शरणकुमार राई नेपाली साहित्यमा स्थापित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी विभिन्न विधामा कलम चलाइरहेका छन् । उनी विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुँदा उनका लेख निबन्धहरू पनि नेपाली समाजका विविध पक्षलाई समेटेर आइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा लघु निबन्ध समेटिएको छ । यस निबन्धले राजनीति र कार्यकर्ताका विषयमा भएका भ्रम र वास्तविकतालाई देखाएको छ । सम्पा. |
राजनीति सर्वोपरी हुन्छ | मानिसको जन्मदेखि मरणसम्म प्रभावित पार्दछ | समाज, सभ्यता, सुख , सम्पन्नता आदि सबै कुरा राजनैतिक वातावरणले निर्धारण गर्दछ | राजनैतिक वातावरण राजनैतिक दलहरूको अवस्थाले निर्धारण गर्दछ | |राजनैतिक दलहरूको अवस्था यसका नेता र कार्यकर्ताहरूको स्थिति , मानसिकता , आचरण , आचार र व्यवहारले निर्धारण गर्दछ |
राजनैतिक दलहरूका नेताहरूका स्थिति , मानसिकता , आचरण , आचार र व्यवहार कार्यकर्ताहरूमाथि निर्भर हुन्छ | कार्यकर्ताहरू चनाखो छैनन् भने नेता निरङ्कुश हुन्छ | नेताको मनपरीले पार्टी बिग्रिन्छ , सिध्दान्त ,मुल्य, मान्यता र नीति ,नियमले पार्टी चल्दैन, नेताको सनकमा पार्टी चल्न थाल्छ |पार्टीहरूमा यो रोग फैलिएपछी राजनैतिक वातावरण बिग्रिन्छ | राजनीति बिग्रेर धमिलो पानीमा माछा मार्ने प्रवृति बढ्छ |
विकासोन्मुख देशका कार्यकर्ताहरू राजनीति राम्ररी बुझ्न नसक्ने अवस्थामा रहेको हुँदा नेताहरूले भ्रमको खेती गर्न थाल्छन् | गरिवी , अशिक्षा र अज्ञानताको अवस्थामा रहेको कार्यकर्ताहरूलाई चटकी कुरामा लोभ्याएर नेताहरूले फाइदा उठाउछन् |
दलको सदस्यहरू पनि वैयक्तिक रूपले पूर्ण स्वतन्त्र छन् र हुनुपर्छ | स्वविवेकबाट कार्य गर्न सक्ने कार्यकर्ताहरूले मात्र असल राजनैतिक विकासमा योगदान गर्न सक्छन् |
राजनैतिक कार्यकर्ता हुनु भनेको आफ्नो सम्पूर्ण बुध्दी,विवेक , वैयक्तिक स्वतन्त्रता ,सोच र सामर्थ्य धरौटी राखेर सेनाको सिपाहीजस्तो हुनु होइन | अन्ध समर्थक हुनु होइन , पार्टीको खेताला हुनु पनि होइन | आफ्नो अन्तरमनको पुकार नसुन्ने हुनु होइन | फटाहा नेता वा पार्टीको गलत कामको पनि वकालत गरिरहनु राजनैतिक कार्यकर्ताहरूको दायित्व हुँदै होइन |
राजनैतिक कार्यकर्ताहरूको चेतनाको स्तर जबसम्म न्यून रहन्छ , उनीहरू भेडाबाख्रा सरह नै हुन्छन् | चाकडी चाप्लुसीको बोलवाला पार्टीमा रहिरहन्छ | सही सैद्धान्तिक जगमा पार्टी निर्माण हुन सक्तैन | राजनैतिक कार्यकर्ताहरूको बुद्धि, विवेक, वैयक्तिक स्वतन्त्रता, सोच र सामर्थ्य पार्टीको जीवन्तताको सर्तहरू हुन् |
बिरोधीहरूको कुरै नसुन्ने , आफ्नो दलको मात्र सब कुरा ठीक भन्ने र सहि ढङ्गले सोच्न नसक्ने कार्यकर्ताहरूकोस्थितिले सहि राजनैतिक विकास हुन सक्तैन र असल राजनीतिको विकास पनि हुन सक्तैन | हामी सम्पूर्ण देशवासीहरू एउटै जहाजका यात्रीझै होँ , देश बने हामी बन्छौँ , देश बिग्रीए हामी सप्रने कुरै हुँदैन | जनतालाई बिभिन्न दलहरूमा भिभाजन गरेर भेडाबाख्राजस्तो आफ्नो निजि र दलगत स्वार्थ पूरा गर्ने वर्तमान परिपाटी देश र जनताको हित अनुकुल छैन , त्यस्तो परिपाटी समाप्त पार्ने दायित्व कार्यकर्ताहरूको हो |
लहै लहैमा स्यालको हुइयामा हिँडाउने र हिँड्ने कार्यकर्ता भइन्जेल देश उभो लाग्ने कुरै हुदैन |कुनै दलको सदस्य हुनु भनेको आफु त्यस दलको नोकर, दास वा गुलाम हुनु कदापि होइन | दलको सदस्यहरू पनि वैयक्तिक रूपले पूर्ण स्वतन्त्र छन् र हुनुपर्छ | स्वविवेकबाट कार्य गर्न सक्ने कार्यकर्ताहरूले मात्र असल राजनैतिक विकासमा योगदान गर्न सक्छन् |
यस्तो विवेकशील स्वतन्त्र र सहि ढङ्गले सोच्न सक्ने असल कार्यकर्ताहरू आजको आवश्यकता हो | देश हामी सबैको हो , देश सप्रे हामी सबै सप्रन्छौ | कार्यकर्ताहरू देश र जनताका लागि हुन् | कुनै दल र नेताका लागि मात्र होइनन् | आफ्नो दलको कार्यकर्ताहरू आफै मालिक हुन्, दलहरूका खेताला, दास, नोकर होइनन् | रोबोट होइनन् | कार्यकर्ताहरूले आफ्नो महत्व आफै बुझेर देश र जनताको पक्षमा स्वनिर्णय गर्न सक्ने अवस्थामा पुग्नु जरुरी छ | यसो भएमा कार्यकर्ताहरूले असल राजनैतिक विकासमा अमूल्य योगदान गर्नेछन् |
धरान