डिल्लीराज अर्यालको परिचय साहित्यसागरको माधव घिमिरे शृङ्खलामा समेटिएको छ । उनका विभिन्न कविता यस माध्यमबाट सार्वजनिक भएका छन् । उनी राम्रा निबन्धकार पनि हुन् । प्रस्तुत शृङ्गलामा उनको लघु निबन्ध समेटिएको छ । यस रचनाले भाषा संस्कृतिको गिर्दो शाखप्रति चिन्ता प्रकट गरेको छ । -सम्पा. |
कति साह्रै सिपालु भयौँ हामी नेपालका साहित्यकारहरू, भाषाविद्हरू, लेखक, अन्वेषकहरू शब्दमा, वाक्यांशमा, वाक्यमा ध्यान दिनै नपर्ने भयो । सरासर लेखे भयो । जे लेखिन्छ लेखिन्छ । त्यसरी लेख्दा पनि साहित्यकार, भाषाविद्, लेखक अन्वेषक हुन हाम्रै देशमा मात्र सकिने, पाइने हो । अन्त भए यस्तो सुविधा कहाँ पाइन्थ्यो र ? यति साह्रो सुविधा संसारका कुनै भाषामा पनि छैन, हुँदैन ।
ग्यासलाई ग्याँस,आटोलाई आँटो, वासलाई बाँस,गासलाई गाँस, घाँसलाई घास,आँटलाई आट, बाँसलाई वास, गाँसलाइ गास, साढेलाई साँढे लेख्नेहरू भेटिएकै थिए। हुँदा हुँदा कपासलाई पनि कपाँस बनाएर गाँस बाँस कपाँस पनि लेखेको भेट्न थालियो त ।
जाउलाखेललाई जावलाखेल बनाउनेहरूले धेरै काम गरे भाषामा। साउनलाई सावन, भाद्र, भदौलाई भादौ बनाउँदै छन् । आँशुकविले काब्येको,कबिताको धारै लाउन थाले। बिधार्थीले विधालयदेखि नै उधोग चलाउने कि ब्यापार गर्ने? इतिहाँस पढ्ने कि भुगोल पढ्ने ? भनेर सोच्न थाले ।
प्राज्ञेहरूले अदक्षता गरेका कार्येकरममा पनि हाँस्येब्यंङ्ग्ये चल्न थालेको धेरै भयो । देशभर गाउपालिका र नघरपालिकामा मेहेर, अधक्षेहरूका चाला उस्तै छन्। रेडियो, टीभीमा पत्रकारका भाषा सुन्दा मोजा आउने गर्छ । हामी सबै अनुकरण गर्दै राष्ट्रको भाषाको इज्जत राख्दैछौँ । कति मजाले अनुकरण गर्छौँ हामी नेपाली लेखक, साहित्यकारहरू? अनुसन्धाता, पत्रकारहरू ? तब पो….।
हैन हाम्रो भाषा पनि नेपाली राजनीतिज्ञका सिद्धान्त जस्तै पो भयो त जसरी लेखे पनि हुने, जसरी व्याख्या गरे पनि हुने। जसरी अपनाए पनि हुने ।
‘योग: कर्मसु कौसलम्’ को योगलाई योगा, भाँतिभाँतिका कुरा, मान्छे, भन्नु परे भातिभातिका मान्छे, कुरा रे अनि भातीको, भाति भन्नुपर्ने ठाउँमा भने भाँति आहा !
साढूभाइ, साँढूभाइ भएर दङ्ग परे । साँढे साढे भयो । साढे चार नबजेर साँढे चार बज्न थाल्यो । कुखुरो बाँस्न थालेको छ। लेखकहरू धक फुकाएर लेख्दैछौँ र धाँक लाउँदैछौँ आफ्नो लेखन कलाको । पुरस्कार थाप्दैछौँ । बाँटामा साइकिल चलाउँछौँ । घर भाँडा असुल्छौँ र भाडामा भाँत पकाउँछौँ ।
आखामा गाँजल, होँठमा लिपिस्टिक, हाथमा मेहन्दी लाउन सुनौलीतिर सोझिने नेपालीले विरगञ्जा, नेपालगञ्जामा त छँदैछैना भन्ने दिन आए ।
आहा हामी ! हाम्रो भाषा प्रेम ! हाम्रो राष्ट्र र राष्ट्रियता !