दीननाथ शर्मा (२०१३ श्रावण ४ शुक्रबार, अमलाचौर छ बाग्लुङ, सुपुत्रः यशोदा उपाध्याय र शशिधर उपाध्याय) नेपाली राजनीति र साहित्यका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका साहित्यक र राजनीतिक विषयका विविध कृतिहरू प्रकाशित छन् । उनका सशस्त्र संघर्षबारे विश्व सर्वहारा दृष्टिकोण (२०५६), संसदीय चुनाव बहिष्कार र उपयोगको प्रश्न (२०५६), युद्धविराम शान्तिवार्ता र अग्रगामी निकाससम्बन्धी विवादबारे (२०६०), युद्ध र वार्ताबीचको द्वन्द्वात्मक सम्बन्ध (२०६३), क्रान्तिकारी विद्रोहका आधारहरू (२०६३) जस्ता राजनीतिक कृतिहरू प्रकाशित छन् । उनका जीवनयात्रा र जीवन (२०६६), अक्षरको खेती (२०७०), कुलुङ्गाकी आमा (२०६३) जस्ता निबन्धसङ्ग्रह प्रकाशित छन् । उनका तरङ्ग (२०७०), र समयका छालहरू (२०७६) जस्ता कवितासङ्ग्रहहरू प्रकाशित छन् । उनले केही कृति, प्रवृत्ति र व्यक्तित्वका विषयमा समीक्षा पनि गरेका छन् । वर्तमान राष्ट्रियसभाका संसदीय दलका नेता शर्माको साहित्यसागरको प्रस्तुत शृङ्खलामा देवकोटाविषयक ‘श्रद्धाञ्जलीको एक थुँगा सयपत्री’ शीर्षकको निबन्ध समेटिएको छ । यस रचनाले आत्मपरक शैलीमै रहेर पनि देवकोटाको जीवनी र कृतित्व र महान व्यक्तित्वलाई उजागर गरेको छ ।
-सम्पा.
सयपत्री र गोदावरीको मौसम त्यसै रमाइलो छ । घाँसिलो मैदानमा शीतको थोपा मोतीझैँ टल्किन्छ पहिलो किरणमा र नील गगनमा पङ्ख फिँजाएर रमेका छन् चरीहरू । फाँटहरूमा पहेँलपुर सुन फलेको छ । हरिया पहाडहरू मुस्कुराएका छन् । सुकिला हिमालका टाकुरामा हिउँ थपिन थालेको छ । यो चाडबाडको मौसम सबैका अनुहारमा खुसियाली छाएको छ ।
बत्तीको झिलिमिली र आँगनमा देउसी–भैलो छ । लक्ष्मीपूजा गरिसकेपछि विक्रम संवत् १९६६ कात्तिक २७ साँझ ९:५४ बजे अमरराज्यलक्ष्मीदेवीको कोखबाट नेपाली साहित्यकाशमा एक चहकिलो नक्षत्रको उदय हुन्छ । लक्ष्मीको प्रसाद भनेर स्वागत गरे परिवारले ।
प्रतिभाका प्रसुन फक्रिन थाल्छन् शरदको आगमनसँगै । सिर्जनाका बहुरङ्गी फूलहरूले ढकमक्क यसै मौसम बाली थन्काउने बेला हो किसानको । समृद्धि र शुभलाभको याम । धन–कुवेरको भण्डारमा लक्ष्मी प्रवेश गर्दै गरेको साँझ नेपाली साहित्यको भण्डार भर्न सरस्वती पुत्र लक्ष्मीप्रसाद देवकोटाले धरतीमा पाइला टेके । प्रतिमाको कोसेली बोकेर सृष्टिको रचनाकारले पठाएको हुनुपर्छ सिर्जनाको फूलबारी सजाउन । नेपाली साहित्यको स्वर्णयुग सुरु हुन्छ उनको अगमनसँगै । युग अँध्यारो थियो । निरङ्कुशताको सिक्रीले बाँधिएका थिए नेपाली हातगोडाहरू । शिक्षाको उज्यालो प्रकाश छिर्न दिइएको थिएन देशभित्र । तिर्मिरताको प्रताडनाबाट पीडित थिए झोपडीहरू । चेतनाको दियो जल्न बाँकी थियो पाखापखेरातिर । अँध्यारो रातको चहकिलो नक्षत्र बनेर आएको थियो एउटा बालक । छोटो जीवनकालमा चेतनाको मसाल बाल्यो र इतिहास रचेर गयो । संयोग वा आकस्मिक नियमितता जे भए पनि मेरो विद्यालयका प्रधानाध्यापक २०१६ भदौको अन्तिम साता काठमाडौँ पुगेका थिए । देवकोटाको असामयिक निधनको खबरले उनी पनि दुःखी भएछन् । अन्तिम श्रद्धाञ्जली दिन आर्यघाट पुगेको कुरा फर्केर आएपछि हामी कक्षा ५ का विद्यार्थीलाई सविस्तार वर्णन गरे । १३ वर्षको मैले उतिबेलै देवकोटालाई मनमन्दिरमा सजाएको थिएँ । उतिबेलाको गुरुवचन मेरो मनमा गढ्यो । कहिले बिर्सन सकिनँ ।
