कृष्ण प्रधान (कृष्णकुमार प्रधान, १४ फरवरी १९५६ (२०१३, मङ्सिर), खरसाङ (दार्जिलिङ) भारतमा रहेर नेपाली साहित्यको विकासमा सिर्जना, समीक्षा र सङ्गठनका माध्यमबाट समर्पित प्रतिभा हुन्। शिक्षा बीकम, एम, ए (नेपाली), गरी नेपाली साहित्यकै अध्यापनमा समर्पित प्रधानको साहित्य यात्रा कविता विधाबाट आरम्भ भई विविध विधाका साथै समीक्षा क्षेत्रमा जमेको छ । उनको पहिलो प्रकाशित रचना नौ कक्षाको विद्यार्थी छँदै सिलगढीबाट प्रकाशित बाडुली द्वैमासिक साहित्यिक पत्रिकामा कविता शीर्षकमा प्रकाशित भएको थियो । सात कक्षामा पढ्दादेखि शिक्षकत्रय रामलाल अधिकारी, समीरण प्रियदर्शी र युवराज काफ्लेद्वारा प्रेरित भनेर उनी साहित्यतर्फ आकर्षित भएका थिए । कविता/लामो/कविता/मुक्तक/गीत जस्ता विविध विधाका रचना प्रकाशित छन् । उनका उल्का भ्रामरीमा परेका गुक्तकहरू, गेरो सेतो परेवा, मेरो छोरो (लामो कविता), अपहरण भएका गीतहरू (गीत), बेला भएकै छैन (लामो कविता), खुट्टा तान्ने तपाईहरूलाई सलाम (लामो कविता), एक पाकिट जोक्स (जोक्स सङ्कलन) आदि प्रकाशित छन् । पद्य र अन्य विधाका साथै निबन्ध प्रबन्धतर्फ सिलगढीमा नेपाली नाटक मञ्जनको छियासट्ठीऔकक वर्ष, आइमाइको रिस, चारो, डरको हाउगुजी, दार्जिलिङ कमेण्ट्री आदि प्रकाशित छन् । उनका यी निबन्धमा हास्यव्यङ्ग्यको संयोजन निकै राम्ररी भएको पाइन्छ । प्रधानको कलम नाट्यविधामा पनि चलेको छ उनका– आलु खाएर पेडाको धाक (हास्यव्यङ्ग्यनाटक), काम गर्ने केटी, सिङ्साँढे, ओभानो सिउँदो, नाँगेली (नाटक) आदि प्रकाशित छन् । उनका नाटकमा पनि हास्यव्यङ्ग्यको उपस्थिति बाक्लो देखिन्छ । उनका प्रणम्य गुरूवर ! (साहित्यकार युवराज काफ्लेको जीवनी) कृति पनि प्रकाशित छ । प्रधान कुलश सम्पादक पनि हुन् । उनको सम्पादनमा भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्ध, भारतीय नेपाली एकाङ्की सञ्चयन जस्ता कृतिहरू प्रकाशित छन् । यस्तो बहुमुखी साहित्य साधनावापत प्रधानले विभिन्न मान सम्मान र पुरस्कार पनि पाएका छन् । -सम्पा. |
चिलाउनुजस्तो महारोग अरू कुनै नहोला । चिलाउनेले नभेटेका मानिस विरलाकोटि पाइएलान्। सबैलाई दिनमा एक पटक चिलाउँछै चिलाउँछ ।
कनाउँदा कनाउँदा ज्यानै जालाजस्तो भए पनि कनाउँदाको झोंकमा ज्यानको के माया? चिलाएको बेला कनाउनुजस्तो मज्जा अरू केही हुँदैन । कनाउनुको मज्जा तपाई हामीलाई के थाहा ? यसको मज्जा ता चिलाउने घाउले सतिएका भुक्तभोगीहरूलाई मात्र थाहा हुन्छ । लुतो लागेको कुकुरले कनाएको ता देख्नुभएको होला नै । चिलाउने घाउ निस्केकाहरूलाई मात्र लुतो लागेको कुकुरको कनाइको मर्म बुझ्न सक्छन् । लुतो लागेको कुकुरले बेफिक्रि र फ्री स्टाइलमा आफ्नो आङ नङ्ग्राले खोस्रन्छ (कनाउँछ)। तर चिलाउने घाउ निस्केकाहरूले कनाउनु पर्यो भने लुतो लागेको कुकुरलाई उछिन्नु मात्र होइन उनको कनाइमा अन्तरराष्ट्रिय कनाइको रमरम छाप पाइन्छ । चिलाएको र कनाएको बेलामा उसले कसैलाई देख्दैन/हेर्दैन…कनाएको छ कि कनाएको छ ।
