SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » समालोचक वा लेखकले सफल हुन आफ्नो भोक निन्द्रा मिच्नै पर्छ
अन्तर्वार्ता

समालोचक वा लेखकले सफल हुन आफ्नो भोक निन्द्रा मिच्नै पर्छ

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments32 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

वासुदेव त्रिपाठी (१९९९, चैत्र १३, तनहूँ, सुपुत्रः प्रेमदत्त त्रिपाठी र गोमादेवी त्रिपाठी) नेपाली साहित्यमा महासमालोचकका रूपमा परिचित विशिष्ट व्यक्तित्त्व हुन् । उनका सर्जक, प्राध्यापक, समीक्षक, समाजसेवी, भाषावाड्मयसेवी, शिक्षासेवी, अनुवादक, सम्पादक, प्राज्ञ आदि अनेक व्यक्तित्त्व स्थापित छन् । ती बहुमुखी व्यक्तित्त्वमध्ये नेपाली साहित्य परम्परामा उनका सर्जक (कवि) र समीक्षक व्यक्तित्त्व समानान्तर उचाइमा मुस्कुराइरहेका छन् । नेपाली साहित्यिक जगत्ले भने उनको समीक्षक व्यक्तित्त्वलाई बढी मनपराएको छ । उनका नेपाली कविताको सिंहावलोकन (२०२७), विचरण (२०२८), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (२०३० भाग एक र दुई), साहित्यकार पहलमान सिंह स्वारको पुनर्मूल्याङ्कन (२०३३), लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन (२०३४), साहित्यकार झपटबहादुर राणाको जीवनीको एक झलक (२०४५), नेपाली कविता (२०४६, भाग १, २ र ४ को सम्पादन एवम् अधिक समालोचनात्मक अंशको लेखन), नेपाली साहित्य शृङ्खला (भाग र १ र २ को विशद समीक्षात्मक लेखन, सम्पादन) हिन्दू राष्ट्र नेपालको सनातन सान्दर्भिकता (२०६५), साहित्य सिद्धान्त : शोध तथा सृजन विधि (२०६६) जस्ता समीक्षात्मक ग्रन्थका अतिरिक्त सयौं लेखहरू पत्रपत्रिकामा यत्रतत्र छरिएर रहेका छन् । त्रिपाठीको समीक्षा लेखन विश्वसाहित्यमा देखा परेका सैद्धान्तिक, प्रायोगिक र कृतिपरक समीक्षाका साँध सीमानामा र स्वतन्त्र समालोचना, पाठ्यपुस्तक, भूमिका, सम्पादकीय आदि फरक फरक बान्कीमा छरिएर रहेका छन् । ती सामग्रीहरू सङ्कलन गर्न सके अलग अलग विधा विषय र व्यक्तिपरक अनेक समालोचना ग्रन्थका रूपमा सङ्कलन र प्रकाशन हुन सक्ने देखिन्छन् । नेपाली समीक्षा परम्परामा देखा परेका सामग्रीको विषय क्षेत्र मोटामोटी रूपमा भूमिकागत, सम्पादनपरक, स्रष्टापरक, कृतिपरक, विधापरक, इतिहासपरक, सिद्धान्तपरक, समीक्षा पद्धतिपरक, शोधपरक, आदि विशेषतामा समेट्न सकिन्छ । यी परम्पराका सबै क्षेत्रलाई छोएर पनि निरन्तर आफ्नै विचारको परिमार्जन, नवनव समीक्षापद्धति, प्रविधि र शैलीको प्रवर्तनमा त्रिपाठीको योगदान उल्लेख्य रहेको छ । उनले एकै विषय केन्द्रको सूक्ष्मतम रेखाङ्कन, अवलोकन र व्याख्या विश्लेषणबाट आफ्नो समीक्षा यात्रालाई परिपक्व चरणमा आरोहण गरिरहेको देखिन्छ । निरन्तर नेपाली समीक्षालाई विधा, विषय, सिद्धान्त र शैलीबाट विशिष्ट गति प्रदान गर्ने त्रिपाठी वास्तवमै नेपाली समालोचनचा परम्पराका महासमालोचक हुन् । उनीसँग संवाद गर्न सकिने क्षेत्र र विषयहरू व्यापक छन् । वार्ताकारले यसपूर्व उनीसँग विविध विषयमा संवाद गर्दै पनि आएको छ । साहित्य सागरको प्रस्तुत शृङ्खलामा त्रिपाठीसँग जीवनी व्यक्तित्त्व र सिर्जनाका पाटालाई छोडेर समीक्षा केन्द्रित जिज्ञासा राखिएको अन्तर्वार्ता प्रस्तुत छ । 

-सम्पा.


गुरु नमस्कार ।
नमस्कार । बस्नुहोस् । तपाईँ आउनुहुन्छ भन्ने सम्झिइराथेँ । आउनुभएछ (हाँस्तै) ल बसौँ ।

धन्यवाद गुरु । म आज यहाँसँग केही ठोस विषयमा कुरा गर्छु । यहाँले सहज रूपमा मेरा जिज्ञासाको शमन गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।
हुन्छ ।

आजका मेरा जिज्ञासाहरू यहाँको साहित्येतिहास, कोश र केही समीक्षामै केन्द्रित छ।
हुन्छ । कुरा गरौँ ।

यहाँले साहित्यको समग्र र विधागत इतिहास तयार पार्न थालेको धेरै भयो । अहिले पनि यहाँलाई भेट्ता नयाँ पुराना सूचनाहरूको सङ्कलन र प्रविष्टि गरिराखेको देखिन्छ । यहाँको साहित्यिक इतिहास चाहिँ कसरी तयार भइराखेको छ ?
यो यस्तो, यसलाई विभिन्न शीर्षकमा काम गरिराखेको छु । एउटा फायलमा वर्णक्रमबाट लेखकलाई राखेको छु र अर्को पृष्ठभूमि कालदेखि क्रमशः प्राथमिक, माध्यमिक, आधुनिक काल र ती कालका धारा प्रवृत्तिअनुरूपका उपखण्डमा बाँड्दै व्यवस्थित गरिरहेको छु । त्यहाँ पृष्ठभूमिगत इतिहास पनि समेटिएकै हुन्छ र अर्को पक्षमा प्रमुख ग्रन्थहरूको समीक्षा पनि छ ।

यो विशाल ग्रन्थ पाठकले कहिलेसम्म पढ्न पाउलान् ?
म लागिरहेकै छु । सूचनाहरू थपिरहेकै छु र पूर्ण इतिहास बनाऊँ भन्दा ढिला भएको हो । त्यो अब निस्कन सक्यो भने त्यो नै मेरो प्रमुख काम हुने हो । हेरौँ कहिलेसम्म सकिन्छ । गरि नै रहेको छु ।

यो त साहित्येतिहासको कुरा भयो ।यहाँका विभिन्न विधा केन्द्रित, विभिन्न स्रष्टा केन्द्रित, कालखण्ड केन्द्रित अनेक समीक्षा ग्रन्थ तयारी अवस्थामा रहेको बुझिएको छ । तिन दर्जन जति ग्रन्थका बिटाहरू आलमालीमा सजाएर र खाँदखुद पारेर राखेको देखिन्छ । प्रकाशन योजनाका दृष्टिले तिनीहरूको अवस्था के छ ?
यहाँले भनेको ठिकै हो । मैले ४०–४५ ओटा लेखिसकेका ग्रन्थ प्रकाशनका उद्देश्यले पोको पारेर राखेको छु । त्यो कसले छाप्ने हो थाहा छैन । सिंहावलोकन र विचरणमा छुटेदेखिका धेरै सामग्री छन् । वास्तवमा भन्दा अब केमा लाग्ने धेरै काम छ । सिगो स्रष्टामा केन्द्रित भएर भानुभक्त, देवकोटा, लेखनाथको पिएच.डीपछिका सामग्री, संस्कृत साहित्यको पुनव्र्याख्या पनि लेखिसकेको दशक वितिसक्यो । पाश्चात्य नव साहित्य सिद्धान्त भाग तिनको धेरै जसो तयार छ र पाश्चात्य सभ्यता र साहित्यको इतिहास पनि तयार छ । खोइ कसले छाप्ला ?

समालोचनालाई इवी साँध्ने हतियार वा चाकडी गर्ने औजारका रूपमा प्रयोग गर्ने अनि गुटबन्दीपूर्ण घात प्रतिघातको साधन बनाउने प्रवृत्तिका अवशेषसमेत अझै कहीँ कतै नरहेका होइनन् तर यस्ता छाडा, अनुत्तरदायी, अशिष्ट र अभद्र समालोचनाको खास स्थायी प्रभाव र दीर्घकालीन मूल्यका साथै उपयोगिता रहँदैन र हुन सक्दैन ।

यहाँले सहकर्मीहरूसँग सहप्रयत्नमा धेरैअगाडि माध्यामिक तहका लागि उपयोगी हुने गरी नेपाली साहित्य शृङ्खला भाग एक र दुई तयार पार्नुभएको थियो ? त्यसका उच्च माधयामिक तह र उच्चतर तहका लागि थप शृङ्खला पनि बनाउँदै लैजाने योजना रहेको कुरा त्यसका लेखकीय र सम्पादकीय भूमिकाबाट बुझिन्छ । त्यसतर्फ थप केही योजना बनाउनुभएको छ ? कि त्यो विश्वविद्यालय छोडेपछि रोकियो ?
हो मेरो ध्यान त्यता गएको थियो । मैले प्राज्ञिक समीक्षा गरेर मात्रै पुग्दैन मैले समालोचनाको अर्को प्रयोग विद्यालय र महाविद्यालयका पाठमा पनि गर्नुपर्छ भन्ने लागेको थियो । त्यो प्रयोगच साहित्य शृखलाका दुई भागमा गर्ने प्रयास गरेको थिएँ । तपाइँले भनेका साहित्य शृङ्खलाका दुई खण्डमा माध्यामिक र उच्च माध्यमिक तहका लागि आवश्यक पठ्यसामग्रीका रूपमा साहित्यको प्रयोगका लागि समीक्षालाई माध्यम बनाउने प्रयास भएको छ । फ्रेञ्च भाषाको पठनपाठनमा पनि त्यो रूप छ । त्यसका अन्य भाग बढाउन सकिनँ । अब खोई के सकूँला र ?

