मोहन सिटौला नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । उनको कलम बहुविध क्षेत्रमा सक्रिय छ । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । यहाँ उनको ‘महाकवि देवकोटाका केही नारी चरित्रहरूः एक चर्चा’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले देवकोटाका काव्यकृतिका नारी चरित्रका विषयमा प्रकाश पारेको छ।
-सम्पा.
पृष्ठभूमि
यो विश्वको प्राचीन पूर्व र पश्चिमका सिर्जनशील साहित्यिक संस्कृतिमाथि विहङ्गम दृष्टि लगाउँदा मात्र पनि त्यहाँ नारी चरित्रलाई विशिष्ट स्थान दिएको हामी पाउँर्छौं । प्राचीन हिन्दू मान्यतानुसार नारीलाई सृष्टिको आदि तत्त्व, सचेतक, अविभावक, संरक्षक मानिएको पाइन्छ । वैदिक परम्पराको विशेषतः धार्मिक युगमा नारीलाई दिव्य तत्वको रूपमा पूजिएको तथ्य नयाँ होइन । नारीको दिव्य तत्त्वका वहुविध रूप, चरित्र र नामको बर्णन गरिएको प्रशस्तै पाइएकै छ । यो पवित्र धार्मिक प्रचलन अहिलेसम्म पनि छोरी चेली र पञ्चकन्या आदि किसिमले तिहार, विवाह र अन्य चाडपर्वमा टीको लगाएर ढोगी दिने चलन पनि मर्यादित नै भएर आएको छ, हाम्रै परम्परामा ।
नारीका वहुविध रूप, चरित्र र नामका बर्णनहरू पश्चिमी परम्परामा पनि पाइन्छन् । त्यहाँ पनि साहित्य ,सङ्गीत, कला एवम् ज्ञान गरिमालाई उच्च र दिव्य स्थान दिएर नारी तत्वलाई नै उठाइएको छ ।
लाश्य नृत्यबाट निसृत हाम्रो नारी नृत्य परम्परा एकातिर स्वर्ग वा इन्द्रलोक भनी धार्मिक किसिमले मानिएको वा कल्पना गरिएको स्थानमा अप्सराका भूमिकाहरू हुँदै मानवको सामन्ति र अहिलेको आधुनिक सभ्यतामा पनि सुरा सुन्दरीका कृयाकलापहरूमा पनि व्याप्त नै छ । यसमा अझ विकृति आएर परपुरुष गमन (परस्त्री पनि), बलात्कारहरू आदिइत्यादि अप्रिय कर्मकाण्ड पनि चर्चित भइरहेकै छन् । यस्ता छुटफुट घटना प्राचीन युगमा पनि भएका र तिनीहरू सजायका भागी पनि भएका कथाहरू पढ्न पाइएकै छ । तिनीहरूलाई रोकथाम गर्न ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ भनी र पतिलाई देवतातुल्य मान्नु भनी नयाँ पारिवारिक सामाजिक नियम वा मान्यता पनि बसाइएको थियो ।
