विष्णु के.सी. (विष्णुकुमार खत्री , २०३० मङ्सिर २७, बुधबार) समीक्षा र साहित्य सिर्जनाका क्षेत्रमा सुपरिचित प्रतिभा हुन् । उनले माधव घिमिरेको खण्डकाव्यकारितामा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि (२०६७) गरेका छन् । उनी पशुपति बहुमुखी क्याम्पस चाहविलका सहप्राध्यापक हुन् । ‘चम्कन सकूँ म’ शीर्षकको कविता उदय पत्रिकामा २०५४ सालमा प्रकाशत गरी नेपाली साहित्यमा देखापरेका केसीका छातीभित्र आफ्नै घाउ (गीतसङ्ग्रह, २०६१), सिद्धार्थको पहाडयात्रा (बालकथासङ्ग्रह, २०६३), आमाको उपचार (बालकथासङ्ग्रह, २०६४), रचनात्मक नेपाली निबन्ध–१ (२०७०), रचनात्मक नेपाली निबन्ध–२ (२०७१) घट्टे यात्रा ( बाल चित्रकथा, २०७२ ), समाको चराप्रेम (बाल चित्रकथा, २०७२ ) माटाको गन्ध (बाल नाटक सङ्ग्रह २०७२ ) जस्ता सिर्जनात्मक कृति प्रकाशित छन् । उनका महाकवि देवकोटाका काव्यकृति (२०७१), माधव घिमिरेको खण्डकाव्यकारिताको विश्लेषण र मूल्याङ्कन (२०७२) जस्ता कृतिहरू प्रकाशित छन् । उनी गुणनिधि पन्त स्मृति प्रतिष्ठान,नेपाली वाङ्मय प्रतिष्ठान, कपन साहित्य समाज, सुनकोसी साहित्य प्रतिष्ठान, बाल साहित्य समाज, कपन साहित्य समाज जस्ता विभिन्न साहित्यिक सामाजिक संघसंस्थामा पनि संलग्न छन् । उनले साहित्य र शिक्षासेवावापत विविध सम्मान पनि पाएका छन् । विविध पाठ्यपुस्तक र पत्रपत्रिकाका पनि सम्पादक के.सीको साहित्य सागरको प्रस्तुत शृङ्खलामा माधव घिमिरेको इन्द्रकुमारी खण्डकाव्यको विश्लेषण शीर्षकको घिमिरेको खण्डकाव्यकारिता सम्बन्धी लेख समेटिएको छ । यस लेखमा घिमिरेको इन्द्रकुमारी खण्डकाव्यको विधातात्विक विश्लेषण गरिएको छ । अनुसन्धानमूलक यस समीक्षामा घिमिरेको इन्द्रकुमारी खण्डकाव्यलाई भावव्यञ्जना, कवित्वकला, विम्ब, अलङ्कार, भाषाशैली आदिका साथै खण्डकाव्यको स्वरूपमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शिल्पसंरचना सम्पन्न घिमिरेका खण्डकाव्यमध्ये प्रतिनिधिमूलक खण्डकाव्यका रूपमा मूल्याङ्कन गरिएको छ ।
-सम्पा. |
१. पृष्ठभूमि
माधव घिमिरे (वि.सं. १९७६ असोज ७) नेपाली साहित्यका वरिष्ठ कवि प्रतिभा हुन् । उनले गीतिनाटक, कथा, निबन्धजस्ता विधामा कलम चलाए पनि उनको समष्टि सिर्जनशीलताको सर्वाधिक मुख्य पक्ष कविता सिर्जना देखा पर्दछ । उनको कविता सिर्जना अन्तर्गतको एउटा महत्त्वपूर्ण अंश चाहिँ खण्डकाव्यकारिता हो । हालसम्म उनका नयाँ नेपाल, पापिनी आमा, गौरी, राजेश्वरी, राष्ट्र निर्माता, धर्तीमाता, इन्द्रकुमारी, बोराको परदा, गौँथली र गजधम्मे गरी नँ खण्डकाव्य प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराको मर्म र परिष्कारवादी शिल्पको समन्वय गरी रचिएका यी खण्डकाव्यहरू नेपाली खण्डकाव्य परम्पराका महत्त्वपूर्ण उपलब्धि मानिन्छन् । प्रस्तुत अध्ययनमा इन्द्रकुमारी खण्डकाव्यको विश्लेषण गरिएको छ ।
२. प्रेरणास्रोत र प्रभावस्रोत
इन्द्रकुमारी (२०५७) कवि माधव घिमिरेको एकासीबर्से जीवन र पैँसठ्ठीबर्से काव्यसाधनाको अनुभवबाट सिञ्चित खण्डकाव्य हो । प्रारम्भ (२०३१) मा गीतिनाटकका रूपमा लेखिएको र पछि परिष्कार–परिमार्जन गर्दै जाँदा खण्डकाव्यका रूपमा प्रकाशित हुन पुगेको यस खण्डकाव्यरचनाका प्रेरणास्रोतका सम्बन्धमा स्वयम् कवि घिमिरेले नै यसरी जानकारी दिएका छन्–
“इन्द्रकुमारी खण्डकाव्यकी नायिका इन्द्रकुमारी मकवानपुरका राजा हेमकर्णकी छोरी र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकी जेठी रानी हुन् । विवाह भैसकेर पनि उनले माइतैमा बस्नुपर्यो । त्यसो हुनुमा सायद द्विरागमन नगरी छोरी घर नपठाउने मकवानपुरको र रित्तो डोली फर्काएर नलैजाने गोर्खाको राजहठ नै कारण थियो । इन्द्रकुमारीको जवानीका अमूल्य बीस वर्ष त्यसै बिते । जवानीका बीस वर्ष भनेको भावुकता र सिर्जनशीलताका वर्ष हुन् । जवानीमा सहधर्मिणीका हैसियतले प्रेम पनि नपाउँदा र सहकर्मिणीका हैसियतले राष्ट्रनिर्माणमा सहयोग पनि पुर्याउन नपाउँदा एकाकिनी इन्द्रकुमारीले कति मर्माहत पीडा भोगनुपर्यो होला । आफ्ना मार्मिकताले गर्दा यस्ता घटनाहरू स्वतः काव्यमय हुन्छन्≤ गीत गाऊँ–गाऊँ र कथा कहूँ–कहूँ जस्ता हुन्छन् । त्यसमा पनि यो काव्य लेख्न मलाई एक प्रसङ्गले प्रेरणा दियो । कुरा के भयो भने मेरा नजिकका नातेदार एक व्यक्ति ८४ वर्ष पुगेपछि छिनको कुरा छिनमै बिर्सन लागे र आखिर आफ्नो ३५ वर्षको उमेरदेखि पूर्वको जीवनमा फर्किए । उनी वर्तमानका कुनै युवा र युवती देख्दा पनि अतीतका आफ्नै दौँतरी भन्ने ठानेर रमाई–रमाई कुरा गर्थे अनि ती युवायुवतीहरू चाहिँ आँखाभरि आँसु लिएर सुन्थे । कसैका जवानीका दिन शून्यवत् बित्नुजति ठूलो क्षति के हुन सक्छ र ∕ त्यही शून्यलाई आँसुका थोपामा परिवर्तित गर्ने प्रयत्न हो–इन्द्रकुमारी ।”
कवि माधव घिमिरेलाई इतिहासविषयक यस खण्डकाव्यरचनाका निम्ति उनका ऐतिहासिक विषयकै राजेश्वरी (२०१७) र राष्ट्रनिर्माता (२०२३) जस्ता खण्डकाव्यहरूले पाएको सफलताले पनि घचघच्याएकै हो । त्यस्तै समसामयिक युगनी सन्दर्भसँग जोडेर हेर्ने हो भने यस खण्डकाव्यमा गोर्खाली राजा पृथ्वीनारायण शाह र मकवानपुरे राजा दिग्वन्धन सेन (हेमकर्णसेनका छोरा)का हठका द्वन्द्वका चपेटामा परी निर्दोष इन्द्रकुमारीको जीवन कष्टकर भएको प्रसङ्गबाट राजनेताहरूको प्रतिष्ठासङ्घर्षका मारमा परेर लाखौँ जनताले कठिन जीवनयापन गर्न बाध्य भएको वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेश पनि ध्वनित भएको देखिन्छ । यसबाट कसैको स्वार्थ वा हठका कारण लाखौँ जनताको हकहितको उपेक्षा भइरहेको वर्तमान युगसन्दर्भले पनि कवि घिमिरेलाई यो खण्डकाव्य रच्नाका निम्ति उत्प्रेरित गरेको बुझिन आउँछ । यसको निर्मिति र भावव्यञ्जनातर्फ दृष्टि दिँदा चाहिँ यो परिष्कारवादी शिल्पसंरचना, स्वच्छन्दतावादी प्रणयचेतना एवम् मानवतावादी चिन्तनबाट प्रभावित रहेको पाइन्छ ।
३. शीर्षकविधान
प्रस्तुत खण्डकाव्यको शीर्षक यसैकी प्रमुख नारी पात्र अर्थात् नायिकाको नामबाट चयन गरिएको छ र त्यो हो– इन्द्रकुमारी । ऐतिहासिक पृष्ठभूमिबाट टिपिएकी पात्र इन्द्रकुमारी पृथ्वीनारायण शाहकी जेठी रानी हुन् । पृथ्वीनारायण शाह र उनको विधिविधानपूर्वक विवाह भए पनि द्विरागमन नगरी छोरी बिदा नगर्ने मकवानपुरे राजसंस्कृति र रित्तै डोली फिर्ता नलाग्ने गोर्खालीहरूका हठका कारण उनले जीवनभर माइतै बसी पतिसान्निध्यविहीन कुण्ठित जीवन जिउनु पर्यो । युगको आकाङ्क्षा बुझेर नेपालको एकीकरणमा लागेको त्यस महान् पुरुषले आफ्नै पत्नीको मर्मलाई बुझ्न सकेन वा बुझेर पनि बुझ पचायो । जसबाट इन्द्रकुमारी प्रणयविरहजन्य पीडाबाट आजीवन पीडित भइन् । इन्द्रकुमारीको जीवनको यही प्रणयविरहजन्य पीडाको उद्घाटनमै प्रस्तुत खण्डकाव्य केन्द्रित रहेको छ र यसका पच्चीसवटै खण्डमा उनको चरित्रगत व्याप्ति पनि छ । सुरुका दुई खण्ड र अन्त्यका दुई खण्डबाहेक बीचका एक्काइस खण्डमा उनको प्रत्यक्ष उपस्थिति छ भने ती सुरु र अन्त्यका दुई–दुई खण्डमा पनि कविले उनको मर्ममधुर जीवनको उद्घाटन गरेकै छन् । यसरी पृथ्वीनारायण शाहजस्ता युगपुरुष पति भईकन पनि इन्द्रकुमारीले जीवनका सिर्जनशील बीस वसन्त बन्ध्यासरि भएर बिताउनु परेको अति करुण विषयको प्रभावकारी प्रस्तुतिबाट निर्मित यस खण्डकाव्यको शीर्षक उनकै नामबाट इन्द्रकुमारी चयन हुनु चरित्रको केन्द्रीयता र विषयवस्तु दुवैका दृष्टिले औचित्यपूर्ण एवम् सार्थक ठहर्छ । त्यस्तै साँढेको जुधाइका क्रममा बाच्छाको मिचाइका रूपमा माइती र घरपक्षका प्रतिष्ठा द्वन्द्वका कारण प्रणयतिर्खा थाती राखेर जीवन व्यतीत गर्न बाध्य भएका थुप्रै नेपाली युवतीहरूको करुण वेदना एवम् राजनेता तथा शासकहरूका सङ्घर्षका क्रममा नेपाली जनताले सिर्जनाविहीन जीवन जिउनु परेको युगीन सन्दर्भ (राणाशासन–१९०३–२००७, पञ्चायतकाल–२०१७–२०४६, तथा प्रजातन्त्र पुनस्र्थापना–२०४७ देखियता) समेत यस खण्डकाव्यमा मकवानपुर र गोर्खा राज्यका हठका कारण पीडित हुन पुगेकी इन्द्रकुमारी पात्रकै माध्यमबाट व्यञ्जित हुन पुगेको देखिन्छ । यसरी प्रतीकात्मक अर्थव्यञ्जनका दृष्टिले पनि यस खण्डकाव्यको शीर्षक इन्द्रकुमारी रहनु उचित नै ठहर्छ ।
४. आख्यानसंरचना
४.१ कथावस्तु
प्रस्तुत इन्द्रकुमारी खण्डकाव्य नेपाली इतिहासको एक मार्मिक घटनालाई आधार बनाएर रचिएको काव्यकृति हो । हुनत इतिहास निर्माण हुने क्रममा कतिपय कुराहरू गौण हुन्छन् र त्यस्ता गौण कुराहरूलाई इतिहासले खासै महत्त्व दिँदैन । तर त्यस्ता गौणताभित्र पर्नेहरूको जीवन चाहिँ अत्यन्त मार्मिक हुन्छ । नेपाल राष्ट्रको निर्माण वा एकीकरणका सन्दर्भमा इतिहासले पृथ्वीनारायण शाहको उच्च मूल्याङ्कन गरेको छ । उनको त्यो अद्वितीय व्यक्तित्वका सामु सबै नतमस्तक छन् । तथापि तिनै अद्वितीय व्यक्तित्वको पत्नी भईकन पनि छायामा परेर इन्द्रकुमारीले अत्यन्त कठिन एवम् कुण्ठित जीवन बिताउनुपर्यो । यो घटना इतिहासमा त्यति महत्त्वको नहोला तर मानवीयताका दृष्टिले चाहिँ अत्यन्त मार्मिक छ । प्रस्तुत खण्डकाव्यमा कविले इन्द्रकुमारीको यही मार्मिकतालाई कथाबीजका रूपमा ग्रहण गरेका छन् । गोरखाका राजा पृथ्वीनारायणको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भएको थियो । विवाहका बेला इन्द्रकुमारीको उमेर नपुगेको र द्विरागमन नगरी छोरी बिदा गर्ने चलन पनि नभएकाले हेमकर्णसेनले तत्कालै पृथ्वीनारायणसँग छोरी पठाएनन् । यही घटनाले मकवानपुर राज्य र गोरखा राज्यकाबीच बिस्तारै प्रतिष्ठाद्वन्द्वको रूप लियो र पृथ्वीनारायणले आफ्नी रानी इन्द्रकुमारीलाई कहिल्यै भित्र्याएनन् । यस ऐतिहासिक घटनालाई इतिहासमा यसरी उल्लेख गरेको पाइन्छ –
“चौध वर्षका उमेरमा पृथ्वीनारायण शाहको विवाह माणिक्य सेनका जेठा छोरा मकवानपुरका राजा हेमकर्ण सेनकी बाह्र वर्षकी छोरी इन्द्रकुमारीसँग भएको थियो । छोरी सानी भएकीले मधेसको चलन अनुसार विवाहको लगत्तै बिदा गर्न नमिल्ने भएकाले हेमकर्ण सेनले छोरी बिदा गर्न मानेनन् । पृथ्वीनारायण शाह रित्तै हात गोरखा फर्किए । केही समयपछि पृथ्वीनारायण शाह दुलही लिन फेरि मकवानपुर गए । यसपटक यिनले विवाहमा प्रयोग गरिएको गजमोतीहार र एकदन्ता हात्तीको माग गरे । हेमकर्ण सेनले ज्वाइँको यस मागलाई स्वीकार गरेका थिए तर हेमकर्ण सेनका छोरा दिग्बन्धन सेनले यी दुवै कुरा दिन अस्वीकार गरे । त्यसै हुनाले यसपटक पनि पृथ्वीनारायण शाह दुलही नलिएरै गोरखा फर्किए ।”
त्यसपछि पृथ्वीनारायण शाहको दोस्रो विवाह बनारसका राजपूत अभिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो र पृथ्वीनारायणले आफ्नी जेठी रानीलाई गोरखा भित्र्याउने प्रयास नै गरेनन् । यसपछि इन्द्रकुमारीको जीवन अत्यन्त कष्टकर भयो । पति छैन भनौँ त्यस्ता वीर व्यक्तित्व आफ्ना पति हुन् । पति छन् भनौँ जवानीका सिर्जनशीलता त्यसै खेर गए । यही मार्मिक पीडा भोग्न बाध्य भएकी रानी इन्द्रकुमारीले पति भईकन पतिहीनझैँ, विवाह भईकन अविवाहितझैँ, शक्ति भईकन शक्तिहीनझैँ एवम् सिर्जनशील भईकन सिर्जनाविहीन भएर निस्क्रिय जीवन जिउँदा अनुभूति गरेका पीडाबोधलाई अर्थात् इन्द्रकुमारीको त्यस किसिमको पीडामय मार्मिक जीवनको मनोविज्ञानलाई शब्दमा उतार्ने काम कविले यस काव्यमा गरेका छन् ।
