डिल्लीराज अर्याल ( २०१०, मदनपोखरा, पाल्पा सुपुत्र : झपेन्द्रराज अर्याल र वेदप्रभा अर्याल) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनी कविता, काव्य, कथा, निबन्ध संस्मरण,नियात्रा तथा पत्रकारिता र साहित्यिक पत्रकारिताका क्षेत्रमा समेत सुपरिचित व्यक्तित्त्व हुन् । पाल्पाबाट निस्कने पाहुर मासिक पत्रिकामा ‘हराउँदैछन्’ शीर्षकको कविता (२०३५) प्रकाशन गरेबाट साहित्यिक जगत्मा सार्वजनिक भएका अर्यालका यो चार दशकको अवधिमा दर्जन कृति प्रकाशित छन् । उनका कृतिहरूमा नेपालमै जान्छु म (२०३४) र त्रासदी (२०६८) कवितासङ्ग्रहहरू उल्लेख्य छन् । उनका सरिता (२०४५) ठूले राई (२०६०), भन्नै पर्यो सुन्नैपर्यो (२०६०), धर्मयुद्ध (२०६४) र डहर (२०७४) लगायतका काव्यहरू प्रकाशित छन् । त्यस्तै रहस्य (२०४७) कथा –सङ्ग्रह, रातमा सूर्य दिनमा तारा (२०५७) ब्यङ्ग्य निबन्धसङ्ग्रह, घोल्कीमा बस्ने रहर (२०६१) र झलझली आँखामा (२०६८) संस्मरण(सङ्ग्रहहरूका साथै डाँडाकाँडा हेर्ने रहर (२०७६) नियात्रा सम्पादित कृतिका रूपमा छन्। समीक्षा, जीवनीलगायतका विविध विधामा कलम चलाउने गरेका अर्यालका विभिन्न पत्रपत्रिकाहरूमा विविध विधाका प्रशस्त फूटकर रचनाहरू प्रकाशित छन् । अर्यालले श्रीनगर, नेतृत्व, निष्पक्ष जस्ता समाचार पत्र तथा सर्वोदय, कलम, प्रतिभा, आरती, चन्द्रज्योति, उत्साह, हाम्रो मनोहरवस्ती, नौलो नेपाली जस्ता विविध मुखपत्र एवं साहित्यिक पत्रपत्रिकाहरूको सम्पादनमा, वाङ्मय प्रज्ञा प्रतिष्ठान, सामुदायिक अध्ययन केन्द्र, स्रष्टा पदयात्रा अभियान, मनोहरा साहित्य समाज जस्ता संस्थाको स्थापना र सञ्चालनमा सक्रियता देखाएका छन् । शास्त्रीय छन्दका कविता, काव्य सिर्जनमा कुशल अर्यालबाट वृहत्काव्य, महाकाव्यको अपेक्षा राख्न सकिन्छ। उनी राम्रा राम्रा संस्म्रणात्मक, चिन्दनप्रधान र व्यङ्ग्यप्रधान निबन्धका स्रष्टा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा अर्यालको ‘शरीरका अवयवहरू !’ निबन्ध समेटिएको छ । यस निबन्धले देवघाट भ्रमणको संस्मरणलाई जीवनबोधका विविध पक्ष संयोजन गरी प्रस्तुत गरेका छन् ।-सम्पा.
