सुरेन उप्रेती नेपाली साहित्यका विविध विधामा कलम चलाउने प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको आख्यानकार गगनसिंह थापाको लघुउपन्यास मरुभूमिकी महारानीमाथि लेखिएको पाठकीय समीक्षा समेटिएको छ ।
– सम्पा. |
मरुभूमिकी महारानी आख्यानकार गगनसिंह थापाको लघु उपन्यास हो । यो पुस्तक जम्मा असी पेजको छ ।
आकारका दृष्टिले सानो देखिन्छ । तर यसले राजनीतिक व्चिार, दर्शन, राष्ट्र, राष्ट्रियता, र प्रकृतिका विविध सृजना र श्रृङगारहरूलाई एउटै धागोमा उनेर वजनदार माला गाँसेको छ । हिमालको फेदीमा जन्मिएको एउटा जिज्ञाशु किशोर राजस्थानको मरुभूमिमा पुग्छ । उसलाई शिक्षाको भोक छ । पाँच कक्षा पढेको प्रमाणले भर्ना हुँदैन र परीक्षा लिइन्छ ।
परीक्षामा राम्रो गरेको हुनाले कक्षा सातमा भर्ना हुन्छ । टोपीको कारण अफिसमा जानु पर्छ । टोपी लाउन नपाउने आदेश हुन्छ । किशोरले तर्कपूर्ण प्रतिवाद गर्छ । प्राचार्य नाजवाफ भएर टोपी लगाउँन अनुमति दिन्छन् । पहिलो दिनबाट नै भादगाउँले टोपीले चर्चा पाउँछ । संसारको अग्लो हिमाल सगरमाथा र त्यसको ताजको प्रतिरूप टोपी भनेर किशोरले वर्णन गर्दा सबै अवाक् हुन्छन् ।
उनको आश्रयस्थल राजघरानाको विशाल महलको कम्पाउण्डभित्र रहेको पालेहरूको क्वाटरमा हुन्छ । राजघरानाकी किशोरी मृदुला पनि उनकै कक्षामा पढ्ने हुन्छिन् । मृदुलाका दुई बालसखीहरू र किशोरको बालसुलभ आत्मीयता हुन्छ । घरबाट ल्याएको टिफिन बाँडेर खाने गर्दछन् । किशोरका स्वभिमानी कुराले उनीहरूमा पनि आफ्नो पहिरन र संस्कृतिको महत्वको ज्ञान थपिन्छ । उनीहरूलाई देशभक्त र स्वभिमानी बनाउँछ । मृदुला कुलीन परिवारकी भएर पनि ठूलोसानो धनी गरिबको भेदभाव गर्दिनन् । मृदुला भन्छिन् “हामी सबै आ–आफ्नो भागका मालिक हौँ ।” उनीहरू मरुभूमिको भ्रमणमा जान्छन् । समूहबाट अलग भएर मरुभूमिमै हराउँछन् । मरुभूमिमा आँधीतुफान आउँछ । तीन जना किशोरीहरूले किशोरलाई अविभावकको रूपमा विश्वास गर्दछन् । भयवित भएर युवकसँग टाँसिन्छन् । त्यो बालसुलभ आत्मीयताले मृदुला र युवकलाई जीवनभरि सम्झन बाध्य बनाउँछ । अतृप्त प्रेतात्मा किचकन्नी बनेको परिकल्पना छ । उसले उँट हेर्ने मानिसको यौनिक भोक तृप्त गरेका प्रसङ्ग ल्याएर उपन्यासलाई रसिलो बनाएका छन् । यी प्रसङ्गले तात्कालीन समाजमा प्रचलित भएका किँवदन्तीहरूको जानकारी गराएको छ ।
भ्रमणकै क्रममा आँधीमा परेर एक जना छात्र हराउँछ । आँधी आउँदा बालुवाको थुप्रोले युवकलाई पुरेको हुन्छ । टाउको मात्र देखिन्छ । बालुवाको थुप्रोमा पुरिएको युवकलाई शाहसपूर्वक निकालेर बचाउँछ । सबै विधार्थीहरू र शिक्षकले प्रशंसा गर्दछन् । उसलाई कक्षाको मनिटर बनाउँन प्रस्ताव गर्छन् । आफू यायाबर अजनवी भएको र अरूलाई नै मनिटर बनाउनु पर्ने कुरा युवकले राख्दछ । शिक्षक भन्छन् “हामी सबै क्षण भङ्गुर छौँ । अजनवी र यायाबर हौँ । यो धर्ती नै बसेरा हो । यसरी जीवन दर्शन प्रस्तुत भएको छ ।
मरुभूमिको भ्रमणले उनीहरूको सम्बन्धलाई झन् प्रगाढ बनाउँछ । तर उनको भिनाजुको जागिर सकिएको हुनाले उनले त्यो स्कुलबाट बिदा हुनु पर्ने हुन्छ । मृदुला युवकको शुल्क बुझाउन आउँदा युवक रिपोर्टकार्ड लिँदै हुन्छ । उसले स्कुल छोड्ने कुराले मृदुला र उनका साथीहरूलाई व्याकुल बनाउँछ । युवक रेल चढेर गुड्दै गर्दा उनीहरू दौडँदै आउँछन् । मृदुलाले युवकलाई एउटा राजस्थानी गाम्छा दिन्छिन् । त्यो वियोगान्तक क्षणले पाठकका आँखामा आँशु टिल्पिलाउँछन् । त्यस गाम्छाभित्र पाँचसयको नोट पोको पारेको हुन्छ । त्यो पाँचसयले अर्को स्कुलमा शुल्क तिर्न अभर पर्दा काम काट्द्छ । युवकको स्वाभिमान झुक्न पाउँदैन । मण्डिवालासँग गल्ला माग्नु पर्दैन ।
