कृष्णदेव रिमाल समकालीन पुस्ताका सक्रिय प्रतिभा हुन् । उनी सिर्जना साहित्यिक पत्रकारिता, सङ्गठनलगायतका बहुमुखी माध्यमबाट साहित्य क्षेत्रमा समर्पित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा रिमालको ‘तेजबहादुर फेरि मलेशिया गएनन्’ शीर्षकको निबन्ध समेटिएको छ । यस निबन्धले स्वदेशमै बसेर पशुपालन र कृषि कर्म गरे विदेशमा बसेर कमानउने भन्दा राम्रो कमाइ गर्न सकिने सन्देश दिएको छ । लेखक रिमाल विद्युत् प्राधिकरणका कर्मचारी हुँदा उनले विद्युत् प्राधिकरणकै सन्दर्भलाई पनि जोड्दै नेपाली ग्रामीण परिवेशका केन्द्रीयतामा यस निबन्धको सिर्जना गरेका छन् । निबन्ध संवादात्मक एवम् आख्यानात्मक शैलीमा संरचित छ । -कृष्णदेव रिमाल |
मकवानपुर जिल्लामा थुप्रै गढी र किल्लाहरू छन् । ती मध्ये चिसापानी गढी र मकवानपुर गढी निकै प्रसिद्ध गढीहरू हुन् । यिनै गढी र किल्लाहरूमा मुकाम गरी बसेका वीर नेपाली सेनाले अंग्रेजका फौजहरू धपाएर यो नेपाल स्वतन्त्र राखेका थिए । यसै ऐतिहासिक मकवानपुर गढीको नाउँबाट अहिले यहाँ गढी गाउँपालिका नामाकरण गरिएको छ । यस गाउँपालिकाको वडा नम्वर ७ मा सुकौरा भन्ने गाउँ पर्दछ । सुकौरा जान हेटौंडाबाट पिप्ले चौघडा हुँदै चुच्चेखोला पुगेपछी उकालो मोटरबाटो जानुपर्छ । यो कान्ति राजमार्ग हो ।
गढी दरबार नपुग्दै पक्की राजमार्ग छोडेर कच्ची बाटो सामरीतिर तेर्सिनुपर्छ । सामरी खोला पुगेपछि अग्ला अग्ला पहाडको खोंचैखोच सुकौरा पुगिन्छ । सुकौरामा अनेक जात जातिका मानिसको बसोवास रहेको छ। ती मध्ये यहाँ तामाङ जातिको बाहुल्य छ । तामाङहरू पनि वाइवा ,मोक्तान घिसिङ, गोले थिङ आदि थरमा विभक्त छन् । यही मध्येको एक मध्यमवर्गीय गोले वंशमा भएको हो तेजबहादुरको जन्म । तेजका पितापुर्खाले सुकौराको माटो खोस्रिए । पसिनाले त्यही माटो भिजाएर जीवन निर्वाह गर्दै आए ।
सुकौराबाट पुर्वोत्तरको अग्लो डाँडामा कान्ति राजपथको एक घुम्ती देखिन्छ । आक्कलझुक्कल मोटर आएगएको देखिन्छ त्यहाँ । पश्चिमतिरको भीमकाय पर्वतको उसपार भीमफेदी पर्दछ । भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम हो ।
सुकौरामा अचेल मोटर बाटो पुगेको छ । धेरैजसो सडक ढलान पनि भइसक्यो । सुकौरालीहरूलाई गाग्री बोकेर तल पँधंरामा पुग्नु पर्दैन अचेल । कालो पाइपबाट सफा पानी सुकौराका घरघरमा त्वरारारारारा खसेको छ ।
तेजबहादुरको घर सडकभन्दा चार कान्ला तल छ । त्यहाँ उसको दस रोपनी जति बारी छ । सडकको आडमा कान्छा ससुराको दोस्रो घर छ । त्यो खाली घर भाडामा लिएर तेजले पसल थापेको छ । पसलमा उसकी श्रीमती बस्छिन् । चाउचाउ चुरोट बिस्कुट र अरू पनि यस्तै खिच्रिङ्मिच्रिङ बेच्छिन् उनी । सोकेसमा भोड्का रम र अन्य ब्राण्डका रक्सी पनि देखिन्छ ।
कोठाको अर्को कुनामा एउटा खाट छ । ग्राहकहरू त्यहिं बसेर चाउचाउ सितन मानेर रक्सी पिउँछन् । राती त्यही खाटमा तेजहरू सुत्दा हुन् सायद । पसल कुर्नु पनि त पर्यो ।
अर्को कुनामा डोरी छ, उसमा तीन चार काइँयो स्थानीय जातको केरा झुन्डिएको देखिन्छ । केही ग्राहक आए र पहेंलो केरामा आँखा झोसे । सायद मन पनि टाँसे ।
केरा किनेर खाएपछि एउटा ग्राहकले स्वादको निकै परख गरे ।
ग्राहक : कति गुलियो रहेछ है केरा ? कति भो नि केराको पैसा साहुजी?
