महादेव अवस्थी (२०१५, वैतडी, सुपुत्र : रुक्मिणी अवस्थी र कृपाचार्य अवस्थी) नेपाली समीक्षा परम्पराका उल्लेख्य प्रतिभा हुन् । समीक्षा क्षेत्रमा गम्भीरतापूर्वक संलग्न अवस्थी देवकोटा विषयक विशेषज्ञका रूपमा सुपरिचित छन् । महादेव अवस्थीका समालोचानाहरूमा बैतडेली भाषिकामा स्त्रीलिङ्गी प्रयोग (अनुसन्धानात्मक ग्रन्थ, २०४५), अनिवार्य नेपाली कृतिसमीक्षा (२०५५), अनिवार्य नेपाली व्याकरण (२०५६), बैतडेली भाषिकाका केही पक्ष (२०५८), प्रकीर्ण पर्यवेक्षण (२०५८), लक्ष्मीप्रसाद देवकोटाका जीवनी, कृतित्व र व्यक्तित्वको अन्तः सम्बन्धको विवेचना (२०५८), लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता (२०६१), आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श (२०६४), एकता बुक्सका पच्चीस वर्ष (२०६४), बालसाहित्यका विधा र तिनको लेखनप्रक्रिया (२०६५), खण्डकाव्यकार लक्ष्मीप्रसाद देवकोटा र ‘सृजामाता’ खण्डकाव्य (२०६५) लगायतका समालोचना कृतिहरू प्रकाशमा आएका छन् । देवकोटाका काव्य चिन्तनलाई उत्कर्षता दिने समीक्षक प्रतिभामध्ये अवस्थी एक हुन् । उनका समीक्षाले देवकोटाको काव्यिक चिन्तन र कलालाई निकै वस्तुगत ढङ्गमा पहिल्याएको देखिन्छ । उनले देवकोटाका फुटकर कविता, खण्डकाव्य र महाकाव्यका सबै आयाममा केन्द्रित विविध समीक्षा गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा समेटिएको ‘लक्ष्मीप्रसाद देवकोटाका कवितात्मक योगदानको आकलन’ शीर्षकको समीक्षाले देवकोटाका प्रायोगिक समालोचना चिन्तनको साक्ष्य गर्ने प्रस्तुत रचनाले देवकोटाको सृजनात्मक योगदानको सही मूल्याङ्कन गरिएको छ । यस समीक्षाले लक्ष्मीप्रसाद देवकोटाको कवितात्मक योगदान र स्थान उनका पूर्ववर्ती, समवर्ती र उत्तरवर्ती प्रमुख कविहरूका दाँजोमा सर्वाधिक महत्त्वपूर्ण रहेको र नेपाली कविहरूका सम्बन्धमा अहिलेसम्म गरिएका मूल्याङ्कनपरक/निर्णयपरक समीक्षालाई पनि साक्षी राख्दै उनका समकालीन कविहरूमा लक्ष्मीप्रसादलाई नै सर्वश्रेष्ठ नेपाली कवि ठहर गरेका छन् । लक्ष्मीजयन्तीका सन्दर्भमा यस समीक्षालाई विशेष सामग्रीका रूपमा प्रस्तुत गरिएको छ ।
-सम्पा.
१. विषय प्रवेश
लक्ष्मीप्रसाद देवकोटा (जीवनकाल : वि.सं. १९६६–२०१६) आधुनिक नेपाली कविताको विकास–प्रक्रियामा र समग्र नेपाली कविताको विकास प्रक्रियामा समेत देखा परेका कविहरूमध्ये सर्वाधिक चर्चित र प्रसिद्ध महाकवि हुन् । उनले नेपाली भाषाको साहित्यका निबन्ध, आख्यान, नाटक जस्ता विधाका साथै समीक्षा, भूमिका, टिप्पणी, प्रतिवेदन, संस्मरण जस्ता अभिव्यक्तिका विविध प्रकारसँग सम्बन्धित रचनाहरू रचेका भए पनि उनको विशेष ख्याति कवि/महाकविकै रूपमा रहेको छ । उनले नेपाली भाषामा रचेका कविता र काव्यहरूमा नै उनी भित्रको सिर्जनात्मक ऊर्जाको तरङ्ग विशेषतः उच्च सौन्दर्य चेतनाले ओतप्रोत भई लहराएको छ र अरू किसिमका विधागत तथा उपविधागत रचनात्मक अभिव्यक्तिहरूमा पनि उनका महाकवित्वकै ऊर्जा/प्रतिभाजन्य भावावेग प्रबल रूपमा प्रकट भएको छ । त्यसैले गर्दा नै नेपाली साहित्यका पाठक तथा समालोचकहरू उनलाई एक महान् कवि–प्रतिभाकै रूपमा चिन्दछन् । हुन पनि आधुनिक नेपाली कविताको विकास प्रक्रियामा नयाँ स्वच्छन्दतावादी