वासुदेव त्रिपाठी (१९९९, चैत्र १३, तनहूँ, सुपुत्रः प्रेमदत्त त्रिपाठी र गोमादेवी त्रिपाठी) नेपाली साहित्यमा महासमालोचकका रूपमा परिचित विशिष्ट व्यक्तित्त्व हुन् । उनका सर्जक, प्राध्यापक, समीक्षक, समाजसेवी, भाषावाड्मयसेवी, शिक्षासेवी, अनुवादक, सम्पादक, प्राज्ञ आदि अनेक व्यक्तित्त्व स्थापित छन् । ती बहुमुखी व्यक्तित्त्वमध्ये नेपाली साहित्य परम्परामा उनका सर्जक (कवि) र समीक्षक व्यक्तित्त्व समानान्तर उचाइमा मुस्कुराइरहेका छन् । नेपाली साहित्यिक जगत्ले भने उनको समीक्षक व्यक्तित्त्वलाई बढी मनपराएको छ । उनका नेपाली कविताको सिंहावलोकन (२०२७), विचरण (२०२८), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा (२०३० भाग एक र दुई), साहित्यकार पहलमान सिंह स्वारको पुनर्मूल्याङ्कन (२०३३), लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन (२०३४), साहित्यकार झपटबहादुर राणाको जीवनीको एक झलक (२०४५), नेपाली कविता (२०४६, भाग १, २ र ४ को सम्पादन एवम् अधिक समालोचनात्मक अंशको लेखन), नेपाली साहित्य शृङ्खला (भाग र १ र २ को विशद समीक्षात्मक लेखन, सम्पादन) हिन्दू राष्ट्र नेपालको सनातन सान्दर्भिकता (२०६५), साहित्य सिद्धान्त : शोध तथा सृजन विधि (२०६६) जस्ता समीक्षात्मक ग्रन्थका अतिरिक्त सयौं लेखहरू पत्रपत्रिकामा यत्रतत्र छरिएर रहेका छन् । त्रिपाठीको समीक्षा लेखन विश्वसाहित्यमा देखा परेका सैद्धान्तिक, प्रायोगिक र कृतिपरक समीक्षाका साँध सीमानामा र स्वतन्त्र समालोचना, पाठ्यपुस्तक, भूमिका, सम्पादकीय आदि फरक फरक बान्कीमा छरिएर रहेका छन् । ती सामग्रीहरू सङ्कलन गर्न सके अलग अलग विधा विषय र व्यक्तिपरक अनेक समालोचना ग्रन्थका रूपमा सङ्कलन र प्रकाशन हुन सक्ने देखिन्छन् । नेपाली समीक्षा परम्परामा देखा परेका सामग्रीको विषय क्षेत्र मोटामोटी रूपमा भूमिकागत, सम्पादनपरक, स्रष्टापरक, कृतिपरक, विधापरक, इतिहासपरक, सिद्धान्तपरक, समीक्षा पद्धतिपरक, शोधपरक, आदि विशेषतामा समेट्न सकिन्छ । यी परम्पराका सबै क्षेत्रलाई छोएर पनि निरन्तर आफ्नै विचारको परिमार्जन, नवनव समीक्षापद्धति, प्रविधि र शैलीको प्रवर्तनमा त्रिपाठीको योगदान उल्लेख्य रहेको छ । उनले एकै विषय केन्द्रको सूक्ष्मतम रेखाङ्कन, अवलोकन र व्याख्या विश्लेषणबाट आफ्नो समीक्षा यात्रालाई परिपक्व चरणमा आरोहण गरिरहेको देखिन्छ । निरन्तर नेपाली समीक्षालाई विधा, विषय, सिद्धान्त र शैलीबाट विशिष्ट गति प्रदान गर्ने त्रिपाठी वास्तवमै नेपाली समालोचनचा परम्पराका महासमालोचक हुन् । उनीसँग संवाद गर्न सकिने क्षेत्र र विषयहरू व्यापक छन् । वार्ताकारले यसपूर्व उनीसँग विविध विषयमा संवाद गर्दै पनि आएको छ । साहित्य सागरको प्रस्तुत शृङ्खलामा त्रिपाठीसँग जीवनी व्यक्तित्त्व र सिर्जनाका पाटालाई छोडेर समीक्षा केन्द्रित जिज्ञासा राखिएको अन्तर्वार्ता प्रस्तुत छ ।
-सम्पा.
|
रमेश शुभेच्छु नेपाली साहित्यको समीक्षा, सिर्जना र साहित्यिक पत्रकारिताका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनका समीक्षाहरू निकै गहन हुन्छन् । उनले अन्तर्वार्ता लिँदा गहन अध्ययनपछि गम्भीर प्रश्न गर्ने गरेको पाइन्छ । उनको परिचय साहित्य सागरको माधव घिमिरे विशेषाङ्क शृङ्खलामा समेटिएको छ । यहाँ उनको वासुदेव त्रिपाठीसँग लिएको निकै गहन अन्तर्वार्ता समेटिएको छ ।
शुभेच्छुले डा. वासुदेव त्रिपाठीसँग विविध विषयमा वार्ता गरेका छन् । यस वार्तालाई त्रिपाठीसँग भएका वार्ताकारका पूर्ववार्ताहरूका पक्षलाई नदोहोर्याउने गरी मूलतः इतिहास कोश र समीक्षाका खास खास पाटामा केन्द्रित गरिएको छ । यस वपार्ताका बाँकी अंशलाई क्रमश पछिल्ला अङ्कमा समेट्तै जाने योजना रहेको छ ।
-सम्पा.
|
नमस्कार । बस्नुहोस् । तपाईँ आउनुहुन्छ भन्ने सम्झिइराथेँ । आउनुभएछ (हाँस्तै) ल बसौँ ।
हुन्छ ।
हुन्छ । कुरा गरौँ ।
यो यस्तो, यसलाई विभिन्न शीर्षकमा काम गरिराखेको छु । एउटा फायलमा वर्णक्रमबाट लेखकलाई राखेको छु र अर्को पृष्ठभूमि कालदेखि क्रमशः प्राथमिक, माध्यमिक, आधुनिक काल र ती कालका धारा प्रवृत्तिअनुरूपका उपखण्डमा बाँड्दै व्यवस्थित गरिरहेको छु । त्यहाँ पृष्ठभूमिगत इतिहास पनि समेटिएकै हुन्छ र अर्को पक्षमा प्रमुख ग्रन्थहरूको समीक्षा पनि छ ।
म लागिरहेकै छु । सूचनाहरू थपिरहेकै छु र पूर्ण इतिहास बनाऊँ भन्दा ढिला भएको हो । त्यो अब निस्कन सक्यो भने त्यो नै मेरो प्रमुख काम हुने हो । हेरौँ कहिलेसम्म सकिन्छ । गरि नै रहेको छु ।
यहाँले भनेको ठिकै हो । मैले ४०–४५ ओटा लेखिसकेका ग्रन्थ प्रकाशनका उद्देश्यले पोको पारेर राखेको छु । त्यो कसले छाप्ने हो थाहा छैन । सिंहावलोकन र विचरणमा छुटेदेखिका धेरै सामग्री छन् । वास्तवमा भन्दा अब केमा लाग्ने धेरै काम छ । सिगो स्रष्टामा केन्द्रित भएर भानुभक्त, देवकोटा, लेखनाथको पिएच.डीपछिका सामग्री, संस्कृत साहित्यको पुनव्र्याख्या पनि लेखिसकेको दशक वितिसक्यो । पाश्चात्य नव साहित्य सिद्धान्त भाग तिनको धेरै जसो तयार छ र पाश्चात्य सभ्यता र साहित्यको इतिहास पनि तयार छ । खोइ कसले छाप्ला ?
