लेखक
गणेश घिमिरे प्रवासमा बसेर पनि नेपाली साहित्यको सेवामा समर्पित युवा प्रतिभा हुन् । नेपालको भोजपुर जिल्लामा जन्मिएर त्यहीँ हुर्किएका घिमिरे उच्च शिक्षा र पेसाका सिलसिलामा अहिले अस्ट्रेलिया पुगेका छन् । उनलाई मातृभूमिमै रहेर भषा–साहित्यको सेवा गर्ने वातावरण नमिले पनि उनले नेपाली भषा र संस्कृतिको प्रवर्द्धन साङ्गठनिक एवम् सिर्जनात्मक गतिविधिबाट मातृभूमिको ऋण तिरिरहेका छन् । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका वर्तमान सचिव घिमिरे विभिन्न कार्यक्रममा अस्ट्रेलियाबाट प्रतिनिधित्व गरिरहेका छन् । उनी मूलतः कविता, गजल, लघुकथा जस्ता फुटकर विधामा कलम चलाउँदै आएका छन् । घिमिरेको यादहरूको पहाड कविता कृति प्रकाशित छ । उनले केही कृतिको समीक्षा गर्नका साथै अस्ट्रेलियाबासी नेपाली साहित्यकर्मीहरूको खोजविन पनि गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा घिमिरेको ‘अस्ट्रेलियामा नेपाली भाषा–साहित्य’ शीर्षकको समीक्षा समेटिएको छ । यस समीक्षाले अस्ट्रेलियाको नेपाली भषा–साहित्य र नेपाली संस्कृतिको अन्वेषण गरेको छ । सम्पा. |
सन् १९७० को दशकदेखि अस्ट्रेलियामा नेपालीहरूको आगमन हुन थालेको भए पनि ९० को दशकदेखि त्यो सङ्ख्या बढ्न थालेको देखिन्छ। २००७ र २००८ को आर्थिक मन्दीले विश्वका बिकसित मुलुकहरू प्रभावित हुँदा पनि अस्ट्रेलिया अरू देशको तुलनामा यो मन्दीबाट बचेको थियो। जसले गर्दा विश्वका अन्य मुलुकका जनता जस्तै नेपालीहरू पनि अस्ट्रेलियाप्रति बिशेष आकर्षित हुन थाले। परिणाम स्वरूप अस्ट्रेलियामा नेपालीहरूको जनसङ्ख्या उल्लेख्य मात्रामा बढ्न थाल्यो। अस्ट्रेलियाको आप्रवासी नियम अन्य मुलुकको तुलनामा खुकुलो र सजिलो भएकाले पनि अस्ट्रेलिया नेपालीहरूका लागि प्रमुख आकर्षक गन्तब्य बन्न पुग्यो ।
विश्वमा अस्ट्रेलिया मात्र एउटा त्यस्तो देश हो जहाँको संविधानमा बहुसांस्कृतिकवाद लेखिएको छ त्यसर्थ यहाँ आफ्नो संस्कृतिलाई संरक्षण गर्नेहरूलाई बढी प्राथमिकता दिइन्छ। यहाँ बसेर आफ्नो भाषा, संस्कृति र चाडपर्वलाई संरक्षण गर्नेहरूलाई सरकारका तर्फबाट प्रोत्साहन पनि दिएको पाइन्छ। यस्तो परिवेशमा नेपालीहरूले पनि निर्धक्कसँग आफ्नो भाषामा बोल्ने र लेख्ने मौका पाएका छन्।
वर्तमानमा नेपाली साहित्यको कुरा गर्दा प्रवासी साहित्यको पनि कुरा गर्नुपर्ने हुन्छ। अर्थात् यो साहित्यविना नेपाली साहित्य अपुरो हुने भएको छ। नेपालीहरू प्रवासिएर संसारका कुना कुनासम्म पुगेका हुनाले अब डायास्पोरिक वा प्रवासी साहित्यलाई वर्गीकरण गरेर अध्ययन गरिनुपर्छ जस्तो लाग्छ। अस्ट्रेलियामा बसेर नेपाली साहित्य लेख्ने स्रष्टाका रचनामा नेपालका यादहरू र अस्ट्रेलियाको तत्कालीन समाजको चित्रण गरिएको हुन्छ, त्यसैलाई अस्ट्रेलियाली नेपाली साहित्य भनेर यो कार्यपत्रमा प्रस्तुत गरिएको छ।
