नरेन्द्रराज प्रसाईँ आफैसँग आफै प्रतिष्पर्धा गरी जीवनी लेख्ने जीवनीकार हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनका जीवनी कृतिका मूल अन्वेषक प्राध्यापक राजेन्द्र सुवेदी थिए । आज उनले राजेन्द्र सुवेदीको जीवनी प्रस्तुत गरेका छन् । यस जीवनीले लघुआयाममा रहेर पनि राजेन्द्र सुवेदीको वस्तुगत परिचय दिएको छ ।-सम्पा. |
महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले भनेका थिए- ‘नेपाली समालोचना हराए राजेन्द्र सुवेदीलाई खोज्नू ।’ प्रा.राजेन्द्र सुवेदी त्यही स्तरका समालोचक थिए । वास्तवमा जुन कृतिको पृष्ठ पल्टायो उनी त्यहीँ कृतिको समालोचनागत धारणामा खरर बोल्न सक्थे, त्यसबारे लेख्न सक्थे र ती सबैको चिन्तनमा अर्को एउटा ठेली स्थापित गर्न सक्थे । उनी समालोचनाका अर्को एउटा आधिकारिक मेरुदण्ड थिए । उनको समालोचनाको विशेषता नै निष्पक्ष, निणर्यात्मक र ठोस टुङ्गोमा पुग्ने बिम्ब हो । त्यसैले महासमालोचक डा.त्रिपाठीले उनलाई नेपाली भाषासाहित्यको आधिकारिक र प्रामाणिक समालोचकका रूपमा सदैव प्रस्तुत गर्दै आए ।
राजेन्द्र सुवेदीको जन्म २००२ साल साउन १९ गते पाँचथरको अमरपुरमा भएको थियो । यिनका बुबा पद्मप्रसाद सुवेदी त्यस भेगका कर्मकाण्डी पुरेत थिए । साथै उनी कृषि व्यवसायमा पनि आबद्ध थिए । अनि पद्मप्रसादकी पत्नी राधिकाचाहिँ गृहणी थिइन् । यी दम्पतीले चार भाइ छोरा जन्माएका थिए; तीमध्ये जेठा राजेन्द्र सुवेदी र साहिँला होम सुवेदी साहित्य र प्राध्यापन पेसामा आबद्ध भए । अनि माहिला वासुदेव सुवेदी कर्मकाण्डी बाहुनमा परिचित भए भने कान्छा जीवन सुवेदीचाहिँ खेती, किसानीमा नै रमेका थिए ।
राजेन्द्र सुवेदी सानैदेखि हट्टाकट्टा थिए । उनी बाहिर देखिँदा हर्कुलसजस्तै बलिया थिए, फलामजस्तो अररो थिए र बाँसजस्तै सुरिलो थिए । शारीरिक उचाइमा उनी अग्ला थिए, उनी खरा त्यस्तै थिए तर उनको मन भने ज्यादै कमलो थियो । उनको वैयक्तिक चरित्रलाई उधिन्नुपर्दा उनी स्वाभिमानका प्रतीक थिए । उनी युवा अवस्थाको आरम्भमा चाहिँ कर्मकाण्डी बाहुन थिए ।
राजेन्द्र सुवेदी शास्त्री पास गरेपछि प्रगतिशील विचारबाट प्रेरित भए । उनी सिद्धान्तका लखपति थिए । त्यसैले जीवनभरि उनी त्यही विचारधाराकै हिमायतीका रूपमा अटल भए । उनी धार्मिक, सांस्कृतिक र सामाजिक न्यायका कट्टर पक्षपाती पनि थिए । उनी आफ्ना विचारका प्रेरक पुष्पलालदेखि मदन भण्डारीसम्मका सामाजिक न्यायिक कुरालाई आफ्ना दुवै कानमा सिउरिन्थे । वास्तवमा उनी आफ्ना धार्मिक, सांस्कृतिक र सामाजिक आदर्शवाट