ज्ञानेन्द्र विवश (२०२७, असार १२। चिसापानी ८, खोटाङ, सुपुत्र : धननारायण श्रेष्ठ र विष्णुमाया श्रेष्ठ) नेपाली साहित्य कला र संस्कृतिका क्षेत्रमा परिचित युवा प्रतिभा हुन् । २०४२ सालमा गोरखापत्रमा ‘कलाकार अरनिको’ शीर्षकको निबन्ध प्रकाशन गरी नेपाली साहित्य जगत्मा सार्वजनिक भएका विवसका पीडाका अनुभूतिहरू (२०४७) कवितासङ्ग्रह, संवेदनाका स्वरहरू (२०५५, संयुक्त) निबन्धसंग्रह, राराकी अप्सरा २०५८), मृत्यु उत्सव (२०६०), प्रणय र पाइला (२०६१), प्रकृतिको आवाज (२०६१) लगायत आधा दर्जन निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । उनका सम्पादनमा विभिन्न पत्रपत्रिका प्रकाशन हुनका साथै उनले विभिन्न समयमा कला प्रदर्शनी गर्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको असारलाई नै विषय बनाइएको निबन्ध रचना समेटिएको छ । ‘असारे भाकामा सामाजिक सद्भाव’ शीर्षकको यस निबन्ध रचनाले असारको महत्त्व देपाली समाज र संस्कृतिसापेक्ष उजागर गरेको छ ।– सम्पा. |
बर्खैमा लाग्यो खोला र खोली बगेछ लेउझार
पुरबै ढोका खोलेर हेर्दा लागेछ असार ।
खेतीकिसानीको नेपाली जीवनशैलीमा असार महिनाको विशेष महत्त्व हुने गर्दछ । असार लागेपछि नै किसानहरूलाई असारको पन्ध्र हुन्छ । अर्थात् कामको चापले एकछिन पनि फुर्सद मिल्दैन । यही महिनामा वर्षभरिका लगि छाक जुटाउने मेलोमेसोको सुरु हुन्छ । धान रोपाईको व्यस्ततामा ‘मानु खाई मुरी उब्जाउने’ सुक्तिको चरितार्थ हुने गर्छ । त्यसै जीवन रक्षाका निम्ति नयाँ अन्नबालीको खेती गरिने यो बेलामा सामाजिक जीवनकै झाँकी प्रदर्शित हुन्छ । असारे भाकामा रोपाई जात्राको सुरुवात हुन्छ । हाम्रो लोकलयको अर्को अलग्ग मौलिक आत्माका रूपमा असारे लोकगीतको परम्परा रहँदै आएको छ । यसकारण पनि असार महिनालाई अन्नबालीको सह राख्ने सहकालको महिनाका रूपमा लिइन्छ ।
प्रकृति पर्यावरण पनि असारे फूलले गाउँघरै ढाक्छ । झरीवर्षा र हिलोमाटोको महत्त्वले पनि यही बेला मान्यता पाउँछ । किनभने असारमा रुझ्नु, भिज्नुको पनि बेग्लै मजा हुन्छ । हिलोमा हिलाम्मे हुँदा पनि आनन्द लाग्छ । भनौं भने प्रकृतिसँग वास्तविक साक्षात्कार यसै समयमा हुन्छ । उज्यालो भुइँमा नखस्दै खेतबारीमै मन प्राण पुग्छन् । अनि आधारातसम्म पनि विराट प्रकृतिकै आँगनमा किसानहरू छुनुमुनु गर्दै भरिलो मंसिर भित्राउने मीठो सपनामा संलग्न रहन्छन् ।
किसान परिवारमा यसबेला एक किसिमको उमङ्ग फैलिन्छ । गाउँघरको रौनकता नै रोमाञ्चक बन्न पुग्छ । खेतीपातीको चटारोसँगै असारे गीतको झटारोले वातावरणलाई संगीतमय पार्दछ । काम तमामको मेलामै स्वस्थ मनोरञ्जनको नयाँ अध्याय थपिन्छ । वास्तवमा यस्ता गीतहरूले जीवन भोगाइका कटुयथार्थतालाई राम्ररी प्रतिविम्बित गरेका हुन्छन् । सन्ताप र सुस्केरा मात्र होइन तिनमा मिलन, विछोड र प्रेमका प्रशस्त स्पन्दन समेटिएको हुन्छ । रोपाईँका बेला गाइने भएकाले यस्ता गीतहरू महत्त्वपूर्ण कर्मगीत वा श्रमगीतका रूपमा प्रसिद्ध छ ।