यो आलेख डायस्पोरा सिद्धान्तमा केन्द्रित नभई अस्ट्रेलियाका विभिन्न सहरमा बसेका साहित्यकारहरूले सिर्जना गरेका उपलब्ध साहित्यिक कृतिहरूको सर्वेक्षणात्मक अध्ययन र अनेसासको स्थापनासँगै अस्ट्रेलियाली नेपाली साहित्यले क्रमशः लिँदै गएको उचाइमा केन्द्रित छ। उपलब्ध सामग्रीलाई आधार बनाएर तयार पारिएको यस कार्यपत्रमा सामग्रीको अभावका कारण कतिपय सन्दर्भहरू छुटफुट हुन गएका भए आगामी दिनहरूमा यसलाई थप गरी पूर्णता प्रदान गरिनेछ।
सिड्नीमा अस्ट्रेलियाली नेपाली साहित्यका प्रारम्भिक दिनहरू सुरुका दिनहरूमा सिड्नीमा नेपाली भाषा–प्रेमीहरू एक–अर्काको घरमा भेटघाट गरेर कविता, गजल , गीत आदि सुनाउने गर्थे। मदन पुरस्कारले विभूषित हुनुभएका साहित्यकार मुकुन्दशरण उपाध्याय अस्ट्रेलिया आउँदा यहाँ कुनै साहित्यिक क्रियाकलाप भएको नदेखेपछि उहाँकै सपुस्थितिमा सन् २००७ मा सुजता केसीको अध्यक्ष्यतामा नेपाली कला संस्कृति तथा साहित्य प्रतिस्ठानको स्थापना भयो। यो संस्थाले हरेक वर्ष भानु जयन्ती मनाउने गथ्र्यो। अस्ट्रेलियामा युवा साहित्यकारहरूको जमात बढिरहेको थियो। आ–आफ्नो ढङ्गले लेखन कर्म गरिरहेका साहित्यानुरागीहरूको जमात थियो। यसै सन्दर्भमा अस्ट्रेलियाको नेपाली साहित्यलाई पनि विश्वका अन्य देशमा रहेका नेपाली साहित्यप्रेमीहरूमाझ पुर्याउनुपर्छ भन्ने अभिप्रायले सन् २०११ मा भीमसेन सापकोटाको अध्यक्ष्यतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएस डब्ल्यु अस्ट्रेलियाको स्थापना भयो। अनेसासको स्थापनासँगै यसले अस्ट्रेलियाव्यापी कविता महोत्सवको भव्य आयोजना गर्यो जुन महोत्सवमा थुप्रै नयाँ साहित्यकारहरूको सहभागिता रहेको थियो। यसपछि अस्ट्रेलियाली नेपाली साहित्यले एउटा नयाँ अध्यायको सुरुवात गरेको मान्न सकिन्छ। अनेसासले मोती जयन्तीको उपलक्ष्यमा गजल सन्ध्या, लक्ष्मीजयन्तीको अवसरमा साहित्यिक कार्यक्रमलगायत, साहित्यिक वनभोज, हरेक महिना एउटा साहित्यिक कार्यक्रम भन्ने नाराका साथ घरदैलो काव्यसन्ध्या , विभिन्न लेखकहरूका कृतिहरूको विमोचनका साथै नेपालबाट आएका प्रसिद्ध साहित्यकारहरूसँंगको साक्षात्कार जस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्न थाल्यो। जसमा नेपाली साहित्यप्रेमीहरूको ठुलो जत्था सहभागी हुन थाल्यो। सिड्नीमा अनेसासको प्रभाव यतिसम्म बढ्न थाल्यो कि एन.