हो मेरो ध्यान त्यता गएको थियो । मैले प्राज्ञिक समीक्षा गरेर मात्रै पुग्दैन मैले समालोचनाको अर्को प्रयोग विद्यालय र महाविद्यालयका पाठमा पनि गर्नुपर्छ भन्ने लागेको थियो । त्यो प्रयोगच साहित्य शृखलाका दुई भागमा गर्ने प्रयास गरेको थिएँ । तपाइँले भनेका साहित्य शृङ्खलाका दुई खण्डमा माध्यामिक र उच्च माध्यमिक तहका लागि आवश्यक पठ्यसामग्रीका रूपमा साहित्यको प्रयोगका लागि समीक्षालाई माध्यम बनाउने प्रयास भएको छ । फ्रेञ्च भाषाको पठनपाठनमा पनि त्यो रूप छ । त्यसका अन्य भाग बढाउन सकिनँ । अब खोई के सकूँला र ?
त्यतिबेला व्याकरणमा मैले केही गर्न खोजेको थिएँ । मेरो मौलिक व्याकरण अझै बाहिर ल्याउन सकेको छैन । धेरै छ अधुरो त्यस्तो । कतिपय सामग्री टिपोटमै सीमित छन् । लेखिएका सामग्री पनि बाहिर आइसकेका छैनन् । …
म आफैँले मेरा समालोचनाका विकासबारे अझै केलाएको छैन । अरूहरूले नै २०,४०, ५०, १०० वर्षपछि आवश्यक परे केलाउलान् । मोटामोटीमा मलाई आफ्नै अनुभवका आधारमा लागे अनुसार २०२०–२८ का बीच मैले समालोचनात्मक प्रवृत्ति र त्यसका भाषाशैलीको खोज प्रयोग निकै नै गर्न खोजेको हुँ भन्ने लाग्छ । २०२९ सालपछि विस्तारै म शोध समालोचनातर्फ पनि उन्मुख रहेँ र त्यो अवधि २०३४ सालसम्म जान्छ । २०३५ सालदेखि आजसम्म धेरैप्रकारका समालोचनात्मक प्रयोग र भाषाशैलीका समालोचनात्मक नवपथहरूको निरन्तर खोज र प्रयोग मैले गर्दै आएको छु र त्यसलाई शूक्ष्म रूपमा छुट्याउने काम भावी पुस्ताहरूले आवश्यक भए गर्लान् । तपाईँहरूले गर्नुहोला ।
मेरो समालोचना यात्रामा पहिलो चरणमा शैलीमा दृष्टिले काव्यात्मक र निबन्धात्मक आन्तरिक स्पर्श पनि छ र मुख्यतः विश्लेषणात्मक र निर्णयात्मक समालोचना–प्रवृत्तिका खोज र प्रयोग मैले गरेको छु भन्ने लाग्छ । दोस्रो चरणका मेरा समालोचनामा थप रूपमा शोध अनुसन्धानमूलक प्रवृत्तिको वुद्धि र तार्किक गद्यशैलीको विशेष विकास हुन आएको छ । विस्तारित सरल वाक्य र अनेक ढाँचाका संयुक्त र मिश्रवाक्यको प्रयोग गरी शूक्ष्म–सघन समालोचनाको तार्किक र निर्णयात्मक आन्तरिक शक्ति प्रदान गर्ने गद्य शैलीलाई २०३४ सालभन्दा पछि अँगाल्दै जाने प्रयास मैले गरेको छु । त्यसमा समालोचनाको विश्लेषण र मूल्यनिर्णयका क्रममा अभिव्यक्तिको सुस्पष्टता र संप्रेषणीयताको अक्षुष्णतालाई कायम राख्ने पनि मेरो प्रयास रहेको छ ।
नेपाली समालोचना खासगरी विगत तीन चार पाँचै भनौँ दशकका बीच विशेष रूपमा विकसित भइरहेको छ । यसबीच अनेक वाद र प्रणाली अनि दृष्टिकोणलाई आधार बनाएर समालोचना लेखन पद्धति विकसित भइरहेको छ । खासगरी विश्वविद्यालयबाट प्रशिक्षित पीएच.डी. र स्नातकोत्तर अध्ययन गरिसकेका विद्धान्बाट यो कार्य बढी मात्रामा भइरहेको छ । विगत दुई दशकमा यो क्रम क्रमशः विकसित भइरहेको छ । लेखकपरक र कृतिपरक समालोचनाका शोध ग्रन्थहरूबाहेक प्रवृत्तिपरक पनि आइरहेका छन् । विद्यावारिधि र स्नातकोत्तर शोध ग्रन्थमा पनि धेरै कुरा आएका छन् तर धेरै कुरा गर्न बाँकी छ ।
अझै पनि नेपाली समालोचनामा डाङडुङे प्रवृत्तिको अवशेष रहेकै छ । केही उज्वलता थपिए पनि केही अँध्यारा विषाक्त पक्ष अझै बाँकी छन् । छाडा, अनुत्तरदायी र पूर्वाग्रही प्रवृत्तिका केही अवशेष पनि बाँकी छन् । समालोचनालाई इवी साँध्ने हतियार वा चाकडी गर्ने औजारका रूपमा प्रयोग गर्ने अनि गुटबन्दीपूर्ण घात प्रतिघातको साधन बनाउने प्रवृत्तिका अवशेषसमेत अझै कहीँ कतै नरहेका होइनन् तर यस्ता छाडा, अनुत्तरदायी, अशिष्ट र अभद्र समालोचनाको खास स्थायी प्रभाव र दीर्घकालीन मूल्यका साथै उपयोगिता रहँदैन र हुन सक्दैन ।
नेपाली समालोचना परम्परामा केही नेपालीका र अङ्ग्रेजीका विद्वान्हरु पनि जिम्मेवार भएर काम गरिरहेका छन् । यहाँले नै एउटा कुनै सन्दर्भमा नेपाली समालोचना हरायो भने राजेन्द्र सुवेदीलाई खोज्नु भनेको पनि सम्झन्छु । वास्तवमा अहिलेको समीक्षा– समालोचनाको अवस्था कस्तो छ ? सन्तोष मान्ने ठाउँ नै नभएको त होइन होला ?
