केहरसिंह गुरुङ (तारुकडाँडा, कालिकाकोट, स्याङजा) आप्रवासी नेपाली प्रतिभा हुन् । उनी सन् २००२ देखि सपरिवार, ओटावा, क्यानडामा बसोबास गर्दै आएका छन् । उनले क्विन्स युनिभर्सिटी, किङस्टन, क्यानाडा (२००४-२००५) बाट इन्जिनियरिङ र पिपल्स फ्रेन्डसिप युनिभर्सिटी, मस्को, रसिया (१९७६-१९८१) बाट माइनिङ इन्जिनियरिङमा एमएस्सी गरेका छन् । उनी इन्जिनियरिङ पेसाबाट रिटायर प्रतिभा हुन् । उनका ङ्ला ङ्योल्सोमै (मेरा सोल्टिनीहरु) (नेपाली भाषामा सन् २०१२) Français pour les Débutants (French For The Begineers) (सन् २०१४), पथिक म जीवनको (जीवनी, सन् २०१६) प्रकाशित छन् । उनको विकृतिका अग्ला पर्खालहरू कथासङ्ग्रह प्रकाशोन्मुख रहेको छ । उनको नेपाली र अङ्ग्रेजी शब्दकोश पनि तयारी अवस्थामा छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको सुरेन उप्रेतीको अङ्ग्रेजी बालकथाकृति द डटर अफ एभरेस्ट माथि लेखिएको ‘डटर अफ एभरेस्ट बालकथासङ्ग्रहको विषयवस्तु र जीवनचेतना’ शीर्षकको समीक्षा समेटिएको छ । यो समीक्षा विषयवस्तु केन्द्रित रहे पनि कृतिको वस्तु उजागरमा सफल देखिन्छ ।
-सम्पा.
|
पशुपन्छी वा निर्जीव वस्तुहरूलाई नायक र खलपात्र बनाएर कलिलो बालमस्तिष्कमा नैतिक, प्रोत्साहनमूलक, उपदेशमूलक र मूलभूत असल सामाजिक संस्कारहरू मधुर र रोमाञ्चक शैलीमा पस्कने परिपाटी भने नौलो होइन । पूर्वीय परम्परामा पञ्चतन्त्रदेखि नै यस किसिमका रचना हुँदै आएका छन् । कथाकार सुरेन उप्रेतीको बालकथाकृति Daughter of Everest प्रस्तुति तिनै महान् कार्यहरूको शृंखलाको निरन्तरता हो ।
बालसाहित्यले बालबालिकालाई चेतनाको पोषण दिन्छ । हाम्रा औंलो समाएर टुकुटुकु हिड्ने आजका बालबालिका भोलिका समाज, राष्ट्र र विश्व निर्माणका धरोहर मात्र होइनन्, तिनकै नैतिक मानवीय तजबिजमा हाम्रा अशक्त, जीर्ण बूढ्यौली शरीरको बोझ पर्ने पक्कै छ । त्यस्तो नैतिकवान र मानवीय हृदय भएका दस्ताहरूको समाजको निर्माणको दायित्व आज हाम्रो काँधमा छ । तसर्थ यस पुनित कार्यका संयोजक कथाकार सुरेन यस अर्थमा पनि हामी सबै अभिभावकहरूको धन्यवादको पात्र बनेका छन् ।
कथाकार सुरेन उप्रेतीको सिर्जनाको कलम साहित्यिक फाँटमा बाल्यकालदेखि क्रियाशील भएर घाम, आँधी, असिना तथा हिउँ नभनी अहिलेसम्म अनवरत चलिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि लागिरहेको देखेर हामीजस्ता पाठकलाई खुसी नै लाग्छ । वहाँको यस सिर्जना “Daughter of Everest” को मालामा १६ वटा उत्कृष्ट र मनमोहक सचित्र बालकथाका फूलका थुङ्गाहरूले सजिएको छ। बैज्ञानिक दसी-प्रमाणलाई एकछिन पर थन्क्याउने हो भने यस्ता बालकथाहरू जीवनपर्यन्त यादगारमै अल्झिरहने कुरो हाम्रा बाल्यकालीन यस्तै बालकथाहरू अझै पनि जीवन्त रहेका दृष्टान्तले पुष्टि गर्छ । यी कथा पढ्दा उप्रेती यथार्थ विषयवस्तुलाई नै टिपेर बालबालिकालाई मनोरञ्जन र चेतना दिइरहेका देखिन्छन् ।