|
आषाढको महिना भएर पनि आकाशमा कतै बादलका धर्सासम्म पनि देखिएको छैन। मित्र शीतल गिरी र म घरबाट कलङ्की जाने भनेर निस्केका छौं। साढे सातसम्ममा पुगिसक्नै पर्ने कार्यक्रम भएकाले बेर गर्न नहुने छ तैपनि बेर त गर्ने भन्दा हुने कुरो पो रहेछ त, कहिलेकाहिं गर्दिन भन्दाभन्दै पनि भैदिन्छ।
बडो सहज छ हिडाइ तर असहज पनि। जानुपर्ने कलङ्की भए पनि बस भने कहिले रत्नपार्कको कहिले बल्खु, कालिमाटीको चढ्नुपर्ने हुन्छ। त्यसै भयो आज पनि। छिटो गर्न भनेर सोझै जाने वस पर्खंदापर्खँदै झन् वेर हुने जस्तो मानेर चढ्यौँ बल्खु जाने नेपाल यातायातमा। हामी दुई जनाको बसाइ एकैतिर भएकाले पनि हामीसँगै हुन्छौँ, यात्रा पनि प्रायः सँगै हुन्छ।
बस गुडिरहेको थियो। ऊसँगै मन पनि गुडिरहे जस्तो थियो। गुडिरहे जस्तो लागेको मन त गुडेर उहीँ पुगिसके जस्तो थियो। सिद्धान्तकारहरू मन गुड्ने-नगुड्ने कुराको अलग व्याख्या गर्लान्। म यत्ति मात्र जान्दछु- बस गुड्दैछ र केहीबेरमा हामीलाई गन्तव्यमा पुर्याउँछ। मन गुड्दैछ यसले त बसले भन्दा छिटो, कैंयौं छिटो त्यहाँ पुर्याउँछ जहाँ पुग्ने इच्छा जागृत हुन्छ। लाग्छ- मनभन्दा छिटो गुड्ने, पुग्ने साधन संसारमा बनेको छैन।
कलङ्की पुग्न हामीले त्रिपुरेश्वर पुगेर नेपाल यातायातलाई छोडी अर्को गाडीको शरण लियौँ। त्यसले हामीलाई सकुशल कलङ्की चोकमा पुर्यायो। धेरै समय हामीले साथीहरूलाई पर्खंदै र फोन सम्पर्क गर्दै बितायौँ। हाम्रो फोन सम्पर्क पनि नेपाली परम्परामा, संस्कारमा आधारित, तिनैबाट प्रभावित छ त्यसैले पनि त्यसले छिटो छरितो र चट्ट सम्पर्क गर्न खोज्दैन। बडो विचार गरेर सम्पर्क गराइदिन्छ। त्यसो त सम्पर्क नगराइदिन, सम्पर्क हुन सकेन…. आदि आदि भनिदिन पनि सक्छ तर आज त्यसो गरेन।
धेरैबेरपछि नवराज रिजाल, वसन्त रिजाल, परशुराम पराशर र घनश्याम प्रसाईंजी आइपुग्नुभयो। हामी त तयारै थियौँ। मैले टिकटको कुराकानी गरिसकेको थिएँ तर सवारी साधन आइनपुगेकोले काटिसकिएको थिएन। साथीहरू आइपुग्नासाथ सवारीसाधन आइपुग्ने समयभन्दा अलि अघि नै टिकट लिएर चिया पिउँदै पर्खँदै गर्नेतिर लाग्यौं। काउन्टरमा भनिए अनुसार त्यो साधन आठ बजेसम्ममा आइसक्नुपर्ने थियो तर अहिलेसम्म आएको थिएन, त्यसैले हामीले चिया सकेर खोजखबर गर्नेतिर लाग्यौँ ।
मेरो अनुभव छ, यातायात क्षेत्रमा समयको, सिटको, भाडाको, सहुलियतको विवाद भैरहन्छ। व्यवसायीहरू यात्रुको सुविधा होइन, पैसाको मात्र ख्याल गर्छन्। यात्रुहरू प्रायः हिड्न पाए पुग्ने पनि हुन्छन्। एउटै सिट दुई जनालाई दिने, भाडा कम वा बेसी लिने, जेष्ठ नागरिक, विद्यार्थीलाई सहुलियत दिने नदिने जस्ता कुरा उठिरहन्छन्। आज पनि विवाद भएकै हो। विवाद पैसाको भन्दा समयको थियो। गाडी साटासाटको थियो। धेरै बेर यताउता गरे पनि आखिरमा हामीलाई लिएर हिड्यो त्यो ‘हायस’।
