SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » देवकोटाका कवितामा वैचारिकता
समीक्षा

देवकोटाका कवितामा वैचारिकता

Sahitya SagarBy Sahitya SagarJuly 8, 2021No Comments26 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

डा.कृष्णराज अधिकारी (पोखरा–६, बैदाम, कास्की, सुपुत्र : मेघनाथ अधिकारी र देवका अधिकारी ) नेपाली साहित्यको सिर्जना र समीक्षा जगत्मा सुपरिचित प्रतिभा हुन् । नेपाली साहित्यमै विद्यावारिधि अधिकारीको विद्यावारिधिको विषय लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य हो । उनले औपचारिक रूपमै देवकोटाका सबै महाकाव्य केलाएका छन् । उनका स्मृतिका विम्बहरू –नियात्रा, २०६३, सुरुङ खन्दैछन् मुसाहरू (कवितासङ्ग्रह, २०६८) र अनिश्चित यात्रा (कथासङ्ग्रह, २०७७) समेत निबन्ध, कविता र कथाका सिर्जनात्मक कृतिहरू प्रकाशित छन् । उनका महाकाव्य सिद्धान्त र देवकोटाका महाकाव्य (२०६६), साहित्यिक अवलोकन (२०७१) का साथै विभिन्न पत्र–पत्रिकामा कथा, कविता र निबन्धका साथै दर्जनौँ समालोचनाहरू प्रकाशित छन् । उनको सम्पादनमा समुन्नयन’, ‘गण्डकी सङ्गम’, ‘साहित्य–प्रभा’, ‘प्राध्यापक उद्घोष’, ‘सञ्चेतना’, ‘अग्निशिखा जस्ता पत्रपत्रिका निस्किएका छन् । उनको सम्पादनमा ‘पोखरेली समालोचना’, ‘पुष्पकमल सुवेदी स्मृति ग्रन्थ’, ‘हेमराज पाहारी स्मृति ग्रन्थ’, ‘कुलबहादुर के.सी. स्मृृति ग्रन्थ’ ‘घनश्याम ढकाल स्मृति ग्रन्थ’ जस्ता आधा दर्जन जति बृहत् ग्रन्थहरू प्रकाशित छन् । उनले गण्डकी साहित्य सङ्म, पोखरा, प्रगतिशील लेखक संघ, नेपाल, साहित्य शृङ्खला, पोखरा, माक्र्सवादी अध्ययन स्रोत केन्द्र , घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान जस्ता संघसंस्थामा रहेर पनि नेपाली साहित्यको विकासमा निरन्तर सेवा गरिरहेका छन् । साहित्यसागरको प्रस्तुत महाकवि देवकोटा विशेषाङ्कमा उनको ‘देवकोटाका कवितामा वैचारिकता’ शीर्षकको निकै गहिरो समीक्षा समेटिएको छ । देवकोटा विशेषज्ञ अधिकारीको यो रचनालाई यस अङ्कमा समेट्न पाउनुलाई साहित्यसागर परिवार गौरवको विषय मान्दछ ।
​-सम्पा.


विषय प्रवेश
लक्ष्मीप्रसाद देवकोटा (वि.सं १९६६–२०१६) नेपाली साहित्यमा सबैभन्दा बढी चर्चित र जनप्रिय कविका रूपमा चिनिन्छन् । आफ्नो ५० वर्षे जीवनकालमा २५ बर्ष नेपाली साहित्यको सेवामा लागेका देवकोटा र नेपाली साहित्य पर्याय जस्तै बनिसकेका छन् र राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सबैभन्दा बढी चर्चित साहित्यकार उनी नै देखिन्छन् । साहित्यका विभिन्न विधामा कलम चलाए पनि कविता र निबन्धमा नै उनको विशेष योगदान देखिन्छ र त्यसमा पनि कविता विधा नै उनको सर्वप्रिय र सर्वाधिक साधनामय विधा रहेको पाइन्छ । वि.सं १९९१ बाट आफ्नो सार्वजनिक साहित्य–यात्रा सुरु गर्ने देवकोटाका हालसम्म ७ महाकाव्य, २२ खण्डकाव्य, १४ कवितासंग्रह, २ निबन्धसंग्रह, २ नाटक, २ समालोचना, एउटा उपन्यास र दुईवटा अनुवाद गरी ५२ कृति प्रकाशित भएका छन् । देवकोटा साहित्यको यो विशाल र विविधतामय रचना–राशिभित्र प्रवेश गर्दा कतै अनुपयोगी झारपात, कतै सामान्य उपयोगी घाँसपात, कतै वहुउपयोगी फलफूल र कतै अमूल्य जडिबुटी समेत पाइन्छ । उनका र सिद्धिचरण श्रेष्ठका रचनालाई लिएर सर्वप्रथम वि.सं १९९३ मा सूर्यविक्रम ज्ञवालीले ‘नेपाली साहित्याकाशका दृई नयाँ तारा’ (नेपाली साहित्यसम्मेलन पत्रिका ५:१, १९९३) शीर्षकको समालोचना लेखेको पाइन्छ । त्यस पछि कैयन् लेखक–समालोचकहरूले देवकोटाका बारेमा विभिन्न चर्चा–परिचर्चा र समालोचना प्रकाशन गरेका छन् । विभिन्न समय, अवस्था र परिस्थितिमा लेखिएका उनका रचनाहरूको प्रवृत्ति र स्तर एउटै नभएको र देवकोटाको चिन्तन, विचार र दृष्टिकोण समेत समय र परिस्थितिसँगै परिवर्तित हुँदै गएकोले उनका कुनै रचना विशेषमा केन्द्रित रही विभिन्न लेखक–समालोचकहरूले आ–आफ्नो अनुकूल हुने गरी व्याख्या–विश्लेषण गर्ने गरिएको पाइन्छ । यसैले कसैले देवकोटालाई ईश्वरवादी आस्तिक कविका रूपमा, कसैले उदार प्रजातान्त्रिक विचार राख्ने कविका रूपमा, कसैले स्वच्छन्दवादी–प्रगतिवादी कविका रूपमा, कसैले द्वन्द्वात्मक भौतिकवादी कविका रूपमा अनि कसैले क्रान्तिकारी कविका रूपमा र अझ कतिपयले त कुनैपनि विचार र दृष्टिकोण नभएका लथालिङ्गे कविका रूपमा समेत प्रस्तुत गर्ने गरिएको पाइन्छ । यसरी देवकोटालाई आ–आफ्नै कोणबाट हेरिनुमा दृष्टिकोणको प्रश्न मात्र नभएर अध्ययनको समस्या पनि रहेको पाइन्छ । देवकोटाका समग्र रचनालाई नहेरी कुनै रचना विशेषमा मात्र केन्द्रित हुनु, ऐतिहासिक विकासक्रमका आधारमा नभई कुनै खास समयका रचनामा मात्र सीमित रहनु र उनको अन्तरविकासलाई नहेरिनुले उनको वस्तुपरक मूल्याङ्कन हुन नसकेको हो ।

