कृष्ण प्रधान भारतको सिलिगुडीमा बसेर नेपाली साहित्यको सेवामा समर्पित प्रतिभा हुन् । उनले नेपाली साहित्यका सिर्जना र समीक्षाका दुवै आयाममा कलम चलाइरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको राजबाबु श्रेष्ठको कविताकृतिमा लेखिएको पुस्तक समीक्षालाई समेटिएको छ । यस समीक्षाले पुस्तकको सारभूत समीक्षण गरेको छ । सारभूत समीक्षणमै पनि केही मूल्य निर्णय सामथ्र्य समीक्षक प्रधानले देखाएका छन् । -सम्पा. |
सम्झिनेहरू धेरै हुन्छन् सम्झिँदा सम्झिँदा पनि चटक्कै बिर्सिनेहरू थोर हुँदैनन्। यसरी मलाई देश-विदेशबाट सम्झिने देख-अदेख अनेकन् साहित्यिक बन्धुहरूमध्ये एकजना हुन् कवि, साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’। भक्तपुर (काठमाण़्डौं) नेपालबाट मलाई सम्झिएर छन्दवेत्ता छन्दकवि नदी नेपाल (इलाम, नेपाल) को हातमा श्रेष्ठज्यूले उनको कविता सङ्ग्रह ‘हराएका छोराहरू’ उपहारस्वरूप पठाइदिएछन्। क्राउन १/८ आकारमा (१९+८६ = १०४) पृष्ठको किताबमा मोठ ८६ पृष्ठमा लामा-छोटा गरी जम्मा ५५ वटा कवितालाई ठाउँ दिइएका रहेछन् ।
साहित्यका प्रायः जम्मै विधा गीत, गजल, मुक्तक र कविता लेखन बाहेक पनि श्रेष्ठज्यू अभिनय सँगसँगै निर्देशनमा पनि पारङ्गत देखिन्छन् । १४ वर्षको ठिटौले उमेरमै श्रेष्ठज्यूले ‘प्रेम फैसला’ नाटकको पाँच भागसम्म लेखन मात्रै होइन अभिनय र निर्देशन समेत गरेर नाट्य लेखनमा हुने बिरुवाका चिल्ला पातका लक्षण देखाएका छन् । ‘घर एक नर्क’ फिल्मको स्क्रिप्ट लेखिसकेका श्रेष्ठज्यूले फिल्म ‘अटिजम’, टेलिफिल्म ‘आवाज’ र ‘खाते’ मा अभिनय समेत गरेका छन्। यिनको ‘बन्द फ्रेमभित्रको चिट्ठी’ उपन्यास प्रकाशित भएको पाइऩ्छ । यिनका दुइ उपन्यासहरू ‘मुनारमा’ र ‘घिमिरेबाको कथा’ नामक प्रकाशोन्मुखको तयारीमा छन् ।
‘हराएका छोराहरू’ कविता सङ्ग्रहमा प्रकाशित कविताहरू साङ्गोपाङ्ग कविताहरू सरसरती पढ़्दा कविताहरूमा असन्तुष्टि र विद्रोह भावना उकेलेका पाइऩ्छन् । कवितामा जताततै टड़कारो विकृति विसङ्गति र विद्रूपतामाथि सिर्कनु लाएको पाइन्छ । कवितामा बिम्ब र प्रतीकहरू भक्कुमार देखिन्छन् ।
कवितामा संवेदनशीलताका साथै मानवताको खोजी, आत्मास्वाभिमान जीवनका सकारात्मक पाटाहरू उदाङ्गो पार्नमा कवि श्रेष्ठज्यूको ठ्याम्मै कञ्जुस्याइँ देखिन्नन् । राजबाबु श्रेष्ठ ‘सागर’ले उनको कविता सङ्ग्रह ‘हराएका छोराहरू’माथि समीक्षात्मक टिप्पणी गरिदिनार्थ यो उत्कृष्ट कृति पठाएका रहेछन् । हाल मसित यस्ता कृतिहरूबारे लेख्नुपर्ने थुप्रै काम भएकाले निकट भविष्यमा यस कृतिमाथि विशद रूपमा लेखिदिने निर्णय लिएको जानकारी यहाँलाई गराउँदछु । यति उत्कृष्ट समसामयिक कविता सङ्ग्रहको निम्ति कवि राजबाबु श्रेष्ठ ‘सागर’कन भक्कुमारी शुभकामना ।
प्रकाशक- बिएऩ पुस्तक संसार प्रा. लि. अद्वैतमार्ग, काठमाडौं, नेपाल
संस्करण – पहिलो, २०७७ साउऩ
आवरण – रुद्र अधिकारी
मूल्य रु. १५०