सुरेन उप्रेतीको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी विदेशमा रहेर नेपाली भषा साहित्यको सेवामा समर्पित प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘कुलपतिसँग हार्वड विश्वविद्यालयमा’ शीर्षकको संस्मरणात्मक निबन्ध समेटिएको छ । यस निबन्धले एन आर एन एले गरेका पहिलो अन्तराष्ट्रिय नेपाली भषा–साहित्य सम्मेलनमा भाग लिन पुगेका नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसँगको भ्रमणको संस्मरणलाई समेटेको छ ।-सम्पा. |
क्यानडामा अगस्ट महिना तापक्रमको दृष्टिले निक्कै सुन्दर महिना हो । नेपालमा शरद ऋतुको झल्को दिने गरी आउँछ क्यानडामा अगस्ट महिना । कवि शिरोमणि लेखनाथ पौड्यालले भनेझैँ :
हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा ।
प्रकृतिको यौवनामय बैँस फक्रिएको झैँ सुन्दर मौसम थियो त्यो मौसम । गर्मी सकिइसकेको र जाडो पलाई नसकेको । पानी झरी केही छैन । बादलरहित निलो आकाश त्यसै उडौँ उडाँै लाग्दो मौसम । २०१९ अगष्ट महिनाको अन्तिम दिन थियो ।
टोरन्टोको ब्राम्टन शहर बस्ने मित्र सूर्य भट्टराई र गीता भट्टराई अटवा आइ पुग्नुभयो । भोलि पल्ट सेप्टेम्वर एकदेखि अमेरिकाको तीन दिने यात्रा तय भएको थियो । खानपिन गरेर पाहुनाहरूलाई सुत्ने प्रबन्ध गर्यौ । मेरी दिदी अनेसास क्यानडाकी उपाध्यक्ष तारा उप्रेतीसहित हामी चार जनाको यात्रालाई बिहान सबेरै बढाउने सल्लाह भयो । सेप्टेम्वर एकदेखि गैह्रआवासीय नेपाली संघ भाषा साहित्य उपसमितिको प्रथम विश्व सम्मेलन अमेरिकाको बोस्टन सहरमा हुँदै थियो । कतिपय यस्ता सम्मेलनमा भाग लिन पाउनु सौभाग्यको कुरा हुन्छ । एक युगमामा एक पटक मात्र यस्ता अवशरहरू प्राप्त हुन्छन् ।
हुन लागेको सम्मेलन एनआरएनको प्रथम भाषा–साहित्य सम्मेलन थियो । यस ऐतिहिसिक कार्यक्रममा नेपालबाट प्रज्ञाप्रतिष्ठानका कुलपति र काव्यविभाग प्रमुख डाक्टर हेमनाथ पौडेल प्रमुख अतिथि र अतिथिमा आमन्त्रित हुनुभएको थियो । उपसमितिका संयोजक रसाबाट गोविन्दप्रसाद गौतम र अफ्रिकाबाट एनआरएन केन्द्रका कोषाध्यक्ष तथा सल्लाहकार हिक्मत थापाको आतिथ्य पक्का भएको थियो । वहाँहरूसँग पटकौँ कुरा भएको भए पनि प्रत्यक्ष भेटघाट भएको थिएन । मनमा निकै कौतूहल भएर होला मेरा सपनामा पनि भाषा साहित्यको सम्मेलन हुँदै रहेछ । धेरै जना साहित्यकारहरूसँग साक्षातकार हुँदै थियो । बिहानको तीन बजेको अलार्म बज्यो र मेरो सपनाको सम्मेलन टुङ्गियो । म बिउँझिएँ । अरू तीनै जना सहयात्रीको हिँड्ने तयारी हुँदै रहेछ । नित्य कर्मलाई हतार हतार टुङ्ग्याएर निस्किएँ ।
बिहानै चियाखाजा खाएर हामी बाटो लाग्यौँ । बिहानको चार मात्रै बजेको भए पनि पूर्वमा लाली पोतिइसकेको थियो । सायद सूर्यले धर्तीलाई चिहाएर हेरेको होला । चारैतिर उज्यालोको राज चलिसकेको थियो ।