चूडानाथ भट्टराय (जोशी, २०४० : १८०) देवकाटालाई अध्यात्मवादी र ईश्वरको अस्तित्वको समर्थक देख्दछन् भने मोहनराज शर्मा (भानु, २०२५ : २००) उनलाई नैतिक अनिश्वरवादी ठान्दछन् । ‘स्वतन्त्र सुधारवाद उनको बलियो पक्ष थिएन’ भन्ने यदुनाथ खनाल उनलाई सुधारवादी भन्न समेत हिच्किचाउँछन् । ईश्वर बरालका अनुसार देवकोटा प्रजातन्त्रप्रेमी र मानवतावादी थिए, त्यसैले प्रजातन्त्र प्राप्ति र मानवताको उत्थानको लागि नै सधैंजसो विद्रोही रहेका हुन् । दयाराम श्रेष्ठ र मोहनराज शर्मा (२०४० : ५७) उनलाई मानवतावादी र क्रान्तिकारी ठान्दछन् भने वासुदेव त्रिपाठी र कुमारबहादुर जोशीचाहिँ स्वच्छन्दतावाद र प्रगतिवादलाई सँगै जोडेर देवकोटालाई स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक र नेतृत्वकर्ता (जोशी, २०३१ : ३२४) मान्दछन् । भीमनिधि तिवारी (जोशी, २०३१ : ३२४) चाहिँ ‘आफ्नो मुड वा मानसिक स्थिति तथा सामाजिक, आर्थिक आदि परिवेशको प्रभाव अनुसार बगेर लेख्ने हुँदा देवकोटालाई सिद्धान्तवादी भन्न नसक्ने’ धारणा राख्छन् । यता प्रगतिवादी समालोचकहरूमा पनि एउटै दृष्टिकोण पाइँदैन । तारानाथ शर्मा (२०३४ : ९१) देवकोटालाई पश्चिमी शिक्षाको उज्यालो पाएर सचेत भएका अति सम्वेदनशील तर साँघुरो बाहुनवादी सँस्कारबाट मुक्ति पाइनसकेका अत्यन्त ठूला कवि मान्दछन् । जगदीश घिमिरे (भानु, २०२५ : २००) देवकोटालाई द्वन्द्वात्मक भौतिकवादी प्रमिथसका रूपमा प्रस्तुत गर्दछन् भने गोविन्द भट्ट (अधिकारी, २०५५ : १०८) चाहिँ उनलाई अनेकन दुर्बलता र स्वाभाविक कमजोरीहरू हुँदाहुँदै पनि मूलतः आफ्नो युगको नेपाली साहित्य र समाजका एक महत्त्वपूर्ण क्रान्तिकारी व्यक्ति ठान्दछन् । मोदनाथ प्रश्रित (२०४२) देवकोटाको वैचारिक विकासको चरण विभाजन गर्दै २००३ सम्म सामन्ती पुनरुत्थानवादी, २००७ सम्म पूँजीवादी प्रजातान्त्रिक र त्यसपछि समाजवादोन्मुख भएको ठहर गर्दछन् । चैतन्यले १९९१ देखि २००३ सम्मको अवधिलाई निष्क्रिय स्वच्छन्दतावाद, २००४ देखि २००७ सम्मको अवधिलाई पुँजीवादी मानवतावादी, २००८–२००९को अवधिलाई काल्पनिक समाजवाद र २०१०–२०१६ को अवधिलाई वैज्ञानिक समाजवाद प्रभावित क्रान्तिकारी स्वच्छन्दतावादको संज्ञा दिएका छन् भने निनु चापागाईँ (२०५४, १३ : ६) चाहिँ उनको अन्तरविकास र प्रवृत्तिलाई खोतल्दै प्रथम चरणसम्म ईश्वरवादी कविकै रूपमा क्रियाशील रहेका र वौद्धिक विकासको क्रमसँगै उनमा अनिश्वरवादी चिन्तन प्रबल हुन गएको भए पनि पहिल्यैदेखि संस्कारका रूपमा रहेको ईश्वरवादी आस्थासँग देवकोटाको निरन्तर द्वन्द्व चलिरहेको ठान्दछन् । चैतन्य र निनुले वैचारिकतामा आएको क्रमिक परिवर्तनलाई आधार मान्दै देवकोटाको काव्यिक मोडको अनुशीलन गरेको पाइन्छ । यसरी देवकोटालाई भिन्नाभिन्नै दृष्टिबाट हेरी भिन्नाभिन्नै निष्कर्ष निकालिएकोले देवकोटा प्रगतिशील हुन् या होइनन् र भए कसरी प्रगतिशील भए ? यहाँ यिनै कुराहरूको खोजी गर्दै देवकोटाको वैचारिक पक्ष बारेमा चर्चा गरिएको छ ।

ऐतिहासिक—सामाजिक सन्दर्भ
देवकोटाको जन्म वि.सं. १९६६ को कार्तिक २७ गतेका दिन काठमाडौं डिल्लीबजारको मध्यवित्त ब्राह्मण परिवारमा भएको थियो । उनको जन्म हुँदा नेपालमा राणाशासन उत्कर्षमा पुगी घोर दमनमा उत्रिएको बेला थियो । चर्को शोषण र दमनका कारण सर्वसाधारण जनताको जीवन कष्टकर बनिरहेको थियो । वाक् स्वतन्त्रताको अभावमा आफ्ना पीडा र असन्तुष्टिहरू कतै पोख्न नपाउँदा जनताहरू भित्रभित्रै उकुसमुकुसको वातावरणमा गुज्रिरहेका थिए । जतिसुकै दमन र नियन्त्रण भएपनि राणाहरूको विरुद्धमा साङ्गठनिक र स्वतःस्फूर्त रूपमा संघर्ष र विरोधका कार्यहरू अगाडि बढिरहेका थिए । शिक्षित र चेतनशील जनताबाट आफ्नो शासनलाई अप्ठेरो पर्ने भयले राणाहरू शिक्षामा निकै निगरानी र नियन्त्रण राख्दथे । यसैले उनीहरू शैक्षिक प्रशासन पनि आफ्नै हातमा राख्थे । भारतमा शिक्षा आर्जन गर्न गएका नेपालीहरूले राजनीतिक चेतना भित्र्याउँछन् कि भन्ने ठूलो डर थियो उनीहरूलाई । यसैले उनीहरू साहित्यको नाउँमा यथास्थितिको पक्षपोषण गर्ने, अवैज्ञानिक शिक्षा अनि भक्तिवादी र श्रृङ्गारिक प्रवृत्तिका साहित्यलाई मात्र छुट दिन्थे । देवकोटाको प्रतिभाबाट झस्किएका राणाहरू उनलाई स–सानो प्रशासनिक पदमा अल्झाएर राख्न चाहन्थे, यसैले अन्य विषयमा नभएर कानूनको अध्ययन गर्न उनलाई पटना पठाइएको थियो ।

 

 

 

 

 

 

 

यस अवधिको नेपाली समाज सङ्क्रमणकालीन समाज थियो । समाजमा सामन्ती शोषण, थिचोमिचो, अन्धविश्वास, कुरीति र कुप्रथा विद्यमान थिए । नारीमाथिको शोषण र पुरुष हैकमवादी प्रवृत्ति कायमै थियो । बालविवाह, बहुविवाह र अनमेल विवाह जस्ता बैवाहिक समस्याले समाजलाई गाँजिरहेको थियो । पुराना रूढिवादी परम्परा र संस्कारले गाँजेको त्यस समाजमा पुरातनपन्थी र परम्परावादीहरूका वीच सुधारवादीहरूको स्वर त्यसै बिलाएको हुन्थ्यो । यही राजनीतिक र सामाजिक परिवेश अनि परम्परागत हिन्दू संस्कारमा देवकोटा जन्मी, हुर्की साहित्यिक यात्रामा लागेकोले देवकोटाको लेखनमा त्यही संस्कार र परिवेशले प्रभाव पारेको पाइन्छ । उनका पिता तिलमाधव संस्कृतका पण्डित भएकाले छोरालाई सानैबाट अमरकोश र रघुवंश जस्ता पुस्तकहरू घोकाउन र संस्कृतका स्तोत्रहरू लय हालेर गाउन सिकाएका थिए । छोरा लक्ष्मीप्रसादमा बाबुको पाण्डित्यको प्रभाव पर्नु स्वाभाविक पनि थियो । यसैले देवकोटाले अंग्रजीको उच्चशिक्षा हासिल गरे पनि हिन्दू संस्कृति र परम्परा उनको रगत–रगतमा अन्तर्घुलित हुन पुगेको थियो । उनको रगतमा घुसिसकेको हिन्दू संस्कार र परम्परा उनी बिरामी हुँदा, कुनै विपत्ति पर्दा या यस्तै कमजोर मनस्थिति भएको बेला पारेर प्रकट भइहाल्थ्यो । देवकोटाले जीवनको अन्तिम क्षणमा क्यान्सरको पीडाले रन्थनिएर सबैसँग बिष मागिरहेको अवस्थामा रचेको ‘आखिर श्रीकृष्ण रहेछ एक…’ त्यस्तै रचना हो । जीवनको उत्तराद्र्धमा लेखिएका यी र यीजस्तै अन्य रचनाहरू देवकोटा शारीरिक या मानसिक रूपले अस्वस्थ रहेको अवस्थामा लेखिएका पाइन्छन् । यसैले यस्ता रचनाहरूलाई मात्र अघि सारेर देवकोटालाई ईश्वरवादी, यथास्थितिवादी या पुनरुत्थानवादी भन्नु यथार्थ विपरीत हुन जान्छ ।

