ताराकान्त पाण्डेय (२०१७, रूपन्देही, सुपुत्रः लोकनाथ पाण्डेय र नन्दावेवी पाण्डेय) नेपाली समीक्षा परम्पराका विशिष्ट प्रतिभा हुन् । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत पाण्डे २०३६ सालदेखि लेखन आरम्भ गरी निरन्तर समीक्षा क्षेत्रमै समर्पित बनेर लागिरहेका छन् । उनका साहित्य : भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य कवित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय सिर्जना र संवाद (२०६८), समकालीन कविताको संरचना (२०६९), मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र (२०७३) जस्ता समीक्षा कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको नेपाली कविता परम्परामा गणतान्त्रिक चेतना शीर्षकको गहन समीक्षा समेटिएको छ । यस कविताले आधुनिक कालका धेरै साक्ष्यहरू जुटाएर नेपाली कविता परम्परको गणतान्त्रिक चेतना अन्वेषण गरिएको छ ।सम्पा. |
१. विषयप्रवेश
नेपाली कविताको कुरा गर्दा नेपालको राष्ट्रिय र सामाजिक इतिहासको कुरा पनि सँगसँगै जोडिन आइपुग्छ किनभने कविताको जीवन राष्ट्रकै जीवनसँग जोडिएको छ । यसको यात्रा भिन्दै छैन । यसरी हेर्दा करिब २५० वर्षको यसको जीवनयात्रा नेपाली समाजका र राष्ट्रका जीवनमा आएका उकाली ओराली र खास गरी नेपाली समाजका अन्तर्विरोधसँग जोडिँदै अघि बढेको छ र त्यस क्रममा अनेक मोड र प्रवृत्तिहरूको विकास भएको छ । यी मोड र प्रवृत्तिहरूको निर्माण शासक र शासित अनि उत्पीडक र उत्पीडितका केन्द्रीयतामा सत्ता, संस्कृति र विचारधाराका क्षेत्रमा निर्मित/विकसित परिवेशकै सापेक्षतामा भएको छ । तिनै विचारधारा र संस्कृतिमध्ये एउटा महत्त्वपूर्ण पक्ष गणतन्त्रको चाहना, चेतना, अनि त्यसका पृष्ठभूमिमा विकसित गणतान्त्रिक आन्दोलन र ती सबले नेपाली कवितामा पारेका प्रभावले कवितामा भिन्न एवं विशिष्ट प्रवृत्तिको निर्माण भएको छ । गणतान्त्रिक चेतना र आन्दोलनको यही प्रभाव नेपाली कवितामा कसरी परेको छ र त्यसको विकास यात्रा कस्तो छ अनि त्यसले नेपाली कवितालाई कस्तो पहिचान दिएको छ भन्ने जिज्ञासासँग यो कार्यपत्र सम्बन्धित रहेको छ । यस क्रममा नेपाली समाजका सन्दर्भमा गणतन्त्रको तात्पर्य र स्वरूप अनि कवितामा त्यसको अभिव्यक्तिका स्वरूप र आवश्यकताको चर्चा गर्दै विभिन्न चरणका नेपाली कवितामा अभिव्यक्त गणतान्त्रिक चेतनाको स्थितिलाई पहिल्याउने प्रयास गरिएको छ ।
२. नेपाली समाजका सन्दर्भमा गणतन्त्रको तात्पर्य
गण अर्थात् समूह र तन्त्र अर्थात् शासन मिलेर बनेको गणतन्त्र शब्दले समूहको शासन भन्ने शाब्दिक अर्थ दिन्छ । यसको प्राचीन अर्थ गणहरूको शासन भन्ने नै हो । आधुनिक राजनीतिशास्त्रमा यसले विशिष्ट पारिभाषिक अर्थ राख्छ । आधुनिक समाजका सन्दर्भमा सामान्यतः वंश वा अन्य कुनै आधारमा कोही स्थायी प्रकारको शासक नभई जनताका प्रतिनिधिले निश्चित विधिका आधारमा छानिई निश्चित अवधिसम्म जनताका लागि गर्ने शासन नै गणतन्त्र हो । यसबाट राजतन्त्र स्वतः गणतन्त्रको व्यतिरेकी पक्ष/तत्त्व हो र यी परस्पर विपरीतध्रुवी हुन् भनेर बुझ्नु पर्दछ । यसरी राजतन्त्र नभएको (आवधिक) निर्वाचनबाट चुनिएका प्रतिनिधिले शासन गर्ने पद्धति (जसलाई संसदीय प्रणाली पनि भनिन्छ) लाई गणतन्त्रका रूपमा परिभाषित गर्ने गरिन्छ तर यसप्रति भिन्न मत पनि रहेको छ । साम्यवादी विचारधाराले वर्गसमाजमा सत्ताको चरित्र वर्गीय हुने ठान्दछ र संसदीय पद्धतिबाट हुने निर्वाचनमा उत्पादन पद्धतिमा वर्चस्व कायम गर्ने पुँजीपति तथा सामन्त वर्ग नै निर्वाचित हुने र शासनमा पुग्ने स्थिति रहने अनि उत्पीडित मजदुर किसान त्यसबाट वञ्चित हुने हुँदा रूपमा गणतन्त्रजस्तो देखिए पनि सारमा त्यो गणतन्त्र हुँदैन भन्ने विश्वास राख्दछ । यसो भएकैले माक्र्सवादले जनगणतन्त्रको अवधारणा अगाडि सारेको हो । यसलाई संसदीय (बुर्जुवा) गणतन्त्र र जनगणतन्त्र (पिपुल्स रिपब्लिक) भन्ने दुई भिन्न पदावलीले जनाउने चलन पनि बसेको छ ।
राजतन्त्रको औपचारिक आरम्भ लिच्छवी शासनकालमा इसाको पाँचौं शताब्दीका आरम्भसँगै भएको र त्यहीँदेखि राजा निर्वाचित हुने परम्पराको अन्त्य भई वंशानुगत आधारमा राजा हुने राजतन्त्रात्मक शासनपद्धतिको आरम्भ भएको देखिन्छ । यसबाट के पनि बुझिन्छ भने वंशानुगत राजा हुने परिपाटीको आरम्भ हुनुअघि लोकतान्त्रिक ढंगले राजा निर्वाचित हुने र समयक्रममा राजा फेरिने परिपाटी नेपालमा विद्यमान थियो । त्यो परिपाटी एक प्रकारको गणतान्त्रिक परिपाटी थियो ।
जहाँसम्म नेपाली समाजको सन्दर्भ छ, यहाँ पनि गणतन्त्रलाई धेरथोर यस्तै सन्दर्भमा बुझ्ने गरिएको छ । नेपालको इतिहासको कुरा गर्दा यहाँ सभ्यताको सुरुआत इसापूर्व छैठौं शताब्दीतिरबाट भएको मानिन्छ (अर्याल ४) तर राज्यको निर्माण प्रक्रिया कुन समयदेखि भयो भन्ने यकिन छैन । नेपालको राजनीतिक इतिहासको चर्चा गर्ने क्रममा मुरारी अर्यालले दिएको तर्क यस्तो छ :
लोकतान्त्रिक संघराज्यको पर्यायवाची वृज्जि संघराज्यलाई मगध नरेश अजातशत्रुले इ.पूं ४८५ को हाराहारीमा ध्वस्त पारी आफ्नो राजतन्त्रमा विलीन गराउन सफल भएपछि लिच्छवीहरूको एउटा अंश आफ्नो लोकतान्त्रिक आदर्शसहित वर्तमान नेपालमा प्रवेश गरेको थियो । सम्भवतः त्यतिबेला यहाँ प्रारम्भिक अवस्थाको किरात गणराज्यको अस्तित्व थियो र लिच्छवीहरू सोही लोकतान्त्रिक आदर्शसहित यहाँका बासिन्दा भएर रहन थालेका थिए । प्रथम लिच्छवी राजा जय वर्मा सम्भवतः यही लोकतान्त्रिक पद्धतिबाट निर्वाचित ‘राजा’ थिए । प्रसिद्ध लिच्छवी राजा मानदेवका बराजु वृषदेवले सम्भवतः इसाको ४०० को हाराहारीमा (निर्वाचित) राजा भएपछि राजा पदलाई वंशानुगत तुल्याएका थिए । (पृ. ६)
यसरी राजा पद वंशानुगत बनाई राजतन्त्रको बीजारोपण वृषदेवले गरे पनि यसलाई पूर्णता दिने काम मानदेव प्रथमका शासनकालदेखि भएको मानिन्छ (अर्याल ७) । यसबाट राजतन्त्रको औपचारिक आरम्भ लिच्छवी शासनकालमा इसाको पाँचौं शताब्दीका आरम्भसँगै भएको र त्यहीँदेखि राजा निर्वाचित हुने परम्पराको अन्त्य भई वंशानुगत आधारमा राजा हुने राजतन्त्रात्मक शासनपद्धतिको आरम्भ भएको देखिन्छ । यसबाट के पनि बुझिन्छ भने वंशानुगत राजा हुने परिपाटीको आरम्भ हुनुअघि लोकतान्त्रिक ढंगले राजा निर्वाचित हुने र समयक्रममा राजा फेरिने परिपाटी नेपालमा विद्यमान थियो । त्यो परिपाटी एक प्रकारको गणतान्त्रिक परिपाटी थियो । त्यसलाई आदिम अथवा प्राक् गणतान्त्रिक परिपाटीका रूपमा बुझ्न सकिन्छ । यद्यपि यो कुरा नेपाल खाल्डोका सन्दर्भमा हो । खाल्डोबाहिर पनि आ–आफ्ना प्रकारका गणतान्त्रिक परिपाटीहरू थिए । तिनका बिच युद्ध र राज्यविस्तारको उपक्रम पनि चलि नै रह्यो र यो क्रम पृथ्वीनाराण शाह र बहादुर शाहका पालासम्म चल्यो ।
इतिहासले के देखाएको छ भने एक समयमा शक्तिशाली मानिएको र तुलनात्मक रूपले सभ्यताको विकासमा अगाडि रहेको उपत्यकाको शासन व्यवस्था कालान्तरमा कमजोर सिद्ध भयो र गोरखाली राजा पृथ्वीनारायण शाहका आक्रमणबाट यो पराजित हुन पुग्यो । उपत्यकाबाहिरका साना राज्य र राजतन्त्रहरू पनि कमजोर सिद्ध भए र पराजित हुँदै गए । त्यसका परिणामस्वरूप अपेक्षाकृत आजको नेपालको स्वरूप बन्न पुग्यो । यो एकीकरण थियो कि राज्यविस्तार भन्ने विमर्शतिर म अहिले जान चाहन्न तर दुईवटा कुराचाहिँ सत्य हुन्, भन्नै पर्छ ।
पहिलो यस क्रममा विभिन्न क्षेत्र(भगोल)मा बसोबास गर्ने जाति जनजातिका जो आफ्ना जातीय सभ्यताहरू थिए, ती दमनमा परे, उपेक्षित भए र एउटा समुदाय/नस्ल (पहाडे खस आर्य) को सभ्यता नै मूल धारमा स्थापित भयो । त्यसैलाई राष्ट्रियताको परिचायक बनाइयो । काल्पनिक रूपमा एक जाति, एक भाषा, एक भेष, एक राजाको भाष्य स्थापित गरियो ।
दोस्रो कुरा लिच्छवी हुँदै शाहवंशसम्म आइपुग्दा राजतन्त्रका माध्यमबाट सामन्तवाद जब्बर रूपमा स्थापित भयो । त्यसमा राणाहरूको उदय भएपछि दरबारिया शक्तिसङ्घर्षका बावजुद अर्थव्यवस्था, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र विचारधारा सबै क्षेत्रमा सामन्तवाद अत्यन्त जब्बर बन्न पग्यो । लिच्छवी शासनकालमा आरम्भ भएको मनुस्मृतिमा आधारित वर्णव्यवस्था र लैङ्गिक विभेदको प्रथा जङ्गबहादुरको मुलुकी ऐनसम्म आइपुग्दा अझ बलियो बन्न पुग्यो । मानिस नै मासिन्या र नमासिन्यामा, छूत र अछूतमा वर्गीकृत भए । परिणामस्वरूप वर्गीय रूपमा राज्य गरिब किसानका लागि, भूमिहीनका लागि, मजदुर/श्रमिकका लागि त उत्पीडक भयो नै लैङ्गिक हिसाबले महिलाका लागि, जातीय हिसाबले दलितका लागि, जनाजतिका लागि, थारुलगायतका आदिवासीका लागि पनि उत्पीडक भयो साथै भूगोलका आधारमा पनि सुदूर पश्चिम र त्यहाँको (कर्णाली) सभ्यता, मधेश र त्यहाँको सभ्यता, पूर्वको किरात प्रदेश र त्यहाँको सभ्यता पनि दमनमा परे ।
उपर्युक्त स्थिति गणतन्त्रका पूर्णतः विरुद्ध र विपरीत थियो । यो केन्द्रीकृत सामन्तवादको उत्कर्षको परिणाम थियो । करिब १५०० वर्षको राजतन्त्रात्मक सामन्ती व्यवस्था र करिब अढाइ सय वर्षको शाहवंशीय केन्द्रीकृत सामन्ती व्यवस्था अब छैन । औपचारिक रूपले एक दशकअघि यसको अन्त्य भएको छ र लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएको छ तर फेरि पनि प्रश्नहरू उठिरहेका छन्– के यो जनताको साँचो गणतन्त्र हो अथवा बुर्जुवा गणतन्त्र ? अनि के सामन्तवाद सम्पूर्णतः समाप्त भएको छ वा उत्पादन सम्बन्ध र अधिरचनाका तहमा यो अझै पनि बाँचिरहेको छ ? के वर्गीय, जातीय, लैङ्गिक समुदायले स्वतन्त्रताको अनुभूति गर्न पाएका छन् र के उत्पीडनबाट मुक्ति पाएका छन् ? आजको शासनमा कुन वर्गको अधिनायकत्व अथवा वर्चस्व छ ? यी प्रश्नहरू किन महङ्खवपूर्ण छन् भने यी गणतन्त्रसँग जोडिएका छन् । यिनको सकारात्मक नकारात्मक उत्तरले गणतन्त्रको चरित्रको निर्धारण गर्छ र गणतन्त्रको आवश्यकताबोध पनि गराउँछ (शर्मा, अनिल १८, १९) ।
नेपालका सन्दर्भमा वर्गीय, जातीय, लिङ्गीय तथा क्षेत्रीय उत्पीडनको अन्त्यको उद्देश्यमा आधारित, भिन्न संस्कृति र सभ्यताबिच समानताको चेतनामा आधारित सद्भावपूर्ण सम्बन्धको स्थापनाका जगमा निर्मित जनताको त्यस्तो शासन पद्धति वास्तविक गणतन्त्र हो जो साम्राज्यवादी हस्तक्षेपबाट मुक्त होस् जसले दलाल पुँजीमा आधारित होइन, स्वाधीनतामा आधारित अर्थव्यवस्थाको निर्माण गर्न सकोस् अनि जसमा जनताका शासक प्रतिनिधिको चयनमा अथाह धनराशिको खर्च गर्नुपर्ने र सोही कारणले सधैँ भ्रष्ट आचरण भएका, अनेक अकृत्य गरेर अकुत सम्पत्ति कमाएका, विदेशी शक्तिको आड लिएका मानिसहरू सत्तामा जाने नभई खास उत्पीडित वर्ग, जाति, लिङ्गका सच्चा प्रतिनिधिले शासन चलाउने स्थितिको प्रत्याभूति होस् । नेपाली समाजको वर्तमान चरित्रको कुरा गर्दा यहाँ श्रमिक वर्ग र दलाल पुँजीपति वर्ग, महिला समुदाय तथा पितृसत्तावाद, आदिवासी जनजाति समुदाय तथा खस राष्ट्रिय अहङ्कारवाद, दलित समुदाय र ब्राह्मणवाद, केन्द्र र सुदूर भूगोल (पहाड र मधेशसहित) बिचको विशिष्ट अन्तर्विरोधका साथै सिङ्गो नेपाल र विदेशी प्रतिक्रियावाद(साम्राज्यवाद र विस्तारवाद) का बिचको अन्तर्विरोध नै केन्द्रमा छ र गणतन्त्रको आवश्यकता यी अन्तर्विरोधको समाधानसँग सम्बन्धित छ (चैतन्य २०) । यसमा नेपाली भाषा र अन्य भाषाका बिचको अन्तर्विरोधलाई पनि थप्नु पर्दछ । वास्तविक गणतन्त्रले अर्थात् जनगणतन्त्रले मात्रै यी अन्तर्विरोधको समाधान गर्न सक्दछ । बुर्जुवा गणतन्त्र वा परम्परागत (भारतीय पाराको) गणतन्त्रले यी अन्तर्विरोधको समाधान गर्न सक्दैन ।