कहिल्यै विचलित भएनन् । फराकिलो भावनाका कुवेर भएकैले उनी जुनसुकै विचारका व्यक्तिसँग पनि गद्र्धन जोड्थे । अनि पुष्पलालको दर्शनबाट प्रभावित भएर जुनसुकै विचारको अध्ययनलाई पनि उनले मूल मन्त्र ठानेका थिए । त्यसैले पनि उनी नेपाली भाषासाहित्यका फाँटमा सर्वाधिक प्रिय थिए । साथै प्राध्यापनका क्षेत्रमा पनि उनी त्यत्तिकै सम्मानित थिए ।
स्व. साहित्यकार प्रा.राजेन्द्र सुवेदीका साथमा नरेन्द्रराज प्रसाई ।
राजेन्द्र सुवेदी वक्तृत्वमा अब्बल थिए । नेपाली भाषासाहित्यको परिसरमा पुगेर भाषण गर्नु पर्यो भने उनी कलात्मक पारामा सुन्दर र प्रभावशाली ढङ्गबाट प्रस्तुत हुन्थे । उनको त्यही क्षमताका कारण उनले पढाएका विद्यार्थीहरू उनीसँग झुम्मिने गर्थे । उनका विद्यार्थी र पछिल्ला दिनमा उनीसँगै नेपाली केन्द्रीय विभागमा पढाउने प्राध्यापक डा.महादेव अवस्थीका अनुसार- ‘प्राध्यापक राजेन्द्र सुवेदीको प्राध्यापनकला प्रवाहमय, ओजपूर्ण, विश्लेषणात्मक र गहन थियो । सुवेदीको पाठ्य विषयवस्तुमाथि बलियो पकड थियो र विद्यार्थीहरूका माझमा तत्सम्बन्धी सामग्रीको विश्लेषण धाराप्रवाह रूपमा गर्न सक्ने खुबी थियो । सुवेदीको ओजपूर्ण र प्रवाहमय प्राध्यापनकला विद्यार्थीहरूका निम्ति अनुकरणीय थियो । सुवेदीका कैयौँ विद्यार्थीले त्यसको अनुसरण गर्ने चेष्टा गरेको पनि देखियो ।’ वास्तवमा सुवेदी आफ्नो पेसामा सफल मात्र थिएनन् अति सफल थिए ।
राजेन्द्र सुवेदी साहित्यिक सभासम्मेलन र गोष्ठीहरूमा सहभागी भइरहन्थे । उनी जहाँजहाँ पुग्थे त्यहाँत्यहाँ उनी दर्शक र श्रोताका आँखामा सग्लो भएर देखा पर्थे । अनि उनले भाषण गर्ने ठाउँमा प्रायका कान उनका वाक्यवाक्यमा जोडिने गर्थे । वास्तवमा मान्छेको मन र दृष्टि आफूतिर आकृष्ट गर्न सक्ने उनको गज्जबको वाक्शैली एवम् प्रस्तुतिको क्षमता थियो र शारीरिक व्यक्तित्व पनि सोहीअनुरूप नै थियो ।
राजेन्द्र सुवेदीले नेपाली भाषासाहित्यका क्षेत्रमा आफ्नो वैशिष्ट्य कायम गरे । उनले कविता लेखे, निबन्ध लेखे र समालोचना लेखे । साहित्यमा उनी कथाबाट झुल्के तापनि उनको लेखनमा कथाको सिङ्गो कृति प्रकाशनमा आउन सकेन तर उनका तीनवटा उपन्यास प्रकाशनमा आए । त्यसै गरी उनीद्वारा लिखित नौवटा निबन्धसङ्ग्रह र एउटा जीवनीकृति पनि प्रकाशनमा आयो । साथै उनले तेह्रवटा समालोचनात्मक कृति लेखे भने बीसवटा महत्त्वपूर्ण ग्रन्थहरूको सम्पादन पनि गरे । यी समग्र कृतिहरूबाट उनको विशिष्ट प्राज्ञिक व्यक्तित्व स्थापित भयो ।
