले यसपटक चैँ हाम्री आमालाई नछोड्ने भो भन्ने कुरामा म चैँ मनमनै विश्वस्त हुँदै थिएँ । त्यसैले भवितव्य केहि आइपरी हाले व्यवस्थापन गर्न अक्सिजन, अक्सिमिटर लगायत अन्य कुराको जोहो गर्ने प्रयत्न पनि जारी राखिरहेकै थिएँ । एक बिहान सबेरै आमा हरियो तरकारी लिन कालीमाटी तरकारी बजार गएका बेला पानीमा मजैसँग भिज्नुभयो । त्यही दिन बेलुकीदेखि उहाँलाई मन्दज्वरो आउन थाल्यो र रुघाखोकीको लक्षण देखिन थाल्यो । शुरुमै बुवाले हामीलाई पथपरहेजमा रहन सतर्क बनाउनु भयो ।
सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको दिन पनि बिहान आमाले पसल खोल्नुभयो । एकातिर निषेधाज्ञा अर्कोतिर उहाँमा ज्वरो र रुघाखोकी । हाम्रो असहमतिले आमामा कुनै प्रभाव पारिहेको थिएन । दस बजेतिर पसल बन्द गर्न टोलमा प्रहरी नै परिचालन भएपछि सटर बन्द गरेर उहाँ माथि आउनुभयो । रातोपिरो अनुहार देखेर हामीले उहाँको ज्वरो नाप्यौँ १०२ थियो । तर पनि उहाँ भन्दै हुनुहुन्थ्यो पानीमा भिजेको कारणले ज्वरो आएको र रुघा लागेको हो । एक दुई दिनमा ठिक भैहाल्ला नि । अरु दुई दिन यसैउसै बित्यो । हामी भने आमासँगको घुलमिलबाट अलि टाढै रहन थालिसकेका थियौँ ।
पिसिआर परीक्षणका निम्ति गरिएको आग्रह आमाले मानिरहनु भएको थिएन र ज्वरो र खोकीको रफतारलाई सिटामोलले पनि रोक्दै रोकेन । बिहान दसबजेसम्म पनि उहाँ पसलतिरै व्यस्त । पसलमा आउने ग्राहकहरूको सल्लाह बमोजिम नजिकैको क्लिनिकमा जँचाउन जान भने उहाँ बल्ल तयार हुनुभयो । धेरै औषधि नभिडाउने अनुभवी स्वास्थ्यकर्मी भनेर हाम्रो टोलमा ख्याती कमाइसकेका स्वस्थ्यकर्मीले आमाको ज्वरो नाप्दा १०५ डिग्री पुगिसकेको देखियो । तीन दिनको लागि सामान्य केही औषधि दिँदै उनले घरमै आराम गर्नु भनेर पठाए । हामीले बन्द गर्न नसकेको आमाको तरकारी तथा फलफूल पसल उनको एकै बोलीले बन्द गरायो । त्यसै दिनदेखि हामीले उहाँलाई उहाँकै कोठामा जबरजस्त आइसोलेसन गर्यौँ । भोलिपल्टैदेखि उहाँको स्वास्थ्यमा पूरै गिरावट आइसकेको थियो । तातोपानीको नियमित बाफ लिने प्रबन्ध पनि उहाँकै काठामा मिलायौँ ।
औषधि सेवन गर्न थालेको दोश्रो दिनदेखि नै सुधार हुनुको साटो आमाको स्थिति झन् बिग्रँदै थियो । सिटामोल खाएको केहि समयसम्म ज्वरो नियन्त्रणमा आउँथ्यो तर त्यसको केही समयपछि नै १०३ डिग्रीसम्म पुग्थ्यो । टाउको पनि दुख्न थालेको आमाले बताउनु भएपछि तेस्रो दिन हामी बिहानै सोहि क्लिनिकमा पुग्यौँ । ज्वरो कम नभएको जानकारी पाएपछि चिकित्सकले कोरोना नै हुनुपर्छ भनेर अलि तर्किँदै तुरुन्तै पिसिआर परीक्षण गराउनोस् भन्नुभयो ।