नयाँनयाँ पुस्ताका विद्वान् समालोचकहरूले समालोचकको स्वस्थ र सही बाटो समात्दै अगि बढ्दै गरेकोमा भने सन्तोष मान्न सकिन्छ । विभिन्न युग, धारा र प्रवृत्तिका साहित्यिक कृतिको व्यापक शूक्ष्म र सुरूचिपूर्ण अध्ययनका साथै ती कृतिप्रतिको गहिरो संवेदनशीलता र ग्रहणशीलताबाटै समालोचना प्रक्रियाको उठान हुन्छ । साहित्यिक कृतिहरूका मूल्य र गुणस्तरको सही तथा निर्भान्त पहिचान र निरूपण गर्न सक्ने प्रतिभा पारख र अचुक दक्षता समालोचकमा हुनुपर्छ । कृति वा कृतिकाप्रतिका आफ्ना वस्तुगत विश्लेषण र पारखपूर्ण मूल्य निर्णयलाई जिम्मेवारीपूर्वक व्यक्त गर्ने शिष्ट, शालीन र परिपक्व अभिव्यक्ति क्षमताले नै समालोचकलाई विश्वसनीयता प्रदान गर्दछ । स्थापित मान्यताबाट साहित्यिक सौन्दर्यप्रतिको परिपक्व ग्रहणशीलता र कृतिका बैशिष्ट्य वा शक्तिसीमाको सन्तुलित विवेचना गर्न सक्ने विश्लेषणात्मक र मूल्याङ्कनात्मक अचुक क्षमताबाटै उत्कृष्ट र उत्तरदायी समालोचक देखा पर्न सक्छ । यो अवस्था कति देखिन्छ । त्यो घाम जतिकै छर्लङ्ग छ ।
सापेक्ष रूपमा हेर्दा विगत साढे चार दशकका बीचमा नेपाली समालोचना निकै परिपक्व उत्तरदायी प्रामाणिक र परिमार्जित पनि हुँदैछ र उल्लेखनीय उपलब्धिहरू ग्रन्थ, शोधकार्य र फुटकर समालोचनाका क्रममा पक्कै देखापरेका छन् । यो सन्तोषको विषय हो भने अर्कातर्फ अझैपनि भानुभक्त आचार्यका कृतिकै पनि सघन र सर्वाङ्गीण समालोचना हुन बाँकी छ भने त्यसपछिको नेपाली साहित्यका अनेक युग, विधा, प्रतिभा र कृतिहरूको सघन र पूर्णाङ्क अध्ययनको क्षेत्रमा प्रशस्त काम हुन बाँकी नै छ । नेपाली साहित्यका नवनव पुस्तालाई हेर्दा तिनलाई समेट्न सक्ने गरी नेपाली समालोचना मौलाउन बाँकी छ ।
यहाँले समारोहहरूमा समीक्षाका विषयमा विश्वसनीय प्रमाणिक र उत्तरदायी समीक्षा भन्ने गर्नुहुन्छ । यसतर्फ वर्तमान समीक्षा परम्पराक कसरी अगाडि बढ्दैछ ? मरिमाणात्मक र गुणात्मक दुवै दृष्टिबाट म जिज्ञासु रहेँ ।
विश्वसनीय र प्रामाणिक, र उत्तरदायी प्रकृतिको र चिरस्थायी मूल्यको समालोचनाका लागि व्यापक साधना आवश्यक हुन्छ । समालोचकको र शोधको प्रवर्धन गर्ने संस्था र संस्कारको अझै कमी नै छ । यस कार्यमा मेरा पूर्वज, समकालीन र परवर्ती समालोचकहरूले पनि निकै महत्त्वपूर्ण कार्य गरिरहेका छन् । मैलेभन्दा धेरै धेरै महत्त्वपूर्ण कार्यहरू नेपाली साहित्यको सिर्जनाको गतिभन्दा समालोचनाको गति एवम् यात्रा परिमाणत्मक र गुणात्मक रूपमा केही पछि नै छ ।
विश्वसाहित्यले प्राचीन नवीन र पूर्वी पश्चिमी विभिन्न देश र भाषाका अनेक युगका साहित्यलाई समेट्छ । त्यसमध्येका प्राचीन वा नवीन विभिन्न भाषाका प्राचीन वा नवीन उत्कृष्ट कृतिका दाँजोमा राखेर हेर्दा नेपाली साहित्य पनि उति कमजोर छैन । खासगरी लेखनाथ, सोमनाथ, सम, देवकोटा, मैनाली, विश्वेश्वर, भिक्षु, गोठालेदेखि लिएर रिमाल, विजय मल्ल, शंकर लामिछाने, इन्द्रबहादुर राई, मोहन कोइराला, भूपि शेरचन, रमेश शविकल, धु्रवचन्द्र गौतम आदिदेखि वर्तमानसम्मका कैयौँ लेखकका कतिपय कृतिहरूले विश्वसाहित्यको मानस्तरलाई छुन खोजेका छन् वा छोएका छन् । यी र अरू कतिपय लेखकका केही कृतिहरू विश्वस्तरका पनि छन् तर संस्कृत, फारसी, ग्रिक, ल्याटिन जस्ता पुराना साहित्यको परिमाणात्मक एवम् गुणात्मक उच्चता नेपाली साहित्यले भेट्यो भन्नु मिथ्या ठहर्छ । तापनि कतिपय नेपाली रचना उत्कृष्ट नै छन् । आधुनिक अङ्ग्रेजी, फ्रान्सेली, स्पेनी, रूसी तथा हाम्रै छिमेकका हिन्दी, बङ्गला, जापानी उर्दूको समष्टि स्तर नेपाली साहित्यले परिमाणात्मक र गुणात्मक रूपमा भेट्यो भन्नु मिथ्या नै हुन्छ तर कतिपय नेपाली लेखकका कतिपय कृति भने आधुनिक विश्वसाहित्य स्तरका नजिक वा हाराहारीमा आइसकेका छन् । म यो पक्षलाई चासोपूर्वक हेरिरहेको छु ।
हाम्रामा उत्कृष्ट कृतिको उत्कृष्ट अनुवादका लागि संस्थागत परम्परा बलिायो बन्न सकेको छैन । उत्कृष्ट नेपाली कृतिहरूको प्रमुख अन्तर्राष्ट्रिय भाषाहरूमा अनुवाद भएपछि नै अन्तर्राष्ट्रिय स्रतमा मूल्याङ्कन हुन सक्छ भने विश्वसाहित्यका उत्कृष्ट लेखक र कृतिको पर्याप्त अनुवाद नेपाली भाषामा भएमा मात्र बढी आधिकारिक रूपमा तुलनात्मक निर्णय लिन सकिन्छ । आफ्ना स्रष्टा र साधकलाई माया स्नेह एवम् सम्मान दिने संसार आफ्नो ठाउँमा छ तर कसैको पनि सम्मान उन्नति र प्रगतिको इष्र्या, द्वेष गर्ने घुसघुसे वा वाचाल व्यक्तिहरूको पनि यहाँ कमी छैन र खुट्टा तान्ने प्रवृत्ति पनि हामीकहाँ केही मात्रामा छ । लेखकलाई उपयुक्त र न्यायोचित सम्मान दिन नचाहने अहङ्कारी मनोविज्ञान भएका व्यक्ति पनि समाजमा नभएका होइनन् । आफैमा त यस्तो प्रवृत्ति छ भने विश्वसाहित्यमञ्चसम्म हाम्रा महान् लेखकका महत्त्वपूर्ण कृतिलाई लैजान सक्ने नेपाली अनुवादकहरू र आयोजक संस्थाहरूको पनि अझै कमी नै छ । यो कमीको पूर्तिले हामीलाई विश्वसाहितयमा पुग्न र हाम्रो सिर्जनमूल्य जाँच्न सघाउँछ ।
