- समीक्षा
डा. जयन्ती रूपाखेती नेपाली समीक्षाका क्षेत्रमा स्थापित प्रतिभा हुन् । उनले माधव घिमिरेका बालकवितामा विद्यावरिधि गरेकी छन् । उनको परिचय साहितयसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको शैलेन्दुप्रकाश नेपालको वनवेलीकृतिमा लेखिएको समीक्षा समेटिएको छ । – सम्पा.
नेपाली साहित्यमा कथा, उपन्यास, कविता, खण्डकाव्य, महाकाव्य र समालोचनाको क्षेत्रमा ख्याति प्राप्त गरेका साहित्यकार शैलेन्दुप्रकाश नेपालको प्रथम कृतिको रूपमा वनवेलीको जन्म भएको हो । लेखनका दृष्टिले १६ वर्षे किशोरावस्थामा जन्मन पुगेको यस कृतिले प्रकाशनको मौका भने २०७६ सालमा मात्र प्राप्त गरेको छ ।
‘वनवेली’ अर्थात् कोइली चरीको पूर्वजन्म र पुनर्जन्मको रोमाञ्चित घटनालाई लिएर झ्याउरे लयमा रचना गरिएको यो बालकाव्यमा मेटाफिक्सनको प्रयोग अर्थात् कथाभित्र कथा रहेको छ । मेटाफिक्सनमा यथार्थ भन्दा काल्पनिकताको प्रयोग बढी हुन्छ । यसको कथा सही हुन नसक्ने र कुनै वस्तुको अन्दाजको भरमा हुने काल्पनिकताको प्रयोग यसमा हुन्छ । कथा सत्य घटनामा आधारित पनि हुन्छ तर मेटासिक्सनमा काल्पनिक र यथार्थमा आधारित नभएको कथा हुन्छ ।
वास्तविक जीवनमा कहिल्यै सम्भव नहुने अतिरञ्जनात्मक घटनालाई देखाएर सुरु गरिएको काव्य भित्र फेरि अर्काे कथा जोडिएको छ जुन कथा पूर्वजन्म र पुनर्जन्मसँग सम्बन्धित छ ।
‘वनबेली’ बालकाव्यमा बालकहरूको कल्पनाशीलता बढाउनका निम्ति पन्क्षीको उडन्ते कथालाई विषयवस्तु बनाएर सृष्टिका अनौठा रहस्यमय कल्पनाहरू, पूर्वजन्म र पुनर्जन्मसम्बन्धी विश्वास बालकका मनमा जागृत गराइएको छ । जन्म र मृत्युका चक्र–परिचक्र, मानव र पंक्षीसम्बन्धी सृष्टिका रहस्यमय कथा, मानव र पक्षीका सृष्टिको तादात्म्य अनि जीवनको रहस्यलाई देखाउँदै बालमनोविज्ञानको समेत चित्रण गरिएको छ । मानिसका जन्म र पुनर्जन्मसम्बन्धी रहस्य अनि मानिस र पक्षी बीचको तादात्म्यलाई देखाउन राजकुमारीले कोइलीको जीवन धारण गरेको, फेरि कोइली कुमारी केटी भएर जन्म लिएको, कोइली चरो मरेर सिकारीको रूपमा जन्मिएको सिकारीले आफ्नै प्रेयसी (कोइली चरी) लाई थाहा नपाएर मारेर खाएको कुरा सपनामा थाहा पाउँदा आत्मग्लानि गर्दै आत्मदाह गरेर मर्नु र पुनर्जन्ममा फेरि दुवै कोइली मनुष्य रूपमा राजकुमार, कन्या कुमारी भएर जन्म लिएको कथा समेटिएको छ । यस काव्यमा मानिसको जन्म र पुनर्जन्मसम्बन्धी स्वै कल्पना वा अतिरञ्जनात्मकता रहस्यमय कुराहरूप्रति कौतूहल जगाइएको छ ।