यहाँको सहलेखन र प्रधान सम्पादनमा व्याकरण ग्रन्थ पनि सार्वजनिक भएको छ । निम्न माध्यामिक तहका लागि लेखिएको ग्रन्थ बाहिर आए पनि अरू ग्रन्थहरू किन बाहिर आउन सकेनन् ?
त्यतिबेला व्याकरणमा मैले केही गर्न खोजेको थिएँ । मेरो मौलिक व्याकरण अझै बाहिर ल्याउन सकेको छैन । धेरै छ अधुरो त्यस्तो । कतिपय सामग्री टिपोटमै सीमित छन् । लेखिएका सामग्री पनि बाहिर आइसकेका छैनन् । …

यहाँले एउटा कृतिको नाम नै सिंहावलोकन राख्नुभएको छ । अति सङ्क्षेपमा आफ्नै समीक्षा यात्राको सिंहालोकन गर्नुपर्‍यो भने कसरी गर्न सकिन्छ ?
म आफैँले मेरा समालोचनाका विकासबारे अझै केलाएको छैन । अरूहरूले नै २०,४०, ५०, १०० वर्षपछि आवश्यक परे केलाउलान् । मोटामोटीमा मलाई आफ्नै अनुभवका आधारमा लागे अनुसार २०२०–२८ का बीच मैले समालोचनात्मक प्रवृत्ति र त्यसका भाषाशैलीको खोज प्रयोग निकै नै गर्न खोजेको हुँ भन्ने लाग्छ । २०२९ सालपछि विस्तारै म शोध समालोचनातर्फ पनि उन्मुख रहेँ र त्यो अवधि २०३४ सालसम्म जान्छ । २०३५ सालदेखि आजसम्म धेरैप्रकारका समालोचनात्मक प्रयोग र भाषाशैलीका समालोचनात्मक नवपथहरूको निरन्तर खोज र प्रयोग मैले गर्दै आएको छु र त्यसलाई शूक्ष्म रूपमा छुट्याउने काम भावी पुस्ताहरूले आवश्यक भए गर्लान् । तपाईँहरूले गर्नुहोला ।

हामीलाई चासो भएको पनि त्यसैले त हो नि । यहाँको समीक्षा यात्रालाई चरणगत रूपमा हेर्नुपर्दा ? यहाँ स्वयम्ले चाहिँ कसरी हेर्नुभएको छ ?
मेरो समालोचना यात्रामा पहिलो चरणमा शैलीमा दृष्टिले काव्यात्मक र निबन्धात्मक आन्तरिक स्पर्श पनि छ र मुख्यतः विश्लेषणात्मक र निर्णयात्मक समालोचना–प्रवृत्तिका खोज र प्रयोग मैले गरेको छु भन्ने लाग्छ । दोस्रो चरणका मेरा समालोचनामा थप रूपमा शोध अनुसन्धानमूलक प्रवृत्तिको वुद्धि र तार्किक गद्यशैलीको विशेष विकास हुन आएको छ । विस्तारित सरल वाक्य र अनेक ढाँचाका संयुक्त र मिश्रवाक्यको प्रयोग गरी शूक्ष्म–सघन समालोचनाको तार्किक र निर्णयात्मक आन्तरिक शक्ति प्रदान गर्ने गद्य शैलीलाई २०३४ सालभन्दा पछि अँगाल्दै जाने प्रयास मैले गरेको छु । त्यसमा समालोचनाको विश्लेषण र मूल्यनिर्णयका क्रममा अभिव्यक्तिको सुस्पष्टता र संप्रेषणीयताको अक्षुष्णतालाई कायम राख्ने पनि मेरो प्रयास रहेको छ ।

यहाँको समीक्षा यात्रा मात्रै चार दशक लामो भइसकेको छ यहाँले विद्यावधि अघि र पछिको चरणको चर्चा गर्नुभए जस्तो लाग्यो । यहाँका यी मूल चरणबाहेक अनेक उपचरणहरू हुन सक्ने खेखिन्छ । यहाँका मूल समालोचनात्मक प्रवृत्तिलाई यहाँ आफैले सङ्केत गर्नुभयो भने के कसो होला ?
मेरो तपाइँले भनेअनुसारको चालीस पैँतालिस बर्षको झन्डै पाँच दशकको समालोचना यात्रामा समालोचनाका प्रवृत्ति र शैलीका अनेकानेक मोड र प्रयोग निरन्तर रूपमा चालु नै छन् । पहिलो चरणका कृतिहरूमध्ये धेरैजसो कविता समालोचनाको सङ्कलन नेपाली कविताको सिंहावलोकन (२०२७) हो जसमा नेपाली साहित्यको पद्यफाँटको एक झल्को समेटिएको छ । अर्को कृति विचरण (२०२८) मा गद्य एवम् नाटकका केही क्षेत्र समेटिएका मेरा तत्कालीन समालोचनाहरू छन् । पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (२०२९) पनि सुरूमा स्नातकोत्तर तहका विद्यार्थीहरू तथा अन्य विशिष्ट अध्येताहरूलाई लक्ष्य गरी लेखिएको हो तर त्यसका भाग १ र २ (२०४९) सम्म आइपुग्दा त्यहाँ पर्याप्त विस्तार र गहिराइ दुवै थपिएका छन् । सैद्धान्तिक र प्रायोगिक दुवै प्रवृत्तिहरू छन् । त्यसको खोज पनि अब तपाईँहरूले गर्ने हो । पछिल्लो समालोचना यात्रा फुटकर रूपमा छरिएर रहेको छ । भूमिकाहरूमा रहेको छ ।

यहाँ शोधपरक समालोचनाको आरम्भ विन्दु पनि हुनुहुन्छ । यहाँलाई नेपाली साहित्यको प्रथम विद्यावारिधिका रूपमा सामान्य ज्ञानले पनि लिएको छ र यो इतिहास पनि हुँदै हो । यहाँ नेपाली समालोचना प्रवाहमा निरन्तर प्रवाहित साक्षी पनि हुनुहुन्छ । यहाँ स्वयम् नेपाली समालोचनाको वर्तमान स्थिति कस्तो छ भन्ने ठान्नुहुन्छ ?
नेपाली समालोचना खासगरी विगत तीन चार पाँचै भनौँ दशकका बीच विशेष रूपमा विकसित भइरहेको छ । यसबीच अनेक वाद र प्रणाली अनि दृष्टिकोणलाई आधार बनाएर समालोचना लेखन पद्धति विकसित भइरहेको छ । खासगरी विश्वविद्यालयबाट प्रशिक्षित पीएच.डी. र स्नातकोत्तर अध्ययन गरिसकेका विद्धान्बाट यो कार्य बढी मात्रामा भइरहेको छ । विगत दुई दशकमा यो क्रम क्रमशः विकसित भइरहेको छ । लेखकपरक र कृतिपरक समालोचनाका शोध ग्रन्थहरूबाहेक प्रवृत्तिपरक पनि आइरहेका छन् । विद्यावारिधि र स्नातकोत्तर शोध ग्रन्थमा पनि धेरै कुरा आएका छन् तर धेरै कुरा गर्न बाँकी छ ।

धेरै कुरा आएका छन् तर धेरै कुरा गर्न बाँकी छ । यो त यहाँको स्वभावै हो कि पाश्चात्य समालोचनाको पहिलो संस्करणलाई खेस्रा संस्करण भन्नुभएको थियो । म अलि प्रस्ट हुन चाहेँ । नेपाली समीक्षा परम्परामा गर्न बाँकी देखिएका खास कुराहरू चाँहि के के हुन् ?
अझै पनि नेपाली समालोचनामा डाङडुङे प्रवृत्तिको अवशेष रहेकै छ । केही उज्वलता थपिए पनि केही अँध्यारा विषाक्त पक्ष अझै बाँकी छन् । छाडा, अनुत्तरदायी र पूर्वाग्रही प्रवृत्तिका केही अवशेष पनि बाँकी छन् । समालोचनालाई इवी साँध्ने हतियार वा चाकडी गर्ने औजारका रूपमा प्रयोग गर्ने अनि गुटबन्दीपूर्ण घात प्रतिघातको साधन बनाउने प्रवृत्तिका अवशेषसमेत अझै कहीँ कतै नरहेका होइनन् तर यस्ता छाडा, अनुत्तरदायी, अशिष्ट र अभद्र समालोचनाको खास स्थायी प्रभाव र दीर्घकालीन मूल्यका साथै उपयोगिता रहँदैन र हुन सक्दैन ।

नेपाली समालोचना परम्परामा केही नेपालीका र अङ्ग्रेजीका विद्वान्हरु पनि जिम्मेवार भएर काम गरिरहेका छन् । यहाँले नै एउटा कुनै सन्दर्भमा नेपाली समालोचना हरायो भने राजेन्द्र सुवेदीलाई खोज्नु भनेको पनि सम्झन्छु । वास्तवमा अहिलेको समीक्षा– समालोचनाको अवस्था कस्तो छ ? सन्तोष मान्ने ठाउँ नै नभएको त होइन होला ?

