- समीक्षा
डा. शेखरकुमार श्रेष्ठ स्रष्टा एवम् द्रष्टा व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ श्रेष्ठको रजनी खत्रीको पीडामा सुख कवितासङ्ग्रहमाथि लेखिएको सारभूत समीक्षा समेटिएको छ । यो समीक्षा पुस्तक समीक्षाकै रूपमा आएको छ ।
-सम्पा. |
चाहे सुख होस् या दुःख, सुनेभन्दा हेरेको र हेरेभन्दा भोगेको जीवन प्यारो हुन्छ । संसारका सबै मानिसलाई जिन्दगीमा दुःख प्यारो लाग्छ, त्यसैले मानिस दुःख सम्झन्छ र यसैलाई व्यक्त गर्दछ । विश्वका सबै साहित्य हेर्दा पनि दुःखका साहित्य धेरै छन् र उत्कृष्ट छन् । यो दुःख लिनुपर्छ अरूको पनि आफ्नै बन्छ । यसलाई विचरा ! नारन शिव ! च्व ! च्व !! भन्दै भन्दै सुन्न, पढ्न र हेर्न मन लाग्छ । अरूको दुःख मन पराउने हृदय आफ्ना दुःखमा त झन् डुबुल्की मारी मारी रमाउँछ । रचना सिर्जना हुनुभन्दा अगाडिको दुःख लिने यस दृष्टिलाई ख्याल गर्दा परिपक्व र प्रौढ सर्जक पीडालाई साधारणीकरण गर्न सक्षम हुन्छन् भने सिकारु आफैभित्र सीमित रहन्छ । त्यसैले त साहित्यमा हृदय अभिव्यक्त भएको हुन्छ । हृदयबाट व्यक्त सिर्जनामा अलिकति बौद्धिक नियन्त्रण हुनु सर्जकको विशेषता बन्छ ।
कविता चाहे जस्तो गरी अभिव्यक्त नहोला तर प्रकट भएकै हुन्छ । कविता सिर्जना गर्दा कोही धक फुकाएर, वारिपारि सबैतिर डुल्दै गहिराहीसम्म पुग्छन् भने कोही किनारमै रहेर सङ्कुचित बन्छन् । हृदयका यही कुरा प्रकटीकरण गर्दै आफ्नो पहिलो कवितासङ्ग्रह लिएर रजनी खत्री देखा परेकी छन् । रजनी खत्रीको जन्म २०३६ जेठ २९ गते भएको हो । उनी तात्कालिक शेषनारायण गाउँपालिका–५ डोल्लुमा जन्मेकी हुन् । हाल उनी दक्षिणकाली नगरपालिका–३ सोखेलमा बस्छिन् । यदाकदा साहित्यिक कार्यक्रममा झुल्कने रजनी खत्रीले नेपाली साहित्यमा स्नातकोत्तर गरेकी छन् ।
रजनी खत्रीद्वारा लिखित यो कवितासङ्ग्रहको नाम पीडामा सुख हो । यो नाम सङ्ग्रहको अन्तिम कविताबाट राखिएको छ । यसले यस सङ्ग्रहको अन्य कविताको पनि प्रतिनिधित्व गरेको छ । पीडाबाट सुरुआत पीडामा सुख शीर्षकमा गई अन्त हुँदा यसमा चालिस कविता रहेका छन् । कविताको रखाइ क्रमबाट नै यस सङ्ग्रहको कवितामा पीडा नै पीडा छ भन्ने स्वतः स्पष्ट हुन्छ । त्यसैले सर्वप्रथम पीडामा सुख कवितामा नै पहिलो ध्यान जान्छ । काम गर्दा सङ्घर्ष गर्नुपर्छ । सङ्घर्ष गर्दै जाँदा अनेक चुनौती, बाधा, व्यवधान आउँछन् । त्यसले दुःख कष्टका साथ सुखको झझल्को पनि दिन्छ । दुःख गर्दा मनमा उत्पन्न हुने आशा नै वास्तवमा सुख हो । यही सुखको अनुभूतिलाई नै पीडामा सुख कवितामा व्यक्त गरिएको छ । यस कवितामा अरूलाई सुखी बनाउन आफूले दुःख भोग्नु परे पनि सुख मिल्ने कुरा व्यक्त भएको छ ।
सारा प्राणीलाई बचाउन
कुटोको घोपाइदेखि
हलो र ट्याक्टरको
चिथोराइमा पनि
खुसी हुने आमा