राजेन्द्र सुवेदी सशक्त कवि थिए । उनले छन्दोबद्ध फुटकर कविता धेरै लेखे । सिङ्गो कृतिका रूपमा उनको ‘आत्मनिर्माण’ महाकाव्य प्रकाशित भयो । यसै महाकाव्यले उनको काव्यात्मक व्यक्तित्वलाई शिखरमा पुर्याइदियो । उनको यस कृतिका विषयमा प्राध्यापक केशव सुवेदीको धारणा छ- ‘चार दशकभन्दा लामो साहित्यसाधनाका पृष्ठभूमिमा जीवनका उत्तरवयमा सार्वजनिक भएको ‘आत्मनिर्माण’ महाकाव्य भरतद्वाजवंशीय सुवेदीकुलको आजको ‘म’लाई केन्द्रबिन्दु बनाएर रचिएको छ र यसमा आफ्नो वंशपरम्पराको सङ्घर्षपूर्ण यात्राका कथाशृङ्खलामार्फत सिङ्गो पौरस्त्य सभ्यतायात्राको सङ्क्षिप्त र सुन्दर काव्यात्मक रेखाङ्कन गरिएको छ, जहाँ सामाजिक, सांस्कृतिक एवम् समग्र मानवचेतनाको विकासका अनेक आरोह अवरोह तथा तिनका आधारभूत प्रवृत्ति र उपलब्धिको सुमधुर प्रतिध्वनि सुन्न सकिन्छ । यही सशक्त व्यञ्जनासौन्दर्यका साथै स्वतःस्फूर्त एवम् सहज वणर्मात्रिक छन्दढाँचा र कोमलकान्त सुललित भाषिक विन्यासबाट सुसज्जित ‘आत्मनिर्माण’ समकालीन नेपाली महाकाव्य परम्परामा सर्वाधिक शक्तिशाली काव्यकृति बन्न पुगेको छ ।
राजेन्द्र सुवेदी समालोचनाका कृति लेखेर अनुसन्धान गर्नेहरूका माझ छिटै चर्चित, प्रसिद्ध र प्रिय भए । उनका समालोचनामा विषयवस्तुको बिम्बलाई स्पष्ट ढङ्गवाट प्रकाश पार्ने क्षमता देखिन्छ । उनको समालोचनात्मक लेखनमा जराभित्रै पुगेर उक्त कृतिको पूरै निक्र्यौल गर्ने पद्धति भेटिन्छ । त्यसैले उनको समालोचनाबारे कनिष्ठदेखि महासमालोचकसम्मले बखान गरेको पाइन्छ । उनका जम्मा तेह्रवटा समालोचनात्मक कृति प्रकाशनमा आए । उनी बहुत्ववादी समालोचक थिए । कृतिका अपेक्षाअनुसार यथोचित समालोचना सिद्धान्तका आडमा साहित्यिक कृतिहरूको समीक्षा गर्ने उनीभित्र व्यापक समालोचना समाथ्र्य थियो ।
राजेन्द्र सुवेदीले सम्पादनमा पनि कुशलता देखाए । उनका सम्पादनमा बीसवटा कृति प्रकाशित भए । तीमध्ये महाकवि देवकोटाकृत निबन्धसङ्ग्रह ‘दारिमको रूखनेर’ र ‘डा.वासुदेव त्रिपाठी : स्रष्टा एक द्रष्टा अनेक’ अति महत्त्वपूर्ण कृति मानिन्छन् । उनीद्वारा सम्पादित प्रायः सम्पूर्ण कृति उल्लेख्य नै भए ।
राजेन्द्र सुवेदीले भारतको कालेबुङबाट उत्तरमध्यमा र बनारसबाट शास्त्री गरे । यिनले ट्युसन पढाएर पढे, कर्मकाण्ड र जजमानी गर्दै पढे । अनि यिनले विभिन्न स्कुलमा पढाएर पनि पढे । एमए पढ्न उनी काठमाडौँ आए र त्यसै बेला बनेपाको आजाद हाईस्कुलमा पढाउन पुगे । त्यस स्कुल र पहाडतिरका स्कुलमा पढाएको पैसा जोहो गरेर उनले एमएको अध्ययन गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट २०३० सालमा एमए पास गरे ।