नयाँनयाँ पुस्ताका विद्वान् समालोचकहरूले समालोचकको स्वस्थ र सही बाटो समात्दै अगि बढ्दै गरेकोमा भने सन्तोष मान्न सकिन्छ । विभिन्न युग, धारा र प्रवृत्तिका साहित्यिक कृतिको व्यापक शूक्ष्म र सुरूचिपूर्ण अध्ययनका साथै ती कृतिप्रतिको गहिरो संवेदनशीलता र ग्रहणशीलताबाटै समालोचना प्रक्रियाको उठान हुन्छ । साहित्यिक कृतिहरूका मूल्य र गुणस्तरको सही तथा निर्भान्त पहिचान र निरूपण गर्न सक्ने प्रतिभा पारख र अचुक दक्षता समालोचकमा हुनुपर्छ । कृति वा कृतिकाप्रतिका आफ्ना वस्तुगत विश्लेषण र पारखपूर्ण मूल्य निर्णयलाई जिम्मेवारीपूर्वक व्यक्त गर्ने शिष्ट, शालीन र परिपक्व अभिव्यक्ति क्षमताले नै समालोचकलाई विश्वसनीयता प्रदान गर्दछ । स्थापित मान्यताबाट साहित्यिक सौन्दर्यप्रतिको परिपक्व ग्रहणशीलता र कृतिका बैशिष्ट्य वा शक्तिसीमाको सन्तुलित विवेचना गर्न सक्ने विश्लेषणात्मक र मूल्याङ्कनात्मक अचुक क्षमताबाटै उत्कृष्ट र उत्तरदायी समालोचक देखा पर्न सक्छ । यो अवस्था कति देखिन्छ । त्यो घाम जतिकै छर्लङ्ग छ ।

वस्तुगत रूपमा यहाँ सक्रिय रहेको विगत चार पाँच दशकको र त्यसमा पनि पछिल्ला दशकको मूल्याङ्कन कसरी गरिरहनुभएको छ ? सघन, खण्डीय आदि अध्ययनका आधारमा, परिणामात्मक र गुणात्मक आधारमा पनि म जिज्ञासु रहेँ ।
सापेक्ष रूपमा हेर्दा विगत साढे चार दशकका बीचमा नेपाली समालोचना निकै परिपक्व उत्तरदायी प्रामाणिक र परिमार्जित पनि हुँदैछ र उल्लेखनीय उपलब्धिहरू ग्रन्थ, शोधकार्य र फुटकर समालोचनाका क्रममा पक्कै देखापरेका छन् । यो सन्तोषको विषय हो भने अर्कातर्फ अझैपनि भानुभक्त आचार्यका कृतिकै पनि सघन र सर्वाङ्गीण समालोचना हुन बाँकी छ भने त्यसपछिको नेपाली साहित्यका अनेक युग, विधा, प्रतिभा र कृतिहरूको सघन र पूर्णाङ्क अध्ययनको क्षेत्रमा प्रशस्त काम हुन बाँकी नै छ । नेपाली साहित्यका नवनव पुस्तालाई हेर्दा तिनलाई समेट्न सक्ने गरी नेपाली समालोचना मौलाउन बाँकी छ ।

यहाँले समारोहहरूमा समीक्षाका विषयमा विश्वसनीय प्रमाणिक र उत्तरदायी समीक्षा भन्ने गर्नुहुन्छ । यसतर्फ वर्तमान समीक्षा परम्पराक कसरी अगाडि बढ्दैछ ? मरिमाणात्मक र गुणात्मक दुवै दृष्टिबाट म जिज्ञासु रहेँ ।

विश्वसनीय र प्रामाणिक, र उत्तरदायी प्रकृतिको र चिरस्थायी मूल्यको समालोचनाका लागि व्यापक साधना आवश्यक हुन्छ । समालोचकको र शोधको प्रवर्धन गर्ने संस्था र संस्कारको अझै कमी नै छ । यस कार्यमा मेरा पूर्वज, समकालीन र परवर्ती समालोचकहरूले पनि निकै महत्त्वपूर्ण कार्य गरिरहेका छन् । मैलेभन्दा धेरै धेरै महत्त्वपूर्ण कार्यहरू नेपाली साहित्यको सिर्जनाको गतिभन्दा समालोचनाको गति एवम् यात्रा परिमाणत्मक र गुणात्मक रूपमा केही पछि नै छ ।

म अलि फरक जिज्ञासा राखूँ । यहाँ सर्जक र समीक्षक दुवै हुनुहुन्छ । यहाँको सिर्जनात्मक एवम् समीक्षक दोहोरो सामथ्र्यसम्पन्न दृष्टिले नेपाली साहित्यका सिर्जनालाई विश्वसाहित्यका तुलनामा कसरी हेरिरहनु भएको छ ?
विश्वसाहित्यले प्राचीन नवीन र पूर्वी पश्चिमी विभिन्न देश र भाषाका अनेक युगका साहित्यलाई समेट्छ । त्यसमध्येका प्राचीन वा नवीन विभिन्न भाषाका प्राचीन वा नवीन उत्कृष्ट कृतिका दाँजोमा राखेर हेर्दा नेपाली साहित्य पनि उति कमजोर छैन । खासगरी लेखनाथ, सोमनाथ, सम, देवकोटा, मैनाली, विश्वेश्वर, भिक्षु, गोठालेदेखि लिएर रिमाल, विजय मल्ल, शंकर लामिछाने, इन्द्रबहादुर राई, मोहन कोइराला, भूपि शेरचन, रमेश शविकल, धु्रवचन्द्र गौतम आदिदेखि वर्तमानसम्मका कैयौँ लेखकका कतिपय कृतिहरूले विश्वसाहित्यको मानस्तरलाई छुन खोजेका छन् वा छोएका छन् । यी र अरू कतिपय लेखकका केही कृतिहरू विश्वस्तरका पनि छन् तर संस्कृत, फारसी, ग्रिक, ल्याटिन जस्ता पुराना साहित्यको परिमाणात्मक एवम् गुणात्मक उच्चता नेपाली साहित्यले भेट्यो भन्नु मिथ्या ठहर्छ । तापनि कतिपय नेपाली रचना उत्कृष्ट नै छन् । आधुनिक अङ्ग्रेजी, फ्रान्सेली, स्पेनी, रूसी तथा हाम्रै छिमेकका हिन्दी, बङ्गला, जापानी उर्दूको समष्टि स्तर नेपाली साहित्यले परिमाणात्मक र गुणात्मक रूपमा भेट्यो भन्नु मिथ्या नै हुन्छ तर कतिपय नेपाली लेखकका कतिपय कृति भने आधुनिक विश्वसाहित्य स्तरका नजिक वा हाराहारीमा आइसकेका छन् । म यो पक्षलाई चासोपूर्वक हेरिरहेको छु ।

आफ्ना सृजनात्मक कृति र समालोचनात्मक कृतिसँग म प्रायः सन्तुष्ट नै छु तर मैले ताकेको प्राप्तिशिखरसम्म मेरा सृजना र समालोचना पुगिसके भन्ने पूर्ण सन्तुष्टि पनि मैले लिएको छैन ।

कुनै भाषाको साहित्य विश्वसाहित्यसँग तुल्य छ कि छैन भन्ने कुरा त्यसको शाक्तिशाली सिर्जनाका साथै अनुवादको पनि खाँचो पर्दो हो । यसतर्फ यहाँको धारणा के छ ?
हाम्रामा उत्कृष्ट कृतिको उत्कृष्ट अनुवादका लागि संस्थागत परम्परा बलिायो बन्न सकेको छैन । उत्कृष्ट नेपाली कृतिहरूको प्रमुख अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद भएपछि नै अन्तर्राष्ट्रिय स्रतमा मूल्याङ्कन हुन सक्छ भने विश्वसाहित्यका उत्कृष्ट लेखक र कृतिको पर्याप्त अनुवाद नेपाली भाषामा भएमा मात्र बढी आधिकारिक रूपमा तुलनात्मक निर्णय लिन सकिन्छ । आफ्ना स्रष्टा र साधकलाई माया स्नेह एवम् सम्मान दिने संसार आफ्नो ठाउँमा छ तर कसैको पनि सम्मान उन्नति र प्रगतिको इष्र्या, द्वेष गर्ने घुसघुसे वा वाचाल व्यक्तिहरूको पनि यहाँ कमी छैन र खुट्टा तान्ने प्रवृत्ति पनि हामीकहाँ केही मात्रामा छ । लेखकलाई उपयुक्त र न्यायोचित सम्मान दिन नचाहने अहङ्कारी मनोविज्ञान भएका व्यक्ति पनि समाजमा नभएका होइनन् । आफैमा त यस्तो प्रवृत्ति छ भने विश्वसाहित्यमञ्चसम्म हाम्रा महान् लेखकका महत्त्वपूर्ण कृतिलाई लैजान सक्ने नेपाली अनुवादकहरू र आयोजक संस्थाहरूको पनि अझै कमी नै छ । यो कमीको पूर्तिले हामीलाई विश्वसाहितयमा पुग्न र हाम्रो सिर्जनमूल्य जाँच्न सघाउँछ ।

अहिलेसम्मको नेपाली संस्थागत वा व्यक्तिगत अनुवाद प्रयास र परम्परा चाहिँ कस्तो देखिएको छ ?
मैले नयाँ अनुवादहरू सबै पढ्न भ्याएको छैन । (एकै छिन रोकिएर) विश्वका उत्कृष्ट साहित्यकारका उत्कृष्ट रचना हाम्रो भाषामा अनुवाद गर्न हामीले सकेका छैनौँ भने हाम्रो साहित्यलाई अन्यत्र लैजाने साधना कसले गरिदिने । कसेले प्रयास गर्‍यो भने पनि आफ्नै कृतिको प्रचाराकाङ्क्षा यहाँ बढ्ता छ ।

