वार्ताकार विनोद अधिकारी युवा पुस्ताका नवोदित लेखक हुन् । उनले सिर्जना, समीक्षा, अन्तर्वार्ता जस्ता विविध क्षेत्रमा कलम चलाइरहेका छन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनले शिक्षासेवी एवम् सङ्गीतसेवी लास्मित राईसँग कुराकानी गरेर तयार परिएको निवार्ता प्रस्तुत गरिएको छ । विनोदको फोटो पुरानोमा छ-सम्पा. |
वार्तानायक
लास्मित राई शिक्षा एवम् सङ्गीत क्षेत्रमा समर्पित प्रतिभा हुन् । उनी भारतको दार्जिलिङ क्षेत्रअन्तर्गत रङ्गोनमा भएको हो । बुबा काचिन लेप्चा र आमा मधु लिम्बूकी सुपुत्री लास्मित विवाहपश्चात आफूलाई लास्मित लेप्चा राई नामबाट चिनाउँदै आएकी छन् । उनका दुई गीति एल्बम प्रकाशन हुनका साथै दर्जनौँ लोक, आधुनिक र चलचित्रका गीतहरू रेकर्ड भएका छन् । किन तिमी र नआऊ सपनाभरि उनका प्रकाशित एल्बम हुन् । उनको गायनमा गाइएका चलचित्रहरू बलिदान, परदेशी कान्छा, गाउँले, रगत, नाम के हो, लेखान्त आदि हुन् । मेरो माया लै बरि लै लै फूलझैँ चम्केकी , सुनकोशीको सुनको पानी, सँगसँगै बाँच्न पाऊँ सँगसँगै मर्न पाऊँ, डुल्न मन लाग्छ मायालु, मेला राम्रो वैशाखे पन्ध्रमा, मेरो माया आठै तुना बाँध चौबन्दीमा, मायालुको मुहारै हँसिलो जस्ता गीतहरू नेपाल र भारतका नेपाली वस्तीमा गुनगुनाइएका गीत हुन् । यहाँ राईसँग विनोद अधिकारीले वार्ता गरी तयार पारिएको सामग्रीलाई निवार्ताका रूपमा प्रस्तुत गरिएको छ । -सम्पा. |
कक्षा आठमा पढ्दै गर्दा “यी आँशुहरू तिम्रा प्रीतका इनामहरू हुन्” बोलको गीत रेडियो खर्साङमा रेकर्ड गरेपछि आफ्नो औपचारिक साङ्गीतिक यात्रा आरम्भ गरेकी कलाकार लास्मित लेप्चा(राई) नेपाली साङ्गीतिक क्षेत्रमा सुपरिचित कला साधक हुन् । उनको जन्म भारतको दार्जिलिङ क्षेत्रअन्तर्गत रङ्गोमा भएको हो । बुबा काचिन लेप्चा तथा आमा मधु लिम्बूकी सुपुत्री लास्मित विवाहपश्चात आफूलाई लास्मित लेप्चा राई नामबाट चिनाउँदिै आएकी छन् ।
आफ्नो विद्यालयीय अध्ययन रङ्गोमै पुरा गरी आफ्नो मामाघर सिक्किम आएपछि कलेज पढ्ने, जागिर खाने र साङ्गीतसाधनाको कामलाई एकसाथ अगाडि बढाइन् । त्यहाँ रहँदा शान्ति ठटालसँग सङ्गीत सिक्ने अवसर प्राप्त गरिन् । सानै उमेरदेखि मिहिनेती र सङ्घर्षशील जीवन बिताउँदै आएकी लास्मितको विवाह शिक्षासेवी बिमल राईसँग भएको हो । विवाहपछि नेपालको काठमाडौँ आएर बसोबास गर्न थालेपछि उनको साङ्गीतिक यात्रा क्रमश : अगाडि बढेको देखिन्छ ।