राजेन्द्र सुवेदीले एमए पास गरेपछि त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष पढाए । त्यसै कालखण्डमा उनी महेन्द्ररत्न क्याम्पस इलाममा क्याम्पस प्रमुख र त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्रमुखसमेत भए । पछिल्ला दिनमा उनी कोटेश्वर बहुमुखी क्याम्पसका प्रमुख पनि भए । त्यो क्याम्पस उनैको योजना, पहल र नेतृत्वमा खोलिएको थियो । उनी गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक पनि भएका थिए । साथै त्रिमूर्ति निकेतनको लेखनाथ पौड्याल काव्यसभाको संयोजकका रूपमा पनि उनले यथेष्ठ काम गरे ।
राजेन्द्र सुवेदीले जीवनभरि साहित्य साधना गरेबापत केही सम्मान तथा अभिनन्दन प्राप्त गरे । साथै उनी भानुभक्त प्रज्ञापुरस्कार, झपट पुरस्कार, नइ ईश्वर बराल पुरस्कार तथा भानुभक्त स्वणर्पदक, त्रिमूर्ति पदक, देवकोटा शताब्दी स्वणर्पदक र सत्यमोहन जोशी शताब्दी पदकबाट पनि विभूषित भए ।
राजेन्द्र सुवेदी विकासवादी थिए । उनी जहाँ पुगे पनि केही न केही विशिष्ट कर्म गरेर आफ्नो पहिचानको बिम्ब छाड्ने उनको सिद्धान्त देखिन्थ्यो । नेपाली केन्द्रीय विभागका प्रमुख भएका बेला उनैको पहलमा नेपाली विषयमा एमफिल तहको पठनपाठन सुरु गर्न उनी सफल भएका थिए । यिनले त्रिचन्द्र कलेज र रत्नराज्यलक्ष्मी क्याम्पसमा पनि पढाए ।
राजेन्द्र सुवेदीको बिहे २०१६ साल फागुन २३ गते इन्दिरा अधिकारीसँग भएको थियो । त्यसै प्रसङ्गमा श्रीमती इन्दिरा सुवेदीले भनेकी थिइन्- ‘मेरा पुरुषको जन्म २००२ साल होइन; २००० साल साउन १९ गते हो । बिहे हुँदा म ११ वर्षकी थिएँ । मेरा बुबा पाँचथर सुभाङका सोमनाथ अधिकारी र आमा मन्दोदरा अधिकारीले हामी दुवैको गोडा धोएर मलाई कन्यादान गरेका थिए ।’ यी दम्पतीले दुई छोरी पुष्पा, भूमिका र एक छोरा कमल सुवेदी जन्माए । कमल सुवेदीचाहिँ पुस्तक प्रकाशन र त्यही विषयकै व्यापारमा लागे । उनी साझा प्रकाशनसँग समेत सम्बन्धित भएर नेपाली भाषाको सेवामा नै समर्पित देखिए । उत्साह, ऊर्जा र प्रेरणाका प्रतिमूर्तिका रूपमा सक्रिय जीवन यापन गरिरहेका प्रा.राजेन्द्र सुवेदीलाई पनि उनीभन्दा बलियो बनेर कोरोना भाइरसले आक्रमण गर्यो । जीवन यापनका क्रममा कैयन् सामाजिक युद्धमा उनी विजयी नै थिए । केही वर्षदेखि मधुमेह पीडित प्रा.राजेन्द्र सुवेदीले कोभिडसँगको युद्धमा चाहिँ पराजय भोग्न बाध्य हुनुपर्यो । अन्ततः कोरोना महामारीले नै नेपाली भाषासाहित्यका क्षेत्रमा अर्को अपूरणीय क्षति गराई छोड्यो । आफ्ना अमर कृति र कीर्तिमा कालजयी प्रा.राजेन्द्र सुवेदीको भौतिक चोला २०७८ साल जेठ ३ गते बिहानै यस धराबाट विलीन भयो ।