यहाँ सिर्जना र समीक्षाका रगडानमा समानान्तर उचाइ र दुरीमा देखिनुहुन्छ । यद्यपि हरेक कृतिलाई खेस्रा संस्करण वा यसपाला यस्तै भयो भनेर बनाउन बाँकी रहेको सङ्केत गर्नुहुन्छ । आफ्नै लेखनबाट यहाँ आफै चाँहि कतिको सन्तुष्ट हुनुहुन्छ ?
२०२३ सालदेखि प्रकाशित भएका आफ्ना सृजनात्मक कृति र समालोचनात्मक कृतिसँग म प्रायः सन्तुष्ट नै छु तर मैले ताकेको प्राप्तिशिखरसम्म मेरा सृजना र समालोचना पुगिसके भन्ने पूर्ण सन्तुष्टि पनि मैले लिएको छैन । मैले २०२३–२४ देखिका विगत तीन दशकमा जे जति नेपाली भाषा र साहित्यलाई दिन सकेँ वा सकिन त्यसको सन्तुलित लेखाजोखा मेरा आजका र भोलिका पाठकहरूले क्रमशः गर्दै जाने कुरा हो भन्ने म ठान्दछु । मैले समालोचनाका क्षेत्रमा जे जति सकेको दिँदै आएको छु र त्यसका असङ्ख्य गुणग्राही पाठकहरू (र केही इष्र्यालुहरू) छन् भन्ने कुरा मलाई राम्रै थाहा छ । म यी सबैप्रति निस्पृह रहँदै आफ्ना साधनामा निर्विकार लाग्ने गर्दछु ।

यहाँको समीक्षात्मक वा सिर्जनात्मक मूल धेय चाहिँ के हो ? यहाँले नवनव सम्भावना र प्राप्ति भन्नुहुन्छ । अब असी वर्ष पुग्न लाग्नुभयो । त्यो प्राप्ति अझै बाँकी छ कि ?
सधैँसधैँ समालोचना र सृजनामा महत्त्वपूर्ण अरू नयाँ कृतिहरू दिनसकूँ भन्ने ध्येयले नै म साधनारत रहेको छु र अथक प्रयासका साथै अनेक महत्त्वपूर्ण खोज र प्रयोगको क्रमलाई निरन्तर रूपमा गतिशील तुल्याउँदै आएको छु । मेरा समालोचनात्मक भाषाशैलीका अन्तर्विकासका अनेक चरणहरू छन् र अद्यावधि पनि म त्यसको प्रभावकारिताका निम्ति प्रयोगरत र परीक्षणरत रहँदै नवनव सम्भावनाको खोजमा छु ।

यहाँ अझै खोजमा हुनुहुन्छ भन्ने थाहा पाएर हामीलाई नयाँ उर्जा मिल्छ । यहाँ आफ्ना लेखनमा प्रभावकारिताको सिर्जनाका लागि प्रयोगरत, परीक्षणरत रहँदै नवनव सम्भावनाका खोजमा हुनुहुन्छ, यो पक्ष यहाँका समीक्षा र सिर्जना दुवै पक्षले देखाइ पनि रहेका छन् । समीक्षाको मात्रै कुरा गर्दा पनि नेपाली मौलिक पारिभाषिक शब्द र मौलिक सिद्धान्तहरूको खाँचो देखिन्छ । यस पक्षमा यहाँले वृहत् नेपाली शब्दकोश निर्माणदेखि नै र आफ्ना लेखनमा पनि अनेक प्रयास गर्दै आउनुभएको देखिन्छ । यस क्षेत्रमा यहाँले गरेका ठोस प्रयास र तिनका परिणामहरूका पक्षमा म जिज्ञासु रहेँ ।
मेरो समालोचनाकार्यका क्रममा मैले जुध्नु परेका र समाधान गर्दै आएका समस्याहरूमध्ये नेपाली समालोचनालाई अगि बढाउन अत्यावश्यक नवनव पारिभाषिक शब्दको उद्भावना र स्थापना एक महत्त्वपूर्ण पक्ष हो भन्ने लाग्छ । पाश्चात्य समालोचना लेखनका क्रममा पनि मैले अपेक्षित नेपाली पारिभाषिक शब्दावलीका प्रचुर निर्माण गरेरै ती गहनतम पाश्चात्य सिद्धान्त र चिन्तनलाई नेपालीमा व्यक्त गर्ने सक्दो प्रयास गरेको छु । मेरो टोयनबी र इकेदाबीचको सम्वादग्रन्थ जीवन रोज्नुहोस् को अनुवाद गर्दा पनि पर्याप्त सृजनात्मक शब्द निर्माणको सङ्घर्ष गर्नु पर्‍यो । पारिभाषिक शब्दका दृष्टिले कठिन नै भए पनि नेपाली भाषामा पनि यस्तो गहन वैचारिक ग्रन्थ (२०५३ सम्म आइपुग्दा) अनुवाद हुन सक्दो रहेछ भन्ने कुराले केही सन्तोष लागेको सम्झन्छु । अरू सबै काम बाहिर आइसकेकै छनन् ।

यहाँका समीक्षालाई हेर्दा यहाँले सधैँ सघन र शूक्ष्म समालोचनात्मक अभिव्यक्तिका लागि अपेक्षित हुने नेपाली वाक्य गठनको ढाँचाको प्राप्तिका निम्ति प्रयत्न गरिरहेको देखिन्छ । समीक्षाका लागि आवश्यक गद्यशैलीलाई विशेष, परिमार्जित र प्रभावकारी तुल्याउने प्रयास गरेको पाइन्छ । केही त जटिल र अधिजटिल पनि पाइन्छन् । यसको कारणबारे म जिज्ञासु रहेँ ।
सघन र शूक्ष्म समालोचनात्मक अभिव्यक्तिका लागि अपेक्षित हुने नेपाली वाक्य गठनको ढाँचाको प्राप्तिका निम्ति मेरो समालोचनायात्रामा मैले गद्यशैलीलाई परिमार्जित र प्रभावकारी तुल्याउने प्रयास गर्दै आएको छु । मेरो समालोचनाको त्यो पाठक बौद्धिक स्तर भएको सहृदय नेपाली पाठक हो र म तिनै पाठकका निम्ति समालोचना लेख्ने गर्दछु । मैले लेखनक्रममा गाली गलोजको र विष वमनको भाषा कहिल्यै पनि प्रयोग गरिन । मेरो समालोचना कृतिमा प्रतिपादित विचारहरूको शूक्ष्म क्रम र तार्किक पद्धतिमार्फत् गम्भीर र प्रवुद्ध पाठकलाई यात्रापथ दिने प्रयास मैले गरेको छु । मेरो समालोचना पढ्नुभन्दा अगाडि त्यस कृतिका बारेमा आधारभूत जानकारी पाठकसँग हुनुपर्छ र त्यो हुने गर्दछ भन्ने विश्वासमा म मेरा समालोचनाकृति लेख्दछु ।

प्रयोग र परीक्षणको भिन्न पाटो भाषिक एवम् साहित्यिक आन्दोलन पनि हो । विश्वसाहित्यमा देखिएका साहित्यिक आन्दोलन र वादहरूले सम्बन्धित भाषा–साहित्यको विकासमा विशेष छाप छोड्न सकेको देखिन्छ । नेपाली साहित्यमा पनि हलन्त वहिस्कार आन्दोलनदेखि सडक कविता क्रान्ति हुँदै छन्द जागरण अभियानसम्म त्योभन्दा पछि पनि अनेक आन्दोलन भएका छन् । कतिपय आन्दोलनहरू अनामरूपमै पनि स्थापित छन् । यिनको प्रभावलाई यहाँले कसरी हेरिरहनुभएको छ ?
नयाँ प्रतिभाले नयाँ सम्भावना दिन्छन् । नयाँनयाँ हलचल साहित्यमा भइराख्छ । नाम दिएर वा नदिएर दुवै ढङ्गले साहित्यिक आन्दोलन भएका छन्, साहित्यिक वाद चलेका छन् । लेखनाथ, सम, देवकोटा आदिले नाम नदिइकनै नव साहित्यिक आन्दोलन गरे । तेस्रो आयाम, तरलतावाद आदि घोषित आन्दोलन हुन् । त्यसपछिका कतिपय आन्दोलन घोषित रूपमै अगाडि बढिरहेका छन् । हरेक विशिष्ट प्रतिभाले नयाँ पन दिएका छन् । त्यसैले नयाँ काम हुन्छ भने घोषित रूपमा भन्नु र नभन्नुबीच धेरै फरक छैन । घोषणा र खास सृजनबीच तालमेल हुन्छ नै भन्न पनि सकिदैन । त्यस युगमा सबैको सृजनकार्य त्यस्तै हुनुपर्छ भन्न पनि गाह्रो छ । आन्दोलन सामूहिक हुन्छ लेखन व्यक्तिगत, त्यसैले घोषित सूत्र लेखकहरूका बीच बाझ्न पनि सक्छ । आन्दोलन भन्ने र नभन्ने दुवै थरीले साहित्यपथलाई नवीन मोड दिन्छन् भने त्यो स्वागतयोग्य कुरा हो । मूल कुरा चाहिँ सिर्जनासूत्र वा सिर्जना नै हो ।