बिशाल फाँटहरूमा कतै गाईहरू चर्दै गरेका देखिन्थे त कतै घोडाहरू दुबोमा रमाउँदै हुन्थे । हिँउदमा जनवारहरूलाई खुवाउन होला घाँसका रोल रोल बनाएर चौरमा राखेका थिए । क्यानडा र अमेरिकाको बोडर नजिकिंदै गर्दा ठूला ठूला घाँसे मैदान जङ्गल र कता कता फाट्टफुट्ट घरहरू देखिन्थे । शाखा रोडमा एउटा ग्याँस स्टेसन र फास्ट फुड भएको होर्डिङबोर्ड देखियो । त्यसलाई पछ्याँउदै जाँदा ग्याँस पनि लगाउने वाथरूम गएर फ्रेस हुने सल्लाह भयो ।
करिब पन्ध्र बिस मिनेटमा सबै किनमेल सकेर कफी पिउँदै गाडीमा फर्कियौँ । गाडीलाई हाइवेमा प्रवेश गराउना साथ बढेमानका बिसबाइस चक्के माल वाहक ट्रकहरू तँछाड मछाड गर्दै गुड्दै थिए । यस्ता ठुला ट्रकहरूसँग बढिनै सतर्कता अपनाउनु पर्छ । साना गाडी जस्तो भनेको ठाउँमा ब्रेक लाग्दैन र साँडेको जुधाइ बाच्छाको मिचाइ हुन बेर हुँदैन । जोगिँदै जोगिँदै हामी करिब साढे आठ बज्दा क्यानडा यू एस बोर्डरमा पुग्यौँ । हामी चारै जना क्यानेडियन पासपोर्टबाहक भएकोले धेरै सोधखोज भएन । कति दिन बस्ने कहाँ बस्ने किन जाने प्रश्नको उत्तर नै काफी भयो ।
हाम्रो बाटो देखाउने भेनेको गुगलम्याप थियो । म्याप हेरेर सूर्यजी र गीताजीले अब कति टाढा छ, कता जाने अपडेट गराइरहनु हुन्थ्यो । मैले पनि दुई जना सहयोगी भएकोले ढुक्कसँग गाडी चलाइरहेँ ।
मेरा आँखाहरू अगाडिको बाटोमा केन्द्रित भएर स्क्यान गर्दै जान्छन् । तर मेरो मन चाहिँ कहिले नेपालको पूर्व पश्चिम महेन्द्र राजमार्गमा गुड्छ । त्यहाँको बाटोसँग तुलना गर्छु । यस्तो आधा बर्ष नै हिँउँ पर्ने ठाउँका बाटाहरू कति बलिया छन् । नेपालका महेन्द्र राजमार्ग र अन्य मार्गहरूले कहिलै हिउँ झेल्नु पर्दैन तर कति पटक चिराचिरा भएर फाट्छन् । खाल्टाखुल्टी टालटुल गर्यो फेरि उस्तै । नर्थ अमेरिकामाझैँ हिउँ पर्ने भए मातृभूमिको के हालत हुन्थ्यो होला ? त्यो सोच्दा पनि मेरो शरिर भरी काँडा उम्रन्छन् ।
हामी साना हुँदा अँध्यारो भएपछि पाहुना आउँथे । बुबाले घरको माथिल्लो तलामा लगेर राख्नु हुन्थ्यो । रातभरि मसिनो स्वरमा साउती गरेझैँ स्याउस्याउ गरेर कुरा गर्थे । यी देश बनाउन हिँडेका मान्छेहरू । यहाँको अन्याय गरिबी र भोकमरी हटाएर उन्नत देश बनाउन हिँडेकाहरू । ज्यान माया मारेर व्यवस्था बदल्न हिँडेका मान्छेहरू बुबाले भन्नुहुन्थ्यो । हामी कहिले उसिनेको स्कुस र सगरखण्डा मात्र खाएर सुतेका हुन्थ्यौँ । ती मान्छेहरूलाई हामीले चाडबाडमा खाने भात पकाएर दिन्थ्यौ । हामीलाई यस्तो दुःख गर्नु पर्दैन नि । तपाईंहरूले खाएकै दिए हुन्छ नि ती मान्छेहरू भन्ने गर्थे ।
हामी ती मान्छेहरूलाई देख्दा श्रद्धाले नतमस्तक हुन्थ्यौँ । देश बनाउँन हिडेका मान्छे भन्दा रौँ ठाडा हुन्थे । एक किसिमको गर्व लाग्दथ्यो । बुबाका बाहिर घुम्न जाँदा लगाउने एकजोडी जुत्ता थिए । ती मान्छेलाई आफूले लगाउँदै गरेका जुत्ता दिएर पठाउनुभयो । आमाले मजेत्रो दिएर पठाउनुभयो । अहिले तिनै मान्छेहरूले राज्य चलाएको तीन दशक भन्दा बढी भइसक्यो तर खै । सबै सम्झेर मन दुःखित भयो । खै किन हो आँखा रसाएछन् । टिस्यू टिपेर आँखा पुस्छेँ ।