अर्कातिर यही परम्परा शालीन सङ्गीत र कला अनि सिने साम्राज्यमा सम्मानित किसिमले फैलिएकै पनि छ । यो प्रवाहले विद्या अथवा उच्च ज्ञान—विज्ञानको गरिमाको दिव्य स्तरलाई पनि लक्ष गर्दै मानसिक, चारित्रिक उन्नयनतिर उन्मुख गरिएको अति कल्याणकारी चिन्तन र प्रचलन पनि चलेरै आएको छ ।
पूर्व—पश्चिमका सिर्जनशील साहित्यमा केही नारीहरू
रामायणमा सीतालाई विशुद्ध भावनात्मक अञ्जान गल्तीकी दुखभागी अवला अनि अर्कातिर त्यहीँ मन्थरा र कैकयीलाई राजनैतिक किसिमले सचेत वा महत्वाकाङ्क्षी वा सङ्घर्षशील नारीपात्रको रूपमा प्रस्तुत गरिएको छ । यी दुई पात्र त्यस समाजको प्रतिनिधि हुन् वा वैयक्तिक रूपमा छुट्टै हुन् ? यस्को बेग्लै अध्ययन हुनु राम्रै होला । तथापि यी पछिल्ला दुईलाई शेक्स्पियरकी श्रीमती म्याक्वेथ र चार्लस् डिकन्स्का पेस्तोल बोक्ने र लाप्पा खेल्ने महिला पात्रहरूसित केही हदसम्म तुलना गर्न सकिएला ।
यी पात्रहरूले महाभारतका अति व्यापक र विविध चरित्रहरू सम्झाउँछन् । आधुनिक किसिमले शालीन र अभिमानी आफै रथ हाँकेर प्रियतम (अर्जुन) लाई लिएर टाप कस्ने सुभद्रादेखि लिएर पूर्वोत्तर भारतमा अर्जुनले भेटेका तरबार प्रवीण र सशरीर मल्लयुद्धका मस्तालु महिलाहरूदेखि वलीदानी र शालीन गान्धारी, निर्दोष प्रयोगशील कुन्ती, अन्योल यात्राकी व्यथित द्योतक द्रौपदी जस्ता र अरू अनेक किमिका पात्रहरू देख्न पाइन्छ । अहल्या, अरून्धती, राजा जनकका समकालीन विदुषीहरू गार्गेयी मैत्रेयी अनि अन्यान्य धेरैको आआफ्नै भूमिका छन् ।
प्राचीन र अहिलेसम्ममा पश्चिमी साहित्यसंसारमा पनि सारै धेरै विचित्र चरित्र भएका नारीहरूको चित्रण भएको छ । तीमध्ये भागेर पोइल जाने अति सुन्दरी हेलेन, ट्रवाइमा युद्ध गर्न जाँदा गम्भीर र सम्वेदनशील मानसिक र भौतिक अबस्थामा त्यसबेलाको चलनअनुसार छोरीको वलिदान दिन बाध्य भएको पिता र बली हुन बाध्य भएकी छोरी, अनि तिनै राजा एगमेम्नन्को घर फिरेर आउँदा बदलापूर्ण हत्या गर्ने आमा र रानी क्लाइटेम्नेस्ट्रा, दैव वा विधिको झुक्कलमा परेका राजा इडीपस र उसकी आमा, उता एन्टिगन अनि विचित्र देशभक्त र पे्रमिका क्लियोप्याट्रा, आफ्नो लोग्ने राजालाई मारी बैंशालु देवर क्लडियससित विवाहा गर्ने ह्याम्लेटकी आमा, उता रसियाकी एनाकारानिना, आमा, फ्रान्सकी म्याडम बोभरी उवम् अन्यान्यहरूको उल्लेख एक सानो सन्दर्भ मात्र हुन जाला !