त्यसले बडो रमाइलोसित पुर्यायो दासढुङ्गा। त्यहाँ पुग्ने र त्यहाँबाट हिडेर देवघाट जाने तयारीमा थियौं हामी। त्यसैले हामी त्यहीं उत्रियौं र त्रिशूली पुलतिर लाग्यौं। त्रिशूली नदी उस्तै थियो तर पुल नयाँ थियो। पुलबाट पारि जाँदै थियौं बीचमै पारि जाँदै गरेका ….अधिकारीसँग भेट भयो। बाटोको बारेमा सोध्दै, अन्य गफ पनि गर्दै उनीसँगै हामी पनि पारि गयौं। पुल पारि अलिकति मात्र माथि उनको घर रहेछ। उनको घरमा बसेर निर्धक्क पानी पिएर त्यो दिउँसोको घाममा हामी लाग्यौं देवघाटतिर।
गर्मी महिना, गरम क्षेत्र, दिउँसोको समयको घाममा हामी पैदल यात्रा गरिरहेछौँ। उमेरले पाका भएर पनि हाम्रो यात्रा काँचो जस्तो लाग्छ। हिँड्दा हिँड्दै हाम्रो शरीर लखतरान बन्छ। यात्रा यस अर्थमा काँचो कि गर्मी महिना, गर्मी ठाउँ र दिउँसोको समय भनेनौँ हामीले। त्यसैले होला टोलीमा हुने सबैजसोलाई केही न केही अप्ठेरोको अनुभूति भैरहेको थियो। केही हिड्यो, सुस्तायो फेरि केही हिड्यो गर्दा पनि शरीर अत्यन्त अशक्त भएको अनुभूति भैरहेह्यो। यस्तो यस अघिका कुनै यात्रामा भएको थिइन।
वरिपरि जङ्गल भए पनि पक्की बाटो, दिउँसोको समय र गर्मी महिनाको प्रभाव प्रशस्तै परेको महसुस हुँदै थियो। बोतलका पानी रित्याउँदै, विश्राम गर्दै जाँदा पनि खुट्टाले जवाफ फर्काउन थालेको थियो। अघि बढ्न अप्ठेरो मानिरहेको थियो तैपनि हिड्नै पर्ने, गन्तव्यमा पुग्नै पर्ने र फेरि फर्कनै पर्ने हिसाबको यो यात्रा चलिरह्यो,चलिरह्यो।
अचम्म ! यसअघिका यात्रामा राम्रै हिँड्ने मानिएको म, यो यात्रामा सबैभन्दा कमजोर देखिएँ, ठहरिएँ। आफैले पनि असाध्यै कमजोर भएको, हिँड्न नसकेको अनुभव गरें। मनमा प्रश्नहरू उठिरहे- मान्छे अकस्मात कसरी कमजोर हुन्छ? कसरी असक्षम हुन्छ मान्छे? के म गन्तव्यमा पुग्न सक्दिन ? के मेरै कारण यो यात्रा बिथोलिन्छ? आदि आदि।
बीचमा बस्दै, आराम गर्दै र औषधि प्रयोग गर्दै सुस्त सुस्त अघि बढ्यौँ। पक्की बाटो सकिएर ग्राबेल बाटो आयो तर लक्ष्यको देवघाट अझै आएन। गाउँहरू आए तर मन्दिरहरू अझ आएनन्। छटपटी आयो, गर्मी त आएको आयै छ तर न सहजता आयो न शीतलता आयो। कतै घामकै, गर्मीकै कारण त होइन? कतै शारीरिक कमजोरी बढेको त होइन?
टाढा कतैबाट एउटा मोटर साइकिल हामी गइरहेतिरै जाने गरी आयो। साथीहरूले मोटरसाइकलवालासँग सोध्नुभयो( ‘देवघाट कति टाढा छ?’ म भने बोल्ने जाँगर पनि नभए जस्तो भएकाले कुरा सुनिरहेँ मात्र। साथीहरूले उनीसँग मलाई अलि परसम्म पुर्याइदिन आग्रह गर्नुभयो। उनी तयार पनि भए। म भने हिड्न अप्ठेरो भए पनि एक्लै नजान खोज्दै थिएँ तर साथीहरूले धेरै आग्रह गरेकाले मोटरसाइकलको पछाडि बसेर गएँ।
