नरबहादुर दाहाल (दार्जिलिङ, भारत) नेपाली साहित्यलाई सिर्जना, सम्पादन र संगठनका माध्यमबाट समृद्ध बनाउन सधैँ लागिरहने वयोवृद्ध साहित्यकार हुन् । उनी भारतीय नेपाली साहित्यका विविध पक्षका जानकार अग्रज व्यक्तित्व हुन् । यहाँ उनको सारभूत परिचयसहित उनको ‘रमाइलो असार’ शीर्षकको कविता समेटिएको छ । यस कविताले दही चिउरा, असारे औजार र कृषिकर्मलाई विम्ब बनाएर तिनका अन्तरमा छिपेको रमाइलोलाई देखाउने प्रयत्न गरेको छ । -सम्पा. |
हिजोसम्म सूर्यको
प्रखर उष्णताले
पिल्सिएको धरती,
आज श्रमको पसीनाले
उन्मत्त छ ।
०
रातभरि असिनाले चुटेर
खिन्न भइसकेका खेतबारी
आज रसियाको धूनमा
सन्तप्त छ ।
०
आफ्ना पोल्टाभरिका पानी
सबै खन्याएर
बादलले छताछुल्ल पारेको छ ।
०
दिनभरि खेतमा काम गर्ने
हली, कोदाले, वाउसे
र
सबै रोपाहार
लिई हिलै हिलो मुखभरि,
लिई हिलै हिलो आँखाभरि
हिलैको टीका
लगाएको निधार
अनि
भोकमा खाई
दही, चिउरा, अचार।
मस्त छन् सबै,
उन्मत्त छन् सबै
लाग्छ मलाई,
यसरी नै व्यस्त होस् जिन्दगी,
यसरी नै मस्त होस् जिन्दगी,
यसरी नै अस्त होस् जिन्दगी,
अनि पो हुन्छ भोलि
धनधान्यपूर्ण संसार ।
०
यसरी नै
भोलिको सुख बाँडदै,
सौन्दर्य र सौरभ छर्दै,
आशा र विश्वास भर्दै,
आई पुग्यो,
लिएर
प्रकृतिको सुन्दर उपहार,
अहो ! रमाइलो असार !