यता भारतका पे्रमचन्दको रङ्गभूमिकी नारी, ऐतिहासिक वीर योद्धा झाँसीकी रानी र नेपालकी आदर्श भृकुटी आदि इत्यादि जस्ता व्यापक व्यापक विविधतामा महिलाका चरित्रहरूको चित्रण र अध्ययनात्मक प्रयोग गरिएको छ साहित्यमा । यस्ता अध्ययनहरू मानव भोगाइका चिन्तनात्मक संस्कृतिप्रदत्त अति मूल्यवान् सम्वेदना र वौद्धिकताका सम्पत्ति हुन् ।
नेपाली साहित्यमा नारी
नेपाली वाङ्गमयमा पनि नारी पात्रहरूको कम चित्रण भएको छैन । गद्य होस् वा पद्य होस् त्यहाँ नेपाली नारीहरू वहुविध व्यापकता लिएर प्रस्तुत भएका छन् । यो सवको साङ्गोपाङ्ग बृतान्त र अध्ययन यो सानो लेखमा पक्कै पनि सम्भव हुँदैन । तलका हरफहरूमा महाकवि देवकोटाका केही नारी पात्रहरूको मात्र सानो चर्चा गर्ने जमर्को गरिनेछ ।
त्यसो त यी अद्भूत् , अति लोकप्रिय र महान् महाकविका विषयमा हज्जारौं हजारले विभिन्न कोण, पक्ष, पाटा र पहलुहरूमा भावनात्मक अभिब्यक्तिका साथै गम्भीर अध्ययन र अनुशीलन गरिसकेका छन् । प्रा.डा.चूडामणि बन्धु, नित्यराज पाण्डे, डां.कुमार बहादुर जोसी, प्रा.राजेन्द्र सुवेदी, प्रा. डा. गोविन्द भट्ठराई, डा. शैलेन्दु प्रकाश नेपालसहितका मुना–मदनबारेका धेरै लेखकहरू, नरेन्द्र इन्दिरा प्रसाईं आदि आदि धेरै धेरै वरिष्ठ, पुराना र नयाँ लेखकहरूबाट व्यापकता, गहिराई र उच्चाइकासाथ अध्ययन र लेखनहरू भएका छन् । तर यति मात्र उल्लेखचाहिं धेरै थोरै हुन् । नेपाल, भारत र अन्य ठाउँका विभिन्न विश्वविद्यालयहरूका सम्बन्धित विभागहरूबाट पनि यी महाकविका विषयमा निरन्तर अध्ययनहरू भईरहेकै छन् । यो क्रम कहिल्यै रोकिने पनि होइन ।
यसै सिललिामा यो लेखक पनि विनम्र स्तरमा महाकवि देवकोटाका नारी पात्रसम्बन्धी आफ्ना केही विचारहरू राख्दैछु ।
महाकवि देवकोटाका नायिकाहरू राजनैतिक महत्वाकाङ्क्षा वा अन्याय वा सामाजिक सुधारका लागि साङ्गठनिक किसिमले संघर्षशील भएका पनि देखिदैनन् यिनका नायिकाहरू क्षुद्र र दुष्ट पनि छैनन् । वनबासी तपसेवी, पहाडिया किसान र अल्प सहरी स्तरका साधारण शैलीमा गरिखाऊँ भन्ने खालका विनम्र मानवीय आत्माहरूको निर्दोष र शालीन, सम्वेदनशील, बलीदानी विद्रोहको चलखेलको प्राङ्गण हो देवकोटाका मूल नारीपात्रको प्रवृत्ति र परिवेश । आजित चम्पामात्र सबाल जबाफमा भाग लिन्छिन् तथापि उनी पनि विद्रोहलाई पलायनद्वारानै निरन्तरता दिन्छिन् ।
देवकोटा आफू सुधारवादी मात्र होइनन् सामाजिक दुस्परम्पराका विद्रोही, वैयक्तिक स्वतन्त्रता अनि राजनैतिक प्रजातन्त्रका पक्षपाती र क्रान्तिकारी हुन् —चेतना, सुझबुझ, विचार र विश्वासले मात्र होइन शारीरिक किसिमले पनि उनी द्वन्द्वमय भए । राणाको पक्डाउबाट बँच्न वनारस पलायन भए र दुःखमा लामै समय बिताए । त्यहाँं पनि आफ्नो वैचारिक मान्यता र सिर्जनशीलतालाई निरन्तरता दिइ नै रहे ।
उनका साँढे, झञ्झावीर, हुरी अदि धेरैधेरै कविता वाइरन र शेलीका जस्ता व्यङ्ग््यात्मक र क्रान्तिकारी छन् । उनी कामी, दमै, सार्की, च्यामिनी, ढुङ्गा फोर्दी महिला, किसान आदि निम्नस्तरीय श्रमिक बर्गको ससम्मान र सहानुभौतिक चित्रण गर्दै तिनलाई उठाउने जनचेतनाको लहर फैलाउँछन् साहित्यबाट । प्रचलन र कानूनमा सुधार आउने त्यसरी नै होइन र ?