प्रगतिशीलताको सन्दर्भमा देवकोटा
सामान्यतः प्रगतिशीलता भन्नाले यथास्थितिका विरुद्ध उभिँदै त्यसको आलोचना या विरोध गर्नुका साथै परिवर्तनप्रतिको चाहना भन्ने बुझिन्छ । यसमा विद्यमान अवस्थाको विरोध र अग्रगमनको खोजी गरिएको हुन्छ । यसका लागि माक्र्सवादी हुनैपर्ने जरुरी हुँदैन, गैर–माक्र्सवादीहरू पनि प्रगतिशील हुन सक्छन् । तर प्रगतिवादी हुनका लागि भने माक्र्सवादलाई आत्मसात गरेको हुनुपर्छ । विद्यमान कुरूप व्यवस्थाको सट्टामा नयाँ र सुन्दर शासनव्यवस्था स्थापना गर्न खोज्ने माक्र्सवादीहरू स्वतः प्रगतिशील हुन्छन् । यसैले सबै माक्र्सवादीहरू प्रगतिशील हुन्छन् तर सबै प्रगतिशील विचार राख्नेहरू माक्र्सवादी हुँदैनन् । साहित्यिक सन्दर्भमा प्रगतिवाद समाजवादी यथार्थवाद हो भने प्रगतिशीलता चाहिँ आलोचनात्मक यथार्थवादमै सीमित रहन्छ । देवकोटाको वैचारिक प्रवृत्ति निरूपण गर्ने सन्दर्भमा उनलाई कतिपय समीक्षकहरूले स्वच्छन्दतावादी–प्रगतिवादी कवि भनेर प्रस्तुत गर्ने गरेको पाइन्छ । यसरी स्वच्छन्दतावाद र प्रगतिवादलाई सँगै जोडेर प्रस्तुत गर्ने मान्यता सही होइन । स्वच्छन्दतावाद र प्रगतिवाद दार्शनिक रूपमै भिन्न प्रवृत्ति बोक्ने काव्य–मान्यता हुन् । चिन्तनको रूपमा स्वच्छन्दतावादले रूढि र आदर्शवादी कट्टरताको विरोध, बन्धनको अस्वीकृति, प्रकृति–प्रेम र धार्मिक अनुभूतिलाई सृजनाको मूल विषय बनाउने गर्छ भने समाजवादी यथार्थवादले द्वन्द्वात्मक भौतिकवादी दर्शन र कम्युनिष्ट विश्वदृष्टिकोणका आधारमा कलात्मक बिम्बका रूपमा वस्तुगत यथार्थलाई पुनरुत्पादन गर्दछ (चापागाईँ, २०५४ : ४२) । रुढि, शास्त्रीयता, आदर्शवाद र कट्टरताको विरोधका साथै बन्धनको अस्वीकार जस्ता स्वच्छन्दतावादी प्रवृत्तिले समाजवादी आन्दोलनका वर्गसंघर्ष, अन्तरविरोध र विद्रोह–चेतलाई सहयोग पुर्‍याए तापनि स्वच्छन्दतावादीहरू कि त यथास्थितिप्रति असन्तुष्ट रही वर्तमानको तिक्तताबाट पलायन हुृन्छन् कि त अराजक विद्रोहको बाटो लिन्छन् । क्रान्तिकारी स्वच्छन्दतावादले क्रान्ति र विद्रोहको कुरा त गर्छ तर त्यसमा दिशाबोध पाइँदैन । २००३ सालसम्मका देवकोटामा निष्क्रिय स्वच्छन्दतावाद पाइन्छ भने त्यसपछि उनमा समाजबोध र यथार्थबोध हुँदै गएर माक्र्सवादप्रति आकर्षित हुन थालेको पाइन्छ । माक्र्सवादबाट प्रभावित भई कतिपय यथार्थवादी र प्रगतिशील रचनाहरू सृजना गरेको देखिए पनि जीवनको अन्तिम क्षणसम्म पनि उनले स्वच्छन्दतावादी मूल प्रवृत्ति भने छाड्न सकेको देखिँदैन । माक्र्सवादबाट प्रभावित भए पनि त्यसलाई आत्मसात गर्न नसक्नाले उनी प्रगतिवादी हुन सकेनन् । यसैले आफ्नो लेखन–यात्राको पूर्वाद्र्धमा निष्क्रिय स्वच्छन्दतावाद र उत्तराद्र्धमा क्रान्तिकारी स्वच्छन्दतावाद पाइनुबाट स्वच्छन्दतावाद उनको मूल प्रवृत्ति र क्रान्तिकारी प्रगतिशीलता चाहिँ सह–प्रवृत्तिका रूपमा रहेको पाइन्छ ।

देवकोटामा अन्तर्विकास
आफ्नो लेखन–यात्रासँगै स्वच्छन्दतावादलाई आमन्त्रण गर्ने देवकोटाका वि.सं.२००३ सम्मका रचनाको मूल प्रवृत्ति निष्क्रिय स्वच्छन्दतावाद रहेको पाइन्छ । यस समयसम्मका उनका अधिकांश रचनामा अतितको मोह, आर्य संस्कार र संस्कृतिप्रति अगाध आस्था, प्रकृति प्रेम अनि वर्तमानबाट असन्तुष्टि र पलायन जस्ता प्रवृत्तिहरू पाइन्छन् । निष्क्रिय स्वच्छन्दतावादलाई अँगाले पनि उनका अधिकांश रचनाहरूमा सुरुवाटै गरिवप्रति सहानुभूति, श्रम र पसिनाको सम्मान, सादा र सरल जीवनप्रति आस्था र बिलासिताको विरोध, धनी र पुँजिपतिहरूप्रतिको घृणा–भाव अनि राष्ट्रप्रेम जस्ता प्रगतिशील पक्षहरू जोडिएर आएको पाइन्छ । यस अवधिमा लेखिएका कृतिहरूमध्ये मुनामदन सबैभन्दा लोकप्रिय रहेको पाइन्छ । गरिवीको कारण आफ्ना जहान–परिवारलाई चटक्क छाडेर विदेशिनु पर्ने नेपालीहरूको बाध्यता र त्यसबाट सिर्जित कारुणिक अवस्थालाई सरल नेपाली लोकलयमा प्रस्तुत गरिएको हुनाले नै यो लोकप्रिय रहन पुग्यो । मुनामदनको कथा तत्कालीन समाजको यथार्थ भएपनि देवकोटाले यसलाई यथार्थको प्रतिबिम्बन गर्ने सन्दर्भमा नभएर भौतिक सुखभन्दा आत्मिक सुख र सन्तोष नै ठूलो हो भन्ने आदर्शवादी जीवनदृष्टि प्रस्तुत गर्दै आत्माको अमरता, स्वर्ग र ईश्वरप्रतिको विश्वास अनि प्रकृतितिर फर्कने सन्देश दिएका छन् । देवकोटाको प्रतिभाको निशानी भनिएको शाकुन्तल महाकाव्यमा कविको विराट कल्पनाशीलता, आशुकवित्व, प्रकृतिको विशद र व्यापक चित्रण तथा उच्च कवित्व भेटिए पनि सामाजिक मूल्य र यथार्थबोधका दृष्टिले भने यो निकै कमजोर या अझ भनौं भने यथास्थिति र पुनरुत्थानवादी प्रवृत्ति बोकेको रचना भन्न सकिन्छ । सामाजिक मूल्यका दृष्टिले चाहिँ यो भन्दा पछि अल्प समयमा लेखिएको सुलोचना महाकाव्य बढी मूल्यवान देखिन्छ । तत्कालीन समाजमा प्रचलित अन्धविश्वास, रूढि, सामन्ती हैकम र नारीमाथिको दमनलाई यस महाकाव्यमा प्रतिबिम्बन गरिएको छ । तत्कालीन विवाहप्रथा र नारी उत्पीडनको विरोध गर्दै प्रेमविवाह र बिधवा विवाहको समर्थन गर्नुलाई देवकोटाको सुधारवादी चेत मान्न सकिन्छ । एउटा अपराधीलाई नेल र हत्कडी लगाएर जेलमा लगिएझैं कसरी अबोध नारीहरूलाई पनि विवाहको नाउँमा कल्ली र चुराले बाँधी आत्मालाई रुवाउँदै जवरजस्ती पराइघर पठाइने गरिन्छ भन्ने यथार्थलाई सुलोचनाले राम्ररी चित्रण गरेको छ —