यसरी इतिहासको मार्मिक घटनालाई आधार बनाएर लेखिएको यस काव्यमा कथावस्तुगत घटनाहरूको शृङ्खलात्मक विकास चाहिँ फेला पर्दैन । यहाँ इतिहाससँग सम्बन्धित घटनाहरूको उल्लेख छ तर ती घटना केवल काव्यनायिका इन्द्रकुमारीका स्मरणका रूपमा मात्र आएका छन् । कार्यकारण शृङ्खलामा उनिएर ती घटनाहरूले पूर्ण कथाको स्वरूप धारण गर्न सकेको स्थिति छैन । यसमा जम्मा पच्चीस खण्ड छन् । ती पच्चीस खण्डमध्ये सुरुका दुई र अन्त्यका दुई गरी चार खण्ड कविका टिप्पणीका रूपमा र बीचका एक्काइस खण्ड इन्द्रकुमारीको प्रेमपत्रका रूपमा रहेका छन् अनि ती एक्काइस खण्डमा छत्तीसबर्से इन्द्रकुमारीले आफ्नो जवानीका बीस वर्ष प्रणयविहीन भएर र महारानी भईकन पिजँडामा थुनिएकी चरीझैँ भएर बिताउनुपर्दाका कठिन मनोविज्ञानलाई उतार्ने काम भएको छ । यहाँ कथावस्तुगत कुनै शृङ्खला छैन । यसको कथावस्तु भन्नु नै पृथ्वीनारायणद्वारा त्यक्त भएकी इन्द्रकुमारीको मनोविज्ञानको एकालापीय चित्रण हो । त्यस चित्रणमा ऐतिहासिक घटनाका सानातिना प्रसङ्ग फेला परे पनि तिनको क्रमिक विन्यास छैन । वास्तवमा यो इतिहासको घटनालाई आधार बनाएर एउटी अतृप्त नारीको मनोविज्ञानलाई चित्रण गर्दै लेखिएको पत्र शैलीको एकालापीय वा आत्मालापीय खण्डकाव्य हो । यसमा पात्र–पात्रको घातप्रतिघातको क्रमबद्घ शृङ्खला भेटिँदैन । पृथ्वीनाराणद्वारा बेवास्ता गरिएकी रानी इन्द्रकुमारीका पीडालाई इन्द्रकुमारी पात्रकै पत्रमार्फत् आत्मचित्रणका ढङ्गमा प्रस्तुत गर्ने काम यहाँ भएको छ । कथावस्तुगत घटनाको क्रमिक विन्यास भई आदि, मध्य र अन्त्य अर्थात् आरम्भ, विकास, उत्कर्ष, चरमोत्कर्षजस्ता शृङ्खलामा कथावस्तुगत विकास भएको स्थिति यहाँ छैन । पृथ्वीनारायण र इन्द्रकुमारीका बारेमा भेटिने ऐतिहासिक तथ्य र यस काव्यको विषयसन्दर्भ एवम् पात्रहरू चाहिँ हुबहु नै मिल्ने भएकाले एउटा उर्वर कथाबीज चाहिँ यसमा छ तर त्यो बीज बिरुवाको रूपमा फैलँदै कथावस्तुगत झाङका रूपमा विकसित हुन चाहिँ पाएको छैन । त्यसैले यस काव्यमा कथावस्तुको पूर्णस्वरूप फेला नपरे पनि सूक्ष्म वा अपुष्ट रूपमै भए पनि सङ्केत चाहिँ भेटिन्छ नै । यस काव्यको समग्र पठनबाट बोध हुन आउने कथावस्तु चाहिँ के हो भने पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो तर मकवानपुरेहरू र गोरखालीहरूको हठका द्वन्द्वले पृथ्वीनारायण र इन्द्रकुमारीको जीवन स्वाभाविक पतिपत्नीको रूपमा बित्न सकेन र पृथ्वीनारायणले अर्को विवाह गरेर आफ्नो दाम्पत्य जीवनको सुखभोग गरे पनि इन्द्रकुमारीका लागि त्यो पनि सम्भव थिएन । साँढेका जुधाइमा बाच्छाको मिचाइ भएझैँ एकाकी भई प्रणयविहीन जीवन बिताउनुको कुनै विकल्प इन्द्रकुमारीका लागि थिएन । यही मूल कथाका अन्तरमा इन्द्रकुमारीका एकाकी जीवनको पीडित मनोविज्ञानको चित्रण गर्दै यो काव्य रचिएको देखिन्छ ।
यसरी हेर्दा प्रस्तुत काव्य एउटी नारी अर्थात् इन्द्रकुमारीले आफ्नो जीवन पति भईकन पतिहीना भएर सिर्जनाविहीन भई शून्यवत् रूपमा बिताउनुपर्दाको मनोविज्ञानलाई चित्रण गरेर लेखिएको एकालापीय वा आत्मालापीय किसिमको काव्य भएकाले कथावस्तुगत घटनाबीज भए पनि पुष्ट कथावस्तु नभएको काव्यका रूपमा देखा परेको छ । यद्यपि प्रस्तुत काव्यका पच्चीसवटै खण्डमा अभिव्यक्त विषयवस्तुलाई क्रमशः प्रस्तुत गर्नु सान्दर्भिक ठानी तल दिइएको छ—
इन्द्रकुमारी खण्डकाव्यको पहिलो र दोस्रो (पूर्वाद्ध क–ख)
खण्डमा प्रस्तुत विषयवस्तुगत विवरण
क्र.सं. | विषयवस्तुगत विवरण खण्ड श्लोक | खण्ड | श्लोक |
१ | मालमा बस्ने डाँफे चरी र मधेसमा बस्ने रानी चरी आ–आफ्नै किसिमका राम्रा छन् र रानी चरी मीठो गीत गाए पनि नाच्न लजाउने खालकी र डाँफे राम्रो नाच्दै पखेरातिर हेर्ने खालको छ भन्दै पृथ्वीनारायणलाई डाँफे चराका रूपमा र इन्द्रकुमारीलाई रानी चरीका रूपमा चित्रण गर्नु । |
१ (क)
|
१-३
|
२ | डाँफे रानी चरीलाई हेरेर मूच्र्छा परूँझैँ हुन्छ र रानी चरी डाँफेलाई आँसु वर्षा गरूँसरि हेर्छे भन्दै यी दुईले देखादेख गर्दा मोहनी मात्र लाग्छ र आखिर भेट नहुने भएपछि देखादेख नभएकै राम्रो भन्ने टिप्पणी हुनु । |
१ (क)
|
४-६
|
३ |
रुन्नरुन्न भन्दाभन्दै पनि रानी चरीका आँखा रसाउँछन् र डाँफेसँगको वियोगको पीडा सारङ्गी र बेनीमाथिको बतासमा सुसाउँछ भन्दै हिमाली डाँफे(पृथ्वीनारायण) र मधेसकी रानी चरी (इन्द्रकुमारी)को कहिल्यै मिलन नहुने बताउनु ।
|
१ (क)
|
७-८
|
४ |
मायाप्रीतिको प्रतीकस्वरूप सीता र रामको मूर्ति अगाडि राखेर बाटिकाभित्र आरती गरिरहेकी इन्द्रकुमारी सानै उमेरमा गम्भीर भक्तिनी भएकी देखिन्छिन् भन्ने वर्णन हुनु ।
|
२ (ख)
|
१-२
|
५ |
हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी रूपको बत्ती बलेझैँ सुन्दरी छिन्, उनले बिहे भए पनि डोली चढेकी छैनन् र सिन्दुर पैह्रिए पनि कुमारी रूपमै रहन बाध्य हुनुपरेको छ भनी इन्द्रकुमारीको दाम्पत्य क्रीडाविहीन जीवनबारे सङ्केत गर्नु ।
|
२ (ख)
|
३-४
|
६ | पति पृथ्वीनारायण शाहद्वारा त्यागिएकी इन्द्रकुमारी धर्मकर्म गरेर देवभक्तिमै लागी आफ्नो उदासी मनलाई बुझाइरहेको वर्णन हुनु । | २ (ख) |
५-८
|
क्र. सं.
|
विषयवस्तुगत विवरण
|
खण्ड |
श्लोक
|
१ |
इन्द्रकुमारीले पृथ्वीनारायण शाहलाई पत्र (काव्यमय चिठी) लेख्न प्रारम्भ गर्दै पृथ्वीनारायणलाई सम्झँदा भलभल आँसु बग्ने गरेको र आफ्नो मान्छेलाई नाता लाएर सम्बोधन गर्नसमेत लाज लागेको कुरा बताउनु,
|
३ (१)
|
१–२
|
२ |
विवाह बन्धनमा बाँधिएर पनि पतिपत्नीको स्वाभाविक दाम्पत्य क्रीडामा संलग्न भएर बोलीमा बोली मिस्तै पसिनाले भिज्न नपाएको गुनासो गर्दै विरही बनेर गीतमा बोल्नुको अर्थ नभएको कुरा बताउनु,
|
३ (१)
|
३–४
|
३ |
निस्तब्ध रातमा वाग्मती सुसाइहेको र आफ्ना मनमा पनि वियोगको पीडाको भाव त्यसरी नै सुसाइरहेकाले मनभित्रका सबै भावहरू चिठीमा उतार्न नसक्ने र आफू चैतको विरही न्याउलीझैँ विरहव्यथाले पीडित भएको बताउनु,
|
३ (१)
|
५–६
|
४ |
जीवनमा आफू नितान्त एक्लो भएको, कलेजीमा लेखिएका वेदनाहरू चिठीमा उतार्न नसकिने र जति सम्झना गरे पनि आँसुमात्र भल्भली बग्ने भन्दै गुरु गोरखनाथले पृथ्वीनारायणलाई कुशलमङ्गल राखून् भन्ने कामना गर्नु,
|
३ (१)
|
७–८
|
५ |
आफू सोह्र वर्षकी र पृथ्वीनारायण बीस वर्षको हुँदा विवाह भएको र त्यसबखत चित्रा र चन्द्रको भेट भएझैँ प्रेमको अनन्तानुभूति भएको भन्दै त्यतिखेरको प्रीति जति बुझे पनि अझै बुझ्न बाँकी रहेको कुरा उल्लेख गर्नु,
|
४ (२)
|
१–२
|
६ |
विवाहका बखत पृथ्वीनारायण शाहलाई आफ्नो वरका रूपमा हेर्दा जुँगारेखी भर्खर बसेको मुस्कानयुक्त पूर्व उज्यालाको शुभरेखासमान सुन्दर युवकका रूपमा देखेको बताउनु,
|
४ (२)
|
३–४
|
७ |
वैवाहिक लीलाको खास अर्थ भर्खर बुझ्न लागेको र विवाहका बेला पाणिग्रहणका क्रममा एकअर्का (पृथ्वीनारायण र इन्द्रकुमारी) का हात स्पर्शका सम्झनाले आफैँलाई अहिले पनि असिनपसिन पार्ने कुरा बताउँदै आफैँसँग सुन्दर संसार रच्न चाहने पृथ्वीनारायण त्यति स्पर्शमात्र गरेर फेरि नफर्केकाले आफू प्रणयसुखविहीन भई अलपत्र परेको गुनासो गर्नु,
|
४ (२)
|
५–८
|
८ |
दाजु (दिग्बन्धन सेन)ले रश्मिका ताज पहिरेका गोर्खाली युवराज पृथ्वीनारायण र नौलखा हार पहिरेकी इन्द्रकुमारीले वीरवाणीमा आफूहरूको लक्ष्य सागरमा गोडा चोपेर श्रीपेचले चुली छुने गरी राज्यविस्तार गर्ने अर्थात् हिमाली राज्यलाई विस्तार गर्दै सागरसम्म पुर्याउने रहेको बताएको सपना देखेको र त्यही सपनाका कारण आफ्नो जीवन शून्यवत् हुन पुगेकाले दाजुले त्यस्तो सपना नदेखेको भए पनि त हुन्थ्यो भन्ने तर्कना गर्नु,
|
५ (३)
|
१–६
|
९ |
पृथ्वीनारायण शाहले विवाहमा प्रयोग भएको नौलखा हार र हात्ती मागेकामा इन्द्रकुमारीका दाजु दिग्बन्धनले त्यस्तो सपना देखेपछि आफैँमाथि आइलाग्न पृथ्वीनारायणलाई हात्तीदँतार दिनु उपयुक्त नभएको भन्दै पृथ्वीनारायणको माग अस्वीकार गरेकाले पृथ्वीनारायण रित्तै घर फर्केको र त्यसैकारण पृथ्वीनारायणसँग आफ्नो मिलन हुन नसकेको गुनासो इन्द्रकुमारीले गर्नु,
|
५ (३)
|
७–८
|
१० |
डोलीमा फूल राखेर कसरी रित्तै फर्केको र आफ्नी पहिली पत्नीलाई कसरी बिर्सन सकेको भन्दै आश्चर्य मान्नु र आफ्नी दुलहीलाई अहिले मेरी पत्नी छिन् भनेर सम्झँदै छौ कि भन्ने तर्कना गर्दै दाम्पत्य जीवनको मीठो रहस्य पतिपत्नी दुईलाई मात्र थाहा हुने कुरा भए पनि आफू त्यसबाट वञ्चित हुनुपरेको आशय व्यक्त गर्नु,
|
६ (४)
|
१–३
|
११ |
घामको सिन्दूर परेर दुलहीतुल्य भएको बिहानको हिमचुलीलाई हेरेर आफूलाई सम्झन्छौ कि भन्दै आफूले त बिहान बिम्झनेबित्तिकै पतिकै प्रीति वा मृत्युलाई सोच्ने गरेको र आफू पतिमिलनका लागि आतुर रहे पनि आफ्नो फूलजस्तै जीवन त्यसै खेर गएको चर्चा गर्नु,
|
६ (४)
|
४–८
|
१२ |
अचेल आफू सपनामा नौलखा हार पहिरेर वैशाखी पालुवाभित्र फूल हाँसेझैँ गरी मुस्कुराउँदै डोली चढेर उडिरहने गरेको र त्यस कुराले आफूलाई आश्चर्य र खुसी दुवै लागेको कुरा बताउनु,
|
७ (५)
|
१–३
|
१३ |
सपनामा उड्ने क्रममा झल्लरी छाता ओडेर घामपानी र मेघमाला छिचोल्दै अग्ला हिमचुलीतिर पुग्ने गरेको र फेरि तलतल खसालिँदै बिउँझँदा आफ्नै खाटमा एक्लै भएको पाउने गरेको कुरा बताउँदै घरपक्ष र माइतीपक्षको द्वन्द्वका कारण आफू यसरी मनोरोगी भएर पीडायुक्त जीवन बाँच्नु परेको कुरा सङ्केत गर्नु,
|
७ (५)
|
४–८
|
१४ |
बादललाई आफ्नो दिलको चिठी गोर्खा पुर्याइदिन आग्रह गर्दै विराट् विरहले पीडित आफ्नो आँसुका फूलस्वरूप खबरका साथ अतृप्त दुलही दिलका पीडा फुकाएर निष्ठुरी पतिलाई देखाइदिन भन्नु,
|
८ (६)
|
१–४
|
१५ |
बादललाई थप अह्राउँदै बिर्सेकी दुलहीको सम्झना गराएर आफ्नी दुलही माइत छाडेर घर आइन् कि भन्ने भान हुने गरी आफ्ना (इन्द्रकुमारीका) सहस्र प्यारका आँसु धिक्कारमा खसिरहेको कुरा बुझाउनु भन्ने आदेश दिनु,
|
८ (६)
|
५–८
|
१६ |
आफू एउटा बत्ती पतिका नाममा र एउटा बत्ती आफ्ना नाममा जलाएर रात्रीमा एक्लै जागा रहने गरेको र प्रेमको प्रतीकस्वरूप परेवाका भालेपोथी नीडमा निदाउँदै गरेको अनि आकाशमा दुईवटा तारा उदाइरहेको कल्पनामा पतिमिलनको काल्पनिक आनन्दको अनुभूति गर्दै रमाउने गरेको कुरा बताउनु,
|
९ (७)
|
१–२
|
१७ |
पतिमिलनको काल्पनिक आनन्दानुभूति गर्दै वासरशयामा पतिका पाखुरामाथि शिर राखेर निदाउने र त्यस्तो आत्माका साथ आत्माको अपूर्व मिलन भएको बेलाको निद्रामा अरू सपनासमेत देख्नु नपरोस् भन्ने कामना गर्नु,
|
९ (७)
|
३–५
|
१८ |
प्रणयसुखपछि जब छहराले बिहान बिउँझाउला त्यतिखेर रणमा हिँड्न ठीक परेका आफ्ना वीर पतिलाई सिउँदाभरि सिन्दूर हालेर मुस्कुराउँदै बिदा गर्न लाग्दा पतिले आफ्नी दुलहीतिर पुलुक्क हेर्लान् र त्यही यादमा आफू पतिको सकुशल फिर्तीका लागि जोर बत्ती जलाएर कामना गरिरहौ“ला भन्ने काल्पनिक दृश्यविम्बको कल्पना गर्नु,
|
९ (७)
|
६–८
|
खण्डमा प्रस्तुत विषयवस्तुगत विवरण
क्र. सं.