धाराको प्रवर्तन गर्नु अनि नेपाली फुटकर कविता, खण्डकाव्य र महाकाव्यका साथै नेपाली निबन्धको पनि स्वच्छन्दतावादी युगको निर्माण गर्नु, स्वच्छन्दतावादी रहस्यवाद र मानवतावादका विचारहरूसँगै व्यङ्ग्यविद्रोह, परिवर्तन, क्रान्ति र सुधारका स्वरहरू मिसाइ प्रखर युगचेतना प्रकट गर्नु, छन्द/लय तथा भाषा अनि उक्ति र अलङ्कारका विविधता, वैचित्र्य र प्राकृत सहज सौन्दर्यको व्याप्तिसँगै जीवनजगत्सँग सम्बन्धित कथ्य अर्थलाई अप्रस्तुत विधान वा महाकवित्वका स्तरमा सङ्क्रमित भएको हो । यिनै कुरालाई दृष्टिगत गरी प्रस्तुत लेखमा सङ्क्षिप्त रूपमा उनका कवितात्मक योगदानको आकलन गर्ने प्रयास गरिएको छ । लेखमा सङ्क्षिप्त रूपमा उनका कवितात्मक योगदानको आकलन गर्ने प्रयास गरिएको छ । त्यस क्रममा यहाँ उनले नेपाली कविताको विकास–प्रक्रियामा गरेको ऐतिहासिक, परिमाणगत प्रकारगत र गुणस्तरीय योगदान बारे छोटकरीमा समीक्षा गरिएको छ ।
२. ऐतिहासिक योगदान
लक्ष्मीप्रसाद देवकोटाले नेपाली कविताको विकास प्रक्रियामा गरेको योगदानका विविध पक्षहरू छन् र तीमध्ये उनले गरेको ऐतिहासिक योगदान नै सर्वप्रथम उल्लेखनीय हुन आउँछ । नेपाली कविताको विकास प्रक्रियामा १९९१ सालमा स्वच्छन्दतावादी कविता धाराको नवप्रवर्तन गर्नु नै उनले गरेको कविताको विधागत ऐतिहासिक योगदानको प्रथम उल्लेख्य बुँदा हो । नेपाली कविताका इतिहासमा प्राथमिककालीन वीरधारा र भक्तिधारा अनि माध्यमिककालीन शृङ्गार धारापछि आधुनिककालीन परिष्कारवादी धाराको प्रधानता रहेको परिप्रेक्ष्यमा १९९१ सालतिर गोरखापत्र तथा शारदा पत्रिकामा प्रकाशित भएका नयाँ खालका कविताहरूबाट स्वच्छन्दतावादी धाराको प्रवर्तन भएको हो र त्यस स्वच्छन्दतावादी धारालाई नेपाली कवितामा त्यति खेर प्रयोग गर्ने नयाँ कविका रूपमा लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ (जीवनकाल वि.सं. १९६९–२०४९) देखिएका थिए । यिनै दुई कविहरूको प्रकाशनबाट १९९१ सालदेखि नेपाली कविताको परम्परामा स्वच्छन्दतावादी धाराको नवप्रवर्तन भयो । सो वर्ष लक्ष्मीप्रसाद देवकोटाले पूर्णिमाको जलधि (गोरखापत्र मङ्सिर १५ गते) र गरीब (शारदा १.१) कविताहरू प्रकाशनमा ल्याई एकातर्फ कविका रूपमा आफूलाई पूर्ण आत्मविश्वासका साथ सार्वजनिक तुल्याए भने अर्कातर्फ समयुगीन कवि सिद्धिचरण श्रेष्ठसँग मिली नेपाली कविताका विकास प्रक्रियामा स्वच्छन्दतावादी धाराको सहप्रवद्र्धन गरे । यसरी नेपाली कविताका ऐतिहासिक परम्परामा नवीन कविता धाराका रूपमा स्वच्छन्दतावादी धाराको सहप्रवर्तन गर्नु देवकोटाले गरेको ऐतिहासिक कवितात्मक योगदानको पहिलो उल्लेखनीय पक्ष हो । तर उनले गरेको त्यो ऐतिहासिक योगदान यतिमा मात्र सीमित नरही अझ अग्रगमनशील बन्दै गयो र उनी नेपाली कविताको त्यस स्वच्छन्दतावादी कविता–धाराको विकासमा अग्रणी भूमिका खेल्दै गए । उनले १९९२ सालमा सामाजिक विषयवस्तु र नेपाली लोकलयको प्रयोग गरी सजिलो रसिलो नेपाली भाषामा रचेको मुनामदनद्वारा खण्डकाव्य स्वच्छन्दतावादी प्रकृतिपरक रहस्यवाद र मानवतावादसँग सम्बन्धित विचारहरूको मार्मिक अभिव्यक्ति गरी एकातर्फ नेपाली लोकलयलाई काव्यात्मक प्रतिष्ठा प्रदान गर्ने ऐतिहासिक भूमिका पूरा गरे भने अर्कातर्फ नेपाली कविताको सिङ्गो परम्परामा चाहिँ स्वच्छन्दतावादी कविता धाराको प्रतिष्ठापन गर्ने ऐतिहासिक योगदान गरे । १९९२ सालमा प्रकाशित भएको उनको यस मुनामदन खण्डकाव्यले नेपाली पाठकहरूका माझमा अपार लोकप्रियता प्राप्त गर्यो र त्यसैसँग देवकोटेली स्वच्छन्दतावादी कविता धारा पनि लोकप्रिय बन्दै गयो । यस क्रममा उनले रचेका स्वच्छन्दतावादी फुटकर कविताहरू पनि १९९२ सालपछि त्यति बेलाका पत्रिकाहरूमा प्रकाशित हुँदै गए र तिनले पनि उनका कविताको स्वच्छन्दतावादी धारालाई लोकप्रिय बनाउँदै लगे ।
मुनामदन र त्यसपछि १९९९ सालसम्ममा प्रकाशित भएका उनका ‘गाइन् तिनले घँसिया गीत’, (शारदा, १:७), ‘शरच्चन्द्र’ (शारदा १:१०), ‘बुलबुलको गाना’ (शारदा, २:३), ‘वृक्ष’ (शारदा, २:६), ‘विश्वमन्दिर’ (शारदा, २:८), ‘वृन्दावनमा’ (उदय, १:४), ‘किसान’ (शारदा, ४:२), ‘बालककाल’ (शारदा, ४:३), ‘झरना’ (उद्योग, १:५–६), ‘घाँसी’ (शारदा, ६:१), ‘सन्ध्या’ (शारदा ५:४), ‘प्रश्नोत्तर’ (शारदा ५:८), ‘वसन्त’ (शारदा, ५:११) ‘चारु’ (शारदा ६:१) ‘यात्री’ (शारदा : ७:२), ‘सुन्दरीजल’ (शारदा, ७:७) ‘वीरता’ (शारदा, ८:३) । आदि फुटकर कविताहरूले स्वच्छन्दतावादी धारालाई नेपाली कविताको सर्वाधिक लोकप्रिय धारा बनाउने ऐतिहासिक भूमिका खेले भने यसैबाट उनी आफै त्यति बेलाका लोकप्रिय नेपाली कवि पनि बन्न पुगे । यस बिचमा उनले राजकुमार प्रभाकर (वि.सं. १९९७) खण्डकाव्य पनि प्रकाशनमा ल्याई नेपाली खण्डकाव्यको स्वच्छन्दतावादी धारालाई अगाडि डोर्याउने ऐतिहासिक योगदान गरे । यसै स्वच्छन्दतावादी कविता धाराका तरङ्गहरू भित्रै उनले मुनामदनमार्फत सामाजिक जातीय विभेदका विपक्षमा र मानवजातीय समानताका पक्षमा आफूलाई उभ्याई आफ्नो वैचारिक प्रगतिशीलता /अग्रगमनशीलता पनि देखाए भने राजकुमार प्रभाकर खण्डकाव्य तथा वन र वीरताजस्ता प्रगतिशील भावनाहरूलाई पनि स्वच्छन्दतावादी संयोजित गरी अभिव्यञ्जना गर्ने कौशल पनि देखाए ।
२००० सालपछि लक्ष्मीप्रसाद देवकोटाले कवितात्मक योगदानको आकलन गरी कविताको विकास प्रक्रियामा गरेको ऐतिहासिक योगदान थप फराकिलो बन्दै गयो । उनले २००० सालतिर महाकाव्य लेखन (सुषमालोचन महाकाव्यांश : शारदा ९:८) तर्फ चासो लिनाका साथै पुतली र सुनको बिहान जस्ता दुईओटा बालकविता सङ्ग्रहका रचनाहरू रचे । उनका यी बालकविता सङ्ग्रहहरू पछि २००९ र २०१० सालमा क्रमशः प्रकाशित भए पनि उनले २००० सालमा नै यिनको रचनाद्वारा नेपाली बालकविताका परम्परामा पनि स्वतन्त्र साहित्यिक सचेतताका साथ बालकविता रच्ने र तिनमा स्वच्छन्दतावादी भावधाराको प्रयोग गर्ने ऐतिहासिक योगदान गरे । त्यसै गरी उनले २००२ सालमा शाकुन्तल महाकाव्यको रचना र प्रकाशनद्वारा नेपाली भाषामा प्रथम मौलिक महाकाव्य रच्ने कवि–भगीरथ हुनाको ऐतिहासिक गौरव आर्जन गर्नुका साथै नेपाली महाकाव्यका विकासप्रक्रियामा पनि स्वच्छन्दतावादी कविताधारालाई प्रवाहित तुल्याउने ऐतिहासिक योगदान गरे ।