चिलाउँदा नकनाई बस्ने व्यक्ति विरलाकोटि पाइएलान् ।चिलाउने समय हुँदैन । कुनै पनि समयमा शरीरको कुनै पनि अंशमा चिलाउन सक्छ ।यसलाई रोकेर रोक्न सकिन्न, न ता धम्क्याएर धम्काउन सकिन्छ । सभामा वक्तव्य छाँट्दै गरेको समयमा वा कलेजको क्लासमा लेक्चर दिँदै गर्दा पनि चिलाउन सक्छ, भातको माड़ तार्दै गर्दा पनि चिलाउन सक्छ । चिलाएपछि कनाउनै पर्छ ।
चिल्चिलाउनुको कुनै वर्ग हुँदैन । भीआईपीलाई पनि चिलाउँछ; भिखारीलाई पनि चिलाउँछ । मन्त्रीलाई पनि चिलाउँछ; सेण्ट्रीलाई पनि चिलाउँछ । चिलाइले कसैलाई पक्षपात गर्दैन । भीआईपीले ’उफ! क्या रफ चिलायो भनेर हुङ्कार लाउँदैनन् न’कि भिखारीले ’हे भगवान् के अमिलो चिलायो’ भनी दुःख मनाउ नै गर्छ । सबैलाई मिठाइलो चिलाउँछ । एकै स्वादले चिलाउँछ ।
चिलाइ मिठाइलो हुन्छ । र ता हामी मज्जा मानेर धितमरिञ्जेल कनाउँछौं । तितो, टर्रो वा चिराइतो जस्तो चिलाउने हुँदो हो ता सायद हामीले कनाउने थिएनौँ । मिठो चिलाइमै मज्जा छ । यसैले चिलाइ टेसिलो हुन्छ । चिलाउनु स्वाभाविक हो भने कनाउनु स्वतन्त्रता । तर कनाउनु स्वतन्त्रता हो भन्दैमा खुल्लमखुल्ला फ्रि स्टाइलमा कनाउनु ठ्याक्कै मिल्दैन।टाउको चिलाउँदा सबैको सामु निर्धक्क कनाउनु सकिन्छ ।
नाकको डाँड़ी वा नाकको टुप्पो चिलायो भने निर्धक्क सबैको सामु हाकाहाकी कनाउन सकिन्छ । तर नाकको पोरा (दुला) भित्र चिलाउँछ नाकलाई फाकालफुकुल पारेर कनाउन सकिँदैन । चिलाएपछि कनाउनै पर्यो । धेरभन्दा धेर चोर औँलो दुलामा जबरजस्ती घुसारेर कनाउन सकिन्छ । तर सुठी साह्रै चिलायो भने प्रेसर कुकरमा हाल्दा दश सिटीमा पनि नपाक्ने डोठे न डोठे बूढ़ो औंलो जबरजस्ती घुसारेर कनाउन पटक्कै सकिन्न । सबैका सामु नाकको दुलामा औँलो घुसारेर कनाउँदा अभद्रता देखिन्छ ।
कान चिलाउँदा धेरभन्दा धेर प्वाँखले बिरोल्न सकिन्छ । चोर औँलो वा कान्छी औँलो कानको दुलामा घुसारेर हल्लाई चिलाइको धित मार्न सकिन्छ । तर भित्र कता गहिरो ठाउँमा कान चिलायो भने ता उपाय नै के छ र ? फोल्डिङ कान हुँदो हो ता दुलोसहित कान प्वाक्कै निकालेर काखमा राखी चिलाएको ठाउँमा कानलाई वाक्कै लाग्ने गरी कनाउँदा हुनेथ्यो नि ! तर त्यो सम्भव छैन ।
नाकको पनि अवस्था त्यस्तै छ । अँ फोल्डिङ नाक हुँदो हो ता नाकलाई ख्वाप्पै निकालेर कतै चेप वा कुनाकाप्चातिर लगी पहिले सिगान भएको ठाउँमा रुमालले पुछपाछ पारी पाँचै वटा औँलीले ख्वारख्वारती कनाउँदा हुन्थ्यो क्यारे ! तर त्यो पनि सम्भव छैन ।
