शरण राई नेपाली साहित्यमा बहुमुखी ढङ्गले योगदान दिइरहेका प्रतिभा हुन् । उनको कलम बहुविध क्षेत्रमा सक्रिय छ । साहित्यसागरमा उनको पचिरय समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित ‘सम्झनामा मात्र’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले मानव विकासको तीव्र र तीव्रतम अवस्थालाई चित्रण गर्दै आफ्नै भोगाइको सेरोफेरोबाट आजको मान्छे युद्धको सन्त्रासमा रहेको पक्षलाई निकै सशक्त ढङ्गले प्रस्तुत गरेको छ । -सम्पा. |
कतिपय बस्तु र कुराहरू विस्थापित भइसके ।
सानो छँदा पहिलो पल्ट “यताउता लर्बराउँदा मुतमा भिज्यो जाङ्गे, ए साली , ज्यु भेनाज्यु“ गीत ग्रामोफोनमा सुन्दा आश्चर्य ,सन्तोष र असीम आनन्दको अनुभव । ग्रामोफोनभित्र मसिना मान्छेहरू हुन्छन् र तिनीहरूले गाएका रे । घोप्टी घोप्टी हेरिन्थ्यो कतै देखिहालिन्छ कि !
रेडियो आयो, टेप रेकर्डर आयो । सिडी प्लेयर आयो । ठुला ठुला साउन्ड बक्स आए । चक्का, रिकर्ड, क्यासेट,सिडी सबै हरायो । अहिलेको कम्प्युटर, ल्यापटपमा सिडी प्लेयर नै छैन । इन्टरनेटले जेलिएको विश्व छ ।
रङ्गिन दुनियाँ । ब्लाक एन्ड वाइट जमानामा जन्मेका हामी । नबोल्ने सिनेमा, बोल्ने तर श्यामश्वेत सिनेमा, पछि रङ्गिन सिनेमा । सिनेमा हलमा नगई सिनेमा हेर्न पाइँदैन थियो । सिनेमा सोल्टिसित भेट्ने ठाउँ । अहिले सिनेमा त हातको मोबाइलमा छ । जुन जतिबेला चाहे पनि हेर्न पाइन्छ ।
इन्साइक्लोपेडिया ब्रिटानिका किताबको रूपमा छापिनै छाडेको छ । नेटमा फ्रि विकिपिडिया । जे खोज्यो ,सोध्यो टुप्लुक्क हाजिर ।
मैले देखेका चलाएका र उपभोग गरेका धेरै कुराहरू––
एक पैसा माना घ्यु खाएको हात सुङ् सुङ्
एक पैसा माना त होइन, डेड रूपियाँ धार्नी सिकार , ४२ रूपैयाँ तोला सुन । १२५÷– बिराटनगर काठमाडौं हवाइजहाजभाडा हुँदा विद्यार्थी सहुलियतमा १०७/– मा हवाईजहाज पहिलोपल्ट चढेको आदि कैयौ कुराहरू सम्झनामा मात्र । आज त कहाँ हो कहाँ ।
माना, पाथी, ढक तराजु, तुलो, ढिकिजाँतो, पेरूङ्गो, ढाकर तोक्मा, हर्पे, ठेकी, मदानी, गाग्री, लोटा करुवा, डाडु, पुनिउँ, सिलौटो, लोहोरो जस्ता कतिपय वस्तुहरू हराइसके । घोडा घरघरमा पालिन्थ्यो, घोडचडीको इज्जत थियो । घोडा आवश्यकता पनि (यातायातको विकास नभएको अवस्थामा) थियो । साईकल बसले घोडालाई विस्थापन गर्यो । घोडा त अहिले तस्वीर खिच्ने मात्र । गोरुको अवस्था पनि ट्रयाक्टर आएपछि घोडाकै जस्तो हुन थालेको छ । कहाँ गोरु जोत्ने र गोरुगाडा हुने ?
मान्छेले अरू जानवरहरूलाई जितेपछि मान्छेले आफूलाई सर्वश्रेष्ठ ठान्यो । मान्छेको विकास युध्दमा केन्द्रित भयो ।
उहिले दुई सय वर्षसम्म दुई देशहरूले युध्द लडेको इतिहास छ । ढाल तरवारदेखि परमाणु बम, क्षेप्याश्त्र । युध्दको आकार रूप र विनास फेरिएको मात्र होइन भयानक भएको छ । पृथ्वीलाई सयौँ चोटि नष्ट गर्ने हतियार भण्डार छ रे !
डायनो सरजस्तै आफैले बनाएको हतियारले मानवलाई पनि सम्झनामा मात्र सीमित नपारोस् …! युध्द उन्मादीहरूकै बोलबाला छ । पृथ्वी मात्र नभएर मान्छे मास्ने मान्छेले नै बनाएको ध्वंसात्मक हातहतियार परमाणु बमहरूबाट बाँच्ने कसरी … ? कसरी !??