‘वनबेली’ बालकाव्यको सुरुआत पनि पूर्वदीप्ति शैलीमा गरिएको छ । एक दिन अचानक राजकुमारीको नोकरले दाउरा चिर्दा राजकुमारीको आँखामा दाउराको चोइटो पर्नु, उनको आँखा फुटेर अन्धी हुनु र अन्धी भएर जीवनभरि दुःख पाउनु भन्दा वैरागी भएर हिँड्नु वेस भनेर वैरागी वनमा पुग्नु त्यहाँ एउटा एक्लो भाले कोइलीलाई देख्नु, एक्लो कोइलीलाई देखेर आफू पनि कोइली हुन पाए हुन्थ्यो भन्ने कल्पना लिएर कोइलीलाई हेर्दा हेर्दै उनी कोइलीकै रूपमा परिणत हुनु जस्ता रहस्यमय घटनाले बालकहरूको मनमा कौतुहल जगाएको पाइन्छ । वास्तविक जीवनमा कहिल्यै सम्भव नहुने अतिरञ्जनात्मक घटनालाई देखाएर सुरु गरिएको काव्य भित्र फेरि अर्काे कथा जोडिएको छ जुन कथा पूर्वजन्म र पुनर्जन्मसँग सम्बन्धित छ ।
पक्षी मानवका रूपमा जन्म लिनु र मानिसले कल्पना गर्नासाथ मानवीय स्वरूपबाट पक्षीको रूपमा परिणत हुनु वास्तविक संसारमा सम्भव छैन । यसैगरी कोइलीका भाले पोथीमध्ये एक दिन अचानक हुरी आएर भाले कोइलीको मृत्यु भएपछि त्यो सिकारीको रूपमा जन्म लिएर सिकार खेल्दै जाँदा एउटा चरालाई देखेर सिकार गर्नु र त्यो चरा पहिलेको कोइली चरी हुनु र ऊ भौँतारिदै भाले कोइली कतै यतै वनमा पो छ होला कि भनेर आउँदा सिकारीले कोइलीलाई मार्नुजस्ता घटनाहरू काव्यमा घटेका छन् सिकारीले कोइलीलाई मारेर घरमा ल्याएर भुटेर खाएपछि कोइलीले “म तिम्रै प्रियसी कोइली हुँ, म तिम्रै खोजीमा थिएँ तर तिमीले मलाई मारेर खायौ” भनेपछि सिकारीलाई आत्मग्लानि हुनु र उसले आफैंले आत्मदाह गरेर मर्नु जस्ता घटनापछि काव्यभित्र फेरि अर्काे कथा जोडिन पुगेको छ । जुन कथा अनुसार सिकारीको रूपको कोइलीको मृत्युपछि ऊ फेरि पुनर्जन्म लिएर राजकुमारको रूपमा आएको छ भने पोथी कोइली पनि कुमारी केटीको रूपमा जन्म लिएकी छन् । साधारण परिवारमा जन्मिएकी कुमारी केटीमा पूर्वजन्म र पुनर्जन्मसम्बन्धी अदुभूत ज्ञान भएकाले उनले राजकुमार पूर्वजन्मको आफ्नो प्रेमी कोइली भनेर चिनेर उनी राजकुमारप्रति आकर्षित हुनु, राजकुमार र केटीबीच प्रेम हुनु, उनीहरूबिच विवाह हुनु र अन्त्यमा यी दुबै राजारानीले आफ्ना सन्तानलाई राज्यभार सुम्पेर फेरि वैरागी वनमा तपस्या गर्न गएको प्रसङ्गबाट कथानक टुङ्गिएको छ ।
