लीला अनमोल झापालाई कर्मथलो बनाएर साहित्य सिर्जना र सञ्चार क्षेत्रमा सक्रिय नारी प्रतिभा हुन् । उनको कलम कविता विधामा निरन्तर चलिरहेको छ । कवि र गजलकारका रूपमा परिचय बनाएकी अनमोलको एउटा कविता साहित्यसागरको प्रस्तुत शृङ्खलामा प्रस्तुत गरिएको छ । यस कविताले नारी चेतनाको अभिव्यक्ति दिएको छ ।
-सम्पा. |
अस्तित्वको मूल्य तोक्नेहरूका निम्ति हो
पाठेघरबाट निस्किएको सालनालसँगै
जब यो धर्तिमा पहिलोपटक पाइला टेक्यौ तिमीले
तिम्रो आमाको मुतले नुहाएको हो तिमीले पहिको पटक
भोकको राहत महसुस भएको तिम्रो जिन्दगीको पहिलो समय
तिनै आमाको लाम्टो चुसेर जीवनको सुरुवात गरेको हो
आवाज देऊ , म र मेरा जातिहरू हो !
म र मेरा आइमाईहरू हो…
उसको टाङमुनि रहेको अस्तित्व
तिम्रो गर्भाशयको इतिहास हो कि होइन ?
बोकेर रगतका डल्लाहरू
नौ महिना लगाएर बनाएको हो कि होइन उसको संरचना ?
हरेक निला रातहरू
ओछ्यानमा फैलिएको गन्ध पिएर
उसको जिन्दगीलाई सन्तुष्टिको पराकाष्ठा बनाइदिएको हो कि होइन?
तिनै झल्लीहरू हुन जसलाई भोग्ने लालसा पालेर ऊ
कोठीहरूमा धाउने गर्छ र आफ्नो सारा तृष्णा मेटेर फर्किन्छ।
एउटीको अपब्याख्या गरेर
अर्की आइमाईकै धोती समाउन पुग्छ
र डुक्रिन्छ सडकमा तिनै आइमाईहरूकै विरुद्ध
कि घोषणा गरोस् उसले
म एक्लै यो धर्ती थेग्न सक्छु
कि हिम्मत देखाओस् उसले
म एक्लै यो सांसारिकता चलाउन सक्छु ।