|
विषयवस्तुगत विवरण
|
खण्ड |
श्लोक
|
१ |
कुञ्जमा कोइली बोल्दा र कान्लामा प्याउली फुल्दा कुनै सुकुमार रूप आफ्नो नजरमा झुल्कने भन्दै इन्द्रकुमारीले लाजाहवनको बेला पहिलोपालि आफ्ना वर पृथ्वीनारायणलाई सुकुमार अवस्थामा हेर्न पाएको र अहिले चाहिँ उनी कस्ता भए होलान् भन्ने जिज्ञासाका साथ एकपटक बिपनामै प्रत्यक्ष हेर्न पाए हुन्थ्यो भन्ने इच्छा प्रकट गर्नु,
|
१० (८)
|
१–४
|
२ |
ऋतु प्रत्येक चोटि आउँदा नौलो भएर आउने हुँदा त्यो बूढो नभएझैँ कलिलो उमेरमा देख्न पाएको आफ्ना प्रिय पृथ्वीनारायणको मुहार पनि सपनामा सधैँ कलिलै देख्ने गरेको भन्दै प्रियले भुलेको धेरै वर्ष भए पनि सधैँ ऋतुका आगमन र गमनले प्रियको सम्झना गराउने र प्यारको पुकार उस्तै हुने कुरा बताउनु,
|
१० (८)
|
५–८
|
३ |
कुनै राजकुमार र राजकुमारीको स्वयंवर भएको, स्वयंवरपछि उनीहरूको बिछोड भए पनि राजकुमारको हंस तिर्खाएर राजकुमारीले थापेको कलशको पानी पिउन आउने गरेको भन्ने आफ्नी सखीले भनेको लाक्षणिक लोककथा सम्झेर आफ्ना पति चाहिँ आफैँलाई सम्झेर नतिर्खाएको र निष्ठुरी खालको भएको सङ्केत गर्नु,
|
११ (९)
|
१–८
|
४ |
एक्लै रहेर कसैलाई सम्झँदै विरही भएर रुनुमा पनि गदगद् खुसी नै लाग्दो रहेछ भन्नु र प्रियको सम्झनामा ह्दयदेखि नै पग्लेर खसेको आँसुले मनको बह कम हुने कुरा बताउनु,
|
१२ (१०)
|
१–३
|
५ |
प्रिय (पृथ्वीनारायण)ले आफू (इन्द्रकुमारी)लाई रित्याएर कहिल्यै नफर्के पनि जीवनभरि उनकै माया आफैँमा भरिएको, प्रियले छाडे पनि आफू वर्षापछिको शरद् ऋतुझैँ भरिपूर्ण नै रहेको र अब आफूलाई यस्तै विरहिणी बाला भएर रोइरहूँझैँ लाग्न थालेको भन्दै आफू चैतको सालघारीमा रोइरहेकी विरही न्याउलीझैँ भएको बताउनु,
|
१२ (१०)
|
४–८
|
६ |
सधैँ पतिलाई सम्झेर गीत गाउने र अब पतिको सम्झनाले पुग्यो भनेर सुतेपछि पनि पुनः प्रियको याद आइरहने कुरा बताउँदै पतिपत्नी अर्थात् प्रेमीप्रेमिकाको प्रेमस्मृति रोकेर नरोकिने अनन्त किसिमको हुने सङ्केत गर्नु,
|
१३ (११)
|
१–३
|
७ |
आधा रात हुँदा निरन्तर बग्ने नदीसमेत निदाए पनि आफूलाई चाहिँ प्रियकै याद आइरहने, जति चित्त बुझाएर पनि नबुझ्ने र कतै आफ्नो चित्त बुझे पनि पतिकै चित्त नबुझेर आफूलाई याद आउने गरेको हो कि भन्ने तर्कना गर्दै कहिलेकाहीँ शय्यामा आफूलाई सम्झेर प्रियले छाम्छन् कि भन्ने प्रणयविरहजन्य कल्पना गर्नु,
|
१३ (११)
|
४–८
|
८ |
पिँजरामा परेकी चरीलाई त भालेले विजनबेलामा सम्झना गर्छ र भेट्न आई चञ्चुमा चञ्चु मिलाई जान्छ भने त्यस्तै पिँजराको चरीसरि भएकी आफूलाई खुला आकाशकी पन्छीसरह सम्झेर पृथ्वीनारायणले लिन नआएकामा गुनासो गर्नु,
|
१४ (१२)
|
१–४
|
९ |
बाहिरी भौतिक सुखसुविधा भए पनि मनको तिर्खा मेटिन नपाएपछि जीवनको खास अर्थ नहुने, मानिसका लागि मुक्ति र मनको शान्ति नै ठूलो कुरा हुने र नारीको वेदनाको छटपटीलाई हेरेर पुरुषले रमिते बन्न नहुने भन्ने वैचारिक अभिव्यक्ति हुनु,
|
१४ (१२)
|
५–८
|
१० |
आमाले आफूप्रति देखाउने गरेको मायाको स्मरण गर्दै ज्वाइँ लिन नआए आफैँ पुर्याइदिएर भए पनि छोरीको घरबार गराइदिने आमाको वचन सम्झेर दुई राजघरानको अभिमानको द्वन्द्वमा आफू पीडित भएको अर्थात् साँढेको जुधाइमा बाच्छो मिचिएझैँ मिचिन पुगेको बताउनु,
|
१५ (१३)
|
१–४
|
११ |
दुवै राजघरानमा आ–आफ्नै चलन ठीक हो भन्ने घमण्ड रहेको, विवाहका मामलामा माइतीले झुक्नुपर्ने सामान्य नियम भए पनि दाजु (दिग्बन्धन सेन) नझुकेको, गोर्खाको राजकुलमा छोरी परी भनेर आमाले गरेको गर्व पनि खेर गएको र छोरीको घरजम नहेरीकनै आमाले मर्नुपरेको कुरा बताउनु,
|
१५ (१३)
|
५–८
|
१२ |
गोर्खालीहरूले मकवानपुर राज्यको हिउँदे दरबार रहेको कमला नदीको किनारमा हात्ती घोडासहित भयानक तरिकाले आक्रमण गरेर वीरता देखाएको र त्यस आक्रमणपछि पतिसँग आफ्नो भेट हुने आशा पलाएकामा पृथ्वीनारायणले आफूलाई नलिई रित्तै फर्केको सम्झना गर्दै दुःख प्रकट गर्नु,
|
१६ (१४)
|
१–८
|
क्र. सं.
|
विषयवस्तुगत विवरण
|
खण्ड |
श्लोक
|
१ |
सुखी दाम्पत्य जीवनको रचना गर्न आफू (इन्द्रकुमारी)लाई सिन्दुर हालेको कुरालाई बिर्सेर पसिना काढ्दै ठूलो देशको रचना गर्छु भनेर नौडाँडा उक्लेर सातै नदी तरे पनि त्यसको अर्थ नभएको भन्दै आफ्नै पहिली पत्नीसँग सुखी संसारको रचना गर्न नसक्नेले ठूलो देश बनाएर जनतालाई सुखी राख्न सक्तैन भन्ने सङ्केत गर्नु,
|
१७ (१५)
|
१–५
|
२ |
पति पृथ्वीनारायण देश एकीकरणको महान् यात्रामा लागेका हुनाले एकीकरणयात्रा सकेपछि आफूलाई भेट्न आउँछन् कि भन्ने आशा जागेको तर शूरवीरहरू आफू र आफ्नो घरबारलई समेत बिर्सेर देशकै लागि निरन्तर खटिरहने हुनाले त्यो आशा पनि इन्द्रिनी टुटेझैँ टुटेको कुरा बताउनु,
|
१७ (१५)
|
६–८
|
३ |
आफ्ना पिता हेमकर्ण सेनले सात समुद्रपारको व्यापारी अर्थात् तत्कालीन भारतका अङ्ग्रेज शासकहरूले नेपालभित्रका राज्यहरूलाई जुधाएर फाइदा लिन लागेकाले नेपालभित्रका राज्यहरू एक भएर सगरमाथाको देश नेपाललाई बचाउनुपर्छ भन्ने गरेको कुरा सङ्केत गर्नु,
|
१८ (१६)
|
१–३
|
४ |
अबको युगमा एक्लो भएर बाँच्न नसकिने हुनाले मकवानपुर र गोरखाजस्ता राज्यहरू एक भएर हिमवत्खण्डलाई एकीकरण गरी एउटै संसारको रचना गर्ने इच्छा पिता हेमकर्ण सेनको भए पनि दाजु दिग्बन्धनले नमानेका कारण आफूले यस किसिमको प्रणय शून्य सिर्जनाविहीन बन्ध्या जीवन जिउनुपरेको कुरा सङ्केत गर्नु,
|
१८ (१६)
|
४–८
|
५ |
माइती राज्य मकवानपुरबाट उक्लेर सिमभन्ज्याङ आई आफ्ना पतिको राज्य गोर्खाको प्राकृतिक सौन्दर्य नियाल्ने गरेको र गोर्खा राज्यको उच्च हिमाल, नदीनाला आदि देखेर एवम् पहाडी सङ्गीत सुनेर आफू आनन्दले पुलकित हुने गरेको कुरा बताउनु,
|
१९ (१७)
|
१–४
|
६ |
हिमाली राज्यको दृश्यबाट उन्मुक्त भएकी आफू आजसम्म मकवानपुरमै गुम्सेर बसेकामा पश्चात्ताप मान्दै अर्को जन्म चाहिँ पतिकै राज्यमा लिने र महादेवकी पार्वतीझैँ आफैँभित्र हिमालचुलीहरू उठाउँदै आफैँभित्र गङ्गा बगाएर रमाउने कल्पना गर्नु,
|
१९ (१७)
|
५–८
|
७ |
पतिका प्रतीक्षामा कुर्दा–कुर्दा आफू लक्ष्यविहीन भएको आफूलाई सिन्दुर हालेर एक्लै छाडी एकीकरणयात्रामा लागेका पति हिमवत्खण्ड एक पार्ने महायज्ञमा लागिरहे पनि आफू त्यसमा सहभागी भएर अरूको दुःख हर्ने कार्यमा संलग्न हुन नपाएको र फ्या“किएको शिला वा पत्थरझैँ भएर बाँच्नुपरेको गुनासो गर्नु,
|
२० (१८)
|
१–४
|
८ |
आफैँ चित्त दुखाएर आफ“ चित्त बुझाउँदै पति भईकन पतिविहीन भई बन्ध्या कोख लिएर आफूले बाँच्नु परे पनि सृष्टिक्रम नरोकिने तर नारी भएपछि नारीजन्य सिर्जना नगरी मरेमा मुक्तिसम्म नमिल्ने भएको हुँदा आफ्नो जीवन पनि त्यस्तै मरुभूमिझैँ भई मुक्तिविहीन भएको कुरा सङ्केत गर्नु,
|
२० (१८)
|
५–८
|
९ |
आफू राजपुत्री भईकन पनि केही गर्न नसकेर अलपत्र पर्नु परेको, आफूभित्र अमरापुरीझैँ उर्वर धर्ती भए पनि पतिले आफ्नो जवानीको मधुमाधुरी नचाखेकाले बाँझो भूमिझैँ बन्जर जीवन जिउनु परेको र रानी भएर राजासँग शोभायमान भई बस्न नपाएको गुनासो गर्नु,
|
२१ (१९)
|
१–४
|
१० |
ममताद्वारा संसार सिञ्चित गर्न सक्ने नारी सारा सृष्टिको आधा हिस्सा पनि हुन् तथापि पुरुषको बेवास्ताका कारण उसका मायाममता र सिर्जनशीलता त्यसै खेर गएको र आफू पतिबाट यतिसम्मको उपेक्षित भएको कि त्यसको वर्णन गर्ने कुनै सीमा नै नरहेको भन्दै आफ्नो जीवन बरबाद पारिएको सङ्केत गर्नु,
|
२१(१९)
|
५–८
|
११ |
बिपनामा पतिका डोलीमा चढ्न नपाए पनि सपनामा सुकिलो डोली चढ्ने गरेको, पुग्ने गन्तव्य अर्थात् पति भेट्ने आशा नभए पनि पतिलाई सम्झने गरेको र रानी बन्न नपाए पनि रानीको मन पाएको भन्दै आफूले पाएको असह्य पीडालाई कुनै दिन इतिहासले फुकाउने कुरा बताउनु,
|
२२ (२०)
|
१–६
|
१२ |
आफ्ना पीडामय बिलौनाले मानिसको मन पगाल्ने छ र त्यतिखेर आफू पनि केही रहेछु भनी भदौमा घामपानी परेझैँ दर्दयुक्त हर्षित हुने कल्पना गर्नु,
|
२२ (२०)
|
७–८
|
१३ |
बीस वर्षअघि आफूहरूको विवाह भएको सम्झना गर्दै आफूले पर्ख“दापर्ख“दै र पतिले बिर्स“दाबिर्स“दै बीसबर्ष बितेको र आफ्नो कपालसमेत फुलिसकेको एवम् छत्तीस बर्से आफ्नो जीवनमा बीसवर्ष प्रियमिलनको तपस्यामै बितेकाले अबउप्रान्त प्रियसँग भेट गर्ने इच्छा पनि मरिसकेको कुरा बताउनु,
|
२३ (२१)
|
१–४
|
१४ |
छत्तीस वर्ष पुगिसकेको आफूमा अब कुनै इच्छा नभएको, पतिले बिर्सेकोमा पनि कुनै दुःख नभएको र पतिले सम्झे पनि बाडुली नलाग्ने भन्दै पतिले आफ्नो जीवनलाई सिर्जनशील बनाएर हराभरा नपारे पनि आँसु दिएको र त्यही आँसु पनि वर्ष“दावर्ष“दै सकिएको भन्ने अभिव्यक्ति हुनुसँगै इन्द्रकुमारीले पृथ्वीनारायणलाई लेखेको प्रेमपत्र सकिनु,
|
२३ (२१)
|
५–८
|
क्र. सं.
|
विषयवस्तुगत विवरण
|
खण्ड |
श्लोक
|
१ |
इतिहास भइसकेका इन्द्रकुमारी र पृथ्वीनारायणका बीचको अतृप्त प्रेमकहानीको उपजस्वरूप आज पनि भत्केको दरबारमा भाले जूनकिरीले चियाउँदै आफ्नी प्रियालाई खोज्ने गरेको र पोथी जूनकिरीले आफू यतै छु भन्ने जानकारी दिने गरेको एवम् दिव्य सुन्दरसुन्दरी आविर्भूत भई प्रेमलीला रच्ने गरेको जादुमय अर्थात् रहस्यमय टिप्पणी कविले गर्नु,
|
२४ (क)
|
१–४
|
२ |
भत्केको दरबारमा रहस्यमय रूपमा आविर्भूत भएका दिव्य सुन्दर–सुन्दरी श्यामकर्णे घोडामा चढेर ज्योतिको पङ्खा फैलाई देवदूतसरि सात पर्वत पार सुनको दरबारसम्म उड्दै पुग्ने गरेको भन्दै पृथ्वीनारायण र इन्द्रकुमारीको आत्माको मिलन स्वर्गमा भएको रहस्यमय कुराको सङ्केत गर्नु र चोखो माया अमर हुने अनि त्यो पछिसम्म पनि कुनै न कुनै रूपमा प्रकट भइरहनेतर्फ इङ्गित गर्नु,
|
२४ (क)
|
५–८
|
३ |
इन्द्रकुमारीका पतिवियोगजन्य पीडाको इतिहास अझै बाँकी रहेको र छत्तीस वर्षसम्म पीडायुक्त मार्मिक जीवन जिएर जाने इन्द्रकुमारीको जस्तो पीडा इन्द्रकुमारीको मात्र निजी नभएर सबै मानवजातिकै सार्वभौम पीडा हो भन्ने कविटिप्पणी हुनु,
|
२५ (ख)
|
१–५
|
४ |
इन्द्रकुमारीका प्रणयविरहजन्य एवम् पतिसान्निध्यविहीन शून्य जीवनका कहानीहरू उनी आफैँले लेखिनन् तर इतिहासमा त्यो सुरक्षित छ र अझ सह्दयीहरूका मनमा सदाका लागि मानवजातिकै पीडा भएर रहनेछ भन्ने कविटिप्पणी हुनुसँगै खण्डकाव्य टुङ्गिनु,
|
२५ (ख)
|
६–८
|
यसरी इन्द्रकुमारी खण्डकाव्यका पच्चीसै वटा खण्डमा अभिव्यक्त विषयवस्तुगत सन्दर्भलाई एक–एक गरी नियालेर हेर्दा यो राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकी पत्नी इन्द्रकुमारीको प्रणयविरहजन्य एकाकी जीवनको ऐतिहासिक प्रसङ्गलाई आधार बनाएर लेखिएको खण्डकाव्य हो भन्ने देखिन्छ र यसमा माइती पक्ष र घरपक्षको प्रतिष्ठाद्वन्द्वका कारण इन्द्रकुमारीको जीवन शून्यवत् बित्न पुगेको कुरा पनि विभिन्न ऐतिहासिक सन्दर्भका तथ्यहरूको प्रस्तुतिका क्रममा खुलेकै छ । तथापि यो इन्द्रकुमारी पात्रको प्रणयपीडाको एकालापीय प्रस्तुतिमा केन्द्रित भएको र पात्रपात्राको घातप्रतिघातबाट निर्मित घटनाहरूको समष्टिका रूपमा नआएकाले कथावस्तुका दृष्टिले चाहिँ त्यति सम्पन्न नभई सूक्ष्म कथायुक्त मात्र रहेको देखिन्छ ।
४.२ पात्रविधान
