-सम्पा. |
लड्दा जीवन को लडाइँ कहिले, यो देह बूढो भयो ?
चढ्दा जीवन को चढाइ कहिले, यो पाउ लूलो भयो ?
थाहै पाइनँ बाल्य यौवन हुँदै, बूढो भएको पनि
चालै पाइनँ बोट जर्जर भई, मूढो भएको पनि १
टोक्थेँ लौह चना कठोर श्रम का, ती सम्झना भैगए
तोड्थेँ पत्थर कर्म का अति कडा, ती कल्पना झैँ भए
थाहै पाइनँ पुष्ट देह यसरी, लोते भयो के गरी ?
चालै पाइनँ वज्र – दन्त यसरी, थोते भयो के गरी ? २
काला केश थिए, तुषार छरिई, सर्लक्क सेता भए
गाला बेस थिए अचम्म झुरिई, खाल्डा खपेटा भए
थाहै पाइनँ नेत्ररूप बिजुली, निभ्दै गएको पनि
चालै पाइनँ जीवनीमय नली, सुक्दै गएको पनि ३
मेरो अब्बल देह बाँस जसरी, झुक्दै छ खोक्रो भई
मेरो बाहिर को त्वचा अझ बढी, सुक्दै छ बोक्रो भई
थाहै पाइनँ शक्ति के हुन गयो, चोला पुरानो भयो
सारा तेज गयो र तेल सकियो, आफ्नो बिरानो भयो ४
कैयौं बाल्य सखा बिरक्तिन पुगी, कावा र काशी गए
कैयौं जीवन देखि मुक्तिन पुगी, वैकुण्ठवासी भए
बाँचेको छु शरीर थर्थर भई, यी हाड तङ्ग्र्याउँदै
नाचेको छु अझै यहाँ अनि उहाँ, यो ढाड बङ्ग्याउँदै ५
छन्द : शार्दूलविक्रीडित
