केदार न्यौपाने विशिष्ट कवि प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको जन्मभूमि गोगनेका स्मृतिमा समेटिएको एउटा कविता सम्झी नरौ गोगनेलाई समेटिएको छ । यस कविताले मातृभूमिको महत्व उजागर गरेको छ । – सम्पा. |
तिम्रो उर्वर भावना अमर भै फक्रन्छ विश्वासमा
आस्थाको शुषमा सुरम्य गतिले झल्कन्छ संसारमा
उम्रेको उपयुक्त स्वस्थ सपना भर्ने निको चाहले
लाग्दैछन् किन दुख्तछौ अब नरौ संझी सधैँ गोगने ।
मेरै स्नेह सुसारले अगिबढी बाटो समात्ने किन ?
फर्कन्नन् अझसम्म खै कति कुरौ लागे कि के बिर्सन ?
भन्ने सोच लिएर संकित भई विच्छेदका तापले
तड्पिन्छ्यौ अझ छुट्टिदैन ममता संझी नरौ गोगने ।
निर्मोही पनि हैन भो विषमता सन्त्रास चर्को डर
आयो संकट कामकाज हरिए के मा हुने निर्भर ?
भन्छन् यो अनुभूति भित्र पनि छन् आशा निराशा धुने
फर्कन्छन् दिन स्वच्छ पुष्पित नयाँ संझी नरौ गोगने ।
पाई स्वादित अन्नपात जलको आश्वादले पोषित
पुर्खाकै पलदेखि दैनिक हुने सद्भाव संयोजित
खुल्दा भौतिक चाहका नयनले पाएन आभा भने
आफैँ बल्दछ चेतनाङ्कित चुलो संझी नरौ गोगने ।
तिम्रो आसिकका लता लहरिदै फक्री सुगन्धी भए
तिम्रै इज्जत बढ्छ विश्वभरमा सन्तान सप्री रहे
राम्रो उन्नतिबाट गौरव बढोस् अग्लो चुलीमा छुने
टाढा नै पनि किर्तिले निकट होस् संझी नरौ गोगने ।
तिम्रो श्वास सुगन्धमा छ जसको माया भरोसा सब
तिम्रा अन्तरमा छ निर्मल कला विश्वास आस्था लव
टाढा हुन्न यथार्थमा हृदयको संचार जागा भए
जोडिन्छन् अनुकूल भै चहकमा बत्ती नरौ गोगने ।
गर्छ्यौ स्नेह सधैँ सबैप्रति यहाँ बैषम्य देखिन्छ के ?
तिम्रो भाव विशाल बन्छ धरती आकासको स्वास्थ्यले
टाढा भैकन गर्छ जो दिन दिनै सत्कर्म सद्वृत्तिले
सोही हुन्छ सदा सदा तिमीसँगै सम्झी नरौ गोगने ।
आस्था आदर बिर्सिदैन सुकिलो संकल्पले प्लावित
शंकाले बरु शुष्क पार्छ ममता भित्रै घुसी दुष्कृत
जे जस्तो परिवेशबाट पहिले निस्केर टाढा हुने
भोग्दैछन् निजी कर्मको फल सबै सम्झी नरौ गोगने ।