आँखा रुन्छन् रुधिर दिलका बाहिरीमा सितारा
लिन्छन् छाती सुन, तिलहरी बन्छ फाँसी हजाराँ
लाई कल्ली रँग रँग चुरी नेल गल्फन्दी सारा
जान्छौं हामी घरतिर सबै जेलमा झैं अँध्यारा (८/१९)

नयाँ र पुरानो पुस्ताबीचको वैचारिक संघर्षलाई अघि सार्दै तत्कालीन सङ्क्रमणकालीन समाजको चित्रण गर्नुलाई समाजबोधका दृष्टिले सकारात्मक मान्न सकिए पनि मूलभूत रूपमा ईश्वरवादी–आदर्शवादी दर्शन अनि निराशा र पलायनवादी स्वर नै प्रबल रूपमा मुखरित हुनुचाहिँ यसको नकारात्मक पक्ष हो । यसरी मूल स्वर निराशावादी र मूलभूत दर्शन आदर्शवादी रहेको भएपनि वर्तमानप्रति वितृष्णा राख्दै अतितमै फर्किन खोज्ने देवकोटाका अघिल्ला रचनाहरूको सापेक्षतामा सुलोचनामा सामाजिक यथार्थ आउनुलाई सुधारवादी चेतका साथै देवकोटामा आएको अन्तर्विकास मान्न सकिन्छ । यस अवधिमा लेखिएका अन्य कृतिहरूमा लक्ष्मी निबन्ध संग्रह प्रसिद्ध रहेको छ । नेपाली निबन्ध साहित्यमा निजात्मक शैलीको प्रबद्र्धन र विकासका दृष्टिले यो अमूल्य रहेपनि र केही सामाजिक सन्दर्भ र व्यङ्ग्यात्मकता भेटिए पनि समाजबोध, यथार्थबोध या प्रगतिशीलताको दृष्टिले यो त्यति उल्लेख्य देखिँदैन । २००३ सालमा लेखिएका कृतिहरूमा महाराणा प्रताप, पृथ्वीराज चौहान, वनकुसुम जस्ता महाकाव्य, रावण जटायु युद्ध खण्डकाव्य अनि साँढे, बाघले बच्चा किन खान्छ जस्ता कविताहरू प्रमुख रहेका छन् । महाराणा प्रताप र पृथ्वीराज चौहानमा राष्ट्र, राष्ट्रियता र वीरताको सन्दर्भ उठाइएको भए तापनि त्यसले नेपाललाई उपेक्षा गरी भारतीय राज्यका राजाहरूको वीरताको बखान मात्र गरेको हुँदा अतीतको आदर्शीकरण गर्दै वर्तमानमा आँखा चिम्लन लगाउनु नै यसको उद्देश्य रहेको देखिन्छ । वनकुसुम नितान्त प्रकृतिकेन्द्रित रचना हो र यसले मानिसलाई वर्तमान नागर सभ्यताबाट हटेर प्राकृत सभ्यतातिर फर्कने सन्देश दिएको छ । साँढे र बाघले बच्चा किन खान्छ चाहिँ यस अवधिका उल्लेख्य रचना हुन् । साँढे कवितामा राणाशासनलाई साँढेको प्रतीकका रूपमा उभ्याउँदै राणाहरूको निरङ्कुशता र शक्तिको उन्मादलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ भने बाघले बच्चा किन खान्छमा बाघलाई राणाशासनको प्रतीकका रूपमा उभ्याएर उनीहरूद्वारा सञ्चालित जङ्गली कानूनको चित्रण गरिएको छ । यसरी यी कवितारूमा राणाशासनको थिचोमिचो, निरङ्कुशता र जनताको दयनीय अवस्थाको चित्रण गर्दै र ‘नलडी कोही हुन्न बिजेता’ भन्दै राणाशासनका विरुद्ध लड्न आह्वान गरिएको छ । यसरी देवकोटाको लेखन–यात्राको पूर्वाद्र्ध (१९९१–२००३) लाई समग्रतामा हेर्दा तिनमा निष्क्रिय स्वच्छन्दतावाद नै मूल प्रवृत्ति रहेको पाइन्छ ।

देवकोटाले लेखेको एउटै मात्र उपन्यास चम्पामा सङ्क्रमणकालीन नेपाली समाजको चित्रण पाइन्छ । यस उपन्यासमा नारीको कुनै अस्तित्व नदेख्ने, उसका इच्छा–आकाङ्क्षा, भावना र चाहनाहरूलाई निमोठ्दै कुनै वस्तु वा माल जस्तै सम्झी जवरजस्ती बिहे गरेर पठाइदिने तत्कालीन समाज–व्यवस्थाको विरोध गर्दै देवकोटाले नायिका चम्पालाई घरबाट विद्रोह गरी निस्कन लगाएका छन् । सुरुकी सरल र अबोध किशोरी चम्पा बिहे भएर घर गएपछि जव लोग्नेको स्थिति बुझ्छे तव उसमा विस्तारै अस्तित्वबोध हुन थाल्छ र विद्रोह गरी घरबाट निस्कन्छे । नेपाली नारीहरूमा पनि विस्तारै आफ्नो अस्तित्वबोध हुन थालेको कुरा यस उपन्यासमा प्रतिविम्बित गरिएको छ । देवकोटाका कथाहरूमध्ये पछिल्ला केही कथाहरूमा सामाजिक यथार्थ र विद्रोहचेत व्यक्त भएको पाइन्छ । यस्ता कथाहरूमा व्यक्तित्व, मस्र्याङ्दी र शिशिली आफ्नो बिहे आफैं गर्छिन् । मस्र्याङ्दीमा महिला उत्पीडन र शोषणको यथार्थ चित्रण गरिएको छ भने व्यक्तित्व र शिशिली आफ्नो बिहे आफैं गर्छिन्मा विद्रोहचेत पाइन्छ । व्यक्तित्व कथाकी नायिका बिजुलीलाई जव आफ्नो स्थितिबोध हुन थाल्छ तव महिलाहरूको सङ्गठन बनाएर तत्कालीन विवाह प्रथाको विरोधमा आवाज उठाउन पुग्छे र अन्तमा मसान नाटककी हेलेनलेझैँ विद्रोह गर्दै घर छाडेर अज्ञातस्थल तर्फ जान्छे । ऊ आफ्नो कथा यसरी सुनाउँछे— मैले वेदसँग संघर्ष प्रारम्भ गरेँ, धर्म भनेको प्राकृत मानवजाति विकासक नियम हो । डोको छोप्ने चलन होइन । मेरो आत्मा घिनायो । शिशिली..पनि यस्तै प्रकृतिको कथा हो । इच्छा विपरीत बिहे हुँदा ऊ सो व्यक्तिलाई लोग्नेका रूपमा स्वीकार्दिन । ऊ कथित लोग्नेलाई भन्छे— ‘साँच्ची हो ! म यो घरमा बेचिएँ ! म हजूरलाई प्रेम गर्दिन…म शिक्षा दिन सक्छु , पढाउन सक्छु तर हजुरकी स्त्री बन्न सक्दिन ।’ यसरी २००४ पछि लेखिएका कथा र उपन्यासमा समेत सामाजिक यथार्थ र विद्रोहचेत पाइनुबाट देवकोटामा यथार्थबोध हुँदै गएको पाइन्छ ।