त्यसपछि स्कुटरमा आमालाई कीर्तिपुरको आयुर्वेद अस्पतालमा पिसिआर टेस्टका लागि लिएर गइयो । खासै भिडभाड नभएकाले आमाको स्वाब नमुना दिन त्यति कुर्नु परेन । कतै निमोनियापो भइसकेको छ कि, फोक्सोको स्थिति बुझ्न छातिको एक्सरे पनि गरेर फर्किनु है भनेर बुबाले भन्नु भएको थियो । आयुर्वेद अस्पतालमा एक्सरे गर्ने सुबिधा त रहेछ तर सबैजना कोभिड नियन्त्रणमा खटिएकाले मेसिन चलाउने जनशक्ति नभएको जानकारी पाएपछि हामी त्यतैबाट कीर्तिपुर अस्पताल पुग्यौँ । कीर्तिपुरमा आमाको एक्सरे त गरियो तर ओपिडी सेवा बन्द रहेकाले एक्सरे हेरेर फोक्सोको स्थिति कस्तो छ भनी सोध्ने डाक्टर हामीले पाएनौँ । सायद सबै डाक्टरहरू जटिल प्रकृतिको केस हेर्नमै व्यस्त थिए । त्यसपछि एक्सरेको फोटो मात्रै लिएर हामी घर फर्कियौँ ।
साँझतिर एक्सरे हेरिदिन हाम्रो टोलकै क्लिनिकमा लिएर गएको बेला मेरो मोबाइलले आमामा कोरोना पोजेटिभ रहेको रिपोर्ट सम्प्रेषण गर्यो । फोक्सोमा हालसम्म केहि खराबी नदेखिएको तर कोरोनाले केहि घण्टामा नै फोक्सो बिगारेर निमोनिया बनाउन सक्ने भएकाले ख्याल गर्न उहाँले भन्नुभयो । त्यसपछि केहि भिटामिन, जीवनजल, कस्तुरी भुषण र अन्य औषधि लिएर म घर फर्किएँ ।
त्यसदिनसम्म पनि आमालाई ज्वरो र टाउको दुखाइ मात्रै थियो, डरलाग्दो खोकी अझै सुरु भएकै थिएन । तर स्थिति जुनसुकै बेला गम्भीर हुन सक्ने भएकाले पूर्वतयारी सुरू गरियो । आमा आइसोलेसनमा बसेको कोठासँगै हाम्रो डाइनिङ रूम र भान्सा पनि जोडिएकाले संक्रमण अरूमा सर्ने डर यथावत नै थियो । उमेरले ६२ टेक्नुभएको बुबा, ६ महिनाको गर्भावस्थाकी मेरी पत्नी र भर्खर २ वर्ष टेकेको छोरामा पनि संक्रमण भयो भने हाम्रो स्थिति विकराल हुन सक्थ्यो । तसर्थ, भान्सा तल्लो फ्ल्याटमा सारेर म बाहेक सबैजना तलको तलामा बस्ने सल्लाह बुबासँग भयो ।
गएको कार्तिकमै कोरोना संक्रमण भएर एक महिना आइसोलेसनमा बसेकाले यसको अनुभव मसँग थियो र परिवारका अन्य सदस्यभन्दा अलि कम जोखिममा म नै थिएँ । तसर्थ, आमाको हेरबिचार गर्न उहाँ आइसोलेसनमा बस्नु भएको कोठासँगैको पुस्तकालय कक्षमा म बस्न थालेँ । मेरो आफ्नै सुरक्षाका लागि यथेस्ट माक्स र स्यानिटाइजरको जोहो गर्दै बाइक चलाउँदा लगाउने गरेको विन्डचिटर ज्याकेटलाई पिपिइको रूपमा प्रयोग गर्ने बिचार गरेँ ।
अर्को दिन बिहानैदेखि आमाको स्वास्थ्य अवस्था झन बिग्रिँदै गयो । एकातिर लगातारको खोकीले उहाँलाई गाँज्दै लगेको थियो भने अर्कोतिर जे खाए पनि बान्ता हुन थाल्यो । शरीरमा जहाँसुकै पनि सियोले घोचे जसरी दुखेको बताउनु हुन्थ्यो । यस बीचमा बुवाले उहाँको चिनजानमा रहेका स्वास्थ्यकर्मी विशेषज्ञहरुसँग निरन्तर सम्पर्कमा रही औषधि र उपचारसम्बन्धी परामर्श गरिरहनु भएको थियो । टिकापुर अस्पतालका कोरोना फोकलपर्सन डा..रमेश उपाध्याय, काठमाडौंका सुपरिचित जनस्वास्थ्यविद डा.