अध्ययनका लागि २०६३ सालतिर बझाङबाट काठमाडौं आएका सोझो गाउँले (भरतबहादुर भण्डारी) कविता, गीत, गजलमा निकै रुचि राख्थे । फुर्सद मिल्यो कि शहरका साहित्यिक गोष्ठीमा कविता सुनाउन पुगिहाल्थे । सबै कवि कागज हेरेर कविता सुनाउँथे तर गाउँले भने पाँच पानाको कविता पनि केही नहेरी वाचन गर्थे । उनले आजसम्म कागज हेरेर कविता सुनाएका छैनन् ।
काठमाडौंमा कविता लेखेर मात्र बस्न सक्ने अवस्था थिएन । गाउँलेले नेपालीमा एमए र एमएड गरेर शिक्षण पेशा अपनाए । उनले क्याम्पसकालीन राजनीतिलाई नेपाली लेखक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ लगायत नेपाली काङ्ग्रेसका वर्गीय सङ्गठनहरू मार्फत निरन्तरता दिएका छन् ।
यी चटारोबीच उनी कविता र समालोचना पनि लेखिरहेका हुन्छन् । उनले यसै महीना दोस्रो कविता सङ्ग्रह ‘मरूभूमिमा हिमपात’ प्रकाशन गरेका छन् । नयाँ पुस्तक र साहित्यकर्मबारे सोझो गाउँलेसँग अनलाइनखबरका निर्भीकजंग रायमाझीले गरेको कुराकानीको अंश :
बझाङमा हुँदा काठमाडौं गएर के गर्छु भन्ने थियो ?
काठमाडौं पुगेपछि कविता छपाउनुपर्छ भन्ने थियो । अनि आफूले लेखेका गीत गाउन लगाउँछु भन्ने थियो । विद्यार्थी राजनीतितिर लाग्छु भन्ने पनि थियो । नभन्दै, त्यो सबै गरें ।
गाउँबाट जे सोचेर काठमाडौं आएँ, त्योभन्दा फरक काम गरेको छैन । आफ्नै रुचिका क्षेत्रमा छु । मनमा असन्तोष छैन । शहरमा बसेको पनि आफ्नै रहरले हो, बाध्यता केही छैन ।
बिहान पढाउनुहुन्छ, राजनीतिक-सामाजिक सङ्घसंस्थामा पनि दौडादौड देखिन्छ । कविता कतिखेर लेख्नुहुन्छ ?
कविता लेख्न खासै समय पाएको छैन । पहिलाको रफ्तारमा लेख्न नसक्नुको कारण यही हो । शिक्षण र सामाजिक-राजनीतिक कार्यक्रमहरूमा कुद्दाकुद्दै समय बित्छ । अहिलेको मेरो समस्या भनेकै धेरैतिर छरिनु हो ।
लेखेकै थोरै हो कि कविता छानेर मात्र प्रकाशन गर्नुहुन्छ ?
लेखेको जति सबै प्रकाशन गरेको छु । कुनै छानेको या फालेको छैन । पछिल्लो समय आफ्नो विषय क्षेत्रसँग सम्बन्धित प्राज्ञिक लेखनतिर लाग्नाले कविता लेखन कम भएको रहेछ । यो सङ्ग्रहमा ‘मनको बाँसुरी’ (२०६४) पछि लेखेका सबै कविता राखेको छु । पहिलोमा ५२ र अहिलेको ‘मरुभूमिमा हिमपात’मा ४८ थान कविता छन् ।
श्रवण मुकारूङसँग खूबै उठबस देखिन्छ । एक स्थापित कविको निकटताको प्रतिछायाँ पर्दैन ?
ठूलो गायकसँग सङ्गत गर्नेले गीत गाउने, ठूलो नायकसँग बसउठ हुने अभिनयतिर लाग्ने, एउटा सिद्धहस्त कविसँग घनिष्ट हुँदैमा उसैको जस्तो कविता लेख्ने भन्ने हुँदैन ।
श्रवण दाइसँग कविताको मात्र कुरा हुँदैन । हामी लेखक सङ्घदेखि नेपाली काङ्ग्रेसको महाधिवेशनसम्मका कुरा गर्छौं । एकै क्षेत्रमा हुनाले उहाँसँगको सङ्गतबाट मेरो कविता लेखनमा केही सुधार पनि भएकै होला । उहाँसँगको सङ्गतपछि कविता लेखनलाई हल्काफुल्का रूपमा लिनुहुँदैन भन्ने बोध भएको पनि हो ।
तपाईं साहित्यशास्त्रको पनि ज्ञान राख्नुहुन्छ । कविता लेख्दा काव्यशास्त्रको ‘हृयाङ’ कत्तिको हुन्छ ?