पछाडिको सिटमा तारा दिदी निदाएको स्वाँ स्वाँ सुनिदै थियो । छेउको सिटमा सूर्यजी पनि निन्द्राको मज्जा लिँदै हुनुहुन्थ्यो । अलि लामो मौनता देखेर होला गीताजीले सूर्यजीलाई बोलाउनुभयो । सुरेन सरलाई यो चिप्स खान दिनु त सूर्य जी भन्दै आलुचिप्स अगाडी बढाउँनुभयो । सूर्यजी झसङ्ग हुनुभयो । मैले नै चिप्सको व्याग समातेर चिप्स झिकेँ । त्यो बाटो टोलरूट रहेछ । दुई डलर तिरेपछि मात्र अगाडि जाने गेट खुल्यो । हामी अगाडि बढ्यौँ । बिहानको साढे एघार बज्दा त हामी बोस्टन नै पुगिसकेका थियौँ ।
हाम्रो बस्ने होटल फेयरफिल्ड इन थियो । फेयरफिल्ड इनमा गएर हेर्दा त्यहाँ त कोही नेपालीहरूको बुक नै रहेन छ। रिसिप्सनमा कुरा गर्दा अर्को लोकेसनमा भएको कुरा पत्ता लाग्यो । मलाईचैँ अलि चाँडै पुगेर कार्यक्रमका बारेमा साथीहरूसँग बैठक बस्नुथियो । त्यस कार्यक्रमको सदस्यसचिवको जिम्मेवारी भएकोले पनि कसरी सफल बनाउँने भन्ने चिन्ता थियो ।
बोस्टनबाट कार्यक्रम संयोजक महेश्वर पन्त र अर्थ संयोजक ईश्वरी भट्टसँग बाटोमा छँदै पटक पटक कुरा भयो । होटलमा पुग्दा अफ्रिकाबाट केन्द्रका कोषाध्यक्ष तथा सल्लाहकार हिक्मत थापा आउनु भएको रहेछ । रसाबाट सपिला राजभण्डारी र गोविन्दप्रसाद गौतम, क्यालिफोर्नियाबाट मणि नेपाली पनेरू आइपुग्नु भएको रहेछ । केही क्षणमा प्रमुखअतिथि कुलपति ज्यूलाई लिएर बोस्टनका पशुपति बुद्ध फाउन्डेसनका अध्यक्ष बिष्णुमणि आचार्य र साथीहरू आइपुग्नु भयो । प्रज्ञा प्रतिष्ठानका काव्यविभाग प्रमुख डा. हेमनाथ पौडेल र हाम्रा भाषा–साहित्यका सल्लाहकार रेडियो नेपालका विम्वप्रितविम्व कार्यक्रमका प्रस्तोता तथा मुक्तककार रमेश पौडेललाई लिएर महेश्वर पन्त र साथीहरू आइपुग्नु भयो ।
गोविन्द गिरी प्रेरणा पहिलै आएर पुरानो जस्तो भइ सक्नु भएको रहेछ । फेयरफिल्ड इनको लवी त एक प्रकारले मिनी नेपाल जस्तै बन्यो । सबैको परिचय र परिचितसँग पुनर्ताजगी भयो । चिया कफी पश्चात सन्ध्याकालीन कार्यकमको तयारीका बारे मेरो मेश्वर पन्तजीसँग कुरा भयो । हामी सबै पाँच बजे भेट्ने सल्लाका साथ छुट्टियौँ ।
साँझमा पाहुना परिचय तथा काव्यगोष्ठीको आयोजना गरिएको थियो । सो कार्यक्रमका लागि २३५ एल्म स्ट्रिट देधाम अवस्थित नेपाली रेस्टुरेन्ट तय भएको थियो । नेपाली व्यवसायी राम धितालको हिमालयन बिस्ट्रो अतिथि सत्कारमा प्रतिक्षारत थियो । आकारका दृष्टिले रेस्टुरेन्ट सानो देखिन्थ्यो । तर नेपाली भाषा र साहित्यका रथीहरूलाई स्वागत र सम्मान गर्न प्रयाप्त ठाउँ थियो ।
राम धिताल त सागर जस्तै फराकिलो ह्रृदयका धनी रहेछन् । सानो ठाउँ भए पनि धेरै मानिसहरू अटाएका थियौँ । कुलपति र काव्यविभाग प्रमुखको आतित्थ्यमा तेत्तिस जना कविकवियत्रीहरूलको कविता वाचनले त्यो सन्ध्या काव्यमय बन्यो । परदेशमा रहेर घरदेशका चिन्ता र बिविध बिषयक कविता मुक्तक र गजलले नेपालकै साहित्यिक संस्था प्रज्ञाप्रतिषठानको कार्यक्रमको झझल्को दिलायो । मेरो मानस पटलमा २०४३ सालदेखि साहित्य संन्ध्यामा संलग्न पलहरू प्रतिविम्बित भए । यस साहित्यिक साँझमा प्रायशः सबै महादेशका प्रतिनिधिहरूको उपस्थित रहेको थियो । कार्यक्रमको अन्त्यमा काव्यविभाग प्रमुख डाक्टर हेमनाथ पौडेलले बाचित कविताहरूमाथि समालोचना गर्नुभएको थियो ।
कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले एनआएनको भाषा साहित्य बिभागले यो कार्यक्रम गरेर एउटा नयाँ इतिहास रचेको छ भन्नुभयो । कार्यक्रमपश्चात नेपालकै स्वादले भरिएका परिकार सहितको रात्रि भोजको आयोजना गरिएको थियो । ईच्छानुसारका पेय पद्धार्थको समेत व्यवस्थापनले गर्दा साहित्यिक निकटता अझ प्रघाढ बनाएर सेम्मेलनको पहिलो दिन सकियो ।
धेरै खुसी भएपछि पनि निन्द्रा लाग्दैन रे भन्ने सुनेको थिएँ । त्यस्तै भयो मलाई पनि । बिहान चारबजेदेखि गाडी चलाएर आएको तर निन्द्रा लाग्ने सुरसार नै छैन । हिक्मत थापा, गोविन्द गौतम, महेश्वर पन्त र ईश्वरी भट्टसँग अर्को दिनको कार्यक्रमको सल्लाह गर्दै रातको बाह्र बज्यो । बिहान आठ बजे भेट गर्ने सल्लाह गरेर छुट्टियौँ । बिहान चाँडै उठेर चिया खाजाको लागि लविमा गयौँ ।
कुलपति गङ्गाप्रसाद उप्रेती र क्याव्यविभाग प्रमुख हेमनाथ पौडेल पनि आइसक्नुभएको रहेछ । वहाँहरूसँग मेरो भेट नभएको पनि दसकौ भै सकेको थियो । यसै क्षणलाई भलाकुसारीको भरपूर उपयोग गरियो । हरि अधिकारी र गोविन्द गिरी प्रेरणा, गोविन्दसिं रावत, रमेश पौडेल, सपिला राजभण्डारी मणि पनेरु, कृष्ण कुसुम, तारा उप्रेती, सूर्य भट्टराई, गीता पराजुलीसँगै बिहान खाजा खायाँै । यो भेटको अमूल्य पललाई आआफ्नो क्यमेरामा कैद गर्ने कार्य भयो । त्यसपछि हामी जिपियस लगाएर दोश्रो दिनको कार्यक्रम हुने स्थलतर्फ अगाडि बढ्यौँ ।
दोश्रो दिनको कार्यक्रम स्थल विशेष महत्वको ठाउँ थियो । यो ठाउँ नेपाल र नेपालीहरूलाई पहिचान गराउँने पवित्र स्थान थियो । म्यासाच्यूसेटसको बोस्टन सहर र त्यसको आसपासमा बस्ने नेपालीहरू मिलेर एउटा चर्च किन्नु भएको रहेछ । त्यो चर्चमा पशुपतिनाथको र बुद्धको प्रतिमा राखी पूजाआजा र ध्यान गर्दै मन्दिरको रूपमा विकाश गर्ने लक्ष रहेछ ।
नेपालमा धमाधम चर्चहरू स्थापना हुँदै गरेको अवस्था छ । यस्तो अवस्थामा चर्चलाई किनेर नेपालीहरूका आस्थाका धरोहर पशुपति र बौद्ध गुम्बाको स्थापना गर्नु भनेको निक्कै चुनौतिपूर्ण र सम्मानित कार्य थियो । यो अभियानका अभियन्ताहरूप्रति श्रद्धाले मेरो शीर झुक्यो । ती महान् मान्छेहरूलाई मैले नमन गरेँ । यो विशाल हलमा नै सम्मेलन गर्न लागिएको रहेछ । यो हल किनेपछि यो प्रथम भाषा–साहित्य सम्मेलन नै प्रथम कार्यक्रम रहेछ । यो कार्यले नेपालीहरूको एकताको नमुना प्रस्तुत गरेको थियो । यो एक ऐतिहासिक र उदाहरणीय कार्य भएको थियो ।
कार्यक्रम सोचेभन्दा पनि भव्यरूपमा सम्पन्न भयो । पञ्चकन्याहरूले अतिथिहरलाई पुष्पगुच्छा दिए । सबै अतिथि र सहभागीहरूलाई व्याच र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रम सफल बनाउनमा स्थानीय सङ्घसंस्था र व्यक्तिहरूको पूर्ण सहयोग र सहभागिता देखिन्थ्यो । प्रमुख अतिथि गङ्गाप्रसाद उप्रेतीले पानसमा बत्तीबालेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । पञ्चायत कालमा राजाको सवारीमा भएका तामझामकै शैलीको मञ्च सुसज्जित थियो ।