मैले नयाँ अनुवादहरू सबै पढ्न भ्याएको छैन । (एकै छिन रोकिएर) विश्वका उत्कृष्ट साहित्यकारका उत्कृष्ट रचना हाम्रो भाषामा अनुवाद गर्न हामीले सकेका छैनौँ भने हाम्रो साहित्यलाई अन्यत्र लैजाने साधना कसले गरिदिने । कसेले प्रयास गर्यो भने पनि आफ्नै कृतिको प्रचाराकाङ्क्षा यहाँ बढ्ता छ ।
२०२३ सालदेखि प्रकाशित भएका आफ्ना सृजनात्मक कृति र समालोचनात्मक कृतिसँग म प्रायः सन्तुष्ट नै छु तर मैले ताकेको प्राप्तिशिखरसम्म मेरा सृजना र समालोचना पुगिसके भन्ने पूर्ण सन्तुष्टि पनि मैले लिएको छैन । मैले २०२३–२४ देखिका विगत तीन दशकमा जे जति नेपाली भाषा र साहित्यलाई दिन सकेँ वा सकिन त्यसको सन्तुलित लेखाजोखा मेरा आजका र भोलिका पाठकहरूले क्रमशः गर्दै जाने कुरा हो भन्ने म ठान्दछु । मैले समालोचनाका क्षेत्रमा जे जति सकेको दिँदै आएको छु र त्यसका असङ्ख्य गुणग्राही पाठकहरू (र केही इष्र्यालुहरू) छन् भन्ने कुरा मलाई राम्रै थाहा छ । म यी सबैप्रति निस्पृह रहँदै आफ्ना साधनामा निर्विकार लाग्ने गर्दछु ।
सधैँसधैँ समालोचना र सृजनामा महत्त्वपूर्ण अरू नयाँ कृतिहरू दिनसकूँ भन्ने ध्येयले नै म साधनारत रहेको छु र अथक प्रयासका साथै अनेक महत्त्वपूर्ण खोज र प्रयोगको क्रमलाई निरन्तर रूपमा गतिशील तुल्याउँदै आएको छु । मेरा समालोचनात्मक भाषाशैलीका अन्तर्विकासका अनेक चरणहरू छन् र अद्यावधि पनि म त्यसको प्रभावकारिताका निम्ति प्रयोगरत र परीक्षणरत रहँदै नवनव सम्भावनाको खोजमा छु ।
मेरो समालोचनाकार्यका क्रममा मैले जुध्नु परेका र समाधान गर्दै आएका समस्याहरूमध्ये नेपाली समालोचनालाई अगि बढाउन अत्यावश्यक नवनव पारिभाषिक शब्दको उद्भावना र स्थापना एक महत्त्वपूर्ण पक्ष हो भन्ने लाग्छ । पाश्चात्य समालोचना लेखनका क्रममा पनि मैले अपेक्षित नेपाली पारिभाषिक शब्दावलीका प्रचुर निर्माण गरेरै ती गहनतम पाश्चात्य सिद्धान्त र चिन्तनलाई नेपालीमा व्यक्त गर्ने सक्दो प्रयास गरेको छु । मेरो टोयनबी र इकेदाबीचको सम्वादग्रन्थ जीवन रोज्नुहोस् को अनुवाद गर्दा पनि पर्याप्त सृजनात्मक शब्द निर्माणको सङ्घर्ष गर्नु पर्यो । पारिभाषिक शब्दका दृष्टिले कठिन नै भए पनि नेपाली भाषामा पनि यस्तो गहन वैचारिक ग्रन्थ (२०५३ सम्म आइपुग्दा) अनुवाद हुन सक्दो रहेछ भन्ने कुराले केही सन्तोष लागेको सम्झन्छु । अरू सबै काम बाहिर आइसकेकै छनन् ।
सघन र शूक्ष्म समालोचनात्मक अभिव्यक्तिका लागि अपेक्षित हुने नेपाली वाक्य गठनको ढाँचाको प्राप्तिका निम्ति मेरो समालोचनायात्रामा मैले गद्यशैलीलाई परिमार्जित र प्रभावकारी तुल्याउने प्रयास गर्दै आएको छु । मेरो समालोचनाको त्यो पाठक बौद्धिक स्तर भएको सहृदय नेपाली पाठक हो र म तिनै पाठकका निम्ति समालोचना लेख्ने गर्दछु । मैले लेखनक्रममा गाली गलोजको र विष वमनको भाषा कहिल्यै पनि प्रयोग गरिन । मेरो समालोचना कृतिमा प्रतिपादित विचारहरूको शूक्ष्म क्रम र तार्किक पद्धतिमार्फत् गम्भीर र प्रवुद्ध पाठकलाई यात्रापथ दिने प्रयास मैले गरेको छु । मेरो समालोचना पढ्नुभन्दा अगाडि त्यस कृतिका बारेमा आधारभूत जानकारी पाठकसँग हुनुपर्छ र त्यो हुने गर्दछ भन्ने विश्वासमा म मेरा समालोचनाकृति लेख्दछु ।
नयाँ प्रतिभाले नयाँ सम्भावना दिन्छन् । नयाँनयाँ हलचल साहित्यमा भइराख्छ । नाम दिएर वा नदिएर दुवै ढङ्गले साहित्यिक आन्दोलन भएका छन्, साहित्यिक वाद चलेका छन् । लेखनाथ, सम, देवकोटा आदिले नाम नदिइकनै नव साहित्यिक आन्दोलन गरे । तेस्रो आयाम, तरलतावाद आदि घोषित आन्दोलन हुन् । त्यसपछिका कतिपय आन्दोलन घोषित रूपमै अगाडि बढिरहेका छन् । हरेक विशिष्ट प्रतिभाले नयाँ पन दिएका छन् । त्यसैले नयाँ काम हुन्छ भने घोषित रूपमा भन्नु र नभन्नुबीच धेरै फरक छैन । घोषणा र खास सृजनबीच तालमेल हुन्छ नै भन्न पनि सकिदैन । त्यस युगमा सबैको सृजनकार्य त्यस्तै हुनुपर्छ भन्न पनि गाह्रो छ । आन्दोलन सामूहिक हुन्छ लेखन व्यक्तिगत, त्यसैले घोषित सूत्र लेखकहरूका बीच बाझ्न पनि सक्छ । आन्दोलन भन्ने र नभन्ने दुवै थरीले साहित्यपथलाई नवीन मोड दिन्छन् भने त्यो स्वागतयोग्य कुरा हो । मूल कुरा चाहिँ सिर्जनासूत्र वा सिर्जना नै हो ।