हालसम्म सयभन्दा धेरै गीतहरूमा आवाज भरिसकेकी लास्मितका गीतहरू नेपालबाहिर अल इन्डिया रेडियो, गान्तोक रेडियो तथा रेडियो खर्साङमा पनि बज्ने गर्दछन् । उनी आफ्नो साङ्गीतिक यात्राबारे बताउँछिन् : वि. सं २०४८ मा किन तिमी शीर्षकको पहिलो एकल एल्बम घण्टाघरमा रहेको सिम्फोनी रेकर्डिङ स्टुडियोबाट निकालेकी थिएँ । त्यस बेला नेपाली सङ्गीत अहिलेझैँ समृद्ध थिएन । ” अर्को गीत कतिको विक्री हुन्थ्यो भन्ने जिज्ञासामा उनी भन्छिन् : “गीत सार्वजनिक गर्न धेरै खर्च हुन्थ्यो भने गीतबाट आम्दानी एकदम थोरै । त्यसैले मैले संगीत क्षेत्रमा पनि धेरै सङ्घर्ष गरेकी छु” ।
यसपछि उनको दोस्रो एल्बम नआऊ सपनाभरि मुद्रण भयो । जसमा उनको एकल स्वरका ११ ओटा गीतहरू रहेका छन् । नेपाल आएपछि गुरुदेव कामतसँग दुई वर्ष सङ्गीत प्रशिक्षण लिएकी राईले पछि गोपाल योञ्जन, दिव्य खालिङ, रत्नबहादुर खड्गी आदिसँग पनि सङ्गीत सिकेकी उनीसँग सङ्गीतसम्बन्धी पनि गहन अध्ययन रहेको छ । उनका समकालीन कलाकारहरूमा राजेशपायल राई, लोचन भट्टराई, रिमा गुरुङ, पवित्रा सुब्बा, सपनाश्री, शर्मिला बर्देवा, सुनिता सब्बा आदि हुन् ।
आफूले मिहिनेत गरेर काम गर्दा त्यसलाई श्रोताहरूले अत्यन्त मन पराइदिने र अझ काम गर्ने प्रेरणा प्राप्त हुने उनको धारणा रहेको छ ।
उनी मधुकर लोहोनी, गुलाम अली र तारादेवीको गलालाई अत्यन्त मन पराउँछिन् र भन्छिन्, “उहाँहरूको स्वरमा एकप्रकारको झङ्कार पाउँछु । रेकर्डिङ गरिएको स्वरभन्दा वास्तविक स्वरमा अझ मिठास म पाउँछु ।”
लास्मित सङ्गीत क्षेत्रका असल र सफल व्यक्तित्वहरूलाई प्रेरणाको स्रोत बनाएर आफू काम गर्छिन् । यसैले उनले नेपाली गीत सङ्गीतका क्षेत्रमा जति गीतहरू रेकर्ड गरिन् ती एक से एक चर्चित रहेका छन् । गीत लेखन, गायन र सङ्गीत रचना उनको रुचिका क्षेत्रहरू हुन् ।
लास्मितले आधा दर्जनभन्दा बढी नेपाली चलचित्रका गीतमा आफ्नो आवाज दिइसकेकी छन् । उनका बलिदान, परदेशी कान्छा, गाउँले, रगत, नाम के हो, लेखान्तजस्ता सुपरहिट नेपाली चलचित्रका चर्चित गीतमा सुमधुर स्वर पस्केर आफूलाई सफल कलाकारका रूपमा स्थापित गराएकी छन् । राईले पूर्वेली लोक भाका, नेपाली सुगम सङ्गीत र बालरचना गायनमा पनि स्वर भरेकी छन् । कवि तथा गीतकार मञ्जुल, राष्ट्रकवि माधव प्रसाद घिमिरे, राजेन्द्र थापा, श्रवण मुकारुङ, दिनेश अधिकारी, भावेस भुमरी आदि बरिष्ठ गीतकारहरूका शब्दमा आवाज दिएर उनले नेपाली सङ्गीत क्षेत्रमा राम्रो पहिचान बनाएकी छन् । सङ्गीतकारहरूमा दिव्य खालिङ, न्यु बज्राचार्य, सचिन सिंह, र बुलु मुकारुङ, पारस मुकारुङ आदिसँग उनले काम गरेकी छन् ।