शास्त्रको हृयाङले सिर्जना कर्मलाई बिथोल्न खोज्छ । जस्तो कि कविता लेख्दालेख्दै समालोचकीय चेत चल्मलायो भने त्यो कविता पूरा गर्नै मुश्किल हुन्छ । कविता एक किसिमको उद्वेलनमा, भावावेगमा लेखिन्छ । पूराका पूरा संयमित भएर, योजना बनाएर, शास्त्र-सिद्धान्त सम्भिmएर कविता लेखिंदैन । त्यसरी लेखिएको कविता राम्रो पनि हुँदैन ।
काव्यशास्त्र अगाडि राखेर कविता लेखियो भने ‘आदर्श राघव’ जस्तो हुन्छ । सोमनाथ सिग्देलले जानेका सबै पूर्वीय काव्यशास्त्रको प्रयोग उक्त महाकाव्यमा गरे । विश्वविद्यालयमा रस, अलङ्कार, रीति, वक्रोक्ति पढाउँदा उदाहरण दिन मिल्ने श्लोकहरू त्यसमा भेटिन्छन् तर कविता भेटिंदैन ।
मलाई के लाग्छ भने सिर्जनात्मक लेखनको लागि बढीभन्दा बढी सिर्जना नै पढ्नुपर्छ । राम्रो कविता लेख्न राम्रा-राम्रा कविता नै बढी पढ्नुपर्छÙ कथा लेख्न कथै पढ्नुपर्छÙ उपन्यास लेख्न उपन्यासहरू पढ्नुपर्छ । शास्त्रले विधागत सचेतता बढाउँछ, सानातिना त्रुटिहरूबाट पनि बचाउला, तर सिर्जनामा प्राण भर्ने काम गर्दैन ।
शिक्षण, साहित्य र राजनीतिभन्दा अन्य क्षेत्रमा तपाईंको उति चासो देखिंदैन नि ?
रुचि, चासो त धेरैतिर छ तर भ्याए पो ! पढ्नु, पढाउनु र लेख्नु अनिवार्य काम भइहाल्यो । राजनीतिमा निकै चासो र थोरबहुत संलग्नता छँदैछ । गीत-संगीत भनेपछि हुरूक्कै हुन्छु । सिनेमा पाएसम्म हेर्छु । भाषा, संस्कृति, शास्त्र-सिद्धान्त अध्ययनमा उत्तिकै रुचि छ । बेलामौकामा सामाजिक काममा पनि अघि सरेकै हुन्छु । यत्रतत्र छरिएको छ जिन्दगी । धेरै विषयमा चासो राख्दा-राख्दा जिन्दगी नै किराना पसल जस्तो भएको छ ।
जीवनका सम्पूर्ण प्रयत्न एउटै उद्देश्यमा केन्दि्रत गर्न नसक्नाले कुनै क्षेत्रमा खास उपलब्धि हासिल गर्न सकिएको छैन ।
तपाईंको नामबारे कतिको प्रश्न आउँछ ?
यो नाम किन राखेको, कसले राखिदिएको ? भन्ने प्रश्नले दिक्दार बनाएको छ । यो नाम किशोरावस्थाको एउटा लहडमा राखियो । यसैबाट रचनाहरू प्रकाशित हुन थाले । यही नामबाट मान्छेहरूले चिन्न थाले र यही नाम रहन गयो ।
मानिसहरूलाई कामभन्दा नामसँगै बढी चासो किन भएको होला भन्ने पनि लाग्छ । यस्ता उपनामले केही प्राविधिक व्यवधान पनि खडा गर्दा रहेछन् । कागजपत्र पेश गर्नुपर्ने ठाउँमा अलिक झन्झट हुँदोरहेछ ।
एकदमै उत्साही भएर कविता लेखेको समय कहिले हो ?