बहुसंख्यक नेपाली कृषि पेशामै आश्रित छन् । विज्ञान र प्रविधिको आशातीत सफलता प्राप्त भइरहेका बेला नेपाली कृषक भने परम्परागत खेती प्रणालीमा बाँधिएका छन् । श्रमगीत गाउँदै कर्मको पूजा गर्न कुनै साल खडेरी प्रकोप हुन्छ । कुनै वर्ष वर्षाबाढीले गर्नुनगर्नु गर्छ । कहिले हलगोरुको संकट पर्छ । कहिले बाउसे, रोपाहारको कमीले काम खाँचै पर्छ । यस्तै गाह्रो–खाँचोमा छरछिमेकीबीच पालो, पैंचो वा पर्मले ठूलो महत्त्व राख्दछ । त्यसैले यो मौसममा बाली लगाउने कामको चटारोबाट कोही पनि टाढिन पाउँदैनन् । बरु सकेको सहयोग सबैले सराबरी पुर्याउँछन् । गाउँघरमा पुनः अर्को पटक सामाजिक सद्भाव सार्वजनिक हुन्छ । सहयोगी हार्दिकताको साटफेर हुन्छ । यसबेला दुःख बिर्सेर असारे हिलोमा धान रोप्नु वा असारे भाका हाल्नुको मजा तिनै रोपाई उत्सवका रउसेलाई मात्र थाहा हुन्छ ।
त्यसो त असारको महत्त्व यत्तिकैमा बिराम हुन सक्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै ‘असारको पन्ध्र’ निबन्धमार्फत् यसको महत्त्वलाई झनै बढाएका छन् । कृषिप्रधान देशमा रोपाईँको महत्त्वले एउटा खुसीयाली थपेको प्रकृतिमा सौन्दर्यको वैचित्र्य थपिएको बताउँदै महाकविको भावुक भावना यसरी बगेको छ– सन्तान उपरको करुणाले पृथ्वीले आज कलिलोपन लिएकी छन् । हृदयमा आनन्द र आकांक्षा, मुटुमा हलुका लयदार स्पन्दन गलामा उर्लदो दिलको मधुर गान । आज हामीहरू दबदबे कलिला खेतमा पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको पन्ध्र हो ।
महाकविको कवि हृदय यत्तिकैमा टुगिँदैन । महाकविले असारको महिमा त्यत्तिकै गाएका होइनन् । असारको बेला हिलो छ्याप्नु पनि प्रेम र आनन्दको प्रतीक ठान्छन् । त्यसैले देवकोटा असारे रोपाईमा शब्दको चातुरी र भाको माधुरी देख्छन् । हिलोका छिर्का र तिनले बनाएका बुट्टाहरू ग्रामीण युवतीको वस्त्र र वदन दुवैको सुन्दर श्रृंगार हुन् भन्ने मान्यता छ महाकविको । उनी प्रेम र खुसीयालीको हिलो, द्वेष र ईरष्याको दागजस्तो देखिँदैन भन्छन् । कानमा सिउरिएको असारे फूल र धानका हरिया बीउहरू अनि हरिया झरी, मकैका कलिला धानचमरा र धमिला हिलोपानीको साम्राज्यमा जीवनको एकदमै सङ्लो र मनोहर दृश्य देख्ने महाकविले यही असारे मासको कामको मरिमेटाइले नै खास जीवनको स्वाद पाइने बताएका छन् ।