कुनै पनि लेखकको विचार या दार्शनिक दृष्टिकोण कवितामा भन्दा गद्यमा बढी स्पष्टसँग आएको हुन्छ । देवकोटाका २००२ अघिका लक्ष्मी निबन्ध संग्रह र अन्य निबन्धहरूमा वैचारिक दृष्टिकोण स्पष्ट रूपमा आउन नसके पनि २००८ पछि लेखेका उनका गद्य रचनामा भने माक्र्सवादी प्रभाव स्पष्टिँदै गएको देखिन्छ । स्वर्गको राज्य र नपुँसक प्रजा का साथै ईश्वरवाद र अनीश्वरवाद निबन्ध यसका साक्षी रहेका छन् । ईश्वरवाद र अनीश्वरवाद निबन्धमा उनी ईश्वरवादभन्दा साम्यवादी अनीश्वरवाद श्रेष्ठ ठहर्‍याउँछन् । माक्र्सवाद या द्वन्द्वात्मक भौतिकवादलाई आत्मसात गरिनसकेको भए पनि उनी माक्र्र्सवादबाट प्रभावित थिए भन्ने कुरा लेखनाथ पौड्यालको काव्य तरुण तपसीका बारेमा लेखेको समीक्षा तरुण तपसी प्रदक्षिणा बाट स्पष्ट हुन्छ । त्यसमा देवकोटाले पूँजीवादी शोषणप्रति लेखनाथमा कुनै द्वन्द्वात्मक भौतिकवादी दृष्टि प्रस्तुत नभई आध्यात्मिक साम्यवादी चेत मात्र आएको र पुँजीवादी शोषण देखेर संघर्ष होइन आँसु मात्र चुहाएको कुरा व्यक्त गर्दछन्— ‘उहाँमा म द्वन्द्वात्मक भौतिकवादको नामनिशाना पनि देख्दिन । उहाँको वैज्ञानिक युगको चेत पातलो छ । …उहाँको साम्यवाद आदर्शवादी साम्यवाद छ, जसले बाघको नङ्ग्रा छ भन्ने मान्दैन, बोको लाचार छ भन्ने स्वीकार गर्दैन, बाज र भँगेरा त्यहाँ मितेरी लाउने कर्तव्यतिर प्रवृत्त गराइन्छन् । मजदूर या किसानको श्रम शोषणको महापाप र पुँजीको पाजी प्रवृत्ति देखेर आँसु चुहाउन खोज्नु कविको स्वाभाविक भावुकता मात्र हो, यसलाई म आधुनिक दर्शन या भाव शैली भन्ने नामकरण गर्न असमर्थ छु’ (सुवेदी,२०४१:१८) । यस समालोचनालाई हेर्दा देवकोटा द्वन्द्वात्मक भौतिकवाद या माक्र्सवादबाट प्रभावित भएको स्पष्ट हुन्छ । २०१५ सालमा रुसको तासकन्दमा भएको अफ्रो एशियाली लेखक सम्मेलनमा देवकोटाले दिएको प्रवचनमा साहित्यप्रतिको आफ्नो दृष्टिकोण स्पष्ट पारेका छन् । त्यहाँ उनले साहित्यलाई कुनै वर्ग विशेषको शोखको विषय नभएर समाज परिवर्तनको शक्तिशाली सामाजिक र राष्ट्रिय हतियारको रूपमा प्रस्तुत गरेको पाइन्छ —‘जीवनका निम्ति र विनासका विरुद्ध, सह–अस्तित्वका निमित्त र सैनिक आक्रमणका विरुद्ध, राष्ट्रिय स्वाधीनताका निमित्त र उपनिवेशवाद तथा साम्राज्यवादका विरुद्ध, आधुनिक मानव जातिका महान् संघर्षले जागरुक जनतामा शक्तिशाली समर्थन पाउन थालेको छ । यस अवस्थामा साहित्य कुनै एक वर्गको सौखको विषय हुन सक्तैन । अव त यो शक्तिशाली सामाजिक र राष्ट्रिय हतियार भएको छ (सुवेदी, २०४१ : ११५) ।

वि.सं. २००४ पछिको अवधि (२००४–२०१६) लाई उनको लेखन–यात्राको उत्तराद्र्ध पनि मान्न सकिन्छ । वैचारिक दृष्टिले र समाजबोधका दृष्टिले समेत यसपछिका रचनाहरू क्रमिक रूपमा यथार्थवादी हुँदै गएको पाइन्छ । नेपाली राष्ट्रिय काँग्रेसको आग्रहमा २००४ को साउन महिनामा घर–परिवार र जागिर सबै छाडेर बनारस पुगेका देवकोटा त्यहाँ युगवाणीको सम्पादन गर्दै राणा विरोधी आन्दोलनमा सघाउ पुर्‍याउँदछन् । युगवाणीमा प्रकाशित देवकोटाको पहाडी पुकार कविता त्यतिखेर निकै प्रसिद्ध र लोकप्रिय भएको पाइन्छ । यस कवितामा देवकोटाले राणाकालीन नेपालको आर्थिक सामाजिक अवस्थाको यथार्थ चित्रण गर्दै आफ्नो हक र अधिकार लिनका लागि संघर्षमा उत्रिन आह्वान गरेका छन् —

न अन्न हामीलाई न बस्न हामीलाई पेट फुट्छ ठूलाको
ठूलाका कुकुर दूधभात खान्छन् हामी जौ धूलाको….
गरिवको निम्ति आवाज झिक्ने झ्यालखाना कुहिन्छन्
रुखमा फल्छन् गोली पो खान्छन् अथवा मुडिन्छन् …
मर्नु त एकदिन अवश्य पर्छ पशुझैं नजिऊँ
मानिस हौँ भने मानिसझैं जिऊँ मानिसकै हक लिऊँ ।

नेपाली जनताले भोग्नुपरेको अन्याय, अत्याचार, शोषण र उत्पीडनको यथार्थ चित्रणका साथै जनतालाई संघर्षमा उत्रिन आह्वान गरिएको उक्त कविता सरल नेपाली झ्याउरेमा लेखिएकोले त्यतिखेर निकै लोकप्रिय रहेको थियो भनिन्छ । यसका ५००० प्रति हातहातै बिक्नु (पाण्डे, २०१७: : २६) बाट यसको लोकप्रियता स्पष्ट हुन्छ । यस बाहेक झञ्झावीर, प्रभुजी भेडो बनाऊ, स्वर्गको राज्य, मायाविनी सर्सी आदि यस समयका उल्लेख्य रचना हुन् । यस्ता केही रचनाहरूमा राजनीतिक–सामाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य र विद्रोहचेत पाइए पनि कतिपय रचनाहरूमा भने आध्यात्मिकता, रहस्यवाद, आदर्शवाद प्रकृतिप्रेम जस्ता प्रवृत्तिहरू यथावत रहिरहेको पाइन्छ । बनारसमा रहँदा पार्टीका मानिस र साथीहरूबाट समेत कुनै सहयोग नपाउँदा हतार–हतारमा कविता लेखी बेच्दै हिँड्नुपरेकोले पनि त्यति गहन कृतिहरू निस्कन नसकेको अनुमान गर्न सकिन्छ ।

यसरी प्रजातान्त्रिक आन्दोलनलाई सघाउन घर–परिवार र जागिर त्यागेर हिँडेका र उपचारको अभावमा आफ्ना २ छोराहरू समेत गुमाउन पुगेका देवकोटाले आम नेपालीहरूले जस्तै २००७ सालको क्रान्तिबाट ठूलो आशा र अपेक्षा राखेका थिए । क्रान्तिले देशमा विद्यमान शोषण, उत्पीडन र गरिवीको अन्त्य गर्ने विश्वास बोकेका देवकोटा क्रान्तिका नाउँमा भएको दिल्ली सम्झौताले जनताको जीवनमा कुनै फेर–बदल ल्याउन नसकेपछि निराश हुनु स्वाभाविक थियो । त्यसमाथि झन् दिल्ली सम्झौताको विरुद्धमा आन्दोलनमा उत्रिने जनतामाथि सरकारी दमन गरिनु र दिल्ली सम्झौताको विरोध गर्ने कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउनुबाट असन्तुष्ट बनेका देवकोटामा विस्तारै विद्रोह चेत उठ्न थालेको पाइन्छ । २००७ सालको परिवर्तनलाई धेरैजसो वुद्धिजीवी र कवि–लेखकहरूले महान् उपलब्धिका रूपमा स्वीकार्दै आफ्ना कलमलाई क्रान्ति र विद्रोहको दिशाबाट अन्यत्रै मोडिरहेको अवस्थामा कवि देवकोटा भने अझ क्रान्तिकारी बन्दै निस्कन्छन् । देवकोटाको यो क्रान्तिचेत २००८ बाट उत्तरोत्तर विकसित हुँदै गई २०१२–०१३ सालतिर पुग्दा अझ बढी प्रखर बन्दछ । २००७ सालको क्रान्तिलाई देवकोटा उघ्रेर बिग्रेको बिहान ठान्दै नयाँ क्रान्तिको आवश्यकता महसूस गर्दछन् । २००८ सालमा लेखिएका रचनाहरूमा दालभात डुकु, पुकार, परिवर्तन, हाम्रो ध्येय, उघ्रेर बिगेको बिहान, साथी, मीनपचास आदि प्रमुख रहेका छन् । यी कविताहरूमा देश र जनताको अवस्था सुध्रिन नसकेको, जनताको आशा निराशामा परिणत भएको तथा क्रान्तिको बिहान उदाउन उपाउँदै बिग्रिएको कुरा उल्लेख गर्दै फेरि अर्को क्रान्तिको लागि आह्वान गरेको पाइन्छ—