हाम्रो नाक फोल्डिङ नभएकोमा मलाई चाहिँ ढुक्क लागेको छ । कारण आज तपाई हाम्रो नाक साँच्चै फोल्डिङ नाक हुँदो हो ता हाच्छ्यूँ गर्दा कतिचोटि भूइँमा झरिसक्ने थियो वा उछिट्टिएर कसैको काखमा पुग्ने थियो। तर नेताहरूलाई भने मज्जा आउने थियो । किनभने अचेल हाम्रा नेताहरूले भाषण दिँदाहुँदी झनक्क रिसाएर पोडियम नै भत्काउँला जस्तो गरी आफ्नो मुड़्की बजार्छन् भने नाक फोल्डिङ भइदिएको भए ख्वाप्पै ख्वाप्पै आफ्नो नाक निकालेर नाकको झटारो हान्ने थिए होलान् । फोल्डिङ नाकको झटारोले भेट्नेहरू ठहरै नभए पनि नाकको सिगानले मोष्टराइजरको काम अवश्यै गर्नेथ्या े। नेता प्यारो भएपछि नेताको सिगान महाप्यारो नहुने कुरै आएन ।
त्यति मात्र होइन, घरै उचाल्ने गरी हाच्छ्यूँ गर्दा सिगानैसरिको फोल्डिङ नाक झ्यालबाट उछिट्टिएर छिमेकी बैनीको काखमा पुग्ने थियो कि विरोधीको घरको छानुमाथि पर्ने थियो। ’मेरो काख वा मेरो घरको छानामाथि तेरो सिगानैसरिको नाक फ्याँकेर तैंले पार्टीको घुर्की देखाको(?)’ भनेर छिमेकीले रड़ाको मच्चाउनेथ्यो । भएन सखाप ! नाक नाक भाकभाक र भुकभुक; पाकपाक र पुकपुक पर्नेथिए होलान् । थाना–पुलिस हुनेथ्यो ।
अचेल हाम्रो यतातिर पुलिसले बिनाबिच्चामा पक्रेर किसिम केश थोपे जस्तै फोल्डिङ नाक पुलिसले सिज गर्नु मात्र होइन किसिमको केश लाउनेथ्यो । यसको विरोधमा भोलिपल्ट नाकैनाकको जुलूस निस्किन्थे होला ।आआफ्नो पार्टीको झण्डी बोकेर नाकहरू पार्टीको घुर्की देखाउँदै नारा भट्याउँथे होला । नाक पनि एउटै किसिमको भए पा े! सुगे नाक, सुङ्गुरे नाक, बाङ्गे नाक, सिलिक्क नाक, थ्याप्चे नाक, सिङानैसरिको नाक, भुत्लैसरिको नाक, ढोढ़े नाक, लोहोरे नाक, लाटो नाक, राउडिज नाक, झगड़े नाक, पुलिस नाक, सीआईडी नाक, झिङ्गे नाक, फुर्के नाक, नेता नाक आमामामा के के नाक हो हो नि ! हिसाबै छैन । नाकैनाकको जुलुस ।
हामीलाई धेरै प्रकारले चिलाउनुथालेको छ अचेल। राजनीतिको लुतो लागेको छ हामीलार्इ । राजनीतिको चिलाइको टेस नै अर्को हुन्छ । अचेल सबै राजनीति कनाइमै व्यस्त र मस्त देखिन्छ । कस्तो टेसिलो कनाइ ।
राजनीतिको लुतोले भेटेर प्राण परिञ्जेल कनाउनेहरूको रमिता हेर्दैछु। तर कहाँ कति बेला चिलाउँछ राजनीति लुतोले भेटेकाहरूलाई केही थाहै छैन । थाहा पाउँदैनन् पनि । नन् स्टप चिलाइ । यसैले ता राजनीतिको चिलाइले गिदी खल्बलिएर राजनीतिक साँढ़ेहरू किसिम किसिम बोलेको सुनिन्छ ।
हेनतेन नभनी लाजै पचाएर भन्नु हो भने, तपाई हामीलाई लुतो लागेर जत्ति नै चिलोओस् आजीवन टट्टाउने गरी कनाउन तयार तर राजनीतिको लुतोले तपाई हामी कसैलाई पनि नचिलाओस्।