भोजराज भट्ट (२०१५ मङ्सिर ८, सुपुत्र : देवदत्त भट्ट र भागरथी भट्ट, बबरडाँडा, डोटी) नेपाली साहित्य, न्याय र समाजसेवाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका संसद् र सिंहदरबार लिएर फल्दैछ फुल्दैछ (२०५५) कवितासङ्ग्रह, बमना रानाको कोट (२०६७), मनरखनी (२०६८), अक्षरसँग रङ र सपनाहरू (२०६८), मैले देख्न पाएको कैलाश मानसरोवर (२०६८), वैशालु खप्तड () कथा चारधाम बद्री केदारको, श्रीपेच बन्धकी राख्ने राजा जस्ता निबन्ध कृतिहरू प्रकाशित छन् । उनी आफ्ना रचनामा नेपालको प्रकृति, संस्कृति र सभ्यताको अन्वेषण गर्नका साथै सीमान्तकृत समुदायका आवाज र मानवताको खोज गरिरहेका हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भट्टको ‘ मेरी सासूआमा इन्द्रकुमारी र ससुरा ठाकुरसिंह राई’ शीर्षकको निबन्ध रचना समेटिएको छ । यस निबन्ध रचनाले लेखकका जायामाता र पिताका जीवनगाथा र संस्मरणलाई जीवन्त रूपमा समेटेको छ ।-सम्पा. |
आज ठिक २० वर्ष भयो म झापाबाट उकालो लागेर इलामतर्फ नउक्लेको । अन्तिम पटक म र मेरी जीवन सँगीनी जसू बुबाको स्वर्गबाट हुँदा इलाम पुगेका थियौं । इलाम, पाँचथरको सेरोफेरो दार्जिलिङ, झापाको मैदानी भागमा देखिएका प्राकृतिक दृश्यहरू बिस्तारै धुमिल हुँदै गएका छन् । त्यसबेला भेट भएका मानिसहरू पनि विस्मृतिको गर्भमा गइसकेका छन् । सुन्दर इलाम । सुन्दर ससुराली गाउँ बिस्तारै एकादेशको कथाका रूपमा मेरो अगाडि छ । चालीस वर्षअघि म इलाम पुगेको थिइन । २० वर्षपछि मेरो ससुराली गाउँ अपरिचित हुँदै गएको छ । केही मिठा सम्झनाबाहेक मसँग अरू केही छैनन् ।
समयसँगै सबै कुरा सकिने रहेछन् । मानिससँगै पनि धेरै कुरा सकिने रहेछ । पहिलो पटक इलाम पुग्दा दसैँको समय थियो । दसैँले भरिएको इलामलाई भेटेको थिएँ मैले । दोस्रो पटक विवाहको मौसममा म पुगेको थिए इलाममा । ससुराली घर विवाहको उत्सवमा थियो । तेस्रो पटक म इलाम पुगेँ । आदरणीय ससुराज्यूलाई यो अस्तित्वबाट विदाइ दिइरहेका थियौँ ।
समयको चक्रभित्र राज्य सकिन्छन् । सहरहरू सकिन्छन् । गाउँ टोलहरू सकिन्छन् । मानिस सकिने रहेछ । नाता सम्बन्धहरू सकिने रहेछ । हाँसो र आँसु सकिने रहेछ । आस्था सकिने रहेछ । विश्वास सकिने रहेछ । सबै चिज पाएर बसेको मानिस र पाएका सबै कुरा गुमाएर बसेको मानिस अचम्ममा पर्दछ यो दुवै दृश्यलाई देखेर । कुन दिशाबाट समय लिएर आउछ त्यो पनि देखिदैन । कुन दिशाबाट दिएका कुराहरू समयले खोसेर लग्छ त्यो पनि देखिदैन । पचास वर्षपछि सय वर्षपछि, कति परिवर्तन होला हामी बाँचिरहेको संसारमा ?