गणतन्त्रलाई यसरी बुझ्ने र परम्परागत ढंगले बुझ्ने तरिकाबिच पनि नेपाली समाजमा लामो समयदेखि द्वन्द्व चलिआएको छ । सामन्तवाद अथवा राजतन्त्र जब्बर भएको बेला र त्यसका निरङ्कुश अस्त्रहरूले स्वतन्त्रता चाहनेहरूलाई डामिरहेका बेला यी दुई थरी सोच भएका स्रष्टा तथा राजनीतिक शक्तिहरू बिच निकटता र सहकार्य पनि भएको छ र कहिले स्वाभाविक दूरी पनि बढेको छ । अनि त्यस स्थितिले साहित्य रचनामा पनि प्रभाव पारेको छ । जे होस्, माथि भनिएका अन्तर्विरोधहरू राजतन्त्रको संस्थागत आरम्भ र विकाससँगै जन्मिएका हुन् र समाज विकासको गति अनि राजतन्त्रका चरित्र र शक्तिको विस्तार र विकासका सापेक्षातामा तिनको मात्रा र आयाम पनि विकसित हुँदै गएको, समयक्रममा नयाँ अन्तर्विरोधहरू विकसित हुँदै गएको अवस्था पनि छ । नेपाली साहित्यमा यी अन्तर्विरोधहरूले प्रभाव पारेका छन्, पार्दै आएका छन् । गणतन्त्रको चेतना यिनै अन्तर्विरोधसँग सम्बन्धित छ । या त शासककै विचारधारा र संस्कृतिको समर्थन सम्वद्र्धनमा या गणतान्त्रिक चेतनाका पक्षमा साहित्य सिर्जना भएका छन् । यसप्रति निरपेक्षभाव राख्ने र शाश्वत सौन्दर्यका रचना गर्ने प्रवृत्ति पनि नपाइने होइन तर तिनले पनि परोक्षतः सामन्तवादी यथास्थितिलाई नै बल पुर्याउने काम गरेका छन् । त्यसैले साहित्यकै सन्दर्भमा पनि गणतन्त्रको चेतना अध्ययन तथा विमर्शको विषयचाहिँ हो ।
३. कविता(साहित्य) मा गणतन्त्रको चेतनाको स्वरूप
अब जिज्ञासा छ, साहित्यमा गणतन्त्रको चेतना कसरी व्यक्त हुन्छ ? साहित्यमा त्यसको स्वरूप कस्तो हुन्छ ? साहित्य सामाजिक चेतनाको विशिष्ट रूप हो जो अधिरचनाका अन्य रूपभन्दा पृथक् हुन्छ । यसका आफ्ना कलात्मक नियमहरू छन् जसको निर्वाह नगरी साहित्यको निर्माण सम्भव हुँदैन । त्यसैले सोझै गणतन्त्रको कुरा गर्नु साहित्यका लागि उपयुक्त हुँदैन । यो चेतना साहित्य (कविता) को कथ्यका तहमा, त्यसको विचारधारात्मक अन्तर्वस्तुका तहमा अभिव्यक्त हुन्छ । यसको आयाम पनि अपेक्षाकृत फराकिलो हुन्छ । माथि उल्लेख गरिएका अन्तर्विरोधका परिप्रेक्ष्यमा गणतान्त्रिक चेतनाभित्र यी कुरा अटाउँछन्ः
क) वर्गीय, जातीय, नस्लीय, लैङ्गिक तथा क्षेत्रीय उत्पीडनको कारक सामन्तवाद (र पुँजीवादसमेत) का विरुद्धको चेतना
ख) कुनै पनि व्यक्ति, वंश, परिवारको स्थायी शासनपद्धतिको अस्वीकार र त्यसका विरुद्धको चेतना
ग) वर्गीय, जातीय, लैङ्गिक, धार्मिक स्वतन्त्रताको चेतना
घ) उत्पादनपद्धति एवं शासनपद्धतिमा उत्पीडित वर्ग र समुदायको प्राधिकारपूर्ण उपस्थिति र वर्चस्वको प्रत्याभूतिको चेतना
ङ) भाषिक उत्पीडनका विरुद्धको चेतना
च) साम्राज्यवादी / वैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्धको चेतना अर्थात् राष्ट्रिय स्वाधीनताको चेतना ।
समग्रतः उपर्युक्त प्रकारका उत्पीडनलाई कायम राखिराख्ने (यथास्थितिमूलक) परिपाटी/व्यवस्थाका विरुद्धको र त्यसको अन्त्यको चाहना हो यो । अर्को ढंगले भन्दा सामन्तवादका सबै रूपहरू अनि विमानवीकरण तथा विरानोपनको निर्माणसँगै विभिन्न किसिमको उत्पीडन गर्ने मानवद्वेषी पुँजीवादी व्यवस्थाका विविध रूपहरूका विरुद्धको चेतनालाई गणतन्त्रको चेतनाका रूपमा लिनु पर्दछ ।
कविताको कुरा गर्दा यो चेतना कविताको कथ्यका रूपमा, त्यसको विचारधारात्मक अन्तर्वस्तु बनेरै प्रकट हुन्छ । यद्यपि त्यस क्रममै पनि कतै यो निकै ध्वन्यात्मक रूपमा प्रस्तुत हुन्छ भने कतै सोझै प्रत्यक्ष कथनकै रूपमा पनि व्यक्त हुन्छ ।
गणतन्त्रको चेतना केवल राजनीतिक व्यवस्थाको स्थापना र कुनै निरङ्कुश राजनीतिक व्यवस्थाको विरोध र अन्त्यको कामनासँग मात्र सम्बन्धित छैन, अपितु यो एउटा जीवनपद्धति र संस्कृतिसँग पनि सम्बन्धित छ र यो एक प्रकारले मानवमूल्यसँग सम्बन्धित छ । कुनै पनि आधारमा कसैमाथि दमन गर्ने र नगर्ने, कसैलाई अधीनस्थ बनाउने र नबनाउने, कसैको स्वतन्त्रता हरण गर्ने र नगर्ने, कसैमाथि उत्पीडन गर्ने र नगर्ने कुरासँग निरङ्कुशतन्त्र र गणतन्त्रको सम्बन्ध रहन्छ । नेपालका विशिष्ट सन्दर्भमा गणतन्त्र जनताको सच्चा जनतन्त्र हो भने त्यो सामन्तवादको अन्त्यका साथै साम्राज्यवादी उत्पीडनका विरुद्धको संघर्ष र त्यसबाट मुक्तिविना सम्भव छैन । त्यसैले हाम्रा सन्दर्भमा गणतन्त्रको चेतना राष्ट्रिय स्वाधीनताको चेतना पनि हो अथवा यी दुवै एकअर्काका पूरक हुन् (शर्मा, अनिल १९) । यही चेतना साहित्यका विधागत विशिष्टतामा संश्लिष्ट भएर अभिव्यक्त हुन्छ । कविताको कुरा गर्दा यो चेतना कविताको कथ्यका रूपमा, त्यसको विचारधारात्मक अन्तर्वस्तु बनेरै प्रकट हुन्छ । यद्यपि त्यस क्रममै पनि कतै यो निकै ध्वन्यात्मक रूपमा प्रस्तुत हुन्छ भने कतै सोझै प्रत्यक्ष कथनकै रूपमा पनि व्यक्त हुन्छ । कहीँ कविले सोझै कत्ति नघुमाई व्यक्त गर्दछ, कतै प्रतीक र बिम्बको साहारा लिन्छ र घुमाउरो पाराले अभिव्यक्त गर्दछ । खास गरी निरङ्कुशता विरोधी आन्दोलन तीव्र बनेका बेला कविता स्वयं पनि आन्दोलनको एउटा अस्त्र बन्न पुग्दा कविहरूले सोझै राजतन्त्र, सामन्तवाद, साम्राज्यवाद, निरङ्कुशता आदिका विरुद्ध जेहाद छेडेका छन् र कविता झन्डै नाराकै नजिक पनि पुगेको छ, पुग्छ अनि त्यस्तो आन्दोलन कमजोर भएको र निरङ्कुश शक्ति बलियो भएको बेला तथा कतिपय स्रष्टाका आफ्नै कलाचेतका पृष्ठभमिमा यस चेतनाको प्रतीकात्मक / ध्वन्यात्मक अभिव्यक्ति पनि भएको पाइन्छ ।
४. नेपाली कवितामा गणतान्त्रिक चेतनाको पृष्ठभूमि
नेपाली कवितामा गणतान्त्रिक चेतनाको औपचारिक र मूर्त अभिव्यक्ति राणाशासन विरोधी आन्दोलनकै सेरोफेरोबाट भएको हो । यसरी हेर्दा पुग नपुग ९ दशकको अवधि यसले प्राप्त गरेको देखिन्छ तर यसको पृष्ठभूमि भने निकै लामो छ । सोझै नदेखिए पनि यो चेतना लामो कालखण्डदेखि नेपाली समाजमा कुनै न कुनै रूपमा विद्यमान रहेको अध्येताहरू स्वीकार गर्दछन् । त्यसैले यस चेतनाको मूर्त अभिव्यक्तिबारे छलफल गर्नुअघि थोरै यसका पृष्ठभूमिका बारेमा दृष्टि दिनु सान्दर्भिक हुने देखिन्छ ।
४.१ सामाजिक राजनीतिक पृष्ठभूमि
गणतान्त्रिक चेतनाको पृष्ठभूमिको कुरा गर्दा यो निकै लामो देखिन्छ र यसलाई आनुवंशिक राजतन्त्रको आरम्भ हुनुअघिको स्वतःस्फूर्त गणतान्त्रिक समाजको परिवेश र तज्जन्य चेतनासँग जोडेर हेर्नु पर्दछ । मुरारी अर्यालले यस ऐतिहासिक सन्दर्भको चर्चा गर्दै मानदेवको शासनकाल (इसाको ४६० तिर) मा नेपालखाल्डोको संघीय गणराज्यमा सम्मिलित हुन पूर्वका किरात र पश्चिमका मल्लहरूले गणराज्यको आदर्श विपरीत अस्वीकार गरी विद्रोह गरेको घटना (यद्यपि त्यस विद्रोहलाई लिच्छवीहरूले दमन गरेर पराजित गरेका थिए) लाई राजतन्त्रका विरुद्धको चेतनाका रूपमा लिनु पर्ने बताएका छन् (अर्याल ७) । उनको निष्कर्ष के हो भने वृषदेव र पछि मानदेव प्रथमबाट वंशानुगत राजतन्त्रको स्थापना भएदेखि नै उक्त वंशानुगत राजतन्त्रका विरुद्धको चेतना नेपाली समाजमा कुनै न कुनै रूपमा विद्यमान रहँदै आयो । अन्धकारपूर्ण त्यस युगमा पनि जनताको कष्टका निम्ति राजतन्त्रलाई जिम्मेवार ठहर्याई कुनै पनि मानिस राजाभन्दा सानो छैन भन्ने सन्देश प्रवाहित गर्न सहजयान र त्यससँग सम्बद्ध शैव या बौद्ध तान्त्रिकहरू क्रियाशील रहेको अभिमत अर्यालले प्रस्तुत गरेका छन् (७) । यसबाट प्राचीन युगमा राजतन्त्र र त्यसको उत्पीडनका विरुद्धको चेतना विकसित थियो भन्ने स्पष्ट हुन्छ ।
वंशानुगत राजतन्त्र संस्थागत भइसकेपछि शाहवंशको कालसम्म आइपुग्दा भने (जसलाई चेतनाका दृष्टिले अन्धकार युग भनिएको छ) प्राचीन गणतन्त्रको इतिहास पूर्णतः विस्मृत भइसकेको देखिन्छ । यद्यपि लिच्छवीदेखि मल्लकाल हुँदै शाहकालसम्म सामन्तवाद र राजतन्त्रका दमन उत्पीडनका विरुद्धका असन्तुष्टि कुनै न कुनै रूपमा विद्यमान थिए तर वर्गसङ्घर्षले स्पष्ट रूप प्राप्त गरिसकेको थिएन । पुष्पलालका अनुसार प्रथम विश्वयुद्धभन्दा पहिले नेपाली जनआन्दोलनको स्वरूप राजनीतिक नभई धार्मिक थियो । प्रथम विश्वयुद्धपछि जनआन्दोलनले धार्मिक क्षेत्रबाट अघि बढ्दै सामाजिक र राजनीतिक स्वरूप ग्रहण गर्न थाल्यो (पुष्पलाल १७३) । यसले के देखाउँछ भने प्रथम विश्वयुद्ध (सन् १९१४–१९८ अर्थात् वि.सं. १९७१–१९७५)अघि राजनीतिक प्रकारको संघर्ष वा विद्रोहले स्पष्ट स्वरूप प्राप्त गरिसकेको थिएन र सामन्तवादी शासनसत्ता र त्यसका उत्पीडनप्रति जे जति असन्तुष्टि र विरोधहरू थिए ती धार्मिक सुधारको आन्दोलन वा अभियानका माध्यमबाटै व्यक्त भएका थिए ।
उपर्युक्त सन्दर्भमा नेपाली समाजको गतिविधिलाई हेर्दा सन्त सम्प्रदायका माध्यमबाट सामाजिक कुरीति, ब्राह्मणवाद, जातीय भेदभाव र अन्यायका विरुद्ध भएको आन्दोलन नै राजनीतिक, सामाजिक तथा बौद्धिक चेतनासमेतका दृष्टिले निकै महङ्खवपूर्ण रहेको छ । यसै क्रममा ओखलढुंगाको रुम्जाटारमा मठ बनाएर बसेका सन्त ज्ञानदिलदास सामाजिक सुधारको आन्दोलनकै कारण वि. सं. १९३३ तर जेल परेको र उनले पूर्वी पहाडका गाउँमा जातपात, छुआछुतको विरोधमा अभियान चलाएको सन्दर्भ उल्लेखनीय छ भने यसै समयतिर गोरखा बुङ्कोटका ‘मोक्षमण्डल’का अनुयायी लखन थापा द्वितीयले वि. सं. १९३३ सालको रामनवमीका समयमा नेपालका तत्कालीन श्री ३ जङ्गबहादुर राणाको निरंकुशताविरुद्ध विद्रोह गरेको र बुङ्कोटस्थित उनीलगायत उनकै मठका सात अनुयायी समेतलाई गोरखाको मनकामना देवी मन्दिर परिसरमा लगेर फाँसी दिइएको (शर्मा, जनकलाल ६४) घटना पनि निकै ऐतिहासिक महङ्खवको रहेको छ । सोझै गणतन्त्रसँग सम्बन्धित नभए पनि सामन्तवादका विेभेदकारी एवं उत्पीडक मूल्यमान्यताका विरुद्धको चेतनालाई क्रियारूप दिएवापत फाँसीमा चढ्नु पर्ने यो घटना सामाजिक चेतनाको विकासका सन्दर्भमा महङ्खवपूर्ण हुनु अस्वाभाविक होइन ।