कथा “The three flies” मा “मानव समाजद्वारा अति तिरष्कृत झिङ्गाहरूले विश्व नै भोकमरीरहित “युटोपियन“ समाजको सिर्जनाको प्रतिबद्धता जाहेर गर्दा, हामी सर्वश्रेष्ठ मानव भनाउँदाहरूले भोकमरी र धनी-गरिबको दपेटमा पर्नु सुहाउने कुरो हो र ? जस्तो भाव दिने सन्देश समेटेको देखिन्छ । कथा “Kantak and the Birds” मा दुष्ट सर्प कण्टकको आततायी व्यवहारको पन्छीहरूले एक भएर डटेर दिएर पाठ मननयोग्य छ। कथा “Aroha and the Beast” मा पशु-पन्छीहरू मानवद्वारा प्रताडित नै रहेर पनि मानव जातिको विकाशमा अहम भूमिका खेलेको यथार्थ विद्यार्थी आरोहले दिन्छ। “Beware of Goblin” मा हामी ठूला भनाउँदाहरूले आफ्नो क्षणिक स्वार्थको लागि कलिला बालमस्तिष्कमा भूत-प्रेतजस्ता उडन्ते अन्धविश्वास घुसाउनु कत्तिको जायज होला त भन्ने देखाइएको छ । “Eat your Veggies” मा सागसब्जी-फलफूललाई आफ्नो भोजनमा समायोजन गर्नुपर्ने सन्देस छ। “Daughter of Everest” मा एउटी नेपाली जुझारु पर्वतारोही नारी पासाङ् लेमु शेर्पाको दृढसङ्कल्पको ब्याख्या गरेर नारी जगत्को भूमिकाको महत्व दर्शाइएको छ। “Light of Peace” मा शताब्दियौँदेखि शासक वर्गको हेलचेक्याइबाट प्रोत्साहित भारतीय मिडियाको बुद्धको जन्मथलोको नाजायज हकदावीलाई विरोधको गोर्खेलौरी लगाइएको छ ।
सगरमाथाको पृष्ठभूमिमा बालिका (छोरी नानी) को तस्बिर अति मनमोहक तस्बिर यस कृतिको आवरणमा प्रस्तुत गरिएको छ । जम्मा ७२ पाना भएको “Baico Publishing Inc.” (ओटावा, क्यानाडा) बाट प्रकाशित गरिएको यो बालकथा अवश्यमेव अति सरल तर प्रस्ट शब्दहरूको समायोजित गरेर सुन्दर शैलीमा नेपाली वा गैरनेपाली बालबालिकाहरूको लागि अति पठनीय छ। कथाका केही परिवेशहरू आफ्ना मातापिता वा पूर्खाको जन्मथलो नेपालसँग गाँसिएकोले डायस्पोराका नेपाली क्यानेडियाली बालबालिकाहरूले “नपढी नहुने पुस्तकको रूपमा देखिन्छ भने विश्वब्यापीकरणको जमानामा डायस्पोराका गैह्रनेपाली बालबालिकाहरूले आफ्ना नेपाली वंशज भिरेका क्यानेडियाली सहपाठीहरूको देश नेपालका बारेमा बुझ्नु यो पठनीय छ ।
कथाकार सुरेन उप्रेतीको बालबालिकाको नैतिक भविष्य निर्माणमा गरिएको यो गहन प्रयास आदरणीय पाठकवर्गले सह्रानीय तथा अनुकरणीय ठान्ने छन् । यो कथासंग्रह पढ्ने बालबालिकाहरूले कुनै नेपालीहरूले नेपालको बारेमा भन्दा नेपाल कता छ भन्ने अन्योल हट्ने छ । उनीहरू ठूलो भएपछि नेपाल जान मोह पलाउनेछ भने । गौतम् बुद्धको जन्मस्थानका बारेमा भारतीय मिडियाको प्रभावमा परेर गलत प्रसारणलाई चिर्दै नेपालको परिचय गराउँने छ भन्ने लाग्दछ ।