कविता सृजनाका क्रममा र यसपछि उनले गाइने गीत (२०२४), चिल्ला पातहरू (२०२१), छहरा (२०१६), छाँगासँगका कुरा (२०२६), जन्मोत्सव र मुटुका थोपा (२०१५ : संयुक्त कवितासङ्ग्रह) (२०३३), लक्ष्मीगीति सङ्ग्रह (२०४०) आदि सङ्ग्रहमा सङ्कलित र विभिन्न सामयिक साहित्यिक पत्रिकाहरूमा पनि प्रकाशित फुटकर कविताहरू रची नेपाली कविताको स्वच्छन्दतावादी धारालाई समृद्ध तुल्याउने ऐतिहासिक भूमिका खेले । त्यसै गरी उनले तिप्लिङ्गी(२०५७), लूनी (२०२३), कुञ्जिनी (२००२), दुष्यन्तशकुन्तला भेट (२०२५), वसन्ती (२००९), मायाविनी सर्सी (२०२४), कटक (२०२६), मैना (सात ओटा खण्डकाव्यको सङ्ग्रह (२०३९), नवरस (काव्य सङ्ग्रह : २०२५), नयाँ सत्यकलिसंवाद (२०१८), नाला (२००५), आँसु (२००६), पहाडी पुकार (२००५) आदि खण्डकाव्य तथा लघुकाव्यको रचना गरी नेपाली खण्डकाव्यका परम्परामा पनि सबल स्वच्छन्दतावादी युगको निर्माण गर्ने ऐतिहासिक योगदान गरे । उनले शाकुन्तलपछिको सुलोचना (२००३), महाराणा प्रताप (२०२४), वनकुसुम (२०२५) र प्रमिथस(२०२८/२९), पृथ्वीराज चौहान (२०४८), जस्ता महाकाव्य रची नेपाली महाकाव्यको स्वच्छन्दतावादी धारालाई उत्कर्षमा पुर्याउने ऐतिहासिक योगदान पनि गरे । यी सबै कुराका समष्टि सन्दर्भमा नेपाली कविता (फुटकर कविता, खण्डकाव्य, महाकाव्य र बालकविता) का विकास प्रक्रियामा स्वच्छन्दतावादी धाराको नवप्रवर्तन गर्नु, त्यसलाई समृद्धिलाई डोर्याउनु र नेपाली कविताका सर्वाधिक लोकप्रिय स्वच्छन्दतावादी धारागत पच्चिस बर्से (१९९१–२०१६ सालका बिचको) युगको निर्माण गर्नु नै उनले गरेको कवितात्मक ऐतिहासिक योगदानका सेरोफेरोभित्र समेटिन आउने प्रमुख पक्षहरू हुन् भन्ने ठहरिन्छ । वास्तवमा नेपाली स्वच्छन्दतावादी कविताधाराको प्रवर्तन, विकास, युगनिर्माण तथा युगव्यापी र युगान्तर लोकप्रियता जस्ता ती प्राप्तिहरू उनका ऐतिहासिक योगदानसँग जोडिएका छन् जसले उनको महाकवित्वको सङ्घटनामा समेत निकै योगदान पुर्याएका छन् ।
नेपाली कविताको विकास प्रक्रियामा पश्चिमी अङ्ग्रेजी कविताको पूर्वस्वच्छन्दतावादी युग र स्वच्छन्दतावादी पुनर्दीप्तिको युगका प्रवृत्तिहरूको प्रभावलाई प्रत्यक्ष रूपमा भित्र्याउन देवकोटाले गरेको ऐतिहासिक कवितात्मक योगदानका थप अभिलक्षण हुन् । नेपाली कविताको विकास प्रक्रियामा स्वच्छन्दतावादी धाराको सहप्रवर्तन लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठले गरेको भए पनि अङ्ग्रेजी कविताको स्वच्छन्दतावादी धारा र अंशतः एसियाली भाषिक स्रोतका बङ्गाली, हिन्दी, अरबी–फारसी एवम् संस्कृत साहित्यको रुमानी, छायावादी र रहस्यवादी प्रवृत्तिहरूबाट प्रभावित भई स्वच्छन्दतावादी कविताहरू रचे । यस क्रममा उनले खास गरी पश्चिमी अङ्ग्रेजी कविताको स्वच्छन्दतावादी धारामा पूर्वीय वेदान्त दर्शनका आत्मचिन्तन र श्रीमद्भागवद्गीताका कर्मयोगका साथै निर्गुण सगुण ईश्वरचिन्तन, रामभक्तिमार्ग र पूर्वीय सांस्कृतिक अतीतका आदर्शको संयोजन गर्ने ऐतिहासिक योगदान गरेका हुन् । यसै गरी नेपाली प्रकृतिका विविध पक्षको सौन्दर्य, नेपाली सामाजिक र सांस्कृतिक सेरोफेरो भित्रका अनेक विषय, युगचेतना, नेपाली राष्ट्रियता आदिको चित्रणद्वारा स्वच्छन्दतावादी कविताधारालाई नेपालीपनले ओतप्रोत तुल्याउने र त्यस धाराको नेपाली अनुकूलन गर्ने ऐतिहासिक योगदान पनि उनले गरेकै हुन् । उच्च कल्पनाशीलता र प्रबल भावावेग, एसियाली जागरण, अन्तर्राष्ट्रिय सचेतता, विश्वभाषाको परिकल्पना, विश्वमानवतावाद, विश्वशान्ति, विवेक र सत्यको पक्षधरता, निष्कपटता एवम् सुधोपनको द्रुतवेगी आत्मपरक अभिव्यक्तिको साथै अपूर्व भाषिक तथा लयगत समृद्धि र परम्परित तथा नवीन बिम्बहरूको सहज स्वाभाविक एवम् प्रचुर सौन्दर्यपूर्ण लाक्षणिक प्रयोगद्वारा उनले उक्त स्वच्छन्दतावादको स्वायत्तीकृत/मौलिकीकृत प्रयोग पनि गरेका हुन् ।