नेपाली समीक्षा–समालोचनाको भाषाको केही बनिसकेको छ र केही अझै निर्माणाधीन छ । खास गरी मोतीराम भट्टदेखि सूर्यविक्रम ज्ञवालीका युगसम्ममा नेपाली समालोचनाले क्रमशः एक प्रारम्भिक डोरेटो कोर्यो । सूक्ष्म दृष्टिले हेर्दा रामकृष्ण शर्माले नेपाली समालोचनाको निम्ति एक त्यस्तो तार्किक र शिष्ट शैली क्रमशः विकसित गरे जसमा विश्लेषणका शूक्ष्मता र मूल्याङ्कनको गहिराइ अट्नु सम्भव हुन पुग्यो । सूर्यविक्रम ज्ञवालीको साहित्यिक पारख र गुण दर्शनप्रधान समालोचनाका पूरकका रूपमा तार्किक र खरो दोषदर्शनप्रधान समालोचनालाई हुर्काउने क्रममा नेपाली समालोचनाको भाषा–शैलीलाई रामकृष्ण शर्माले नव आयाम दिए । समालोचनाशैलीको खोजमा रामकृष्ण शर्मा, बाबुराम आचार्य, रत्वध्वज जोशी, हृदयचन्द्रसिंह प्रधान, डा. ईश्वर बराल, बालचन्द्र शर्मा, कृष्णचन्द्रसिंह प्रधान, बालकृष्ण पारेखरेल, तानासर्मा, इन्द्रबहादुर राई आदि अनेक अग्रजका प्रयास र तिनका शक्ति र सीमा दुवैबाट पनि मैले आफ्ना ढङ्गले केही सिकेको छु । नेपाली समालोचनाले २०२० को दशक लाग्दा–नलाग्दै विश्वलेषणात्मक गहिराइ र वस्तुगत मूल्याङ्कनका खोजका क्रममा समालोचनात्मक भाषाशैलीका क्षेत्रमा अरू केही थप अभिलक्षण हुनुपर्ने अनुभव भयो ।
पारिभाषिक शब्द र वाक्यगठनका ढाँचाका साथै सघन अभिव्यक्तिका क्रममा वस्तुता, विचार, विश्लेषण, तर्क र मूल्यनिर्णयका गम्भीर स्थापनालाई वहन गर्ने सक्षम भाषाशैलीका खोजका क्रममा अन्य समकालीन समालोचकहरूले झँै मैले पनि प्रयास गरेँ ।
मेरो समालोचनात्मक भाषाशैली खास गरी ईशाको उन्नाइसौँ शताब्दी र बीसौँ शताब्दीको पूर्वार्धका अङ्ग्रेजी समालोचनाबाट बढी प्रेरित थियो नै । मुख्यतः सूक्ष्म विश्लेषणका पारिभाषिक शब्दावली र सघन विचार प्रक्षेपणका अपेक्षाले मेरो समालोचनात्मक भाषाशैलीलाई उत्प्रेरित गर्यो । यस क्रममा संस्कृत व्याकरण र साहित्यशास्त्रका अध्ययनका साथै हिन्दी समालोचनासँगको प्राथमिक परिचयले पारिभाषिक शब्द चुन्न मलाई प्रेरित गर्यो भने संस्कृत तत्सम शब्दको निकै प्रयोग मेरा गम्भीर प्रकृतिका समालोचनामा भित्रिन पुग्यो । पछि क्रमशः मैले आफ्नै मौलिक शैली निर्माणलाई महत्त्व दिएँ ।
समालोचनामा वस्तुगत तथ्यसँग विश्लेषण र मूल्यनिर्णयको उत्प्रेरक बुद्धि तथा तर्कको अन्तक्र्रियाको प्राधान्य हुन्छ; भावनाले मात्र रङ्गाएर भन्दा वा केवल सतहगत वर्णन विवरण दिँदा भाषा जति मिठो र सजिलो रहे पनि समालोचनाका गहिराइमा त्यत्ति भाषाले पुग्दो रहेनछ । अझ २०३० सालको दशकदेखि नेपाली साहित्यको शोधपरक समालोचना केही पल्पवितपुष्पित हुन लागेको क्रममा गहिरिँदो शोध र समालोचनाको अपेक्षाले समालोचनात्मक भाषाशैलीमा पनि अरू सूक्ष्ममता र प्राविधिकताका साथै गहन विचार–चिन्तनप्रक्रियाको छाप पर्न लाग्यो । उपर्युक्त दुवै सन्दर्भमा मैले पनि नेपाली समालोचनाका निम्ति समर्थ भाषाशैलीको खोज, प्रयोग र छानबिन गर्दै आएको छु । २०१६ सालदेखि यता एक प्रारम्भिक दशक र त्यपछिका डेढ दशकमा आफ्नो समालोचनात्मक भाषाशैली पहिल्याउन र त्यसलाई खार्न एवम् माझ्न मैले प्रयास निकै गरेँ तर त्यो प्रयास के कति सार्थक रह्यो वा रहेन त्यो भोलिको पुस्ताले भन्ने नै छ । समालोचनात्मक र शोधपरक वस्तुता र शूक्ष्मताको वाहक भाषाका खोजका यस क्रममा डा. केशवप्रसाद उपाध्याय, ठाकुुरप्रसाद पराजुली, मोहनराज शर्मा, डा. दयाराम श्रेष्ठ, डा. कुमारकुमारबहादुर जोशी, महादेव अवस्थी आदिका सचेत प्रयाससँग पनि म परिचित छु ।
समालोचनाका प्राथमिक उठानमा विवरण, भावुक, रङ र मोटामोटी विचार–प्रस्तुतिले काम चल्छ तर समालोचनाले लिनैपर्ने शूक्ष्म र सघन विश्लेषण–विवेचनाको गरिशील आयामका सन्दर्भमा प्रत्येक पुस्ताले समालोचना–भाषाको सामथ्र्य–विस्तार र परिष्कार गर्दै नै जानुपर्छ । यस क्रममा नव–नव पारिभाषिक शब्द र प्रस्तुतिप्रक्रिया चाहिने नै गर्दछ । समालोचनाका यस खोजक्रमका हाराहारीमा कविताका भाषाशैलीमा पनि मेरो अन्तर्विकासक्रमको आफ्नै प्रसङ्ग छ; त्यसको चर्चा यहाँ त्यति प्रासङ्गिक ठान्दिनँ ।
मोटामोटीमा २०१६–२०३० को एक दशक वा ‘सिंहावलोकन’, ‘विचरण’, र ‘पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्पराको लेखन प्रकाशनको काल मेरो समालोचनात्मक भाषाशैलीको खोज र प्रयोगकै श्रृङ्खला हो र त्यसपछिको अर्धदशक त्यस शैलीको छानबिन र परिमार्जनतर्फको सचेतताको चरण हो;यिनै दुई चरणका साँधमा ‘कविशिरोमणि लेखनाथ पौड्यालको विश्लेषण र मूल्याङ्कन’ शोध समालोचना ग्रन्थ पर्दछ । २०३६–४६ को यो हाल २०५४ पछिल्लो दशक मेरो समालोचनात्मक भाषाशैलीले परिष्कृतिको क्रमिक प्रयास गरिरहेको र केही थप प्राप्ति पनि गरिरहेको अवधि हो जस्तो लाग्छ ।
यस चरणका समालोचना–कृति प्रायः छरिएर रहेका छन् र तिनको सङ्कलन ग्रन्थाकारमा गर्न बाँकी नै छ । एकातिर उपयुक्त र विश्वासिलो प्रकाशकको पनि अभाव रह्यो अर्कातिर बनाउँला, सुधारुँला, विधाअनुरूपका कृति बनाउँला भन्दा भन्दै धेरै छरिइरहेका छन् ।
जिज्ञासा ? यहाँलाई आफ्ना समीक्षामा कानुनी लेखनको प्रभाव कतिको परेको छ भन्ने लाग्छ?