राजेन्द्र सुवेदीका कृति:
उपन्यास
१. सुद्युम्न (२०३१),
२. स्वप्नसंसार (२०३३),
३. धितो कोख (२०७६),
निबन्धसङ्ग्रह
४. खाली सिसी पुराना कागत (२०४९),
५. आफ्नो यात्रा : आफ्नै परिवेश (२०५४),
६. अब मेरो क्यासेट बन्द हुन्छ (२०५६),
७. गुडबाई छोडिजानेहरूलाई (जीवनीसमेत : २०६५),
८. म हुँ औँला नकाटिएको एकलव्य (२०६५),
९. निबन्ध किशोर (२०६९),
१०. जीवन : गोप्य सिलबन्दी खाम (२०७१),
११. तीर्थपर्यटन (२०७१),
१२. सम्राट्का सीमाभित्र र बाहिरका भानुभक्त (२०७२),
जीवनी
१३. अनन्त यात्रा (बुबाआमाको जीवनी : २०७०),
महाकाव्य
१४. आत्मनिर्माण (२०७०),
समालोचना
१५. विषय गहन सतह चिन्तन (२०३८),
१६. स्रष्टासृष्टि द्रष्टादृष्टि (२०४३),
१७. समवर्ती साहित्यकार र झपटबहादुर राणा (२०४८),
१८. केही समीक्षण केही विश्लेषण (२०४९),
१९. नेपाली उपन्यास : परम्परा र प्रवृत्ति (२०५३,
२०. सृजनात्मक लेखन : सिद्धान्त र विश्लेषण (२०५७),
२१. नेपाली समालोचना परम्परा र प्रवृत्ति (२०६१),
२२. काव्य निबन्ध केन्द्रका देवकोटा (२०६६),
२३. चलचित्र सिद्धान्त र नेपाली चलचित्र (२०६९),
२४. समसामयिक नेपाली उपन्यास (२०६९),
२५. सांस्कृतिक अध्ययन र नेपाली साहित्य (२०७२),
२६. नरेन्द्रराज प्रसाईकृत एकल जीवनीको विश्लेषण (२०७३),
२७. आख्यानकार इन्दिरा प्रसाई : सिर्जना र दृष्टि (२०७७),
सम्पादन
२८. समसामयिक साझा कथा (२०४१),
२९. दारिमको रूखनेर (देवकोटाका निबन्ध : २०४१),
३०. धुवचन्द्र गौतमका प्रतिनिधि कथा (२०४१),
३१. स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (२०४३),
३२. नेपाली हास्यव्यङ्ग्य निबन्ध (२०४६),
३३. स्नातकोत्तर नेपाली कथा (२०५१),>
३४. स्नातकोत्तर नेपाली निबन्ध (२०५१),
३५. चालीसको दशकका नेपाली कविता (२०५१),
३६. सूक्तिसिन्धु (पुनः सम्पादन : २०५५),
३७. प्रियदर्शिका ( पुनः सम्पादन : २०६३),
३८. नेपाली निबन्ध र अन्य विधा (भाग २ : २०६६),
३९. रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड : २०६९),
४०. रत्न बृहत् नेपाली समालोचना (प्रायोगिक खण्ड : २०६९),
४१. प्रज्ञा नेपाली समालोचना (२०६९),
४२. डा.वासुदेव त्रिपाठी : स्र्रष्टा एक द्रष्टा अनेक (२०६९),
४३. समालोचकहरूका आँखामा हरिहर खनाल (२०७०),
४४. समालोचना वृत्तमा खेमनाथ दाहाल (२०७२),
४५. स्रष्टा होम : द्रष्टा अनेक (२०७२),
४६. सङ्गीत चन्द्रोदय ( पुनः सम्पादन : २०७२),
४७. उषा चरित्र र मनोद्वेग प्रवाह (पुनः सम्पादन : २०७२) ।