फूल फुलाउँदा,
फल पलाउँदा
पीडामा पनि खुसी छिन् ।
प्रस्तुत सङ्ग्रहको पहिलो कविता ‘पीडा’ हो । यस कविताले व्यक्तिगत असन्तुष्टिलाई देखाएको छ । योबाहेक सुन्छु अचेल, परिस्थिति, जीवन साथी, आँसु, प्रतिक्रिया, सुख कविताले पनि व्यक्तिगत असन्तुष्टिलाई विषय बनाएको छ । त्यस्तै, ‘कार्यक्रममा सहभागिता’ कविताले साहित्यिक कार्यक्रममा सहभागी बन्दा जीवनमा आउने पीडाबाट थोरै समय भए पनि मुक्त हुने कुरा गरेको छ । ‘आह्वान’ कविताले देश विकास गर्न नेपालीहरूको विदेश पलायन नीतिलाई रोक्नुपर्ने कुरा गरेको छ । यसका साथै यस कविताले देश बनाउन विदेश पुगेका नेपालीलाई स्वदेशमा नै फर्कन आह्वान गरेको छ । ‘वृद्धावस्था’ कविताले उमेर बढेपछि हुने शारीरिक कमजोरीको दर्शन गराएको छ भने ‘नारीको कर्म’ देखाई नारीले भोग्नुपर्ने पीडा नारी कवितामा प्रस्तुत छ । ‘विकास कि विनाश’ कविताले जथाभाबी गरिएको विकासले विनाश बोकेर ल्याएको कुरा गरको छ भने ‘दुई टुक्रा’ कविताले कलाप्रेमीलाई आरोपभन्दा पनि कला सत्य लाग्ने कुरा गरेको छ ।
रजनी खत्रीको ‘प्रयास’ कविताले जगत्रूपी आमाको चाहना पूरा गर्न आफ्नो प्रयास भइरहेको कुरा व्यक्त गरेको छ भने प्रविधि कविताले प्रविधिको विकास गरेर मानिसले संसारमा परिवर्तन ल्याए पनि रोग बढाउने सूक्ष्म भाइरससँग हार खाएको कुरा बताएको छ । ‘म दुख्दिनँ’ कविताले आफ्नो शरीरमा पीडा भए पनि आफू वा आत्माले पीडा नलिएको कुरा व्यक्त गरेको छ भने ‘जिन्दगी’ कविताले जीवनको सत्य बुझ्न सके पीडाबाट मुक्त हुने कुरा गरेको छ । त्यस्तै, ‘असल मानव’ कविताले मानवीय धर्म निर्वाह गर्न जोड दिएको छ भने ‘नियति’ कविताले जीवनलाई अर्काको लागि बाँच्ने साधन मानेको छ । ‘बाबा’ कवितामा बाबुले निर्वाह गरेको दायित्वप्रति कृतज्ञता प्रकट छ भने ‘अभाव’ कविताले अर्धविकासले ल्याउने समस्या देखाएको छ । ‘पूmल र काँडा’ कवितामा काँडाले जीवन बाँच्न सक्ने कुरा आएको छ भने ‘आमाको पढाइ’ कवितामा नारीले लेखपढ गर्नुभनेको परिवारको खुसी चोर्नु हो भन्नेतिर सङ्केत गरेको छ । ‘पीडा ! तँ त ढुङ्गा होस्’ कविताले चाहिँ पीडासँग हृदय नभएकाले सबैलाई दुःख दिन अग्रसर रहेको कुरा व्यक्त गरेको छ:
बाँच्नका लागि
खान सक्छस्
बाँच्नका लागि
अरू पनि गर्न सक्छस्
बाँच्नका लागि
रुवाउन पनि सक्लास्
आफू बाँच्नका लागि
तर बचाउनका लागि होइन
किनकि पीडा
तँ त ढुङ्गा होस् ।
धन कमाउन विदेश जाने मानिसले भोग्नुपरेको पीडा ‘परदेशीको पीडा’ कवितामा व्यक्त छ । यस कविताले परिवार पाल्न, छिमेकी तथा आफन्तमा इज्जत राख्न र सुखी जीवन देखाउन विदेशमा धन कमाउन जाने मानिसले सुखको सपना लिएर विदेश गए पनि जीवनका रहर, इच्छा सबै बन्धकी राखेर आफूलाई विक्री गरिरहेको कुरा उल्लेख भएको छ:
कति सपना उड्दै छन्,
आकाशमा !