शकुन्तलाको दुष्यन्तप्रतिको समर्पित चोखोप्रेम धोकामा परिणत भए पछि उनबाट नमीठो बोली नगराइकन साथमा गएको शिष्यबाट नै असत्य, धोका, अन्याय र दुर्वचनका बिरुद्धमा गाली र श्राप दिइएको छ जहाँ शकुन्तलाको शालीनताको निर्वाहा भएको छ । विरहिणी उनी सीताझैँ आफ्नै नैतिक इमान्दारिताको बल र अठोटमा वनवासी नै हुन्छिन् र यथा समयमा आँैठीको संयोगले उनको पुनर्मिलन हुन्छ ।
उनी शालीन, सहनशील र पीडित हुन्, विद्रोही होइनन् तर प्राचीन समाजको उनको त्यो सहनशील शालीनता नै अहिलेको र अझ स्पष्टरूपमा देवकोटा कालीन समाजको लागि काव्यको सुधारवादी सन्देश र विद्रोह हुन पुगेको छ ।
सुलोचनाकी नायिका सुलोचना पनि त्यसबेलाको नेपाली समाजजन्य परिस्थितिमा पारम्परिक हुँदाहुँदै केही अग्रगामी भएर आफ्नो उच्च क्षेत्रीय खानदानबाट ब्राह्मण (खत्री, क्षेत्री ?) युवकसित प्रेम गर्छिन् । यहाँ जातभातको छुवाछुत भन्दा पारिवारिक दम्भदर्पको धज्जी उडाइएको छ अनि हार्दिक र आदर्श प्रेममय जीवन र समाजको परिकल्पना गरिएको छ । सुलोचना विनीत छन् , चरित्रमा सौजन्यपूर्ण छिन्, प्रेममा प्रतिबद्ध र अटल । उनी समाजका बन्धन र आफ्ना कुण्ठा निकै खोल्दै आफ्ना कुरा भन्छिन् भन्न त, विनम्र स्वरमा कडा कुरा । दाइ तिमिर मर्दनले निकै सघाउँछन् । तर त्यो सुनिंदैन, पार लाग्दैन, बाबु शत्रुमर्दनका अगाडि र महाकाव्यले त्रासदीको रूप लिन्छ । सुलोचना शालीनस्तरकी विद्रोही हुन् ।
मुना–मदनकी अति सरलस्वभावकी मुनामा पनि समर्पित प्रेमभाव छ र अन्यत्र तिर उनको ध्यान जादैन । तर कथानक नै आफ्नै किसिमले आदर्श प्रेमपरक र सङ्गीतमय भएर बहेको हुनाले विद्रोही भावको गुन्जायस त्यहाँ छैन तथापि काव्यले भने क्रुर धनी साहुको धज्जी उडाउँदै ननिका साथीहरूलाई पनि नङ्ग््याइएको छ ।
दुर्गम गाउँले ‘पहाडिया’ अपठित युवती भएर पनि कुञ्जिनी खण्डकाव्यको त्रासदी पूर्णत हार्दिक गहिराइमा पुगेको समर्पित पे्रमभावको अलौकिक नमुना हो, विश्वकै जनजीवन र काव्यजगत्मा । कुञ्जिनीलाई खोलाबाट बचाएपछि सुलोचनाको झन्डै शत्रु मर्दन जस्तै कठोर बाबु ठालुसिंको मन पग्लिएर छोरी गोरेलाई दिने मञ्जुरी भए पनि त्यसैबेला गोरे लडाईमा बाध्यताबस गएकाले भाग्यको भाका दुर्भाग्यतिर मोडियो र उनको विवाह सेतेसित गर्ने निश्चय भए पछि कुञ्जिनी त्यही खोलामा हाम्फालेर आत्महत्या गरिन् । यो उनको विद्रोह हो — समर्पित र विनित ! तर चेतनामूलक काव्यको सन्देश भने प्रखर भएर जन समक्षमा प्रक्षेपित भएको छ ।