मेरो समीक्षाको भाषाशैलीगत अन्तर्विकासका यात्रामा उत्कृष्ट नेपाली कानुनी लेखनमा उपलब्ध तथ्यनिष्ठता र विचार–विश्लेषणको र निर्णयको शूक्ष्मताको बाहक सामथ्र्यलाई समालोचनाका अपेक्षाअनुरूप संयोजित गरी अलि बेग्लै ढङ्गले प्रयोग गर्ने प्रयास गरेको छु । मैले त्यस्तो प्रयाससँगै देवकोटा र बालकृष्ण समका गद्य ढाँचाबाट पनि समालोचनाको अपेक्षाअनुरूप मैले केही सिक्न खोजेको छु । यी सबै प्रेरणाको समष्टि प्रयोजनचाँहि अङ्ग्रेजी र संस्कृत समालोचनाका उत्कृष्ट अंशका वस्तुनिष्ठ शूक्ष्मताको मेरो मानक प्राप्ति–शिखरतर्फ मौलिक यात्रा हो । समालोचनाकार्यको अपेक्षाअनुरूपको शैलीको खोज, प्रयोग, छानबिन, सुधार केही प्राप्तितर्फको निरन्तर अुष्ठानक्रम नै हो ।
नेपाली र हिन्दी अलग भाषा हुन् । नेपाली लेखनमा हिन्दी शब्द वा अन्य कुनै भाषाका शब्द अनपेक्षित नै हुन् । संस्कृतका साझा तत्सम शब्दमा पनि हिन्दी गन्ध सुँघ्ने प्रवृत्ति ठिक होइन । खास हिन्दी शब्दचाँहि पगेल्नु नै पर्छ । कुनै पनि भाषाका शब्दभण्डारमा आगन्तुक शब्द नहुने होइनन् र बाहिरबाट आई त्यस भाषाका बोलचाल र लेखनमा निकै प्रवेश गरेका आगन्तुक शब्द चलनचल्तीमा छन् भने शब्दकोशमा तिनले ठाउँ पाउन सक्छन् । तर साहित्यकारले कुनै भाषामा चलनचल्तीमा रहेका शब्दमध्ये पनि बढी चनाखो भई आफ्ना शब्दको चयन गर्नुपर्दछ । आगन्तुक शब्दमध्ये पचिसकेका शब्दको परेज गर्नुचाहिँ मिथ्या पाण्डित्यको दम्भ हुन्छ; अदालत र अस्पताल शब्द आ–आफ्ना पाराले पचेका छन् । ‘दिल’ आगन्तुक शब्द को तर दिललाई Çयाँकी नै दिई मन दुखाउने पक्षमा म छैन । कुनै पनि जाति र समाजमा नयाँ वस्तु, संस्कार र धारणाको प्रवेश हुँदा आगन्तुक शब्द बढी भित्रिन्छन्; पारिभाषिक–प्राविधिक शब्दको रूपान्तरण र स्तरीकरणको प्रक्रिया सुल्यवस्थित नहुँदा पनि छोडे हुनेजति आगन्तुक शब्द पनि हामीले छोड्न नसकेको अवस्था छँदै छ । आफ्नै शब्दभण्डारले पुगुन्जेल पराईबाट ऐचोपैँचो नलिनु नै राम्रो हुन्छ । शब्दकोशमा शब्दले प्रविष्टि पाउने–नपाउने एक कुरा हो; त्यसका आफ्ना मान्यता र मानक सन्दर्भअनुसार ती निर्धारित हुन्छन् । लेखकले पुगेसम्म उद्धृत पात्रकथनमा बाहेक आफ्ना भाषाका चोखा शब्दलाई नै प्राथमिकता दिनुपर्दछ ।
नेपाली व्याकरणको निर्माणतर्फ नेपाली विद्वान्हरूले ध्यान दिन थालेपछि लेख्य वर्णविन्यासको स्तरीकरण वा मानीकरणको क्रम पनि थालियो । प्रथमत हलन्तबहिष्कार आन्दोलन देखा पर्यो र पछि समन्वयमार्गी हेमराज शर्मा, सोमनाथ शर्माका व्याकरणग्रन्थले मान्यता पाउन लागे । खास गरी नेपाली भाषा प्रकाशिनी समितिका प्रयासबाट लेख्य र मुद्रण क्षेत्रमा मानक–वर्णविन्यासको प्रचलन गराउने निकै उल्लेखनीय प्रयास भयो । समितिको नेपाली भाषा कसरी शुद्ध लेख्ने ? भन्ने सानो पुस्तिका लोकप्रिय रह्यो; सबाइका रूपमा पनि ह्रस्व–दीर्घको विधान देखा पर्यो । खास गरी शिक्षाक्षेत्रमा वर्णविन्यासको शुद्धतातर्फ प्रयास भएपछि नयाँ पुस्ताका लेखनमा केही सुधार आयो तर शिक्षाको प्रक्रिया वर्णविन्यास शुद्धताका दृष्टिले अर्धसफल मात्र रह्यो । नेपाली लेख्य वर्णविन्यासका मानक स्वरूपका दृष्टिले अधिकांश सक्षम लेखक, नेपाली विषय–शिक्षक र अरू जानिफकारहरूका लेखाइमा क्रमशः एकरूपता बढ्दै आयो र एक प्रकारको शिष्ट परम्परा विगत ७५ वर्षमा क्रमशः बस्दै आएको छ । प्रयोगका केही भूलचूक, अनिर्णयका केही स्थल र विकल्पका केही स्थिति अनि कतिपय वैयक्तिक आग्रह, सुधा–प्रस्ताव रहे पनि नेपाली लेख्य वर्णविन्यासको आधारभूत स्वरूप स्थापित भइसकेकै छ । त्यसको अनुसरण प्रकाशन, छापाखाना, पत्रकारिता, शिक्षण संस्था, लेखक समुदाय, प्राज्ञिक संस्था र शिक्षित व्यक्तिहरू र अरू सार्वजनिक क्षेत्रले अझ बढी चनाखो भई गर्ने आवश्यकता छँदै छ । केही वर्षयता त्रिभुवन विश्वविद्यालयले संस्कृत तत्सम शब्दलाई यथावत् लेखी नेपालीमा यसका आगन्तुक शब्दको लेख्य वर्णविन्यास नेपाली (तद्भव) शब्दअनुरूप नै गर्ने सुधारात्मक प्रचलन लागू गरेको छ । नेपाली राजकीय प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत् शब्दकोशले आगन्तुक शब्दलाई तत्–तत् भाषाअनुरूप नै लेख्ने र नेपालीकरण गर्ने दुवै विकल्पलाई मान्यता प्रदान गरेको छ । आगन्तुक शब्दको लेखनको नेपालीकरण दूरगामी रूपमा उपयुक्त र लाभदायी सुधार नै ठहर्छ; पुरानै बानीमा लेख्न पनि वैकल्पिक छुट छँदै छ ।
लेख्य वर्णविन्यासका दृष्टिले देखापरेका अनिर्णीत स्थल, वैकल्पिक स्थिति र मतभेदका बुँदाबारे सम्बद्ध प्रमुख संस्था र अधिकाधिक विद्वान् र प्रयोगकर्ताहरूका बीच छलफल भई व्यापक सहमतितर्फ प्रयास हुनु वाञ्छनीय नै रहेको छ । यस क्रममा वैयक्तिक कमजोरी वा भूलचूकको वा आग्रहको अंशलाई पनि अनिर्णीत स्थल ठान्नुचाँहि शोभनीय होइन । नेपाली लेख्य वर्णविन्याससंहिता तयार गरी वितरित गर्ने र संबद्ध प्रयोगक्षेत्रमा भाषाशुद्धिको लागि विशेष जिम्मेवार निकाय र कार्यकर्तालाई समयसमयमा प्रशिक्षण प्रदान गर्ने चाँजो–पाँजोको कमी भने छँदै छ । नेपाली भाषाको शिक्षाको प्रक्रिया अर्धसफल–अर्धविफल रहेबाट नेपाली लेख्य वर्णविन्यासका शुद्ध प्रयोग र एकरूपताका निम्ति थप प्रयास वाञ्छनीय छन् । त्यसो त भाषाशुद्धिका निम्ति केवल औपचारिक शिक्षा मात्र पर्याप्त हुनु सम्भव छैन नै; व्यक्ति शिक्षक–शिक्षिका स्वयम् योग्य भई प्राथमिक कक्षादेखि नै भाषा शुद्धिका निम्ति छात्र–छात्राको लेखन बानीको पर्याप्त निरीक्षण र संशोधन गर्ने आदर्श शिक्षको स्वप्नचाँहि राम्रो हो नै । तर शैक्षिक स्थिति र विद्यार्थी सङ्ख्याका गणितले साथ नदिई स्वयम् शिक्षा नै भाषाशुद्धिका निम्ति पर्याप्त हुने अवस्था आउन अप्ठयारै छ; त्यसैले शिक्षापट्टिको थप प्रशिक्षण वा आत्मशिक्षणको क्रम अपेक्षित छँदै छ ।