रविन्द्र समिर, काठमाडौं नैकापका स्वास्थ्यकर्मी उत्तम कार्की र बाबुराम भुसालहरुसँग बुवा निरन्तर परामर्शमा हुनुहुन्थ्यो । सम्पर्कमा रहेका डाक्टरहरु आमाको स्थिति जटिल बन्दै गयो भने अस्पतालमै लगेर उपचार गर्ने सल्लाह बुवालाई दिइरहेका थिए । तर अर्कोतिर कोभिड फोकल अस्पतालहरुमा कोरोनाका बिरामीहरु शैया अभावले चौरमा म्याट ओछ्याएर छटपटाइरहेका दृश्यसामग्री टेलिभिजनमा म हेरिरहेको थिएँ । यस्तो अवस्थामा आमालाई अस्पताल लैजानुको के अर्थ हुन्छ र ? हामीले आमालाई घरमै राखेर सम्भव हुनेजति उपचारात्मक कार्य गर्ने सल्लाह गर्यौँ । ज्वरो बढेपछि सिटामोल ख्वाउने, दुई तीन घन्टाको अन्तरमा पानीको बाफ लिन लगाउने, दिनको ३ पटक कस्तुरी भुषणको १५/२० थोपा मनतातो पानीमा मिसाएर ख्वाउने, यही क्रम अघि बढ्यो ।
सम्पर्कमा रहेका चिकित्सकहरुले स्वासप्रस्वासमा समस्या देखिए स्टेरोइड लगायतका केही औषधि खुवाउने सल्लाह दिनुभएको थियो । मैले ती औषधिहरुको साइड इफेक्ट के के हुनसक्छ भन्ने बारेमा गुगलसर्च गरेँ र गहिरो अध्ययन गरेँ । स्टेरोइडको प्रयोग त अक्सिजन लेभल घटेर बिरामीलाई बाह्य अक्सिजन दिन अनुकुल परिस्थिति बनाउन्जेल तत्कालको छोटो अवधिका निम्ति मात्र दिइने रहेछ । यसको प्रयोगका कारण भारतमा धेरै कोरोना पीडित बिरामीहरुले धमाधम आँखाको दृश्य क्षमता गुमाइरहेका समाचारहरु पनि मैले फेला पारेँ । मलाई असाध्य डर लाग्यो । अब, बुबासँग सल्लाह गरी स्टेरोइड औषधि तत्काल आमालाई नखुवाउने टुङ्गोमा पुगियो । फेरि पनि आमाको स्वासप्रस्वासमा समस्या आइपरे के गर्ने होला ?
खोकीको आक्रमण जारी रहेकै अवस्थामा आमालाई निरन्तर बान्ता पनि हुन थाल्यो । ससाना बालबालिकालाई निमोनियाबाट जोगाउन कस्तुरी भुषण नामको आयुर्वेदिक औषधि खुवाउने गरिएको मलाई थाहा थियो । यो औषधि आमाले नै मलाई कतिपटक खुवाउनु भएको सम्झना छ । बयस्कलाई पनि यसले अवश्य मदत गर्छ कि भन्ने मलाई लाग्यो । फोक्सोमा निमोनियाको आक्रमण नहोस् भनेर दिनको तीनपटक मनतातो पानीमा कस्तुरी भुषणका थोपा मिश्रण गरी खुवाउन थालेँ । यद्यपि आमाको खोकी अझै बढ्दै गयो । हरेक दिन २/३ पटक अदुवा, ज्वाँनो, दालचिनी र ल्वाङको धुलो र कागतीकाे रस महमा मिश्रण गरी आमालाई खान दिएँ । खाएको केहि क्षणमै फेरि उहाँलाई बान्ता हुन्थ्यो । यसरी लगतारको बान्ताका कारण न त कुनै औषधि न त कुनै अन्न उहाँको पेटमा पुग्नसकेको थियो । बान्ता रोक्ने उपायबारे चिनेजानेका डाक्टरहरूसँग परामर्श गर्न मैले बुबालाई भनेँ । मेसेन्जरबाट केहि चिकित्सकहरूसँग सल्लाह गरी खुवाउनुपर्ने औषधिबारे जानकारी प्राप्त भयो । उहाँहरुले सुझाएको औषधि लिन म आफै क्लिनिक दौडिएँ । क्लिनिकका स्वास्थ्यकर्मीलाई आमाको पछिल्लो स्वास्थ अवस्थाका बारेमा जानकारी गराएँ र खोकी नियन्त्रण गर्ने टस्क्यू डी (TUSQ —D) औषधि लिएर घर फर्किएँ ।