अलिपर पुगेपछि बाटो विभाजित भयो। एउटा बाटो देवघाटको पुलतिर र अर्को बाटो देवघाटधाम, मन्दिर र आश्रमहरू भएतिर लाग्ने रहेछ। म पुलतिर लागें भने साथीहरूलाई र मलाई पनि अलमल हुन्छ भन्ने सोचेंँ। बाइक रोक्न लगाएर त्यहीं उत्रिई साथीहरूलाई पर्खेर बसेँ।
साथीहरू आइपुगेपछि सुस्त सुस्त हिडेर पुग्यौँ आश्रमतिर। स्वास्थ्य अलिकति सुधारिएको महसुस भए पनि हिँड्न अप्ठेरो लागेकै थियो तैपनि घुम्न हेर्न सकिने आश्रमहरू हेर्दै गयौँ र पुलतिर लाग्यौँ र पुल तर्नुअघि केहीबेर उभियौँ, केही फोटो लियौँ र पुल तर्न थाल्यौँ। म अलि अगाडि थिएँ। शायद पहिलो वा दोस्रोमा। तर्दातर्दै मनमा विचित्रको भाव आयो, सोचहरू आए। सिङ्गै बाल्यावस्थादेखि आजको, अहिलेको अवस्थासम्मको सूक्ष्म चित्र र तिनको विश्लेषण, तुलना र तर्क वितर्क जस्तै। सानो कागजमा पछि अलि विस्तार गर्ने गरी टिपोट गरेँ।
यतिवेला यो शरीर देवघाटको झोलुङ्गे पुलमा छ। शरीर एकदमै अशक्त बनेको छ। शरीरबाट खलखली पसिना निस्केको छ र मनमा किसिम(किसिमका कुरा खेल्दैछन्।
यो त्यही शरीर हो जसले असारको घाममा, साउनको पानीमा केही नओढी दिनभर खेत खन्थ्यो, आली खन्थ्यो, धान रोप्थ्यो। दिनभर नाङ्गै भएर तिनाउमा, ढाबमा पौडी खेल्न सक्थ्यो, खेल्थ्यो। बाढीमा बगेका हलो जुवा(खोज्न, जोगाउन खोलामा, हिलामा यताउता गर्न सक्थ्यो, गर्थ्यो। रातभर एक झिमिक नसुतेर जागा बसेर सिर्जना गर्न सक्थ्यो, गर्थ्यो र भोलिपल्ट जस्ताको तस्तै दिनभर कक्षा लिन सक्थ्यो। दिनभर कक्षामा उभिएर बोलिरहन सक्थ्यो, बोल्थ्यो।
यो त्यही टाउको हो जसले गुरुहरूले एकपटक पढाएको पाठ जस्ताको तस्तै भन्न, बताउन सक्थ्यो। एक दुई पटक अरूले वाचन गरेका कविता मुखाग्र सुनाउन सक्थ्यो। आफूले पढेका पाठको, प्रसङ्ग, श्लोकको पेज समेत बताउन सक्थ्यो, बताउँथ्यो। पुराना थुप्रै घटना लेखेर राखेजस्तै गरी वताउन सक्थ्यो। सबैलाई सँगालेर राख्न सक्थ्यो।
यी तिनै आँखा हुन् जुन आँखाले राति जूनका उज्यालामा सिरकमा लुकेर पढ्न सक्थे, पढ्थे। ५ –७ रात अनिदो भएर बस्दा पनि झुपुक्क नभएर काम गर्न सक्थे। काम परे र साथी पाए जतिसुकै राति भए पनि जहाँ पुग्न परे पनि देखे जस्तै गरी पुर्याउन सक्थे।
यो त्यही पेट हो जसले आजकोभन्दा दोब्बर खाना पनि पचाउँथ्यो! मुखले बाजी थाप्थ्यो, खान्थ्यो तर त्यसलाई पचाउने, त्यो बाजी जिताउने, पुरस्कार दिलाउने काम यही पेटले गर्थ्या।
यो त्यही शरीर र यसका तिनै अवयवहरू कसरी यस्ता भए? यो शरीर भर्खरको भर्खरै कसरी यति कमजोर भयो ? यसका तिनै अवयवहरू कसरी यस्ता भए? बिहान घरबाट हिड्दाको त्यो ऊर्जा यति सजिलै कता गयो र केही क्षणमै कसरी यति शिथिल भयो?
