कुनै जादुगरले
कागजका पानाहरूलाई
चपाई चपाई स्वाट्ट निलेर
ह्वालह्वाल्ती पानी निकालेझैं
किन चटक हेर्न
विवश छन्
स्वयम्भूका आँखाहरू ?
घरी कर्ममौरीहरूलाई
डकैतीले झैं घेर्न खोज्छ
घरी आफैंलाई
जिउँदै जलाएको सपना देख्छ
र आफ्नै मलामीको जुलुसलाई
घन्टौं कर्कश सम्बोधन गर्छ !
यो कस्तो संक्रमण हो
जसले, लालीगुराँसको सुगन्धमा बाँचिरहेको
डाँफे चरीको श्वासथैलीलाई
चलमलाउन दिँदैन
प्राणवायु प्रवाह हुने
कोषिकापत्रलाई नै
कुनै समय नेपालको मानचित्रबाट
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई
अलप गराइएझैं
क्षणभरमै अलप गराइदिनसक्छ
रक्तनलीभित्रको हेमोग्लोबिन तŒवलाई
चैतमासको खहरेझैं सुकाइदिएर
आनन्द लिन चाहन्छ
अशान्ति र पृथकतावादका सूत्रधारहरूलाई
रानीमहलका जोडीले झैं
असीम प्रेमको आलिंगन सुम्पन छोड्दैन !
यतिबेला म
आधुनिक धन्वन्तरी भएर
समृद्धिको धरहरालाई सम्झिएर
एउटा त्यस्तो मेसिन बनाउँदैछु
जसले तुरुन्तै पत्ता लगाउने छ–
यो भयानक भाइरसका कारण र असरहरू
प्रिय बुद्धभूमिविरुद्धका
घातक कुण्ठा
र तुच्छ स्वार्थका बीजहरू…
सुन !
त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
जसले पहिलो मात्रामै
परास्त गर्नेछ–
सगरमाथा हाँस्दा रमाउन नसक्ने
विकृत स्नायुग्रन्थीका तमाम संक्रमणहरू !
(नेपाल प्रज्ञा-प्रतिष्ठानको ६४औं वार्षिकोत्सवका अवसरमा आयोजित भर्चुअल राष्ट्रिय कविता महोत्सव २०७८ मा तृतीय भएको कविता । यस कविताका सर्जक नुवाकोटका प्रकाश सिलवाल हुन् ।)