यहाँको समीक्षाको भाषाका सम्बन्धमा केही कुरा भइसकेको छ । यहाँका समीक्षाहरूमा नेपाली समीक्षाको भाषाका मानक हुन सक्छन् । वास्तवमा नेपाली समीक्षाको भाषा केकसरी विकास हुँदै आएको छ ? त्यसमा यहाँको नवस्थापना पनि थाहा पाउने गरी म पुनः जिज्ञासु रहेँ ।
नेपाली समीक्षा–समालोचनाको भाषाको केही बनिसकेको छ र केही अझै निर्माणाधीन छ । खास गरी मोतीराम भट्टदेखि सूर्यविक्रम ज्ञवालीका युगसम्ममा नेपाली समालोचनाले क्रमशः एक प्रारम्भिक डोरेटो कोर्‍यो । सूक्ष्म दृष्टिले हेर्दा रामकृष्ण शर्माले नेपाली समालोचनाको निम्ति एक त्यस्तो तार्किक र शिष्ट शैली क्रमशः विकसित गरे जसमा विश्लेषणका शूक्ष्मता र मूल्याङ्कनको गहिराइ अट्नु सम्भव हुन पुग्यो । सूर्यविक्रम ज्ञवालीको साहित्यिक पारख र गुण दर्शनप्रधान समालोचनाका पूरकका रूपमा तार्किक र खरो दोषदर्शनप्रधान समालोचनालाई हुर्काउने क्रममा नेपाली समालोचनाको भाषा–शैलीलाई रामकृष्ण शर्माले नव आयाम दिए । समालोचनाशैलीको खोजमा रामकृष्ण शर्मा, बाबुराम आचार्य, रत्वध्वज जोशी, हृदयचन्द्रसिंह प्रधान, डा. ईश्वर बराल, बालचन्द्र शर्मा, कृष्णचन्द्रसिंह प्रधान, बालकृष्ण पारेखरेल, तानासर्मा, इन्द्रबहादुर राई आदि अनेक अग्रजका प्रयास र तिनका शक्ति र सीमा दुवैबाट पनि मैले आफ्ना ढङ्गले केही सिकेको छु । नेपाली समालोचनाले २०२० को दशक लाग्दा–नलाग्दै विश्वलेषणात्मक गहिराइ र वस्तुगत मूल्याङ्कनका खोजका क्रममा समालोचनात्मक भाषाशैलीका क्षेत्रमा अरू केही थप अभिलक्षण हुनुपर्ने अनुभव भयो ।

पारिभाषिक शब्द र वाक्यगठनका ढाँचाका साथै सघन अभिव्यक्तिका क्रममा वस्तुता, विचार, विश्लेषण, तर्क र मूल्यनिर्णयका गम्भीर स्थापनालाई वहन गर्ने सक्षम भाषाशैलीका खोजका क्रममा अन्य समकालीन समालोचकहरूले झँै मैले पनि प्रयास गरेँ ।

यहाँले यहाँ थुप्रै आफ्ना अग्रजको नाम लिनुभयो । यहाँले अर्को कुनै अन्तर्वार्तामा आफ्नो समीक्षाको भषाको प्रभाव पक्षका बारेमा बोल्दा अङ्ग्रेजी समालोचनाको प्रभावका विषयमा पनि बोल्नु भएको जस्तो लाग्छ । यस विषयमा पनि म जिज्ञासु रहेँ।
मेरो समालोचनात्मक भाषाशैली खास गरी ईशाको उन्नाइसौँ शताब्दी र बीसौँ शताब्दीको पूर्वार्धका अङ्ग्रेजी समालोचनाबाट बढी प्रेरित थियो नै । मुख्यतः सूक्ष्म विश्लेषणका पारिभाषिक शब्दावली र सघन विचार प्रक्षेपणका अपेक्षाले मेरो समालोचनात्मक भाषाशैलीलाई उत्प्रेरित गर्‍यो । यस क्रममा संस्कृत व्याकरण र साहित्यशास्त्रका अध्ययनका साथै हिन्दी समालोचनासँगको प्राथमिक परिचयले पारिभाषिक शब्द चुन्न मलाई प्रेरित गर्‍यो भने संस्कृत तत्सम शब्दको निकै प्रयोग मेरा गम्भीर प्रकृतिका समालोचनामा भित्रिन पुग्यो । पछि क्रमशः मैले आफ्नै मौलिक शैली निर्माणलाई महत्त्व दिएँ ।

समीक्षामा रागात्मक भषा भन्दा पनि स्तुगत तथ्यसँग विश्लेषण र मूल्यनिर्णयको उत्प्रेरक बुद्धि तथा तर्कको अन्तक्र्रियाको प्राधान्य हुन्छ भनिन्छ र सोही अनुसारको अभ्यास गरिन्छ । रागात्मक भषालाई समीक्षकले प्रयोगै नगरेका पनि होइनन् । यसबारे केही जानकारी पाऊँ न ।
समालोचनामा वस्तुगत तथ्यसँग विश्लेषण र मूल्यनिर्णयको उत्प्रेरक बुद्धि तथा तर्कको अन्तक्र्रियाको प्राधान्य हुन्छ; भावनाले मात्र रङ्गाएर भन्दा वा केवल सतहगत वर्णन विवरण दिँदा भाषा जति मिठो र सजिलो रहे पनि समालोचनाका गहिराइमा त्यत्ति भाषाले पुग्दो रहेनछ । अझ २०३० सालको दशकदेखि नेपाली साहित्यको शोधपरक समालोचना केही पल्पवितपुष्पित हुन लागेको क्रममा गहिरिँदो शोध र समालोचनाको अपेक्षाले समालोचनात्मक भाषाशैलीमा पनि अरू सूक्ष्ममता र प्राविधिकताका साथै गहन विचार–चिन्तनप्रक्रियाको छाप पर्न लाग्यो । उपर्युक्त दुवै सन्दर्भमा मैले पनि नेपाली समालोचनाका निम्ति समर्थ भाषाशैलीको खोज, प्रयोग र छानबिन गर्दै आएको छु । २०१६ सालदेखि यता एक प्रारम्भिक दशक र त्यपछिका डेढ दशकमा आफ्नो समालोचनात्मक भाषाशैली पहिल्याउन र त्यसलाई खार्न एवम् माझ्न मैले प्रयास निकै गरेँ तर त्यो प्रयास के कति सार्थक रह्यो वा रहेन त्यो भोलिको पुस्ताले भन्ने नै छ । समालोचनात्मक र शोधपरक वस्तुता र शूक्ष्मताको वाहक भाषाका खोजका यस क्रममा डा. केशवप्रसाद उपाध्याय, ठाकुुरप्रसाद पराजुली, मोहनराज शर्मा, डा. दयाराम श्रेष्ठ, डा. कुमारकुमारबहादुर जोशी, महादेव अवस्थी आदिका सचेत प्रयाससँग पनि म परिचित छु ।

समालोचनाका प्राथमिक उठानमा विवरण, भावुक, रङ र मोटामोटी विचार–प्रस्तुतिले काम चल्छ तर समालोचनाले लिनैपर्ने शूक्ष्म र सघन विश्लेषण–विवेचनाको गरिशील आयामका सन्दर्भमा प्रत्येक पुस्ताले समालोचना–भाषाको सामथ्र्य–विस्तार र परिष्कार गर्दै नै जानुपर्छ । यस क्रममा नव–नव पारिभाषिक शब्द र प्रस्तुतिप्रक्रिया चाहिने नै गर्दछ । समालोचनाका यस खोजक्रमका हाराहारीमा कविताका भाषाशैलीमा पनि मेरो अन्तर्विकासक्रमको आफ्नै प्रसङ्ग छ; त्यसको चर्चा यहाँ त्यति प्रासङ्गिक ठान्दिनँ ।

यहाँले आफ्ना समीक्षा परम्परामा समीक्षाको भषा खोजीको प्रयास वा आवश्यकता हकिलेबाट महसुस गर्नुभयो र प्रयोग गर्न थाल्नुभयो ?
मोटामोटीमा २०१६–२०३० को एक दशक वा ‘सिंहावलोकन’, ‘विचरण’, र ‘पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्पराको लेखन प्रकाशनको काल मेरो समालोचनात्मक भाषाशैलीको खोज र प्रयोगकै श्रृङ्खला हो र त्यसपछिको अर्धदशक त्यस शैलीको छानबिन र परिमार्जनतर्फको सचेतताको चरण हो;यिनै दुई चरणका साँधमा ‘कविशिरोमणि लेखनाथ पौड्यालको विश्लेषण र मूल्याङ्कन’ शोध समालोचना ग्रन्थ पर्दछ । २०३६–४६ को यो हाल २०५४ पछिल्लो दशक मेरो समालोचनात्मक भाषाशैलीले परिष्कृतिको क्रमिक प्रयास गरिरहेको र केही थप प्राप्ति पनि गरिरहेको अवधि हो जस्तो लाग्छ ।

यहाँका पछिल्लो चरणका समीक्षा कृतिहरू छरिएर रहेका छन् । तिनको सङ्कलन सम्पादनममा किन रुचि रहेन ? प्रकाशकै नभेटिएको त होइन होला ? म जिज्ञासु रहेँ ।
यस चरणका समालोचना–कृति प्रायः छरिएर रहेका छन् र तिनको सङ्कलन ग्रन्थाकारमा गर्न बाँकी नै छ । एकातिर उपयुक्त र विश्वासिलो प्रकाशकको पनि अभाव रह्यो अर्कातिर बनाउँला, सुधारुँला, विधाअनुरूपका कृति बनाउँला भन्दा भन्दै धेरै छरिइरहेका छन् ।

जिज्ञासा ? यहाँलाई आफ्ना समीक्षामा कानुनी लेखनको प्रभाव कतिको परेको छ भन्ने लाग्छ?