नेपालको राजनीतिभित्र प्रजातन्त्र प्राप्तिसँगै सबैले देखेको सपना अधुरै रहेकोमा उपन्यासकार चिन्तित देखिन्छन् । प्रजातान्त्रिक समुन्द्र प्रदुषित भयो । छदम् भेषीहरूले कनिका बेचे जस्ता भनाइबाट उनको चिन्ता प्रष्टिन्छ । धार्मिक आडम्बरभित्र गुम्सिएको यौवन र यौनिक चाहनालाई शुभ्र बस्त्रमा छोपेर राख्नु अप्राकृतिक हो । युवतीहरूका यौनिक भावभङ्गी रेलको यात्रामा देखिन्छ । उनी भन्छन्, “फूलको कोपिला फक्रन तयार हुन्छ तर फूलको पत्रभित्र परागसेचन नभई फूल झर्नु अप्राकृतिक हो । भोकलाग्नु, तिर्खालाग्नु, धान पसाउँनु र पोटाउनु प्राकृतिक कुरा हुन् । तुषारापात भएर धान फूल्न र फल्न नपाउनु प्रकृतिको नैसर्गिक अधिकार हनन हुनु हो । हाम्रा पूर्खाहरू युगपुरुष र युगमाताहरूले पनि प्रकृतिमाथि विजय प्राप्त गर्न सकेनन् । सौन्दर्यप्रति आकर्षित भए । प्रकृतिको नैसर्गिक अधिकारको रक्षा गरेर आज हामी यहाँ छौ । यसरी उनले यौनिकताको अनिवार्य आवश्यकता र आकर्षणको उठान गरेका छन् । शाररीकृत प्रकृतिमाथि नियन्त्रण गर्नु र डोरी कस्नु अन्याय हो । ठूलाठूला नदीहरूलाई जति अग्लो बाँध बाँधे पनि भरिएपछि छताछुल्ल हुन्छ । मानव मनको गंगासागरलाई जति बाँध्न खोजे पनि मन गगा भत्कन्छ र जगत् नास गर्छ ।” उनका यी भनाइहरूले धर्मको आडम्बरभित्र भएका सारा यौनिक कुकृत्यलाई उदाङ्गो बनाइ दिन्छ । पाठकलाई साहित्यकार विश्वेश्रप्रसाद कोइरालाको लेखनसँग नजिक पुर्याउँछ ।
लेखकले प्रकृतिको वर्णन गरेर हिमाल र मरुभूमि जोडेका छन् । जन्मदै गरेको कोमल सूर्य र अस्त सूर्यलाई जीवनसँग दाँजेका छन् । दिन र रात, आकाश र धरती, प्रातकाल र सन्ध्याकाल, वनजङ्गल र जनावर आदिको मुक्त कण्ठले वर्णन गरेका छन् । यी यावत् कुराहरूले उनको प्रकृति प्रेमलाई परिचित गराउँदछ । यहाँ महाराणा प्रतापले मुगलसँग युद्ध गरेर हिन्दुत्व जोगाएको कथा छ । पन्ना धाइले आफ्नो छोरालाई बलि दिएर महाराणा प्रतापलाई बचाएको वीरताको ऐतिहासिक कथा छ । एउटी आमाले छोराको बलि दिएर राष्ट्र र मातृभूमिप्रति गरेको साहसिक कथा छ ।
करिब पचपन्न वर्षपछि लेखक आफूले बाल्यकालमा पढेको महाराणा प्रताप स्कुलमा पुग्छन् । त्यस विद्यालयमा उनकी बालसखा मृदुला प्राचार्यका रूपमा भेटिन्छिन् । दुवै जना भावुक हुन्छन् । पाठकको कोमल मन रसाएर आँखा चिसा हुनेछन् । त्यहाँ बाल्यकालको वासनारहित स्नेहले कस्तो आदर्श ,देशभक्ति र पहिचानको बिरुवा रोपिदिएछ भन्ने कुरा देख्न पाउँछौँ ।
लेखकले सरल भाषामा लेख्दा लेख्दै पनि क्लिष्ट शब्दहरू प्रयोग गरेको पाइन्छ । जस्तै क्षणभङ्गुर, यायाबर, बसेरा, स्निग्ध, हर्थुङ्गो, हिमसुमन ,निस्तब्ध, दमडी, शुभ्र, भावभङ्गी, सोपान, पगपथ, रविरश्मी , विदीर्ण आदि । यसले लेखकसँगको शब्द भण्डारको गहनता बारेमा पाठकलाई बोध गराउँछ ।
उपन्यासकार, विभिदतालाई एउटै छोटो पुस्तकमा समेट्न सफल भएका छन् । लेखकका नाति सुहिम थापा प्रकाशक रहेको “मरुमूमिकी महारानी” लाई साहित्यकार प्रोल्लास सिन्धुलीयले सम्पादन गर्नु भएको छ । यसको मूल्य १५० रूपैयाँ रहेको छ । लेखकको महाप्रस्थानको दुखद खबरले यो स्तम्भकारलाई स्तब्ध बनायो । नेपाली साहित्यलाई अपूरणीय क्षति भएको छ ।
-पाँचथर, हाल क्यानडा