पुण्य खरेल नेपाली साहित्य र शिक्षा क्षेत्रमा परिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको एउटा कविता समेटिएको छ । ‘उहाँ हजुर’ शीर्षकको यस कविताले पद पाएपछि आफ्नो धरातल बिर्सने चरित्रका कमजोरीको उद्घाटन गरिएको छ ।
-सम्पा. |
उहाँ हजुर मलाई सम्झिरहनुहुन्छ अरे
भेट हुँदा मलाई भन्नुहुन्छ ।
उहाँहजुर पहिला त मेरो मित्र हुनुहुन्थ्यो
मेरो मनमिल्दो साथी हुनुहुन्थ्यो
मेरो कमरेड हुनुहुन्थ्यो
मेरा घरमा आउनुहुन्थ्यो,
घरमा पाकेको सितोपिठो खानुहुन्थ्यो
मसँगै गुन्द्रीमा, पिरामा, गजेरामा बस्नुहुन्थ्यो ।
अचेल त उहाँहजुर हिंड्नओर्न छोड्नुभयो
उहाँहजुरको अचेल ‘सवारी’ हुन्छ
खानओर्न छोड्नुभयो ‘ज्यूनार’ हुन्छ
बस्नओर्न छोड्नुभयो ‘राज’ हुन्छ
‘सवारी, ज्यूनार, राज’ मेरामा कहाँ मिल्नू !
उहाँहजुर मलाई सम्झिरहनुहुन्छ अरे
भेट हुँदा मलाई भन्नुहुन्छ ।
उहाँहजुर व्यस्त हुनुहुन्छ
कहिले हेलिकप्टरमा पश्चिम
कहिले हावाजाजमा पूर्व
वातानुकूलित पजेरोमा भ्याई–नभ्याई दौडादौडी
मजस्ताहरूका समस्याहरू, मुद्दामामिलाहरू सुन्न
‘अँ–अँ, हो–हो’ भन्न व्यस्त हुनुहुन्छ
मन्त्री–प्रधानमन्त्री हुन
आफ्नाहरूलाई मन्त्रीसन्त्री बनाउन
उहाँहजुरलाई कस्तो भ्याई–नभ्याई छ
कस्तो धपेडी छ !
उहाँ हजुर मलाई सम्झिरहनु हुन्छ अरे
भेट हुँदा मलाई भन्नुहुन्छ ।
कस्तो धपेडी छ उहाँहजुरलाई !
पुराणहरूको उद्घाटन गर्न
ज्ञानयज्ञ र ज्ञानमहायज्ञहरूको सुरुआत गराउन
मन्दिरहरूको शिलान्यास गर्न
कोटीहोमहरू, महाकोटीहोमहरूमा चरु होम्न
कस्तो भ्याई–नभ्याई छ !
कस्तो धपेडी छ !
राममन्दिर र श्याममन्दिरमा घण्ट चढाउन
सुन र चाँदीका जलहरीहरू चढाउन !
हिजो अन्तर्वार्तामा भन्दैहुनुहुन्थ्यो
उहाँहजुर सुख–चैन मनपराउनु हुन्न
मिठोमसिनो रुचाउनुहुन्न
दौडधूपमै छ उहाँहजुरको जीवन हेलिकप्टरमा, हावाजाजमा
जल्लोखल्लो नै छ उहाँहजुरको खान्की
रिसोर्ट–सिसोर्टमा, तारेहोटलहरूमा
रुखोसुखोमै छ बसाइ
वातानुकूलित महलहरूमा ।
उहाँहजुर कम्निस्ट हो
कम्निस्टहरूकै खाट्टी नेता हो
संसार बदल्न चाहनेहरूकै नेता हो
“संसार बदल्न चाहनेले पहिला आफूलाई बदल्नुपर्छ” भन्छन् नि
हो उहाँहजुर आफूलाई पूर्णरूपमा बदलेकै नेता हो
उहाँहजुर पूर्णरूपमा बदलिएकै नेता हो ।
उहाँ हजुर मलाई सम्झिरहनु हुन्छ अरे
भेट हुँदा मलाई भन्नुहुन्छ ।
कता हो, जिल्लामा कार्यक्रम राखिएको छ अरे
उहाँहजुर नै प्रमुख अतिथि अरे
मलाई पनि उपस्थित हुन उर्दी आएको छ
आफूलाई त्यसरी बदल्न नसकेको मलाई
त्यहाँ उपस्थित हुन पटक्कै मन छैन
केही भलाकुसारी गर्न पटक्कै जाँगर छैन
धनुषाकार नमस्कार गर्न त झन् अहँ मनै छैन ।
ए मेरा साथीहरू !
सुनाइदिनू उहाँहजुरलाई
संसार बदल्न अब यही पाराबाट संभव छैन
प्रधानमन्त्री धेरै बदलिए
मन्त्रीहरू पनि धेरैधेरै बदलिए
तर संसार उस्ताको उस्तै रह्यो
घुम्ने कुर्सीमा नबस्नेहरूको संसार उस्ताको उस्तै रह्यो
भनिदिनू उहाँहजुरलाई
अब कमसेकम म भेडोभएर उहाँहजुरको दर्शन गर्न उपस्थित हुन्न
उहाँहजुरको मतियार बन्न र बनाउन कुनै सार्थकता हुन्न
संसार बदल्नु भनेको यस्तो पटक्कै हुन्न ।
संसार बदल्नु भनेको के हो ?
ढाँट कुरा, छली कुरा छोडिनु पर्यो
आफूलाई बदल्नु भनेको के हो ?
छ्याङ्ङ अर्थ लाग्नुपर्यो
अब यो ‘चुचे ढुङ्गो उही टुङ्गो’ गर्दै
हामीलाई भेडो बनाएर उस्तै ‘राजा’ बन्ने कुरा
यस्तो गैतल कुरा केरमेट हुनुपर्यो ।
भनिदिनू ए मेरा मित्रहरू उहाँहजुरलाई
नसम्झिनू अब मलाई
अब मेरा आँखा उहाँहजुरबाट भागे
अब मेरा आँखा नयाँ पालुवातिर लागे
अब मेरा आँखा नयाँ पिंढीतिर लागे ।



पुण्य खरेल नेपाली साहित्य र शिक्षा क्षेत्रमा परिचित प्रतिभा हुन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित उनको एउटा कविता समेटिएको छ । ‘उहाँ हजुर’ शीर्षकको यस कविताले पद पाएपछि आफ्नो धरातल बिर्सने चरित्रका कमजोरीको उद्घाटन गरिएको छ ।