यो त्यही माटो हो, यी तिनै रुख, पात, नदी नाला, वन जङ्गल हुन्। यो त्यही घर हो जसलाई मैले जान्ने भएदेखि देख्दै र भोग्दै आएँ, तर तिनमा पनि कता कता धेरै अन्तर आएको आभास भैरहेछ। अर्कै हुन् कि भन्ने सन्देह जस्तो लागिरहेछ। एकडेढ वर्ष अघि देखेको यो देवघाट नै पनि आज यति छिटै फेरिएछ! अर्कै रहेछ, भएछ जस्तो लागिरहेछ।
म फेरिएँ, ती सबै फेरिए या हामी सबै फेरियौं ! युग फेरियो, समय फेरियो या प्रकृति फेरियो ! हाम्रो मानसिकता, सोच वा कर्म के फेरियो? म भन्न सक्दिन तर फेरिएका छन्। हामी आफै पनि फेरिएका छौं। फैरिँदै गएका छौं चाहेर होस् वा नचाहेर पनि।
हामी जीवजन्तु, वनस्पति फेरिनु प्रकृति हो भने प्रकृति आफै नै फेरिनु के हो? अरू कुरा फेरिनु समय हो भने समय आफै फेरिनु के हो? कतै युगको नाम लिएर हामीले आफूलाई गलत बाटोतिर लगाउँदै त छैनौं? नफेरिने, फेर्न नपर्ने कुरालाई पनि जबर्जस्ती फेर्न त खोजिरहेका छैनौं? सजिलो गरी फेर्नु वा स्वतः फेरिन दिनुपर्ने कुरालाई बलात् फेर्न त खोजेका छैनौं?
किन र कसरी फेरिए त माटो, ढुङ्गा, घर, खेत, फूल, पात, हावा, पानीहरू? मान्छे र तिनका स्वभावहरू? व्यवहार र चरित्रहरू? मानवीयता र भाइचाराहरू? आपसी स्नेह र सम्बन्धहरू ! किन? कसका योजनामा फेरिँदैछन् यी सबै कुरा? कसका फाइदामा फेरिने गरेका छन् यी सबै कुरा?
हेर्छु( अब यो माटोमा पनि त्यही गन्ध छैन, त्यही उर्वरता छैन। यी रुखमा त्यस्तै वासना दिने फूल छैनन्, शक्ति दिने फल छैनन् ! उस्तै चिल्ला पात छैनन्। यो शरीरमा, यसका अङ्ग प्रत्यङ्गमा, भित्री अवयवहरूमा पहिलेकै जस्तो शक्ति छैन, गति र अनुभूति पनि छैन।
हो, मात्र शताब्दीकै गफ छ। शताब्दीका गफ, धाकसितै धेरै कुरा फेर्न खोजिएका छन्। फेरिएका छन्,( ढुङ्गामाटो, रुखपात, खोलाखोल्सा, बाटाघाटा, खेतबारी र घरहरू ! गाउँ र शहरहरू! व्यवहार, संस्कार र विचारहरू! ऐनकानुन, सम्विधान र व्यवस्थाहरू ! मान्छेका चरित्र, सम्वन्ध र संवेदनाहरू ! आँखा, कान, नाक, खुट्टा, पेट ….लगायत शरीरका सबै अवयवहरू। तिनका चाल र क्षमताहरू! मान्छेभित्रका सम्वेदना, स्हेह र भावनाहरू।
यस्तै यस्तै सोचमा कता कता हराइरहें, हराइरहें। साथीहरूले के भयो सर ! भन्दा पो झसङ्ग भएँ र यताउति हेरें। पछाडिका केही साथी अगाडि भैसकेका, अगाडिका साथीहरू माथि निस्किसकेका। तल त्रिशूली आफ्नै गतिमा बहिरहेको ! त्यो अवस्थामा आफूमाथि टेकेर हिड्ने यात्रीहरूका सुरमा मन्द मन्द गतिमा हल्लिँदै गरेको त्यो झोलुङ्गे पुलले अस्थिरताको परिचय दिइरहेको अनुभूति भैरह्यो !!
हाम्रो शरीर, हाम्रो अभिमान, हाम्रो अहं र हाम्रो अस्तित्व, ……. जस्तै।
मनमा यस्तै तर्कनाहरू उठिरहेका थिए। कसैले भन्यो( जाने होइन सर ! सुनेर झल्याँस्स भएँ। अकस्मात् निद्राबाट जागे झैं भएँ। कागज कलम खल्तीमा राखेर साथीहरूलाई पछ्याउँदै हिडें पारि चितवनतिर। चितवनदेखि पनि पारि मौलाकाली पुग्ने लक्ष्य लिएर। साथीहरूका साथमा हिडें, हिडिरहें।
हिडिरहेँ म, मसँगै हिडिरह्यो त्यो सोचको अर्को पाटो। जुन सोचको पाटो मलाई कहाँ, कोसँग पोखूँ? भैरहेको थियो। त्यो सोच मनमा धेरैबेरसम्म खेसिरह्यो, होडलिइरह्यो।
“हो, हाम्रा धेरै कुरा फेरिए। टाउको फेरियो। आँखा फेरिए। पेट फेरियो। कान फेरियो। ……सिङ्गै शरीर फेरियो। तिनका गतिविधि, क्षमता सबैजसो फेरिए। फेरिँदै छन्। फेरिएको अनुभव पनि गरिरहेंछु। मैले मात्र होइन यस्तो अनुभव अरूले पनि गरेका होलान् !
