लेखप्रसाद निरौला (२०२८, श्रावण ०१, सुपुत्रः यशोदादेवी र नीलमणि निरौला, मत्स्यपोखरी ४, सङ्खुवासभा) नेपाली सिर्जना र समीक्षाका क्षेत्रमा परिचित प्रतिभा हुन् । उनले माधव घिमिरेका खण्डकाव्यक कृतिमा विद्यावारिधि (पिएचडी., नेपाली, २०६४) गरेका छन् । उनी नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुन् । उनको पहिलो रचना सावधान शीर्षकको कविता २०५३ सालको प्रलेस पत्रिकामा प्रकाशन भएको थियो । उनका घाँटी हेरी हाड निल्नु ? (निबन्धसङ्ग्रह) मालती (खण्डकाव्य), राष्ट्रकवि घिमिरेको खण्डकाव्यकारिता (समालोचना), माधव घिमिरेका खण्डकाव्यमा अलङ्कार (समालोचना), दृष्टिकोण (समालोचना), दृष्टिविम्ब (समालोचना), आरोहण (महाकाव्य ः संयुक्तलेखन), नेपाली साहित्यमा नेपाली साहित्यप्रचार समिति सिलगढीको योगदान (समालोचना) भूमिकामामानसाग्नि (सम्पादन) जस्ता कृतिहरूप्रकाशित छन् । उनले कक्षाएकदेखि स्नातकसम्मका विभिन्न तहका डेढ दर्जन पाठ्यसामग्री एवम् सन्दर्भ पुस्तक एकल तथा संयुक्त रूपमा लेखन/सम्पादन गरेका छन् । उनका विभिन्न लेख, समीक्षा, भूमिका, कविता र निबन्ध र हाइकुहरू पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । उनले ःप्रवासनअन्तर्राष्ट्रिय जर्नल, साहित्यवर्ष पुस्तक, शोध जर्नल, कुञ्जिनी, महोत्तरीबोध, मर्यादा, गन्तव्य आदि ग्रन्थ र पत्रपत्रिकाहरुको सम्पादन गरेका छन् । उनी समकालीन साहित्य प्रतिष्ठान बेलायत, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान, दायित्ववाङ्मय प्रतिष्ठान, महोत्तरी साहित्य परिषद्, जलेश्वर, महोत्तरी, साहित्य संवद्र्धन केन्द्र, नेपाल जस्ता विविध सङ्घ संस्थासँग आबद्ध छन् । उनले साहित्य सेवावापत वैजयन्ती स्रष्टा सम्मान, श्री दोभान पुस्तकालय चितवनद्वारा सम्मान, रेडिएन्ट इन्फोटेक नेपालद्वारा सम्मान, मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा प्रशंसापत्र, सैन्यध्वज नन्दकुमारी विद्वत्वृत्ति पुरस्कार, नेपाल विद्याभूषण क, पं.छविलाल बालमायापोखरले पुरस्कार (२०४९) र (२०५०), प्रा.मुकुन्दनाथ भट्टराई निबन्ध पुरस्कार, प्रतिभा पुरस्कार, दिल्लीस्तरीय अन्तर महाविद्यालयल श्लोकान्त्याक्षरी प्रतियोगितामा प्रथम जस्ता अनेक सम्मान पदक र पुरस्कार पाएका छन् । साहित्य सागरको प्रस्तुत अङ्कमा निरौलाको ‘जसले दिए दिए र दिइ नै रहे’ शीर्षकको घिमिरे माथि लेखिएको व्यक्तिपरक निबन्ध समेटिएको छ । यस निबन्धमा घिमिरेका प्रमुख आयाम र जीवन संघर्षलाई वस्तुपरक र भावनापरक ढङ्गले प्रस्तुत गरिएको छ ।
—सम्पा.
|
बहुआयामिक व्यक्तित्त्वका पर्यायवाचीहुन्– राष्ट्रकवि माधव घिमिरे (१९७६–२०७७) । सङ्घर्षशील जीवनयात्राका सफल दृष्टान्त पनि हुन् । यही २०७७ आश्विन७ गते १०२ वर्षमा प्रवेश हुँदै थिए । तर, अचानक आएको भाद्र २ गतेको दुःखद समाचारबाट सबै स्तब्ध हुन पुग्यौँ । हरेक सहृदयी मानव मनमा एकाएक शोकको लहर फैलियो । भावुकता, मौनता, भावपूर्ण श्रद्धाञ्जली र समवेदना… !