छोप्यो बादलले चिसो जगतभो आगो निभ्यो सुन्दर ….
रोगी हुन्छ बिहान दुर्बल तथा रुन्चे निकम्वा अब
आँधी हो कि कराउने ? विफल भो विष्फोटको गौरव
काँपी थुर्थुर घाम माग्छ दुनिया आशा टुसैमा मरी
आगो बाल्नु पर्‍यो घरै घर बसी को खप्छ यो थुर्थुरी ।

२०१० सालमा प्रकाशित पागल देवकोटाको प्रसिद्ध कविता हो । आफ्ना वयस्क भइसकेका २ छोराहरूको उपचारको अभावमा भएको मृत्युको अन्तःपीडा र कटु आर्थिक अभावले रन्थनिएका देवकोटालाई मानसिक रोगी सम्झेर राँची पुर्‍याइनु र विभिन्न साहित्यिक मित्रहरू, राजनीतिक व्यक्तिहरू र इष्टमित्र समेतले उनलाई पागल भन्दै अपमानपूर्ण व्यवहार गरिनुबाट आहत बनेका देवकोटाले आफूलाई पागल भन्ने समाज र तत्कालीन व्यवस्थालाई नै पागल ठहर्‍याएका छन् । मानवलाई मानव नठान्ने, जन अधिकारमाथि प्रहार गर्ने र मत्स्यन्यायको व्यवहार गर्ने व्यवस्थाप्रति कविले यस कवितामा तीव्र व्यङ्ग्य र विरोध जनाएका छन् । २००७ सालपछि लेखिएको प्रमिथस महाकाव्यलाई देवकोटाको विद्रोह चेतनाको सर्वोच्च निशानी मान्न सकिन्छ । मानव संहार गर्न खोज्ने अत्याचारी जिउस र स्वर्गको विरुद्ध विद्रोह गरी अनेक यातना सहँदै मानवको उद्धारको लागि स्वर्गबाट आगो चोरी पृथ्वीमा ल्याउने विद्रोही प्रमिथसलाई नायक बनाएर लेखिएको यस महाकाव्यले नयाँ युग ल्याउनको लागि अन्यायको विरुद्ध संघर्ष गर्न र लड्न अभिप्रेरित गरेको छ । संघर्ष र क्रान्तिको लागि आह्वान गरिएको र स्वर्ण युगको अपेक्षा गरिएको भए पनि त्यो क्रान्ति कस्तो प्रकृतिको हो महाकाव्यभरि कुनै स्पष्ट सङ्केत र दिशा भेटिँदैन । यसैले दिशाविहीन या दृष्टिकोण विहीन क्रान्तिका स्वरहरू उराल्ने यस किसिमको प्रवृत्ति प्रगतिवादी नभएर क्रान्तिकारी स्वच्छन्दतावादी प्रवृत्ति हो ।

जस्तो हाँस्दछ झर्दो तारा तिमीर चिरी चरक्क
विलय विलासी मध्य निशामा । मर त्यसरी
नमर्न नमर्न नित्य । क्रान्ति क्रान्ति क्रान्ति गर
तिमिरको विरुद्ध उठ † सशस्त्र हो मानव
गिज्याई मर अन्धकार, रातो वा सेतो रापमा
अमरत्वको लेउ चेत स्वर्ग विरुद्ध उठ ! (५।९)

२०१० पछि देवकोटाको वैचारिक क्षितिज अझ फराकिलो हुन पुग्छ । यसको मुख्य कारकका रूपमा २०१०मा रुमानियामा भएको चौथो विश्व युवक महोत्सवमा भाग लिन जाँदा केही युरोपेली देशहरूको भ्रमण गर्नु, २०१३ मा दिल्लीमा भएको एशियाली लेखक सम्मेलनमा भाग लिन जाँदा भारतका विभिन्न शहरहरूको भ्रमण गर्नु र २०१५ मा रुसको तासकन्दमा भएको अफ्रो एशियाली लेखक सम्मेलनमा भाग लिन जानु रहेको पाइन्छ । यसरी विभिन्न मुलुकहरूको भ्रमणबाट ती देशहरूले गरेको प्रगतिबारे थाहा पाउन र ती देशहरूको सापेक्षतामा नेपालको अवस्थाबारे अझै गहिरिएर सोच्न उनलाई मद्दत पुर्‍याएको थियो । समाजवादी देशहरूले विभिन्न क्षेत्रमा गरेको प्रगतिबाट प्रभावित बनेका देवकोटामा समाजवादप्रतिको आकर्षण बढ्दै गएको पाइन्छ । २०१२–०१३ सालमा प्रकाशित रचना, प्रगति र इन्द्रेणी जस्ता पत्रिकामा छापिएका देवकोटाका अधिकांश कविताहरू हेर्दा तिनमा समाजबोध या यथार्थबोधका साथै विद्रोह र क्रान्तिका स्वरहरू समेत पाइन्छ । यी कविताहरूमा प्रगतिवादी मूल्य र मान्यता नभेटिए पनि सामाजिक यथार्थ, प्रगतिशीलता र जनपक्षधरता भने भेटिन्छ । २०१२ सालतिर लेखिएको कृषिबाला गीति नाटक क्रान्तिकारी भाव बोकेको रचना हो । तत्कालीन समयमा नेपालमा चलिरहेको वर्गसंघर्ष र किसान आन्दोलनलाई यसले प्रतिबिम्बित गरेको पाइन्छ । उषा र किरणको प्रेममा आधारित यो नाटक किसान संघर्षमा आधारित रहेको छ । किसानहरूको रगत–पसिनामा रजाइँ गर्नुका साथै गाउँका निर्बल युवतीहरूको यौवनमा खेलवाड गर्ने श्रीप्रसाद जस्ता सामन्तको विरुद्ध गाउँका किसानहरूको सहयोग लिई किरणले गरेको संघर्ष र विजयको कथालाई यहाँ प्रस्तुत गरिएको छ । सचेततापूर्वक नभएर स्वतःस्फूर्त रूपमै भएपनि आफ्नो लेखन–यात्राको प्रारम्भबाटै श्रम र पसिनाको महिमा गाउँदै आएका देवकोटा कृषिबालामा आइपुग्दा सचेत रूपमै किसानको पक्षमा वकालत गर्न पुग्छन् । धर्तीका वास्तविक मालिक बसीखाने सामन्तहरू होइन त्यसमा पसिना चुहाउने किसानहरू नै हुन् । यसैले सबै किसानहरू एक भई धर्तीलाई सामन्तहरूको हातबाट खोसेर किसानको हातमा ल्याउनु पर्छ भन्ने भाव यस नाटकमा पाइन्छ —

पानी पिउनसम्म हामीलाई झर्नुपर्ने कोस
धर्तीको यो मालिक्याइँ ठालूबाट खोस †
एक आवाज गर किसान एकै डल्लो बनी
हज्जार गरिव एकातिर अर्कातिर धनी (४७।२)
गर धर्ती आफ्नो बश रे ! श्रमको नै हक हो रस रे ! (४७।४)
बोल बोल किसान भाइ हो ! धर्तीपुत्र जिन्दावाद ! (४९।३)

यसरी किसानहरू मिलेर सामन्तको विरुद्ध संघर्ष गरी विजय प्राप्त गरेको यस नाटकले तत्कालीन समाजको यथार्थलाई प्रतिबिम्बन गरेकोले यसलाई यथार्थवादी रचना भन्न सकिन्छ । तर नाटकलाई अन्त्यसम्म एउटै वैचारिक प्रवाहमा लैजान नसक्नु, संघर्षको दिशा स्पष्ट नहुनु र ठाउँ–ठाउँमा दैवी प्रेरणालाई स्वीकार्नुले देवकोटा माक्र्सवादबाट प्रभावित देखिए पनि त्यसलाई आत्मसात नगरेको स्ष्ट हुन्छ ।