उजाड भएको मेरा हजुर बुबा र हजुर आमाको गाउँ हेर्दा अत्यन्त पीडाबोध हुन्छ मलाई । चुपचाप । सुनसान । त्यो ठाउँमा ५० वर्षअघि केही पनि नभएको जस्तो । यसपालि कैँयाँै वर्षपछि सकिएको मेरो गाउँमा पुगेँ । मैले मेरो बुवाको घरलाई खोजेँ, गाउँभरि बुवाका समकालीन किसानहरूलाई खोजँे, खरले छाएका लामालामा घरहरू खोजेँ, गाउँको माझमा हुने गरेका कुवाहरूलाई खोजँे, लटरम्म फुलेका तोरीबारीहरू खोजँे, धान पाकेर पहेँलपुर भएका खेतहरूलाई खोजेँ । गाउँमा जम्माजम्मी एकजना वृद्धाबाहेक मेरो बुवाको गाउँमा अरू कुनै कुरा पाउन सकिनँ । जो मैले मेरो बुवाको गाउँमा पाउने गरेको थिए । मानिस आफूसँगै एकखाले समय र प्राकृतिक परिवेश लिएर आउने रहेछ । त्यो मानिससँग प्राकृतिक परिवेश सँगसँगै उसका सबै रचना पनि सकिने रहेछन् ।
यो जगत् प्रतिपल परिवर्तन भएरहेको छ भन्छन् शास्त्र वचनहरू । यो जगत््लाई बुझेका महामनाहरू । कसैको स्थायित्व छैन । झट्ट सुन्दा हामीलाई विश्वास गरिहाल्न मन लाग्दैन । जन्मसँगै मृत्युलाई साथमा बोकेर आउने रहेछन् सबै । कसैले कसैलाई रोक्न सक्दैन । एकछिन बसेर त्यसपछि जानु नि भन्न सक्दैन । एउटा रेल्बे स्टेसनजस्तै । एउटा एयरपोर्टजस्तै । एउटा बस स्टेसनजस्तै रहेछ जीवन । टिकट पहिले नै निश्चित गरिएको । त्यो टिकटलाई क्यान्सिल गर्न नपाइने । स्थगित गर्न नि नपाइने ।
ज्वाइँहरूको स्वागत्मा, सत्कारमा, ससुराली गाउँ तरङ्गीत भएको । दौडदौड गरेको मैले अनुभव गरेको छु । मलाई धेरै मान गरेको मन पर्दैन तर के गर्नु ? मलाई आफैँ लाज लागेर आउँथ्यो । आफूलाई दण्ड सजाय दिएको ठान्दथेँ । मैले भने पनि जसूलाई । संस्कारित परिवारहरू । विचारले कुलीन परिवारहरू यो पुरानो आफ्नो पारिवारिक मान्यतालाई छाड्न सक्दैनन् । उनीहरूलाई पनि एक किसिमको आनन्द दिने रहेछन् यस्ता आयोजनाहरूले ।
सबै महामना भन्छन् । अतित सुखद होस् अथवा पीडादायक त्यसलाई जरैदेखि बिर्सदिन भन्छन् । भविष्यलाई आसे भएर त्यसैको प्रतीक्षामा नबस भन्छन् । वर्तमान । अहिले जे अगाडि छ । जे उपलब्ध छ । राम्रो छ नराम्रो छ । ठिक छ कि बेठिक छ । यो नै हाम्रो जीवन हो भन्छन् । भागमा वर्तमानमा विष परेको छ भने शिवको प्रार्थना गर्दै अलिअलि गर्दै पिउन सल्लाह दिन्छन् । अमृत फेला परेको छ भने पनि ब्यान्डबाजा बजाउन लगाएर पिउन नबस भन्छन् । चुपचाप विष पिएजस्तै अमृतलाई पनि पिउन सल्लाह दिन्छन् । सबै कुरा साक्षी भावले गर भन्छन् । साक्षी भावले भोग भन्छन् । कसको को छ र, सधैँँ भरिलाई ? कुन कुराले प्रतीक्षा गरिबसेको हुन्छ र मानिसलाई ? खोला तरेजस्तै हो जीवन । जङ्गलमा हिँडेजस्तै हो जीवन । उकालो हिँडेजस्तै हो जीवन । ओराली झरेजस्तै हो जीवन । सबै कुरा आउदै जान्छन् । सबै कुरा छुट्दै जान्छन् । सम्बन्धहरू मन्दिरको दर्शन गरेजस्तै हुन् । यिनै कुराहरू बुझेर होला कृष्ण वृन्दावनमा त्यसपछि फर्केर गएनन् ।