दौपदीदेवी र गौरीशङ्करका पहिलो सन्तान– घिमिरे । आफू तीन वर्षको हुँदा नहुँदै मातृवियोगमा छटपटिएका बालक । आर्थिक अभावको प्रभावबाट मुस्कान छर्न नसकेको जसको बाल्यकाल । बुबाको पिठ्युँमा बुइ चढ्दै घरगोठ गर्नुपरेको विगत । पुस्तुनदेखि जगराको गोठसम्म सीमित रहेको बाल्यकालीन सङ्घर्ष । मानौँ अभाव र सङ्घर्षका बिच नेपाली प्राकृतिक माटोमा मौलाउँदै गएका पीपल ।
घरमा भित्रिएकी सौतेनी आमा । आफ्नै आमाको जस्तो न्यानो काख कहाँ होला र ! तैपनि हजुरआमाको वात्सल्यले जसलाई स्पर्श गरिरह्यो । धारापानी र कुवापानीका चौतारीहरूले आश्रय दिइरह्यो । उमेरसँगै पढ्नुपर्ने र सङ्घर्ष गर्नुपर्ने मन्त्रलाई जसले कहिल्यै भुलेनन् । प्रतिकूल परिवेशलाई अनुकूल बनाउन कहिल्यै चुकेनन् । चण्डी होस् किरुद्री, गीता होस् किभास्वती आखिर पढ्नु थियो जसले पढे, पढिरहे । बिहे नहुन्जेलसम्म यस्तै ग्रन्थहरू पढिरहे ।
चौधपन्ध्र वर्षे उमेर र वैवाहिक जीवन । पढाइ र गृहस्थी धर्मको समन्वय । चुनौतीहरूका चाङैचाङ । अहँ, हिम्मत हारेनन् जसले । बरु ससुरालीको भरथेग र आत्मविश्वासको अटल स्तम्भले साथ दिइरह्यो । न त कठिन सङ्घर्षमा पछि हटे । बरु लघुकौमुदी, रघुवंश, हितोपदेश, गोरखाशिक्षा दोस्रो जस्ता किताबहरू साथमै रहे ।
लमजुङपछि काठमाडौँको बसाइ । अध्ययनको खोजी र रानीपोखरी संस्कृत पाठशालाको अध्ययन । गुरु, गुरुकुलीयशिक्षा र उपयुक्त परिवेश । मानौँ मरुभूमिमा वर्षा । मानौँ सङ्घर्षशील चेतना बल्ल मौलाउन थाल्यो । बहुआयामिक व्यक्तित्त्व फस्टाउन थाल्यो । पठनपाठनको प्रक्रियासँगै लेखन र वाचनको क्रम थपिन थाल्यो । अध्ययनको सफलताले उज्यालो छर्दै लग्यो । काठमाडौँ वरपरको परिवेशले साथ दियो । त्यतिखेरको शास्त्री (स्नातक) सम्मको अध्ययन । किन कसले कम आँक्ला र !