टस्क्यू डी.को नियमित सेवनसँगै कपुर र कागतीको बोक्रा मिसाएको तातो पानीको नियमित बाफ लिँदा खोकी र बान्ता केही हदसम्म कम भयो । पिसिआर टेष्टको रिपोर्ट प्राप्त भएको तेस्रो दिनसम्ममा ज्वरो त नियन्त्रणमा आइसकेको थियो । तर जिउ बेस्करी दुख्ने थप नयाँ समस्याले आमालाई सताइरहेकै थियो । उहाँ भन्नुहुन्थ्यो नदुखेको कुनै मांसपेसी नै छैन । बान्ता, खोकी र घाँटीको पीडाका कारण खानाको नाममा कुनै पनि ठोस पदार्थ निल्न सक्ने अवस्था बाँकी रहेन । एकहप्तासम्म पुदिनाको पत्ता हालेर उमालेको पानी, ग्लुकोज, दुूध, मौसमको जुस, राज्मा र गेडागुडीको झोलबाहेक उहाँको पेटमा केही पनि परेन ।
बिहानको न्यानो घाम ताप्दा शरीरले भिटामिन डी प्राप्त गर्दछ भन्ने मलाई राम्रै थाहा थियो । चौथो दिन बिहान सबेरै बरण्डामा न्यानो घाम आइसकेको छ । कोठामा निरन्तर थुनिनुभएकी आमालाई एकैछिन प्यासेजबाट सरक्क निस्केर बरण्डामा घाम तपाउन पाए हुन्थ्यो भन्ने लाग्यो । मैले यो कुरो आमालाई भनेँ । उहाँ बिस्तारै उठ्नु भयो । आफैं बिस्तारै पाइला सारेर घाम ताप्न बरण्डातिर जाँदा अब त उहाँले कोरोना जित्नु भयो भन्ने लागेको थियो । अर्को दिन बिहान पनि मह मिसाएको कागती पानी खान दिएँ । एकछिन पछि ज्वानो र कोदोको पिठोको झोल पनि बनाएर दिएँ । तागतिलो स्रोत घरमा त्यहि कोदोको पिठो नै थियो । त्यसै दिन बिहानदेखि बान्तामा उल्लेखनीय कमी आए पनि ठोस कुरा खाने आँट आमाले अझै देखाउनु भएको थिएन । बाहिर मीठो घाम लागेकोले घाम ताप्न आमालाई जाउँ भनेँ । उहाँ आफै हिँडेर बरण्डासम्म पुग्नुभयो । दिनमा दुई तीन पटक उहाँलाई स्वास फेर्न केही असजिलो हुन थालेको थियो । टुलमा बसेर बिहानीको घाम तापिरहेकै बेला उहाँलाई असजिलो महसुस भएछ । बेहोस भएर त्यहिँ ढल्ने सम्भावना देखेपछि मैले तुरुन्तै म्याट लिएर आएँ । आमा त्यसमै पल्टिनु भयो । साँच्चै उहाँ त हेर्दाहेर्दै बेहोस हुनुभयो । औँलामा अक्सिमिटर राखेर उहाँको शरीरमा रहेको अक्सिजनको मात्रा मापन गरेँ । त्यसले अक्सिजनको मात्रा ८३/८४ मात्र रहेको सङ्केत गर्यो ।
अक्सिमिटर र अक्सिजन सिलिण्डरको कथा बेग्लै छ । निशेधाज्ञा लगाउने चर्चा शुरु हुनासाथ मलाई मास्क, स्यानीटाइजर लगायत यी यन्त्रहरु घरमै हुनु जरुरी छ भन्ने लाग्यो । स्वास्थ्य सामग्री सप्लाई गर्ने टेकुको एउटा कम्पनीमा काम गर्ने एउटी दिदी हाम्रो घरछेउमै अर्को घरमा डेरा लिएर बस्थिन् । उनीसँग पुरानै चिनजान हो । उपर्युक्त सामानहरु एकमुष्ट ल्याइदिन भनेको थिएँ । उनले हुन्छ पनि भनेकी थिइन् । मास्क र स्यानीटाइजर भोलिपल्टै ल्याएकी पनि हुन् तर अक्सिमिटर र अक्सिजनको सानो सिलिण्डर सर्टेज छ, खोजेर