ज्ञानु अधिकारी समकालीन पुस्ताकी उल्लेख्य समीक्षक प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा आइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको श्रीओम श्रेष्ठ रोदनको कृतिमाथि लेखिएको पुस्तक समीक्षालाई समेटिएको छ । यस समीक्षाले श्रीओम श्रेष्ठ रोदनको अभिबन्ध निबन्ध कृतिको समीक्षण गरेको छ । -सम्पा. |
स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ पछिल्लो समय पृथक् किसिमको निबन्धकृति प्रकाशित भएको छ । ‘अभिवन्द्य’ निबन्ध सङ्ग्रहमा समेटिएका निबन्धहरू विभिन्न व्यक्तिविम्बलाई विषय बनाएर लेखिएका छन् । ‘अभिवन्द्य’ अर्थात् आदर र सम्मान गर्नलायक । निबन्ध कृतिको शीर्षकले नै यसको विषय र उद्देश्यलाई प्रतिविम्बन गरेको छ । विभिन्न विषयक्षेत्रका एकचालीस जना अभिवन्द्य व्यक्तित्वहरूका औपचारिक तथा अनौपचारिक जीवनका विभिन्न सन्दर्भहरूलाई समेटिएका यी निबन्धहरूमा निबन्धकारसँग जोडिएका अन्तरङ्ग अनुभूति र संस्मरणहरू पनि निकै प्रभावकारी रूपमा अभिव्यक्त भएका छन् ।
संस्मरणात्मक शैलीमा लेखिएको प्रस्तुत निबन्धकृति पढिसकेपछि मूलतः यस कृतिमा भएका तीनवटा पक्षले पाठकलाई आकर्षित गर्छ । पहिलो हो, कृतिमा समावेश गरिएका अभिवन्द्य व्यक्तित्वहरू र उनीहरूको जीवनदर्शन, दोस्रो हो, व्यक्तिविशेषसँग जोडिएर आएका निबन्धकारका अनुभूति र संस्मरणहरू र तेस्रो हो, निबन्धमा प्रयोग गरिएका भाषाशैलीको नयाँ प्रयोग । यी तीनवटा पक्ष नै यस कृतिका सबल पक्ष र मौलिक विशेषता हुन् ।
प्रस्तुत कृतिको निबन्धहरूमा विषयका रूपमा आएका स्रष्टा तथा व्यक्तित्वहरूका बारेमा पढ्दै गर्दा उहाँहरूको काम, कर्तव्यप्रतिको निष्ठा, उहाँहरूले सम्बन्धित क्षेत्रमा पुर्याएको योगदान, उहाँहरूका औपचारिक तथा अनौपचारिक जीवनका विभिन्न रोचक प्रसङ्गहरू र प्रेरक सन्दर्भहरूबाट पाठकमा सकारात्मक ऊर्जा सञ्चार हुन्छ नै यसका साथै पाठक/भावकहरूमा संवेदना जागृत हुन्छ र उहाँहरूको व्यक्तित्वको अगाडि पाठकले आफूलाई खोज्न थाल्छ । प्रस्तुत कृतिमा विषयसन्दर्भ बनेर आएका व्यक्तित्वका आयाम विविध छन् । कवि, कथाकार, उपन्यासकार, नाटककार, निबन्धकार, समालोचक, दार्शनिक, चिन्तक, भाषाविद्, शिक्षाविद्, इतिहासविद्, पत्रकार, डाक्टर, कलाकार, समाजसेवी, गायकजस्ता सबै क्षेत्र र विधाका आदर्श व्यक्तित्वहरूको बारेमा एउटै कृतिभित्र पढ्न पाउनु पाठकका लागि सुखद पक्ष हो । नेपाली समाजका विशिष्ट व्यक्तित्वहरूको सङ्गत, उनीहरूप्रतिको श्रद्धा र आत्मीयताले निथ्रुक्क भिजेर लेखिएका यी निबन्धहरूले निबन्धकारको संवेदनशीलतालाई प्रस्तुत गरेका छन् ।
प्रस्तुत कृति विशिष्ट व्यक्तिहरूमा केन्द्रित भएर लेखिएको भए पनि निबन्धमा निबन्धकारको अनुभूति, दृष्टिकोण, विचार र विश्वदृष्टि पनि सँगसँगै प्रस्तुत भएका छन् । निबन्धमा समानान्तर रूपले लेखिएका र लेख्ने दुवै व्यक्तित्वका संस्मरण तथा अनुभूतिहरू पोखिएका छन् । स्वतःस्फुर्तरूपमा पोखिएका निबन्धकारका दार्शनिक अभिव्यक्तिले पाठकलाई अझ बढी प्रभावित बनाउँछन् । यस कृतिमा प्रयुक्त भाषा र शैली विशिष्ट देखिन्छ अर्थात् निबन्धमा नवीन, पृथक् र काव्यात्मक भाषाको प्रयोग गरिएको छ । सुरुदेखि अन्त्यसम्मका लेखिएको एकचालीसवटै निबन्धमा उस्तै अर्थात् एकैप्रकारको विचलनयुक्त र आलाङ्कारिक भाषाको प्रयोग गरिएको छ । पढ्दै जाँदा निबन्ध होइन कविता पढिरहेछु कि जस्तो अनुभूति हुन्छ पाठकलाई । परम्परित पठनले पूर्ण नहुने, प्रत्येक पद पदावली नै कविताको हरफजस्ता लाग्ने, मौन वाचनभन्दा सस्वर वाचन प्रभावकारी हुने र गति र यति मिलाएर पढ्दा मात्र पठन र बोधमा मिठास आउनेजस्ता विशेषता यस कृतिमा समेटिएका निबन्धमा प्रयोग गरिएको भाषाशैलीमा पाइन्छ । निबन्धकार स्वयंका लागि पनि यो शैली नवीन प्रयोग हो ।
समग्रमा प्रस्तुत कृति नेपाली साहित्य र समाजका केही विशिष्ट व्यक्तित्वहरूप्रतिको अभिनन्दन हो । व्यक्तिविम्बमा केन्द्रित भएर लेखिएको कविता हो । आत्मानुभूति पोखिएको निबन्ध हो । समय र उमेरको यात्रालाई समेटेर लेखिएको नियात्रा हो । विभिन्न व्यक्तिको जीवनयात्रालाई पढिरहँदा जीवन आफैँमा नाटक रहेछ भन्ने अनुभूति दिलाउने प्रस्तुत कृति पढ्दा कतै नाटक कृति पढिरहेजस्तो पनि लाग्छ, कतै दार्शनिक कृति पढिरहेजस्तो पनि महसुस हुन्छ र कतै आत्मकथा पढिरहेजस्तो पनि लाग्छ । यसरी एउटै कृतिभित्र विभिन्न विधा, ज्ञान र विषयहरूलाई रोचक तरिकाले प्रस्तुत गर्नसक्नु निबन्धकारको विशेषता हो ।