पात्रविधानका दृष्टिले प्रस्तुत खण्डकाव्यलाई नियाल्दा यसमा इन्द्रकुमारी, पृथ्वीनारायण शाह, हेमकर्ण सेन, इन्द्रकुमारीकी आमा, इन्द्रकुमारीका दाजु, इन्द्रकुमारीकी सखीजस्ता मानवीय पात्रलगायत चराहरू, भाले जूनकिरी, पोथी जूनकिरी र बादलजस्ता मानवेतर पात्रहरूको प्रयोग गरिएको पाइन्छ । यी पात्रहरूमध्ये प्रत्यक्ष रूपमा उपस्थित पात्र इन्द्रकुमारी हुन् भने अप्रत्यक्ष अर्थात् इन्द्रकुमारीको एकालापीय प्रस्तुतिका क्रममा सूचित भएका सूच्य पात्रका रूपमा पृथ्वीनारायण शाह, हेमकर्ण सेन, इन्द्रकुमारीकी आमा, इन्द्रकुमारीका दाजु र इन्द्रकुमारीका सखी रहेका देखिन्छन् । यीबाहेकका चराहरू, जूनकिरीहरू र बादलजस्ता मानवेतर पात्रहरू चाहिँ अभिव्यक्ति तीक्ष्णताका निम्ति प्रयोग गरिएका प्रसङ्गमात्र हुन् । यस खण्डकाव्यमा प्रयोग भएका यिनै विविध पात्रहरूमध्ये महत्त्वपूर्ण भूमिकामा देखिएका पात्रहरूको चारित्रिक विशेषता तल क्रमशः दिइएको छ –
(क) इन्द्रकुमारी
इन्द्रकुमारी ऐतिहासिक पृष्ठमूभिबाट टिपिएकी पात्र हुन् । यस खण्डकाव्यमा उनी केन्द्रीय पात्रका रूपमा चित्रित छन् । उनी यस खण्डकाव्यकी नायिका पनि हुन् । यस काव्यको नामकरणसमेत उनैको नामबाट गरिएकाले पनि उनी महत्त्वपूर्ण पात्र हुन् भन्ने सङ्केत भएकै छ । यस खण्डकाव्यका पच्चीसवटै खण्डमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा उनको व्याप्ति रहेको छ । उनी मकवानपुरको राजकुलमा हुर्केबढेकी र तत्कालीन गोरखाराज्यका राजा पृथ्वीनारायण शाहकी प्रथम रानी हुन् । सोह्र वर्षका उमेरमा बीस वर्षका पृथ्वीनारायण शाहसँग वैवाहिक सूत्रमा बाँधिए पनि उनी आजीवन अविवाहितझैँ रहन बाध्य भइन् । माइती पक्ष र घरपक्षका राजकुलको द्वन्द्वकै कारण उनको जीवन अत्यन्त पीडामय बन्न पुग्यो । तत्कालीन समयमा मकवानपुरेली राजसंस्कृतिमा विवाह भएकै दिन छोरीलाई ज्वाइँकहाँ पठाउने चलन नभएको र पृथ्वीनारायणले विवाह भएकै दिन आफ्नी पत्नीलाई लान चाहेका कारण यी दुई राजवंशमा संस्कृतिजन्य द्वन्द्व चर्केको थियो र पछि पृथ्वीनारायणले पुनः विवाहमा प्रयोग भएका हात्ती र हीराको हारको मागसहित आफ्नी पत्नी इन्द्रकुमारीलाई लिन जाँदा त्यो पनि इन्द्रकुमारीका दाइ दिग्बन्धनले अस्वीकार गरेपछि इन्द्रकुमारीलाई लिन पृथ्वीनारायण कहिल्यै पनि मकवानपुर गएनन् । बरु अहङ्कारजन्य द्वन्द्व चरम अवस्थामा पुग्यो । यसै द्वन्द्वको चपेटामा परी इन्द्रकुमारीको जीवन मरुभूमिमय बन्न पुग्यो । उनी पृथ्वीनारायण शाहजस्ता वीर राजाकी महारानी भईकन पनि कहिल्यै राजाका नजिक हुन पाइनन् र पूरा जीवन नारीजन्य सिर्जनशीलताबाट वञ्चित भइन् । पतिपत्नीजन्य स्वाभाविक क्रियाकलापबाट वञ्चित हुँदा र त्यसको कुनै विकल्पसमेत नहुँदा एउटी नारीले जस्तो मानसिक अवस्थाबाट गुज्रनुपर्छ यस खण्डकाव्यमा पनि इन्द्रकुमारीको त्यही मानसिक अवस्थाको चित्रण गरिएको छ । “पति भएर पनि विधवाजस्ती, यौवन भएर पनि यौवनहीनजस्ती, अधिकारी भएर पनि अधिकारहीनजस्ती, इन्द्रकुमारी आजीवन पतिसँग (कुनै पनि पुरुषसँग) स्वाभाविक सहवासबाट समेत वञ्चित भइन् । भोजनहरूका माझमा उनी भोकी भइन्, पानीका माझमा तिर्खाइरहिन्, मधुकलशपूर्ण युवती भएर पनि स्वाद चाख्न नपाई जीवन बिताइन्, नारी भएर पनि मातृत्वहीन बनिन् ।” इन्द्रकुमारीको यही विवशतापूर्ण जीवनको मानसिक छटपटी खण्डकाव्यका शब्दशब्दमा फेला पर्छ ।
प्रस्तुत खण्डकाव्यमा इन्द्रकुमारीको सोह्रदेखि छत्तीस वर्षको उमेरसम्मको चित्रण गरिएको छ । सोह्र वर्षको उदाउँदो बैँसमै रानी भएकी उनले पतिसान्निध्य नपाएपछि छत्तीस वर्षमा पुग्दा उनी कठोर र वैरागिनी बनेकी देखिन्छिन् । आफूलाई पतिले वास्ता नगरे पनि सदा पतिकै सत्मा रहेर पतिमिलनको आकाङ्क्षा पाल्ने र पतिको कुशलताका लागि प्रार्थना गर्ने उनी हिन्दू पतिव्रता नारीहरूकी प्रतिनिधि पात्र पनि हुन् । एउटी नारीका जे–जस्ता नारीजन्य स्वाभाविक इच्छा–आकाङ्क्षाहरू हुन्छन् ती सबै उनका चरित्रमा फेला पर्छन् । मनोविज्ञानका दृष्टिले हेर्दा चाहिँ उनी पतिमिलन चाहने यौनातुर पात्रका रूपमा देखिन्छिन् —
पाएको छैन बोलीमा बोली मिस्न अझै पनि
सर्माएर पसिनाले भिजेकी सुन्दरी बनी १/३
xxx
पाणिग्रहणको बेला के भयो हात छोइँदा
असिना पसिना हुन्छु आज त्यो स्पर्श सम्झि“दा २/६
xxx
यौटा सृष्टि ईश्वरको अर्को सृष्टि मनुष्यको
सम्झने दुईले मात्र कति मीठो रहस्य त्यो ४/३
इन्द्रकुमारीमा वीर राजा पृथ्वीनारायणको पत्नीकै हैसियतले रानीका हैसियतमा ठाँटबाँटका साथ रहने र पतिका वीरतापूर्ण कार्यहरूमा सहभागी हुने प्रबल चाहना देखापरेका छन् । तथापि बिनागल्ती वा कसुर उनको जीवन क्रुर एवम् निष्ठुर नियतिको मारमा पर्नपुगेको छ । खण्डकाव्यमा उनको चरित्रले नेपाली समाजको माइती र घर पक्षका अहङ्कारका कारण पीडित बन्न पुगेका थुप्रै नारीको समस्याको समेत प्रतिनिधिमूलक उद्घाटन गरेको छ । आबद्धताका दृष्टिले उनी बद्ध पात्र हुन् । उनकै कठोर जीवनको मानसिक प्रतीतिजन्य चित्रणबाट सिङ्गो खण्डकाव्य नै बनेकाले उनको अनुपस्थितिमा खण्डकाव्य नै रित्तो हुन्छ । उनको विवाहपछिको करिब बीस वर्षको समय परित्यक्ता भई बितेको छ र उनीप्रति पाठकको मन करुण हुन्छ । त्यसैले उनी यस खण्डकाव्यकी विप्रलब्धा नायिका हुन् । स्वभावगत दृष्टिले उनी गतिहीन अर्थात् स्थिर पात्रका रूपमा चित्रित छन् । जीवनभर परित्यक्ता भएर पनि उनीबाट कुनै असत् कार्य भएको देखिँदैन । उनमा पतिभक्ति, आशावादिता, सहशीलता र धैर्यजस्ता गुणहरू फेला पर्छन् । समष्टिमा भन्दा इन्द्रकुमारी यस खण्डकाव्यमा नायिकाका रूपमा उपस्थित बद्ध, मञ्चीय एवम् स्थिर भूमिकामा देखिएकी र पतिमिलनको असीम आकाङ्क्षा हुँदाहुँदै पनि माइती र घर पक्षका द्वन्द्वको मारमा परेकी वर्गीय सत् चरित्रका रूपमा चित्रित पात्र हुन् भन्ने देखिन्छ ।
(ख) पृथ्वीनारायण शाह
पृथ्वीनारायण शाह यस खण्डकाव्यमा नायकका भूमिकामा देखिएका पात्र हुन् । यसमा उनको प्रत्यक्ष भूमिका नदेखिए पनि नायिका इन्द्रकुमारीका स्मरण, वर्णन एवम् चिठीका सन्दर्भबाट उनको भूमिका वा चरित्र खुलेको छ । ऐतिहासिक सत्यानुसार नै प्रस्तुत खण्डकाव्यमा पनि उनी गोरखाका राजाका रूपमा चित्रित छन् । बीस वर्षका उमेरमा १६ वर्षकी मकवानपुरे राजकुमारी इन्द्रकुमारीसँग लगनगाँठो बाँध्न पुगेका उनी विशाल नेपालका रचयिता पनि हुन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको विशालता एवम् एकीकरणका निम्ति आजीवन लागेका उनी वीर, पराक्रमी र महान् व्यक्तित्व हुन् । टुक्राटुक्रामा खण्डित भएर सङ्कटपूर्ण अस्तित्व व्यहोरिहेको तत्कालीन नेपाललाई एकताका–सूत्रमा आबद्ध गराउनमा उनको योगदान अतुलनीय छ । यो कुरा इतिहास सत्य त हुँदै हो । यस खण्डकाव्यमा पनि यो खुलेर आएकै छ । यस काव्यमा बीस वर्षको उमेरको जुँगारेखी बसेका कल्कलाउँदा अवस्थामा चित्रण गरिएका उनी रूपरङ्ग र जिउडालमा पनि आकर्षक एवम् लोभलाग्दा देखिन्छन् । उनी नायिका इन्द्रकुमारीका ह्दयका अटुट आस्थाका केन्द्रका रूपमा रहेका छन् । उनको वीरता र साहसी कार्यकै कारण इन्द्रकुमारीमा पनि गौरवको मात्रा बढ्न पुगेको छ । न्यायप्रेमी रामशाहका वंशमा जन्मेका उनलाई ज्वाइँ बनाउन पाएकामा इन्द्रकुमारीका पिता हेमकर्ण सेन र आमासमेत खुसी नै छन् । यति हुँदाहुँदै पनि उनका केही चरित्रगत कमजोरीहरू यहाँ देखिन पुगेका छन् । उनकै कमजोरीका कारण इन्द्रकुमारीले पीडाको चरमोत्कर्ष झेल्नुपरेको छ । उनमा घमण्डको मात्रा फेलापर्छ । उनले विवाहकै दिन छोरी नपठाउने मकवानपुरे राजसंस्कृतिलाई– नमानेको र आफ्नो मागबमोजिम हात्ती र हीराको हार नपाएकामा पत्नीलाई समेत नस्विकारेका कारण इन्द्रकुमारीको जीवन पीडामय बन्न पुगेको हो । सारा नेपालबासीको दुःखपीडालाई बुझेर नेपालनिर्माणको महान् कार्य गर्नसक्ने उनले आफ्नै विवाहिता पत्नीको भावनालाई बुझेनन् र बुझ्ने कोसिस पनि गरेनन् । यो उनको हठी स्वभावका कारण घटेको घटना हो । एउटी सिर्जनशील उमेरकी नारीको नारीजन्य स्वाभाविक भावनाको अपमान गर्ने काम उनले गरे । संसारको सिर्जना गर्ने उनले आफ्नै परिवारभित्रको सिर्जनालाई भुले—
भुली सिन्दुर हालेको पहिलो प्रातको चुली
चर्को घामसरि हिँड्छौ पसिना काढी खल्खली १५/२
xxx
बोक्न आँटिरहेका छौ का“धमा धरती ठुलो
कर्कली पातमा छोडी शीतको बिन्दु बाटुलो १५/४
xxx
पहिलो बिन्दु त्यो बिस्र्यौ फुरेको क्यै रचू“ भनी
आउन्न कान्ति आत्माको जति चित्र रचे पनि १५/५
इतिहासअनुसार उनले काशीकी राजकुमारी नरेन्द्रलक्ष्मीसँग अर्को लगनगाँठो बाँधेर आफ्नो घरजम गरे तर इन्द्रकुमारीलाई न त त्यस्तै स्वतन्त्रता दिए न त आफूले नै उनको (इन्द्रकुमारीको) आवश्यकता पूरा गरिदिए । यिनै सन्दर्भबाट के देखिन्छ भने उनी वीर, दूरद्रष्टा, राष्ट्रवादी त थिए तर नारीपुरुषजन्य मानवीय भावना बुझ्ने र त्यसको कदर गर्ने खालका थिएनन् । त्यसैले हुन सक्छ उनीबाट नेपालको भौगोलिक एकीकरण भए पनि भावनात्मक एकीकरण भने हुन सकेको थिएन । आबद्धताका दृष्टिले उनी बद्ध पात्र हुन् भने प्रस्तुतिका दृष्टिले उनी सूच्य पात्र हुन् । राष्ट्र र राष्ट्रिय स्वार्थका दृष्टिले उनको भूमिका अनुकूल देखिएको छ तापनि मानवीय संवेदनाका दृष्टिले चाहिँ उनी हठी, स्वार्थी, अनुत्तरदायी र असत् प्रकृतिकै पात्र हुन् भन्ने कुरा इन्द्रकुमारीको उर्वर जीवनलाई तहसनहस पारेर बाँझो बनाएका सन्दर्भले पुष्टि गर्छ नै । समष्टिमा पृथ्वीनारायण शाह नायिका इन्द्रकुमारीका स्मरणबाट प्रस्तुत भएका नायकका भूमिकामा चित्रित बद्ध, स्थिर, सत् (राष्ट्रियताका सन्दर्भमा), असत् (नारी संवेदनाका सन्दर्भमा) पात्र हुन् भन्ने देखिन्छ ।
(ग) अन्य पात्र
प्रस्तुत खण्डकाव्यमा अन्य विविध भूमिकामा देखिएका सहायक पात्रमध्ये इन्द्रकुमारीका पिता हेमकर्ण सेन, इन्द्रकुमारीकी आमा र दाजु रहेका छन् । हेमकर्ण सेन सकारात्मक सोच भएका र नेपालको खण्डीकरणबाट असन्तुष्ट पात्र हुन् । उनी नेपालको एकीकरणमा जोड दिने, टुक्रिएका राज्यहरूमा एकता स्थापित गरी तत्कालीन भारतमा शासन गरी बसेका व्यापारी अङ्ग्रेजहरूबाट नेपाललाई जोगाएर सुरक्षित गर्नुपर्ने विचार राख्ने दूरद्रष्टा राजाका रूपमा चित्रित छन् । त्यसै हुनाले गोर्खासँग साइनो गाँसेर एकताको प्रयास गरेको बुझिन्छ । उनको चरित्र काव्यभित्रको अठारौँ खण्डको शीर्षक–१६ मा खुलेको छ —
सेनको धानको मान्द्रो महाभारतवारको
सोहोर्न खोज्छ बेपारी समुद्र सातपारको १६/२
अखण्ड हिमवत्–खण्ड धर्तीको शिरताज त्यो
हामीभित्र चिरा पारी फोर्न खोज्दछ आज त्यो १६/३
अबको युगमा बाँच्न सकिन्न एकलो बनी
जुराऔँ जलमा जस्तै दिलमा पनि इन्द्रिनी १६/४
लेकबेँसी बनोस् एक हिमवत्खण्ड एक होस्
शिवको गणका जस्तै संस्कृतिसंघ एक होस् १६/५
त्यसैगरी इन्द्रकुमारीकी आमा पनि सत्पात्र हुन् । उनी आफ्नी छोरीको घरबार राम्रो होस् भन्ने चाहन्छिन् । गोर्खामा छोरीलाई दिन पाएकामा उनलाई गर्व छ । उनी ज्वाइँले छोरीलाई लिन नआए पनि आफैँ. पुर्याउन जान तयार देखिन्छिन् । काव्यभित्र उनी अनुकूल पात्रका रूपमा देखिएकी छन् । काव्यमा उनको भूमिका खण्ड पन्ध्र र शीर्षक ‘१३’ मा खुलेको छ । इन्द्रकुमारीका दाजु अर्थात् दिग्बन्धन सेन चाहिँ यस खण्डकाव्यमा नकारात्मक एवम् घमण्डी र हठी चरित्रका रूपमा देखिएको छ । काव्यको खण्ड पाँच र शीर्षक ‘३’ मा र अन्य केही ठाउँमा उसको चरित्र खुलेको देखिन्छ । उसले राजा पृथ्वीनारायणले मकवानपुरमाथि आक्रमण गरेको सपना देखेको र त्यसै सपनालाई आधार मानेर बहिनीको डोली विवाहको पहिलो दिन नपठाएको एवम् विवाहमा प्रयोग भएको हात्ती र हीराको हार नदिएकाले इन्द्रकुमारीको जीवनमा अन्धकार छाएको कुरा काव्यभित्र अभिव्यक्ति भएको छ —
जागेर भन्दछन् दाजै– “नौलखा हार दिन्न“ म
चढाइ गर्न आफैँमा हात्ती दँतार दिन्न“ म” ३/७