भए पनि ल्याउँछु मात्र भनिन् ल्याउन सकिनन् । निशेधाज्ञा शुरु हुँदा नहुँदै राजधानीको बजारबाट अक्सिमिटर र अक्सिजन गायब । बुवाले पनि ती सामानका लागि धेरै पटक धेरैजनालाई फोन गर्नु भयो तर सबै प्रयत्न बेकार साबित भए । आमाको स्वासप्रस्वासमा जटलिता थपिँदै थियो तर हामीसँग न अक्सिमिटर छ, न अक्सिजन । आमा बेहोस हुनुभन्दा अघिल्लो दिन मात्र नगद रु. ४ हजार तिरेर बुवाको एक जना पत्रकार साथी मार्फत पल्स अक्सिमिटर हात पार्न बुवा सफल हुनुभएको थियो । बेहोस भएर म्याटमा ढलिरहनु भएकी आमाको औँलामा जोडिएको त्यही अक्सिमिटरले उहाँको शरीरमा अक्सिजनको लेभल ८३/८४ देखाएको थियो ।
रुघा र खोकीले आमाको नाक घ्यारघ्यार गरिरहेको थियो । रुघाखोकी लाग्दा आमाले हामीलाई ज्वानो भुटेर सानो कपडामा बाँधी त्यसको राग सुँघ्न लाउनुहुन्थ्यो । तत्काल नाक खुल्थ्यो र स्वास लिन सजिलो हुन्थ्यो । मैले झट्ट त्यही सम्झिएँ र नआत्तिकन भान्सातिर गएँ । सानो दिउरेमा ज्वाँनो भुटेर कपडामा पोको पारेँ, अनि आमालाई सुँघाएँ । आमाले ज्वानो सुँघ्दा सुँघ्दै औँलाको अक्सिमिटरले अक्सिजनको लेभल ९०/९१ देखायो । मलाई एउटा चमत्कार भएजस्तो लाग्यो । उहाँ होसमा आउनु भयो र विस्तारै उठ्नुभयो । बरण्डामा घाम चर्किदै गएको थियो, मैले आमालाई भित्र लगेँ । उहाँ बिछ्यौनामा पल्टिएर आराम गर्न थाल्नुभयो ।
मचाहिँ स्वास्थ्य सम्बन्धी अनलाइनहरु सर्च गर्दै शरीरमा अक्सिजनको मात्रा बढाउन सकिने उपायहरुको खोजी गर्न थालेँ । एउटा भरपर्दो साइटमा चुकन्दर (बिटरूट) वा अनारको सेवनले शरीरमा अक्सिजनको मात्रा बढाउन सक्ने कुरा उल्लेख भएको फेला पारेँ । संयोगले दुवै वस्तु हाम्रै घरको आफ्नै पसलमा उपलब्ध थिए । आमाले ठोस कुरा खान नसक्ने भएकोले चुकन्दरलाई मिक्चरमा पिसी पानीसँग घोलेर रस बनाएँ । चुकन्दरको दुई तीन चम्चा रस आमालाई खान दिएँ अनि फेरि अक्सिमिटरलाई आमाको औँला चेप्न लगाएँ । केहि क्षणमै अक्सिजनको लेभल ९३/९४ मा आइसकेको थियो । आमा आफैले निकै सहज भएकोे अनुभुति गर्नुभयो । प्रेसरको औषधि पनि सेवन गरिरहनु भएकाले त्यस सम्बन्धी विरामीलाई चुकन्दरको रस धेरै दिन नहुने कुरामा म सचेत नै थिएँ । दिउँसो बेलाबेला खोकि रहनु भए ता पनि बेलुकीसम्म आमा धेरै स्वस्थ देखिनुभयो । त्यस दिन दुई तीन पटक दुईतीन चम्चा चुकन्दरको रस खान दिएँ । त्यसपछि अक्सिजनको मात्रा ९३ बाट तल झरेन ।
भोलिपल्टै अर्थात छैटौँ दिनदेखि आमाको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महसुस आमा स्वयमले गर्नु भयो । साँझपख आमा आफैले खाना माग्नुभयो । झण्डै एक हप्तादेखि उहाँको पेटमा कुनै ठोस पदार्थ परेको थिएन । राज्मा र मुङको दालसँग खाना मुछेर स्वाद मानी मानी खानुभयो । यसरी बान्ता नगरी खाना खानु भएपछि अब चैँ आमाले दुष्ट कोरोनालाई जित्नु भयो भनेर हामी अलि विश्वस्त हुँदै गयौँ ।