देशको गतिविधि फेरियो। व्यवस्था फेरियो। सिद्धान्त फेरियो। मत फेरियो। मत दिएको मान्छे पनि फेरियो। उसको वचन फेरियो, तर…
तर फेरिएन हाम्रो गरीवी। हाम्रो देशको गरीवी, ब्यापार घाटा र ऋणको धोक्रो।
***



डिल्लीराज अर्याल ( २०१०, मदनपोखरा, पाल्पा सुपुत्र : झपेन्द्रराज अर्याल र वेदप्रभा अर्याल) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनी कविता, काव्य, कथा, निबन्ध संस्मरण,नियात्रा तथा पत्रकारिता र साहित्यिक पत्रकारिताका क्षेत्रमा समेत सुपरिचित व्यक्तित्त्व हुन् । पाल्पाबाट निस्कने पाहुर मासिक पत्रिकामा ‘हराउँदैछन्’ शीर्षकको कविता (२०३५) प्रकाशन गरेबाट साहित्यिक जगत्मा सार्वजनिक भएका अर्यालका यो चार दशकको अवधिमा दर्जन कृति प्रकाशित छन् । उनका कृतिहरूमा नेपालमै जान्छु म (२०३४) र त्रासदी (२०६८) कवितासङ्ग्रहहरू उल्लेख्य छन् । उनका सरिता (२०४५) ठूले राई (२०६०), भन्नै पर्यो सुन्नैपर्यो (२०६०), धर्मयुद्ध (२०६४) र डहर (२०७४) लगायतका काव्यहरू प्रकाशित छन् । त्यस्तै रहस्य (२०४७) कथा –सङ्ग्रह, रातमा सूर्य दिनमा तारा (२०५७) ब्यङ्ग्य निबन्धसङ्ग्रह, घोल्कीमा बस्ने रहर (२०६१) र झलझली आँखामा (२०६८) संस्मरण(सङ्ग्रहहरूका साथै डाँडाकाँडा हेर्ने रहर (२०७६) नियात्रा सम्पादित कृतिका रूपमा छन्। समीक्षा, जीवनीलगायतका विविध विधामा कलम चलाउने गरेका अर्यालका विभिन्न पत्रपत्रिकाहरूमा विविध विधाका प्रशस्त फूटकर रचनाहरू प्रकाशित छन् । अर्यालले श्रीनगर, नेतृत्व, निष्पक्ष जस्ता समाचार पत्र तथा सर्वोदय, कलम, प्रतिभा, आरती, चन्द्रज्योति, उत्साह, हाम्रो मनोहरवस्ती, नौलो नेपाली जस्ता विविध मुखपत्र एवं साहित्यिक पत्रपत्रिकाहरूको सम्पादनमा, वाङ्मय प्रज्ञा प्रतिष्ठान, सामुदायिक अध्ययन केन्द्र, स्रष्टा पदयात्रा अभियान, मनोहरा साहित्य समाज जस्ता संस्थाको स्थापना र सञ्चालनमा सक्रियता देखाएका छन् । शास्त्रीय छन्दका कविता, काव्य सिर्जनमा कुशल अर्यालबाट वृहत्काव्य, महाकाव्यको अपेक्षा राख्न सकिन्छ। उनी राम्रा राम्रा संस्म्रणात्मक, चिन्दनप्रधान र व्यङ्ग्यप्रधान निबन्धका स्रष्टा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा अर्यालको ‘शरीरका अवयवहरू !’ निबन्ध समेटिएको छ । यस निबन्धले देवघाट भ्रमणको संस्मरणलाई जीवनबोधका विविध पक्ष संयोजन गरी प्रस्तुत गरेका छन् ।