देवकोटाकी अर्की पात्र म्हेन्दु हुन् । गोसाईकुण्ड जाने बाटोमा फुल्ने म्हेन्दु भनिने फूललाई पनि आत्मसात् गर्दै यी नायिका र खडकाव्यको नाम पनि म्हेन्दु नै रहेको छ । प्रकृतिसित आत्मसात् हुने महाकवि देखकोटाको यो एउटा अर्को विशिष्ट काव्यप्रवृत्ति नै हो । यस विषयमा प्रशस्त अध्ययनहरू भएका छन् र प्रकारान्तमा हुँदै पनि जानेछन् । यो सङ्क्षिप्त खडकाव्य पनि माथि भनिए जस्तै समर्पित प्रे्रमपरक वियोगान्त हो । यहाँ पनि स्थानान्तरताको कारणले बाबु गुम्बोजी र आमा मिन्दिले म्हेन्दुलाई गुम्बुसित टाढा नजानु , बरु यहीं स्थानीय गाउँठाउँमा नै विवाहा गर भन्दा उनीले त्यसमा नामञ्जुर गरेपछि हेलम्बुको एक बलवान् युवक रांङ्जाले गुम्बुलाई पिट्न र मार्न तम्से पछि गोरेको सट्टा तँसित म विवाह गर्दिन भनी म्हेन्दु तादी नदीमा हाम फाल्छिन् । यो देखेपछि गुम्बु पनि त्यही हाम फालेर मरण पश्चात् दुवै यो धर्तिको पारमा मिल्न पुग्छन् भनी यहाँ एक अलौकिक प्रेम, —जसलाई प्ल्ेटोनिक प्रेम पनि भनिन्छ — अथवा राधाकृष्णजस्तो । र यहाँ वलिदानी विद्रोहको उदाहरण पेस भएको छ ।
लूनी पनि प्रेम विषयकै खण्डकाव्य हो तर संयोगान्त । यसको घटना लूनीको पक्षबाट धेरै आवेगात्मक, समर्पित र निकै स ङ्घर्षशील पनि हुन पुगेको छ र यहाँ चाहिं प्रेम सफल भएको छ ।
देवकोटाले आफ्नो काव्यचेत नेपाली भूभागको र जनमानसको व्यापक क्षेत्रमा छरेको पाइन्छ । सहरिया पहाडिया, किसान, व्यापारी, उच्चकुलीन र निम्नबर्गीय, विभिन्न जात जाति सारामा उनी सुधार , आपसी सद्भाव बढाउँदै उनले नेपाली ऐक्यबद्धतालाई काव्यगत हड्चुरको जडीबुटी प्रदान गरेका छन् ।
माथि पनि केही भनिएकै छ । तथापि, उनका चारु, वसन्ती, सुन्दरीजल माई, सुन्दरीजलकी निर्झरिणी, मधुबाला, विरहिणी आदि नारी अथवा स्त्रीलिङ्गी शीर्षकका धेरैधेरै कविताहरूले वर्डस्वर्थको जस्तो प्रकृति र मानव प्रेमको तादात्म्यमा जोड दिएका छन् भने अन्य हुरी , झञ्झावीर आदिमा सेली, बाइरनको जस्तो क्रान्तिकारिता पाइन्छ । त्यस्तै अन्य तिनको घँसिया गीत, कृषिबाला, पूर्णचा की स्वास्नी मरी, धोविनीले पग्ली बोली जस्ता धेरै कवितामा निम्न बर्गीय र श्रमिक जनजीवनको सम्मानित चित्रण र उत्थानको शंखघोष गरेका छन् ।
अन्तमा यी नेपाली र विश्वकै एक अद्भूत् प्रतिभा नेपालीको अत्युच्च गौरव गरिमा हुन् । रोगग्रस्त भएर अल्पायुमा भएको उनको दुखद् निधनले नेपाली मात्र होइन विश्वकै साहित्य सुधाको अति ठूलो स्रोत सुकेजस्तो नै भएको छ ।
***
२०७७ कार्तिक २६ गते, सन् ११/११ /२०२०
अस्टिन् टेक्सस् अमेरिका