नेपालमा सन्त सम्प्रदायसँगै आर्यसमाजी सम्प्रदायको सामाजिक सुधारको आन्दोलन पनि ऐतिहासिक महङ्खवकै छ । उक्त समयमा पूर्वतिर पनि आर्यसमाजी मतको विकास भएको थियो । त्यसका मुख्य अनुयायीमध्ये एक धौलावीर राईले भोजपुर क्षेत्रमा रैतीहरूबाट लिइने अतिरिक्त श्रमको चलन बन्द गराउन अभियान चलाई ठुलो प्रयत्न गरे (तिम्सिना ११) । उनले साधुजोगीहरूलाई जाँडरक्सी, सुर्ती, हुक्का, सुल्फा, चिलिम नखान पनि आह्वान गर्नुका साथै कृषिमजदुरहरूको ज्याला बढाउन पनि आन्दोलन गरे र नयाँ थिति बसाए । यही सुधार आन्दोलन बढ्दै गएका पृष्ठभूमिमा भोजपुरमा २००७ सालको क्रान्तिका नायकका रूपमा नारदमणि थुलुङ, रामप्रसाद राई जस्ता सेनानीहरूको उदय भएको बताइन्छ (तिम्सिना ११) ।
वि. सं. १९५३ मा नोपलमा (पोखरामा) माधवराज जोशीबाट आर्य समाजको स्थापना भयो । वीर शमशेरका शासनकाल स्थापना भएको र वीर शमशेर स्वयंले नकर्मी जातिकी युवतीसँग बिहे गरी दरबार भित्र्याएकाले जातपात नमान्ने आर्यसमाजी माधवराज जोशीलाई उनले गतिविधि गर्न छुट दिए तर चन्द्र शमशेरका पालामा भने दरबारिया पण्डितहरूले जातपात, धर्म नामन्ने भनी जोशी विरुद्ध उजुरी दिएपछि तत्कालीन राजा पृथ्वीवीर विक्रम, चन्द्र शमशेर र अन्य भारदारसामु दरबारिया पण्डित (प्रयागराज पाण्डेलगायत) र माधवराज जोशीबिच शास्त्रार्थ गर्न लगाइयो । उक्त सभामा जातीय विभेद र धार्मिक पाखण्डको तर्कपूर्ण आलोचना गरेपछि जोशीविरुद्ध सबै खनिए र अन्ततः चन्द्र शमशेरबाट आदेश लिई जोशीलाई कुटपिट गरियो । उनको टाउको फुट्यो । धर्म नमान्नेलाई यस्तै हुन्छ भनेर सहर घुमाइयो र बन्दी बनाइयो । उनका छोरासहित उनीहरूको पानी काढियो । पछि अन्य आर्यसमाजीहरूलाई पनि गिरफ्तार गरियो (गौतम ६१) । यसपछि यस आन्दोलनमा केही सुस्तता आए पनि यो रोकिएन र यिनीहरूका गतिविधिसँगै गिरफ्तारीको क्रम पनि चलि नै रह्यो ।
सन्त सम्प्रदायको विकास आर्यसमाजी अभियानबाट आसाममै धेरथोर परिचित हुन पुगेकी योगमायाको नेपाल आगमन (वि. सं. १९६०–६५का बिच) पछिका गतिविधि पनि निकै महङ्खवपूर्ण रहे । बालविवाहको पीडा बेहोरेकी उनले सानैदेखि पितृसत्तात्मक उत्पीडन मात्र भोगिनन्, त्यसैका प्रतिक्रियास्वरूप उनी विद्रोही पनि बन्दै गइन् । उनी जोसमनी सन्त सम्प्रदाय र आर्यसमाज दुवैबाट प्रभावित थिइन् तर कुनै एउटै सम्प्रदायसँग आबद्ध नभई उनी आफ्नै ढंगले भोजपुर (मझुवाबेसी)लाई केन्द्र बनाएर धार्मिक तथा सामाजिक आन्दोलन चलाइन् । वेदमा आधारित धर्मराज्यको स्थापनाालाई मूल लक्ष्य बनाई उनको समूहले त्यस क्षेत्रमा सामन्तवादी जातीय उत्पीडन, छुवाछुत, कर्मकाण्डी रुढि, बालविवाह, विधवामाथिको दुव्र्यवहार, आर्थिक शोषण, अड्डा अदालतमा हुने घुसखोरीलगायत विभिन्न खाले अन्यायका विरुद्ध धार्मिक आवरणमै ठुलो अभियान चलायो । धर्मराज्यको भिक्षा मागेको र तत्कालीन राणा शासकहरूबाट त्यसको बेवास्ता भएपछि योगमायाले अन्ततः १९९८ साल कार्तिक ३१ गते ६७ जना अनुयायीसहित अरूण नदीमा सामूहिक जलसमाधि लिएको घटना पनि नेपालको सामाजिक आन्दोलनमा र सामन्तवादविरोधी चेतनाको विकासका सन्दर्भमा ऐतिहासिक महङ्खवकै परिघटनाका रूपमा रहेको छ । यो समूह मूलतः वेदमार्गी धार्मिक नै थियो तर यो सामन्ती रुढि र शोषण तथा नारीमाथिको पितृसत्तात्मक उत्पीडनका विरुद्ध सक्रिय थियो । अर्को प्रकारले भन्दा लिच्छवी शासनकालमा आरम्भ भएको र जङ्गबहादुरका मुलुकी ऐनले कानुनी रूपमै वैधता दिई बलियो बनाएको वर्णव्यवस्थाका विरुद्ध थियो योगमायाको आन्दोलन ।
यता काठमाडौंमा फेरि १९७७ मा आर्यसमाजको पुनर्गठन भयो र यसले आफ्ना गतिविधि गर्न थाल्यो । यसै क्रममा १९९४ मा माधवराज जोशीका छोरा शुक्रराज जोशी, केदारमान व्यथित, गङ्गालाल श्रेष्ठ, पण्डित मुरलीधर, राजलाल कलवार, आनन्दराज, शङ्कर प्रसाद शर्माहरू मिलेर नागरिक अधिकार समिति स्थापना गरे । उता १९९३ मा टङ्कप्रसाद आचार्यका अगुवाइमा नेपाल प्रजा परिषद्को स्थापना भइसकेको थियो । यसपछि औपचारिक रूपमा नेपालका इतिहासमा सामन्तवादी निरङ्कुशता विरुद्ध राजनीतिक आन्दोलनको आरम्भ भयो । त्यसकै परिणतिस्वरूप १९९७ सालमा सहिदपर्वको घटना घट्यो । पछि २००४ सालमा नेपाली काङ्गेसको स्थापना र २००६ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि राजनीतिक आन्दोलनले नयाँ मोड लियो भने यी राजनीतिक आन्दोलन र यिनका परिणामहरू गणतान्त्रिक चेतनाको विकासका महत्त्वपूर्ण पृष्ठभूमि बने ।
४.२ साहित्यिक पृष्ठभूमि
गणतान्त्रिक चेतनाको साहित्यिक पृष्ठभूमिको कुरा गर्दा जोसमनी सन्त साहित्यकै उल्लेख गर्नुपर्ने हुन्छ । हुन त मुरारी अर्यालले हाँडीगाउँको सत्यनारायण स्थानको एउटा शिलालेखमा ब्राह्मी लिपिको संस्कृत भाषामा लेखिएको एउटा छन्दोबद्ध कविता ‘व्यासस्तुति’को उल्लेख गरेका छन् । यो अनुपरम भन्ने व्यक्तिद्वारा लेखिएको हो र यसको समयावधि मानदेव प्रथमको शासन (इस्वी ४६० तिर) का वरिपरिको मानिएको छ । यसमा कतै पनि राजाको स्तुति छैन । अर्यालको तर्क के हो भने त्यतिबेलाका (र पछि पनि) प्राप्त जति पनि अभिलेखहरू छन् तिनमा राजाको उल्लेख अनिवार्य रूपले छ । राजाको स्तुति नगरी लेखकले आफ्नो मात्र नाम उल्लेख गरी लेखेको र राजाको स्तुतिका सट्टा ज्ञान/विद्याका प्रतीक मानिने महर्षि व्यासको स्तुति गरेको यो सामान्य घटना नभएको र यसलाई वंशानुगत राजतन्त्रका विरुद्धको एक प्रकारको चुनौती, अस्वीकृति अनि राजतन्त्रअघिको मौलिक लोकतान्त्रिक चेतनाको प्रभाव र परिणामको सङ्केतका रूपमा लिनु पर्ने बताएका छन् (अर्याल ४) ।
अर्यालको उक्त तर्कले गर्ने सङ्केत भनेको नेपाली समाजमा प्राचीन कालमा (वंशानुगत राजतन्त्रको आरम्भ हुँदाताका) नै पनि राजतन्त्र विरोधी चेतना थियो र त्यस चेतनाका लेखक थिए भन्ने हो । यो एउटा प्राक्कल्पना हो जसलाई पूर्णतः सत्यापन गर्न बाँकी छ तर पनि यो असम्भव र अस्वाभाविक कुरा होइन । स्वतन्त्रता मानवीय नैसर्गिक चाहना हो र दासता वा उत्पीडनको विरोध सचेत मानिसको स्वभाव हो । अतः प्राचीन कालमै पनि यस चेतनाका लेखक थिएनन् भन्न सकिन्न । तर जहाँसम्म नेपाली भाषा (यस अर्थमा पनि कि खस नेपाली भाषाको लेख्य परम्परा नै अन्यका तुलनामा पुरानो छ) को सन्दर्भ छ, यसका लेख्य परम्परामा आउँदा गणतान्त्रिक चेतनाको पृष्ठभूमि मान्न सकिने गरी सन्त साहित्यलाई नै लिनुपर्ने हुन्छ ।
सन्तधारका कवि ज्ञानदिलदासका कवितामा सुधारवादी चेतना प्रखर छ । उनले हिन्दू धर्ममा आधारित वर्णवाद, जातिवाद, हिंसावाद र मूर्तिपूजाको विरोधका साथै कर्मकाण्डी ब्राह्मणवादको विरोध गरेका छन् । धर्मका नाममा ढोंग, भेदभाव र उत्पीडनको आलोचना मात्र नभई तत्कालीन ऐन कानुन पनि धनीमानीको पक्षमा भएको भन्दै न्यायव्यवस्थाको पनि आलोचना गरेका छन् :
अइन बज्र्यो धनीको फिर्यो जगमाहाँ
घुस्याहा विचारी निसाफ हेर्छ काहाँ ।
यसरी ज्ञानदिलदासका कविताहरूले एकातिर वर्गबोधलाई व्यक्त गरेका छन् भने तत्कालीन शासनको चरित्र, समाजमा व्याप्त उत्पीडनकारी धार्मिक सामाजिक परम्परालाई उद्घाटित गर्नुका साथै त्यसको आलोचना गर्दै समाजसुधारका लागि आह्वान पनि गरेका छन् । यो लोकहितकारी कार्य हो । यो पूर्णतः गणतन्त्रकै चेतना त होइन तर सामन्तवादका कतिपय अधिरचनात्मक संरचना र मूल्यमान्यतामाथिको प्रहार त हो नै । त्यसकारण यो गणतान्त्रिक चेतनाका लागि सजातीय छ र त्यसको पूर्वपृष्ठभूमि समेत बनेको छ ।
सन्त ज्ञानदिलदासकै परम्परामा अझ प्रखर भएर योगमायाका योगवाणीहरू आएका छन् । वि. सं. १९६०–१९८०का बिच मौखिक परम्परामै रचना गरिएका उनका सर्वार्थ योगवाणीहरू उनकै कर्म/अभियानलाई शब्दमा व्यक्त गरिएका हुन् र तिनमा सामाजिक चेतनाको विशिष्ट अभिव्यक्ति समेत भएको छ । ती वाणीहरू मूलतः योगमायाको वेदाश्रित धार्मिक चिन्तनकै सीमामा रचना गरिएका हुन् तर तिनमा नारीमाथिको पितृसत्तात्मक उत्पीडन विरोधी स्वर, नारी स्वतन्त्रताको चेतना, छुवाछुत तथा जातीय भेदभावविरोधी चेतना, बालविवाहको विरोध, विधवा विवाहको समर्थन, आर्थिक शोषणको विरोध, कर्मकाण्डीय रुढिको विरोध तथा सबै किसिमका शोषणको विरोध उनका योगवाणीमा पाइन्छ । समालोचक निनु चापागाईंले उनका विचार र रचनामा उनी जोसमनी सन्त परम्परान्दा गुणात्मक रूपले नै अघि बढेको उल्ल्ख गर्दै (योगमाया ५२) सामाजिक कुरीति तथा शोषण उत्पीडनका विरुद्ध कलम चलाउने सन्दर्भमा समकालीन कवि धरणीधरका बनारसबाट प्रकाशित जागरणमुखी कविताका दाँजोमा पनि अगाडि रहेको बताएका छन् (७१) । योगमायाका विचारहरू धर्मराज्यको अवधारणामा आधारित छन् र त्यसको मूल आधार वेदलाई बनाइएको छ । एक प्रकारले यो वैदिक सभ्यता र वैदिक (धर्म) राज्यको स्थापनाको माग र आन्दोलन हो । यद्यपि उनले (र उनको समूहले) यो माग तत्कालीन सत्तासँग मागे (जो पुरा हुनु सम्भव थिएन र भएन पनि) तर अर्को प्रकारले धर्मराज्यको यो अवधारणा प्राक् गणतान्त्रिक चेतना नै हो । समाज परिवर्तनका बारेमा उनको योगवाणी भन्छः
सारथी उत्रनेछ धर्म जाग्नेछ
राजा, मन्त्री, भारदारलाई ठक्कर लाग्नेछ ।
(योगवाणी)
यसरी योगमायाका रचना पनि नेपाली साहित्यमा गणतान्त्रिक चेतनाको विकासका महङ्खवपूर्ण पृष्ठभूमि हुन् भनेर भन्नै पर्ने हुन्छ । यसपछि मकै पर्व (१९७७) को घटना पन प्रत्यक्ष परोक्ष रूपमा एक प्रकारको लेखकीय स्वतन्त्रता र त्यसमाथिको दमनमा सन्दर्भमा महङ्खवपूर्ण ऐतिहासिक परिघटनाका रूपमा रहेको छ जसले परवर्ती कालका लेखकहरूमा निरङ्कुशताविरोधी चेतनाको विकासमा कुनै न कुनै रूपले प्रभाव पारेको छ ।
५. वि. सं. २००७ अघिका नेपाली कवितामा गणतान्त्रिक चेतना
नेपालको राजनीतिक इतिहासमा विसं. १९९० देखि २००७ सम्मको अथवा अलि विस्तारमा भन्दा २००७ अघिको दुई दशकको अवधि विशेष महङ्खवको रहेको छ । यही अवधिमा राणाशासनका विरुद्ध (र एक किसिमले सामन्तवादका विरुद्ध)को राजनीतिक आन्दोलनको आरम्भ र विकास भयो । क्रान्तिकै रूपमा सफल नभए पनि राणाहरूको पारिवारिक वर्चस्व समाप्त भयो र राजनीतिक स्वतन्त्रता तथा खास गणतन्त्रका लागि आन्दोलनको ढोकाचाहिँ उघ्र्यो । यसको प्रभाव साहित्यमा पर्यो भने साहित्यमा अभिव्यक्त क्रान्तिकारी चेतनाले पनि आन्दोलनलाई बल पुग्ने स्थितिको निर्माण हुँदै गयो ।
नेपाली साहित्यमा २००७ सालअघिका सन्दर्भमा गणतान्त्रिक चेतनाको कुरा गर्दा यसलाई तत्कालीन समयमा जहानिया तथा निरङ्कुश राणाशासनका विरुद्ध र त्यसबाट मुक्तिचाहनाकै सन्दर्भमा लिनुपर्ने हुन्छ । यो चेतना आधुनिकताको उद्भावकसमेत बनेर देखा परेको छ । अझ सुरुमा प्रखर क्रान्तिकारीभन्दा पनि सुधारवादी र जागरणमुखी चेतनाकै रूपमा प्रकट भएको र विस्तारै प्रछन्न क्रान्तिकारी चेतनामा रुपान्तर हुँदै गएको देखिन्छ । यस क्रममा १९७० का दशकमा नेपालबाहिर देहरादुन, बनारस, दार्जिलिङ, असम आदि ठाउँबाट प्रकाशित भएका गोर्खाली, चन्द्र, जन्मभूमि, गोर्खासंसार, नेपाली साहित्य सम्मेलन जस्ता पत्रिकाहरूको महङ्खवपूर्ण भूमिका रहेको छ । धरणीधरको ‘नयपाली ठिटो’ लेखिनुभन्दा अगाडि नै मणिसिंह राईका सक्रियतामा गोर्खाली (१९७२) मार्फत गणतान्त्रिक चेतनाको प्रसार हुन थालिसकेको थियो (अर्याल २६) । मणिपुरमा जन्मिएका कलकत्ता विशवविद्यालयबाट बि. ए. पास गरेका मणिसिंह गुरुङ र पद्मनाभ सापकोटा यस नवीन गणतान्त्रिक चेतना प्रावहका पहिला पथिक हुन् भन्ने विचार मुरारी अर्यालले प्रस्तुत गरेका छन् (२६) । यो समय प्रथम विश्वयुद्धको उथपुथल र त्यसै बिचबाट परिवर्तन र राष्ट्रिय मुक्तिका प्रक्रियाहरू मूर्त हुँदै थिए । ती सन्दर्भबाट पनि नेपालभित्र परिवर्तनको चेतना भित्रिन मद्दत पुग्यो र स्रष्टाहरूमा विस्तारै त्यसले प्रभाव पार्दै गयो ।