कति रहर झर्दै छन्
धर्तीमा !
कति फर्कन्छन्
काठका बाकसमा !
कति आउँछन्
सुन्दर जीवनको आशामा !
‘जनताको आह्वान’ कवितामा जनताको प्रतिनिधिमूलक आवाज व्यक्त भएको छ । यस कविताले जनताको जीवनसँग ख्याल ठट्टा नगर्न अनुरोध गर्दै जनताको जीवनलाई देशको सम्पत्ति र वैभव मान्न आग्रह गरिएको छ:
मर्नुपर्ने कुरा
एकचोटि सम्झ
सबै बाँचे आफू बाँच्छु
यति त सम्झ
तिमीलाई बनाउनेको
उपकार गर
धन भन्नु जीवन हो
यसको रक्षा गर ।
रजनी खत्रीको ‘बसाइँ’ र ‘जनता’ कविताले गणतन्त्रसहितको लोकतन्त्रमा नेताबाट जनताले भोग्नुपरेको पीडा देखाएको छ भने ‘मुटुको व्यथा’ कविताले रोग वा अन्य कारण बाबुआमाकै काखमा बाँच्न विवश नारीको व्यथा प्रस्तुत गरेको छ । उनको ‘माया गर्ने कहिले ?’ कवितामा सरकारी कमजोरीका कारण जनतामा छाएको निराशा भाव प्रकट भएको छ भने ‘परिवर्तनको प्रतीक्षा’ कविताले समृद्ध देश देख्ने चाहना अहिलेसम्म पूरा हुन नसकेको कुरा उल्लेख छ । त्यस्तै, ‘उनको मन’ कवितामा मानवीय जीवनमा आउने यौवन अवस्थाको प्रेमलाई प्रस्तुत गरिएको छ । यस कवितामा प्रेमलाई शीतल दिने जूनको आरोप भएको छ:
चञ्चले मन, रोकिई भन्छ, यो तिम्रो प्रेम हो
जीवन साथी, आत्माले रोज्यो, त्यो तिम्रै जून हो ।
रजनी खत्रीको ‘नेपालमा फर्कौँ’ कविताले देशप्रेम देखाएको छ । यस कविताले वर्तमान नेपाली समाजका शिक्षित व्यक्तिहरू परिवारसहित पैसा कमाउन विदेश गई उतै बस्न थालेपछि घर शून्य भएको कुरा व्यक्त गरेको छ । यस कविताले विदेश जाने सन्तानका परिवारले भोग्नुपरेको समस्या पनि प्रस्तुत गरेको छ:
पैसाका लागि, दाजु छन् मेरा, युरोप सहर
भाउजू पनि, दाइका साथ, देशमा को छ र ?