आर.एन अस्ट्रेलियाले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिबलमा पहिलो पल्ट साहित्य तर्फ ५ मिनेट समय दिइयो। यसपछि एन.आर.एन अस्ट्रेलियाले साहित्यिक विभाग गठन गरी यसको संयोजकमा अनेसास सिड्नीकै तत्कालीन उपाध्यक्ष सानु घिमिरेलाई जिम्मेवारी दिइयो। सन् २०१४ मा आयोजना गरिएको नेपाल फेस्टिबलमा यो समय लम्ब्याएर १५ मिनेट बनाइएको थियो साथसाथै एन आर एन अस्ट्रेलियाले नेपाली भाषा र साहित्यको लागि छुट्टै स्टलसमेत प्रदान गरेको थियो। २०१४ पछि एन.आर.एन.ए अस्ट्रेलियाको साहित्यिक विभागमा अनेसास पर्थ च्याप्टरका तत्कालीन र वर्तमान अध्यक्ष गणेश घिमिरेलाई कार्यभार सुम्पिएको थियो।
अनेसासको पाँचौ अन्तरास्ट्रिय नेपाली साहित्य सम्मेलन , अनेसास पर्थ च्याप्टरले आयोजना गरेर अस्ट्रेलियाको पश्चिमी भू–भागमा नेपाली साहित्यको जोडदार शङ्खघोष गरेको छ।
अस्ट्रेलियाका अन्य राज्यहरूमा अनेसासको बिस्तार सन् २००८ मै पहिलोपल्ट दक्षिणी गोलाद्र्धमा दीपक बिस्टको अध्यक्षतामा दक्षिण अस्ट्रेलियाको एड्लेडमा, अनेसास अस्ट्रेलियाको गठन भएको थियो। यो हरेक वर्ष लगातार ५ वर्षसम्म भानु जयन्ती कार्यक्रम आयोजना गरेर त्यो क्षेत्रमा भएका साहित्यकारहरूलाई एकीकरण गरिरहन पहल गरिरहेको संस्था हो।
सन् २०१२ मा दिपेश गौतमको संयोजनमा अनेसास, भिक्टोरियाको गठन मेलबोर्नमा भयो। यो च्याप्टर सकृय हुन सकेन तर अहिले आएर मेलबोर्नका वासुदेव मरहट्ठा, दीपक निरौला तथा दिक्पालदेव पङ्गेनी जस्ता स्रस्टाहरू मिलेर अनेसास भिक्टोरियाको काम गरिरहेका छन्।
सन् २०१६ मा अस्ट्रेलियाको ब्रिसबेनमा केशव शर्माको संयोजकत्वमा अनेसास, कुइन्स्ल्यान्डको स्थापना भयो।
अस्ट्रेलियामा रहेर नेपाली भाषा र साहित्यको उत्थानमा लागि परेका अन्य संस्था तथा मिडियाहरू अनेसाससँगै नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले वर्षमा केही साहित्यिक कार्यक्रमहरू आयोजना गरिरहेको छ। नेपाली भाषाको शब्दमालालगायत अन्य एक दर्जन जति पाठशालाले दोश्रो पुस्तालाई नेपाली भाषा सिकाइरहेको छ भने, अनेसासलगायत अन्य सङ्घसंस्थाहरूले दोस्रो पुस्ताका नेपालीहरूलाई सहभागी गराएर नेपाली भाषा र साहित्यको विकासमा लागिपरिरहेको प्रस्ट देखिन्छ।