वास्तवमा इन्द्रकुमारीको दाजु यस खण्डकाव्यको खल भूमिकामा देखा परेको स्वार्थी पात्र हो । पृथ्वीनारायणसँगको प्रतिष्ठाद्वन्द्वका कारण ऊ आफ्नी बहिनीको जीवन बरबाद भएको टुलुटुलु हेरेर बसेको छ । ऊ बहिनीप्रति सकारात्मक देखिँदैन । ऊ नारी संवेदनाशून्य पुरुष पात्र हो । राजसी सुखसुविधा र आफ्नो ठाँटबाँट कायम गरिराख्न उसले बहिनीप्रतिको मानवीय संवेदना भुलेको छ । अर्को कुरा ऊ डरपोक र शङ्कालु छ । सपनाकै भरमा बहिनीको बिपना बिगार्ने ऊ कातर पात्र हो । समष्टिमा ऊ हठी, डरपोक, असत्, बद्ध एवम् खलपात्र हो ।
४.३ परिवेशविधान
प्रस्तुत इन्द्रकुमारी खण्डकाव्यलाई परिवेशविधानका दृष्टिले नियाल्दा यसमा नेपाली धर्तीका विभिन्न सन्दर्भहरू, नेपाली इतिहासका प्रसङ्गहरू एवम् नेपाली संस्कृतिका विविध मूल्यमान्यताहरूको आकर्षक चित्रण भएको भेटाउन सकिन्छ । यस काव्यको परिवेशविधानमा मूलतः स्थानिक, कालिक, सामाजिक–सांस्कृतिक तथा प्राकृतिक परिवेशको स्पष्ट रेखाङ्कन फेला पर्छ ।
(क) स्थानिक परिवेश
प्रस्तुत खण्डकाव्यमा स्थानिक परिवेशको खोजी गरेर हेर्दा मूल रूपमा तत्कालीन मकवानपुर राज्य र गोर्खा राज्य नै यसका आधारस्थान हुन् भन्ने देखिन्छ । मकवानपुरकी राजकुमारीको गोर्खाका युवराजसँग विवाह भएको र दुई राजकुलको आपसी द्वन्द्वको कारण उनीहरूको मिलन हुन नसकी राजकुमारी इन्द्रकुमारीले माइतमै जीवन बिताउनु परेको प्रसङ्गले यही कुरालाई पुष्टि गर्छ । यस काव्यको प्रारम्भमै हिमाल र मधेसको सुन्दर चित्रण गरी हिमालमा डाँफेचरी र मधेसमा रानीचरी डुल्ने प्रसङ्ग उल्लेख गरेर कविले नेपाली धर्तीका सुन्दर हिमालय क्षेत्र र उर्वरभूमि मधेसको स्थानिक चित्रण गरेका छन् । त्यसरी नै पतिद्वारा त्यक्त भएकी इन्द्रकुमारीको बसोबासस्थल मकवानपुरे राजदरबार एवम् त्यसको बाटिका पनि यहाँ स्थानका रूपमा चित्रित हुन पुगेका छन् । त्यस्तै कमला नदीको किनार, त्यसै किनारमा अवस्थित मकवानपुरेहरूको हिउँदे दरबार, सिमभन्ज्याङ र सिमभन्ज्याङबाट देखिने पहाडी विभिन्न स्थानहरूसमेत यहाँ स्थानिक परिवेशका रूपमा धेरथोर चित्रित हुन पुगेका छन् । वास्तवमा प्रस्तुत खण्डकाव्यको स्थानिक परिवेश मूलतः तत्कालीन सेन राजाको मकवानपुर दरबार, त्यस वरपरको क्षेत्र अनि तत्कालीन गोर्खा राज्य नै हो भने यसैलाई अलि फराकिलो दृष्टिले भन्दा चाहिँ नेपाली धर्तीका हिमालदेखि पहाड हुँदै मधेससम्मको भूमि यस काव्यको स्थानिक परिवेश हो भन्ने देखिन्छ—
डाँफे हिमालमा डुल्छ रानीचरी मधेसमा
बोल्छौ त गीतमै बोल प्रीतिको यस देशमा क/१ पूर्वार्ध
(ख) कालिक परिवेश
प्रस्तुत खण्डकाव्यको कालिक परिवेशलाई हेर्दा यसको कथावस्तु एवम् विषयवस्तुले समेटेको समयावधि लगभग बीसवर्षको देखापर्छ । यसमा २० वर्षका पृथ्वीनारायणले १६ वर्षकी इन्द्रकुमारीको पाणिग्रहण गरेको र उनीहरूको मिलन हुन नसकेर इन्द्रकुमारीले ३६ वर्षको हुँदा पृथ्वीनारायणलाई प्रेमपत्र लेखेको सन्दर्भ नै यस खण्डकाव्यको मूल विषय भएको हुँदा यस खण्डकाव्यको विषयवस्तुको विकासले ओगटेको समय बीस वर्ष नै हो भन्ने देखिन्छ । जस्तै—
म शरद् सोह्रमा लाग्दी तिमी बीस वसन्तमा
चित्रा र चन्द्र भेटेझैँ एकै छिन अनन्तमा २/२
xxx
छत्तीस वर्षमा लागेँ बीस वर्ष तपस्विनी
प्रतीक्षामै पुग्यो इच्छा प्रिय–दर्शनको पनि २१/४
यस खण्डकाव्यले सङ्केत गरेको ऐतिहासिक काल चाहिँ नेपालका तत्कालीन राजा पृथ्वीनारायण शाहको उदयकाल हो । विभिन्न टुक्रामा खण्डित भएको नेपाललाई एक पार्ने कार्यमा पृथ्वीनारायण शाह निरन्तर रूपमा लागिरहेको समयावधिलाई यसले सङ्केत गरेको छ । काव्यकी नायिका इन्द्रकुमारीका संस्मरणहरूमा पृथ्वीनारायणको वीरतापूर्ण कार्यको एवम् नेपाल एकीकरणको प्रसङ्ग स्पष्ट खुलेको छ —
हिमवत्खण्ड रच्दै छौ हे वीर अपराजित
त्यो महायज्ञमा पत्नी बन्न पाइन दीक्षित १८/३
त्यसरी नै तत्कालीन समयमा व्यापारीका रूपमा भारत आइपुगेका अङ्ग्रेजहरूको आँखा नेपालमाथि परेको र त्यसबाट पनि मुक्तिको बाटो खोज्न एकजुट हुनुपर्छ भन्ने चेतना क्रमशः जागृत हुँदै गरेको बेला थियो त्यो भन्ने पनि यहाँ सङ्केतित छ —
सेनको धानको मान्द्रो महाभारतवारको
सोहोर्न खोज्छ बेपारी समुद्र सातपारको १६/२
अखण्ड हिमवत्खण्ड धर्तीको शिरताज त्यो
हामीभित्र चिरा पारी फोर्न खोज्दछ आज त्यो १६/३
अबको युगमा बाँच्न सकिन्न एकलो बनी
जुराऔँ जलमा जस्तै दिलमा पनि इन्द्रिनी १६/४
प्रस्तुत खण्डकाव्यले सङ्केत गरेअनुसारको ऐतिहासिक समयलाई ठ्याक्कै तोकेर भन्ने हो भने चाहिँ वि.सं.१९७९ मा जन्मेका पृथ्वीनारायणको बीस वर्षका उमेरमा १६ वर्षकी इन्द्रकुमारीसँग विवाह भएको र त्यसपछि इन्द्रकुमारी छत्तीस वर्षकी हुँदा चिठी लेखेको कुरालाई हेर्दा वि.सं.१७९९ देखि १८१९ सम्मको मोटामोटी समय यसको ऐतिहासिक समय हो भन्ने देखिन्छ । जे होस् विक्रमको अठारौँ शताब्दीको अन्त्य र उन्नाइसौं शताब्दीको प्रारम्भतिरको ऐतिहासिक–समयावधिलाई– यस काव्यले सङ्केत गरेको पाइन्छ । त्यसैगरी साँझ, बिहान, दिन, रात, महिना, वर्ष, विभिन्न ऋतुखण्डजस्ता कालजन्य प्रसङ्गको पनि कलात्मक चित्रण गरी भावसम्प्रेषणमा रोचकता थप्ने काम यसमा भएको पाइन्छ ।
(ग) सामाजिक–सांस्कृतिक परिवेश
प्रस्तुत खण्डकाव्यमा नेपाली जनजीवनका विभिन्न सामाजिक–सांस्कृतिक मूल्य मान्यताहरूको झल्को प्रस्तुत गरिएको छ । यसमा मूलतः मकवानपुर र गोरखा राज्यको राजसंस्कृतिको चित्रण पाइन्छ । मकवानपुरेहरूको द्विरागमन नगरी छोरी बिदा नगर्ने राजसंस्कृति र गोर्खालीहरूको विवाह भएकै दिन दुलही भित्र्याउनुपर्ने चलनले निम्त्याएको एउटा प्रणय जोडीको जीवनको दुर्घटना नै यस खण्डकाव्यको विषयवस्तु हो । खासगरी राजघरानाको चित्रणमा केन्द्रित यस खण्डकाव्यमा सामान्य जनजीवनको स्वाभाविक समाज पनि देखापर्छ । सपनामा देखिएका कुरालाई आधार मानेर बिपनासमेत बिगार्ने रूढिवादी मूल्यमन्यता नेपाली समाजमा त्यतिखेर थियो भन्ने कुरा इन्द्रकुमारीका दाजुले आफैँमाथि पृथ्वीनारायणले आक्रमण गरेको सपना देखेको र त्यसैका आधारमा बहिनीको जीवन बरबाद भएको कुरालाई पनि टुलुटुलु हेरेको सन्दर्भले सङ्केत गर्दछ । त्यस्तै यस काव्यको समाज मानवीय संवेदनाशून्य देखिन्छ । आफ्नो अहङ्कारलाई कायम राख्न पृथ्वीनारायणले आफ्नी पहिली पत्नीको मर्मलाई लत्याएको र दिग्बन्धन सेन
(इन्द्रकुमारीमा दाजु)ले बहिनीको जीवन नै तहसनहस हुँदासमेत कुनै सत्प्रयासको चेष्टा नगरेकाले यस काव्यमा अहङ्कार र घमण्डका तुलनामा मानवीय संवेदना र स्वाभाविक इच्छाहरू मूल्यहीन हुन पुगेको देखाइएको छ । भौतिक सुखसुविधा र प्रतिष्ठासङ्घर्षको कारण मानवका नैसर्गिक र स्वाभाविक अधिकार लत्याउने कठोर सभ्यता भएको समाज यस काव्यभित्र फेलापर्छ । त्यसो त छोरीको सुखसुविधा र राष्ट्रिय एकताका निम्ति अत्यन्त सचेत इन्द्रकुमारीका मातापिताका प्रसङ्ग पनि यहाँ आएकै छन् । सांस्कृतिक सन्दर्भका कुरा गर्दा चाहिँ नेपाली जनजीवनको धुकधुकीलाई उतार्न कविले अनेक सांस्कृतिक प्रसङ्गहरू यहाँ जोडेका छन् । यहाँ हिन्दू परम्परोचित विवाहमण्डप, विवाहमण्डपमा गरिने क्रियाकलापहरू, पाणिग्रहण, सिन्दूरग्रहण, लाजाहवन आदि सन्दर्भहरू, लगनगाँठो बाँध्ने तथा दुलाहा–दुलहीले झुक्याएर एक अर्कालाई हेर्ने मनोवैज्ञानिक प्रसङ्ग एवम् डोली चढ्ने, बत्ती बालेर लोककथा भन्ने, सीतारामको पूजा गर्ने, धर्मकर्ममा लाग्ने, साइतअनुसार मुख हेर्ने जस्ता कुराहरू बडो कलात्मक तरिकाले उल्लेख गरिएको छ । त्यस्तै पतिका सुखदुःखलाई आफ्नो सुखदुःख सम्झने र पतिले जति नै हेला गरे पनि पतिका सत्मा समर्पित हुने जस्ता नेपाली जनजीवनका अनेक सांस्कृतिक झल्को पनि यहाँ उतारिएको छ । जे होस् सामाजिक–सांस्कृतिक परिवेशचित्रणका दृष्टिले पनि प्रस्तुत खण्डकाव्य उपलब्धिमूलक बनेको देखिन्छ ।
(घ) प्राकृतिक परिवेश
प्राकृतिक परिवेशचित्रणका दृष्टिले हेर्दा प्रस्तुत खण्डकाव्यमा कविले प्रकृतिका विविध रूपरङ्ग, अवस्था, समयसन्दर्भ एवम् छटाहरूको चित्रण गरी अभिव्यक्तिलाई आकर्षक बनाउने प्रयास गरेको पाइन्छ । यस काव्यको प्रारम्भदेखि अन्त्यसम्म नै प्रकृतिको कलात्मक चित्रण गर्ने काम भएको छ । प्रारम्भमा नै हिमालमा डाँफे र मधेसमा रानी चरी डुल्ने तर डाँफे र रानी चरीको कहिल्यै भेट नहुने भन्दै कविले प्रतीकात्मक रूपमा अर्थात् डाँफे विम्बद्वारा पृथ्वीनारायणलाई र रानीचरीको विम्बद्वारा इन्द्रकुमारीलाई सङ्केत गर्दै आलङ्कारिक रूपमा प्रकृतिको चित्रण गरेका छन्—
डाँफे हिमालमा डुल्छ रानीचरी मधेसमा
बोल्छौ त गीतमै बोल प्रीतिको यस देशमा क/१ (पूर्वार्ध)
त्यसैगरी प्रस्तुत खण्डकाव्यको उपसंहार स्वरूपका दुई खण्ड (क र ख) मध्येको अघिल्लो खण्ड (क) मा भाले जूनकिरीका रूपमा पृथ्वीनारायणलाई र पोथी जूनकिरीका रूपमा इन्द्रकुमारीलाई सङ्केत गर्दै प्रकृतिको रहस्यमय चित्रण गर्ने प्रयास पनि कविले गरेका छन् —
भाले जूनकिरी डुल्छ–कहाँ छौ हे प्रिया ∕ भनी
पोथी जूनकिरी बोल्छे–यहाँ छु म यहाँ भनी क/३ (पूर्वार्ध)
त्यसैगरी बीचका खण्डकाव्यहरूमा सन्दर्भानुकूल हुनेगरी प्रकृतिको–सौन्दर्यपूर्ण र मन्मय चित्रण भएको पाइन्छ । यस क्रममा सूर्य, चन्द्र आकाश, पृथ्वी, हिमाल, मधेस, पाखा, पखेरा, कुहिरो, फूल, शीत, नदी, छहरा, लेकबेँसी, पर्वतमाला, जुनेली–रात, कुञ्ज, न्याउली, साँझ, बिहानी, दिनरात, चराचुरुङ्गी आदि विविध प्राकृतिक विषयसन्दर्भलाई थोरबहुत चित्रण गरिएको पाइन्छ । परिस्थिति र सन्दर्भ सुहाउँदो रूपमा प्रकृतिको चित्रण गर्दै तीक्ष्ण भावसम्प्रेषण गर्ने कलाको प्रौढ रूप यस काव्यमा देख्न सकिन्छ । बादललाई विरहिणी नायिकाको प्रेमसन्देश सम्प्रेषण गर्ने दूतका रूपमा चित्रण गर्दै पूर्वीय स्वच्छन्दतावादी काव्यपरम्पराको दूतकाव्यको झलक दिने प्रयास पनि कविले गरेका छन् —
जा हे बादल ∕ गोर्खामा लैजा हे, दिलको चिठी
कतै गाजलले लेखी, कतै सिन्दुरले छिटी ६/१
दिलको रूमलो मेरो उठेजस्तै त“ जा उठी
विराट् विरह सोच्दै जा, रच्दै जा दिलको चिठी ६/२
कवि घिमिरेले प्रस्तुत खण्डकाव्यमा प्रकृतिको मन्मय अर्थात् मनोवैज्ञानिक चित्रण गर्ने काम गरेका छन् । मूल रूपमा इन्द्रकुमारीको १६ वर्षदेखि ३६ वर्षसम्मको यौवनको उर्वर समय रित्तै बितेको र त्यसै समय इन्द्रकुमारीको नारीमनलाई केलाउँदै लेखिएको मनोवैज्ञानिक किसिमको यस खण्डकाव्यमा कविले इन्द्रकुमारीको मनलाई प्रकृतिसँग गाँसेर देखाउने प्रयास गरेका छन् । जब इन्द्रकुमारी पूर्ण शरद् ऋतुझैँ सोह्रबर्से उमेरमा थिइन् । त्यतिखेर पृथ्वीनारायण पनि वसन्त ऋतुझैँ रूप यौवनले भरिपूर्ण बीस वर्षका थिए भन्दै त्यस्ता दुई यौवनाहरूको प्रथम भेटघाट हुँदाको मनोभावलाई कविले यसरी देखाएका छन् —
म शरद् सोह्रमा लाग्दी, तिमी बीस वसन्तमा
चित्रा र चन्द्र भेटेझैँ एकैछिन अनन्तमा २/२
त्यसैगरी पतिले छाडेर गएका र कहिल्यै लिन नआएका अवस्थामा मनमा नानाथरी कुरा खेलाइबसेकी इन्द्रकुमारीका मनोकल्पनालाई कविले यसरी देखाएका छन् —
घामले हालि सिन्दुर दुलहीतूल्य हिम्चुली
बिम्झी बिहान हेर्छौ कि, सम्झी मैलाई झल्झली ४/४
त्यस्तै पति विरहको चरम पीडाको मनोविज्ञानबाट गुज्रेकी इन्द्रकुमारीको दुःख र मर्मलाई यसरी देखाइएको छ —
काली लेख पखेरीमा छहरा रुन्छ हिम्चुली
चिम्ली काला परेलीमा मै पनि रुन्छु भुल्भुली १०/४
इन्द्रकुमारीले विवाहपछिको बीस वर्ष पतिकै पर्खाइमा बिताएको र त्यस उमेरसम्म पनि पतिमिलनको कामना पूरा नभएको सन्दर्भलाई खोतल्दै अति पीडाद्वारा आहत हुँदै थाकेको र उमेरले पछि पार्दै लगेको अवस्थाको इन्द्रकुमारीको मनोविज्ञानलाई यसरी चित्रण गरिएको छ —