तेजकी श्रीमती : कोसाको पाँच रूपैयाका दरले हिसाब गरेर दिनु न ।
ग्राहक : ए सस्तो रहेछ त !
यति वार्ता गरेपछि पैसा कन्तुरमा केरा पेटमा पस्यो । दुवै तृप्त भए ।
तेजबहादुर फेरि मलेशिया हानिने तरखरमा छन् । पहिला पनि गएर पाँच–छ लाख कमाएर ल्याएकै हुन् । त्यही पैसाले त हो नि यो पसल थापेको । अनि त्यही पैसाले त हो नि खर उधारेर छानामा टिन छाएको ।
“अब त नगए हुन्न र परदेश ?“ काम विशेषले सुकौरा आएका नरेन्द्र सरले केरा खाइसकेपछि तेजलाई भने । ई.नरेन्द्रावीर श्रेष्ठ नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रका केन्द्र प्रमुख हुन् ।
तेजबहादुरको छोरो सानै छ । दुइटी छोरीहरू हुर्केर पोइल पनि गइसके । अरू दुइटी पनि पनि हुर्किंदै छन् । तामाङ समुदायमा छोरी हुर्केपछि पोइल जान्छन् । पछि रित पुर्याएपछि आउजाउ चल्छ ।
बिदेश नगए कसरी निर्वाह गर्नु सर ! सरहरूको जस्तो महिनावारी आउँदैन हाम्रो । तेजबहादुरले निरस भाव पोखे ।
नरेन्द्र : त्यतिका बारी रहेछ त ! केरा खेती गर्नु नि ! यति मिठो केरा फल्दोरहेछ ।
तेज : यस्तो खडेरीमा के केरा फल्थ्यो!
नरेन्द्र : ऊ खोलामा छ त पानी ! उसै बगेर खेर गएको छ । मोटर लाएर ताने भै’गो नि !
तेज : घरको बिजुलीको पैसा त कसरी तिरौँ हुन्छ । मोटर चलाएपछि झन् कसरी तिर्ने बिल ?
नरेन्द्र : त्यै केरा बेचेर तिर्ने नि ! किसानी गर्नेलाई त सस्तो रेटमा दिन्छ नि प्राधिकणले बिजुली । युनिटको दुई रूपैंया पच्चीस पैसा मात्र हो । हटियातिरको त्यस्तो सुख्खा बारीमा डिप बोरिङ गरेर मकै फलाएका छन् । बारीबाटै हरियो मकै घोगाको ७÷८ रूपैयाँका दरले बिक्री भएको छ रे । तपाइको केरा नि बिक्री भैहाल्छ नि ।
तेज : उसलाई (श्रीमतीतिर देखाउँदै) पनि आमा समूहले ऋण लिएर गाई पाल भन्दैछ । के भ्याउने के नभ्याउने ! आफू पनि भिसा कहिले आउला भनेर बसेको छु ।
नरेन्द्र : ल … पाल्ने नि गाई पनि । दूध बिक्री भैहाल्ला । त्यसको गोबरले केरालाई मल पनि हुन्छ ।
तेज : मिटर पाउँछ त अनि ? ( जिज्ञासु भावमा) परार म यो घरमा मिटर हाल्न चार चोटि धाउनु पर्यो हेटौँडा ।
आज तेज र नरेन्द्र निकैबेर गफिए । गफमा डुबेका नरेन्द्र कृषि प्राविधिक हुन् कि विद्युत प्राविधिक हुन् भनेर तेजले खुट्याएको थिएन । जे होस् नरेन्द्रले भनेबमोजिमको कागज लिएर हेटौंडा आएकै दिन तेजले मिटर पाउने भए। सुकौरामा केरा खेती गर्ने भए तेजले । मलेशिया हानिने मन मारे ।
जसको जमिन छ उसले तेजकै जस्तो मन बनाए यो देश खाद्यान्न माछामासु फलफूल आदिमा आत्मनिर्भर हुन बेर लाग्दैन नि ।
-काठमाडौँ