अस्ट्रेलियामा रहेको पहिलो अनलाइन मिडिया असनेपाल न्युज डट कमले नेपाली भाषा र साहित्यका हरेक समाचार, रचनाहरूलाई उचित स्थान दिएर नेपाली भाषा र साहित्यप्रति सद्भाव देखाइरहेको छ। अस्ट्रेलियामा निस्प्रभ सजीको सम्पादकत्वमा रहेको साताको साहित्य अनलाइनले अस्ट्रेलिया र अन्य देशका साहित्यकारहरूको रचनालाई हरेक साता सम्प्रेषण गरेको छ भने केही वर्षअघिसम्म विभिन्न साहित्यिक कार्यक्रमहरू आयोजना पनि गरिरहेको थियो। नेपाली पत्र, नेपाली टाइम्स अस्ट्रेलियालगायतका मिडियाहरूले पनि नेपाली भाषा र साहित्यका सञ्चार र सामाग्रीहरूलाई विशेष स्थान दिएको पाइन्छ। गजलकारहरूको एउटा समूह ‘रचना वाचन’ पनि सकृय छ, सिड्नीमा रहेको हिमालयन रेडियोले अनेसासले आयोजना गर्ने हरेक कार्यक्रमको लाइभ गर्नेलगायत नेपाली भाषा र साहित्यलाई प्रवद्र्धन गर्ने प्रकारका समग्री प्रसारण गर्ने गरेको छ। यहाँ भीमसेन सापकोटा, गणेश घिमिरे, महेन्द्र पौडेल, सानु घिमिरे, प्रदीप चापागाईं, निस्प्रभ सजी, जितेन्द्र मल्ल, केशव शर्मा, वासुदेव मरहट्ठा, निरज क्षेत्री, राजेश बुढाथोकी, शैलेश मैनाली, प्रमोद सापकोटा, सावित्रा काफ्ले, दीपक निरौला, रिजा प्रधान, हुमवती गौतम, पार्वती पहारी, नन्द भण्डारी, निरोज जोशी, श्वेता मैनाली, कुमार गिरी, प्रकाश सुवेदी, निर्मल ज्ञवाली, राजेश्वर घिमिरे, दुर्गा रिमाल, ममता तिवारी, सीमा रोशी, जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी, केदार पोख्रेल, विज्ञान कँडेल, आलोक कोइराला, महेश्वर शर्मा, सजल नयन, सुरजदेव श्रेष्ठ, देव पाठक, विनायक अधिकारी, इन्द्र आचार्य, सिर्जना थापा आदि लेखनमा क्रियाशील रहेका छन्। अस्ट्रेलियामा बसेर पुस्तक प्रकाशन गर्नुहुने साहित्यकारहरू र कृति को नामावली यसप्रकार छ ः भीमसेन सापकोटाको भत्किएको पर्खाल (२००४) नाटकसङ्ग्रह, प्रश्नमा इश्वर (२०१५) कवितासग्रह, सफल जीवनका सूत्रहरू (अडियो, भिडियो बुक, २०१७) गणेश घिमिरेको यादहरूको पहाड (२०१७) गजलसग्रह, सानु घिमिरेको ग्रहण (कवितासङ्ग्रह, २०१३), महेश्वर शर्माको प्रवासका जूनहरू (कवितासङ्ग्रह, २०१७), श्वेता मैनालीको प्रेम बस्ती (२०१७), प्रदीप चापागाईंको सिरेटो शिशिरका (२०६५ डाँडामा जून छ (गजल सङ्ग्रह) (२०६८), फूलहरूको युद्ध (कविता सङ्ग्रह) (२०७१), निस्प्रभ सजीका भूपरिवेष्ठित खुट्टाहरू (कवितासङ्ग्रह २०१०), लाहुरे फूल (कविता सङ्ग्रह, २०१४), डार्लिङ हार्बर (उपन्यास, २०१६), निर्मल ज्ञवालीको फ्रिडम टु डाई (कथा सङ्ग्रह, २०१५), राजेश बुढाथोकीको जलिरहेको देश (कवितासङ्ग्रह, २०१७), केदार पोख्रेलका सम्मान (कथासङ्ग्रह, २००८), अंशबन्डा (कथासङ्ग्रह, २०१६), आमा (कवितासङ्ग्रह, २०१६) का साथै प्रकासोन्मुख कृतिहरू चेप्टे भँगालो उपन्यास तथा गरिबको झुपडी लघुकथा सङ्ग्रह र बाटो भत्किएपछि कविता सङ्ग्रह रहेको रहेका छन्। रोमन मानवको रूपान्तरण एक सडक युवाको (उपन्यास, २०१६), राजेश्वर