यो प्रवासको प्रयासमा बनेको एउटा भव्य र सभ्य साहित्यिक कार्यक्रम थियो । कार्यक्रममा एनआरएनए केन्द्रको भाषा साहित्य उससमिति र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त प्रकाशन अन्तरदेशीय नेपाली कथासङ्ग्रहको बिमोचन हुने कार्यक्रम थियो । यस कथासङ्ग्रहमा तेह्र देशका पचपन्न जना कथाकारहरूका कथाहरूलाई समावेश गरेको छ । यो पुस्तकको सम्पादनमा प्रतिष्ठाका प्राज्ञ डा. हेमनाथ पौडेलले निकै मिहिनेत गर्नुभएको थियो । त्यस्तै नेपाली मुक्तकमा नारीहस्ताक्षर एनआरएनए भाषा साहित्यका सल्लाहकार रमेश पौडेलको सङ्कलन र सम्पादनमा दुई सय त्रियानब्बे जना नारीहरू समेटिएको मुक्तक सङ्ग्रह नारी हस्ताक्षर र उत्तर अमेरिकाका नेपाली कथाकारहरूका अङ्गेजीमा अनुवादित कथाहरूको सङ्ग्रह द डिस्टेन्ट रे सहित तीन पुस्तकहरूको विमोचन भयो ।
सन्सारभरका नेपाली साहित्यकारहरूको यो कुम्भ मेलामा नेपाली भाषा र साहित्यको अवस्थाबारे प्रतिवेदनहरू प्रस्तुत भए । जापान ताइवान म्यान्मा इजरायल कोरिया हङकङ अष्ट्रेलिया मध्यपूर्व एसिया अफ्रिका यूरोप नर्थ अमेरिकामा नेपाली साहित्यको अवस्थाबारे एक ठाउँमा बसेर कार्यपत्र सुन्ने सुनाउनै कार्य भयो । यसै गरी एकै ठाउँमा सबै जानकारी पाउनु भनेको स्वर्णिम अवसर थियो । यस साहित्यक सम्मेलनमा प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुखले नेपाली भाषा र साहित्यको विकासमा यो समितिले गरेको कामको प्रशंसा गर्नुभयो । भाषा र साहित्यको विकासबारेमा प्रज्ञाले गरेका कामहरूको जानकारी दिनुभयो ।
अनेसासका पूर्वअध्यक्षहरूले कार्यक्रमको प्रशंसा र सफलताको कामना गर्नुभयो । गैह्रआवासीय नेपाली सङ्घकी महिला विभाग प्रमुख सपिला राजभण्डारी र कोषाध्यक्ष हिक्मत थापाले विभिन्न प्रश्नहरूको उत्तर दिनुभयो । प्रमुख अतिथि कुलपति गंगाप्रसाद उप्रेतीले कार्यक्रमलाई सम्वोधन सुरु गर्नुभएको थियो । म आफै कल्पनामा हराएँछु ।
गणतन्त्र आउने बेलासम्म राजा नै प्रज्ञा –प्रतिष्ठानको कुलपति हुने प्रचलन थियो । यदि गणतन्त्र नआएको भए यसरी कुलपतिलाई हाम्रा सामु पाउने कुरा कल्पनाभन्दा बाहिरको कुरा थियो । आज नेपाली भाषा साहित्य र संस्कृतिको सम्बृद्धिका लागि सन्सारभरि अभियानहरू चलेका छन् । ती अभियानहरूलाई प्रज्ञाले उर्जा थप्ने काम गरिरह्को छ । बोस्टनमा नेपाली सङ्गीत पाठशाला खोलेर नेपाली मादल सारङ्गी हार्मोनियम जस्ता टिपिकल नेपाली बाजा सिकाउने कार्यहरू भएका रहेछन् । कुलपतिको मन्तव्यले सबै साहित्यकर्मीहरूमा उर्जा थपिएको महसुस गरेँ ।