मेरो समीक्षाको भाषाशैलीगत अन्तर्विकासका यात्रामा उत्कृष्ट नेपाली कानुनी लेखनमा उपलब्ध तथ्यनिष्ठता र विचार–विश्लेषणको र निर्णयको शूक्ष्मताको बाहक सामथ्र्यलाई समालोचनाका अपेक्षाअनुरूप संयोजित गरी अलि बेग्लै ढङ्गले प्रयोग गर्ने प्रयास गरेको छु । मैले त्यस्तो प्रयाससँगै देवकोटा र बालकृष्ण समका गद्य ढाँचाबाट पनि समालोचनाको अपेक्षाअनुरूप मैले केही सिक्न खोजेको छु । यी सबै प्रेरणाको समष्टि प्रयोजनचाँहि अङ्ग्रेजी र संस्कृत समालोचनाका उत्कृष्ट अंशका वस्तुनिष्ठ शूक्ष्मताको मेरो मानक प्राप्ति–शिखरतर्फ मौलिक यात्रा हो । समालोचनाकार्यको अपेक्षाअनुरूपको शैलीको खोज, प्रयोग, छानबिन, सुधार केही प्राप्तितर्फको निरन्तर अुष्ठानक्रम नै हो ।

एउटा प्रश्न शब्दकोशसँग जोडूँ जस्तो लाग्यो । नेपाली साहित्य सिर्जनामा आगन्तुक शब्दहरू बढीनै प्रयोग हुन थालेका छन् । यहाँको विशेष (प्रमुख) सम्पादनमा निस्किएको नेपाली वृहत शब्दकोशमै पनि आगन्तुक शब्द र त्यसमा पनि हिन्दी शब्द बढी समेटिए भने गुनासो गर्ने विद्वानहरू पनि थिए । खासमा आगन्तुक शब्दको साहित्यिक एवम् शब्दकोशीय प्रविष्टी विधि के हो ?
नेपाली र हिन्दी अलग भाषा हुन् । नेपाली लेखनमा हिन्दी शब्द वा अन्य कुनै भाषाका शब्द अनपेक्षित नै हुन् । संस्कृतका साझा तत्सम शब्दमा पनि हिन्दी गन्ध सुँघ्ने प्रवृत्ति ठिक होइन । खास हिन्दी शब्दचाँहि पगेल्नु नै पर्छ । कुनै पनि भाषाका शब्दभण्डारमा आगन्तुक शब्द नहुने होइनन् र बाहिरबाट आई त्यस भाषाका बोलचाल र लेखनमा निकै प्रवेश गरेका आगन्तुक शब्द चलनचल्तीमा छन् भने शब्दकोशमा तिनले ठाउँ पाउन सक्छन् । तर साहित्यकारले कुनै भाषामा चलनचल्तीमा रहेका शब्दमध्ये पनि बढी चनाखो भई आफ्ना शब्दको चयन गर्नुपर्दछ । आगन्तुक शब्दमध्ये पचिसकेका शब्दको परेज गर्नुचाहिँ मिथ्या पाण्डित्यको दम्भ हुन्छ; अदालत र अस्पताल शब्द आ–आफ्ना पाराले पचेका छन् । ‘दिल’ आगन्तुक शब्द को तर दिललाई Çयाँकी नै दिई मन दुखाउने पक्षमा म छैन । कुनै पनि जाति र समाजमा नयाँ वस्तु, संस्कार र धारणाको प्रवेश हुँदा आगन्तुक शब्द बढी भित्रिन्छन्; पारिभाषिक–प्राविधिक शब्दको रूपान्तरण र स्तरीकरणको प्रक्रिया सुल्यवस्थित नहुँदा पनि छोडे हुनेजति आगन्तुक शब्द पनि हामीले छोड्न नसकेको अवस्था छँदै छ । आफ्नै शब्दभण्डारले पुगुन्जेल पराईबाट ऐचोपैँचो नलिनु नै राम्रो हुन्छ । शब्दकोशमा शब्दले प्रविष्टि पाउने–नपाउने एक कुरा हो; त्यसका आफ्ना मान्यता र मानक सन्दर्भअनुसार ती निर्धारित हुन्छन् । लेखकले पुगेसम्म उद्धृत पात्रकथनमा बाहेक आफ्ना भाषाका चोखा शब्दलाई नै प्राथमिकता दिनुपर्दछ ।

भाषाकै सन्दर्भमा अर्को जिज्ञासा यहाँले त्रि.वि. साझा प्रकाशन, नेपाल प्रज्ञा–प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र जस्ता विभिन्न संस्थामा संलग्न भएर काम गर्नुभयो । आज यी संस्थाबिच नेपाली लेखनको वर्णविन्यासमा एकरूपता देखिँदैन यस सन्दर्भमा यहाँको जानकारी र दृष्टिकोण के कस्तो रहेको छ ?
नेपाली व्याकरणको निर्माणतर्फ नेपाली विद्वान्हरूले ध्यान दिन थालेपछि लेख्य वर्णविन्यासको स्तरीकरण वा मानीकरणको क्रम पनि थालियो । प्रथमत हलन्तबहिष्कार आन्दोलन देखा पर्‍यो र पछि समन्वयमार्गी हेमराज शर्मा, सोमनाथ शर्माका व्याकरणग्रन्थले मान्यता पाउन लागे । खास गरी नेपाली भाषा प्रकाशिनी समितिका प्रयासबाट लेख्य र मुद्रण क्षेत्रमा मानक–वर्णविन्यासको प्रचलन गराउने निकै उल्लेखनीय प्रयास भयो । समितिको नेपाली भाषा कसरी शुद्ध लेख्ने ? भन्ने सानो पुस्तिका लोकप्रिय रह्यो; सबाइका रूपमा पनि ह्रस्व–दीर्घको विधान देखा पर्‍यो । खास गरी शिक्षाक्षेत्रमा वर्णविन्यासको शुद्धतातर्फ प्रयास भएपछि नयाँ पुस्ताका लेखनमा केही सुधार आयो तर शिक्षाको प्रक्रिया वर्णविन्यास शुद्धताका दृष्टिले अर्धसफल मात्र रह्यो । नेपाली लेख्य वर्णविन्यासका मानक स्वरूपका दृष्टिले अधिकांश सक्षम लेखक, नेपाली विषय–शिक्षक र अरू जानिफकारहरूका लेखाइमा क्रमशः एकरूपता बढ्दै आयो र एक प्रकारको शिष्ट परम्परा विगत ७५ वर्षमा क्रमशः बस्दै आएको छ । प्रयोगका केही भूलचूक, अनिर्णयका केही स्थल र विकल्पका केही स्थिति अनि कतिपय वैयक्तिक आग्रह, सुधा–प्रस्ताव रहे पनि नेपाली लेख्य वर्णविन्यासको आधारभूत स्वरूप स्थापित भइसकेकै छ । त्यसको अनुसरण प्रकाशन, छापाखाना, पत्रकारिता, शिक्षण संस्था, लेखक समुदाय, प्राज्ञिक संस्था र शिक्षित व्यक्तिहरू र अरू सार्वजनिक क्षेत्रले अझ बढी चनाखो भई गर्ने आवश्यकता छँदै छ । केही वर्षयता त्रिभुवन विश्वविद्यालयले संस्कृत तत्सम शब्दलाई यथावत् लेखी नेपालीमा यसका आगन्तुक शब्दको लेख्य वर्णविन्यास नेपाली (तद्भव) शब्दअनुरूप नै गर्ने सुधारात्मक प्रचलन लागू गरेको छ । नेपाली राजकीय प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोशले आगन्तुक शब्दलाई तत्–तत् भाषाअनुरूप नै लेख्ने र नेपालीकरण गर्ने दुवै विकल्पलाई मान्यता प्रदान गरेको छ । आगन्तुक शब्दको लेखनको नेपालीकरण दूरगामी रूपमा उपयुक्त र लाभदायी सुधार नै ठहर्छ; पुरानै बानीमा लेख्न पनि वैकल्पिक छुट छँदै छ ।

यहाँले सहज कुरा गर्नुभयो । यहाँले मेरो जिज्ञासाको बौद्धिक शमनको प्रयास गरिरहनुभए जस्तो लाग्यो । म अलि प्रष्ट जवाफ मागिरहेको छु : अहिले यहाँले नेतृत्व गरेका र काम गरेका संस्थाहरूकै बिचको वर्णविन्यासमा पनि एकरूपता आउन सकिरहेको छैन नि त ?
लेख्य वर्णविन्यासका दृष्टिले देखापरेका अनिर्णीत स्थल, वैकल्पिक स्थिति र मतभेदका बुँदाबारे सम्बद्ध प्रमुख संस्था र अधिकाधिक विद्वान् र प्रयोगकर्ताहरूका बीच छलफल भई व्यापक सहमतितर्फ प्रयास हुनु वाञ्छनीय नै रहेको छ । यस क्रममा वैयक्तिक कमजोरी वा भूलचूकको वा आग्रहको अंशलाई पनि अनिर्णीत स्थल ठान्नुचाँहि शोभनीय होइन । नेपाली लेख्य वर्णविन्याससंहिता तयार गरी वितरित गर्ने र संबद्ध प्रयोगक्षेत्रमा भाषाशुद्धिको लागि विशेष जिम्मेवार निकाय र कार्यकर्तालाई समयसमयमा प्रशिक्षण प्रदान गर्ने चाँजो–पाँजोको कमी भने छँदै छ । नेपाली भाषाको शिक्षाको प्रक्रिया अर्धसफल–अर्धविफल रहेबाट नेपाली लेख्य वर्णविन्यासका शुद्ध प्रयोग र एकरूपताका निम्ति थप प्रयास वाञ्छनीय छन् । त्यसो त भाषाशुद्धिका निम्ति केवल औपचारिक शिक्षा मात्र पर्याप्त हुनु सम्भव छैन नै; व्यक्ति शिक्षक–शिक्षिका स्वयम् योग्य भई प्राथमिक कक्षादेखि नै भाषा शुद्धिका निम्ति छात्र–छात्राको लेखन बानीको पर्याप्त निरीक्षण र संशोधन गर्ने आदर्श शिक्षको स्वप्नचाँहि राम्रो हो नै । तर शैक्षिक स्थिति र विद्यार्थी सङ्ख्याका गणितले साथ नदिई स्वयम् शिक्षा नै भाषाशुद्धिका निम्ति पर्याप्त हुने अवस्था आउन अप्ठयारै छ; त्यसैले शिक्षापट्टिको थप प्रशिक्षण वा आत्मशिक्षणको क्रम अपेक्षित छँदै छ ।