लक्ष्मीप्रसाद देवकोटाले आफ्ना कविताहरूमा प्रयोग गरेको स्वच्छन्दतावादी कविताधारामा त्यस्तो क्रान्तिकारी प्रगतिशील अग्रगामी सञ्चेतनाका मिश्रण गर्ने ऐतिहासिक योगदान गरेका छन् जसलाई नेपाली सन्दर्भमा प्रगतिवाद भने पनि हुन्छ, किनभने नेपालमा माक्र्सवादी विचारधारा अनुरूप दलगत प्रतिबद्धता, जीवनगत सर्वहारावर्गीय आचरण र व्यवहार तथा माक्र्सवादी वैचारिक कट्टरताको पूर्ण अनुपालन गर्ने प्रगतिवादी व्यक्ति कम्तीमा पनि सतहमा पाउन सकिएको छैन । लक्ष्मीप्रसादका सम्पूर्ण कविता कृतिहरूको पठन गर्दा उनको मुख्य कविताधारा स्वच्छन्दतावाद नै हो भन्ने ठहर्छ र माक्र्सवादी–प्रगतिवादी वैचारिक प्रतिबद्धताको वरण उनले गरेको पाइन्न । त्यसैले उनका स्वच्छन्दतावादी कविताधारामा जुन क्रान्तिकारी अग्रगामी प्रगतिशील सञ्चेतना वा प्रगतिवाद मिसिएको छ त्यो विशुद्ध माक्र्सवादी विचार नभई त्यसबाट विशेष प्रभावित–उत्प्रेरित रहेको वैचारिक धार मात्रै हो भन्ने प्रस्टै छ । उनले मुनामदनबाटै मानवीय जातगत समानता र भ्रातृत्व/भगिनीत्वको स्वर सुसेलेका हुन् र राजकुमार प्रभाकर, लूनी, कुञ्जिनी, सीताहरण, रावण जटायु युद्ध खण्डकाव्य, ‘वन’, ‘वीरता’ आदि फुटकर कविता र शाकुन्तल तथा सुलोचना महाकाव्यमार्फत तद्युगीन सामन्ती शासनका निरङ्कुश बर्बरता र स्वेच्छाचारिता, दमन–उत्पीडन, दम्भ–अहङ्कार आदिको चित्रणसँगै सर्वसाधारण नेपाली जनताका सामाजिक, राजनीतिक एवम् आर्थिक समस्या र कठिनाइको समेत चित्रण गरी सामन्ती थिचोमिचोबाट उन्मुक्ति पाउन देशभक्तिपूर्ण र वीरतापूर्वक युद्ध/क्रान्ति गर्नु पर्ने अग्रगामी स्वरलाई अन्तर्निहित रूपमै व्यञ्जित गर्ने काव्यपथको अनुसरण पनि गरेकै हुन् । २००३ सालको उत्तरार्धदेखि चाहिँ उनले पश्चिमी वैज्ञानिक विकासवाद (बाघले बच्चा किन खान्छ ?’ (शारदा, १२ :९) र अनीश्वरवादी शक्तिसिद्धान्त (‘साँढे’ शारदा १२ : ११–१२) बाट प्रेरित नयाँ वैचारिक खुराक ग्रहण गरी बौद्धिक र प्रखर व्यङ्ग्य कवित्वको पथतर्फ आफूलाई डोर्याएपछि स्वच्छन्दतावादी क्रान्तिकारी कवितात्मक मोड लिने ऐतिहासिक कदम चालेका हुन् । उपर्युक्त दुईओटा (बाघले बच्चा किन खन्छ ? र साँढे) कविताका रचना एवम् प्रकाशनद्वारा उनले आफ्नो सुकोमल पोथी कवित्वलाई बौद्धिक मर्द कवित्वतर्फ सङ्क्रमित गरी आफ्नै कविता यात्रामा र नेपाली कविताको विकास प्रक्रियामा पनि स्वच्छन्दतावादी क्रान्तिकारी सञ्चेतनालाई अन्तर्बौद्धिक खरोखस्रो मर्दानापनयुक्त ओजस्वी भाषाशैली एवम् गद्य लयढाँचामा व्यक्त गर्ने कवितात्मक क्रान्ति सम्पन्न गरेका हुन् । यसपछि उनले आफ्ना प्रखर गद्य कविता र पद्य कविताका साथै भारतको बनारस प्रवास काल (२००४ साल साउन २००६ साल दसैँमा रचेका पहाडी पुकार, मायाविनी सर्सी, झञ्झा वर्णन, कटक खण्डकाव्यमा र अरू अनेक रचनाहरूमा जनताको प्रजातान्त्रिक मौलिक हकअधिकारको बहाली, देशभक्ति, व्यक्ति स्वतन्त्रता, आर्थिक समानता र जनवादी आर्थिक न्यायको मागजस्ता तद्युगीन नेपाली जनसरोकारका सन्दर्भहरूलाई वाणी दिई आफ्नो स्वच्छन्दतावादी क्रान्तिकारी प्रगतिशील कवित्वलाई उचाल्ने र नेपाली जनक्रान्तिबाट नै सघाउने खालका क्रान्तिकविता रच्ने ऐतिहासिक योगदान गरेका हुन् ।