घिमिरेका बुद्धका पाइलाहरू (लघुकथासङ्ग्रह, २०१७), तेश्रो आँखा (कविता सङ्ग्रह, २०१६), जितेन्द्र मल्लले अन्य देशमा रहेका तीन जना गजलकारसँग मिलेर प्रकाशित गरेको गजलसङ्ग्रह चार प्रहर (२०१२) विज्ञान कँडेल र सीमा रोशी (गजलसङ्ग्रह, कवितासङ्ग्रह र कथा सङ्ग्रहहरू नेपालमै बस्दा प्रकाशन गरेको हुनाले डायास्पोरिक लेखकको रूपमा यहाँ उद्धृत गरिएन।
अस्ट्रेलियामा बसेर नेपाली साहित्यिक कृयाकलापहरूका बारेमा अङ्ग्रेजीमा विभिन्न लेखहरू लेखिरहनुहुने राजु मानन्धर अहिले नेपाली कृतिहरूलाई अङ्ग्रेजीमा अनुवाद गरिरहनु भएको छ।
अस्ट्रेलियामा नेपालीभाषी भुटानीहरू सन् २००७ मा भुटानबाट बाहिरिन बाध्य भएका नेपाली भाषी भुटानीहरूलाई तेस्रो मुलुकमा बसोबासको व्यवस्थापन गर्ने अभियानअन्तर्गत अस्ट्रेलियाका विभिन्न स्टेटहरूमा स्थानान्तरण गरिएको छ । नेपालीभाषी भुटानीहरूको बसाइँसराईसँगै नेपाली भाषी जनसङ्ख्या बिस्तारै बढ्न थाल्यो। नेपाली भाषी भुटानीहरूले आफ्नो भाषा र साहित्यलाई सँगसँगै बढाइरहेका छन्। उनीहरू समाजसेवामा र साहित्यको क्षेत्रमा सक्रिय देखिन्छन्। डा.ओम ढुङ्गेल र ई. ओम ढुङ्गेलको नाम भुटानीहरूको समूहमा मात्र नभएर नेपाली समुदायमै लोकप्रिय नाम हो साहित्यका क्षेत्रमा दुर्गा रिमाल, प्रकाश धमला, निमेश भण्डारी, रिमेन आलोक, हरि सापकोटा, पदम काफ्ले, छत्र दङ्गाल, पार्वती पहारी र विष्णु योन्जन आदि निकै सक्रिय रूपमा उदाएका छन्।
अस्ट्रेलियाका नेपालीभाषी भुटानीहरूले लेखेका डायास्पोरिक कृतिहरू यसप्रकार छन्। दुर्गा रिमालको भूगोलको नासो (गजलसङ्ग्रह, २०१५) । कृति अस्ट्रेलियामा पुनर्वासित नेपालीभाषी भुटानीहरूबाट प्रकाशित पहिलो कृति पनि हो। रिमेन आलोकको देश हराएको रात (गजलसङ्ग्रह, २०१६), पार्वती पहारी तुफानको बाटो छेक्छन् जून ताराले (२००९), दुर्गा रिमाल सम्पादक रहेको कृति उल्लेख्य छन् । अस्ट्रेलियामा पुनर्वासित २५ जना नेपालीभाषी भुटानीहरूको संयुक्त गजलसङ्ग्रह, कङ्गारुको देशबाट पनि उल्लेख्य छ ।
सिड्नीमा रहेको एसोसिएसन अफ भुटनिज संस्थाले हरेक वर्ष भानु जयन्तीको अवसरमा साहित्यिक कार्यक्रम आयोजना गर्ने गरेको छ। त्यस्तै २०१७ मै नेपाली पाठशालाको पनि स्थापना भएको छ जहाँ नेपाली भाषी भुटानीहरूको दोस्रो पुस्ताले नेपाली भाषा सिकिरहेका छन्।
एनआरएनए भाषा–साहित्य उपसमिति (एनसिसी, अस्ट्रेलिया) अनेसास, कला सस्कृति प्रतिष्ठानलगायतका संस्था मिलेर काम गर्दै आएका छन्। अन्य साहित्यिक संस्थाहरूका सदस्यहरू नै एन.आर.एन.एका प्रतिनिधिहरू भएकाले छुट्टै साहित्यिक कार्यक्रमहरू एनआरएनएले गर्दैन।