आत्माराम खरेलको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी नेपाली साहित्यका निबन्ध सिर्जनामा निकै सशक्त प्रतिभा हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘किन र कसरी लेख्छु’ शीर्षकको निबन्धात्मक आत्मकथन समेटिएको छ । यस निबन्धमा लेखकले आफूलाई भोलिको अज्ञात सहिद लेखकका रूपमा प्रस्तुत गर्दै व्यङ्ग्य पनि गरेका छन् । निबन्ध विषयवस्तुअनुरूप दार्शनिक पनि बनेको छ ।
-सम्पा. |
मलाई पटक–पटक सोधिइने प्रश्न हुन् – किन र कसरी लेख्छौ ?
लेख्न बस्दा – मभित्रको पाठकलाई पढ्न हतारो हुन्छ । पाठक बन्दा – मभित्रको लेखकलाई लेख्न चटारो हुन्छ । भाव लिपिबद्ध नगरुँ; खुला समाजमै पनि निर्वासित हुन पुगुँला । यसर्थ पनि हरदम चिन्तन र लेखन गरिरहन्छु । यसबाट ममा विचार उम्रन्छन्, भाव पलाउँछन् । अनि प्रश्निल हुन्छु – ‘अभिव्यक्तिको माध्यम कसरी ? प्रसङ्ग कुन ? शैली कस्तो ? भाव नि ? अन्ततः के हुन्छौ ?’ उत्तरित हुन्छु – ‘अभिव्यक्तिको माध्यम – सिर्जना । प्रसङ्ग – समाज । शैली – स्वतन्त्र । भावलाई मस्तिष्क–गर्भमा हुर्काएको हुन्छु । लिपिबद्ध भइसक्दा एक सर्जक माता बनेको हुन्छु ।’
लेख्दै जान्छु । भाव सरर्र पोखिँदै जान्छन् । प्रसङ्ग थपिँदै जान्छन् । उप–प्रसङ्ग जोडिँदै जान्छन् । शैली फेरिँदै जान्छन् । एकातिर, मन– कल्पनामा डुबिरहन्छ । मस्तिष्क – लेखनमा दौडिरहन्छ । यी र यस्तै गतिविधिले मलाई लेखन–सुख दिइरहन्छ । मन र मस्तिष्कले भनिरहेका हुन्छन् – ‘विचारका पोसिला बीउ छर्ने साहित्यले समाजलाई सकारात्मक सन्देश दिइरहन्छन् ।’
आफ्नो अपूर्ण रचनाको पाठक आफै भइरहेको हुन्छु । कतै विचारहीन अंश पाउँदा गुदीबिनाको स्वाद पाउँछु । अस्पष्ट अंश देखापरे स्पष्ट पार्ने कोसिस भइरहन्छ । पुनर्लेखन अभ्यासको फल हो – लेखन केही न केही खारिँदै जानु । अर्कातिर मेरो शब्द भण्डार एकदमै सानो छ । व्याकरणीय त्रुटि हुन्छन् । ममा उखान–तुक्का र गाउँखाने कथाको निकै अभाव छ । अध्ययनको एकदमै कमी छ । तर पनि म हतोत्साहित हुन्नँ । कारण साहित्य एउटा विषय र प्रस्तुति हो । अनि भाव र शैली पनि हो । अनि यो हो लिपिबद्ध गरिने आफ्नै परिवेशको कथाकुथुङ्ग्री पनि । साथै आफ्नो भाव र कलासित आफै प्रतिस्पर्धी पनि ।
आज यो ‘म’ निकै गम्भीर छ । भन्छ – ‘म किन र कसरी बाँचिरहन चाहन्छु ? कहाँ हो मेरो लेखन गन्तव्य ? मेरा शब्द भाव कति प्रासङ्गिक छन् ? कला पक्ष कुन छेउमा छ ? ममा लेखकीय दायित्वबोध छ कि छैन ?’