२००७ साल फागुन ७ गतेपछिको नेपालको खुला राजनीतिक वातावरणमा सक्रिय रहँदा उनले नेपालभित्रैका विभिन्न ठाउँ र नेपालेत्तर केही मुलुकको भ्रमण गर्ने अवसर पाए अनि त्यस क्रममा उनले खास गरी रुमानियाँ, सोभियत सङ्घ (हल रसिया) र चीनजस्ता साम्यवादी मुलुकहरूकै निकट अवलोकन गर्ने मौका बढी पाए । माक्र्सवादको साम्यवादी सर्वहारा वर्गीय पक्षधरता र पूर्वोक्त साम्यवादी मुलुकबाट भ्रमणबाट पर्न गएको सकारात्मक प्रभावका परिणामस्वरूप लक्ष्मीप्रसाद देवकोटामा पनि माक्र्सवादी– प्रगतिवादी प्रभावको मात्रा बढ्दै गयो । त्यसैको परिणामस्वरूप उनले ‘भरियाले भारी उचाल्यो’ (प्रगति १:१), ‘कामीदाइलाई’ (प्रगति ३:१), ‘पूर्णचाकी स्वास्नी मरी’ (पूर्ववत्), ‘ढुङ्गा फोर्दीलाई’ (प्रगति ३:३), ‘हामी दाउरे दाउरेनी’ (लक्ष्मीगीति सङ्ग्रह २०४०), ‘एक सुन्दरी च्यामिनीप्रति’ (इन्द्रेणी १:६), ‘झञ्झाप्रति’ (इन्द्रेनी १:१), ‘हुरीको गीत’ (इन्द्रेनी १:२), ‘छात्र विद्रोह’ (रचना, १४:४), ‘उद्बोधन’ (इन्द्रेनी १:४), ‘बाढीकी विष्णुमती’ (इन्द्रेनी १:५), ‘जिउनु छ साथी ! जिलाउनु छ साथी !’ (छहरा २०१६), ‘गैँडोपासना वा यस अर्थ सङ्कटग्रस्त युगको ध्वनि’ (लक्ष्मीकविता सङ्ग्रह २०३३) जस्ता फुटकर कविता र गीतहरूमा क्रान्तिकारी रूपान्तरणकामी प्रगतिवादी स्वरलाई स्वच्छन्दतावादी उच्च सौन्दर्य चेतनाद्वारा आप्लावित तुल्याई कलात्मक रूपमा वाणी दिने ऐतिहासिक योगदान गरे । उनले रचेका उपयुक्त क्रान्तिकारी प्रगतिशील रचनाहरूको अध्ययन गर्दा तिनमा केही यस्ता प्रवृत्तिहरू भेटिन्छन् जसले प्रगतिवादसँगको निटकता देखाउँछन् । ती कविताहरूमा उनले सामाजिक र राजनीतिक असङ्गतिप्रतिको व्यङ्ग्यविद्रोह, सामाजिक आर्थिक रूपान्तरणको आकाङ्क्षा, सामाजिक जातीय र आर्थिक विभेद एवम् असमानताका विरुद्ध सामाजिक समता र जनवादी आर्थिक न्यायको माग, सामन्त पुँजीवाद शोषणपरक एवम् जनघाती अर्थतन्त्रको आलोचना र निम्न वर्गीय किसान, मजदुर, निम्न वेतनभोगी कर्मचारी आदिले बेहोर्नु परेका समस्याको उद्बोधन तथा ती समस्याको समाधान हुनु पर्ने अपेक्षा, सामन्तयुगीन निरङ्कुश बर्बर उत्पीडनको तीव्र विरोध, साम्राज्यवादी–उपनिवेशवादी हस्तक्षेप र अतिक्रमणको प्रतिरोध र पछौटेपनको अनि पुँजीवादी युगका यान्त्रिकता, आणविक युद्धजन्य सन्त्रास, सांस्कृतिक अतिक्रमण र समाजमा देखिन लागेको नव उच्छृङ्खलताको पनि आलोचना जस्ता प्रवृत्तिहरू देखाएका छन् र यिनकै समष्टि धरातलमा उनको अग्रगामी रूपान्तरण आकाङ्क्षी सुधारवादी प्रगतिशील सञ्चेतनाको स्वर गुन्जिएको सुनिन्छ । त्यसैले उनले गरेको ऐतिहासिक कवितात्मक योगदानको एक उल्लेखनीय बुँदा स्वच्छन्दतावादी क्रान्तिकारी अग्रगामी प्रगतिशील सञ्चेतताको सशक्त सम्प्रसारण पनि हो ।