गुरु म भाषासम्बन्धी कुरा गर्दागर्दै केही फरक जिज्ञासा अगाडि सारू । यहाँले समसामयिक साहित्यका प्राय सबै विधाका कृतिहरू रुचिपूर्वक पढिरहनुभएको हुन्छ । समसामयिक सिर्जनामा कुन विधाका सिर्जनासँग बढी सन्तुष्ट हुनुहुन्छ ?
तुलनात्मक रूपमा आजको कविताले जति ध्यानाकर्षण अरू विधाले गरिसकेको देखिन्न । राम्रा कथाहरू पनि लेखिएका छन् र राम्रा लघु नाटक वा नाटक मञ्चित भएका पनि छन् । सबै विधाका सामयिक सङ्ग्रहहरू भइराख्ने गरेमा यस्तो तुलनात्मक निष्कर्ष निकाल्न बढी सहयोग पुग्दछ । जे होस्; सबै विधाका समसामयिक लेखकमध्ये केहीले आफ्नो निजत्वको राम्रो परिचय दिएका छन् र यी विधाप्रति सचेत र संवेदनशील पाठकहरूको (दर्शकहरूको पनि) ध्यान जान थालेको छ ।

यहाँले आफ्ना हरेक समीक्षा र शोधकार्यहरूमा मूल्य निर्णयको बाटो रोजेको देखिन्छ ? यहाँका समीक्षा र भूमिकाहरूमा पनि तुलना, प्रतितुलना हुँदै मूल्य निर्णय दिइएको पाइन्छ । मूल्य निर्णयका लागि समीक्षा पद्धतिहरू आफैमा चाहिँ कतिको सहयोगी बन्न सक्छन् ? या भनूँ यहाँको मूल्य निर्णयको धरातलबारे जिज्ञासा राखेँ ।
लेखकका कृतिको मूल्यनिरूपण गर्न खोज्दा अँगाली अँगाली समालोचना पद्धतिहरूमध्ये केही पद्धति व्याख्या विश्लेषण गर्न सक्षम छन् तर मूल्यनिर्णय गर्न सक्षम छैनन् । सही मूल्यनिर्णय गर्न साहित्यप्रतिको ग्रहणशीलता, मूल्यस्तरलाई निरूपण गर्नसक्ने क्षमता र तोक्न सक्ने दक्षता एवम् अचुक पारख चाहिन्छ । कृतिको मूल्यनिरूपण ऐतिहासिक विधागत विकासका सापेक्षतामा र स्वयम् कृतिगत गुणस्तरको सन्दर्भमा पनि गर्न सकिन्छ । कुनै कृतिको मूल्यनिर्णय गर्दा त्यसको गुण र दोष दुबै पक्षको लेखाजोखा गर्नु आवश्यक छ । समालोचकमा सबै प्रकारका कृतिलाई पूर्वाग्रहविना ग्रहण गर्न सक्ने क्षमता चाहिन्छ । जस्तो एक समालोचकले कुनै युग र प्रवृत्तिका लेखकलाई मन पराई अर्काथरी लेखकलाई विलकुलै मन नपराउने किसिमको सीमित रूचिको बन्दी हुनु राम्रो होइन । समालोचकले भानुभक्त, सोमनाथ, मोहन कोइराला, मोतीराम, देवकोटा भूपि, दिनेश अधिकारी आदि सबैथरी कवि र कवितालाई ग्रहण गर्न सक्नु पर्‍यो । यसरी निर्णयात्मक प्रवृत्तिलाई मैले प्रयोग गरेको छु । यदि मूल्यनिर्णय गर्दा कुनै लेखकलाई अपमान गर्ने र वाण हान्ने प्रवृत्ति समालोचनामा भएमा त्यो चिरस्थायी समालोचना नभई व्यक्ति प्रयोजनमा सीमित हुन्छ, त्यो स्थायी महत्त्वको समालोचना हुँदैन ।

मूल्यनिर्णंयमा धेरै समीक्षकहरूले हात कमाइराखेको देखिन्छ । मूल्य निर्णय सामथ्र्य विकासको मूल सूत्र के हुन सक्छ ?

लेखकको कृतिगत प्राप्तिलाई कमबेसी नगरी ठीक ढङ्गले त्यसको मूल्य बताउने र कृतिका कमजोरीलाई शिष्ट भाषामा औल्याउने अनि जीवित लेखक भएमा सुधारात्मक सुझाउ र सङ्केत दिने अनि कुनै लेखक दिवङ्गत भएमा त्यस्तो गल्ती नगर्न आगामी पुस्तालाई सचेत तुल्याउनु नै मेरो समालोचकीय मूल धर्म रहेको छ । एउटा सानो भूमिकामा पनि त्यस लेखकको कृतिगत शक्तिसीमाको सङ्केत गरी मैले मूल्य निर्णय गर्ने गरेको छु । यसको सूत्र त सम्बन्धित कृति र अन्य कृतिसँगको तुलना प्रतितुलना र कउतिकै गहन पठन पुनः पठन नै हो।

गुरु ! एउटा जिज्ञासा यहाँका समीक्षक र सर्जक वा स्रष्टा र द्रष्टा व्यक्तित्वसँग जोडूँ जस्तो लाग्यो । यहाँले आफूलाई समीक्षकका रूपमा स्थापित त गर्नुभयो नै तर त्योभन्दा बढी कविका रूपमा लेखिरहनुभएको र प्रतिष्ठित पनि हुनुहुन्छ । यहाँलाई समीक्षक मात्र भन्दा सर्जकका रूपमा पनि आफ्नो मूल्याङ्कन होस् भन्ने लागिरहेको छ भन्ने पक्ष पछिल्लपो समय प्रकाशित सिर्जनात्मक कृतिहरूले देखाउँछन् । यद्यपि पाठकहरू भने यहाँलाई एक सशक्त एवम् वरिष्ट समालोचकका रूपमा चिन्छन् । यस चिनाइलाई यहाँले समर्थन वा खण्डन गर्नुपर्दा ?
कविता मेरो अन्तर्तम रुचिको सृजनात्मक विधा हो, कवितासँगको मेरो अनुराग लगभग ६०– ६५ वर्ष पुरानो हो । यस आधारमा तपाईँको जिज्ञासा सही छ । मैले कहिले संस्कृत, कहिले अङ्ग्रेजी र कहिले नेपाली भाषालाई केन्द्र बनाई सिर्जना गरेको दुई दशकको अध्ययनक्रमपछि नेपाली साहित्यमा बढी केन्द्रित रही गरेको गरेको ४० वर्षको प्राध्यापन र थप स्वाध्ययनको परिणतिस्वरूप बौद्धिक लेखनको श्रृङ्खला हो मेरा निम्ति समालोचना । मैले समालोचना लेख्न र छपाउन थालेकै पनि निकै दशक भइसकेको छ । यस स्थितिमा समालोचना पनि मेरो साहित्यसम्बन्धी बौद्धिक चेतको लामो साधनाको क्षेत्र रहेको छ । समय प्रवाहमा मेरो प्रारम्भिक युवावस्थामा मैले कविताको स्वस्फूर्त उपासना गरेँ र त्यसमा बैँसका उत्तरार्धमा पनि त्यत्तिकै निरन्तर रूपमा संलग्न भइराख्न सकेको भए बेस हुन्थ्यो भन्ने मलाई पनि लाग्दछ । अपेक्षाकृत मुक्त प्रारम्भिक युवावस्थाका तुलनामा प्राध्यापन पेसा र घरगृहस्थीमा प्रवेश गरेपछि पनि त्यही सृजनात्मक वेग कायम रहिरान्खुपर्थ्यो भन्ने आग्रहचाँहि म गर्दिन ।

प्राध्यापन कार्य र संस्थागत शैक्षिक प्राज्ञिक दायित्वबोधले पनि मलाई नेपाली साहित्यको समीक्षा र अनुसन्धानकार्यतर्फ निकै वर्ष बढी नै व्यस्त राख्यो; म नेपाली विषयमा नेपाली साहित्यका क्षेत्रमा पिएच.डी. उपाधि प्राप्त गर्ने प्रथम व्यक्ति हुन पुगेछु । मैले समालोचनालाई मेरा फुर्सतका घडीमध्ये बढी अंश जतिखेर पनि सके त्यो सार्थक नै रह्यो भन्ने ठान्दछु । संस्थागत कार्य र वैयक्तिक लेखनका माध्यमबाट मैले गर्न सकेको नेपाली भाषा र साहित्य सेवा सबैसमक्ष छँदै छ । मैले चालिसे उमेर पार गरेपछि पुनः कवितलाई अलि बढी समय दिने प्रयास गरेको छु । यदि मैले विश्वविद्यायलमा प्रवेश नगरेको भए संभवतः समालोचना गौण रही कविता नै मेरो मुख्य आराधनाकेन्द्र हुन्थ्यो होला भन्ने लाग्छ, यस आधारमा तपाईँको जिज्ञासा पनि स्वाभाविकै हो ।

यहाँको यस दृष्टिकोणसँग नेपाली समाज पनि सहमत छ । एक किसिम समीक्षा प्राध्यापकहरूकै पेवा विधा हो पनि भन्ने गरिन्छ । पेसासँग जोडिएको यो विधा प्रत्येक समीक्षकका पेसा र व्यवहारिक तापचापले कमजोर भएको त होइन ? यो प्रश्न यहाँको सिर्जना र समीक्षा केन्द्रित नभई आम साहित्यिक जिज्ञासाका रूपमा राखिरहेको छु ।
बुझेँ । हाम्रो जस्तो विकासोन्मुख सामाजिक सन्दर्भमा प्रारम्भिक युवावस्थामा जति सृजनशील प्रतिभा देखा पर्छन् ती सबै पेसा र घरगृहस्थीको बोझ थाम्न थालेपछि पनि पहिलेकै वेग र अनुपातमा लेखन गर्दै रहन्छन् भन्ने कुरा म उति पत्याउँदिँन । तर प्रायः ४०–५० वर्षका उमेरतिर पुगेपछि त्यो भन्दा माथि निवृत्त जीवनमा पुगेपछि पेसा र घरगृहस्थीको चाप–चुनौती अलि मत्थर हुन लागी फुर्सतका क्षण बढ्न लागेपछि तिनै बीचमा मत्थर रहेजस्ता लाग्ने साहित्यकारहरूमध्ये केही पुनः सृजनात्मक परिपक्वतासहित देखापरेका पनि पाइन्छन् । यस्तै एक उदाहरण धनुषचन्द्र गौतम–ध.च.गौतमे) पनि हुनुहुन्छ; । नेपाली उपन्यासफाँट उहाँबाट निकै नै लाभान्वित छ । मैले पनि कवितालाई केही वर्षयता समालोचना भन्दा कम समय नदिने बरु अलिकति बढी नै दिने चेष्टा गरेको छु । कुनै लेखक सदा–सर्वदा एउटै विधामा मात्र प्रतिबद्ध रहनुपर्छ भन्ने म ठान्दिनँ । विविध प्रकारका लेख्य विधाका बीचका आधारभूत निकटता र भिन्नता तथा विधाका शक्ति र सीमा एवम् परिधि थाहा भइसकेपछि जुन विधामा यात्रा गर्दा पनि हुन्छ । म मेरा निबन्धहरू लिएर आउन बाँकी नै छ ।