फुल्यो मधेसमा काश फुल्यो हिउँ हिमालमा
फुल्यो कि त कतै केश मेरो पनि कपालमा २१/३
प्रकृतिमा प्रणयलीलाको महत्त्व पन्छीले समेत बुझेको हुन्छ र वनबाट बिछोडिएका पन्छीहरूसमेत कामातुर भई आफ्नो प्रणयजोडी खोजी गर्छन् भन्दै मानवजस्तो चेतनशील प्राणीले आफ्नी प्रियालाई भुलेकामा आश्चर्य मानेर इन्द्रकुमारीको प्रणयातुरतालाई कविले यसरी देखाएका छन् —
भाले विजन बेलामा उल्लाई लिन आउँछ
च्यापेर चञ्चुले चञ्चु पखेटा फर्फराउँछ १२/२
प्रियाको पिँजराभित्र प्वाँख झारी गए पनि
फेरि फर्कन्छ त्यो पन्छी अहो हारिरहे पनि १२/३
तिमी आकाशको पन्छी, पिँजराकी चरी म त
किन हे, लिन आउन्नौ, म बसू“ कति माइत १२/४
प्रस्तुत खण्डकाव्यमा नेपाली धर्तीको प्राकृतिक सौन्दर्यको कलात्मक चित्रण गरिएको पाइन्छ । यस दृष्टिले यस काव्यको खण्ड उन्नाइस र शीर्षक ‘१७’ निकै महत्त्वपूर्ण रहेको छ । यसमा हिमाल, पहाड, खोलानाला, उकालीओरालीजस्ता विविध प्राकृतिक छटाले भरिपूर्ण नेपाली प्रकृतिको सौन्दर्यपूर्ण चित्रण फेला पर्छ —
नील निर्मल आकाश, बाफिलो अन्तराल यो
मैले कैल्यै नसोचेको कति उच्च हिमाल यो १७/२
नदीमा नित्य सङ्गीत, चुलीमा ज्योति धप्धप
यसमा डुल्नु हो तीर्थ, यसमा भुल्नु हो तप १७/३
अहो हिमाल आफैँमा ध्यानामग्न भएसरि
बग्छन् आनन्दका आँसु छाया–छवि बहेसरि १७/४
प्रस्तुत खण्डकाव्यमा प्रकृतिचित्रण गर्ने क्रममा कविले मानवको प्रकृतीकरण गर्ने र प्रकृतिको मानवीकरण गर्ने प्रवृत्ति पनि अँगालेको पाइन्छ । जस्तै —
मानवको प्रकृतीकरण –
अहो आनन्द यो कस्तो एक्ली हुनुमा पनि
चैतको सालघारीकी न्याउली रुनुमा पनि १०/८
भुली सिन्दुर हालेको पहिलो प्रातको चुली
चर्को घामसरि हिँड्छौ पसिना काढी खल्खली १५/२
उपर्युक्त उद्धरणहरूमध्ये पहिलोमा पतिको विरहमा एक्ली भएकी अत्यन्त पीडित इन्द्रकुमारीलाई न्याउलीका रूपमा चित्रण गरेर र दोस्रोमा पृथ्वीनारायणको सिन्दूर ग्रहण गरेकी इन्द्रकुमारीलाई प्रात (बिहान)को कलिलो घामले छोएको हिमचुलीका रूपमा चित्रण गरेर मानवको प्रकृतीकरण गरिएको पाइन्छ ।
प्रकृतिको मानवीकरण–
जा हे बादल ∕ गोर्खामा लैजा हे दिलको चिठी
कतै गाजलले लेखी कतै सिन्दुरले छिटी ६/१
भाले जूनकिरी डुल्छ–कहाँ छौ हे प्रिया ∕ भनी
पोथी जूनकिरी बल्छे–यहाँ छु म यहाँ भनी क/३
उपर्यु्क्त उद्धरणहरूमध्ये पहिलोमा बादललाई चिठी लाने हुलाकीको कार्य दिएर र दोस्रोमा भाले जूनकिरीलाई “कहाँ छौ प्रिया” भन्ने र पोथी जूनकिरीलाई “यहाँ छु यहाँ” भन्ने मानवीय क्रिया दिई प्रकृतिको मानवीकरण गरिएको छ ।
प्रस्तुत खण्डकाव्यमा कविले प्रकृतिका छटाहरूको चित्रण गर्ने क्रममा प्रकृतिलाई इन्द्रियसंवेद्य (गन्ध, रूप, रङ्ग, रस ध्वनि, गति) रूपमा पनि चित्रण गरेका छन् । जस्तै :
गन्ध – हावामा रातरानीको बासना जब आउँछ क/१
ध्वनि र रूप – नदीमा नित्य सङ्गीत चुलीमा ज्योति धप्धप १७/३
रङ्ग – घामले सिन्दुर हाली दुलही तुल्य हिम्चुली ४/४
रस – कर्कली पातमा छोडी शीतको बिन्दु बाटुलो १५/४
गति – सुरेली खेल्छ त्यही रन्को बेनीमाथि बतासमा
डाँफे हिमालमा डुल्छ रानीचरी मधेसमा क/८ (पूर्वार्ध)
यसरी प्रस्तुत खण्डकाव्यमा प्राकृतिक परिवेशको चित्रणका क्रममा प्रकृतिको उपर्युक्त विविध सन्दर्भहरूको चित्रण भएको पाइन्छ ।
प्रस्तुत इन्द्रकुमारी खण्डकाव्यको अँख्यानसंरचनाअन्तर्गतका कथावस्तु, पात्र र परिवेश पक्षलाई नियालेर हेर्दा पात्र र परिवेश पक्ष सबल भईकन पनि कथावस्तु चाहिँ त्यति सबल एवम् प्रवाहमय नभएर साङ्केतिक रूपमा सूक्ष्म प्रकृतिकै रहेको देखिन्छ । तसर्थ यस खण्डकाव्यको कथावस्तु, पात्र र परिवेशको समष्टिका रूपमा निर्माण भएको आख्यानसंरचना कथावस्तुको सूक्ष्मताका कारण पुष्ट हुन नसकी अपुष्ट अवस्थामा सीमित भएको अर्थात् यस काव्यको आख्यानसंरचना अपुष्ट प्रकृतिको देखिन पुगेको छ ।
५. विचार र सन्देश
वैचारिकताका दृष्टिले प्रस्तुत खण्डकाव्यलाई नियाल्दा स्वच्छन्दतावादी–रहस्यवादी भावधारामा विकसित मानवीय प्रणयचेतना, मानवको नैसर्गिक अधिकार र मनोवाञ्छा एवम् जीवनको मूल्यबोध नै यस काव्यको वैचारिकताको आधार हो भन्ने देखिन्छ । प्रकृतिचेतना, मुक्तिको चाहना, प्रेमको अमरता, राष्ट्रवादी भावना, जीवनको निस्सारता एवम् शून्यताजस्ता कुराहरू पनि यस काव्यको वैचारिकताभित्र समेटिन पुगेका छन् । गोरखाका युवराज पृथ्वीनारायण शाहसँग मकवानकी राजकुमारी इन्द्रकुमारीको विवाह भएको र दुई राजघरानका आपसी हठ एवम् द्वन्द्वका कारण उनीहरूको कहिल्यै मिलन हुन नसकी इन्द्रकुमारीले आजीवन प्रणयसुखविहीन भई एकाकी जीवन बिताउनु परेको ऐतिहासिक घटनासन्दर्भलाई विषयवस्तु बनाई रचना गरिएको यस काव्यमा मानवमनका असीम जिजीविषा र सुखसमृद्धिको उत्कट अभिलाषाको निर्मम हत्या गरिएको देखाइएको छ । १६ वर्षका उमेरमा विवाहवेदीमा बसाली सिन्दूर हालेर गएको पतिले अरू २० वर्षसम्म पनि सम्झेर नफर्कि“दा त्यस पत्नीका मनमा के कस्ता कुराहरू उठ्ता हुन् र उसको जीवनको दिनचर्या कस्तो ह“दो हो ? इन्द्रकुमारीका जीवनमा घटेका यिनै घटनालाई काव्यत्मक स्वरूप दिने क्रममा कविले कुनै पनि बहानामा मानवीय आकाङ्क्षा र मनोवाञ्छाहरूको मुन्टो निमोठ्नु र मानिसका स्वाभाविक र नैसर्गिक अधिकार खोस्नु युक्तिसङ्गत हुन सक्तैन भन्ने विचार अघि सारेका छन् । जीवनमा प्रेम र यौनको स्वाभाविक आपूर्ति हुनुपर्ने र त्यसमा बाधा भए मानवजीवन निराश एवम् सिर्जनाविहीन हुने कुरालाई सङ्केत गर्दै कविले मानवको सुखसमृद्धिमा दाम्पत्यजीवनको महत्त्वपूर्ण स्थान रहेको कुरा पनि अभिव्यक्त गरेका छन् । प्रणयाकुल नारीमनोविज्ञानको अनुभूतिले सिञ्चन गरी रचना गरिएको यस खण्डकाव्यमा उठाउन खोजेको अर्का महत्त्वपूर्ण कुरा के हो भने नेपाल एकीकरण गरेर खण्डित नेपाललाई एकताका सूत्रमा बाँधी विशाल नेपालको निर्माण गरेर नेपालको अस्तित्व सुरक्षा गर्नसक्ने पृथ्वीनारायणले आफ्नी पत्नीलाई न्याय दिन सकेनन् र पत्नीको उर्वर जीवनमा हरियाली छरेनन् जुन पृथ्वीनारायणजस्ता महान् व्यक्तित्वका लागि नसुहाउने कुरा हो भन्ने कुरालाई कविले यसरी सङ्केत गरेका छन् —
शूर वीरहरू हुन्छन् कि स्वयम्माथि निठ्ठुर
दौडन्छन् घर बिर्सेर देशनिम्ति निरन्तर १५/७
पृथ्वीनारायणजस्ता महान् व्यक्तिबाट यस्तो कमजोरी भइदिएको भए इन्द्रकुमारीजस्ती निर्दोष नारीको जीवन बरबाद हुने थिएन भन्ने कविधारणा रहेको देखिन्छ । यसका साथै माइती पक्ष र घर पक्षका द्वन्द्वका कारण शून्यवत् प्रणयहीन जीवन जिउन बाध्य भएका नारीहरूको मुक्तिको कल्पना पनि कविले गरेका छन् :
मेटिन्न मनको तिर्खा, चारा–पानी निलेर के
विलना गर्नको निम्ति जिन्दगानी मिलेर के १२/५
मुक्ति चाहन्छु हे राजै ! मुक्ति चाहन्छु केबल
जसकी हुँ म उसैसाथ उड्न आकुल आकुल १२/६
मुक्तिको छट्पटीजस्तो वेदना छैन क्यै पनि
किन हे, रमिता हेर्छौ हिर्दयै छैन झैँ बनी १२/७
प्रस्तुत खण्डकाव्यमा राष्ट्रिय अखण्डता र स्वाधीनता रक्षाका सम्बन्धमा पनि कविले आफ्नो विचार प्रकट गरेका छन् । आफ्नो पारिवारिक र व्यक्तिगत जीवनको वास्ता नगरेर भए पनि निरन्तर रूपमा पृथ्वीनारायणले हिमवत्खण्ड एक पार्न अविश्रान्त प्रयास गरेको सन्दर्भको उल्लेखबाट राष्ट्रिय एकताका लागि सबैबाट अथक प्रयास हुनुपर्ने विचार अभिव्यक्त भएको पाइन्छ । त्यस्तै इन्द्रकुमारीका पिता हेमकर्ण सेनका मुखबाट सगरमाथाको देश नेपाललाई विभिन्न बहानामा फुटाएर त्यसबाट स्वार्थपूर्ति गर्ने अङ्ग्रेजतर्फ सङ्केत गर्दै स्वाधीनता रक्षाका निम्ति एक हुनुपर्ने कुरा गराएर कविले राष्ट्रिय स्वाधीनता रक्षाका निम्ति सबै नेपाली सचेत हुनुपर्ने विचार अघि सारेका छन् —
अबको युगमा बाँच्न सकिन्न एकलो बनी
जुराऔँ जलमा जस्तै दिलमा पनि इन्द्रिनी १६/४
प्रस्तुत खण्डकाव्यमा नेपाली संस्कृतिको मूल्यमान्यताप्रति पनि कविको असन्तुष्टि फेला पर्छ । एउटै घटनाका दुई चरित्रमध्ये पृथ्वीनारायण शाहले चाहिँ अर्को विवाह गरेर दाम्पत्यजीवनको सुखभोग गर्न सके तर इन्द्रकुमारीले चाहिँ जीवनभर कुण्ठित भई एकाकी जीवन जिउनु पर्यो । यसो हुनुमा नारीलाई त्यस किसिमको छुट नदिने पुरुषपक्षीय नेपाली सांस्कृतिक मूल्यमान्यता दोषी भएकोतर्फ कविले सङ्केत गरेको बुझिन्छ ।
त्यसैगरी प्रस्तुत खण्डकाव्यमा कविले प्रकृतिमा जीवनको सार्थकता पाइने र प्रकृतिलाई जीवनको प्रेरक स्रोत मान्ने स्वच्छन्दतावादी विचार पनि व्यक्त गरेका छन् । जीवनभर परित्यक्ता भई विरहिणी बनेकी इन्द्रकुमारीलाई प्रकृतिको एकै दर्शनले यसरी जागृत गराएको छ:
नदीमा नित्य सङ्गीत, चुलीमा ज्योति धप्धप
यसमा डुल्नु हो तीर्थ, यसमा भुल्नु हो तप १७/३
यो महान् हिमवान्नेर आज उन्मुक्तझैँ मन
यस्तो लाग्छ यतिन्जेल आफैँमा गुम्सिए“ किन १७/५
प्रस्तुत खण्डकाव्यमा सुरुमा सुख र समृद्धिको असीम मनोकाङ्क्षा बटुलेर आफ्नो प्रणय जोडीको निरन्तर पर्खाइमा बस्ने मानिस पनि जब पीडाको उत्कर्षमा पुग्छ तब ऊ चेष्टाविहीन हुन्छ, शिलातुल्य हुन्छ र जीवनभरको चाहना उसका लागि अर्थहीन हुन पुग्छ भन्ने देखाइएको छ:
छत्तीस वर्षमा लागेँ बीस वर्ष तपस्विनी
प्रतीक्षामै पुग्यो इच्छा प्रिय–दर्शनको पनि २१/४
भुभुल्की आउँथ्यो आँसु तिमीले बिर्सिए पनि
बाडुल्की अब लाग्दैन तिमीले सम्झिए पनि २१/६
त्यसैगरी प्रस्तुत काव्यमा कविले अतृप्त आत्माको मिलन कुनै न कुनै रूपमा अर्को जुनीमा हुने रहस्यवादी कुरालाई समेत उल्लेख गरेको पाइन्छ । जीवनमा एक अर्काबाट टाढा रही अतृप्त रहेका पृथ्वीनारायण र इन्द्रकुमारीको मिलन कुनै अर्कै लोकमा भएको, भत्केको दरबारमा भाले जूनकिरी र पोथी जूनकिरीका रूपमा भेट्ने गरेकोजस्ता रहस्यमय कुरा गरी कविले प्रेम अमर हुने र त्यसको अतृप्तिको तृप्ति अर्को जुनी र अर्को लोकमा समेत हुनसक्ने रहस्यवादी सम्भावनातर्फ सङ्केत गरेका छन् ।
यसरी उपर्युक्त विविध विचारहरूको अभिव्यक्ति गरिएको यस खण्डकाव्यमा जीवनको सिर्जनशीलतालाई त्यसै सुक्नदिनु नहुने, मानवका स्वाभाविक मनोवाञ्छाहरूले तृप्ति पाउनुपर्ने तथा साँढेका जुधाइमा बाच्छाको मिचाइझैँ परेर माइती र घर पक्षका अहङ्कार द्वन्द्वका कारण पीडा झेल्न बाध्य भई सिर्जनाविहीन प्रणयशून्य जीवन बिताउन विवश भएका नारीहरूलाई मुक्तिको ढोका खोल्नुपर्ने भन्ने सन्देश मूल रूपमा मुखरित भएको पाइन्छ । यस खण्डकाव्यको सन्देशको निचोडका रूपमा यी पङ्क्तिलाई लिन सकिन्छ:
मुक्तिको छटपटी जस्तो वेदना छैन क्यै पनि
किन हे रमिता हेर्छौ हिर्दयै छैनझैँ बनी १२/७
६. रसभावविधान