पीडाहरूको, दु :खहरूको, अभावहरूको पनि एकछत्र शासन नचलिरहने रहेछ । सुखको, आनन्दको, रमाइलोको पनि एकछत्र राज्य नचल्ने रहेछ – यो जगत््मा । सबैले आउनै पर्ने, सबैले जानै पर्ने, यी सबैकुराहरूलाई मानिसले चाहेर पनि नचाहेर पनि भोग्नै पर्ने, हावा आउछ र जान्छ । घाम आउँछ र जान्छ । रात आउँछ र जान्छ जस्तै मानव जीवनमा लक्ष्यहरू बच्चाका खेलजस्तै हुँदा रहेछन् । बच्चाका खेलौनाजस्तै हुँदा रहेछन् । खेल्यो छोड्यो । साधन भएकाहरू थुपं्रै खेलौनासँग खेल्दछन् । गरिब बच्चाहरू ढुङ्गा र माटोका वस्तुहरू सङ्कलन गरेर खेल्दछन् । बालुवाका घर महलहरू बनाएर खेल्दछन् । ताराहरू जूनसँग खेल्दछन् ।
मानिससँग मूलत : दुई किसिमका विलापहरू सधैँँ साथमा हुने रहेछ । एकथरी विलाप पाएन भन्ने, जुटेन भन्ने, वञ्चित भइयो भन्ने, अर्कोथरी विलाप हुनेहरूसँग छ । कसरी जोगाउँ भन्ने । अझै बढाउँ भन्ने । अझै सङ्ग्रह गरेर राखौं भन्ने । यसैभित्र मानव जातिको यात्रा सकिने रहेछ । यो विलापबाट मानिस मुक्त नहुने रहेछ । भएको मानिस डराइरहेको छ । नभएको मानिस पनि डराइरहेको छ । अज्ञात डरबाट हुनेलाई सताउने रहेछ । देखिने डरहरूबाट नहुने डराउने रहेछ । भयरहित मानिस । नडराउने मानिस जोगी हुने रहेछ । उसँग छ भने ऊ वितरण गरिदिन्छ । उसलाई थाहा हुन्छ भएको कुरा उसको होइन । नहुँदा आफूसँग ऊ हाँसिदिन्छ किनकि दाताले उसलाई दिन आउनका लागि फुर्सद् पाएको छैन । ऊ दिन आउँदैछ । सबै कुराको मालिकसँग जोगी रमेको हुँदोरहेछ । वर्तमान, अतित र भविष्य जोगीसँग हुँदैन । समयसँग पनि जोगीले भरोसा गर्दैन । तिम्रो इच्छा भन्छ रमाउँछ । आफूसँग कुनै झन्झटलाई बस्न दिँदैन । आफू नजिक कुनै पनि आकर्षणलाई बस्न दिँदैन । जसरी मारिसकेको मानिसलाई केही चाहिँदैन । पुगेको जोगी पनि त्यस्तै हो । अलिकति प्रकृतिबाट हावा लिन्छ । अलिकति उज्यालो र ताप लिन्छ । अलिकति पानी लिन्छ । अलिकति जीवन निर्वाहको साधन लिन्छ । ऊ छाकको खोजीमा मात्र हुन्छ । छाक भए पुग्यो । बासको चिन्ता जोगीले गर्दैन । यो अस्तित्वमा सङ्ग्रह गर्न लायकको वस्तु पनि पाउदैन । यो अस्तित्वका कुनै पनि कुरालाई जोगीले हेला गर्दैन । जे छ ठिक छ, जे छैन त्यो पनि ठिक छैन ।
