नवराज रिजाल (२०२२ जेठ २९ गते, पश्चिम १ नं. धादिङ, सुपुत्र देवकुमारी रिजाल र ठाकुरप्रसाद रिजाल) नेपाली साहित्यका सिर्जना, सम्पादन, सङ्गठन र सञ्चार क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनका दर्शन कृति प्रकाशित भइसकेका छन् भने उनले नवप्रज्ञापन पत्रिकाका झन्डै सय अंक आफ्नो सम्पादन प्रकाशनमा बाहिर ल्याइसकेका छन् । उनका सम्पादनमा विभिन्न स्रष्टाका विभिन्न विधाका र त्यसमा पनि बालसाहित्यका विविध कृतिहरू प्रकाशित छन् । नेपाली भषाकै अध्यापन गरिरहेका रिजालको भाषा साहित्यप्रतिको समर्पण निकै लोभलाग्दो र सम्मान योग्य छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा रिजालका एक दर्जन मुक्तकहरू समेटिएका छन् । यी मुक्तकले बहुमुखी जीवनचेतना अभिव्यक्त गरेका छन् । -सम्पा. |
आँसु र रक्सी
बन्धकीमा राखिए मन सकेको नाफा लिइरहे
विश्वास हामीले बोक्यौँ तिनले धोका दिइरहे
बाँच्ने नाम बेचेर नै आफैँ हाँस्न सिकेका हौँ
यता आँसुका पोखरी तर उता रक्सी पिइरहे ।
डढेलो
डढेलाले वन मात्र नभै मन पनि जलेको छ
पर्खालहरू ठडिएका छन् विश्वास ढलेको छ
आस्थामा आगो सल्कँदा यस्तै हुन्छ भन्छन्
छातीमा घृणा रोपेर पन क्रमश ः गलेको छ ।
मानवता
मानवता छताछुल्ल विश्वास कुहिँदै गएको छ
किनिएका सपनाहरू जताततै चुहिँदै गएको छ
अँ, अचम्म अझै सक्रिय छन् कुभलो सोच्नेहरू
लेखाजोखा केही छैन विचार तुहिँदै गएको छ ।
मान्छे
मान्नोस् अचेल मान्छेले मान्छे चिन्न छाडेकोछ
कुन्नी किन हो मूल बाटोबाट हिँड्न छाडेकोछ
यही हो प्रगति भन्दै आत्मरतीमा रमेछन् कोही
माटोका विपक्षीसँग अचेल त भिड्न छाडेकोछ ।
गणेश र कुमार
गणेश पो रहेछ समय कुमारहरू हारिरहेछन्
पराय नभै आफन्तै सकेको अप्ठेरो पारिरेछन्
घाँटी निमोठ्नेहरूको हुल देखिन्छ आईरहेको
देश प्रेमको गीत गाउँदै सीमा सारी रहेछन् ।
विचारको पर्खाल
सम्झनामा थियौ तिमी धाउदै धाउँदै आएँ म
बिचारको पर्खाल चढेर गाउँदै गाउँदै आएँ म
अठोट वा संयोग जे भन सामु नै आएको छु
विश्वास गर आस्थामा माया खोज्दै आएँ म ।
जोखिम
उपस्थिति गलत भए साँच्चै मुख खोले हुन्छ
हिँड्नु पर्ने बाटाहरू अब त तिमी बोले हुन्छ
परिस्थिति काँध बोकेर हिँडिरहेको मान्छे म
विश्वास गर्ने भए त्यति जोखिम मोले हुन्छ ।
सहयात्री
इच्छा मात्र बोकेको थिएँ बाटो फेला प¥यो
दोबाटोमा भेटिएका साथीको नि खेला प¥यो
यात्रा जारी नै थियो यायावरी जीवन माझ
बाध्यता बोक्दै थिएँ सहयात्री झेला प¥यो ।
लाज
नित्य कर्म भएकै हो तर पनि बाटो फेरिएन
छातीमा जमेका ती दाग मन लगाएर हेरिएन
बाटो देखाउछौँ भन्नेहरू हूलका हूल आएगए
दोबाटोमा चुह्यो लाज वस्त्रमा त्यो वेरिएन ।
जाल
सधैँ हिँडिरहेका बाटा आज सबै थुनिएछ्न्
सबै बिर्सिएर पराय विचारहरू सुनिएछन्
न सोध्नोस् भो दुखेको कसरी देखाउनु
भ्रम पार्नै हजुर ठुल्ठुला जाल बुनिएछन् ।
एकता
अस्तिसम्मको छोइछिटो कसरी एक भए कुन्नी
बारेका हुन् आफैँले चुलो कसरी एक भएकुन्नी
मिली अगाडि बढ्नु तिनीहरूको सत्यमा थिएन
आपसमै इबी झाराझार कसरी एक भए कुन्नी ।
विश्वास
केवल उभिएर बाँच्न सकिँदैन मलाई थाहा छ
अस्तित्व बेचेर हाँस्न सकिँदैन मलाई थाहा छ
सार्थकता सास फेर्नुभित्र खोजेर भेटिन्न पनि
विश्वास त्यसै भाँच्न सकिँदैन मलाई थाहा छ ।
मूल बाटो
अगाडि छ मूल बाटो शाखातिर मोडियौ तिमी
आत्मविश्वास गुमाएछौ फोटोमा जोडियौ तिमी
आत्मसम्मान स्वभिमान बन्धकीमा राखिसकेछौ
पल्लोतिर पुगे सहयात्री तल्लो मै छोडियौ तिमी