रजनी खत्रीका ‘यो देश’ कवितामा वर्तमान मानिस स्वार्थपूर्तिमा व्यस्त भएको कुरा अभिव्यक्त छ । यस कवितामा प्रचारको नजिक रहुन्जेल व्यक्तिको तारिफ भए पनि अरू बेला निकम्मा बन्न पुग्ने सामाजिक व्यवहारप्रति आलोचना गरिएको छ । यसका साथै राम्रा र सत् मानिसको कार्य पनि समयसँगै आलोच्य बन्न पुगी रिस र ईष्र्यामा परिवर्तन हुने कुरा यस कविातामा प्रस्तुत हुन पुगेको छ ।
त्यस दिन थारो भैँसीजस्तै
मौलोमा रेट्न पठाइन्छ
सेकुवा बनाइन्छ
भुटुवा बनाइन्छ
अनि रिस दाँतमा राखेर
सके जति चपाइन्छ
त्यस्तै, ‘दृष्टि’ कवितामा दार्शनिक चिन्तन अभिव्यक्त छ । यस कवितामा भौतिक र दिव्य दृष्टिका माध्यमबाट संसारलाई हेर्दा फरक देखिने कुरा आएको छ । भौतिक दृष्टिले संसारलाई हेर्दा लोभ, मोह बढ्दै गई शाश्वत सत्य छोपिने तर दिव्य दृष्टिले हेर्दा संसार सबैका लागि अमृतमय रहेको कुरा यसमा प्रस्तुत छ । त्यसै गरी ‘एकादेशको मान्छे’ कवितामा जीवन जगत्लाई दुःखको घर मानिएको छ । यस कवितामा अरूलाई दुःख दिएर आफ्नो स्वार्थ पूरा हुँदाको एक अल्प समयमा हर्षको महसुस भए पनि खासमा जीवन दुःख नै दुःखले भरिएको कुरा उल्लेख भएको छ ।
पीडा त त्यसबेला
एकछिन हुन्न
जब बाघले निर्धो
मृगलाई लखेट्छ
आफ्नो हातको
पन्जा र विषालु दाँतले
शरीरका अङ्ग छुटयाई
अर्काको मृत्युमा उत्सव मनाउँदा ।
पीडामा सुख कवितासङ्ग्रह भित्रका चालिस कवितामध्ये दुई टुक्रा र केही टुक्रा शीर्षकका कविता मुक्तक शैलीमा लेखिएका छन् भने मन र नेपालमा फर्कौँ कविता झ्याउरे लयमा लेखिएका छन् । यस कवितासङ्ग्रहका अन्य कविता भने मुक्त वा गद्य लयका छन् । यस सङ्ग्रहका कविताहरूमध्ये पीडा ! तँ त ढुङ्गा होस्, परदेशीको पीडा, जनताको आह्वान, बसाइँ, जनता, परिवर्तनको प्र्रतीक्षा, मन, नेपालमा फर्कौँ, पीडामा सुख कविता भाव वहनका कोणबाट स्तरीय बनेका छन् । यी कवितामा कविले विषयवस्तुलाई गहन र मिहिन ढबमा उठाएका छन् र कवितामा पूर्ण विषय आएका छन् । यस सङ्ग्रहका कवितामा कविले अन्त्यानुप्रासलगायत व्यञ्जनवर्णको आवृत्तिबाट लय सिर्जना गरेका छन् ।
रजनी खत्रीको पीडामा सुख कविता उनकै कविता लेखनको बगैँचामा उम्रिएका फूल हुन् । यी फूल कलकलाउँदा हरियाभरिला छन् । उनको लेखनीमा आएका यी कवितालाई मलजल, गोडमेल, छाटकाँट गरी परिमार्जन गर्न सके उनका कविताको बगैँचा पक्कै पनि सुन्दर हुने छ । प्रयास गरेपछि असम्भव पनि सम्भवको बाटोतिर आउँछ । आशा छ, उनले आगामी कवितासङ्ग्रह सङ्ख्या थप्न नभई गुणात्मकता थप्न पुनः सिर्जना गर्ने छिन् । उनी कविताकै माध्यमबाट कविताको बगैँचामा मगमगाउँदो कवि बन्ने छिन् । अन्तमा पीडामा सुख कवितासङ्ग्रह लिएर कविता लेखनमा प्रवेश गरेकी रजनी खत्रीको यस सङ्ग्रहले उनलाई चिनाउन डोरेटो खनोस्, उनलाई साहित्यमा लाग्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।