तीव्र उत्साहका साथ कविता लेखेको कालखण्ड दुई वटा छन् मेरा । एउटा, गाउँकै स्कूलमा पढ्दा जानी नजानी गीत, गजल, मुक्तक, कविता सबै एकैचोटि लेखियो । कविता पनि शास्त्रीय छन्द, लोकछन्द, मुक्तछन्द, गीतिलय सबै किसिमका लेखियो ।
काठमाडौं आएपछि शुरूमा एक्लै बस्ने अवस्था भएन । क्याम्पसको राजनीतिमा पनि कुदियो । त्यसैले लेखनमा अलि कमी आयो । गाउँमा हुँदा जति लेखियो ती सबै पहिलो सङ्ग्रहमा छन् ।
पछि कीर्तिपुरमा एक्लै बस्दा निकै कविता लेखें । त्यो बेला लगभग पढाइ पनि टुङ्गिन लागेको थियो ! जागिर शुरू गरिसकेको थिएन । त्यसबेलाको जोश अर्कै थियो । अहिले त जागिरले नै धेरै समय खान्छ । अन्य कामका कारण पनि कवितालाई समय दिन पाएको छैन । लेख्न छोडेको पनि छैन ।
तपाईं सुदूरपश्चिमको उत्पादन हो । त्यो क्षेत्र राज्यबाट उपेक्षित छ भनिन्छ । तपाईंलाई के लाग्छ ?
सुदूरपश्चिम पहिले राजा-रजौटाहरूकै क्षेत्र हो । पछिल्लो कालखण्डमा राज्यसत्तामा यताका मान्छेहरूको उपस्थिति बढेको हुँदा र काठमाडौंलाई केन्द्र मान्दा सुदूरपश्चिम टाढा जस्तो देखिएको हो ।
केन्द्रीकृत राज्यको राजधानी र आसपासको इलाका दूरदराजको भन्दा अगाडि देखिनु स्वाभाविक हो । पूर्वका भन्दा सुदूरपश्चिम र कर्णालीका जिल्लाहरू विभिन्न कारणले पछाडि परेकै छन्, तर काठमाडौंका मिडिया र एनजीओवालाले प्रचार गरे जस्तो सुदूरपश्चिम एकदमै विकट भने छैन ।
काठमाडौं आसपासमा बझाङका जस्ता गाउँहरू थुप्रै छन् । जयपृथ्वीबहादुर सिंहको अग्रसरतामा राणाकालमै बझाङमा विद्यालयहरू खुलिसकेको कुरा यहाँका मानिसहरू बिर्सन्छन् ।
सुदूरपश्चिम र कर्णालीतिरका मानिसहरूले आफूलाई ‘खस’ सभ्यताका हौं भनेर चिनाउँछन् । तपाईंको दाबी पनि यही हो ?
दाबीभन्दा पनि अरूको झैं मेरो पनि सामान्य किसिमको बुझाइ र विश्वास हो । नेपाली पहाडी मूलका क्षत्री, बाहुन, दलित, दशनामीहरू (जसलाई खस जाति वा खस आर्य भन्ने गरिन्छ) पश्चिमबाट पूर्वतिर सर्दै आएको कुरा सबैलाई थाहा छ । त्यसैले पूर्वमा भन्दा सुदूरपश्चिमतिर खस संस्कृतिका अवशेष बढी भेटिन्छन् ।
खस जाति र संस्कृतिको जरा पश्चिमतिर भेटिनु स्वाभाविक हो । मेरै गाउँमा मष्टो मन्दिर छ । अहिलेको जमानासम्म आइपुग्दा हामी सबै वर्णसंकर भइसक्यौं । खस जाति पनि पूर्वोत्तरतिरबाट आएका मङ्गोल मूलका मानिस र दक्षिणबाट पसेका वैदिक आर्यहरूसँग मिसिएर ‘हाइबि्रड’ भइसक्यो ।
नेपाली साहित्यमा चलिरहेको पहिचानको आन्दोलनप्रति तपाईंको के धारणा छ ?
अस्तित्व, पहिचान, अधिकारको लागि चलेका आन्दोलनको समर्थक हुनु कुन नौलो कुरा भो र ! सबै किसिमका अग्रगामी एवम् प्रगतिशील आन्दोलनप्रति मेरो सधैं समर्थन रहन्छ ।
मताधिकारबाट मात्र अब लोकतन्त्रको परिभाषा पूर्ण हुँदैन । इतिहासमा अन्यायमा परेका, शोषण गरिएका, पाखा पारिएका, हेपिएका, चेपिएका वर्ग र समुदायलाई न्याय दिलाउनु, राज्यको मूल धारमा ल्याउनु लोकतन्त्रको न्यूनतम शर्त हो ।
शक्तिशाली र वर्चस्वशालीले छायाँमा पारेको सीमान्तकृत समुदायको पहिचानलाई पनि अगाडि ल्याउनुपर्छ भन्ने सांस्कृतिक अभियानलाई किन समर्थन नगर्ने ? एक कवि हुनुको नाताले सधैं न्यायिक समानताको पक्षमा उभिनुपर्छ भन्ने चेत छ ममा । शासक र शक्तिको अर्चना गर्ने भाट होइन म ।
(तस्वीरहरू : विकास श्रेष्ठ)