तुलनात्मक रूपमा आजको कविताले जति ध्यानाकर्षण अरू विधाले गरिसकेको देखिन्न । राम्रा कथाहरू पनि लेखिएका छन् र राम्रा लघु नाटक वा नाटक मञ्चित भएका पनि छन् । सबै विधाका सामयिक सङ्ग्रहहरू भइराख्ने गरेमा यस्तो तुलनात्मक निष्कर्ष निकाल्न बढी सहयोग पुग्दछ । जे होस्; सबै विधाका समसामयिक लेखकमध्ये केहीले आफ्नो निजत्वको राम्रो परिचय दिएका छन् र यी विधाप्रति सचेत र संवेदनशील पाठकहरूको (दर्शकहरूको पनि) ध्यान जान थालेको छ ।
लेखकका कृतिको मूल्यनिरूपण गर्न खोज्दा अँगाली अँगाली समालोचना पद्धतिहरूमध्ये केही पद्धति व्याख्या विश्लेषण गर्न सक्षम छन् तर मूल्यनिर्णय गर्न सक्षम छैनन् । सही मूल्यनिर्णय गर्न साहित्यप्रतिको ग्रहणशीलता, मूल्यस्तरलाई निरूपण गर्नसक्ने क्षमता र तोक्न सक्ने दक्षता एवम् अचुक पारख चाहिन्छ । कृतिको मूल्यनिरूपण ऐतिहासिक विधागत विकासका सापेक्षतामा र स्वयम् कृतिगत गुणस्तरको सन्दर्भमा पनि गर्न सकिन्छ । कुनै कृतिको मूल्यनिर्णय गर्दा त्यसको गुण र दोष दुबै पक्षको लेखाजोखा गर्नु आवश्यक छ । समालोचकमा सबै प्रकारका कृतिलाई पूर्वाग्रहविना ग्रहण गर्न सक्ने क्षमता चाहिन्छ । जस्तो एक समालोचकले कुनै युग र प्रवृत्तिका लेखकलाई मन पराई अर्काथरी लेखकलाई विलकुलै मन नपराउने किसिमको सीमित रूचिको बन्दी हुनु राम्रो होइन । समालोचकले भानुभक्त, सोमनाथ, मोहन कोइराला, मोतीराम, देवकोटा भूपि, दिनेश अधिकारी आदि सबैथरी कवि र कवितालाई ग्रहण गर्न सक्नु पर्यो । यसरी निर्णयात्मक प्रवृत्तिलाई मैले प्रयोग गरेको छु । यदि मूल्यनिर्णय गर्दा कुनै लेखकलाई अपमान गर्ने र वाण हान्ने प्रवृत्ति समालोचनामा भएमा त्यो चिरस्थायी समालोचना नभई व्यक्ति प्रयोजनमा सीमित हुन्छ, त्यो स्थायी महत्त्वको समालोचना हुँदैन ।
मूल्यनिर्णंयमा धेरै समीक्षकहरूले हात कमाइराखेको देखिन्छ । मूल्य निर्णय सामथ्र्य विकासको मूल सूत्र के हुन सक्छ ?
लेखकको कृतिगत प्राप्तिलाई कमबेसी नगरी ठीक ढङ्गले त्यसको मूल्य बताउने र कृतिका कमजोरीलाई शिष्ट भाषामा औल्याउने अनि जीवित लेखक भएमा सुधारात्मक सुझाउ र सङ्केत दिने अनि कुनै लेखक दिवङ्गत भएमा त्यस्तो गल्ती नगर्न आगामी पुस्तालाई सचेत तुल्याउनु नै मेरो समालोचकीय मूल धर्म रहेको छ । एउटा सानो भूमिकामा पनि त्यस लेखकको कृतिगत शक्तिसीमाको सङ्केत गरी मैले मूल्य निर्णय गर्ने गरेको छु । यसको सूत्र त सम्बन्धित कृति र अन्य कृतिसँगको तुलना प्रतितुलना र कउतिकै गहन पठन पुनः पठन नै हो।
कविता मेरो अन्तर्तम रुचिको सृजनात्मक विधा हो, कवितासँगको मेरो अनुराग लगभग ६०– ६५ वर्ष पुरानो हो । यस आधारमा तपाईँको जिज्ञासा सही छ । मैले कहिले संस्कृत, कहिले अङ्ग्रेजी र कहिले नेपाली भाषालाई केन्द्र बनाई सिर्जना गरेको दुई दशकको अध्ययनक्रमपछि नेपाली साहित्यमा बढी केन्द्रित रही गरेको गरेको ४० वर्षको प्राध्यापन र थप स्वाध्ययनको परिणतिस्वरूप बौद्धिक लेखनको श्रृङ्खला हो मेरा निम्ति समालोचना । मैले समालोचना लेख्न र छपाउन थालेकै पनि निकै दशक भइसकेको छ । यस स्थितिमा समालोचना पनि मेरो साहित्यसम्बन्धी बौद्धिक चेतको लामो साधनाको क्षेत्र रहेको छ । समय प्रवाहमा मेरो प्रारम्भिक युवावस्थामा मैले कविताको स्वस्फूर्त उपासना गरेँ र त्यसमा बैँसका उत्तरार्धमा पनि त्यत्तिकै निरन्तर रूपमा संलग्न भइराख्न सकेको भए बेस हुन्थ्यो भन्ने मलाई पनि लाग्दछ । अपेक्षाकृत मुक्त प्रारम्भिक युवावस्थाका तुलनामा प्राध्यापन पेसा र घरगृहस्थीमा प्रवेश गरेपछि पनि त्यही सृजनात्मक वेग कायम रहिरान्खुपर्थ्यो भन्ने आग्रहचाँहि म गर्दिन ।
प्राध्यापन कार्य र संस्थागत शैक्षिक प्राज्ञिक दायित्वबोधले पनि मलाई नेपाली साहित्यको समीक्षा र अनुसन्धानकार्यतर्फ निकै वर्ष बढी नै व्यस्त राख्यो; म नेपाली विषयमा नेपाली साहित्यका क्षेत्रमा पिएच.डी. उपाधि प्राप्त गर्ने प्रथम व्यक्ति हुन पुगेछु । मैले समालोचनालाई मेरा फुर्सतका घडीमध्ये बढी अंश जतिखेर पनि सके त्यो सार्थक नै रह्यो भन्ने ठान्दछु । संस्थागत कार्य र वैयक्तिक लेखनका माध्यमबाट मैले गर्न सकेको नेपाली भाषा र साहित्य सेवा सबैसमक्ष छँदै छ । मैले चालिसे उमेर पार गरेपछि पुनः कवितलाई अलि बढी समय दिने प्रयास गरेको छु । यदि मैले विश्वविद्यायलमा प्रवेश नगरेको भए संभवतः समालोचना गौण रही कविता नै मेरो मुख्य आराधनाकेन्द्र हुन्थ्यो होला भन्ने लाग्छ, यस आधारमा तपाईँको जिज्ञासा पनि स्वाभाविकै हो ।