लेखन एउटा कला हो, लेखक कलाकार । आफ्ना भाव लिपिबद्ध गर्दै जाँदा नदी र झरनामै पनि शब्द पाउँछु । सामान्य शब्दमै पनि भाव अटाउँछु । यसरी नै मेरो लेखनले हर रोज मलाई दह्रो विद्यार्थी बनाउँछ । पठन र चिन्तनमा थप अग्रसर गराउँछ ।
म लेख्छु – पहिले मनमा, पछि कागजमा । अनि रमाउँछु – आफूद्वारा आफै सम्प्रेषित हुँदा । आफूलाई सम्झाउँछु – जसरी देखियो–भोगियो त्यसरी नै प्रस्तुत हुनु । सदा चाहिरहन्छु – आफ्ना लेखनका हर पक्षमा आफ्ना निजीपना झल्किरहोस् । यो चाहना हिजो र आज झैँ भोलि पनि रहिरहोस् भन्ने लाग्छ ।
मेरा दुई कर्म छन् – बाँचेर लेख्ने अनि लेखेर बाँच्ने । कारण लेखन नै मेरो उत्तराद्र्धीय जीवनको सार भइदियो । यो नै मसित रुने साथी बनिदियो । यही नै भइदियो मसित हाँसिदिने साथी पनि । यिनै परिवेशले मलाई लेखनको पूजारी बनायो । पठनलाई पनि साथ लगायो । यसैले जीवन र जगत् बुझ्ने गोरेटोमा डो¥यायो । यही गोरेटोले बाँच्नका लागि विविध सपना पनि बोकायो ।
एकताकाको कुरो हो – दुःख पर्दा जिन्दगीलाई धिक्कार्थें । ‘बाँच्न नपरे हुने नि !’ भन्ठान्थें । तर, मेरा लेखन–सपना मर्नदेखि डराउँथे । निश्चय पनि; विना कल्पना उज्यालो–भोली देख्न सकिन्न । जीवन र जगत् टाढा राखेर सपना देख्न सकिन्न । यहाँ छिनको छिनमै शयौं पुस्तक प्रकाशित हुन्छन् । मैले लेख्दै गरेको यस क्षणमा पनि कैयौं लेखकले आफ्ना भावना लिपिबद्ध गरिरहेका होलान् । भोली ती सबै सार्र्वजनिक होलान् । तर पनि समाजका धेरै कुरा लेख्न बाँकी नै रहन्छन् । लेख्न बाँकिमध्ये कुनै पक्ष पहिल्याउन खोज्नु लेखन कर्मभित्रकै पाटो हो ।
यतिबेला कलम समाइरहेछु । लेख्नुअघि सोचिरहेछु – अब मैले लेखनमा नयाँ स्वाद दिनुपर्छ । निराकार विम्बलाई आकार दिनुपर्छ, शब्द संसारमा डुल्नुपर्छ र सामाजिक द्वन्द्वसित मेलखाने हस्तक्षेपी शब्द खोज्नुपर्छ । त्यस्तै हर शब्द र वाक्यमा साहित्य–सत्वको पनि खाँचो हुन्छ । लिपिबद्ध गर्दागर्दै पनि विचारमा परिष्कार हुन्छन् । आफ्नै मनको आवाज पनि सुनिन्छन् – जब सत्वको खोजी गर्न थालिन्छ तब अस्तित्वको जरा पलाउन थाल्छ ।
जब लेख्न बस्छु – विविध चित्र र चरित्र हेरिरहेको हुन्छु । मूल चित्रमा भन्दा पनि त्यस वरिपरिको पृष्ठभूमिमा ध्यान दिइरहेको हुन्छु । यसै क्रममा फूल र फलफूल पनि देखिन्छन् । तिनको रङ्ग, वासना र स्वादमा ख्याल गरिरहेको हुन्छु । अनि ममा भाव फुर्ने गर्छ – हावा चल्दा र पात हल्लिँदा । समूहमा बस्दा र एकान्तमा रहँदा पनि । लेखन अघि बढ्छ – जुनेली रातमा मात्र हैन औँसीकै रातमा पनि । झमझम पानी पर्दा मात्र हैन आकाश उघ्रिँदा पनि । कहिले उद्यान र वनतिर पनि जान्छु । त्यहाँ देखिने वृक्ष र पातमा थुप्रै कुरा पढ्छु । अनि त आफ्नै कापी र कलममा पनि वृक्ष र पात देख्छु । वृक्ष र फलमा हुने परिवर्तनमा आफ्नै शारीरिक परिवर्तन पनि देख्छु । यिनै ढाँचा र प्रसङ्ग मेरा लेखन–शैली र अभिव्यक्ति हुन् ।
म लेख्छु किन कि यो मन नै लेखन–मन हो । यसभित्रको एउटा पाटो हो – सामाजिक काँडा–छेस्का पाखा लगाउनु । अनि असरल्ल सामाजिक झारपात पन्छ्याउनु । र त, आफ्नै जीवन चिथोरेर सामाजिक कुनाकानी हेरिरहन्छु । आफ्नै रगत निचोरेर केही न केही लेखिरहन्छु । आफ्नै भोगाइको विम्बसमेत प्रस्तुत गरिरहन्छु ।