रसभावविधानका दृष्टिले प्रस्तुत इन्द्रकुमारी खण्डकाव्यलाई हेर्दा यसमा रति, उत्साह, करुणा, शमजस्ता भावहरूको अभिव्यक्ति भई विप्रलम्भ शृङगार, वीर, करुण तथा शान्त रसको सञ्चार भएको पाइन्छ । यीमध्ये विप्रलम्भ शृङ्गार रस चाहिँ अङ्गी र वीरादि अन्य रसहरू चाहिँ अङ्गरसका रूपमा अभिव्यक्त भएका छन् । पृथ्वीनारायण शाह र उनकी पहिली रानी इन्द्रकुमारीको असफल दाम्पत्य जीवनको ऐतिहासिक विषयवस्तुमा आधारित यस काव्यमा इन्द्रकुमारीले पृथ्वीनारायणजस्ता वीरपुरुष पति भईकन पनि पतिहीनझैँ कुमारी अवस्थामै जीवन व्यतीत गर्नुपरेको कारुणिक विरहव्यथालाई कलात्मकताका साथ प्रस्तुत गरिएको छ । एउटी यौवना नारीले विवाह भईकन पनि पतिको स्पर्श नपाईकन पतिमिलनको पर्खाइमा कुर्दाकुर्दै कुण्ठित भई प्रणयविहीन जिउनु परेको कथावस्तुमा आधारित यस काव्यमा विप्रलम्भ शृङ्गार रस सर्वत्र लहराएको छ । काव्यको प्रारम्भमा नै हिमाली डाँफे र मधेसकी रानी चरीको मिलन हुन नसक्ने कुराबाट वियोगको सङ्केत गरिएको यस काव्यमा इन्द्रकुमारीले विगतका आशालाग्दा स्मरणयोग्य सन्दर्भहरूलाई–सम्झँदै विरहिणीका रूपमा आफ्नो बिछोडिएको पतिलाई चिठी लेख्नथालेपछि विप्रलम्भ शृङ्गार रसले अझ तीव्रता पाउँछ र अन्ततः छत्तीस वर्षमा पुगी पतिवियोगजन्य पीडाको चरमोत्कर्ष भोगेकी इन्द्रकुमारीले अन्तर्मनको पतिप्रतिको अनुराग सेलाएको अभिव्यक्ति दिनुसँगै विप्रलम्भ शृङ्गार रसको परिपाक भएको अनुभूति हुन्छ । यस काव्यका हरेक खण्ड, हरेक श्लोक र हरेक पङ्क्तिमा प्रणयविरहजन्य पीडाको भाव लहराएको छ । यो काव्य आदिदेखि अन्त्यसम्म छिटफुट केही स्थानबाहेक एकै भाव अर्थात् विप्रलम्भ शृङ्गारका प्रवाहमा बगेको देखिन्छ । विप्रलम्भ शृङ्गार रसको अभिव्यक्तिका दृष्टिले प्रस्तुत काव्य अत्यन्त प्रभावशाली र उदाहरणीय बन्न पुगेको छ भन्नुमा अत्युक्ति हुँदैन भन्ने लाग्छ । प्रस्तुत काव्यका विप्रलम्भ शृङ्गारयुक्त केही श्लोकका उदाहरण यसरी हेर्न सकिन्छ :
तिनी चिर कुमारी छन् सिन्दुर पैह्रिए पनि
डोलीमा चढ्न बाँकी नै सात फेरो घुमे पनि ख/४ (पूर्वार्ध)
स्वस्तिश्री अब के लेखू आँसु बग्दछ भल्भल
यस्तै हुन्छ तिमीलाई सम्झ्यो कि त झल्झल १/१
पाएको छैन बोलीमा बोली मिस्न अझै पनि
सर्माएर पसिनाले भिजेकी सुन्दरी बनी १/३
पाणिग्रहणको बेला के भयो हात छोइँदा
असिना–पसिना हुन्छु आज त्यो स्पर्श सम्झिँदा २/६
यौटा बत्ती तिमीलाई यौटा बत्ती मलाई हे
एक्लै जागिरहेकी छु जोरबत्ती जलाई हे ७/१
तिमी आकाशको पन्छी पिँजराकी चरी म त
किन हे लिन आउन्नौ म बसू“ कति माइत १२/४
मभित्र मधुरा धर्ती मभित्र अमरा पुरी
वरले तर चाखेन बधूको मधु माधुरी १९/२
बीस वर्ष बिते मेरा पर्खंदापर्खंर्दै अहो
बीस वर्ष बिते तिम्रा बिर्संदा बिर्संदै अहो २१/१
फुल्यो मधेसमा काँस फुल्यो हिउँ हिमालमा
फुल्यो कि त कतै केश मेरो पनि कपालमा २१/३
छत्तीस वर्षमा लागेँ बीस वर्ष तपस्विनी
प्रतीक्षामै पुग्यो इच्छा प्रिय–दर्शनको पनि २१/४
त्यसैगरी प्रस्तुत काव्यमा विप्रलम्भ शृङ्गार रसका अतिरिक्त, वीर, करुण, शान्तजस्ता रसहरूको पनि अभिव्यक्ति भएको पाइन्छ । यी वीरादि रसहरू यस काव्यमा प्रभावशाली रूपमा प्रकट भएका छैनन् । एकाध ठाउँमा देखापरेका यस्ता रसहरू विप्रलम्भ शृङ्गारको पुस्ट्याइँमा सहयोगी भएर आएका देखिन्छन् । त्यस्ता रसभावको अभिव्यक्ति भएका श्लोकका केही उदाहरण यी हुन् —
वीर रस– हिमवत्खण्ड रच्दै छौ वीर हे अपराजित ∕ १८/३
भरी सिन्दूर स्यू“दामा विदामा मुस्कुराइ हे
एक्लै वीर वधु बस्ली जोरबत्ती जलाई हे ७/८
करुण रस– मान्छे रोइरहेका छन् विचित्र बिलना गरी
बिदामा पूरिया राग गाउने शहनासरि २०/३
शान्त रस– भुल्की आउँथ्यो आँसु तिमीले बिर्सिए पनि
बाडुल्की अब लाग्दैन तिमीले सम्झिए पनि २१/६
यसरी मूल रूपमा विप्रलम्भ शृङ्गार रसको अभिव्यक्ति भई त्यसैका सहयोगीका रूपमा वीर, करुण तथा शान्त रसको अभिव्यक्ति भएको प्रस्तुत खण्डकाव्यमा ती रसहरूका आलम्बन र उद्दीपन विभावका रूपमा यसैका नायकनायिकादि पात्रहरू र तिनका देशकालगत परिवेश एवम् पूर्व स्मृतिगत चेष्टा आदि रहेका छन् । त्यसैगरी नायकादि पात्रका सात्विक तथा कायिक अनुभावका रूपमा स्वरभङ्ग, स्वेद, अश्रु, रोमाञ्च, स्तम्भ, छटपटाउनु, आँसु झार्नु, टोल्हाउनु, विकल हुनु, झस्कनु, असिनापसिना हुनु आदि चेष्टाजन्य अनुकार्यहरू अभिव्यक्त भएका देखिन्छन् । यस काव्यका ठाउँ–ठाउँमा स्वप्न, मद, दैन्य, गर्व, अमर्श, मरण, निद्रा औत्सुक्य, विबोध, आलस्य, निर्वेद, लज्जा, विषाद, चपलता, ग्लानि, चिन्ता, शङ्का, स्मृति, श्रम, जडता, आदि सञ्चारी भावहरू प्रकट भई सम्बद्ध स्थायी भावको चिरानुभूतिमा सहयोग पुर्याएको पाइन्छ । समष्टिमा अङ्गी रसका रूपमा विप्रलम्भ शृङ्गार र अङ्ग रसका रूपमा वीर, शान्त एवम् करुण रसको अभिव्यक्ति हुनु र अङ्गी रसका रूपमा रहेको विप्रलम्भ शृङ्गार रस चाहिँ सामान्य रूपमा नभई विशेष रूपमा प्रभावशाली बन्न पुग्नु नै यस खण्डकाव्यको रसभावगत वैशिष्ट्य हो भन्ने देखिन्छ ।
७. लयविधान
प्रस्तुत इन्द्रकुमारी खण्डकाव्य शास्त्रीय छन्दोबद्ध काव्य हो । यसमा शास्त्रीय अनुष्टुप् छन्दको प्रयोग गरिएको छ । यस काव्यमा जम्माजम्मी पच्चीस खण्ड छन् र ती प्रत्येक खण्डमा आठ–आठ श्लोक गरी जम्मा २०० श्लोक रहेका छन् । ती सबै श्लोकहरूमा एकै प्रकारको छन्द अर्थात् अनुष्टुप् छन्दको प्रयोग गरिएको छ । शास्त्रीय मान्यतानुसार अनुष्टुप् छन्दमा आठ अक्षरको एक पाउ र चार पाउको एक श्लोक मानिन्छ भने विषम पाउ अर्थात् पहिलो र तेस्रो पाउमा सातौँ अक्षर गुरु र समपाउ अर्थात् दोस्रो र चौथो पाउमा सातौँ अक्षर लघु हुनुपर्छ । साथै चारै पाउमा पाँचौँ अक्षर लघु र छैटौँ अक्षर गुरु नै हुनुपर्छ । प्रस्तुत काव्यमा अनुष्टुप् छन्दको यही नियमलाई अक्षरशः पालना गरिएको पाइन्छ । जस्तै —
१ २ ३ ४ ५ ६ ७ ८
पहिलो पाउ– अबको युगमा बाँच्न
१ २ ३ ४ ५ ६ ७ ८
दोस्रो पाउ– सकिन्न एकलो बनी
१ २ ३ ४ ५ ६ ७ ८
तेस्रो पाउ– जुराऔँ जलमा जस्तै
१ २ ३ ४ ५ ६७ ८
चौथो पाउ– दिलमा पनि इन्द्रिनी
माथिको उद्धरणमा पहिलो र तेस्रो पाउको सातौँ अक्षर गुरु छन् भने दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु छन् । अनि चारै पाउमा पाँचौँ अक्षर लघु र छैटौँ अक्षर गुरु छन् ।
यसरी शास्त्रीय अनुष्टुप् छन्दको प्रयोग गरिएको यस खण्डकाव्यमा प्रत्येक पङ्क्तिका अन्त्यमा अनुप्रासको योजना गरिएको छ । अन्त्यानुप्रासयोजनाका क्रममा एकदेखि आठ स्वरसम्मको अनुप्रास (१२/६, १४/२, ९/३, १६/२, १६/७,१०/३, १०/५,– १०/७) मिलाइएको पाइन्छ । त्यस्तै कतिपय ठाउँमा मध्यानुप्रास र पङ्क्तिद्वयगत अनुप्रास मिलाएर अधिकतम लयसिर्जना गर्ने प्रयास पनि गरिएको फेला पर्छ । त्यस्तै भल्भल, सल्बल, भत्भती, झल्झली, भुल्भुली आदि अनुकरणात्मक शब्दको प्रयोगबाट पनि लयोत्पादनमा मद्दत पुगेको पाइन्छ । यस काव्यका सबै खण्ड (खण्ड ७, ९, ११ मा चाहिँ केही नमिलेको बाहेकमा)मा सुरुको एक पङ्क्तिलाई अन्त्यको श्लोकमा समेत पुनरावृत्त गराई गीति शैलीको लयोत्पादन प्रयास कविले गरेका छन् । लयविधानका दृष्टिले प्रस्तुत काव्यमा कविले अत्यन्त सजगताका साथ परिष्कारपरिमार्जनपूर्ण शब्दयोजनाबाट श्रुतिमधुरता उत्पादनका निम्ति अथक प्रयास गरेका छन् र कवि त्यसमा सफल पनि छन् । उनको हालसम्मको खण्डकाव्ययात्राको अन्तिम काव्यका रूपमा देखिने यस काव्यमा लयोत्कर्षको प्रौढता फेला पर्छ । नायिकाको विरहवेदना एवम् प्रणयवेदनाको मनोवेगका छालहरूलाई प्रस्तुति गर्न कविको यस किसिमको लययोजना सफल भएको छ र यो लययोजना काव्यको विषयवस्तुअनुकूल बनी ह्दयसंवेद्य भावसम्प्रेषणमा पनि सहयोगी बनेको देखिन्छ । यसमा छन्द मिलाउनका लागि कतै पनि कृत्रिमताको सिर्जना गरिएको छैन । भावको तीक्ष्ण र प्रभावहमय सम्प्रेषण गर्दै जाँदा छन्दशास्त्रीय जटिलताले कतै पनि बाधा गरेको देखिँदैन अर्थात् भावका ऐ“चामा छन्दलार्ई खेलाएर पनि लयको शास्त्रसम्मत मान्यतालाई कतै नटुटाउने र भावको प्रभावशाली वेगलाई पनि नखजमज्याउने घिमिरेको बेजोड कवित्वकला यस काव्यमा पनि देखा परेकै छ । समष्टिमा प्रस्तुत खण्डकाव्यको लययोजना श्रुतिमधुर तथा गेयगुण सम्पन्न हुनाका साथै भावको प्रभावकारी सम्प्रेषणमा समेत सहयोगी बनेको छ भन्ने देखिन्छ ।
८. विम्ब, अलङ्कार र प्रतीकयोजना
प्रस्तुत इन्द्रकुमारी खण्डकाव्यमा प्रभावकारी भावसम्प्रेषणका निम्ति विविधखाले विम्बहरूको प्रयोग गरिएको पाइन्छ । तीमध्ये अधिकांशतः प्राकृतिक विम्बहरू नै छन् भने केही चाहिँ अन्य प्रकारका विम्बहरू छन् । यसमा कुञ्ज, कुहिरो, पखेरो, फूल, शीत, आँसु, हात्ती, घोडा, नदी, प्रातको सूर्य, वैशाखी पालुवा, बादल, लेक, बेँसी, कोइली, परेवाका भालेपोथी, पुतली, जूनकिरी आदि अनेक प्राकृतिक लघु विम्बहरूको प्रयोग गरी कलात्मक भावसम्प्रेषण गरिएको छ । त्यसरी नै डोली, सिन्दूर, लगनगाँठोजस्ता सामाजिक—सांस्कृतिक लघुविम्ब एवम् विवाहवेदी, त्यस वेदीमा दुलाहादुलहीको सातफेरो घुमाइ, लाजाहवन, पाणिग्रहणजस्ता सामाजिक, सांस्कृतिक भावमय दृश्यविम्बको प्रयोगबाट पनि यहाँ भाव सम्प्रेषणमा तीक्ष्णता थपिएको छ । त्यसरी नै पार्वती, सीता, राम, अमरापुरी आदि मिथकीय विम्ब तथा पतिमिलनका लागि आतुर यौवना पत्नीको कामातुर अवस्था एवम् आजीवन पतिको पर्खाबाट थाकेकी निराश र सिर्जनाविहीन पत्थरतुल्य नारीको कारुणिक अवस्थाको भावमय विम्बहरूको सहजसुन्दर संयोजनबाट प्रस्तुत काव्य अझ रोचक बनेको छ । साथै कविले यसमा सामाजिक–सांस्कृतिक बन्धनबाट मुक्त वीर पृथ्वीनारायण शाहलाई ‘हिमाली डाँफे’ आकाशको पन्छीजस्ता प्राकृतिक र सामाजिक–सांस्कृतिक बन्धनमा परेकी तथा दुई राजकुलको हठका कारण निरीह भई विरही जीवन बाँचेकी इन्द्रकुमारीलाई कुञ्जमा बस्ने रानीचरी, चैतको सालघारीमा कराउने न्याउली र पिँजराको पन्छी, कर्कलाको पातको शीतको बिन्दुजस्ता विम्बहरू दिएर विप्रलम्भ शृङ्गार रसानुकूलको तीव्र भावसम्प्रेषण गरेका छन् । विम्बप्रयोगकै क्रममा कविले आत्मिक सुखसुविधाविहीन तर भौतिक सुखसुविधायुक्त इन्द्रकुमारीको माइतीघरलाई सुनको पिँजराको विम्ब दिएर रोचकता थपेका छन् । यसरी यस खण्डकाव्यमा प्रयोग भएका विम्बहरू सहज–सुन्दर र अकृत्रिम प्रकृतिका छन् । यी विम्बहरूको विधानमा कविले आयोजनापूर्ण प्रयास गरेको आभास हुँदैन । विषयवस्तुको प्रभावकारी सम्प्रेषणका क्रममा सहज रूपमै स्वाभाविक बनेर आएका यी विम्बहरू ग्राह्य एवम् सम्प्रेष्य किसिमका रहेका छन् भने परिष्कारका दृष्टिले हेर्दा पनि चुनिएका एवम् भावनाको प्रस्तुतिका निम्ति क“दिएका र मन छुने किसिमका देखिन्छन् ।
अर्थालङ्कार प्रयोगका दृष्टिले हेर्दा चाहिँ प्रस्तुत खण्डकाव्यमा उपमा, रूपक, उत्प्रेक्षा, दृष्टान्त, विरोधाभास, स्वभावोक्ति,– समासोक्ति, अतिशयोक्ति, अप्रस्तुत प्रशंसा आदि अर्थालङ्कारहरूको रोचक प्रयोग गरिएको पाइन्छ । यहाँ प्रयोग भएका ती अर्थालङ्कारहरूको एक–एक उदाहरण तल क्रमशः दिइएको छ —
उपमा– तिनी इन्द्रकुमारी हुन् दुहिता हेमकर्णकी
बलेझैँ रूपको बत्ती मुहार हेमवर्णकी ख/३
रूपक – तिमी आकाशको पन्छी, पिँजराकी चरी म त
किन हे, लिन आउन्नौ, म बसू“ कति माइत १२/४
उत्प्रेक्षा– म शरद् सोह्रमा लाग्दी, तिमी बीस वसन्तमा
चित्रा र चन्द्र भेटेझैँ एकैछिन अनन्तमा २/२
दृष्टान्त– गुभाबाट पलाएको पानीले फूल भिज्छ रे
बस्ताबस्तै त्यसै खस्ने आँसुले दिल बुझ्छ रे १०/३
विरोधाभास– यो बोल्नु पनि के बोल्नु गीतमा विरही बनी
नबोल्नु पनि हो बोल्नु लज्जालु दुलही बनी १/४
स्वभावोक्ति– भाले विजन बेलामा उल्लाई लिन आउँछ
च्यापेर चञ्चुले चञ्चु पखेटा फर्फराउँछ १२/२
समासोक्ति – म नारायण पृथ्वीको, यिनी हुन् पृथिवी ठुली
चोपी सागरमा गोडा छोई श्रीपेचले चुली ३/५
अतिशयोक्ति– बत्ती हेरिरहे झैँ छ के लेखी पत्रमा भनी
कलेजीभित्र लेखेको उत्रन्न पत्रमा पनि १/७
अप्रस्तुत प्रशंसा– सूर्यमण्डलझैँ फूल अहो चहुरमा खिल्यो
बदली दिनमा घाम कहाँबाट त्यहाँ डुल्यो ४/७
९. सर्गयोजना, आयाम र कथनपद्धति