साँच्चै हिलोसँग जिस्किन पाएपछि र मायाप्रेमका भाकामा गीतिलय गुञ्जिन पुगेपछि झ्याँउकिरीले रात निम्त्याएको ख्याल हुँदैन । घाम अस्ताएर अँध्यारो भएको अथवा जुनेली रात भित्रिएको पनि मतलब हुँदैन । हिलोमा हिलाम्मे भई जीउज्यानको बेहाल हुँदा पनि खुशीले रोपाईमा रमाउनुको आनन्द जीवनभरिकै एक प्रियतम क्षण हुन्छ । अतः असारे रोपाई र असारको महिमा हाम्रो समाजमा परम्पराकै रूपमा हुर्किएर आएको एक सामाजिक सद्भावकै प्रतीक पनि बनेर रहेको छ ।
असारको पन्द्र दहीचिउरा खाने, साउनको पन्ध्र खीर
यो मेरो देश त्यसै बिग्रिसक्यो, लाग्छ मलाई पीर ।
गर्मी र वर्षाद्को याममा शारीरिक थकाइमा शीतलता प्रदान गर्दै शक्तिसञ्चार गराउन हाम्रो समाजमा दहीचिउरा खाने संस्कृतिको विकास भएको हो । विज्ञानले पनि यसलाई स्वास्थ्यवद्र्धक मानेको छ । यसलाई प्रकृति र विज्ञानको उत्कृष्ट मेल भएको सन्दर्भमा समेत लिइने गरिन्छ । सबै जाति र भाषाभाषीहरू तथा फरक धर्म र सम्प्रदायका मानिसहरूमा पनि असारको बराबरी स्थान बनाएको पाउन सकिन्छ । नेवारी, किरात, मैथिली, भोजपुरी, थारू, तामाङ, धिमाल आदि अनेक जातिका समुदायमा असारे यामको चाम, लोकभाकाका पक्षहरू उत्तिकै जीवन्त र त्यत्तिकै मार्मिक हुने गर्दछन् ।
जोश र जाँगर सँगालेर काममा जुट्ने कृषकहरू धान रोपाईलाई पर्वकै हाराहारीमा राखेर मनाउने गर्दछन् । कतिपय धान रोपाईमा स्थानीय लोकबाजा, लोकनृत्य र लोकगायनका अनेक मनोरञ्जन प्रस्तुत हुन्छन् । कतिपय धनीमानी मानिसले पञ्चैबाजाका साथ बेठी लगाएर रोपाई जात्राकै रौनक देखाउँछन् । जहाँ असारे भाकासँगै रोपाहारबीचको लोकदोहोरी नै चल्दछ । दबदबे हिलोमा छुपुछुपु धानका गाभा गाड्नु मात्र होइन हिलो छ्यापाछ्यापको रमाइलो पनि हाँसीखुशीपूर्वक हुन्छ । असारे गीतको सुरुवात मूलतः धरती पूजाको रूपमा हुने भएकोले अन्न दिने आमा धरतीलाई श्रद्धाले गीतिभाका सुसेलेर गाउँदै रोपाई सुरु गरिन्छ ।
मधेसै ज्यानको अर्नै भैंसी सिंह है घुमेको
अक्षता चढाउँ, पाती है चढाउँ, सिमे र भुमेको
गोठालो ज्यानले घाँसैर काट्यो खोलाको केउराली
अक्षता चढाउँ, पाती है चढाउँ, देवी र देउराली ।
असारे गीत बर्खे झरीमा होस् वा हिलोमाथि खेलेर होस्, हलीबाउसे, रोपाहार जोसुकैले सुरिलो भाकामा गाउने हुँदा गीतसंगीतका सुरमा माटोसँग खेल्नु अनुभूति अविष्मरणीय नै हुन्छ । प्रकृतिमा भिजेको कण्ठबाट लोकलयका जीवनवादी स्वर गीतमा गुञ्जिन्छ । त्यही लोकलहरीको लहरमा रोपाईको मेलो पनि सर्दछ । कामको चटारो पनि क्रमशः घट्दै जान्छ । त्यसैले उनीहरू श्रममा जीवनको गीत गाउँछन् । पसीनामा प्राणको आहुति दिएर पनि जीवनको त्राण भर्छन् । यसबेला हलो, कोदाली, दाँदे, फ्याउरी र धानको बीउमा जीवन बोल्छ । पानीमय जमीनको खेतभरि भरिपूर्ण अन्न उत्पादनको प्रार्थना र प्रकम्पना अभिव्यक्त भइरहेको हुन्छ । त्यही अन्नभण्डारकै उन्नत उत्पादनले जीवनको सुन्दरता मुखरित हुन पुग्छ र सुख, शान्ति र समृद्धिका सिलसिलाहरू गाँसिन आउँछन्। अन्यथा कहाँ सुख मिल्न सक्छ ? कहाँ शान्ति भेटिन्छ ? अभाव र अनिकालको अवस्थामा जीवनले प्रगतिको फड्को मार्नै सक्दैन । अन्नपानीविना जीवनले पाइला सार्नै सक्दैन । त्यसैले यही असारमै छ जीवनको सुन्दर भविष्य । असारसँगकै साक्षात्कारमा भेटिन्छ प्रकृति निकट अनुभूतिका अनेक संलापहरू ।