वैचारिक दृष्टिले २०१२ पछिका उल्लेख्य रचनाहरूमा हुरीको गीत, आँधी, झञ्झाप्रति, गैंडोपासना, हुरीपछिको गृहागमन, एक सुन्दरी बेश्याप्रति, चुकुल, माग्नेसँग, पुँजीपतिलाई, बाढीकी विष्णुमती, किसान, सार्की, नयाँ जमाना, दाल–भात– डुकु, मातृभूमिको माटो रुन्छ आदि रहेका छन् । वि.सं.१९९७ बाट २०१२–०१३ मा आइपुग्दा देवकोटाको वैचारिक धरातल व्यापक र विस्तृत बन्नुका साथै चिन्तन र दृष्टिकोणमा पनि धेरै विकास भइसकेको पाइन्छ । देवकोटामा विकसित हुँदै आएको चिन्तन र दृष्टिकोणलाई बुझ्न वि.सं.२००० अघि र २००८ पछि एउटै विषयमा लेखिएका कविताको तुलनात्मक अध्ययनबाट अझ स्पष्ट हुन्छ । वि.सं.१९९५ मा लेखिएको किसान र १९९७ मा लेखिएको भिखारीसँग २०१३ मा लेखिएका किसान र माग्नेसँग कविताको तुलना गरी हेरौं —

वि.सं.१९९५ को किसान—
न्यानो छ त्यो घर अहा ! सुख शान्ति बास
बत्ती छ सानु तर सुन्दर त्यो प्रकाश
गर्दै प्रयास दिनको करले कमाइ
छन् गाँस गाँस कति स्वाद किसानलाई ।
वि.सं.२०१३ को किसान—
कठैबरा ! किसान भाइ हो तिम्रो निम्ति प्राणैको शङ्कट छ
चिथरामा भोका र मैला हड्डी खाली पसिना चिट्चिट् छ
शाकपातलाई घामपानी हरियो छ र¨
उज्यालो खै तिमीलाई भाइ ? सुकेका छन् अ¨
पृथिवीका धनी हो ? पैदायस छवि हो
लुट्यो अनि कसले हो ?
इन्साफ यस्तो ढ¨ ?
जाग्दैनौ किन हो
हक आफ्नो लिन हो
गास, बास, कपास निम्ति लड भाइ हो …।

वि.सं.१९९५ मा किसानलाई सुख, शान्ति र सन्तोषपूर्वक बसेका देख्ने देवकोटा २०१३ मा आउँदा तिनलाई शोषित, पीडित र दयनीय अवस्थाका देख्छन् । १९९५ मा यथास्थितिमै रमाउन लगाउने देवकोटा २०१३ मा गास, बास, कपास लगायत अन्य अधिकारको लागि लड्न आग्रह गर्दछन् । यसैगरी १९९७ मा भिखारी का माग्नेलाई पृथ्वीमा दया र करुणाको भिक्षा माग्न आएको ईश्वर भन्दै उसप्रति दया र करुणा राख्न सबैलाई आग्रह गर्दछन् भने २०१३ का माग्नेसँग कसैको दया र करुणा होइन आफ्नो हक–अधिकारका लागि संघर्षमा उत्रन आह्वान गर्दछन् ।

१९९७ को भिखारी —
कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेको ।
२०१३ को माग्नेसँग —
ए माग्ने तँ रुन्छस किन, मान्छे होस् हक्लेर गर्जी जा
करुणा हो देउताको दान कलियुगमा फलामको मर्जी बा
बर्षिने बादल हो सपना बज्रै हो तँ इन्द्र चट्की जा !
लौरो फ्याँक चढिदे आँधी हे हनुमान् के झुक्छस् गड्की जा !

देवकोटामा आएको अन्तर्विकासको अध्ययन नगरी र उनका उत्तराद्र्धका रचनाको वेवास्ता गरी उनका मुनामदन, शाकुन्तल र भिखारीलाई नै अत्युŒाम रचना मान्दै तिनै भित्र मात्र देवकोटाका प्रवृत्ति खोज्ने कार्यले उनको सही मूल्याङ्कन हुन नसकेको हो ।

देवकोटाका रचनामा पुँजीवाद या धन–सञ्चय प्रतिको घृणा सुरुबाटै आउने गरेको भएपनि पहिलेको विरोध आध्यात्मिक तहबाट स्वतःस्फूर्त रूपमा आएको पाइन्छ भने पछिल्ला रचनाहरूमा आउँदा उनी सचेत रूपमै पुँजीवादी प्रवृत्तिको विरोध गर्न पुग्दछन् । सात सालको परिवर्तनले आम जनताको हित गर्नुको साटो पैसा नै सबथोक ठान्ने पुँजीवादी विकृतिलाई बढाउन थालेकोमा कवि चिन्तित देखिएको पाइन्छ । एउटा शासकको ठाउँमा अर्को शासक आउनुमै परिवर्तन सीमित रहेकोप्रति कविले गैँडोपासना कवितामा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन —

शंशेरहरूले मार्थे तिमीकन
आयो सचिवको पालो
क्रान्ति यत्ति भो ! आलु सिमीकन
छैन बदनमा टालो
घरमा छैन दियालो ।

समाजमा विकृति, विसङ्गति र अशान्ति खडा गर्ने कारक तत्त्व नै निजी सम्पत्ति हो र यसैको आडमा समाज वर्ग विभक्त हुँदै आएको हो । यसैले आर्थिक विषमता र वर्ग विभेदको चुकुल उखेल्न कवि सबै दुःखी, गरिव तथा उत्पीडित वर्गलाई चुकुल कवितामा आह्वान गर्दछन् ।

को यो फार्ने को यो पार्ने
मानिस मानिसमा अन्तर ?
यो हो चाँदी यो हो कागज–
बाट बनेको धूर्त चुकुल …
जनतन्त्रलाई पुँजी राज्दछ ! पुँजी विभाज्दछ
नेता भैकन पुँजी गाँज्दछ !
हाय सहेको किन यो भूल ?
मिल ए गरिव मिल ए दीन
फ्याँक उखेल चुकुल !

यसैगरी पुँजीपतिलाई भन्ने कवितामा पनि कवि देवकोटाले पुँजीपतिप्रति घृणा गर्दै व्यङ्ग्य गरेको पाइन्छ —

विदेशीका सामु झुक स्वदेशीलाई थुक
ठूला चोक्टा देशका हे तिमीहरू नै लुछ …
लुटको यो धनलाई श्राद्ध फुपूको छ
लाली लगाऊ देशको मुटु तिम्रो बटुको छ
ए गिद्ध ! छौ दूरदर्शी मसान हो समाज खँगार !

कवि देवकोटा क्रान्तिको लागि बन्दुक या गोलीको गीत गाउन पनि पछि पर्दैनन् । जनताका तमाम समस्याहरू हल गर्ने हो भने एकमात्र उपाय क्रान्ति हो र यसका लागि सबै तयार रहनु पर्छ भन्ने भाव उनको गोली हो कवितामा यसरी व्यक्त भएको छ —

गोली हो यो गोली हो
काननेर गाउँछ सुइय ! रणको बोली हो
आजको यो निम्ता भाइ
बल्दो भोलि हो !…
तिनका मर्लान्
असिना पर्लान्, पग्ली झर्लान्
हाम्रो चाहिँ जुग–जुगलाई
गाइरहलान् होली हो !

उत्पीडित वर्ग विशेषतः महिला र जनजातिप्रतिको सम्मान देवकोटाको अर्को प्रगतिशील पक्ष हो । नेपाली साहित्यमा सर्वप्रथम उनैले जनजातिका व्यक्तिलाई आफ्ना काव्यको नायक बनाएका छन् । लुनी, म्हेन्दु, तिप्लि¨ी जस्ता काव्यमा उपेक्षित जनजाति तामाङलाई नै नायकत्व प्रदान गरिएको छ भने मुनामदनमा पनि भोटे जस्तो तत्कालीन समाजमा उपेक्षित पात्रलाई आदर्श पात्रको रूपमा चित्रण गर्दै सम्मान गरिएको छ । उनका रचनामा नेपाली महिलाहरूको दयनीय अवस्थाको चित्रण गरिएको पाइन्छ । सुरुका रचनाहरूमा महिलाहरूको यथार्थ चित्रण गरिए पनि तिनलाई विद्रोह र संघर्ष गर्न नसक्ने अबला नारीका रूपमा चित्रण गरिएको भएपनि पछिल्ला रचनाहरूमा तिनलाई संघर्ष गर्न लगाइएको पाइन्छ ।