उक्त साँझमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । श्याम नेपाली, रञ्जन बुढाथोकी, मीन केसी, महेश्वर पन्त, सागर खतिवडा, हरिमाया खतिवडा, राज कपुर, सुशील गौतम, राम थापा, अनुभव थपलिया, शान्ता थापालगायतका कलाकारले साङ्गीतिक कोसेली प्रस्तुत गर्नुभएको थियो । बालवालिकाहरूले बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । दोहोरी गीतले नेपालकै रोदी र मेलापातको सम्झना दिलाउँथ्यो भने आकर्षक नृत्यहरूले नेपाली चलचित्र हेर्दै गरेको अनुभूति गराउँथ्यो ।
मञ्चको पृष्ठभूमिमा रहेको पशुपतिनाथको मन्दिर र गौतम बुद्धकोमूर्ति देख्दा मलाई नेपालकै कुनै ठाउँमा छु भन्ने लागिरहेको थियो । यो अमेरिकाको भूमिमा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपतिज्यू काव्यविभाग प्रमुखज्यू अनि नेपाली साहित्यका सारथीहरू म्यूजिकका तालमा नाचेको देख्दा मनै फुरुङ्ग भएको थियो । नाच्न नजाने पनि सबैसँग समाहित भएर उफ्रिन तम्सिएको थियो मन ।
करिब एघार बजे कार्यक्रम सकिए पनि सहभागिहरू वासस्थान फर्कन रुचाएका देखिँदैन थिए । बर्ष दिनको चाड तीजमा भेलाभएका चेलीबेटीहरू गफमा मग्न भएझैँ सबै भलाकुसारीमा व्यस्त थिए । बिमल नेपालको क्यामेराको लेन्स समूह–समूहतर्फ ताक्दै सहभागीहरूका सुखद् पललाई बन्दी बनाउँदै थियो ।
रातको करिब एक बजे हुँदा वासस्थान पुगियो । हिक्मत थापा र गोविन्द गौतमको कोठामा फेरि भेट जम्यो । गोविन्द गिरी प्रेरणा ईश्वरी भट्ट कृष्ण कुसुम र महेश्वर पन्तसँगको बसाइमा उही आगामी दिनमा कसरी साहित्य लेखन र कार्यक्रमका योजना बुनिए । अनुभूति र जिज्ञासाहरू साटिए । बिहानको करिब तीन बजे सबै विच्छेद भएर आआफ्ना शैय्यामा लीन भयौँ । अर्को दिन बिँउझिँदा घाम जन्मिएर तन्नेरी भइसकेको रहेछ । ढिला गए ब्रेक फास्ट बन्द हुने भयले झक्झक्यायो । खाजा खाने ठाउँ फेरि नेपालमय भयो । कोही खाइसकेर बस्तै र कोही खाने लाइनमा हुनुहुन्थ्यो । हिकमतजी सपिला राजभण्डारी र गोबिन्द गौतम हामीसँग बिदा भएर जाने तरखरमा हुनुहुन्थ्यो ।
ह्रि अधिकारी दाइ र कृष्ण कुसुम पनि बिदा भएर न्यूयोर्कतर्फ फर्कने तयारीमा देखिनुहुन्थ्यो । यो अविष्मरणिय मिलनको पललाई आफ्नो क्यामेरामा कैद गर्ने सहमती भयो । केही क्षक्षलाई एक प्रकारले फोटो सेसन नै चल्यो । त्यसै बेला बिष्णुमणि आचार्य र महेश्वर पन्तजी दुईटा भ्यान लिएर आइपुग्नु भयो । हामी सबै जना बोष्टनले संसारलाई नै शैक्षिक नेतृत्व प्रदान गरेको कुरा हेर्न र जान्न आतुर थियौँ । यहाँको भौगोलिक सुन्दरता र ऐतिहासिक महत्त्वले हामीलाई चुम्वकले झँै तानीरहेको थियो ।
वोस्टन सहर आन्द्र महासागरको पासमा रहेको अमेरिकाकै प्राचीन ऐतिहासिक सहर हो । यो सहर ट्राइ माउन्टेनका नामले न्वारान भएको थियो रे । पछि बोस्टनको नाममा रूपान्तरित भएको रहेछ । ईङल्यान्डको बोस्टन भन्ने ठाउँका मानिसले यो सहरको पत्ता लगाएको हुनाले बोस्टन नाम रहेको हो भनिन्छ । अङ्ग्रेजको उपनिवेशको रूपमा स्थापना भएको हुनाले अमेरिकाको इङल्यान्ड भनेर पनि चिनिन्थ्यो । बोस्टन अमेरिकाको एक्काइसौँ ठुलो सहरका रूपमा परिचित छ । अमेरिकाको प्रथम नगरपालिकाका रूपमा पनि बोस्टनकै नाम आउँछ । उच्च शिक्षाका लागि ढोका खोल्ने प्रथम अमेरिकी शहर नै बोस्टन हो । ईस १६३६ मा न्यू कलेज स्थापना भएको थियो । उक्त कलेज नै हार्वड यूनिभर्सिटी भनेर हाल चिनिन्छ । जोन हार्वड नामका व्यक्तिले चार सय पुस्तकहरूसहितको पुस्तकालय र ठूलो आर्थिक सहयोग गरेका थिए । यसको १६३९मा हार्वड कलेज नामाकरण गरियो । सन १७८०मा गएर यसलाई नै हार्वड यूनिभरसिटी नामाकरण गरियो । आज यो नाम विश्वमा परिचित छ ।