यसरी समग्रमा काव्यको कथावस्तु यथार्थ भन्दा बढी अतिरञ्जनात्मकताले भरिएको छ । सृङ्गारिकता, वियोगात्मकता र कारुणिकताले भरिएको यस बालकाव्यभित्र दुई ओटा कथानक जोडिएको छ र जुन कथानक पूर्वजन्म र पुनर्जन्मसँग सम्बन्धित छ । पक्षी वा चराचुरुङ्गीलाई मानवीकरण गरेर लेखिएको यो काव्य बालोचित छ ।
पूर्वजन्म र पुनर्जन्मका रहस्यात्मक घटनाले भरिएको यो काव्य कौतुहलले भरिएको छ । बालकको मनमा मनुष्य पनि पक्षीको रूपमा परिणत हुने, पक्षी मनुष्य हुने, उनीहरूलाई पूर्वजन्म र पुनर्जन्मको ज्ञान हुने जस्ता अदुभुत घटनाहरूले गर्दा बालकाव्य रहस्यात्मकताले भरिएको छ । कलिलो मस्तिष्कका बालबालिकामा जन्म मृत्युको चक्र–प्रतिचक्र, जन्म–पुनर्जन्म जस्ता रहस्यात्मक घटनाहरूको संयोजन गरेर लेखिएको यो काव्य बालगीत वा बालकविताका दाँजोमा लामो छ । बालकाव्य लामो हुने र यसमा २० श्लोक वा अुनच्छेद देखि १०० श्लोक वा अनुच्छेद सम्मको लमाइ हुनुपर्ने नियम अनुसार यो काव्य १०० श्लोक भन्दा बढी लमाइमा रचिएको छ । यसको आख्यानमा कथानक, पात्र र परिवेशको समष्टिवरण पाइन्छ । बालकहरूका निम्ति रोचक र मार्मिक हुने खालको आख्यान प्रस्तुतिको सीप देखाई सो आख्यानलाई यहाँ क्रमबद्ध ढङ्गले प्रस्तुत गर्दै गएको पाइन्छ । आख्यानसँग सम्बन्धित पूर्वजन्म र पुनर्जन्मका घतलाग्दा घटनाहरूको रमणीय बालकवितात्मक चित्रण गर्दै गएर राजकुमार र राजकुमारी फेरि तपस्या गरेर कोइलीको रूप धारण गरेर पुनर्जन्म लिएको घटनाबाट आख्यानलाई टुङ्ग्याइएको छ ।
आख्यानका घटनाक्रमसँगै बालकका मनमा अन्धी राजकुमारीप्रति दया–माया र सहानुभूति प्रकट हुने अनि राजकुमारी कोइली बनेकी घटनाले मानिस पनि पक्षीमा परिणत भएको कुराले बालकका मनमा पैदा हुने उत्साह, उमङ्गका साथै कौतुहलपनि उब्जाएको छ । यसैगरी कोइलीका भालेपोथीको बिछोड भएको घटनाले बालकको मनमा उत्पन्न हुने दुःख पीडाबोध, फेरि कोइलीका जोडी राजकुमार र कुमारी केटी भएर पुनर्जन्म लिएर भेट हुँदाको सुख र हर्षका क्षणहरूलाई देखाएर बालमनोविज्ञानमा उत्पन्न हुने दुःख, पीडा, हर्ष, उमङ्ग, शान्ति–स्नेह, सदभाव, सद्विचार, आस्था, विश्वास, उल्लास विस्मय जस्ता मसिना–मसिना कुराहरूको रोचक अभिव्यक्ति काव्यमा पाइन्छ । बालआख्यान तथा बालमनोभावमूलक बालकविताका बीचमा हातेमालो गरेर बालकहरूलाई कथा र कविताको स्वाद एकैपटक पस्कने कौशल लेखकले गरेका छन् । लेखक स्वयम् नै किशोरावस्था हुँदा रचना गरिएको यो काव्य विशेष गरी १५–१६ वर्ष उमेर समूहका बालकका निम्ति उपयुक्त देखिन्छ । समग्रमा हेर्दा यथार्थभन्दा अतिरञ्जनात्मक घटनामा रचित कौतूहलले भरिपूर्ण यो काव्य एकपटक सबै पाठकले पढ्नु नै पर्ने देखिन्छ ।