निष्कर्ष
स्वच्छन्दतावादको आमन्त्रण र प्रवर्तन गर्दै आफ्नो साहित्य–यात्रा सुरु गर्ने देवकोटा मूलतः स्वच्छन्दतावादी कवि हुन् र उनको यो प्रवृत्ति जीवनको अन्तिम समयसम्म कायमै रहेको पाइन्छ । उनको साहित्य–यात्राको पूर्वाद्र्धका रचनाहरूमा वर्तमानप्रति वितृष्णा र अतितको मोह, आर्य सभ्यता र संस्कृतिप्रति अनुराग, दीन–दुःखी र गरिवहरूप्रति सहानुभूति, धनी–पुँजीपतिहरूप्रति घृणा, ईश्वरप्रतिको आस्था र प्रकृतिप्रति अतिसय प्रेम जस्ता निष्क्रिय स्वच्छन्दतावादी प्रवृत्ति पाइन्छ । २००२ सालमा प्रकाशित सुलोचनामा सामाजिक समस्याहरूलाई उठाउँदै त्यसमा सुधारको सन्देश दिन खोजिएको र २००३ को साँढे कविताबाट तत्कालीन शासन व्यवस्थाप्रति व्यङ्ग्य र विरोध गरिएको पाइए पनि समग्रमा हेर्दा यस अवधिका रचनाहरू वैचारिक दृष्टिले यथास्थिति र अझ पश्चगामी प्रवृत्ति बोकेका समेत पाइन्छन् । गरिवप्रति सहानुभूति, पुँजीपतिप्रति घृणा, श्रम–पसिनाको सम्मान, मानव सेवालाई नै धर्म ठान्ने, उपेक्षित जनजाति र भाषाको सम्मान जस्ता केही प्रगतिशील प्रवृत्तिहरू पाइए पनि समग्रमा हेर्दा यस अवधिका रचनाहरूले सामन्ती संस्कार र परम्पराको पक्षपोषण गर्दै भविष्यको खोजीमा होइन यथास्थितिमा रमाउन र अझ विगतमा फर्किन सन्देश दिएको हुँदा यस अवधिका देवकोटाका रचनामा प्रगतिशीलता भन्दा यथास्थितिवादी चिन्तन र क्रान्तिकारी स्वच्छन्दतावाद भन्दा निष्क्रिय स्वच्छन्दतावादी प्रवृत्ति नै मुख्य रूपमा रहेको पाइन्छ ।

२००४ सालदेखि देवकोटामा समाजबोध र यथार्थबोध हुँदै गएकोले उनले प्रजातान्त्रिक आन्दोलनलाई सहयोग र समर्थन गरेको देखिन्छ । तर २००७ सालको परिवर्तन जनताको पक्षमा नभई केही मुठ्ठीभर व्यक्तिको हितमा सीमित रहेकोले त्यसबाट दिक्क बनेका देवकोटाले अर्को क्रान्तिको महसूस गर्दै आफ्ना रचनामा क्रान्ति र विद्रोहका स्वरहरू उराल्न थालेको पाइन्छ । आफ्नै देशको परिस्थितिको अध्ययनबाट विस्तारै जागृत बन्दै गएको उनीभित्रको विद्रोह चेत २००८ देखि उत्तरोत्तर विकसित हुँदै गएको र समाजवादी देशहरूको भ्रमणले माक्र्सवादप्रति आकर्षित बनेको देखिन्छ । २००४ सालपछि या बनारस प्रवासदेखिका उनका कतिपय रचनामा सामाजिक यथार्थवादी प्रवृत्ति या प्रगतिशील स्वरहरू गुञ्जिएको भेटिए तापनि ती स्वरहरू राणा विरोधी स्वरमा नै सीमित भएको पाइन्छ । २००८ पछि नै देवकोटा माक्र्सवादप्रति आकर्षित भएका देखिन्छन् । कुनैपनि विचारबाट आकर्षित या प्रभावित हुनु र त्यसलाई आत्मसात गर्नु एउटै कुरा होइन । देवकोटा माक्र्सवादप्रति आकर्षित र केही प्रभावित समेत भएको देखिए पनि उनले त्यसलाई आत्मसात गरेको या माक्र्सवादी बनेको पाइँदैन । यसैले उत्तराद्र्धमा लेखिएका उनका धेरै रचनाहरू प्रगतिशील प्रवृत्तिका देखिए पनि प्रगतिवादी हुन सकेनन् । माक्र्सवादप्रति प्रतिबद्ध हुन नसक्नाले नै सानैदेखि उनीभित्र जरा गाडेर बसेको परम्परावादी आर्य संस्कारले बेला–बेलामा उनको प्रगतिशील चेतनालाई उछिनेर अघि बढेको पाइन्छ । बेला–बेलामा प्रकट हुने त्यस्ता आदर्शवादी–रहस्यवादी रचनाहरू तथा क्यान्सरको पीडाले रन्थनिएको बेलामा निस्किएका तिनै संस्कारजन्य ईश्वरभक्तिका उद्गारलाई लिएर केही आदर्शवादी समीक्षकहरूले देवकोटालाई आदर्शवादी–अध्यात्मवादी कवि ठहर गरेका छन् । देवकोटाभित्र विकसित हुँदै गएको वैचारिक धरातलका साथै उनका रचनाहरूको समग्र स्थितिलाई हेर्दा चाहिँ के भन्न सकिन्छ भने देवकोटाका केही प्रारम्भिक रचनाहरूले अध्यात्मवादको पक्षपोषण गरेको पाइए उनी प्रारम्भिक अवस्थामै पनि सामन्तवादी र यथास्थितिवादी थिएनन् । समग्रमा हेर्दा उनका रचनाहरूले समाजलाई पछाडि हटाउन र यथास्थितिमा राख्न होइन अग्रगमनको लागि र परिवर्तनको लागि नै सहयोग पुर्‍याएको देखिन्छ । उनले शासन–सत्तालाई रिझाउन र टिकाउन होइन जनतालाई जगाउन र जनताकै पक्षमा रहेर लेखेको पाइन्छ । यसैले समग्रमा हेर्दा देवकोटालाई प्रगतिवादतर्फ उन्मुख हुँदै गएका प्रगतिशील कवि भन्नु नै वस्तुसम्मत हुने देखिन्छ।

प्रमुख सन्दर्भ
अधिकारी, रविलाल (सं.) (२०५५). गोविन्द भट्टका समालोचना काठमाडौंः बगर फाउण्डेसन ।
चापागाईं, निन (२०५४). ‘कवि लक्ष्मीप्रसाद देवकोटाको अन्तर्विकास र प्रवृत्ति’ साथी (१३:६)
चैतन्य (२०६४). क्रान्ति र सौन्दर्य. काठमाडौँ : प्रगतिशील अध्ययन केन्द्र ।
जोशी, कुमारबहादुर(२०४३). एक व्यक्तित्व अनेक दृष्टि. काठमाडौँ : साझा प्रकाशन ।
जोशी, कुमारबहादुर (२०४८). देवकोटाका प्रमुख कविताकृतिको कालक्रमिक विवेचना. काठमाडौँ : सिद्धार्थवनस्थली प्राज्ञिक परिषद् ।
पाण्डे, नित्यराज (२०१७). महाकवि देवकोटा. काठमाडौँ : रत्नपुस्तक भण्डार ।
प्रश्रित, मोदनाथ (२०४२). वैचारिक विकासको सन्दर्भमा लक्ष्मीप्रसाद देवकोटा. काठमाडौँ : गुनिलो प्रकाशन ।
बन्धु, चूडामणि (२०३६). देवकोटा. काठमाडौँ साझा प्रकाशन ।
भानु देवकोटा विशेषाङ्क (२०२५,५ : १२) ।
शर्मा, ताना (२०३४). भानुभक्तदेखि तेस्रो आयामसम्म. काठमाडौँ : साझा प्रकाशन ।
सुवेदी, राजेन्द्र (सं.) (२०४१). स्रष्टा देवकोटा द्रष्टा परिवेशमा. काठमाडौँ : साझा प्रकाशन ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 296
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

पोखरेलकृत ‘पगाहा’मा रहेको दार्शनिकता

January 28, 2024

‘मङ्की माइण्ड’ भित्र भेटिएको सन्देश

January 18, 2024

लेखनाथ पौडेलका कवितामा नीतिचेतना

January 10, 2024

त्रिविधाका बान्कीहरू

December 7, 2023

मकवानपुर जिल्लाको गजल इतिहास

October 21, 2023

ताना शर्मा : सङ्घर्ष र प्राप्ति

October 11, 2023

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.