जीवनको मजा जे आफूसँग छ दिनमा रहेछ । त्यसले अलिकति उठाउन मद्दत गर्ने रहेछ । दाताहरूले, जम्मा गर्नेहरूको जस्तो विलाप भोगिरहन पर्दैन । एकजना महामनाको कथा पढेको छु । सय वर्षसम्म उनी बाँचे । सय वर्षअघि ती महामना यो अस्तित्वबाट गए पनि । आफ्नो फिलामा घाउ भएछ । शरीरमा किरा परेछ । किरा धेरै परेछन् । हिँड्डुल गर्दा ती किरा घाउबाट झर्दा रहेछन् । ती झरेका किराहरू टिप्न र राख्नका लागि उनले आफूसँग एउटा कटौरा राखेका थिए । जमीनबाट किरा टिपेर कटौरामा राख्दथे । आफ्नो आसनमा बसिकेपछि ती किराहरूलाई आफ्नो घाउभित्र हाली दिन्थे । जगत्् चकित हुन्थ्यो उनको कामलाई देखेर, यो त्यही बाटो हो जुन बाटोले बुद्धलाई जन्माउछ । महावीरलाई जन्माउछ । जिसस, मोहमद जन्मने पनि यही बाटोबाट हो । कृष्ण आफ्नो गीतामा यसै कुरालाई जोड दिन्छन् । रामको क्रियाकलापले यो अस्तित्वमा यिनै कुराको सङ्केत दिन्छ । आफ्ना विरुद्धका कति चिजलाई मारेर जीवनलाई सुरक्षित राख्न, बनाउन सकिएला ? मार्नेभन्दा बचाउन प्रयास गर्नेलाई सधैँँ श्रेष्ठ भनिएको छ । बचाउन लाग्ने हो भने आनन्द पाउछ । मार्नमा लागेकाहरूको सङ्ग्रहमा ज्ञातअज्ञात विलापबाहेक केही हुँदैन । अभावबाहेक उसँग केही रहँदैन ।
एकपटक मेरो बुवाका घरमा थुप्रै काम गर्ने सहयोगी थिए । उनीहरूका आठ÷दस घरहरू थिए बुवाकै जग्गामा बनेका । उनीहरू प्रत्येकले बुवाको घरमा काम गरेबापत एक बिगहा जग्गामा उब्जेको धान पाउँथे । शुरूमै २० मन धान । तोरी । नुन । खुर्सानी लगायत पाउँथे । दसैँताका लत्ताकपडा पनि पाउँथे । उनीहरू एक वर्षका लागि नियुक्त हुन्थे । अर्को वर्ष छोडेर जान सक्थे । कैँयाँै परिवार पाँच÷दस वर्षसम्म बसेका हुन्थे । तीमध्ये बुवाको हेड मानिस थियो । उसलाई अगुवाको पद दिएको थियो । सबै कुरा उसले जिम्मा लिएको हुन्थ्यो । बुवाका आदेशलाई उसले पालना गराउँथ्यो । ती अगुवाकी श्रीमती निकै दयालु । मायालु । ठूलोमन र बाँडेर खाने स्वभावकी थिइन् । उनी आफ्नो घरमा जेजस्तो तरकारी होस् छिमेकमा सबैको घरमा सालको पातको दुनामा सधैँँ पुगाउँथिन् । अरूको घरमा तरकारी नभएर होइन । उनले तरकारी बाँडेपछि सबै घरबाट उनको घरमा पनि अरूले दिन आउथे । मैले देखेँ मेरो बुवाको भान्सामा भन्दा मिठो खाना त्यो परिवार दैनिक रूपमा खाने गर्दथ्यो । कारण एउटै मात्र थियो उनको बाँडेर खाने बानी । दिने बानी । दु :ख बाँडेमा दु :ख र सुख बाँडेमा सुख घरमा आफैँ आउने रहेछ । के बाँडेर हिँड्ने हो ? के बोकेर हिँड्ने हो ? कुन कुरालाई महत्व दिने हो ? मानिसकै हातमा रहेछ ।
हामी जो बाचेका छौं मृत्युकै लाइनमा छांै । अभावकै घेरमा छांै । समस्याहरूको चङ्गुलमा छौं । दु :खहरूकै वरिपरि छौ । शोक छन् । विलाप छन् । हामीले चाहेर पनि ती कुरा नआउने होइनन् । मानव समाजका पाहुना हुन आउँछन् नै । यिनीहरूलाई आउने बित्तिकै पाहुनाजस्तै स्वागत् गरेमा तिनीहरूले हामीलाई सङ्कटमा पार्न नसक्ने रहेछन् । सबै कुराको स्वागत् र विदाइका लागि हाम्रो जन्म भएको हो भन्ने बुझि दिएमा, हाम्रो ज्वरो कम हुँदै आउने रहेछ । घरका आँगनमा विलापहरू सुकाउन बस्याैँ भने । दु :खहरूलाई प्रचार गर्न थाल्यौं भने । अभावहरूलाई दराजभित्र राख्न थाल्यौं भने । यी हाम्रा साथी बन्ने प्रयास गर्दछन् । घर परिवारको सदस्य बन्न खोज्छन् । लोक मान्यता आगो हो सामना गर्नै पर्ने हुन्छ । लोक व्यवहार जहर हो अलिकति पिउनै पर्छ । हामीहरू हजारौं, लाखौं वर्षका लागि बसिरहने पनि होइन । हाम्रा राम्राहरू । हाम्रा प्रियहरू पनि सधैँँ कहाँ रहन्छन् र हामीसँग ? हातको औंलामा रहेको करोड रूपियाको औंठी र खाना खाँदाखेरी हाम्रो हातमा आइपुगेको चम्मच एउटै हो । एउटाले पेट भर्न सहयोग गर्छ । एउटाले हाम्रो आर्थिक स्थितिको प्रदर्शन गर्छ । मानव जीवन टेबुलको चम्मच पनि होइन । औंलामा रहेको हिराको औंठी पनि होइन ।
कुन्नि किन हो सबै ठाउँमा म आफूलाई लाचार पाउँछु । सबै ठाउँमा आफूलाई कमजोर पाउँछु । सबै ठाउँमा म आफूलाई पछाडि पाउँछु । अभावग्रस्त पाउँछु । दिनहीन पाउँछु । यसको एकमात्र कारण आजसम्म मैले समयलाई जित्न सकेको छैन । मसँग त्यस्तो सम्पदा पनि छैन जसबाट म यो अस्तित्वकाा सबै कुरा किन्न सकुँ । सबै कुरा छोडेर । सबै कुराबाट टाढा रहेर साक्षी भावबाट हेरिहन सुविधाजनक लाग्छ । अति भएमा त्यो अतिबाट खति नहोस् भन्नका लागि पग्लिन मन लाग्छ ।
जीवन भनेको, जीवनको यात्रा भनेको, हिँड्नु रहेछ । हिँड्दै हेर्नु रहेछ, सबै रङ्गलाई सलाम गर्नु रहेछ, सबै उकाली र ओरालीलाई ढोग्नु रहेछ, सबै समथरहरू जस्तै छातीलाई बनाउनु रहेछ, यो जीवनमा धेरैधेरै रहेछ, जीवन केही पनि रहेनछ । अलिकति जोडको हिसाब रहेछ, अलिकति घटाउ रहेछ, केही कुरा गुणाका लागि रहेछ, बाँकी गुना भागाका लागि रहेछ, अलिकति कुरा मिठा सम्झनाहरूको भारी रहेछ । अस्तु ।
(नोट : आदरणीय सासूआमा ८५ वर्षको उमेरमा २०७७ साल आषाढमा यो संसारलाई छाडेर महाप्रस्थान गर्नुभयो । –लेखक)



भोजराज भट्ट (२०१५ मङ्सिर ८, सुपुत्र : देवदत्त भट्ट र भागरथी भट्ट, बबरडाँडा, डोटी) नेपाली साहित्य, न्याय र समाजसेवाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका संसद् र सिंहदरबार लिएर फल्दैछ फुल्दैछ (२०५५) कवितासङ्ग्रह, बमना रानाको कोट (२०६७), मनरखनी (२०६८), अक्षरसँग रङ र सपनाहरू (२०६८), मैले देख्न पाएको कैलाश मानसरोवर (२०६८), वैशालु खप्तड () कथा चारधाम बद्री केदारको, श्रीपेच बन्धकी राख्ने राजा जस्ता निबन्ध कृतिहरू प्रकाशित छन् । उनी आफ्ना रचनामा नेपालको प्रकृति, संस्कृति र सभ्यताको अन्वेषण गर्नका साथै सीमान्तकृत समुदायका आवाज र मानवताको खोज गरिरहेका हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भट्टको ‘ मेरी सासूआमा इन्द्रकुमारी र ससुरा ठाकुरसिंह राई’ शीर्षकको निबन्ध रचना समेटिएको छ । यस निबन्ध रचनाले लेखकका जायामाता र पिताका जीवनगाथा र संस्मरणलाई जीवन्त रूपमा समेटेको छ ।-सम्पा.