जहाँसम्म कविहरूको सन्दर्भ छ, जागरणमुखी कविताका सन्दर्भमा कवि धरणीधर कोइरालाको नाउँ अगाडि आउँछ । यद्यपि उनले नेपालभित्रै बसेर कविता रचना गरेनन् । उनले बनारस तथा दार्जिलिङमा बसेर कविता रचना गरे र बनारसबाटै १९७७ मा उनको नैवेद्य कविता सङ्ग्रह प्रकाशित भयो । नैवेद्यका कवितामा उनले जातीय जागरणको, सामाजिक सुधारको सञ्चेतनालाई प्रकट गरेका छन् । ‘जाग, जाग अब जाग न जाग’ जस्ता कविताका माध्यमबाट उनले नेपाल र नेपालीहरू घोर निद्रामा सुतेको बताउँदै जाग्नका लागि र देशलाई परिवर्तन गर्नका लागि आह्वान गरेका छन् । उनी धार्मिक सीमाबाट मुक्त छैनन् तर उनको जागरणचेतले तत्कालीन शासन व्यवस्थाले देशलाई अन्धकारमय बनाएको सत्यलाई ध्वनित गरेको छ । पछि राणाविरोधी आन्दोलन बढ्दै जाने क्रममा उनले लेखेको ‘नयपाली ठिटो’ कविताचाहिँ गणतान्त्रिक चेतनाका सन्दर्भमा सर्वाधिक चर्चित र उल्लेख्य कविताका रूपमा रहेको छ । यसमा उनले लेखेका छन्ः
नयपाल स्वतन्त्र गराउनको
रणभेरि सुनेर जुरुक्क उठ्यो
परतन्त्र हरे निज देश बुझ्यो
अनि भाव र आग्रह पूर्ण भयो
गणतन्त्र गराउन गर्जिउठ्यो
छरितो र छिटो नयपालि ठिटो ।
(नैवेद्य)
यसमा औपचारिक रूपमै गणतन्त्रको चेतनालाई व्यक्त गर्ने यो २००७ सालअघिको सम्भवतः पहिलो कविता नै हो । त्यसैले यसको ऐतिहासिक महत्त्व छ । धरणीधरपछि यसै समयतिरका नेपाली भाषाचिन्तक तथा प्रखर सामाजिक चेतनाका कवि महानन्द सापकोटाको नाम उल्लेखनीय छ । उनी सामन्तवाद र विभेदकारी समाज व्यवस्थाका उत्पीडन विरोधी चेतनाका सन्दर्भमा धरणीधरभन्दा पनि अगाडि छन् (अर्याल २९) । उनले नेपालमा सामन्तवादले जरा गाडेर बसेको र त्यसको अन्त्य नभई नेपालीहरूको कल्याण नहुने विचारलाई आफ्ना रचनामा निकै प्रखर ढंगले अभिव्यक्त गरेका छन् :
सयमा दश पाँच धनी गनिने /अरूले तिनकै करिया गनिने
विधिको यदि यै छ विधान भने / अब त्यै विधिको पनि आयु पुग्यो ।
यो चेतना प्रकारान्तरले गणतान्त्रिक चेतना नै हो । वर्गीय उत्पीडनको अन्यायूपर्ण व्यवस्था कायम राख्न मद्दत गर्ने विधि (परमशक्ति)कै समेत आयु पुगेको भन्दै त्यसका अन्त्यको समेत कामना गर्ने यो कविता क्रान्तिचेतनाका दृष्टिले सामान्य होइन । गणतन्त्र शब्दकै प्रयोग नगरे पनि सामन्तवादका विरुद्ध हुङ्कार गरेर यसले गणतान्त्रिक चेतनालाई सबल बनाएको छ।
बनारस प्रवासमा पुगेपछि उनले पहाडी पुकार (२००५) जस्ता कविता मार्फत राणा शासनका विरुद्धको विद्रोही चेतनालाई निकै मूर्त र ठोस बनाउन पुगेको देखिन्छ । यद्यपि यतिबेला उनमा समाजवादी चेतनाको विकास भइसकेको थिएन तर गणतान्त्रिक चेतनाको विकासका लागि यो महत्वपूर्ण आधारचाहिँ थियो नै ।
धरणीधर र महानन्दपछि सामन्तवाद विरोधी चेतना अथवा निरङ्कुश राणाशासनका विरुद्धको क्रान्तिचेतनाको कवितात्मक अभिव्यक्तिको कुरा गर्दा १९९० का दशकतिर आइपुगिन्छ । यस दशकका आरम्भतिरबाट स्वच्छन्दतावादी धाराको प्रवर्तन भयो । लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, केदारमान व्यथित यी सबै स्वच्छन्दतावादी कवि भएरै आए र आरम्भतिर यिनका कविता विशुद्ध प्रकृतिकेन्द्री निष्क्रिय स्वच्छन्दतावादी थिए भने विस्तारै सामाजिक सरोकारतिर तानिंदै तिनका कवितामा क्रान्तिकारी स्वच्छन्दतावादी प्रवृत्ति देखिन थाल्यो । १९९० को दशकको कुरा गर्दा कवितामा देवकोटाभन्दा पूर्ववर्ती भएर सिद्धिचरण राणाशासन विरोधी क्रान्तिकारी चेतना व्यक्त गर्छन् । १९९२ को ‘जुनकिरी’ मा उनले ‘जताततै राज्य छ अन्धकारकै’ भनेर अत्याचारी राणाशासनप्रति सङ्केत गरे भने १९९३ को ‘उच्छवास’मा “आमा, मेरो मेरै बाटो, होइन म नियतिको बन्दी” भन्दै आफूले तत्कालीन निरङ्कुश परिवेशप्रतिको विद्रोहभाव व्यक्त गरे । ‘परिचय’ शीर्षकको अर्को कवितामा उनले जनद्रोही र देशद्रोही शासन शासका विरुद्ध यस्तो विद्रोह व्यक्त गरेः
अत्याचारी यदि छ त कहीँ माथ नै ताक्छु त्यसको
देशद्रोही यदि छ त कहीँ माथ नै ताक्छु त्यसको ।
लक्ष्मीप्रसाद देवकोटाले २००० आइपुगेपछि कवितामा कठोर सामाजिकताको वरण गर्दै र विद्रोही चेतनालाई क्रमशः आत्मसात् गर्दै राणाशासनका विरुद्ध क्रान्तिकारी चेतना अभिव्यक्त गर्न थालेको देखिन्छ । उनका ‘साँढे’(२००३) र ‘बाघले बच्चा किन खान्छ ?’ जस्ता कवितामा प्रतीकात्मक ढङ्गले जहानिया राणाशासनका विरुद्ध आक्रोश र आलोचना छ र यसले उहाँमा क्रमशः गणतान्त्रिक चेतना विकसित हुँदै गएको सङ्केत गर्छ । बनारस प्रवासमा पुगेपछि उनले पहाडी पुकार (२००५) जस्ता कविता मार्फत राणा शासनका विरुद्धको विद्रोही चेतनालाई निकै मूर्त र ठोस बनाउन पुगेको देखिन्छ । यद्यपि यतिबेला उनमा समाजवादी चेतनाको विकास भइसकेको थिएन तर गणतान्त्रिक चेतनाको विकासका लागि यो महत्वपूर्ण आधारचाहिँ थियो नै ।
क्रान्तिकारी चेतनाको कुरा गर्दा २००० मा प्रकाशित गोपालप्रसाद रिमालको ‘आमाको सपना’ ऐतिहासिक महङ्खवको कविताका रूपमा देखापर्दछ । राणकालीन निरङ्कुश शासनबाट मुक्ति क्रान्तिका माध्यमबाट मात्र हुनसक्छ भन्ने वास्तविकताबोध भएपछि (भण्डारी ५३) क्रान्तिको आवाहन गर्न पुगेका रिमाल शान्तिका निमित्त बुद्ध र क्रान्तिका निमित्त लेनिन जन्माउनुपर्ने निष्कर्षमा पुगेर (अर्याल ३१)लेख्छन् :
मलाई त प्रेम र क्रान्ति बराबर छ
…. …. …. ….
मलाई क्रान्तिले नमस्कार गर्न बाँकी नै छ ।
मैले त क्रान्तिलाई सलामी दिइसकेँ
क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ ।
म क्रान्तिको भोको छु
क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ ।
यसरी आफ्ना कवितामा रिमालले त्यस समयको निरङ्कुश व्यवस्था र सामन्तवादी उत्पीडनका विरुद्ध क्रान्तिको जो स्वप्न देखेका छन्, त्यो गणतान्त्रिक चेतनासँगै सम्बद्ध छ । रिमालले देखेको सपना गणतान्त्रिक समाजसँगै सम्बद्ध छ ।
६. वि. सं. २००७ देखि २०१७ का कवितामा गणतान्त्रिक चेतना
राणाशासन विरोधी आन्दोलनले २००७ मा एउटा उत्कर्ष प्राप्त गर्यो । यसको उद्देश्य जणगणतन्त्रको स्थापना थिएन तर पुँजवादी गणतन्त्रकै स्थापना पनि भएन । सात सालको दिल्ली सम्झौताले सामन्तवादको सारलाई कायमै राख्दै प्रजातन्त्र भनिएको एउटा व्यवस्था लागु गर्यो । संविधानसभाको निर्वाचन गराउने कुरा पनि केवल एजेन्डामा सीमित भयो । संसदीय आम निर्वाचनकै लागि पनि २०१५ साल पर्खिनु पर्यो । यसले जनतामा निराशा र आक्रोश दुवै बढाइरहेको थियो भने सामन्तवादी उत्पीडनका विरुद्ध संघर्षका गतिविधि पनि बढ्दै थिए । कम्युनिस्ट पार्टीको जन्म भइसकेको हुँदा त्यसका क्रियाशीलतामा साम्यवादी विचारधाराको प्रसार हुँदै थियो र चिनिया जनक्रान्तिको प्रभाव पनि पर्दै थियो । साथै, भारतीय स्वतन्त्रता सङ्ग्रामको प्रभाव पनि परिरहेको थियो । यी राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशले नेपाली राजनीतिक आन्दोलनमा जनगणतन्त्रको चेतना विकसित हुने अनुकूल परिवेशको निर्माण भयो । यसै पृष्ठभूमिमा २००९ सालमा प्रगतिशील लेखक संघको स्थापना समेत भयो र यसका नेतृत्वमा प्रगतिशील साहित्यको रचना तथा प्रचार प्रसारको काम पनि हुन थाल्यो । सिङ्गो साहित्यमै २००७–००८ तिरबाट प्रग्तिवादी साहित्यको एउटा पृथक् धारा नै आरम्भ भयो । यससँग सम्बद्ध प्रगतिवादी कविहरूका कवितामा गणतन्त्रको चेतना वर्गबोधी चेतना अथवा वर्गसङ्घर्षको चेतना तथा पुँजीवाद विरोधी चेतनासँगै अभिव्यक्त हुन थाल्यो ।
केवलपुरे किसानले दिल्ली सम्झौताको विरोध गर्दै पुनः सङ्घर्षका लागि आह्वान गरेर लेख्न थाले । राणाशाही खतम पार्ने ढोंगी नारा लगाएको र जनताको बिचल्ली पारेकोमा उनले कवितामा आक्रोश पोखे । ‘भारत सरकार मादल ठोक्ने र नेपाल सरकार नाच्ने’ भन्दै तत्कालीन सत्ताको समर्पणवादी उपनिवेशी चरित्रको पनि उनले आलोचना गरे । प्रतिक्रियावादी शासन व्यवस्था खतम नगरेसम्म शोषण र अत्याचार समाप्त नुहने भन्दै जनक्रान्तिका लागि आह्वान गरेर उनले लेखेः
नमान झर्को, कस मोर्चा अर्को किसानको बनाऊ राज
जनक्रान्ति गर्न के के गर्नु पर्छ, पढ चीनको इतिहास
मिलीमतो गर, नारा यौटै गर, शोषण गर्ने मूर्दावाद ।
(दुई वर्षअघि)
जनक्रान्ति गरी किसानको राज बनाउने र चीनबाट सिक्नु पर्ने कुराले स्पष्ट रूपमा जनगणतान्त्रिक चेतनाको र जनताको गणतन्त्रको स्थापनाको चाहना गरेको देखिन्छ । कवि किसानमा यो चेतना पछिसम्मै कायम रहेको छ ।
किसानजस्तै उक्त अवधिमा अर्का प्रग्तिवादी कवि गोकुल जोशीका कवितामा पनि गणतान्त्रिक चेतनाले विशेष अभिव्यक्ति पाएको छ । जनकविका रूपमा परिचित जोशीले देशका विभिन्न भागमा डुलेर क्रान्ति र परिवर्तनको चेतना विस्तार गरेका छन् । उनका कवितामा पनि तत्कालीन सत्ताको निरङ्कुशता र उत्पीडनको विरोध मात्र छैन, साम्रज्यवादी हस्तक्षेपको समेत विरोध छ । उनले लेखेका छन् :
अंग्रेज र अमेरिकनलाई पस्न दिनु हुन्न
मलायामा गोर्खा फौज बस्न दिनु हुन्न
बस्ने छैनौं अत्याचारी सामन्तीको छलमा
फस्ने छैनौं विदेशीको जालमा
(नेताहरूप्रति)
शोषकको साम्राज्यलाई तिलाञ्जली दिउँला
आजादीको मिठो रस मिलीजुली पिउँला
अन्याय र अशान्तिको नाश गराउँला
लडाइँको अन्त होला खुशी मनाउँला ।
(शान्ति, शान्ति, शान्ति)
गोकुल जोशीको विशेषता के हो भने उनले साम्रज्यवादको हस्तक्षेप र अतिक्रमणलाई राम्ररी चिनेका छन् र सामन्तवाद तथा साम्राज्यवाद दुवैबाट मुक्त नभई जनता र राष्ट्रको मुक्ति नहुने सत्यको बोध गरेका छन् । यो वास्तविक अर्थमा जनगणतान्त्रिक चेतना हो ।
सामन्तवाद र साम्राज्यवाद दुवैबाट मुक्ति र दुवैका विरुद्धको संघर्षको कुरा गर्दा यसै समयका उत्पाद कवि भूपि शेरचन (भूपेन्द्रमान शेरचन सर्वहारा) लाई बिर्सिन सकिन्न । नयाँ झ्याउरे (२०११) र निर्झर (२०१५) उनका त्यस अवधिका महङ्खवपूर्ण कृति हुन् । यिनमा उनले सामन्तवाद, पुँजीवाद तथा साम्राज्यवाद सबैसँग लडेर र तिनलाई परास्त गरेर मात्र जनताको सत्ता स्थापित हुने दृष्टिकोणलाई स्पष्टताका साथ प्रस्तुत गरेका छन् । उनले लेखेका छन्ः
धनवाद तिम्रो जनवाद हाम्रो एकदिन दाँजौंला
आमाको काखमा देशको नाममा एकदिन बाझौंला ।
…. …. ….. …. ….
मलायी पनि हामीझैं शोषित हामी हौं दाजुभाइ
दाजुभाइ दुश्मन हाम्रो एउटै हुन् धनवाद लत्याऊ
तिनीहरू पनि अंग्रेजद्वारा सारै छन् शोषित
लडेर सँगै दुनिया गरौं जनवादी घोषित ।
….. …. ….