असारमासको हरियाली, हिलोमाटो र पानीको पाटोमा एकजुवा घामको पनि महत्त्व हुन्छ । एकथोपा पानीले पनि ठूलै तृष्णा मेट्दछ । त्यसैले हरियाली र वर्षाको बैंसालु यस महिनामा सनातनकालदेखि असारे भाकासँग रोपाई जात्राको सामाजिक एवं सांस्कृतिक सद्भाव स्थापित हुँदै आएको छ ।
समय क्रमसँगै आज खेतीप्रणालीमा जाँगर कमी हुँदै आएको छ । समयमा पानी नपर्नु, मलबीउको अभाव खड्किनु र खेतालाको कमी हुनुले पनि धान रोपाईलाई आघात पुरयाएको छ । आज त धानका सुनौला बाला झुल्ने खेतमा घरका भव्य भवन ठडिएका छन् । खुला ठाउँ हराउँदै जाँदा, पानी बग्ने खोला मासिँदै जाँदा असारे दबदबे हिलोको अस्तित्त्वले पनि विराम लिँदै गरेको नमीठो अनुभूति हुन्छ ।
त्यसैले त धमिलो पानीमा धानबालीको रोपो गाड्ने क्रमले विदा लिँदैछ । मानो रोपेर मुरी फलाउने धोको र ध्याउन्नले नेटो काटिसकेको छ । कृषिप्रधान देशका कृषकहरू अन्ततः आफैं हली, बाउसे, रोपाहार बन्न र रउसे गर्न लाज मान्छन् । यस भएकैले आज सामाजिक सद्भावमा ठेस लागेको छ । लोकभाका र लोकलय विरानो बनेको छ । सिर्जनाका पुजारीहरूले श्रमको पूजा नगरेपछि कर्मको गीत नगाएपछि रोपाई हुँदैन । असार आउँदैन । असार नआएपछि भकारी भरिँदैन । रित्तो भकारीले वर्ष दिनसम्म खाना खुवाउन सक्दैन । अन्ततः रोपाईको न मैजारो नै हुन्छ न मंसिर भित्र्याउने मीठो सपना नै देख्न सकिन्छ ।



ज्ञानेन्द्र विवश (२०२७, असार १२। चिसापानी ८, खोटाङ, सुपुत्र : धननारायण श्रेष्ठ र विष्णुमाया श्रेष्ठ) नेपाली साहित्य कला र संस्कृतिका क्षेत्रमा परिचित युवा प्रतिभा हुन् । २०४२ सालमा गोरखापत्रमा ‘कलाकार अरनिको’ शीर्षकको निबन्ध प्रकाशन गरी नेपाली साहित्य जगत्मा सार्वजनिक भएका विवसका पीडाका अनुभूतिहरू (२०४७) कवितासङ्ग्रह, संवेदनाका स्वरहरू (२०५५, संयुक्त) निबन्धसंग्रह, राराकी अप्सरा २०५८), मृत्यु उत्सव (२०६०), प्रणय र पाइला (२०६१), प्रकृतिको आवाज (२०६१) लगायत आधा दर्जन निबन्धसङ्ग्रहहरू प्रकाशित छन् । उनका सम्पादनमा विभिन्न पत्रपत्रिका प्रकाशन हुनका साथै उनले विभिन्न समयमा कला प्रदर्शनी गर्दै आएका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको असारलाई नै विषय बनाइएको निबन्ध रचना समेटिएको छ । ‘असारे भाकामा सामाजिक सद्भाव’ शीर्षकको यस निबन्ध रचनाले असारको महत्त्व देपाली समाज र संस्कृतिसापेक्ष उजागर गरेको छ ।– सम्पा.