प्रस्तुत इन्द्रकुमारी खण्डकाव्यको सर्गयोजनातर्फ दृष्टि दिँदा यसमा पूर्वार्धका ‘क’ र ‘ख’ एवम् उत्तरार्धका ‘क’ र ‘ख’ शीर्षकका ४ खण्ड तथा बीचको १ देखि २१ सम्मका २१ खण्ड गरी जम्मा २५ खण्डको सर्गयोजना गरिएको देखिन्छ । पूर्वार्धको ‘क’ खण्डमा हिमालमा डुल्ने डाँफे चरी र मधेसको कुञ्जमा हुने रानी चरीको प्रेमवियोगका प्रसङ्गबाट गोर्खाली राजा पृथ्वीनारायण शाह र मकवानपुरकी राजकुमारी इन्द्रकुमारीको दुर्घटित दाम्पत्य जीवनको सङ्केत गरिएको छ भने ‘ख’ खण्डमा विवाह भएर पनि कुमारी अवस्थामै रहेकी इन्द्रकुमारीलाई चिनाउँदै पतिवियोगका कारण सानै उमेरमा गम्भीर भक्तिनी भएर बाटिकामा सीतारामको मूर्तिमा आरती गर्दै गरेकी इन्द्रकुमारीलाई देखाइएको छ । त्यसैगरी बीचका १ देखि २१ सम्मका खण्ड विरहिणी इन्द्रकुमारीले पृथ्वीनारायणलाई लेखेको प्रेमपत्रका रूपमा प्रस्तुत गरिएको छ, जसमा इन्द्रकुमारीले १६ वर्षदेखि ३६ वर्षसम्मको २० वर्षको समय पृथ्वीनारायण शाहजस्ता वीरपुरुष पति भईकन पनि पतिहीनझैँ भएर कुमारी अवस्थामै रहनुपरेको नारीमनोविज्ञानको बडो कारुणिक चित्रण फेलापर्छ । उत्तरार्धका ‘क’ र ‘ख’ खण्डमध्ये ‘क’ खण्डमा चाहिँ जीवनभरि मिलन हुन नपाएका पतिपत्नी, पृथ्वीनारायण र इन्द्रकुमारीको मिलन भाले जूनकिरी र पोथी जूनकिरीका रूपमा भएको एवम् अर्कै लोकमा सुनको दरबारमा दिव्य सुन्दरसुन्दरीका रूपमा उनीहरू रहने गरेको रहस्यमय कुरा गरिएको छ भने ‘ख’ खण्डमा इन्द्रकुमारीले अर्को लोकमा रानीको दर्जा पाएर सुखी जीवन बिताउन पाए पनि यस लोकमा उनका हर्षका गीतहरू सुन्न नसकिने र उनले यस धर्तीमा पाएको चरम मानसिक पीडा मेटेर मेट्न नसकिने कुरा बताइएको छ । यस काव्यको सर्गयोजनाअन्तर्गतका पच्चीसवटै खण्डमा अनुष्टुप् छन्दका ८–८ श्लोकको वितरण गरी सर्गगत सन्तुलन पनि कायम गरिएको छ । सर्गविधानका दृष्टिले यो काव्य अत्यन्त सन्तुलित र आकर्षक रहेको पाइन्छ ।
प्रस्तुत काव्यको आकारगत आयामलाई हेर्दा चाहिँ यो काव्य पच्चीस पृष्ठमा फैलिएको छ । जम्माजम्मी पच्चीस खण्ड रहेको यस काव्यमा प्रत्येक खण्डका आठ–आठ श्लोकको कुल योग गरी हेर्दा २०० श्लोक रहेको पाइन्छ । पङ्क्तिगत आयामका दृष्टिले हेर्दा चाहिँ यसमा ४०० पङ्क्ति रहेका छन् । आठ अक्षरको एक पाउ हुने अनुष्टुप् छन्दका २०० श्लोकबाट निर्मित यो काव्य श्लोकगत आयामका दृष्टिले पुष्ट प्रकृतिको काव्य हो भन्ने देखिन्छ । पृथ्वीनारायण शाह र इन्द्रकुमारीको वैवाहिक जीवनको दुर्घटित कथाबाट निर्मित यस काव्यमा जीवनका सुख–दुःख, मिलन–वियोग आदि विविध पक्षमध्ये वियोग पक्षको चित्रण भएको छ र त्यो जीवनको एकांश अर्थात् एक पक्षको विषयवस्तु प्रस्तुति हुनुपर्ने खण्डकाव्यको सैद्धान्तिक मान्यताका कसीमा उपयुक्त रहेको देखिन्छ । जीवनका सुखसुविधा मनको शान्तिमा निर्भर गर्ने हुँदा मानवका इच्छाआकाङ्क्षा एवम् मीठा मनोवाञ्छाहरू पूरा हुन पाउनुपर्छ र त्यो उसको नैसर्गिक अधिकार पनि हो तर ती मनोकामनाहरू पूरा हुन नपाउँदा मानिसको जीवन पीडामय बन्न पुग्छ र त्यस पीडालाई भौतिक सुखसुविधाले हटाउन सक्तैन भन्ने मूल विचार व्यक्त भएको यस काव्यको वैचारिक आयाम पनि उल्लेख्य रहेको पाइन्छ ।
कथनपद्धतिका दृष्टिले प्रस्तुत काव्यलाई नियाल्ने हो भने यसमा कविकथन र कविनिबद्धवक्तृकथनको मिश्रित अवस्था फेलापर्छ । यस काव्यका पूर्वार्धका ‘क’ र ‘ख’ एवम् उत्तरार्धका ‘क’ र ‘ख’ गरी चार खण्ड कविका टिप्पणीका रूपमा आएका छन् भने बीचका १ देखि २१ सम्मका २१ खण्ड इन्द्रकुमारी पात्रको एकालापीय निजी कथनका रूपमा आएका छन् । यी एक्काइस खण्डभित्र पनि इन्द्रकुमारीले पूर्व घटनाहरू स्मरण गर्ने क्रममा तेस्रो, तेह्रौँ, सोह्रौँ र बीसौँ खण्डका केही अंशमा क्रमशः इन्द्रकुमारी, दाजु, इन्द्रकुमारीकी आमा, हेमकर्ण सेन र इन्द्रकुमारीका अवस्था देखेर दुःखी भएका मानिसहरूको अभिव्यक्ति रहेको फेलापर्छ । यसरी प्रस्तुत खण्डकाव्य मूलतः कवि निबद्धवक्तृप्रौढोक्ति र अंशतः कविप्रौढोक्ति कथनपद्धतिमा आधारित देखिन्छ । यसमा प्रयोग भएको कविकथनमा तृतीय पुरुषात्मक कथन ढाँचा फेलापर्छ भने पात्रीय कथनमा चाहिँ मूलतः प्रथम पुरुषात्मक कथन ढाँचा फेलापर्छ । जे होस् कथनपद्धतिका दृष्टिले प्रस्तुत खण्डकाव्यमा मिश्रित किसिमको कथनपद्धति अँगालिएको पाइन्छ ।
प्रस्तुत खण्डकाव्यको सर्गयोजना, आयाम र कथनपद्धतिका बारेमा गरिएको उपर्युक्त विवेचनाको निचोडका रूपमा के भन्न सकिन्छ भने बराबरी श्लोक सङ्ख्याका २५ खण्डबाट निर्मित यो काव्य सर्गगत सन्तुलनयुक्त देखिन्छ भने आयामका दृष्टिले पनि पुष्ट नै रहेको पाइन्छ । कथनपद्धतिका दृष्टिले चाहिँ यो अधिकांशतः कविनिबद्धवक्तृकथन र अंशतः कविकथनको प्रयोग भएको मिश्रित किसिमको कथनपद्धति अँगालिएको काव्यका रूपमा देखिएको छ ।
१०. भाषाशैली
प्रस्तुत इन्द्रकुमारी खण्डकाव्यमा कविले अत्यन्त सजगताका साथ विषयानुकूल भाषाको प्रयोग गरेका छन् । तत्सम, तद्भव एवम् आगन्तुक गरी तीनै स्रोतका शब्दहरूको प्रयोग गरिएको यस काव्यमा तत्सम र आगन्तुक शब्दहरूलाई पनि भावानुकूल हुने गरी अत्यन्त कलात्मक रूपमा प्रयोग गरिएको पाइन्छ । नेपाली जनजीवनमा भिजेका त्यस्ता शब्दहरू काव्यको भावसम्प्रेषणमा बाधक बनेका देखिँदैनन् । बरु त्यस्ता शब्दहरूको प्रयोग भावको तीव्र र सुस्वादु सम्प्रेषणका निम्ति गरिएको पाइन्छ । यसमा प्रयोग भएका हेमवर्ण, स्वस्तिश्री, आख्यान, हिमवान, मिलनयामिनी, अम्लान, वासरशय्या, आविर्भूत, आलोक, सुषमा, नीड, फेनिलजस्ता केही तत्सम शब्द अलि कठिन खालका देखिए पनि अधिकांश तत्सम शब्दहरू (आरती, बिन्दु, प्रात, रश्मि, धर्ती, ज्योति, उन्मुक्त, तीर्थ, छवि, मार्ग, अपराजित, शोभित, मत्र्यमण्डल, दिव्य, पङ्ख, कुञ्ज, ऋतु, रण, शीत, पुष्प, सृष्टि, वाणी आदि) सामान्य पाठकका लागि पनि सुसम्प्रेष्य नै छन् । काव्यिक गरिमा र विषय एवम् भावको ओेजलाई थाम्न पनि यस्ता शब्दहरूको प्रयोगको अपेक्षा नकार्न सकिन्न । त्यसैगरी दुलही, पानस, याद, सवार, शिरताज, दिल, जिन्दगानी, गजल, ज्युनु, जादु, तकिया आदि नेपाली जनजीवनको व्यवहारमा सामान्य प्रयोग हुने आगन्तुक शब्दहरूको सार्थक संयोजन पनि यस काव्यमा फेला पर्छ । त्यस्तै झल्मल, झल्झल, सल्बल, गदगद् किरकिरी, झल्झली, भुल्भुली, भुभुल्की, खल्खली, गुजुमुजे, हरहर आदि अनुकरणात्मक शब्दको प्रयोगबाट काव्यको भाषा सङ्गीतमय बन्न पुगेको छ । कविले “साँढेको जुधाइ बाच्छाको मिचाइ” भन्ने नेपाली उखानलाई समेत यसरी प्रयोग गरेर भाषिक रोचकता थपेका छन् —
अहो राज घरानाको यो कस्तो अभिमान हो
जुधान दुइ साँढेको बाच्छालाई मिचान भो १३/४
पत्रशैलीमा लेखिएको यस काव्यमा कविले पूर्वीय दूतकाव्यपरम्पराको समेत झल्को दिएका छन् । बादललाई विरहिणी नायिकाको विरहव्यथा नायकसम्म पुर्याउने दूतका रूपमा चयन गरेर त्यस्तो झल्को दिएको हो । यौन र दाम्पत्य जीवनको स्वाभाविक आनन्दको अभावमा पीडित नारीमनको अन्तरकुन्तरलाई अत्यन्त कलात्मक रूपले केलाउने काम कविले यसमा गरेका छन् । एउटी यौवना युवतीले १६ देखि ३६ वर्षसम्मको २० वर्षको प्रणयापेक्षित सिर्जनशील जीवन पतिसान्निध्यविना नै बिताउनुपर्दाको चरम पीडाको अनुभूतिलाई जस्ताको त्यस्तै अर्थात् अत्यन्त सम्प्रेष्य रूपमा प्रस्तुत गर्ने सफलता कविले यसमा पाएका छन् । प्रत्येक खण्डमा बराबरी श्लोकसङ्ख्या विन्यास गरी सर्गगत सन्तुलन गर्नु, प्रत्येक खण्डको सुरुको पङ्क्ति तत्खण्डको अन्त्यमा पुनरावृत्त गराई गीतिशैलीको लयोत्कर्ष थप्नु एवम् शब्दप्रयोगमा अत्यन्त सजगता अपनाउनुजस्ता सन्दर्भहरूले कवि घिमिरेको काव्यकलागत क“दाइ निकै प्रौढ हुँदै गएको देखिन्छ । नेपाली परिवेशका विम्बहरूको प्रयोग गर्दै ह्दयसंवेद्य भावसम्प्रेषण गरिएको यस काव्यको भाषाशैली अत्यन्त परिष्कारपरिमार्जनपूर्ण एवम् सुकोमल रहेको पाइन्छ । भाषाको मितव्ययी प्रयोग एवम् अभिव्यक्तिगत सघनताका दृष्टिले पनि यो काव्य उपलब्धिपूर्ण रहेको देखिन्छ । काव्यव्यापी रूपमै प्रसाद गुण लहरिएको यो काव्य रीतिका दृष्टिले वैदर्भी रीतियुक्त देखापर्छ । समष्टिमा प्रेमविरहको विषयवस्तुलाई परिष्कृत–परिमार्जित भाषाशैलीका माध्यमद्वारा अत्यन्त कलात्मक रूपमा मनोहारी वर्णन गर्दै विरहिणी नारीको मनोविज्ञानको उद्घाटनमा केन्द्रित यो काव्य स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शिल्पशैलीयुक्त रहेको देखिन्छ । घिमिरेको खण्डकाव्ययात्राको हालसम्मको अन्तिम खण्डकाव्यका रूपमा देखिएको यस काव्यमा घिमिरेको खण्डकाव्यकलागत परिष्कारपरिमार्जन एवम् ह्दयसंवेद्य भावसम्प्रेषणको उत्कृष्ट नमुना देख्न पाइन्छ । यो उत्कृष्टता उनको अरू खण्डकाव्यका तुलनामा सर्वोच्च रहेको छ ।
११. निष्कर्ष
इन्द्रकुमारी कवि माधव घिमिरेको वि.स.२०५७ मा प्रकाशित इन्द्रकुमारी काव्यसङ्कलनमा सङ्गृहीत खण्डकाव्य हो । वि.स.२०३१ मा गीतिनाटकका रूपमा लेख्न थाले पनि परिष्कारपरिमार्जनका क्रममा खण्डकाव्यका रूपमा प्रकाशित यो काव्य गोर्खाका राजा पृथ्वीनारायण शाह र मकवानपुरकी राजकुमारी इन्द्रकुमारीको विवाह भईकन पनि मिलन हुन नसकेको ऐतिहासिक घटनामा आधारित छ । हिमवत्खण्ड एक पार्न एकीकरण अभियानमा जुटेका पृथ्वीनारायणले आफ्नै पत्नीको जीवन बरबाद पारी न्याय दिन नसकेको कुराप्रति असन्तुष्टि व्यक्त गरिएको यस काव्यमा सिर्जनाकी प्रतिमूर्ति नारीका सिर्जनाशील जीवनलाई शून्य बनाउने कार्य कुनै पनि बहानामा न्यायोचित हुन नसक्ने विचार सम्प्रेषण गरिएको छ । यसमा पात्र र परिवेश पक्ष अत्यन्त सबल देखिएको छ भने कथावस्तु चाहिँ साङ्केतिक छ र त्यो त्यति क्षीण नदेखिए पनि घटनाको शृङ्खलात्मक विकासका दृष्टिले कमजोर नै देखिएको छ । त्यसैले यसको आख्यानसंरचना चाहिँ अपुष्ट प्रकृतिको रहेको पाइन्छ । नायकनायिकाको मिलन हुन नसकी नायिकाले विरहमा जीवन व्यतीत गर्नुपरेको विषयमा संरचित यस काव्यमा विप्रलम्भ शृङ्गार रसको असाधारण प्रस्तुति भएको देखिन्छ भने शास्त्रीय अनुष्टुप् छन्दको प्रयोग गरी लयोत्कर्षका निम्ति पनि अत्यन्त सचेतता अपनाएको पाइन्छ । यसको सर्गयोजना २५ खण्डको छ र त्यो आठ–आठ श्लोकको सन्तुलनयुक्त देखिन्छ भने आयामका दृष्टिले यो काव्य २०० श्लोकबाट निर्मित भई पुष्ट प्रकृतिको बनेको पाइन्छ । काव्यव्यापी रूपमै प्रसाद गुण लहराएको यस काव्यमा वैदर्भी रीतिको प्रयोग फेलापर्छ । यसमा कविकथन र कविनिबद्धवक्तृकथनको मिश्रित पद्धति अँगालिएको छ र विम्ब–अलङ्कारको पनि सहजसुन्दर एवम् अकृत्रिम प्रयोग गरिएको छ । तत्सम, तद्भव एवम् आगन्तुक तीनै स्रोतका शब्दको प्रयोग पाइने यसको भाषाशैली परिष्कारपरिमार्जनयुक्त र ह्दयसंवेध किसिमको रहेको छ । समष्टिमा भावव्यञ्जना, कवित्वकला, विम्ब, अलङ्कार, भाषाशैली आदि खण्डकाव्यीय तत्त्वका एकमुष्ट मूल्याङ्कनमा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शिल्पसंरचनाअन्तर्गत देखिने यो काव्य कवि माधव घिमिरेको खण्डकाव्ययात्राको उपलब्धिपूर्ण कृति हो भन्ने देखिन्छ ।
सन्दर्भ सूची
उपाध्याय, श्रीरामप्रसाद (२०५५). नेपालको समीक्षात्मक इतिहास. ललितपुर : साझा प्रकाशन ।
घिमिरे, माधव (२०५७) . इन्द्रकुमारी. ललितपुर : साझा प्रकाशन ।
पोखरेल, भानुभक्त , कवि माधव घिमिरे र उनका काव्यचिन्तन, (दो.सं.), (ललितपुर : साझा प्रकाशन, २०५०), पृ. ७९ ।
शर्मा, बालचन्द्र (२०३३). नेपालको ऐतिहासिक रूपरेखा (चौ.सं.). वाराणसी : कृष्णकुमारीदेवी ।
शर्मा, बिन्दु . गीतिनाट्य परम्परामा राष्ट्रकवि घिमिरे . (काठमाडौँ : अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन, २०६२), पृ. १७६।
ज्ञावाली, रामप्रसाद (२०६०). ‘जिजीविषा, अप्राप्ति अनि प्रणयसौन्दर्य र विरहवेदनाको उत्कृष्ट खण्डकाव्य इन्द्रकुमारी’.राष्ट्रकवि माधव घिमिरे : समीक्षात्मक अवलोकन (सम्पा. नेत्र एटम) काठमाडौँ : तन्नेरी प्रकाशन ।