पचासको दशकमा नेपाली आधुनिक तथा चलचित्रका गीतहरूमा उत्कृष्ट स्वर दिएकी छन् । त्यो बेला अहिले जस्तो युट्युब च्यानलहरू नहुने र क्यासेट एल्बमको बिक्रीबाट मात्र आम्दानी हुने हुनाले गीत सङ्गीतबाट अहिलेझैँ राम्रो आम्दानी गर्न मुस्किल रहेको उनको बुझाइ छ । काठमाडौँको सङ्घर्षपूर्ण पारिवारिक जीवनलाई अघि बढाउन निकै चुनौती सहनुपरेको र सङ्गीत क्षेत्रबाट मात्र आफूलाई प्रतिष्पर्धाको बजारमा निरन्तरता दिन अनि व्यावहारिक जीवन चलाउन आर्थिक रूपले कठिनाइ भएपछि साथै आफ्नै स्वास्थ्य बिगँ्रदै गएपछि गायक राईले गीत सङ्गीतको क्षेत्रलाई थाँती राखिन् । उनले श्रीमानले जस्तै प्राध्यापन पेसा अँगालिन् । एकै व्यक्तिले साहित्य र सङ्गीतलाई सँगै अगाडि बढाउन अनुकूल वातावरण चाहिने र आफूले त्यस्तो वातावरण तयार गर्न नसकेको प्रति उनको गुनासो रहेको छ ।
राई विगत लामो समयदेखि ललितपुरको कुमारीपाटीस्थित युनाइटेड एकेडेमीमा सिनियर प्रोफेसरका रूपमा नेपाली विषयको अध्यापन गर्दै आएकी छन् । कलाकार राई अहिले पनि फुर्सदको समयमा गीत गुनगुनाइ रहन्छिन् । नेपाली भाषा र साहित्यका क्षेत्रमा पनि कलाकार राईको योगदान अमूल्य रहेको छ । स्वास्थ्यले साथ दिए आगामी समयमा आफ्नै युट्युब च्यानल सञ्चालन गरी त्यसैबाट आफ्ना पुराना गीतहरू सार्वजनिक गर्ने र केही नयाँ सांगीतिक प्रोजेक्ट पनि अगाडि बढाउने योजना रहेको कलाकार राईले बताइन् ।
मेरो माया लै बरि लै लै फूलझैँ चम्केकी , सुनकोशीको सुनको पानी, सँगसँगै बाँच्न पाऊँ सँगसँगै मर्न पाऊँ, डुल्न मन लाग्छ मायालु, मेला राम्रो वैशाखे पन्ध्रमा, मेरो माया आठै तुना बाँध चौबन्दीमा, मायालुको मुहारै हँसिलोजस्ता तत्कालीन समयका चर्चित गीतमा उनले मधुर स्वर पस्केकी छन् । कलाकारहरूप्रति राज्यले उचित सम्मान दिन नसकेपछि उनी र उनकै पुस्ताका कयौँ कलाकारहरू विदेसिनु परेको र कलाकारिता क्षेत्रबाट विमुख बन्नु परेको तीतो अनुभव राईको छ ।
जेहोस् साहित्य, संगीत र कलाप्रतिको गहन अनुरागकै कारण उनी आज पनि भाषा साहित्य र कलाको महत्व आगामी पुस्तालाई बुझाउनुपर्ने धारणा राख्छिन् । उनी र उनीजस्ता अब्बल कलाकारहरूप्रति राज्यले उचित सम्मान दिन सके नेपाली कला, साहित्य र संगीतको भविष्य अझ माथि उठ्ने छ । आफ्नो भोको पेटकै लागि कलाकारहरू विदेसिनुपर्ने र अन्य पेसामा समर्पित बन्नु पर्ने बाध्यताको अन्त्य हुने कुरामा पनि दुईमत नरहला ।
नेपाली संगीतमा सुनौलो भविष्य देखेर यस क्षेत्रमा लागेकी राईले हालसम्म जेजस्तो सङ्घर्ष गर्नु परे पनि उनको आगामी भविष्य उज्जल बनोस् हाम्रो पनि यही कामना ।