हार्वड यूनिभर्सिटी नेपालको त्रिभुवन विश्वविधालयभन्दा तीन सय तेइस वर्षले जेठो छ । यहीँ पढेर अल्क्जेन्डर ग्रामबेलले १८७६ मा टेलिफोनको आविष्कार गरे । हामी यस्तो ऐतिहासिक ठाउँमा पुगेका थियौं । यस्तो पवित्र ठाउँमा पुर्याउने महेश्वर पन्त र बिष्णुमणि आचार्य हुनुहुन्थ्यो । साथमा क्यालिफोर्नियाबाट आउनु भएका मणि पनेरू र सर्वज्ञ वाग्ले हुनुहुन्थ्यो । टोरन्टोबाट सुर्य भट्टराई र गीता भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । अटवा क्यानडाबाट सुरेन उप्रेती र तारा उप्रेती रेडियो नेपालको विम्बप्रतिबिम्वका प्रस्तोता साहित्यकार रमेश पौडेल अमेरिकाबाट नै साहित्यकर्मी गोविन्द गिरी प्रेरणा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्यविभाग प्रमुख डा. हेमनाथ पौडैल र कुलपति डा गङ्गाप्रसाद उप्रेती ।
हामी यो शिक्षा क्षेत्रमा लाग्नेहरूका लागि जेरुसलम मक्का र पशुपतिनाथमा पुगेझैँ भएको थियो । हामी भक्तजनझैँ नतमस्तक भएका थियौँ । हरेक भवनका अगाडि लेखिएका शिलापत्र र ताम्रपत्रहरू उत्सुकता पूर्वक पढ्दै थियौँ । ती धातु र शिलापत्रलाई अझ क्यामेरामा कैद गर्दै थियौँ । एउटा भवनको अगाडि मानिसहरूको भीड लागेको थियो । हामीलाई पनि त्यो भीडले चुम्वकले फलामका टुक्रालाई तानेझैँ तान्यो । हामी जिज्ञासापूर्वक तानियौँ । त्यहाँ एक जना मानिस बसिरहेको धातुको पूर्णकदको मूर्ति थियो । मानिसहरू त्यस मूर्तिको बाँया खुट्टामा हात राख्दै फोटो खिच्दै थिए । हूलमा उमेरले चार बिसको नजिक पुगे जस्ती स्थानीय महिला पनि थिइन । मैले यो भिड लाग्नुको कारण के रहेछ भनेर जिज्ञासा पोखेँ । ती महिलाले जवाफ दिइन् यो जोन हार्वडको मूर्ति हो । उनको बायाँ खुट्टालाई छोयो र आशिर्वाद माग्यो भने पुग्छ रे । मैले पनि खुट्टा छोएर छोराछोरीलाई यस यूनिभर्सिटीमा पढनलाई आशिर्वाद मागेकी थिएँ । दुबैले पढ्न पाए । ती महिलाले गर्वका साथ उनको विश्वास सुनाइन् । हामीमध्येका पनि एक दुई जनाले जोनको खुट्टामा हात राखेर फोटो खिचाउनु भयो । तर कुलपति मलगायत अरूले मूर्ति सँग फोटो मात्र खिचायौँ ।
शिक्षाको उच्चतम् चेतना र विकास भएको ऐतिहासिक ठाउँमा पनि अन्धविश्वासले छोपेको देख्दा अचम्म लाग्यो । हार्वड यूनिभर्सिटीभन्दा तीन सय तेइस बर्षपछि स्थापना भएको त्रिभुवन युनिभर्सिटी हो । यहाँ पढ्ने बिधार्थीहरूले पशुपतिनाथ मनकामना र दक्षिणकाली जस्ता देवस्थलमा गएर उतिर्णका लागि भाक्कल गर्नु सामान्य लाग्यो ।