खबरदार नेपाल नआ अमेरिकन ब्वाँसो
बेच्दैनौं हामी रुपियाँका लागि नेपालको हाँसो ।
(नयाँ झ्याउरे, २०१२)
कविताको कलाको कुरा आफ्ना ठाउँमा छ र त्यस कोणबाट बेग्लै मूल्याङ्कन गर्न सकिन्छ, तर गणतान्त्रिक चेतनाका सन्दर्भमा यी कविताहरूले ऐतिहासिक महङ्खव राख्दछन् । यस चरणमा प्रगतिवादी धाराका अन्य कविहरू कृष्णचन्द्रसिंह प्रधान, श्यामप्रसाद शर्मा, टी. आर. विश्वकर्मा, आनन्ददेव भट्ट आदिका कविताले पनि गणतान्त्रिक चेतनाको अभिव्यक्ति गरेका छन् ।
यस अवधिमा स्वच्छन्दतावादी धाराभित्रै रहेर पनि लक्ष्मीप्रसाद देवकोटा समाजवादी चेतनाबाट निकै प्रभावित भएको र यस चेतनाका निकट निकट पुगेर कविता लेख्न थालेको सन्दर्भ पनि उल्लेखनीय छ । खास गरी प्रगति र इन्द्रेणी कालीन देवकोटा क्रान्तिकारी तथा गणतान्त्रिक चेतनाका दृष्टिले उल्लेखनीय छन् । यद्यपि अर्यालले भनेझैं (००) उनमा रहेको निम्न पुँजीवादी मध्यम वर्गीय चेतनाका कारण र अझ, आर्य जातीय चेतनाको गहिरो प्रभावका कारण कहिले राजतन्त्रलाई समर्थन गर्न पुग्ने र आदर्शवादी चेतनाकै अभिव्यक्ति पनि गर्ने गरेको स्थिति देखिन्छ तर कृषिबाला, प्रमिथस जस्ता प्रबन्धात्मक कृति र कैयन फुटकर कवितामा उनी सामन्तवादको कठोर आलोचना र जनताको शासन व्यवस्थाको पक्षपोषण गर्छन् तथा क्रान्तिको आह्वान गर्छन् । उनलाई २००७ सालको परिवर्तनप्रति मोहभङ्ग भएको छ र त्यो प्रजातन्त्र खोक्रो, रित्तो र नक्कली रहेको निष्कर्षमा उनी पुगेका छन् । त्यसैले कतै उनी लेख्छन्ः “धरतीको यो मालिक्याइँ ठालुबाट खोस” । कतै लेख्छन्ः “प्रजातन्त्रको ढ्वाङ रित्तो करायो / कस्तो अनौठो जमाना आज आयो” । यस समयको उनको कृषिबाला (पद्य नाटक) र प्रमिथस महाकाव्य लगायत कैयन फुटकर कवितामा उनी गणतान्त्रिक चेतनाको संवाहक बनेरै देखा परेका छन् । यस दशकमा रिमाल र सिद्धिचरणको सक्रियता कमजोर भइसकेको छ भने देवकोटामा पनि उतारचढावहरू छन् । समग्रमा भने गणतान्त्रिक चेतनाका दृष्टिले यो २००७ को दशक निकै महत्त्वपूर्ण छ र राणाविरोधी मात्र होइन, सिङ्गो सामन्तवाद विरोधी, पुँजीवाद तथा साम्राज्यवाद विरोधी जणगणतान्त्रिक चेतनाका रूपमा यसको काव्यिक अभिव्यक्ति भएको छ । निश्चित रूपमा कलात्मक सीमाका बावजुद यस चरणका प्रगतिवादी कविता यस चेतनाको अभिव्यक्तिका दृष्टिले महङ्खवपूर्ण छन् ।
६. पञ्चायती कालखण्डको नेपाली कवितामा गणतान्त्रिक चेतना
नेपालको राजनीतिक इतिहासमा २०१७ साल नकारात्मक दृष्टिले विशेष महङ्खवको रह्यो किनभने राजा महेन्द्रको ‘कु’ले २००७ सालका सीमित प्राप्तिलाई मात्र खोसेन, पञ्चायतको प्रादुर्भावसँगै निरङ्कुश शासनको अर्को युगको थालनी पनि गर्यो । अभिव्यक्ति स्वतन्त्रतासमेत अपहरित भएको यस स्थितिमा अब पहिलाको जस्तो खुला रूपमा चर्को गरी सामन्तवाद विरोधी गणतान्त्रिक चेतनाको अभिव्यक्ति गर्ने परिवेश रहेन । राजनीतिक पार्टी त प्रतिबन्धित भए नै त्यही अवस्थामा कम्युनिस्ट पार्टीमा विभाजनसमेत आयो र २०२५ सम्म यो तिन टुक्रामा टुक्रियो(रावल ७३) । यसले गर्दा वर्गसङ्घर्ष कमजोर हुन पग्यो र स्रष्टाहरूले अभिव्यक्तिको अलि फरक बाटो पनि अँगाल्नु पर्ने बाध्यता भयो (पाण्डेय १६४) । यही फरक बाटो अँगाल्नु पर्ने परिस्थितिले प्रगतिवादी कविहरूलाई संयमित भई सिर्जना गर्नुका साथै समाजवादी यथार्थवादलाई सचेत रूपमा अङ्गीकार गर्ने आवश्यकता पनि जन्माइदिएको देखिन्छ । त्यसैले यसलाई पुनरुत्थानको अवधि पनि भनिएको छ (चापागाईं, यथार्थावादी… ८९) ।
वि. सं. २०२० को दशकमा वर्गसङ्घर्ष नयाँ ढङ्गले अगाडि बढ्दै थियो र २०२८ सालको झापा विद्रोह त्यसको एउटा उत्कर्षका रूपमा देखा पर्यो । यसका पृष्ठभूमिमा भारतको नक्सलवाडी आन्दोलन थियो र त्यसले झापा विद्रोह मात्र होइन, नेपाली वर्गसङ्घर्षको समग्र प्रक्रियालाई प्रभावित तुल्यायो । यसै अवधिमा झोडा काण्ड, महेशपुर सुस्तामाथिको अतिक्रमण जस्ता घटना पनि घटे र यिनका विरुद्ध प्रतिकार र प्रतिरोध पनि भए । यी सबै परिस्थितिले पूर्ववर्ती गणतान्त्रिक चेतनालाई अझ परिष्कृत, सुस्पष्ट र सबलीकृत गर्न सघाउ पुर्याए । परिणामस्वरूप प्रयोगवादका समानान्तरमा प्रगतिवादी कविताको एउटा मुख्य प्रवृत्ति बनेर गणतान्त्रिक चेतना अझ प्रखर र कलात्मक रूपमा देखा पर्न थाल्यो ।
यस अविधमा युद्धप्रसाद मिश्र, केवलपुरे किसान, रविललाल अधिकारी, नारायण शर्मा, जनक हुमागाईं, गोविन्द भट्ट, टी. आर. विश्वकर्मा, रुद्र खरेल, नरेश शाक्य, द्रोणाचार्य, लीला उदासी, कृष्ण पोखरेल, गोविन्द विकल, वेणु आचार्य, भवानी घिमिरे, मोदनाथ प्रश्रित, कृष्ण पाख्रिन, कुन्ता शर्मा, पारिजात, बम देवान, विमल विभा, मञ्जुल, रामचन्द्र भट्टराई, विक्रम सुब्बा, जसराज किराती, नेत्रलाल पौडेल अभागी, लगायत दर्जनौं कविहरूले सामन्तवाद र विस्तारवाद (साम्राज्यवाद) का विरुद्ध कविता सिर्जना गर्दै गणतान्त्रिक चेतनाको अभिव्यक्ति गरेका छन् । २०१७ देखि २०३५ को यस अवधिमा प्रयोगवादकै वर्चस्व मूल धारका रूपमा थियो र त्यो मूलतः विसङ्गतिवादी चेतनाद्वारा डोरिएको थियो भने त्यसका समानान्तरमा प्रगतिवादी धारा सामन्तवाद साम्राज्यवाद विरोधी चेतना लिएर अगाडि बढिरहेको थियो र प्रगतिवादी कविहरूले जनवादी क्रान्तिकै आवश्यकता र स्वप्नलाई कविताको मूल पीठिका बनाएर जनगणतन्त्रको चेतनालाई अभिव्यक्त गरिरहेका थिए । त्यसैले त्यसमा राजतन्त्र र पञ्चायती निरङ्कुशता दुवैका विरुद्ध विद्रोह थियो र सँगसँगै विस्तारवाद तथा साम्राज्यवादका विरुद्ध राष्ट्रवादी चेतनाको अभिव्यक्ति पनि थियो ।
यहाँ यी सबै कविका कविताको उल्लेख सम्भव छैन । प्रातिनिधिक रूपमा हेर्दा यस अवधिमा गणतान्त्रिक चेतनाको उत्कर्ष अभिव्यक्तिका दृष्टिले युद्धप्रसाद मिश्रको नाम अग्र र शीर्ष स्थानमा आउँछ । १९९० कै दशकमा देवकोटा, सिद्धिचरणहरूसँग स्वच्छन्दतावादी प्रवाहमा कविता लेख्न आरम्भ गरेका मिश्र २०१५ पछि खास गरी २०२०को दशकमा आइपुग्दा पुरै सर्वहारावादी गणतान्त्रिक चेतनाका कविका रूपमा रुपान्तरित भए (जति बेला देवकोटा बितिसकेका थिए, रिमालको लेखन अस्ताइसकेको थियो र सिद्धिचरण राजतन्त्रकै छेउ लाइसकेका थिए) । तर मिश्रको क्रान्तिकारी दृढता सम्झौताहीन ढङ्गले शब्द र कर्मको एकत्वका साथ अघि बढ्दै थियो र उनी कवितामा राजतन्त्र तथा सिङ्गो सामन्तवादका विरुद्ध हुङ्कार गर्दै लेखिरहे :
छेक्ने जागृति कर्मकाण्डहरूका पाना उडाई दिने
सारा दूषित सम्प्रदाय मतका छाना उडाई दिने
आँधी बर्बर नीतिका विविध छौं बाना उडाई दिने
दर्बारी जयगीति वाद्यहरूका ताना उडाई दिने ।
(‘ब्युँझेको व्यथा’, नौलो बिहान, २०३० फागुन)
म दानवी प्रमत्त दुष्कटाक्षमाथि खेल्दछु
मनुष्यलाई काट्ने म दन्त ती उखेल्दछु
ढलाइदिन्छु पक्षपातका सबै निकेतन
म न्यायको जगात्मा जगाउँछु हुताशन ,
(‘भावी शहिद’, बाढी २५)
राजतन्त्र र सामन्तवादका विरुद्ध जीवनको अन्तिम कालसम्म यसरी विद्रोह बोलिरहने कवि मिश्र प्रगतिवादी कविताको पनि शीर्षमा रहनुभयो भने सिंगो नेपाली कवितामा गणतान्त्रिक चेतनाको अभिव्यक्तिका दृष्टिले पनि शीर्ष स्थानमा रहनु भयो ।
वि. सं. २०३५/०३६ को जनसंघर्ष र जनमत संग्रहको परिघटनासम्म आइपुग्दा पञ्चायत रहिरहे पनि भिन्न शैलीमा आउन त्यो बाध्य भयो । अभिव्यक्ति स्वतन्त्रता थोरै भए पनि खुकुलियो । कविहरू निङ्कुशता विरोधी कविता लिएर सडकमै आए र सडक कविता क्रान्ति थालियो । यस उपक्रममा पुँजीवादी लोकतान्त्रिक चेतनाका पक्षधर कविहरू पनि तानिए । प्रगतिवादी कविहरूको सामन्तवाद/राजतन्त्रविरोधी चेतना छँदै थियो, समसामयिक चेतनाका अर्काथरी कविहरू पनि पञ्चायतका विरुद्ध लोकतान्त्रिक चेतना लिएर अगाडि आए । यद्यपि यो सडक कविता क्रान्ति खास घटनासम्बद्ध थियो । पछि त्यो समग्र समसामयिक चेतनामै समाहित भयो । प्रगतिवादी कविताधारा भने जनगणतान्त्रिक चेतना लिएर निरन्तर अगाडि बढिरह्यो । तिसको दशकका उत्तरार्धतिर आइपुग्दा माथि उल्लेख गरिएका कविहरूमा युवा पुस्ताका अन्य कविहरू पनि जोडिन आइपुगे । तिनमा मीनबहादुर बिष्ट, विमल कोइराला, कृष्ण सेन इच्छुक, पूर्ण विराम, दिल साहनी, राजीव, अमर गिरी, जगदीशचन्द्र भण्डारी, आहुति, राजव, शार्दूल भट्टराई, निर्मल श्रेष्ठ, मीन द्वन्द्वी, ऋषि भुसाल, ऋषिराम न्यौपाने, गोविन्द वर्तमान, श्यामल, अग्निशिखा, महेश मास्के, दुर्गालाल श्रेष्ठ, स्नेह सायमी, अनिल पौडेल, वासुदेव अधिकारी, राजकुमार के. सी., राजभाइ जकमि, पूर्ण वैद्य, विप्लव ढकाल, कला निरौला, यज्ञराज प्रसाईं, राजेश बान्तवा, अमर बान्तवा लगायतका थुप्रै कविहरू उल्लेखनीय छन् ।
यस अवधिका यी कविहरूका कवितामा पाइने साझा विशेषता के हो भने तिनमा वर्गबोधी चेतनाको स्पष्टता छ र तिनले वर्गबोधसँगै नेपाली समाजमा विकसित भइरहेको वर्गसङ्घर्षको अभिव्यक्तिकै क्रममा सामन्तवाद विरोधी विद्रोही चेतनाको अभिव्यक्ति गरेका छन् । त्यस विद्रोही चेतनाका मूलमा जनगणतन्त्रको आकाङ्क्षा छ, त्यसको अपेक्षा छ र स्वप्न छ । कसरी आउँछ उत्पीडितहरूका जीवनमा गणतन्त्रको त्यो सुन्दर बिहान ? यस प्रश्नमा पनि कविहरू घोत्लिएका छन् । यसमा पारिजातको उत्तर छ :
एउटा विन्तीपत्र लेखेर
अलिकति घुस खुवाएर, सोर्सफोर्स लगाएर
अथवा एक झरी वर्षा जस्तो एक झर नारा लगाएर हुने होइन,
दुईचार जना मान्छे मारेर पनि होइन
(‘एउटा निमुखा बुढाको भविष्य’, वेदना, पू. २०)
आम उत्पीडित मानिसहरूका लागि उत्पीडनबाट मुक्ति नै जनगणतन्त्रको तात्पर्य हो तर त्यो कसरी आउँछ ? रिमालले त्यो हुरी भएर आउँछ भने । पारिजातले पनि प्रतीकात्मक रूपमै तर अलि विस्तारमा भन्न चाहिन्, त्यो न विन्तीपत्र लेखेर आउँछ, न एक झर नारा लगाएर आउँछ, न अराजक ढङ्गले दुई चारजना मान्छे मारेर आउँछ । यहाँ उनको सङ््केत सङ््गठित विद्रोहतर्फ छ । युद्धप्रसाद मिश्रले त सोझै ‘रक्तक्रान्तिको ज्वालामुखी’को आवश्यकताबोध गरे र लेखे : “रक्तक्रान्तिको ज्वालामुखीमा / आज उठेको यो बलिदान” ।
