मणि नेपाली पनेरु साहित्यसेवी व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । उनी साहित्यसागरका अध्यक्ष एवम् प्रधान सम्पादक हुन् । यहाँ उनको सारभूत परिचयसहित ‘मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव’ शीर्षकको रचना समेटिएको छ । यस रचनाले आत्मपरक ढंगमै पनि देवकोटालाई चिनाउने काम गरेको छ । मूलतः देवकोटाको पहाडी पुकार काव्यकृतिको चर्चा र प्रभावमा केन्द्रित यो निबन्ध अभिप्रेरक पनि लाग्छ ।
-सम्पा.
मेरा लागि महाकवि देवकोटा महाकवि मात्र होइनन् बरु महामानव हुन्, जसलाई म अझै पनि देवतासरह मान्दछु । मेरो भौतिक आँखाले नदेखे पनि, उनको बोली नसुने पनि उनको प्रभाव मेरो जीवनमा यति रह्यो कि हालसम्म उनको व्यक्तित्व र जीवन सन्देशले मेरो जीवनको हरेक मोडहरूमा मार्ग दर्शन गर्ने गरेको छ । मेरा पूज्य गुरु डा. जयराज आचार्यमार्फत मेरो देवकोटाका सुपुत्र डा. पद्मप्रसाद देवकोटासँग परिचय भएको थियो । त्यसपछि डा. आचार्य र देवकोटा पद्म दाइसँग धेरै पटक भेट्ने सौभाग्य पाएको थिएँ । म पद्म दाइको डिल्ली बजारस्थित घरमा कैयौँ पटक पुगेको छु, खाना खाएको छु, दुःख सुखका बात गरेको छु ।
म बाल्यकालदेखि नै महाकवि देवकोटाबाट गहिरोसँग प्रभावित भएको थिएँ । मलाई दिने मान्छे मन पथ्र्यो, कारण मेरो स्वर्गीय पिता गङ्गाधर पनेरु पनि दिने मान्छे हुनुहुन्थ्यो । मैले सुनेअनुसार मेरो बुबाले दिँदा दिँदा सबै सम्पत्ति नास गर्यो भनेर मेरी हजुरआमा कराइरहनु हुन्थ्यो । त्यस्तै दिने मान्छे महाकवि देवकोटा हुनुहुन्थ्यो । तलब बुझेर घर फर्कँदा सबैलाई दिँदा दिँदै रित्तै फर्कने देवकोटा, आफूले लाएको कोटसमेत फुकालेर दिने देवकोटा महाभारतको कर्णभन्दा काम छैनन् । त्यसैले त उनीले लेखेका छन् :
खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ?
आफू मिटाई अरूलाई दिनु जहाँँ छ ।
यो व्यवहारिक रूपमा उदाहरणीय अंश अवश्य होइन ।
मेरो पनि आफूलाई सिध्याएर दिनुपर्छ भन्ने विचार होइन बरु भरिएर पोखिनु पर्छ तब हामी दिन सक्षम हुन्छौँ भन्ने लाग्छ । यसो लागे पनि मेरो किशोर अवस्थाको दुनियाँ अर्कै थियो । मेरो जीवनमा विभिन्न व्यक्तिहरूले प्रभाव पारेका थिए । त्यो बेला म नास्तिक थिएँ र मानवता नै धर्म हो भन्ने लाग्थ्यो । म सानैदेखि कविता लेख्ने, चित्र कोर्ने र अभिनय गर्ने गर्थेँ । सो बेला मैले एउटा चित्र बनाएको सम्झना छ, जसलाई मैले मानवेश्वर नाम दिएको थिएँ । चित्र ३ शिर भएको भगवान्को थियो । त्यसमा यशु ख्रिष्ट, बुद्ध र देवकोटा थिए । यी तिनै जना दिने व्यक्तित्त्वहरू थिए, येशु ख्रिष्टले आफ्नो प्राण दिए, बुद्धले आफ्नो सुख सयल राजपाट सबै दिए अनि देवकोटाले आफूलाई रित्याइ नै रहे ।