हार्वड यूनिभर्सिटीका सयौ बर्ष पुराना रातो ईँटले बनेका भवनहरू अहिले पनि सेवाप्रद रहेको देख्दा त्यस बेलाको निर्माण प्रविधि तारिफयोग्य लाग्यो । बिज्ञान भवनमा ऐतिहाँसिक टेलिफोनको आविष्कारमा भएका क्रमहरू सङ्ग्रहित छन् । यहाँ बनेका नयाँ भवनहरू सुविधा सम्पन्न भए पनि पौराणिक संस्कृतिलाई बचाएर राखेका छन् । हार्वडमा शिक्षा, स्वास्थ, कला, प्रविधि, कानून आदि बिषयको पढाइ हुँदो रहेछ । यूनिभर्सिटीको नजिकै रहेको हार्वड स्क्वाएरमा हार्वडको पहिचान गराउँने अनेक उपहारहरू किन्न पाइन्छ । हामीले पनि त्यो अवसरलाई खेर जान दिएनौ । ।
त्यस्तै बोस्टनको अर्को चर्चित विद्यालय म्यासाच्यूसट ईन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) हो । कम्प्युटर र नयाँ प्रविधि सिक्न चाहने बिधार्थीहरूका लागि यो पनि सपनाको विद्यालयमा पर्दो रहेछ । यहाँ टेक्नोलोजीलाई मात्र पढाइमा सीमित गरिएको रहेनछ । यहाँ त आर्किटेक्ट कला, समाजशास्त्र, अर्थशास्त्र जस्ता विविद बिषयको पनि पढाई हुने कुरा थाहा पाउँदा मेरो प्राविधिक शिक्षामात्र हो भन्ने भ्रम दूर भयो ।
हाम्रो भ्रमण टोली हार्वर पोर्टतर्फ बढ्यो जहाँ १६३० मा पहिलो पटक यूरोपियनहरू जहाजबाट बोस्टन आएका रहेछन् । यहाँका गगनचुम्वी महलहरू महँगा पाँचतारे होटलहरूदेखि प्राचीन प्रशासनिक भवनहरू आआफ्नो पहिचानसहित सानसँग रहेका छन् । यहाँको पोर्टमा समुन्द्रमा हेलिन तयार जहाजहरू र फर्किएर आएका जहाजहरू बिसाएका थिए । हामीले ती जहाजहरूसँग फोटो खिच्यौँ ।
मित्र रमेश पौडेल फोटोको पारखिनै नै हुनुहुँदो रहेछ । कलेज पड्दा करिब तीनदशक अगाडिको मित्रता फेरि पुनर्ताजगी बनेर आयो । सर्वज्ञ वाग्ले र मेरो तस्बिरलाई रमेशजीले कैद गरिदिनुभयो । गोविन्द गिरी प्रेरणाजी सेल्फी हान्न माहिर हुनुहुँदो रहेछ । सायद धेरै यात्राहरू एक्लै गर्दा आर्जन गरेको कला होला । प्रेरणाजीको सेल्फीले हामीलाई पनि थुप्रै पटक क्यमेरामा कैदी बनायो । हार्वडको दृश्यलाई मन मस्तिष्क र क्यामेरामा कैद गरेर हाम्रो भ्रमण टोली क्यासल आइलेन्डतर्फ बढ्यो ।
क्यासल आइलेण्डबाट ल्यान्डिङ गर्नलागेका जेटहरूसँग फोटो खिच्नेहरू व्यस्त देखिन्थे । रमेशजी र प्रेरणाजीसँगै हामीले पनि अवसरको उपयोग गर्यौं । केही क्षणमै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती र प्राज्ञ डाक्टर हेमनाथ पौडेल चढ्नु भएको गाडी विष्णुमणि आचार्यले शकुशल अवतरण गराउँनु भयो ।
दुवै गाडीमा सवार यात्रुहरूले सँगै क्यासल र त्यसको वरिपरि रहेको सुन्दर चौरी पर्खालबाट देखिने सामुन्द्रिक दृश्यलाई मन मन्दिरमा सजायौँ । क्यामेरामा बन्दी बनायौँ । हामी आफ्नो जन्मभूमिमा समुन्द्र देख्न नपाएका नेपालीहरूलाई समुन्द्रले मन्त्रमुग्ध नै बनाएको थियो । यहाँको दृश्वावलोकनपछि बिमल नेपालको स्टुडियोमा गएर फोटो लिने काम भयो । बिमलजीको फोटोलाई भारतको प्रधानमन्त्री नरेन्द्र मोदीले अनाधिकृत रूपमा प्रयोग गरेको थियो । त्यस घटनाले विमलजीलाई अन्तर्राष्ट्रिय स्तरमै चर्चामा छाउनु भएको थियो ।
आखिर तीनचार दिनको छोटो अवधिमा जीवनभर भुल्न नसकिने मिठा अनुभव र स्मरण लिएर हामी क्यानडा फर्कियौँ ।
-अटवा, क्यानडा