यसरी शैलीका सन्दर्भमा केही भिन्नता देखिए पनि यस चरणका कविता (प्रगतिवादी कविता) को एउटा साझा विशेषताका रूपमा सामन्तवादको अन्तको चाहना र जनताको मुक्तिस्वप्नको अभिव्यञ्जना नै छ अनि त्यसका लागि सङ््गठित सशस्त्र विद्रोहको आवश्यकताबोध गरिएको छ । यसलाई यस समयको गणतान्त्रिक चेतनाको विशेषताका रूपमा बुझ्न सकिन्छ । यसै चेतनाले डोरिएर कविहरू पञ्चायत व्यवस्थाका विरुद्ध उभिएका हुन् । त्यस समयका युवा पुस्ताका कवि विमल निभा, विक्रम सुब्बा, पूर्ण विराम, बम देवान, अमर गिरी, इच्छुक, आहुति सबैका कविताको साझा स्वर र मर्म यही हो ।
७. पञ्चायतउत्तर युगको नेपाली कवितामा गणतान्त्रिक चेतना
यस शीर्षक अन्तर्गत पञ्चायतउत्तर युग भनेर पञ्चायतको अन्त्य र बहुदलको पुनस्र्थापनादेखि राजतन्त्रको अन्त्यसम्मको समयावधिलाई लिन खोजिएको छ र त्यस समयावधिका कवितामा गणतान्त्रिक चेतनाको स्वरूपबारे चर्चा गर्न खोजिएको छ । यसो किन गर्न खोजिएको हो भने पञ्चायतको अन्त्यदेखि राजतन्त्रको अन्त्यसम्मको अवधि राजनीतिक सामाजिक दृष्टिले पूर्ववर्ती पञ्चायती युग र राजतन्त्रको अन्त्यपछि स्थापित शासन पद्धतिभन्दा भिन्न किसिमको छ र यसले कवितामा विशेष प्रभाव पारेको छ ।
पञ्चायतउत्तर युगको आरम्भ २०४५/०४६ को जनआन्दोलनसँगै हुन्छ । यस जनआन्दोलनमा राजनीतिक रूपमा वामपन्थी र प्रजातान्त्रिक/संसदीय शक्तिहरू पञ्चायतको अन्त्यको एजेन्डासहित एकै ठाउँमा आइपुगेका हुन् र साझा किसिमले जनआन्दोलनको विकास भएको हो । यद्यपि तत्कालीन संयुक्त राष्ट्रिय जनआन्दोलन वाममोर्चामा आबद्ध भएन र स्वतन्त्र ढङ्गले आन्दोलन अगाडि बढायो तर त्यो पञ्चायतविरोधी आन्दोलनको सहयोगी र त्यसको एउटा अंश नै थियो । स्रष्टाहरूका सन्दर्भमा भने पञ्चायती निरङ्कुशताविरोधी साझा मोर्चा नै बन्यो । २०४५ चैत्र ३ गते पारिजातका अगुवाइमा सरस्वती सदन (घन्टाघर)मा भएको स्रष्टाहरूको कालोपट्टीसहितको विरोध प्रदर्शन र गिरफ्तारीमा पञ्चायती निरङ्कुशताविरोधी सबै धारका स्रष्टा सहभागी भए । यसले सिर्जना चैत्र ३ का नाममा एउटा अस्थायी साझा मोर्चा र आन्दोलनकै रूप पनि लियो । यो विशुद्ध जनगणतान्त्रिक चेतनामा आधारित थिएन तर पञ्चायती निरङ्कुशताका विरुद्ध परिलक्षित थियो जसका अन्तर्यमा गणतान्त्रिक चेतना पनि सक्रिय नै थियो । यसै बेला निरङ्कुशताका विरुद्ध र आन्दोलनका समर्थनमा थुप्रै कविताहरू पनि लेखिए । विभिन्न किसिमका आन्दोलन कविता सङ्ग्रहहरू पनि प्रकाशित भए । ‘पग्लेर पनि तिम्रो मुटुबाट’ (सम्पा. जङ्गब चौहान), ‘सहिद/कविता’ (सम्पा. जङ्गब चौहान), ‘आन्दोलन कविता’ (सम्पा. रुद्र खरेल), ‘वसन्तको खोजी’ (सम्पा. अशेष मल्ल) त्यस्तै आन्दोलन कवितासँग सम्बद्ध सङ्कलनहरू हुन् । ती सङ्ग्रहमा सङ्गृहीत कवितामा पञ्चायती निरङ्कुशता र राजतन्त्रकै समेत विरोध छ र आन्दोलनका पक्षमा आवाज उठाइएको छ । कविता एक प्रकारले आन्दोलनकै वैचारिक साहित्यिक हतियार बन्न पुगेका छन् । त्यसैले नेपाली कवितामा गणतान्त्रिक चेतनाको कुरा गर्दा ती आन्दोलन कविताको ऐतिहासिक महङ्खव रहेको छ ।
आन्दोलन गरेवापत ज्यान गुमाउनुपर्ने स्थिति आइपुग्यो । स्रष्टाहरू अब यो वा त्यो कित्तामा उभिनु पर्ने थिति आयो । विमल निभा प्रभृत्ति स्रष्टाहरू ‘एउटा बाहुला नभएको बुसर्ट’ कविता लेख्दै सत्ताको हिंस्रक र दमनकारी चरित्रको आलोचना गर्ने साहस गरे ।
बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् ‘प्रजातान्त्रिक’ शक्तिका साथै वामशक्तिको ठुलो पङ्क्ति राजतन्त्रात्मक संसदीय व्यवस्थामा सामेल भएपछि विस्तारै आन्दोलन कविता र आन्दोलनकालीन स्रष्टाको सहकार्य पनि भत्कियो । अब परिस्थिति कस्तो भयो भने नयाँ सत्तामा हिंसा संस्कृति व्याप्त भयो । आन्दोलन गरेवापत ज्यान गुमाउनुपर्ने स्थिति आइपुग्यो । स्रष्टाहरू अब यो वा त्यो कित्तामा उभिनु पर्ने थिति आयो । विमल निभा प्रभृत्ति स्रष्टाहरू ‘एउटा बाहुला नभएको बुसर्ट’ कविता लेख्दै सत्ताको हिंस्रक र दमनकारी चरित्रको आलोचना गर्ने साहस गरे । उता पारिजातकै अगुवाइमा प्रज्ञा प्रतिष्ठानको अभिजातीय चरित्र र संरचनाका विरुद्ध प्रगतिशील स्रष्टाहरूको संयुक्त प्रतिरोध आन्दोलन पनि चल्यो । यसरी २०४५ देखि दशकको अन्त्यसम्म सत्ताको उत्पीडक चरित्र जति जति स्पष्ट हुँदै गयो, प्रगतिवादी कविहरूले फेरि सामन्ती निरङ्कुशताका विरुद्ध काव्यिक विद्रोहलाई तीव्रता दिन थाले । अब विद्रोहको निसाना पञ्चायत थिएन, उत्पीडक सिद्ध हुँदै गएको बहुदलीय व्यवस्था र सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्र थियो । एक खाले कवितामा विसङ्गतिकै बोध गरिरहने अनि कतै यथास्थितिमै रम्ने र त्यसलाई स्थायित्व प्रदान गर्ने चेतना देखिए पनि अधिकांश कवितामा उत्पीडक सत्ताप्रति आलोचना र आक्रोशका साथै न्यायपूर्ण सामाजिक रूपान्तरणको प्रक्रियालाई अझ उत्कर्षमा पुर्याउने तीव्र चाहना प्रकट हुँदै गयो । जनआन्दोलन फेरि पनि सम्झौतामा टुङ्गिएकोप्रति आलोचना गर्दै केवलपुरे किसानले लेखेः
तेस्रो क्रान्ति किन र कसरी रोकियो जान्नु पर्छ
अर्को क्रान्ति अब सुरु हुँदा डङ्डङी हान्नु पर्छ ।
(‘डङ्डङी हान्नु पर्छ’)
जनताको चाहना विपरीत भएको धोकापूर्ण सम्झौताप्रति विरोधका साथै अर्को क्रान्ति गर्नुपर्ने किसानको आह्वानले जनगणतन्त्रकै चाहना र आवश्यकतालाई अभिव्यक्त गरेको छ । यही बेला कवि पूर्ण विरामले पनि राजतन्त्रका विरुद्ध सशस्त्र क्रान्ति/विद्रोहको आवश्यकतालाई काव्यिक अभिव्यक्ति दिन थालेका थिए । उनले क्रान्ति रोकिएकोमा असन्तुष्टि प्रकट गर्दै लेखे :
यस बेला पनि गीत गाउन झिजो मान्ने
कण्ठहरू मेरो अगाडिबाट सुइँकुच्चा ठोक
गीत किन रोकिएको छ ?
…… …… ……
म यस बेला आग्रह गर्दैछु
भन्दै छु गीत रोकिनु हुन्न
मूर्दाहरू मात्र गीत गाउन सक्दैनन् ।
(गीत किन रोकिएको छ ?)
उनको दृढ विश्वास केमा थियो भने सामान्य ढंगले राजतन्त्रको अन्त्य र जनताको मुक्ति सम्भव छैन, त्यसका लागि सशस्त्र युद्ध नै आवश्यक छ । त्यसैले उनले घोषणा गरेः
अब म कतै भन्दिन
पुष्पप्रहारबाट यो ठाउँमा मुक्तिको निर्माण हुन्छ ।
हामी सबैको मुक्ति
हाम्रो काँधमा रहने बन्दुकले दिन्छ ।
(याचिका)
यसै गरी उनले ‘गोविन्दले ठिक भन्यो’ कवितामा लेखे :
गोविन्दले ठीक भन्यो–
बिना आयुध मेरो आकाशमा रातो सूर्य आउन मान्दैन
हामी सबैले आयुध बनाउनु पर्छ
गोविन्दले ठीक भन्यो ।
रातो सूर्य अर्थात् राजतन्त्रमुक्त जनवादी गणतन्त्रको स्थापना आयुधविना सम्भव छैन भन्दै उनी सशस्त्र क्रान्तिको आवश्यकता औंल्याउँदै थिए कवितामा र क्रान्तिकर्म रोकिएकोमा चिन्ता व्यक्त गर्दै क्रान्तिगीत गाइरहन आह्वान गर्दै थिए । यसका अन्तर्यमा जनगणतन्त्रको चेतना थियो । पचासको दशकको आरम्भसँगै सामन्तवादका विरुद्ध लक्षित भएर सुरु भएको जनयुद्धले जनगणतन्त्रको चेतनालाई अझ समृद्ध र सम्पन्न बनाउँदै नयाँ जीवनमूल्य र सौन्दर्यमूल्यको स्थापना तथा विकास गर्यो । अब गणतन्त्रको चेतना आस्था, बलिदान र शौर्यमा आधारित जीवनमूल्य तथा दुःखान्तको सौन्दर्य वा आतङ्क र आनन्दको सौन्दर्यसँग सम्पृक्त भएर अभिव्यक्त हुन थाल्यो । जनयुद्धसिर्जित वर्गद्वन्द्वको यथार्थ र त्यसका अन्तर्यमा निहित त्याग, बलिदान र उत्सर्गको भाव तथा सामन्तवाद विरोधी नवीन संस्कृतिको अभ्यासले विचार र व्यवहारका क्षेत्रमा जनगणतान्त्रिक चेतनाको उदात्तीकरण र कलात्मक बिम्बीकरण गर्ने परिवेशको निर्माण गर्यो । स्रष्टाहरूका कलमले सत्ताको तीव्र दमनका बावजुद पनि निर्भीकतापूर्वक यस चेतनालाई कवितामा प्रस्तुत गर्ने साहस गरिरह्यो । यस चेतनाका कविहरूमा कृष्ण सेन ‘इच्छुक’, पूर्ण विराम, ईश्वरचन्द्र ज्ञवाली, दिल साहनी, मणि थापा, रोशन जनकपुरी, चुनु गुरुङ, गणेश भण्डारी, सत्य पहाडी, गङ्गा श्रेष्ठ, अनिल शर्मा, पुण्य कार्की, अनिल श्रेष्ठ, डी. कौडिन्य, निभा शाह, पोषराज पौडेल, मोदनाथ मरहट्ठा, चेतकान्त चापागाईं, लोकेन्द्र विष्ट, हीरामणि दुःखी, यज्ञबहादुर डाँगी, बलराम तिमिल्सिना, दीपशिखा, राजकुमार कुँवर, आर. पी. तिमिल्सिना, उदयबहादुर चलाउने, आशाा नेपाली, खगेन्द्र राना लगायतका थुप्रै कविहरूले एक वा अर्को प्रकारले जनयुद्धसँग जोडिँदै नवीन यथार्थको अभिव्यक्तिसँगै राजतन्त्र र समग्र सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध जनगणतान्त्रिक चेतनाको अभिव्यक्ति गरे ।
सिंगो देशले संकटकालको दमनकारी त्रासदी भोगिरहेका बेला यो सजिलो काम थिएन तर जीवनको जोखिम मोलेरै कविहरूले यस चेतनालाई अभिव्यक्त गरे । २०४० को उत्तरार्धरितबाट सामन्तवादबाट मुक्तिका निम्ति सशस्त्र युद्धको आवश्यकताबोध गरिरहेका कवि पूर्ण विरामले जनयुद्धको आरम्भपछि दशकभरि नै यस चेतनालाई प्रकट गरिरहे । यस अवधिका उनका ‘सिर्जनाको जुरो’, ‘मञ्जुको पट बोलिरहेछ’, ‘याङ्ग्रीको मृत्युमा’, ‘संवाददाताहरू भन्छन्’, ‘स्वागत छ मृत्य’ु, ‘लड्न जन्मेकाहरूले’, ‘थुइक्क पुर्णे’, ‘रोल्पाको स्वर’, ‘भालुखोलाको चर्मकार’, ‘यसो गरे कसो होला’, ‘वरवधू दुवैले विद्रोह गर्नुपर्ने बेला भयो’ जस्ता दर्जनौं कविता यस चेतनाका प्रखर साक्ष्य र संवाहक हुन् । ‘याङ्ग्रीको मृत्युमा’ कवितामा उनले लेखेः
अँध्यारो मरेर अँध्यारै जन्मेको देशमा
याङ्ग्रीको हातमा सयपत्रीको सट्टामा
सूर्य बोलाउनका निम्ति बन्दुक बोकेको देखियो
…. …. …. …..
याङ्ग्रीले अँध्यारो मरेर अँध्यारै जन्मेको देशमा
सूर्य बेलाउनका निम्ति लगातार बन्दुकमा बारुद कोचिरहिन्
उनले मृत्यु भोगेर मेरो आँखामा लगातार बादल कोचिरहिन् ।
कवि इच्छुकको इतिहासको यस घडीमा सङ्ग्रहभित्रका ‘सेतु जैसीको घर’, ‘सलाम जेलवाङ’, ‘म पुर्खे सनारकी आमा’ जस्ता कविता तथा बन्दी र चन्द्रागिरि लामो कविता (काव्य) यस चेतनाका निकै सशक्त र उत्कृष्ट प्राप्ति हुन् । सबै कविताको उल्लेख यहाँ सम्भव छैन तर इच्छुकको जनगणतान्त्रिक चेतनालाई अभिव्यक्त गर्ने बन्दी र चन्द्रागिरि काव्यको अन्तिम खण्डका अन्त्यमा प्रस्तुत यो काव्यांश हेरौं :
साँचो अर्थमा जबसम्म
आजको या कुरूप धर्ती
मानव जातिको सुन्दर बस्तीमा बद्लिन सक्ने छैन
तबसम्म जारी रहनेछ
सुन्दर संसार निर्माण गर्ने हाम्रो सङ्कल्पको यात्रा
…. … … ….