अब यो ‘म’ को लेखन सुरु हुन्छ । पहिले आफूभित्र छिर्छ । अनि पात्रभित्र छिर्छ । त्यसपछि समाज र जीवनको एक्स–रे गर्छ । लेख्दै जाँदाको यो वृद्ध कलम युवामा बदलिँदै जान्छ । अनि त कोरीबाटीमै पनि प्रशस्त समय खर्चिरहन्छ । बसाइको तर्फ पनि बरोबर फेरिरहन्छ । कहिले झ्यालतर्फ त कहिले दर्पणतर्फ । कहिले स्रोतातर्फ त कहिले दर्शकतर्फ । त्यस्तै कहिले समीक्षकतर्फ त कहिले पाठकतर्फ । लेख्दै जाँदा शैली निर्माण हुँदै जान्छ । भाव उम्रँदै जान्छ । कला परिष्कृत हुँदै जान्छ । यिनै गतिविधीमा यो ‘म’ उत्साहित भइरहन्छ । यसरी नै भोलिको उज्यालोप्रति भरोसा राखिरहन्छ ।
लेखन त आफूमा युवत्व जगाउने विधि हो । लेखनमा रमाउने शैली हो । भावहरू पोख्दै र छर्दै जाने आफ्नै तरिका पनि हो । जब प्रशस्त अभ्यासको खाँचो बोध हुन्छ तब लाग्छ – सिर्जना भन्नु साधना हो ।
आत्मकथा लेख्दै गर्दाको कुरो हो । विगतमा फर्किरहेको हुन्छु । त्यतिबेलाकै उमेरलाई हेरिरहेको ह्न्छु । आफूलाई झनै उत्साहित बनाइरहेको हुन्छु । नियालिरहेको हुन्छु – अतीतको जीवन भोगेको आत्मारामको उपस्थिती पाउँछु । त्यस्तै, वर्तमानमा हिँडिरहेको आत्मारामको उपस्थिती पनि । विगत र वर्तमान दुवै साक्षी राखेको हुन्छु । दुबैथरीको कथा र व्यथा मन्थन गरिरहेको हुन्छु । निचोडमा मेरो विगत जस्तो थियो मेरो आत्मकथा त्यस्तै हुने गर्छ । ह्रदयबाट जे आउँछ त्यही नै मेरो भाव । जसरी पोखिन्छ त्यही नै मेरो शैली । आफ्ना अनुभव र अनुभूति नै लेखन खुराक । त्यसलाई शब्द र वाक्यसीमामा बाँध्नु लेखन बाध्यता । झलक्क हेर्दा जस्तो देखिन्छ त्यही नै मेरो स्वरूप । पानीका लहरझैं लहराउन खोज्नु मेरो स्वभाव । लेखन–पठनलगायत शारीरिक सक्रियता नै मेरो दिनचर्या । यही नै मेरो दैनिक अस्मिता । यही हो मेरो आत्मकथा ।
म घुमन्ते जीवन बाँचिरहेको छैन । बाँचिरहेछु – ‘पेन–डायस्पोरिष्ट’ भएर । नयाँ चस्माले हेरिरहन्छु – पुराना कुरा संगालेर । मेरो लागि साहित्यिक कच्चा पदार्थको पहिलो स्रोत हो – काठमाडौँ । त्यसपछि म बसाइ सर्दै गएका स्थलहरू । अर्को महत्वपूर्ण स्रोत हो – कल्पना । म हर रचनामा अघिल्लो भन्दा फरक मुहारमा देखिन चाहन्छु । हर रचनामा नयाँ खाले रङ दिन चाहन्छु । एकातिर मेरा आफ्नै खाले भाषा पनि छन् । तिनले मेरा विचारसित विनिमय गर्छन् । अर्कातिर यात्रा गरिरहँदा मनमनै लेखिरहन्छु । कतै बसिरहँदा कागजमा उतारिरहन्छु । सुतिरहँदा सपनामा लेखिरहन्छु । यसर्थ म आफ्नैखाले संसारको परिकल्पना गर्दै भन्छु – संसार सुन्दर र शान्त हुनुपर्छ । मानिसमा ज्ञान र विज्ञान दुबै हुनुपर्छ । त्यसका लागि हर लेखनमा संश्लेषण र विश्लेषण हुनुपर्छ ।