यसै सिलसिलामा समीक्षकका व्यावहारिक समस्याका सम्बन्धमा म जिज्ञासु रहेँ ? एउटा समीक्षकका व्यवहारिक समस्याहरू के कस्ता रहन्छन् ?
जीवित लेखकका बारेमा लेख्नु अलि कठिन नै छ र नलेखी पनि धर छैन । मैले नितान्त औपचारिक भूमिका लेख्ने बाटो समातिनँ; समालोचनामूलक भूमिका लेख्ने गरेँ । जीवित लेखकको समालोचनाको भार म अहिले पनि बोकिरहेकै छु । विभिन्न संस्था र पत्रिकाका विशेष अङ्कका आफ्ना माग हुन्छन्; नलेखी टार्न वा हार्न नसक्दा ती मागका पूर्तिका निम्ति आफूले चाहेको र नचाहेको अथवा पूरै नयाँ सामग्री सङ्कलन गर्नुपर्ने क्षेत्रमा पनि तोकिएको म्याद बाँधिएको र तोकिएको फाँटमा लेख्नु अर्को प्रकारको बाध्यता हुने गर्दछ । समालोचनाका निम्ति समालोच्य सामग्री चाहिन्छ ती सबै सामग्री एउटै व्यक्ति (समालोचक) ले खरिद र सङग्रह गर्न कठिन छ । मेरो आफ्नै विगत छ दशकको पुस्तक र पत्रिकाको संग्रहले निकै काम दिएको छ तर त्यसको सम्भार र सम्बर्धन आफै एक समस्या हुन लाग्दै छ । ठाउँ, दराज र क्याटालग–कार्ड (श्रेणीकरण) मेरा बुताभित्र हुन छोड्दै छ । पुस्तकालय गएर सामग्री सङ्कलन गर्न पनि त्यति सजिलो छैन । जे जति पुस्तकालय सुविधा उपलब्ध छन् तिनबाट मलाई वा अरूलाई पनि चाहिने जति समालेच्य सामग्री पुग्ने गरी प्राप्त हुने स्थिति छैन । मदन पुरस्कार पुस्तकालय समालोच्य साहित्यिक सामग्रीका दृष्टिले सबभन्दा बढी सङ्कलनयुक्त छ; तर त्यो पनि म भन्दा टाढा छ । बढी प्रयोग गर्नुपर्ने समालोच्य सामग्रीको फोटो प्रतिलिपि उतार्नु म जस्तो र अरू पनि साधारण आर्थिक हैसियतका समालोचकका निम्ति व्ययका दृष्टिले साध्य रहेन । यी अनेक सीमाका बीच आफ्ना बिहानबेलुकाका फुर्सतका घडी र बिदाका दिन समालोचनाको तयारी र लेखनका निम्ति खर्च गर्दै म अगाडि बढेँ । समालोचक वा गम्भीर लेखकले आफ्नो भोक निन्द्रा मिच्नै पर्छ । समालोचना समयसाध्य लेखन हो नै । लेखिसकेपछि साफी गर्नु र प्रतिलिपि उतार्नु उत्तिकै झन्झटलाग्दो छ; टङ्कन गराउने काम उत्तिकै व्यवसाध्य छ । यस स्थितिमा एउटा फुटकर समालोचना कृति पूरा गर्न कम्तीमा मलाई दुई हप्ताजतिको समय लाग्छ ।

यहाँले भनेका कतिपय समस्या मेरा जीवनमा पनि ठोकिइरहेका छन् । यहाँ अहिले पनि एउटा समालोचनाका लागि दुई हप्ता लाग्छ भन्नुहुन्छ पहिला पेसागत जिम्मेवारीका बिच कसरी समय निकाल्नुहुन्थ्यो ?
त्यसको समस्या भनिसध्य छैन । ती दुई हप्ताबीचका बिहानबेलुका वा बिदाका दिनमा पेसागत काम, अन्य कुनै प्राज्ञिक दायित्व वा घर–व्यवहारको अपरिहार्य समय–चाप पर्‍यो भने महीनामा दुईवटा समालोचना कृति पूरा गर्न पनि रातका निन्द्रा चोर्नुपर्थ्यो । त्यसैले म प्रतिवर्ष लामा छोटा गरी सरदर १२–१५ वटा समालोचना कृति लेखिरहेको हुँदो रहेछु । नयाँ लेखनको चापले पहिले लेखेका समालोचनाकृतिको सङ्कलनका निम्ति अपेक्षित सामान्य संशोधन सम्पादनलाई छेकिदिने रहेछ । त्यो अवस्था अझै रहिरहेको छ ।

यहाँका फुटकर समीक्षाहरूको सङकलन गर्न सके कति जति कृति बन्लान् ?
मेरा २०२७ सालसम्मका समालोचनाकृति पुस्तकाकारमा सङ्कलित छन् भने त्यपछि सिङ्गै पुस्तकबाहेकका एक सयभन्दा बढी समालोचनाकृति अझै छरिएकै छन् । यस स्थितिमा कुनै नयाँ ग्रन्थ लेख्न लाग्दा २–३ वर्ष लाग्न जान्छ । यही नयाँ लेख्ने कि पुराना सङ्कलन गर्ने भन्ने छटपटीका बीचका समय–चापले गर्दा लामो बिदा फेला नपारी ग्रन्थ उति अगि बढ्दैन भन्ने मलाई लाग्थ्यो, त्यो बाध्यता पनि थियो । प्राध्यपन पेसाले मात्र जहानपरिवार पाल्न र पढाउन धौधौ पर्दा फुर्सत र बिदाको अधिकांश समय लगाएको समालोचनालेखनले खास सघाउने अवस्था अझै सृजित भएको छैन । मेरो समयको कुरा । तपाईँको प्रश्नअनुसार मेरा चालीस पचास अधिक कृति बन्न सक्छन् ।

यहाँले आफ्नो समयमा समीक्षा गर्दाका दुखका विषयमा बताउनुभयो । अहिलेको अवस्थालाई कसरी हेरिरहनुभएको छ ?
समालोचनाका निमित्त उपयुक्त अवस्था वातावरण अझै बन्न बाँकी छ; अपेक्षित संस्थागत पर्यावरण अझै पनि बन्न सकेको छैन । समालोचना सृजनाजस्तै एक सोख हो; साहित्यप्रतिको एक बौद्धिक चासो र चस्को पनि हो । साहित्यकारलाई कति अनुत्तरदायी समालोचकले सताएका पनि छन्; त्यस्तै समालोचकीय दायित्व र मर्यादामा अड्ने समालोचकले जीवित लेखकमध्ये कति मनोगत कारणले चिढिने र कुँडिने स्थितिको प्रत्यक्ष–अप्रत्यक्ष सामना गरी नै रहनुपर्दछ; समालोचना अलि अपजसे प्राज्ञिक लेखन होइन भन्न मिल्दैन । अझ समालोचकप्रतिका कसैका विद्वेषले कुनै पथभ्रष्ट साप्ताहिक पत्रिकाको आड लिई ताक्दै जाँदा समालोचक सहँदै रहोस् कि आफ्ना समालोचकीय शिष्टता र मर्यादालाई तिलाञ्जलि दिई हिलोमैलोको छ्यापाछ्यापमा भिडिन र संमिलित हुन पुगोस् । यिनै विभिन्न नकारात्मक परिस्थितिबीच निर्विकार साधना गर्दै गुणग्रही सयौँ पाठकहरूलाई ध्यानमा राखी समालोचनाको प्राज्ञिक दियालो प्रज्वलित तुल्याउँदै प्रबुद्ध उत्तरदायी समालोचक कर्मपथमा अडिग रहने गर्दछ र रहनु पनि पर्दछ । यो अवस्था अहिले पनि निर्माण भइसकेको छैन । मैले त सबै भोगेँ ।

आजको वार्तालाई यही समस्याका गौँडामा ल्याएर टुङ्ग्याऊँ जस्तो लाग्यो । यहाँलाई यसरी हप्तौको समय दिएर गहन विचार राखिदिनुभएकामा हार्दिक आभार चढाउँछु।
धन्यवाद । तपाईँलाई पनि धन्यवाद दिन्छु । यसलाई अझ परिमार्जन गरेर प्रकाशन गर्न पाए राम्रो हुन्थ्यो ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 167
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पारिजातसँग कुराकानी

January 15, 2023

नेपाली भाषामा ‘मिथिला माहात्म्य’

February 28, 2022

‘जिन्दगी किराना पसलजस्तो छरिएको छ’

September 24, 2021

‘लकडाउनको समयमा साहित्य लेख्न सकिएन’

September 20, 2021

‘बालसाहित्य मात्र होइन, समग्र साहित्य नै दयनीय अवस्थामा गुज्रिरहेको छ’

August 10, 2021

समकालीन नेपाली समालोचनाको प्रवृत्ति निकै घातक किसिमको देखापरेको छ : प्रा. सुवेदी

August 10, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.