मैले आफूलाई धेरै भाग्यमानी ठान्छु । कारण मैले महाकविको गीतिसङ्ग्रह पहाडी पुकारको प्रकाशन गर्ने मौका पाएको थिएँ । त्यो २०३४, २०३५ तिरको कुरा हुनु पर्छ जब नेपालमा निरङ्कुश पञ्चायत व्यवस्था ढालेर लोकतन्त्रको स्थापना गर्ने प्रयासहरू भइरहेका थिए । म आदणीय दाजु प्रोफेसर पद्मप्रसाद देवकोटासँग आभारी छु जसले मलाई पाण्डुलिपि दिनुभयो र छाप्ने अनुमति दिनुभयो ।
मैले सुनेअनुसार सो पुस्तिका विचार उत्तेजक र सन्देशमूलक भएकाले यसको २००७ सालतिर भारतमा व्यापक वितरण भएको जसले पढ्नेहरूलाई राणा शासन विरुद्ध जागरण गरेको थियो । मेरो स्वामित्वमा रहेको रश्मी प्रकाशनले प्रकाशित गरेको सो पुस्तिका नेपालमा सायद पहिलो पटक छापिएको होला । मदन पुरस्कार गुठीको अभिलेखअनुसार सो प्रचारात्मक गीति पुस्तिका जन प्रकाशनालयले २००५ मा छापेको हो । भनिन्छ, सो पुस्तिकाले २००७ सालको आन्दोलनमा जनजागरणमा बल पुर्याएको थियो । २०३५, २०३६ मा मेरो प्रकाशनबाट प्रकाशित संस्करणले पनि केही न केही जागरण ल्यायो होला भन्ने आशा गरेको छु । त्यस बेला प्रकाशन गरेर व्यापक रूपमा निशुल्क वितरण गरेका थियौँ । दुर्भाग्यवस त्यसको कपी हाल मसँग छैन । केही पदहरू मात्र सम्झन्छु :
नेपाली भाइ नेपाली बहिनी, सबैको गुहार छ
अँधेरी आज यी हाम्री आमा देशको मुहार छ
के छ र हाम्रो ठीक बन्दोबस्त, सब कुरा गडबड छ
बलियालाई पैसा नै लुट्ने, सधैँको हडबड छ
न अन्न हामीलाई न वस्त्र हामीलाई, पेट फुट्छ ठूलाको,
ठूलाका कुकुर दूध भात खान्छन्, हामी जौ धुलाको
भेडा र बाख्रा सरिका हामी हक आफ्नो देख्दैनौ
भेडा त बिक्छ रुपैयाँ पाँचमा, हामी चाहिँ बिक्दैनौ
त्यो रातो ईँटले बनेको घरमा मलाई देवकोटाको सानिध्यताको अनुभव हुन्थ्यो । सङग्रहालय बनाउने चर्चा चलेको थियो । त्यो घरको हालत अहिले कस्तो होला मलाई थाह छैन । पद्म दाइसँग नभेटेको वर्षौँ भईसकेको छ । जेहोस् सो घर नेपाल मात्र होइन, विश्वभरका साहित्यकारको लागि पनि दर्शनीय हुन सक्छ । जसरी कि बेलायतमा अवस्थित विलियम शेक्सपियरको घर । यी दन्त्य कथाका नायकझैँ लाग्ने यी महापुरुष अन्य देशमा भएका भए नोबेल पुरस्कार र थुप्रै पुरस्कार पाउन सफल हुन्थे । हामी नेपाली उनीप्रति आभारी छौं भने उनको महानतालाई नेपाली भाषा संस्कृति र चौतर्फी विकासको उर्जाको रूपमा प्रयोग गर्न अपरिहार्य छ । उनको नाममा एक सुन्दर, शान्त विशाल स्मारक बन्न जरुरी छ, एक अन्तरराष्ट्रिय स्तरको अध्ययन प्रतिष्ठान बन्न जरूरी छ । देवकोटाका समग्र पक्षलाई समेट्ने एक सङ्ग्रहालय बन्न जरुरी छ । एक दिन मान्छेहरूलाई विश्वास हुन गार्हो हुनेछ कि देवकोटा जस्ता महान् आत्मा नेपालको माटोमा हिँड्ने गर्थे । लक्ष्मी जयन्तीको पावन अवसरमा महाकविलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।