मेरो मनको देवकोटा । मेरो आस्थाको धरोहर । मेरो मनमा गडेका देवकोटाप्रति मेरो उच्च सम्मान छ । त्यसो त नेपाली साहित्याकाशका सबै नक्षत्रहरूप्रति उत्तिकै सम्मान छ तर पनि किन–किन मेरो मनको सिंहासनमा सधैँ देवकोटा बसेको पाउँछु । मेरो गुरुले कलिलो दिमागमा देवकोटाको स्वच्छ छवि रोपिदिएर होला म देवकोटासित उति बेलादेखि नै परिचित छु ।
केही समयपछि विद्यालयको पुस्तकालयमा देवकोटाको जीवनी पुग्यो । पुस्तक मोटै थियो । लेखकको नाम भुलेँ । तर, त्यो पुस्तक गहिरो गरी पढेँ । पढ्दापढ्दै कति ठाउँमा भावुक बनेर रोइदिएको भुलेको छैन । एक दिन नेपाली पढाउने समयमा गुरुले लक्ष्मी निबन्धसङ्ग्रह बोकेर आउनुभयो । हाई ! हाई !! अङ्ग्रेजी भन्ने निबन्ध रोचक ढङ्गले वाचन गरेर सुनाउनुभयो । त्यस्तै, अरू एक/दुई निबन्ध पनि वाचन भयो । मैले उतिबेलादेखि नै देवकोटा खोज्न थालेँ । देवकोटा पढ्न थालेँ । लक्ष्मी निबन्धसङ्ग्रहले गहिरो प्रभाव पा¥यो । मुनामदनले सानैमा धेरैपटक रुवायो । पछि देवकोटालाई आद्योपान्त पढेँ । केही सिक्न खोजँे अलिकति बुझेँ ।
सफल स्रष्टाले वर्तमानको मात्रै गीत गाउँदैन । भविष्यको बाटो देखाउँछ । देवकोटा स्वप्नदर्शी थिए । सपना देख्न सिकाए गुरु बनेर । बिन्दास बनेर झोक्राए सुदूरक्षितिजलाई नियाल्दै । विस्फारित नयन निकै परसम्म सोझिरहन्थ्यो । समयको विरुद्ध उभिएर विद्रोह गर्न सिकाए । कैयौँ बारबन्देज र सीमा भत्काइदिए परम्पराका । सिङ जुधाउन पछाडि परेनन् मै हँ भन्नेहरूसित ।
कल्पनाको उडानमात्रै होइन वस्तुगत धरातलमा उभिएका थिए देवकोटाका भावनाहरू । सुदूरभविष्यसम्म देख्न सक्थे उनले । श्रमको सम्मान गर्थे । विवेकका पारखी थिए । उडानको अन्तरआत्माबाट उनका भावना यसरी प्रस्फुटन भएका थिए :
के हो ठूलो जगत्मा ? पसिना विवेक
उद्देश्य के ? लिनु उडी छुनू चन्द्र एक ।
उनी एक आरोही थिए र सधैँ उचाइ चुम्न चाहन्थे । सगरमाथाको चुचुरो चुमिसकेपछि पनि उनको मन साँखुम भएन । अनि मनको भाव यसरी पोखे :
पृथ्वीको यो विजय सकिँदा, एक सिँढी उचाली
आत्मालाई मनुजहरूको चन्द्र ताक्ने प्रणाली
होला अर्को सुरु जगत्मा काल कोल्टो लिएर
नेपालीकै विजयी भरमा विश्व उठ्ने छ हेर ।
उनको यो अग्रचेतना उनको मृत्युपश्चात् लगत्तै यथार्थमा अनुवाद भयो ।
देवकोटा पढ्दाको मजा अलग्गै हुन्छ । देवकोटाको साहित्यमा सत्य, न्याय र यथार्थ छ । समाजको यथार्थ चित्र कोर्न रसिक पारखी प्रतिभाले मात्रै सक्छ । यान्त्रिकता र औपचारिकता कतै भेटिएन देवकोटाको सिर्जनामा । रचना कालजयी छन् । वर्तमान बोल्छ । आँत उधिनेर उजागर गर्न सक्ने चातुरी प्रतिभा देवकोटामा भेटिन्छ । चम्पा उपन्यास पढिसकेपछि उन्ताका चम्पाले बेहोरेको बुहारीको बुहार्तन अहिले पनि मध्यम वर्गीय परिवारमा जीवितै देखेँ ।
देवकोटाको काव्यभित्र छिर्दा विषयवस्तु, मर्म, भाव, प्रस्तुति र शैलीले मलाई पगालिदिन्छ । शाकुन्तलभित्र छिरेपछि काव्यकलाको सरिताभित्र छालमा तैरिएको पत्तै हुँदैन । शब्द चयन र संयोजनको वैशिष्ठता अद्भुत लाग्छ । देवकोटाको लेखनी सलिल सरिताभित्र कञ्चन भाव तरङ्गिणी बनेर कल्पनाकाशमा पौडी खेलेकी हुन्छिन् । स्वस्थ कल्पनाका सर्जक हुन् देवकोटा । बेलगाम दौडिन्छ देवकोटाको लेखनी । तीन महिनामा शकुन्तला महाकाव्य लेखेँ भन्दा नाक खुम्चाउने कविहरूलाई दस दिनमै सुलोचना हातमा थमाएर आफ्नो पहिचान बनाएका थिए । ‘अस्वस्थ कल्पनाले मानिस पागल हुन्छ स्वस्थ कल्पनाले बन्छ कवि’ भन्न पछि पर्दैनन् । पागल कवितामा आफैँ पागल बनिदिन्छन् । पागल बन्न सोख छ स्वस्थ काल्पनिक संसारमा ।