र, एक न एक दिन जरुर
हाम्रो विश्वासको सभ्य संसार
हाम्रो गुलाफी विपनामा फेरिनेछ
र, यो एकाइसौं शदी हाम्रो मुक्तिको महान् शदी हुनेछ †
सामन्तवादका विरुद्ध कलम चलाएवापत र जनगणतन्त्रको स्वप्न देखेवापत नै निरङ्कुश सत्ताले उनको हत्यासमेत गर्यो । जनताका बैरी र आततायी सत्तासँग सम्झौता तथा समर्पण नगरेकै कारण सहादत वरण गरेका इच्छुक वास्तवमा जनगणतन्त्रका स्वप्नलाई कवितामा सुन्दर आकार दिने जनताका प्रिय कवि थिए ।
जनयुद्धसँगै जोडिएका कवि ईश्वरचन्द्र ज्ञवालीका ‘कुमारी बुढा’, ‘गादोमा आगो लुकाएर‘, हाम्रो रातो यात्रा’, ‘फायर रेञ्जको छेउबाट’, ‘लाशरहरू सपना देख्दैनन्’, चुनु गरुङको ‘बेलिसरा’, मणि थापाको ‘गमालीहरू’, ‘यस पटक गाउँमा’ जस्ता कविता लगायत अन्य थुप्रै कविका कविताको नाउँ यहाँ सूचीबद्ध गर्न सकिन्छ । यिनमा जीवनलाई, सौन्दर्यलाई हेर्ने नयाँ दृष्टि छ र समग्रमा सामन्तवादका विरुद्ध सुन्दर साम्यवादी समाजको स्वप्न छ । जनयुद्ध सम्बद्ध वा प्रभावित यो सिंगो कविताधारा जनगणतान्त्रिक चेतनाको महत्तम प्राप्ति हो जसले २०६२/०६३को गणतान्त्रिक कविता अभियानलाई पनि प्रभावित पारेको छ।
जनयुद्धका आरम्भिक चरणतिर वा भनौं यसको पूर्वाद्र्धसम्म नेपालका संसदीय शक्तिहरूको यसप्रति विरोध नै थियो र तिनकै शासनकालमा इच्छुक लगायतका कविहरू हिरासतमै मारिनु पर्ने स्थिति पनि रहेकै हो तर पचासको दशकका अन्त्यतिर पुग्न थालेपछि परिस्थितिमा बदलाव आयो । खास गरी राजा वीरेन्द्रको वंशनाश, ज्ञानेन्द्रको सत्तारोहण र संसदीय सरकारका विरुद्ध ‘कु’ सँगै सरकार तथा संसद विघटनका परिघटनाले संसदीय शक्तिहरू र गणतान्त्रिक चेतनाबाट केही टाढा रहेका स्रष्टाहरू समेतमा राजतन्त्र विरोधी चेतनाको विकास हुने नयाँ परिस्थिति जन्मियो र विद्राही माओवादीसँग १२ बुँदे समझदारीको परिणतिसम्म पुगेर राजतन्त्रका विरुद्ध तथा गणतन्त्रका पक्षमा आन्दोलनको माहौलसमेत सिर्जना भयो । यसबारे रमेश भट्टराईले लेखेका छन्ः
राजनीतिमा देखापरेको यस उथलपुथलको प्रभाव कविहरूमा पनि पर्यो । नेपालमा पहिले कहिल्यै यति चर्को रूपमा नउठेको गणतन्त्रको स्वर पहिलो पटक नेपाली आकाशभरि फिँजियो । युवा विद्यार्थीले सडकमा गणतन्त्रका पक्षमा गगनभेदी नारा लगाए । राजनीतिक नेताहरू पहिलो पटक गणतन्त्रका विषयमा बहस गर्न राजी भए र बिस्तारै नागरिक समाज पनि गणतन्त्रका पक्षमा खुलेरै लाग्यो । देशका प्रमुख राजनीतिक पार्टीहरूले आफ्नो नारा नै गणतन्त्रतर्फ लक्षित गरे । यसरी ५० को दशकको अन्त्यसम्म आइपुग्दा नेपालमा गणतन्त्रको चेतनामा तीव्रता आयो । कविहरू पनि यस चेतनाले उत्साहित बने जसले गर्दा गणतान्त्रिक कविताको सिर्जना–यात्रा प्रारम्भ भयो । ….. सबै विचारका कविहरू एउटै गणतान्त्रिक आवाजमा समाहित हुन पुगे (२५) ।
उपर्युक्त कथनले २०६२/०६३को जनआन्दोलनतर्फ सङ्केत गरेको छ । १२ बुँदै समझदारीपछि माओवादीसमेतको परोक्ष संलग्नतामा जनआन्दोनलको आरम्भ भयो र एकातिर सडकमा राजनीतिक पार्टीभन्दा अघि बढेर राजतन्त्रका विरुद्ध गणतन्त्रको नारा लाग्न थाल्यो भने यता वैरागी काहिँलाका संयोजकत्वमा लोकतान्त्रिक स्रष्टाहरूको मञ्च नै गठन भई गणतान्त्रिक चेतनाका कविता सिर्जना गर्दै कोठेगोष्ठी लगायत सडकमा समेत कविता वाचनले अभियानको रूप लियो ।
गणतान्त्रिक कविता आन्दोलनमा जनयुद्धको धाराका कविहरूको निरन्तर सक्रियता त थियो नै, त्यस धारामा सङ्गठित नभएका अन्य थुप्रै प्रगतिशील कविहरूको पनि बाक्लो र सक्रिय सहभागिता रह्यो । त्यस्ता प्रगतिशील कविहरूमा आहुति, अमर गिरी, मातृका पोखरेल, विमल निभा, विजय सुब्बा, जगदीश चन्द्र भण्डारी, रामप्रसाद ज्ञवाली, चंकी श्रेष्ठ, स्नेह सायमी, पुरुषोत्रम सुवेदी, लक्ष्मी माली, सरोज धिताल, सुलोचना मानन्धर, मधुसूदन गिरी, मित्रलाल पंज्ञानी, बलभद्र भारती, पदम गौतम, पुण्यप्रसाद खरेल, यज्ञ प्रसाईं, अनिल पौडेल, वासुदेव अधिकारी, राम विनय, भवानी क्षेत्री, श्यामल, हरिगोविन्द लुइटेल, भूपाल राई, विक्रम सुब्बा, लिखत पाण्डे, शार्दूल भट्टराई, गोविन्द वर्तमान, आर. एम. डङ्गोल, आर. आर. चौलागाईं लगायत ४० कै दशकदेखि लेख्दै आइरहेका थुप्रै कविहरू र पचासको दशकमै आएका सङ्गीत स्रोता, सरिता तिवारी, प्रकाश सिलवाल, सुरेश किरण, गीता त्रिपाठी लगायतका युवाकविहरू सक्रिय थिए ।
यसै गरी वैरागी काहिँला, विष्णविभु घिमिरे, कृष्ण धरावासी, कृसु क्षेत्री, ठाकुर बेलबासे, वेन्जु शर्मा, मञ्जु काँचुली, वियोगी बुढाथोकी, श्रवण मुकारुङ, धमेन्द्र नेम्वाङ, यज्ञनिधि दाहाल, नन्दकृष्ण जोशी, अविनाश श्रेष्ठ, विवश पोखरेल लगायत वामचेतना इतर लोकतान्त्रिक स्रष्टाहरूको पनि सक्रिय सहभागिता रह्यो ।
जनयुद्धकारी चेतनासम्बद्ध स्रष्टा, वामचेतनासम्बद्ध अन्य प्रगतिशील स्रष्टाहरू तथा लोकतान्त्रिक चेतनाका स्रष्टाहरू सबैको सहभागितामा एक प्रकारले देशैभरि जुन गणतान्त्रिक कविता अभियान चलिरहेको थियो, त्यसलाई एकै ठाउँमा दस्तावेजीकरण गर्ने सन्दर्भमा वेदना पत्रिकाको प्रयास महङ्खवपूर्ण छ । यस पत्रिकाले देशैभरिका कविहरूलाई समावेश गरी तिनका गणतान्त्रिक चेतनाका कविताको विशेषाङ्क गणतन्त्र कविता विशेषाङ्क (पूर्णाङ्क ७२) २०६३ जेठमा प्रकाशित गर्यो । यसमा नेपाली कवितामा गणतान्त्रिक चेतनाबारे रमेश भट्टराईको विमर्शात्मक आलेख पनि प्रकाशित छ भने माथि भनिएजस्तै विभिन्न धारका पाका र युवापुस्ताका गरी जम्मा ९२ जना कविका कविताको प्रकाशन गरिएको छ । यस सङ्ग्रहको ऐतिहासिक महङ्खव किन पनि छ भने यसमा सङ्कलित कविताले २०६० को दशकको आरम्भतिरको गणतान्त्रिक राजनीतिक आन्दोलनको चरित्रका साथै गणतान्त्रिक चेतनाको स्वरूपलाई पनि उद्घाटित गर्दछ ।
नागार्जुन साहित्य प्रतिष्ठानले २०६२ (कार्तिक पुस) मा प्रकाशित गरेको नागार्जुन साहित्यिक त्रैमासिकको लोकतान्त्रिक साहित्य विशेष अङ्क पनि यस सन्दर्भमा उल्लेखनीय छ । यसमा लोकतान्त्रिक स्रष्टाहरूको मञ्चका संयोजक वैरागी काहिँलाको अन्तर्वार्ताका साथै ५० कविका गणतान्त्रिक चेतनाका कविता प्रकाशित गरिएको छ ।
संयुक्त रूपमा गणतान्त्रिक कविता आन्दोलनको सञ्चालनका सन्दर्भमा चितवनमा २०६५ मा गठन भएको गणतान्त्रिक कविता उत्सव संयोजन समिति र त्यसका आयोजनामा भएको गणतान्त्रिक कविता उत्सव कार्यक्रम पनि उल्लेखनीय छ । २०६२/०६३ को जनआन्दोलनपश्चात् स्थापित गणतन्त्रको स्वागत तथा नेतृत्ववर्गलाई खबरदारी गर्ने उद्देश्यले प्रकाश चापागाईंको संयोजकत्वमा यो समिति गठन भएको थियो जसमा सुरेन्द्र अस्तफल (सचिव), सरिता तिवारी, भूपिन व्याकुल, बालकृष्ण थपलिया, पुष्प अधिकारी, धनराज गिरी, किसान प्रेमीको संलग्नता थियो । यसले आयोजना गरेको गणतन्त्र कविता उत्सवमा ७१ जना कविहरूले कविता वाचन गरेका थिए र पछि तिनै कविताहरूलाई समावेश गरी कवितामा गणतन्त्र सङ्ग्रह २०६५ मै प्रकाशित गरियो । गणतान्त्रिक चेतनाको विस्तारका सन्दर्भमा यी कविताहरूको पनि विशेष महङ्खव रहेको छ ।
उपर्युक्त तथ्यले के देखाउँछ भने यति बेला देशैभरि गणतान्त्रिक चेतनाको बाढी नै आएको छ र सबै धारका कवि एकै कित्तामा उभिएका हुन् कि भन्ने भान हुने वातावरण सिर्जना भएको छ । सम्भवतः यही बाढीमय स्थितिलाई देखेर कवि तथा समालोचक पुरुषोत्तम सुवेदीले लेखे : “जनआन्दोलन २०६३ मा आएर प्रगतिशील तथा प्रजातान्त्रिक दुवै शिविरहरूको गन्तव्य लोकतान्त्रिक गणतन्त्र हुन पुगेको छ । प्रजातान्त्रिक पक्ष स्पष्ट रूपमा काव्यमा राजनीति बोकेर आएको छ भने जनगणतन्त्रवादी प्रगतिवादी पक्ष समन्वयवादी लोकतान्त्रिक गणतन्त्रमा पुरै खुलेर ओर्लेको देखिन्छ” (४६) ।
पुरुषोत्तम सुवेदीको यस भनाइले त्यति बेलाको गणतान्त्रिक कविताको प्रवृत्तितर्फ पनि सङ्केत गर्दछ तर यो कथन पूर्णतः वस्तुपरक छैन । सुवेदीले भनेझैं निश्चित रूपमा यति बेला प्रगतिवादी कविहरूको ठुलो हिस्सा र लोकतान्त्रिक चेतना पक्षधर कविहरूको साझा गन्तव्य लोकतान्त्रिक गणतन्त्र बनेको देखिन्छ । उपर्युक्त सङ्ग्रहका कविताहरूले यसकै सङ्केत गर्दछन् । अझ चितवनको गणतान्त्रिक उत्सवमा छापिएका कविताले त गणतन्त्र स्थापनाको स्वागत र नेताहरूलाई खबरदारी गर्ने उद्देश्य लिएको कुराले के सङ्केत गर्दछ भने गणतन्त्र प्राप्त भइसक्यो र यसलाई सुरक्षित गर्नु पर्छ भन्ने कुरा कविहरू गरिरहेका छन् । यसले सुवेदीले भनेजस्तै लोकतान्त्रिक गणतन्त्र नै उनीहरूको साझा गन्तव्य थियो भन्ने सङ्केत पनि गर्दछ तर यो समकालीन कविहरूको एउटा धारा हो । जनताको वास्तविक गणतन्त्र आएको ठान्न नसकिने र जनताको गणतन्त्र स्थापनाका लागि अझ लड्नु पर्ने र लडाइँ जारी राख्नुपर्ने चेतनाको जोडदार अभिव्यक्ति अर्का थरी कविहरूले गरि नै रहे र अद्यापि गरिरहेका छन् ।
गणतन्त्र आइसकेपछि पनि कवि पूर्ण विरामले युद्ध अलपत्रमा परेको निष्कर्षमा पुगेर लेखेः
सूर्य खसेको होइन र सम्पूर्ण भष्म भएका होइनन्
आँधीलाई आल्मोनियमको भाँडो बनाएर कुच्याइएको मात्रै हो
घन बोक्ने सारा हातहरूले आत्महत्या गरेका छैनन्
वोरियाड मरेको होइन र हावाहरूले आत्मदाह गरेका छैनन्
(पौवाकी पौवालीलाई, २०६४)
भीर खोजिरहेका छन् जोन अफ आर्कहरूलाई
नदीमा मिसिएका कुलाका पानीहरूले
कामै नलाग्ने बनाएका छन् नेत्र अभागीका कविताहरूलाई
बतासका ओढनीहरूले गुटमुटाएका छन् लुसी ग्रेहरूलाई
र बेपत्ताका पोकोलाई अबिरको पहिरोले थिचेको छ
अलपत्रमा परेको युद्धका नतिजा यस्तै छ
ऋषेश्वरको इतिहासमा आगो लाग्न थालेको छ ।
(‘अलपत्रमा परेको युद्धको नतिजा यस्तै हुन्छ’, पौवाकी पौवालीलाई)
जाडोमा उही फाइबरकै ओढ्ने ओढेर
दरिद्र आमाहरू सूर्य हराएको आकाशमुन्तिर
घाम ओढ्ने सपना बुनिरहेका छन्
सालकै पातमा राखेर दुई गाँस भात टिप्नका निम्ति पनि
एउटा सिंगो दिन मार्नुपर्ने समय उस्तै छ
आराम छैन भनेर चिठी लेख्नै पर्ने भयो
फेरि केप र जिलेटिनको शिला खोजेर मात्रा मिलाउनु पर्ने भयो
चे ग्वेभारालाई चिठी लेख्नै पर्ने भयो ।
(चे ग्वेभारालाई चिठी लेख्नै पर्ने भयो)
नवस्थापित गणतन्त्र जनताको गणतन्त्र होइन । जनताको दुर्दशा उस्तै छ र जनयुद्धप्रति घात भएको छ भन्ने निष्कर्षमा पुगेर पूर्ण विरामले जनगणतन्त्र प्राप्तिका लागि युद्ध लडिरहनुपर्ने विचारको काव्यिक अभिव्यक्ति गरे । जनयुद्धकारी शक्तिको मूल नेतृत्वले लोकतान्त्रिक गणतन्त्रमै आफूलाई बिसाए पनि जनगणतन्त्र स्थापनाको आन्दोलन जारी नै राख्नु पर्ने चेतना राजनीतिक तहमा पनि जीवितै रह्यो र पूर्ण विरामजस्तै अरू थुप्रै स्रष्टाहरूका कवितामा त्यसले आवेग र आक्रोशका मुद्रामा अभिव्यक्ति पनि पाइरह्यो । यसै क्रममा निभा शाहले लेखिन् :
आफूले बोकेको बन्दुक
अरूले नै कासन गरेपछि
सत्ता आफ्नो हुँदैन मनसरा
सत्ता आफ्नो नहुनेको
दुनिया बदलिँदैन मनसरा
आगो बोलिरहेछ मनसरा
आगो भर्भराएको सुन्यौ मनसरा ?
(निभा शाह, ‘मनसरा’, प्रतिभा प्रवाह)
क्रान्तिको निरन्तरता र जनगणतन्त्रको स्थापनासँग सम्बद्ध यो चेतना उत्तरवर्ती नेपाली कविताको एउटा विशेष प्रवृत्ति हो जो पुरुषोत्तम सुवेदीले माथि भनेभन्दा भिन्न छ । सिंगो राजनीतिक आन्दोलनमा पनि यो धार सबलीकृत र ध्रुवीकृत हुँदै गएको छ भने कवितामा पनि त्यो उत्तिकै प्रखर रूपमा अभिव्यक्त भइरहेको छ ।
जनगणतन्त्रको पक्षमा हिजैदेखि आन्दोलनरत राजनीतिक शक्ति र स्रष्टाहरू अहिले पनि यो संसदीय अथवा बुर्जुआ गणतन्त्र हो र यसले यी समस्याको समाधान गर्न सक्दैन भन्ने निष्कर्षसहित जनगणतन्त्रका पक्षमा आन्दोलनरत छन् र कवितामा त्यो चेतना अभिव्यक्त गरिरहेका छन् ।
८. राजतन्त्रोत्तर कालको नेपाली कवितामा गणतान्त्रिक चेतना
राजतन्त्रको समाप्तिपछि मुलुक गणतन्त्रमा प्रवेश गर्यो र संघीयतामा आधारित नयाँ संविधान पनि जारी भई आम निर्वाचन हुँदै देश नयाँ चरणमा प्रवेश गर्यो तर माथि भनिएजस्तै प्रश्न अहिले पनि अगाडि छ– यो कस्तो गणतन्त्र हो ? के यसले वर्गीय, जातीय, लिङ्गीय तथा क्षेत्रीय उत्पीडनको समस्यालाई हल गर्ने सामथ्र्य राख्छ ? के यसले सांस्कृतिक उत्पीडनलाई हल गर्ने सामथ्र्य राख्छ ? के यसले वणिक (दलाल) पुँजीवादी तथा साम्राज्यवादी उत्पीडनबाट मुक्तिका लागि मार्ग प्रशस्त गर्छ ? के यसले जनताका जनजीविकाका समस्यालाई हल गर्ने सामथ्र्य राख्छ ? यी आधारभूत प्रश्नहरू गणतन्त्रको चरित्रसँग जोडिएका छन् । जनगणतन्त्रको पक्षमा हिजैदेखि आन्दोलनरत राजनीतिक शक्ति र स्रष्टाहरू अहिले पनि यो संसदीय अथवा बुर्जुआ गणतन्त्र हो र यसले यी समस्याको समाधान गर्न सक्दैन भन्ने निष्कर्षसहित जनगणतन्त्रका पक्षमा आन्दोलनरत छन् र कवितामा त्यो चेतना अभिव्यक्त गरिरहेका छन् । आज पारिजात र इच्छुकहरू छैनन्, भएका कतिपय पाका स्रष्टा सुस्ताएका पनि छन् तर केही पाका स्रष्टाहरू अझै पनि जनगणतन्त्रका पक्षमा उभिएकै छन् र कविता लेखिरहेका छन् भने युवा पुस्ता पनि थपिएको छ ।
आज विचारणीय अर्को पक्ष पनि छ, त्यो के भने एक थरी स्रष्टाहरू जातीय मुक्तिको प्रश्नलाई जसरी तीव्र रूपमा उठाइ रहेका छन्, त्यो पनि गणतान्त्रिक चेतनासँग जोडिएरै देखापरिरहेको छ । केही दिनअघि खगेन्द्र संग्रौलाले पोखरा साहित्य मेलामा संविधानलाई रगतले लेखिएको दस्तावेज भन्दै आफू राष्ट्रवादी हुन नसक्ने उद्घोष गर्नु भयो । उहाँको भनाइ उत्तेजक र भडकाउ लाग्न पनि सक्छ, धेरैलाई लागेकै पनि छ तर त्यसो भनेर त्यो अर्थहीन हुँदैन । त्यसै बेलातिर प्रज्ञा प्रतिष्ठानको आयोजकत्वमा काठमाडौंमा पृथ्वीजयन्ती मनाइँदै थियो र राष्ट्रपतिलाई समेत आमन्त्रण गरेर सालिकमा माल्यार्पण गरिँदै थियो । यसो गरेर पृथ्वीनारायण शाहलाई फेरि बडामहाराजाधिराज र राष्ट्रिय एकीकरणका नायकका रूपमा राजकीय स्तरमै स्थापित गर्ने प्रयत्न भइरहेको सङ्केत मिल्छ । प्रज्ञा प्रतिष्ठानभित्र महेन्द्रको सालिक पुनस्र्थापनाको प्रसङ्ग पनि सँगसँगै आएको छ ।
अर्कातिर आदिवासी, जनजाति तथा मधेसी समुदाय अझै पनि पृथ्वीकालमा आरम्भ भई महेन्द्रकालमा पूर्णता पाएको सामन्ती राष्ट्रवादी चेतनाबाट उत्पीडित रहेको अनुभूति गरिरहेका छन् । मधेसी अथवा गैरपहाडीलाई हेर्ने राज्यको आँखामा अझै महेन्द्रीय राष्ट्रवादको विभेदकारी चेतना व्याप्त छ । खगेन्द्र संग्रौलाको सङ्केत त्यतापट्टि थियो / छ । त्यसै अनुभूतिलाई भूपाल राईले कवितामा यसरी पोखेका छन् :
के यो भक्तभानुभक्तको राष्ट्रीय भाषा हो र ?