बुझेँ । हाम्रो जस्तो विकासोन्मुख सामाजिक सन्दर्भमा प्रारम्भिक युवावस्थामा जति सृजनशील प्रतिभा देखा पर्छन् ती सबै पेसा र घरगृहस्थीको बोझ थाम्न थालेपछि पनि पहिलेकै वेग र अनुपातमा लेखन गर्दै रहन्छन् भन्ने कुरा म उति पत्याउँदिँन । तर प्रायः ४०–५० वर्षका उमेरतिर पुगेपछि त्यो भन्दा माथि निवृत्त जीवनमा पुगेपछि पेसा र घरगृहस्थीको चाप–चुनौती अलि मत्थर हुन लागी फुर्सतका क्षण बढ्न लागेपछि तिनै बीचमा मत्थर रहेजस्ता लाग्ने साहित्यकारहरूमध्ये केही पुनः सृजनात्मक परिपक्वतासहित देखापरेका पनि पाइन्छन् । यस्तै एक उदाहरण धनुषचन्द्र गौतम–ध.च.गौतमे) पनि हुनुहुन्छ; । नेपाली उपन्यासफाँट उहाँबाट निकै नै लाभान्वित छ । मैले पनि कवितालाई केही वर्षयता समालोचना भन्दा कम समय नदिने बरु अलिकति बढी नै दिने चेष्टा गरेको छु । कुनै लेखक सदा–सर्वदा एउटै विधामा मात्र प्रतिबद्ध रहनुपर्छ भन्ने म ठान्दिनँ । विविध प्रकारका लेख्य विधाका बीचका आधारभूत निकटता र भिन्नता तथा विधाका शक्ति र सीमा एवम् परिधि थाहा भइसकेपछि जुन विधामा यात्रा गर्दा पनि हुन्छ । म मेरा निबन्धहरू लिएर आउन बाँकी नै छ ।
जीवित लेखकका बारेमा लेख्नु अलि कठिन नै छ र नलेखी पनि धर छैन । मैले नितान्त औपचारिक भूमिका लेख्ने बाटो समातिनँ; समालोचनामूलक भूमिका लेख्ने गरेँ । जीवित लेखकको समालोचनाको भार म अहिले पनि बोकिरहेकै छु । विभिन्न संस्था र पत्रिकाका विशेष अङ्कका आफ्ना माग हुन्छन्; नलेखी टार्न वा हार्न नसक्दा ती मागका पूर्तिका निम्ति आफूले चाहेको र नचाहेको अथवा पूरै नयाँ सामग्री सङ्कलन गर्नुपर्ने क्षेत्रमा पनि तोकिएको म्याद बाँधिएको र तोकिएको फाँटमा लेख्नु अर्को प्रकारको बाध्यता हुने गर्दछ । समालोचनाका निम्ति समालोच्य सामग्री चाहिन्छ ती सबै सामग्री एउटै व्यक्ति (समालोचक) ले खरिद र सङग्रह गर्न कठिन छ । मेरो आफ्नै विगत छ दशकको पुस्तक र पत्रिकाको संग्रहले निकै काम दिएको छ तर त्यसको सम्भार र सम्बर्धन आफै एक समस्या हुन लाग्दै छ । ठाउँ, दराज र क्याटालग–कार्ड (श्रेणीकरण) मेरा बुताभित्र हुन छोड्दै छ । पुस्तकालय गएर सामग्री सङ्कलन गर्न पनि त्यति सजिलो छैन । जे जति पुस्तकालय सुविधा उपलब्ध छन् तिनबाट मलाई वा अरूलाई पनि चाहिने जति समालेच्य सामग्री पुग्ने गरी प्राप्त हुने स्थिति छैन । मदन पुरस्कार पुस्तकालय समालोच्य साहित्यिक सामग्रीका दृष्टिले सबभन्दा बढी सङ्कलनयुक्त छ; तर त्यो पनि म भन्दा टाढा छ । बढी प्रयोग गर्नुपर्ने समालोच्य सामग्रीको फोटो प्रतिलिपि उतार्नु म जस्तो र अरू पनि साधारण आर्थिक हैसियतका समालोचकका निम्ति व्ययका दृष्टिले साध्य रहेन । यी अनेक सीमाका बीच आफ्ना बिहानबेलुकाका फुर्सतका घडी र बिदाका दिन समालोचनाको तयारी र लेखनका निम्ति खर्च गर्दै म अगाडि बढेँ । समालोचक वा गम्भीर लेखकले आफ्नो भोक निन्द्रा मिच्नै पर्छ । समालोचना समयसाध्य लेखन हो नै । लेखिसकेपछि साफी गर्नु र प्रतिलिपि उतार्नु उत्तिकै झन्झटलाग्दो छ; टङ्कन गराउने काम उत्तिकै व्यवसाध्य छ । यस स्थितिमा एउटा फुटकर समालोचना कृति पूरा गर्न कम्तीमा मलाई दुई हप्ताजतिको समय लाग्छ ।
त्यसको समस्या भनिसध्य छैन । ती दुई हप्ताबीचका बिहानबेलुका वा बिदाका दिनमा पेसागत काम, अन्य कुनै प्राज्ञिक दायित्व वा घर–व्यवहारको अपरिहार्य समय–चाप पर्यो भने महीनामा दुईवटा समालोचना कृति पूरा गर्न पनि रातका निन्द्रा चोर्नुपर्थ्यो । त्यसैले म प्रतिवर्ष लामा छोटा गरी सरदर १२–१५ वटा समालोचना कृति लेखिरहेको हुँदो रहेछु । नयाँ लेखनको चापले पहिले लेखेका समालोचनाकृतिको सङ्कलनका निम्ति अपेक्षित सामान्य संशोधन सम्पादनलाई छेकिदिने रहेछ । त्यो अवस्था अझै रहिरहेको छ ।
मेरा २०२७ सालसम्मका समालोचनाकृति पुस्तकाकारमा सङ्कलित छन् भने त्यपछि सिङ्गै पुस्तकबाहेकका एक सयभन्दा बढी समालोचनाकृति अझै छरिएकै छन् । यस स्थितिमा कुनै नयाँ ग्रन्थ लेख्न लाग्दा २–३ वर्ष लाग्न जान्छ । यही नयाँ लेख्ने कि पुराना सङ्कलन गर्ने भन्ने छटपटीका बीचका समय–चापले गर्दा लामो बिदा फेला नपारी ग्रन्थ उति अगि बढ्दैन भन्ने मलाई लाग्थ्यो, त्यो बाध्यता पनि थियो । प्राध्यपन पेसाले मात्र जहानपरिवार पाल्न र पढाउन धौधौ पर्दा फुर्सत र बिदाको अधिकांश समय लगाएको समालोचनालेखनले खास सघाउने अवस्था अझै सृजित भएको छैन । मेरो समयको कुरा । तपाईँको प्रश्नअनुसार मेरा चालीस पचास अधिक कृति बन्न सक्छन् ।
समालोचनाका निमित्त उपयुक्त अवस्था वातावरण अझै बन्न बाँकी छ; अपेक्षित संस्थागत पर्यावरण अझै पनि बन्न सकेको छैन । समालोचना सृजनाजस्तै एक सोख हो; साहित्यप्रतिको एक बौद्धिक चासो र चस्को पनि हो । साहित्यकारलाई कति अनुत्तरदायी समालोचकले सताएका पनि छन्; त्यस्तै समालोचकीय दायित्व र मर्यादामा अड्ने समालोचकले जीवित लेखकमध्ये कति मनोगत कारणले चिढिने र कुँडिने स्थितिको प्रत्यक्ष–अप्रत्यक्ष सामना गरी नै रहनुपर्दछ; समालोचना अलि अपजसे प्राज्ञिक लेखन होइन भन्न मिल्दैन । अझ समालोचकप्रतिका कसैका विद्वेषले कुनै पथभ्रष्ट साप्ताहिक पत्रिकाको आड लिई ताक्दै जाँदा समालोचक सहँदै रहोस् कि आफ्ना समालोचकीय शिष्टता र मर्यादालाई तिलाञ्जलि दिई हिलोमैलोको छ्यापाछ्यापमा भिडिन र संमिलित हुन पुगोस् । यिनै विभिन्न नकारात्मक परिस्थितिबीच निर्विकार साधना गर्दै गुणग्रही सयौँ पाठकहरूलाई ध्यानमा राखी समालोचनाको प्राज्ञिक दियालो प्रज्वलित तुल्याउँदै प्रबुद्ध उत्तरदायी समालोचक कर्मपथमा अडिग रहने गर्दछ र रहनु पनि पर्दछ । यो अवस्था अहिले पनि निर्माण भइसकेको छैन । मैले त सबै भोगेँ ।
धन्यवाद । तपाईँलाई पनि धन्यवाद दिन्छु । यसलाई अझ परिमार्जन गरेर प्रकाशन गर्न पाए राम्रो हुन्थ्यो ।