आमाले मज्जाले खाना खानुभएको भोलिपल्ट मातातीर्थ औँशी थियो । बिहान सबेरै कस्तुरी भुषण मनतातो पानीमा मिसाएर खान दिँदै र ज्वानो भुटेर सुँघ्न दिँदै मैले आमाको मुख हेरेँ । अक्सिमिटर औँलामा चेपिदिएर उहाँको अक्सिजनको अवस्था मापन गरेँ । त्यसले ९४/९५ रहेको सङ्केत गर्यो । बिहानैदेखि उहाँलाई मातातीर्थ औँशीको अवसरमा फोनकलहरु आइरहेका थिए । उहाँले सबैलाई एउटै कुरा भनिरहनु भएको थियो— “अब नआत्तिनु, मैले कोरोना जितिसकेँ ।”
विगतको एक हप्ता हाम्रो परिवारको लागि निकै उतारचढावपूर्ण रह्यो । देशैभरि अक्सिजन र बेडको अभावमा संक्रमित र मृतक संख्या उकालो लागि रहेको बेलामा हाम्री आमाले भने अस्पताल नगई, बिना अक्सिजन घरमै बसेर कोभिड—१९ नामक नयाँ भेरियन्टसँगको खतर्नाक लडाइँ जित्नुभयो । उहाँ क्रमशः तङ्ग्रिँदै हुनुहुन्छ । अक्सिजनको लेभल घटेर उहाँ बेहोस हुँदा पनि हामी हतास नभइ र नआत्तिकन विशेषतः घरेलु उपचार पद्धति अपनाएर नै उहाँलाई खतरामुक्त बनायौँ । सामाजिक सञ्जाल एवं विभिन्न अनलाइन साइटहरूमा कोरोना विरूद्ध लड्ने धेरै खाले उपायहरूबारे चर्चा गरिएको पाइँदैछ । कोरोनाग्रस्त हाम्री आमालाई चाहिँ हामीले जानीनजानी गरेको घरेलु उपचारको यो विधि र अनुभव अरूलाई नि काम लाग्ला कि भनेर लिपिबद्ध गरेको हुँ ।
हामीले अपनाएको उपचारविधि
१. ज्वरो र रुघाखोकी लागेको शुरु अवस्थादेखि नै हामी सतर्क रह्यौँ । आमासँगको घुलमिलबाट हामी अलग रह्यौँ, उच्च सर्तकताकै कारण आमा बाहेक परिवारका अरु कसैलाई सक्रमण भएको लक्षण देखिएको छैन ।
२. तातो पानीमा कागतीको बोक्रा र पूजा गर्ने कपुरको धुलो मिसाएर २–३ घण्टाको फरकमा तातो बाफ लिने र दैनिक २–३ पटक कस्तुरी भुषणको सेवन । यसले फोक्सोलाई आराम दिने र स्वासप्रस्वासलाई सहजता मिल्ने रहेछ ।
३ अदुवा, लसुन, गुर्जो, पिप्ला, ल्वाङ र दालचिनीको धुलो पानीमा बेसरी उमालेर कागती र मह मिसाइ चिया जस्तै गरि बिहान बेलुकी खाँदा कोरोनासँग राम्रैसँग लड्न सकिने रहेछ ।
४.ज्वानो भुटेर कपडामा पोको पारी त्यसको राग सुँघ्ने र चुकन्दरको रस सेवन गर्दा शरीरमा अक्सिजनको मात्रा तुरुन्तै बढ्ने रहेछ । तर उच्च रक्तचाप भएको व्यक्तिले भने चुकन्दरको रस सेवन गर्दा यसको मात्राका बारेमा अलि सावधानी अपनाउनु पर्छ ।
५.कोरोना विरूद्ध लड्दा शारीरिक स्वास्थ मात्रै हैन, बिरामीको मानसिक स्वास्थ पनि राम्रो हुनु जरूरी रहेछ । आफूलाई संक्रमण नहोस भनी सतर्कता अपनाउँदै बिरामीको नियमित निगरानी गर्नेर्, बिरामीलाई निरन्तर हौसला दिने, स्वस्थ्य अवस्था बारे नियमित जानकारी लिइरहने गर्दा कोरोना जित्न आत्मबल वृद्धि हुने रहेछ ।