अथवा राममणी आदिको सजातिय कविता
या गोर्खाली हिन्दूस्तानाको राजकियधर्म
अथवा महेन्द्रको लवेदा सुरुवाल
वा शासकिय नश्लको सेफद अनुहार
के हो यो सिकलसेल एनिमिया र
(सिकलसेल एनिमिया)
नेपालमा विशेषतः जनयुद्धको विकाससँगै जातीय मुक्तिको प्रश्न अगाडि आएको हो र गणतन्त्रको स्थापनासँगै आदिवासी तथा जनजातीय मुद्दा निकै सशक्त बन्दै गएको हो । नेपालको संघीय पुनर्संचरना एक प्रकारले राष्ट्रिय रूपमै अनुमोदित भई नयाँ संविधान समेत बनिसकेको छ तथापि अझै पनि जनजाति र आदिवासीका माग र अपेक्षाको सम्पूर्ण सम्बोधन भइसकेको छैन । राष्ट्रिय रूपमा पहिचान र सामथ्र्यका आधारमा राजनीतिक पुनर्संरचनाको बहस र आन्दोलन चलिरहेकै छ । साहित्यमा पनि यो प्रश्न त्यत्तिकै प्रखर रूपमा अभिव्यक्त भइरहेको छ ।
नेपाल अनेक जातीय राष्ट्रियताको सङ्गम हो तर शताब्दियौं लामो एकात्मक सामन्तवादी शासनका कारण ती सबको सहअस्तित्व, सम्मान र स्वायत्ततालाई राज्यले स्वीकार गरेन र मूल धारमा तिनलाई स्थान दिएन । इतिहासदेखि नै वञ्चितीकरण र उपेक्षाको सिकार बनाइएका विशेषतः आर्येतर जातीय समुदायले आज पनि त्यसबाट मुक्ति पाइसकेको अनुभूति गरिरहेका छैनन् । गणतन्त्र स्थापनापछि पनि त्यो उपेक्षा र वञ्चितीकरण कायमै रहेको यथार्थलाई कवि भूपालले आफ्ना कवितामा अभिव्यक्त गरेका छन् । ‘भीमफेदीको उकालो र तामाङ राष्ट्रको शिर’ कवितामा उनले तामाङहरूलाई पहिलो पटक श्री ३ राणाजीको मोटर बोकेर काठमाडौं ल्याउन लगाइएको ऐतिहासिक सन्दर्भको उल्लेख गर्दै त्यस परिघटनामा तामाङहरूले पाएको दुःख र बलिदानको भावपूर्ण सम्झना गर्दै त्यस समयका तुलनामा आज नेपालको राजनीतिक तस्वीर धेरै बदलिएको भए पनि (गणतन्त्रसमेत स्थापित भइसक्दा पनि) तामाङ राष्ट्रियताको पहिचान नबदलिएको यथार्थलाई यसरी प्रस्तुत गरेका छन् :
सबथोक भएको छ नयाँ नयाँ
तर, उस्तै छन्
अझै पनि दुई चिज
एक : त्यो फुलचोकी छायाँले थिचिरहेको
बूढो भीमफेदी
दुई : शताब्दियौ झुक्दा – झुक्दा
उठ्न न सकेको
तामाङ राष्ट्रको शिर
यहाँ दुई भनिएका कुरा वास्तवमा दुई नभई एकै हुुन् । बुढो भीमफेदी र तामाङ राष्ट्र यहाँ पर्यायवाची छन् । अग्लो फुलचोकी यस देशको शासनसत्ताको केन्द्र हो जसले दक्षिणवर्ती होचो भूगोलमा रहेको भीमफेदीतुल्य तामाङ राष्ट्रियतालाई अझै पनि थिचिरहेको अनुभूति यस कवितामा व्यक्त गरिएको छ । यसरी नै देशमा अझै पनि अन्य राष्ट्रिय समुदाय राज्यको मूल धारबाट उपेक्षित रहेको कवितात्मक निष्कर्ष प्रस्तुत गर्दै भूपाल राईले कवितामा प्रतिरोध सौन्दर्यको नयाँ बान्कीसमेत निर्माण गरेका छन् ।
यही कारण हो संविधान बनिसक्दा पनि थुप्रै समुदायहरू त्यसप्रसति सन्तुष्ट छैनन् । त्यसैले युवाकवि राजबहादुर कुँवर प्रश्न गर्छन् :
राष्ट्रिय फूल गुराँस हो वा तराई सिंगार्ने थारु ?
राष्ट्रिय रङ सिम्रिक हो वा पाखो जोत्ने गुरुङ ?
पचासयताका कवितामा देखापरिरहेको यस आदिवासी तथा जनजातीय चेतनाले जातीय मिथक, जातीय संस्कृति अनि माटोको सम्बन्धसँग गाँसिएर अनि किनारीकरण र पहिचानको सन्दर्भसँग समेत जोडिएर आवेगपूर्ण र आक्रोशपूर्ण अभिव्यक्ति पाइरहेको छ । राजन मुकारुङको कवितामा आक्रोशको यो रूप हेरौं :
हो, म मतवाली राज्यको उद्घोष गर्छु
भट्टीपसलबाट / च्यातेर धुजाधुजा पार्दै
हो, म सामन्ती कुरूपता पिउँछु/पिउँछु, पिउँछु
र कुख्यात राजकता डकारेर
त्यस कारखानालाई हकार्छु–
“यस्तो नाथे संवैधानिक स्वतन्त्रता
उहिल्यै छादियो भट्टीपसलमा” ।
(मिथक माया, १५)
यी सन्दर्भले के स्पष्ट पार्छन् भने गणतन्त्रको चेतनालाई २०६२/०६३ को आन्दोलनका क्रममा देखिएको र बुझिएको एकथरी स्रष्टाहरू(राजनीतिक शक्तिहरू) को बुझाइभन्दा माथि उठेर विस्तारित आयाममा बुझ्नु पर्दछ । गणतान्त्रिक चेतनाप्रतिको हिजोको साझा बुझाइ आज पर्याप्त छैन । आजका कवितामा वर्गीय उत्पीडनबाट मुक्तिसँगै आन्तरिक राष्ट्रियताका समस्याको सम्बोधनका साथै लिङ्गीय र क्षेत्रीय उत्पीडनको अन्त्यको चाहना र चेतनासँग जोडेर गणतन्त्रको चेतना प्रकट भइरहेको छ । यो आजका नेपाली कविताको विशिष्ट प्रवृत्ति र पहिचान पनि हो ।
९. उपसंहार
नेपाली कवितामा गणतान्त्रिक चेतनाको सन्दर्भ विमर्शको अत्यन्त गम्भीर र विशद् विषय हो । यसको आवधिक आयाम पनि अति विस्तारित छ । कतिपय लेखकले वंशानुगत राजतन्त्रको आरम्भिक चरणतिरबाटै यस चेतनाको उपस्थितिलाई हेर्ने प्रयास पनि गरेका छन् । यसो भए पनि विक्रमको बिसौं शताब्दीका मध्यतिरबाट नेपाली कवितामा यस चेतनाको प्रकटीकरणका सङ्केतहरू देखिन थालेका हुन् जसका पृष्ठभूमिमा सन्तसाहित्यको महङ्खवपूर्ण भूमिका रहेको छ । औपचारिक रूपमा भने १९७० पछि महानन्द सापकोटा र धरणीधर कोइरालाका कवितामा यो चेतना स्पष्ट रूपमा अभिव्यक्त भयो । पछि स्वच्छन्दतावादी धाराकै भए पनि युगचेतनाबाट प्रभावित भई सिद्धिचण श्रेष्ठ तथा लक्ष्मीप्रसाद देवकोटाहरूले यस चेतनालाई अगाडि बढाउने काम गरे । ‘आमाको सपना’ हुँदै गोपालप्रसाद रिमालले यस चेतनालाई एउटा उत्कर्ष दिए । यसपछि वि. सं. २००७–०८ तिरबाट सुरु भएको प्रगतिवादी कविताधारा अन्तर्गत केवलपुरे किसान, भूपी शेरचन र गोकुल जोशीका कवितामा सामन्तवाद साम्राज्यवाद विरोधी जनगणतान्त्रिक चेतनाको औपचारिक अभिव्यक्ति भयो । स्वच्छन्दतावादी कविहरूका कवितामा रहेको गणतन्त्रको अस्पष्ट र अमूर्त चेतना प्रगतिवादी कवितामा आएपछि निकै मूर्त र स्पष्ट रूपमा देखा पर्यो र अनेक उतार चढावका बावजुद आज पर्यन्त प्रग्तिवादी कवितामा सामन्तवाद साम्राज्यवाद विरोधी चेतनाकै रूपमा यो प्रकट भइरहेको छ ।
नेपालको राजनीतिक इतिहासमा २००७ सालपछि २०३५/०३६मा भएको जनसंघर्ष तथा २०४५/२०४६ र २०६२/०६३ मा भएको पञ्चायत तथा राजतन्त्र विरोधी आन्दोलनका क्रममा वामशक्ति र प्रजातान्त्रिक/संसदीय शक्तिको सहकार्य भए अनुरूप नै साहित्यमा पनि यी दुई शक्तिको सहकार्य भएको तथा संयुक्त रूपमा गणतान्त्रिक कविता अभियानहरू सञ्चालन भएको देखिन्छ । त्यसले गणतान्त्रिक चेतनाको विकासका सन्दर्भमा महङ्खवपूर्ण योगदान दिएको छ । यस सन्दर्भमा लोकतान्त्रिक गणतन्त्र (संसदीय गणतन्त्र) लाई नै अन्तिम गन्तव्य ठान्ने एउटा साझा प्रवृत्ति वाम तथा प्रजातान्त्रिक विचारका कविहरूका कवितामा देखिन्छ भने संसदीय गणतन्त्रलाई अपर्याप्त ठान्दै जनगणतन्त्रलाई आदर्श ठानेर त्यसको प्राप्तिका निमित्त वर्गसङ्घर्षलाई निरन्तरता दिइरहनु पर्ने क्रान्तिचेतनाको अभिव्यक्ति एकथरी कविहरूका कवितामा प्रखर रूपमा अद्यापि भइरहेकै छ । अझ नयाँ सङ्घीय संविधान जारी भइसक्दा पनि सांस्कृतिक तथा जातीय, क्षेत्रीय समस्याहरू हल नभएका परिप्रेक्ष्यमा, राष्ट्रवादको परम्परागत सामन्ती चेतनाले उत्पीडन गरिरहेकै बोधका पृष्ठभूमिमा त्यसका विरुद्धको चेतना पनि आजका कवितामा तीव्रताका साथ व्यक्त भइरहेको छ र यसले जनगणतान्त्रिक चेतनासँगै सामीप्य राख्दछ । त्यसैले आजको गणतान्त्रिक चेतनालाई हिजोका सीमामा बुझ्नु उपयुक्त हुँदैन । यो चेतना आज पनि उत्तिकै सान्दर्भिक छ र यसलाई विस्तारित आयाममा हेरिनु पर्दछ । आजका कविताले यही अपेक्षा र सङ्केत गरिरहेका छन् ।
प्रमुख सन्दर्भ सामग्री सूची
अर्याल, मुरारी, ‘साहित्यमा गणतान्त्रिक चेत र आवश्यकता’, वेदना, पूर्णाङ्क ७३, २०६४, पृ. ४–३९ ।
गौतम, राजेश, ‘शुक्रराज शास्त्रीः आर्यसमाजदेखि सहादतसम्म’, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल स्मारिका, २०५७, पृ. ६१– ।
चापागाईं, निनु, सर्वार्थ योगवाणी र प्रगतिशील कवि योगमाया, काठमाडौंः थानप्रसाद अधिकारी (भवीन्द्र), २०७५ ।
चापागाईं, निनु, ‘नेपाली साहित्यका सन्दर्भमा समाजवादी यथार्थवाद, यथार्थवादी रचनादृष्टि र विवेचना, काठमाडौंः दिल वरदान, महिम चापागाईं, २०५१ ।
चैतन्य, ‘नेपाली संस्कृतिः एक सङ्क्षिप्त अध्ययन’, माक्र्सवाद र संस्कृति, काठमाडौं : सहिद स्मृति प्रकाशन, २०६६ ।
तिम्सिना, मातृका, ‘चरैवेति–चरैवेति’, सर्वार्थ योगवाणी र प्रगतिशील कवि योगमाया, काठमाडौंः थानप्रसाद अधिकारी (भवीन्द्र), २०७५, पृ. ७–३६ ।
पुष्पलाल, ‘नेपाली जनआन्दोलन : एक समीक्षा’, छानिएका रचनाहरू, सम्पा. विष्णु प्रभात, काठमाडौं : मदन आश्रित स्मृति प्रतिष्ठान, २०५३ ।
पाण्डेय, ताराकान्त, प्रगतिवादी नेपाली कवितामा अभिव्यञ्जित यथार्थ, विद्यावारिधि शोधप्रबन्ध, त्रि. वि., २०५५ ।
भट्टराई, रमेश, ‘गणतन्त्र र नेपाली कविता’, वेदना, पूर्णाङ्क ७२, २०६३, पृ. ९–२७ ।
भण्डारी, जगदीश चन्द्र, प्रगतिवादी नेपाली कविता : रेखाङ्कन र विश्लेषण, काठमाडौं : मुन्नी भण्डारी, २०५५ ।
रावल, भीम, नेपालमा साम्यवादी आन्दोलन : उद्भव र विकास, दो. संस्क., काठमाडौं : पैरवी प्रकाशन, २०४७ ।
शर्मा, अनिल, ‘सिर्जनामा राष्ट्रियता र गणतन्त्रको अभिव्यक्ति’, नौलो बिहानी, १२:३, २०६६, पृ. १७–२६ ।
शर्मा, जनकलाल, जोसमनी सन्त परम्परा र साहित्य, काठमाडौं : साझा प्रकाशन, २०२२ ।
सुवेदी, पुरुषोत्तम, ‘समकालीन नेपाली कविता र विषयवस्तु’, सङ्क्रमणको साहित्य र समकालीनता, ललितपुर : साझा प्रकाशन, २०६६ ।