लेकबेँसी होस् कि गाउँसहर । समस्या हुन् कि समाधान । हरेक अवस्थामा सङ्घर्ष र सफलताको मार्ग पहिल्याउने क्षमता । साँच्चिकै प्रशंसनीय र अनुकरणीय । सायदउपदेश मञ्जरी, रामायण, विरक्त पुष्पाञ्जली, वसन्तकोकिल आदि तत्काल उपलब्ध काव्यकृतिहरूको प्रभाव होला । उनले पढे, सिके र मनन मात्र हैन अभ्यास पनि गरिरहे । कालिदास, रवीन्द्रनाथ टैगोर, लेखनाथ र लक्ष्मीप्रसादको काव्यसरणीलाई नियालिरहे । स्वयंले पनि कविता लेखे, काव्य लेखे र लेखिरहे ।
घिमिरेले बाह्र वर्षदेखि लेख्न थाले । सोह्रदेखि प्रकाशनगर्न थाले । र, लेखन तथाप्रकाशनको शृङ्खलालाई कहिल्यै टुटाएनन् । जीवनयात्राका अनेकौँ आँधीहुरीमा समेत झन् झन् बलिया हुँदै गए । शोकलाई शक्तिमा परिवर्तन गरे । निजी शोकलाई साधारणीकरण गरे । आखिरमा यति गरिमामय सिर्जना दिए किजसलाई कसैले चाहेर पनि भुल्न सक्दैन ।
सधैँ अभावै–अभाव र सङ्घर्षै–सङ्घर्ष । जसको ऊर्वर समय अभावलाई सहकालमा र सङ्घर्षलाई सफलतामा परिणत गर्नकै लागिबितिरह्यो । जसले आफ्नो अभावबिर्सिएर नेपाली साहित्यको अभावलाई परिपूर्ति गरिरहे । भाव र शिल्पको उच्चतम सन्तुलन र समन्वय । बालसाहित्यको मानकीकरण र गीतिनाटकको अभिनय । अनुवादर सम्पादनको प्राथमिता र प्रश्रय । मानौँ घिमिरेको जीवनसङ्घर्षले नेपाली साहित्यको अभावलाई सहकालमा परिणत गरिरह्यो ।
जतिजति घिमिरेमाआर्थिक अभाव हट्दै गयो,त्यतित्यति नेपाली साहित्यको पनि अभाव हट्दै गयो । जतिजति उनको जीवन–सङ्घर्षले चरम पीडाबोध गर्दै गयो, त्यतित्यति नेपाली साहित्यले आफ्नो पीडालाई भुल्याउँदै गयो । घिमिरे पग्लिँदा नेपाली साहित्य ठोस हुन थाल्यो । घिमिरे जोसिँदा नेपाली साहित्य चम्किन थाल्यो । मानौँ घिमिरे र नेपाली साहित्यको जीवनगाथा बादल र समुद्रजस्तै एकअर्कालाई भर्ने र भरिने वस्तुझैँ बनिरहे ।
न त गौरीको संस्मरणलाई नेपाली साहित्यले भुल्न सक्छ । न त मालतीमङ्गले र शकुन्तलाको प्रभावलाई कसैले अभिनय र अनुभूतिबाट हटाउन सक्छ । न त राजेश्वरी, इन्द्रकुमारी र पापिनीआमाको नारीत्त्व र मातृत्त्वलाई अस्वीकार गर्न सक्छ । न त चैत्रवैशाखको प्रीति, राष्ट्रनिर्माताको राष्ट्रियता र अश्वत्थामाको स्वाभिमान कसैबाट हट्न सक्छ । देउकी होस् किहिमालपारि हिमालवारि, धर्तीमाताहोस् किबालकुमारी , घामपानी होस् किकिन्नर किन्नरी, चारुचर्चा होस् किसुनपङ्खी चरी । अहँ कसैले भुल्नै सक्दैन । अझ घिमिरेको सङ्घर्ष र सफलतामा पाइने अनुकरणीय र उदाहरणीय पक्षलाई त कसैले पनि कहिल्यै भुल्न चाहेर पनि भुल्ने छैन ।
सङ्घर्ष, साधना, आशावादिता र दीर्घ जीवशैलीका उच्चतम उदाहरण हुन्– माधव घिमिरे । जसले दिए, दिए र दिइ नै रहे । नेपाली साहित्यलाई उपहार, सर्जकलाई प्रेरणा, साधनारतलाई साधना उर्जा, निराशावादितालाई आशावादिता… आदिआदि । कसैलाई केही बाँकी राखेनन् । कसैलाई केही लुकाएनन् ।
मलाई पनि यस्ता धेरै कुराहरू दिए र खासगरी मेरो ज्ञान र उपाधिलाई अतुलनीय उपहारहरू दिए । उनी जहाँ भए पनि म सम्झिरहन्छु । मुहारमा, अनुहारमा, व्यवहारमा र सिर्जनाका हरेक हरफ हरफहरूमा । मेरा परम श्रद्धेय राष्ट्रकवि ! अमर विभूति !
(dr.lekh@nsu.edu.np)