हेम भण्डारी (माईजोगमाई–१, नयाँबजार, इलाम) नेपाली साहित्यमै उच्च शिक्षा लिई साहित्य सञ्चार र प्राध्यापन क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनको हालको स्थायी बसोबास महालक्ष्मी–४, इमाडोल, ललितपुरमा रहेको छ । उनले नेपाली, समाजशास्त्र र राजनीतिशास्त्रमा एम ए गरेका छन् । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा संलग्न भण्डारी हाल बुटवल बहुमुखी क्याम्पस बुटवलमा सेवारत छन् । उनका पुस्तकाकार कृति प्रकाशन नभए पनि कविता, निबन्ध र समालोचनाहरू फुटकर रूपमा प्रकाशन भइसकेका छन् । उनका सम्पादनमा विभिन्न कृतिहरू पनि प्रकाशित छन् । मूलतः कविता र निबन्ध सिर्जनामा रुचि राख्ने भण्डारीसँग साहित्यिक रेडियो कार्यक्रम उत्पादन र प्रसारण सीप रहेको छ । उनले लामो समयसम्म कान्तिपुर एफ एमबाट साहित्यिक कार्यक्रम प्रसारण गरेर चर्चा बटुलेका थिए । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भण्डारीको प्रश्न शीर्षकको कविता समेटिएको छ । यस कविताले पौराणिक एकलव्य पात्रका विम्बबाट राजनीतिक विसङ्गतिको पर्दाफास गरेको छ ।
– सम्पा. |
बोकेर आकाश हत्केलाभरि
विश्वासका हरफहरू गोडिरहँदा
गहिरिँदै छ अविश्वास –मनहरूमा
खोजेर हृदय ढुकढुकीभरि
नैतिकताको निष्कर्ष घोत्लिरहँदा
बल्झिँदै छ सम्बन्ध –खाटाहरूमा ।
एकलव्य !
तिमीमाथिको निर्मम प्रहार
शक्तिकेन्द्रले रचेको षड्यन्त्रको सिलसिला
स्यालको स्वभाव र हुँडारका चालहरू
आस्थाको बेसुरा सुसेली
प्रभुत्वको सङ्कुचित हस्तक्षेप
बेथितिको अनैतिक गुञ्जन
र, प्रतिशोधको गारेटो
यात्राका नाममा उरालेर स्वार्थ
बढारेर नैतिकताको धरातल
दौडेकै छन् युगहरू
छामेर हृदयभरि
कुटिलताको अङ्कगणितीय सन्तुष्टि ।
म सोध्दै छु एकलव्य, तिमीमार्फत आफैँलाई
यो कस्तो साहसको खेल हो ?
यो कुन साहसीको पहिचान हो ?
यो कुन वीरताको परिभाषा हो ?
यो कुन सम्बन्धको सिमाना हो ?
यो कुन विजयको नतिजा हो ?
जो भविष्यका आँखामा तर्सेर
वर्तमानका पटाङ्गिनीमा गर्जन छादिरहेछ
बोकेर वीरहरूको रगताम्मे बुढीऔँलो ।