मेरो लेखन–बानीमा विविधता छ । कहिले कल्पनामा डुबिरहनु । कहिले चिन्तन गरिरहनु । ‘एकातिर, म लेखिरहेको हुन्छु – कहिले गत र विगतबीच । कहिले विगत र आगतबीच त कहिले गत र आगतबीच । लेखिँरहँदा भावलाई बरालिन दिन्नँ । विवेकबाट हट्दिनँ । सत्यपथ छाड्दिनँ । औँसीको रातमै पनि अघि लम्किरहेको हुन्छु । किनकि जुनकिरीको साथ पाइरहन्छु । हिँडाइमा कछुवा र उफ्राइमा खरायोका पाठाहरूको अनुभव गर्छु । अर्कातिर झूठहरू लजाउँदै आउँदा मेरा शब्दहरू रोकिन्छन् । आँखाहरू रसाउँछन् । मुटुको ढुकढुकी बढ्छ । सास फेर्न गाहारो हुन्छ । अनि त एकसुरमा हिँडिरहेको मलाई जीवन राजमार्गले हुत्याउन खोज्छ ।’ ओहो ! यसखाले कल्पनाले मात्र पनि लेखन जीवन निकै रमाइलो लाग्छ । यसले दिने पुनर्ताजगीले लेखाइरहन्छ, निरन्तर लेखाइरहन्छ । फलतः यो मनले भनिरहन्छ – सास छउन्जेल लेखिरहु लेखिरहु । सपना रहुन्जेल लेखिरहु, लेखिरहुँ ।
यो ‘म’ ले बारम्बार भनिरहन्छ – लेख्ने बानीले अरूको भनाइमा ध्यान दिन थाल्यो । चिन्तन गर्ने बानी बसाल्यो । थाहा पाएँ – चिन्तनले तर्क मौलाउँछ । तर्कले दर्शन फस्टाउँछ । दर्शन र विवेकले न्याय फलाउँछ । अध्ययनले ज्ञान दिलाउँछ । अनुभवले विचार उब्जाउँछ । विचारले विश्व हल्लाउँछ । अध्ययन, विचार र अनुभवले भावलाई परिष्कृत गराउँछ । अर्कातिर विमतिलाई पनि सम्मान गर्नुले नयाँ–नयाँ विचार जन्माउँछ । अन्यथा उसले चिन्तन त गर्छ, गहिराइमा पुग्दैन । पढ्न त पढ्छ, उताको पढ्दैन । चारैतिर ध्यान नदिनाले उसमा काँचोपना कहिल्यै जाँदैन । अनि त लाग्यो यति कुरो बुझ्दा पनि त नयाँ भाव उम्रन्छन् । तिनै भावले जीउने शैली दिन्छन् । अनि विश्वास पनि दिलाउँछन् – अथक प्रयासमा नै भावहरू कलात्मक तवरमा पोखिने गर्छन् ।
निश्चय पनि लेखनले मबाट टाढै राखेको भन्नु वैराग हो । वैराग टाढै रहनु भनेको शब्द कोर्नका लागि चिराग हो । कलम र कागतसित मेरो नातो भन्नु साहित्यप्रति अनुराग हो । यो नै मेरा लागि बिना हाजिरीको स्वतन्त्र दैनिकी हो । मेरो चाहना भन्नु हर रोज सिर्जनामा रमाउनु हो । लेखन नै मेरो अस्मिता हो । किनकि साहित्यिक परिचय कहिल्यै पनि भूतपूर्व हुँदैनन् । मृत्युपश्चात पनि सर्जक सर्जक नै रहन्छ ।
यो मनले एकदिन एकाएक पुरानै प्रश्न दोहो¥यायो – ‘आत्माराम ! तिमी किन लेख्छौ ?’
लेखनले जीवन ‘रिचार्ज’ गर्छ । अनुभूव र अनुभूतीलाई शब्द–शब्दमा अनुवाद गर्छ । सामाजिक कर्मप्रति अग्रसर गराउँछ । लेख्नु मेरो सोख हो र स्वधर्म पनि । यही भावले लेखनतर्फ बारम्बार घच्घच्याउँछ । आफूलाई परिष्कृत गर्न सघाउँछ । पुनर्जीवित हुन सिकाउँछ । निश्चय पनि मेरो कलमको पछाडि जीवन अनुभूति छ । आस्थाको पछाडि जीवन स्तुति छ । मेरो लेखनमा विश्वास भरिएको गतिशीलता छ । साहित्यप्रतिको माया र श्रद्धाको अनन्त प्रवाह छ ।
एकातिर हर दैनिकीका थुप्रै पक्ष मत्थर हुँदै गए । अघिल्ला दैनिकीका तुलनामा समय अभाव हुँदै गए । उकालो लाग्दो उमेरसँगै रुचिको प्राथमिकता पनि फेरिँदै गए । साहित्यमोह बढ्दै जाँदा लेखनम् शरणम् गच्छामी हुँदै गएँ । अर्कातिर, म कुवाभित्रको एक जीव हुँ । कुवाबाहिर आइपुग्न सयौँ खुट्किला उक्लिनुपर्छ । त्यसमध्ये एक खुट्किलो त उक्लेको छु । त्यहाँबाट जति देखिन्छ, त्यसबाट गरिने अनुभव र अनुभूतिबारे मैले लेख्ने हो । वर्षैँदेखि आफूभित्र लेखन इच्छा, सपना र ‘प्यासन’ पालेर राख्ने म एक लेखन–पालक हुँ । किनकि म त भोलि हुने एक अज्ञात शहीद लेखक हुँ ।
atma55ram@gmail.com