कथानकको सुरुदेखि अन्त्यसम्म नै कौतूहलले भरिएको काव्य जिज्ञासु स्वभावका बालकहरूका निम्ति अत्यन्त उपयोगी सिद्ध हुन्छ । झ्याउरे लयमा रचित यो बालकाव्यको भाषाशैली पनि सरल र उत्कृष्ट देखिन्छ । समग्रमा हेर्दा यो बालकाव्य बालकोचित नै देखिन्छ ।
किशोरावस्थाका बालबालिकाहरू भावुक र कल्पनामा डुब्ने स्वभावका हुन्छन् । उनीहरूमा बढी महत्त्वाकाङक्षा हुन्छ त्यसैले लेखक पनि किशोरावस्थाकै भएका हुनाले यथार्थ जीवनको भन्दा भिन्न काल्पनिकता वा अतिरञ्जनात्मक कुरालाई यहाँ कोइलीको कथासँग जोड्न पुगेका छन् । बालकहरूलाई जन्मसम्बन्धी रहस्यात्मक कुराको बोध गराउनका लागि मानिस मरेर पशुपक्षी, कीरा, फट्याङ्ग्रा आदि जनावरको रूपमा पुनर्जन्म लिन सक्ने कुराको चित्रणबाट बालकलाई पशुपन्क्षी र मानवबीचको तादाम्त्यको पनि बोध गराइएको छ ।
१५–१६ वर्षका बालबालिकाहरू कल्पनामा पनि डुब्ने र संसारमा जे देख्यो आफूपनि त्यही हुन पाए कस्तो हुन्थ्यो होला भनेर गरिने अद्भूत कल्पना र वास्तविक जीवनको संयोजन गरेर लेखिएको यो बालकाव्य कारुणिकता मार्मिकता र अतिरञ्जनात्मकताले भरिपूर्ण छ । जन्म र मृत्युको चक्र प्रतिचक्रको ज्ञान गराउने क्रममा पूर्वजन्ममा मानिस भएर जन्मिएको व्यक्ति पुनर्जन्ममा पक्षी पनि हुनसक्ने र पक्षी मानिस हुनसक्ने अद्भुत अनि सृष्टिका रहस्यमय कुराहरूको ज्ञान गराउने क्रममा पुनर्जन्म लिएकी कुमारी केटीले आफू पूर्वजन्ममा कोइली थिएँ र मेरो प्रेमी कोइली अहिले राजकुमार भएर जन्म लिएका छन् भन्ने जुन अद्भुत कल्पना यसमा गरिएको छ । यसले गर्दा कथानक अतिरञ्जनात्मक हुन पुगेको छ । बालकाव्य बालकको उमेर सुहाउँदो, बालभाषाको प्रयोग गरिएको र बालकको मनोभावना बुझेर प्रौढ वा बालकले बालककै निम्ति लेखिने काव्य हो ।
यो काव्य किशोरावस्थाका बालकलाई सुहाउने खालका अतिरञ्जनात्मक घटनाहरूको संयोजनद्वारा लेखिएको छ । कल्पनाशील स्वभावका बालकहरू यथार्थभन्दा कल्पनामा बढी रमाउने हुनाले जन्म र मृत्युका रहस्यात्मक कुरालाई अत्यन्त रोचक ढङमा यसमा प्रस्तुत गरिएको छ । कथानकको सुरुदेखि अन्त्यसम्म नै कौतूहलले भरिएको काव्य जिज्ञासु स्वभावका बालकहरूका निम्ति अत्यन्त उपयोगी सिद्ध हुन्छ । झ्याउरे लयमा रचित यो बालकाव्यको भाषाशैली पनि सरल र उत्कृष्ट देखिन्छ । समग्रमा हेर्दा यो बालकाव्य बालकोचित नै देखिन्छ ।