लक्ष्मीप्रसाद देवकोटाले ऐतिहासिक कवितात्मक योगदान गरेको क्षेत्र नेपाली हास्यव्यङ्ग्य कविताधारा पनि हो । नेपाली हास्यव्यङ्ग्य कविताको विकास प्रक्रियामा सर्वप्रथम एउटा हास्यव्यङ्ग्य कविता सङ्ग्रह रच्ने कवि उनै हुन् र उनको त्यो सङ्ग्रह हो मनोरञ्जन (२०२४) । यस सङ्ग्रहमा उनले आफ्नो युगका राजनीतिक र सामाजिक बेथिति, विसङ्गति, दुराचार, भ्रष्टाचार आदिप्रति व्यङ्ग्योपहास गर्दै कतिपय प्रकीर्ण विषयको हास्य रसात्मक अभिव्यक्ति पनि गरेका छन् । अझ अश्रुहास, व्यङ्ग्यचित्र, उपहास–गिज्यौली, उडन्ती, ढोलकी, रबाफी उत्ताउली मुस्केनी, आक्षेपिका, पानी–हाँसो, वृत्तिछाया, छोइदिल्ली, रमिता, प्यारोडी वा अनुकृति जस्ता हास्यव्यङ्ग्य कविताका परम्परामा ऐतिहासिक दृष्टिले सर्वोपरि महत्त्वको देखिन्छ । त्यसैले हास्यव्यङ्ग्य कविताका अनेक थरी ढङ्ग र प्रविधिको प्रयोगद्वारा उनले नेपाली हास्यव्यङ्ग्य कविताका परम्परामा महत्त्वपूर्ण ऐतिहासिक योगदान गरेको कुरो सिद्ध हुन्छ ।
३. परिमाणगत र प्रकारगत योगदान
नेपाली कविताको विकास प्रक्रियामा लक्ष्मीप्रसाद देवकोटाले गरेको परिमाणगत र प्रकारगत योगदान पनि निकै महत्त्वपूर्ण छ । उनले आफ्नो पचासवर्से जीवन यात्रा अन्तर्गतको झन्डै चालीस बर्से (१९७६–२०१६ सालको बिचको) समयावधिलाई कविता–साधनामा खर्च गरे । त्यस क्रममा उनले आफ्नो जीवनका व्यक्तिगत र सार्वजनिक कार्य एवम् साहित्यका निबन्ध, आख्यान, नाटक आदि विधाका कृतिहरूको रचनासँगै लगभग ७०० जति फुटकर कविता, तीन दर्जन जति खण्डकाव्य र आधा दर्जन महाकाव्यको कृतिगत परिमाणको रचना गर्ने असाधारण कार्यसम्पादन गरे । उनले जीवनभर रचेका ७०० जति फुटकर कविताहरूमध्ये केही अझै अप्रकाशित अवस्थामा र केही विभिन्न पत्रपत्रिकामा प्रकाशित भई असङ्कलित अवस्थामै रहेको भए पनि उनका प्रकाशित पुस्तकाकार फुटकर कविता सङ्ग्रहकै सङ्ख्यात्मक परिमाण एक दर्जनभन्दा बढी देखा पर्छ । उनका ती कविता सङ्ग्रहहरू हुन् – आकाश बोल्छ (२०२५), गाइने गीत (२०२४), जन्मोत्सव र मुटुका थोपा (२०१५, लक्ष्मीप्रसाद र उनका भाइ मधुसूदन देवकोटाका कविताहरूको संयुक्त सङ्ग्रह) चिल्ला पातहरू (२०२१), छहरा (२०१६), छाँगासँग कुरा (२०२६), पुतली (२००९) बालकविता सङ्ग्रह), भावना गाङ्गेय (२०२४), भिखारी (२०१०), मनोरञ्जन (२०१४), लक्ष्मीकविता सङ्ग्रह (२०३४) र स्वर्गको टुकडा (२०६१) । उनले आफ्नो जीवनका खास खास समयमा रचेका तीन दर्जनजति मानक तथा लघु र लघुतर खण्डकाव्य यसप्रकार छन्—आँसु (२००६ : लघुकाव्य), कटक (२०२६), कुञ्जिनी (२००२), घोडचढी (२०२४ : मनोरञ्जनमा सङ्कलित) तिप्लिङ्गी (२०५७), तुषारवर्णन (२०५९), दुष्यन्तशकुन्तला भेट (२०२५), नयाँ सत्यकलिसंवाद (२०१८ : लघुकाव्य), नवरस (२०२५), भित्रको शृङ्गार रस, वीर रस, करुण रस, अद्भुत रस, हास्य रस, बीभत्स रस, भयानक रस र शान्त रस सम्बन्धी आठओटा कोशाात्मक खण्डकाव्य, नाला (२००५), नासमझको गाँठो (२०२४ : मनोरञ्जनमा सङ्कलित) पहाडी पुकार (२००५ : लघुतर काव्य/लामो कविता), वसन्ती(२००९), भ्याकुर नारान (२०२४ : मनोरञ्जनमा सङ्कलित), मरुभूमि (अप्रकाशित खण्डकाव्य), मायाविनी सर्सी (२०२४), मुनामदन (१९९२), मैना (२०३९) मा सङ्कलित मैना, सृजामाता, वसन्ती, झञ्झावर्णन, आनन्दशतक,वैराग्यलहरी र नेपाली मेघदूतजस्ता सातओटा खण्डकाव्य, म्हेन्दु (२०१५), राजकुमार प्रभाकर (१९९६), रामायण शोकगाथा (२००४ हाल अनुपलब्ध), रावणजटायु युद्ध (२०१५), लूनी (२०२३), र सीताहरण (२०२४) । उनले आफ्नो साहित्य यात्राका खासखास कालखण्डमा रचेका आधा दर्जन महाकाव्यहरू हुन् : पृथ्वीराज चौहान (२०४८), प्रमिथस (२०२८), महाराणा प्रताप (२०२४), वनकुसुम (२०२५), शाकुन्तल (२०९२), र सुलोचना (२००३) । यो फुटकर कविता र तिनका सङ्ग्रहको परिमाण, खण्डकाव्य कृतिको परिमाण र महाकाव्य कृतिको परिमाण उनका पूर्ववर्ती र समकालीन कविहरूले गरेको कृतिगत परिमाणात्मक योगदानका दाँजोमा निकै अधिक देखा पर्छ ।
देवकोटाले न्यून सङ्ख्यामा रचेका लघुतम मुक्तक कविताका साथै खास गरी लघु फुटकर कविता, मझौला खण्डकाव्यात्मक कविता र बृहत् महाकाव्यात्मक कविताको जुन प्रकारगत विविधता देखाए त्यो पनि उनले आफ्ना युगमा गरेको कवितात्मक योगदानको उल्लेख्य पक्ष हो । यस्तै भावाधिक्य, भावसमृद्धि र भावविविधता, बद्ध लयढाँचा र मुक्त ढाँचाका वैविध्य र साङ्गीतिक समृद्धि, पूर्वी–पश्चिमी र नेपाली लोकस्रोतका कविता ढाँचागत वैविध्यका प्रचुर उपयोग पनि उनले आफ्ना फुटकर कविता, खण्डकाव्य एवम् महाकाव्यमा गरेका छन् । उनले फुटकर कविताका मानक, विस्तारित र अतिविस्तारित रूपगत प्रकारका साथै तिनमा प्रगतितात्मक, आख्यानात्मक र नाटकीय उक्ति संरचनात्मक प्रकार–वैविध्यको उपयोग गरेका छन् भने उनले रचेका खण्डकाव्य चाहिँ आख्यानात्मक र आख्यानरहित अनि लघुतर, लघु, पुष्ट र परिपुष्ट प्रकारका छन् । उनले रचेका महाकाव्यहरू पनि लघु (वनकुसुम र महाराणा प्रताप) र वृहत् गरी दुई प्रकारका देखिन्छन् । उनले सम्बोधन कविता (उदा. ‘वसन्तपूर्णिमाप्रति’) गाथाकाव्य, (उदा. मुनामदन), आख्यानात्मक काव्य (उदा. सुलोचना), नाट्यकाव्य (उदा. कृषिबाला), लामो कविता (उदा. ‘आँसु’), अनुकृतिमूलक काव्य (उदा. नयाँ सत्यकलिसंवाद) जस्ता अनेक कवितात्मक प्रकारहरूको प्रयोग गरेका छन् । त्यसैले उनले कविता, खण्डकाव्य र महाकाव्यका कृतिगत राशि एवम् तिनमा देखाइएको प्रकारगत वैविध्यपूर्ण प्रयोग मार्फत नेपाली कविताका इतिहासमा गरेको परिमाणगत र प्रकारगत योगदान पनि ज्यादै प्राप्तिपूर्ण ठहरिएको छ ।
४. गुणात्मक योगदान
लक्ष्मीप्रसाद देवकोटाले गरेको कवितात्मक गुणस्तरीय योगदान पनि निकै मूल्यवत्तायुक्त देखा पर्छ । उनले आफ्नो चालिस वर्ष लामो कविता यात्राअन्तर्गत रचेको साहित्यिक कृति परिमाण निकै वृहत् देखा पर्छ र अङ्ग्रेजी तथा संस्कृत भाषालगायत अन्य कतिपय भाषामा समेत साहित्यिक कृति रची उनले बहुभाषिक योगदान गर्नाका साथै अनुवाद कार्यसमेत गरी आफूलाई सधैँ लेखन कर्ममा व्यस्त तुल्याइरहे अनि यसले गर्दा बेफुर्सद भई उनले आफूले रचेका सबै कविता कृतिलाई परिमार्जित कलात्मक उच्च गुणस्तर दिन पाएनन् तापनि एक स्वच्छन्दतावादी उच्च कल्पनाशील विराट् प्रतिभाका धनी कविका रूपमा उनको उच्च सिर्जनात्मक क्षणको स्पर्श प्राप्त गरेका उत्कृष्ट गुणस्तरयुक्त कविता कृतिहरू पनि निकै देखा पर्छन् । जोशी (२०४७ : २३४–२३५) ले गरेको अध्ययनअनुसार लक्ष्मीप्रसादले रचेका कविताहरूमध्ये चारओटा (‘हुरीको गीत’, ‘अतिथिहरू’, ‘शाहजहाँको इच्छा’, र ‘ज्वरशमना प्रकृति’) कविता उच्चतम् गुणस्तरका छओटा (‘सन्ध्या’, ‘भिखारी’, ‘यात्री’, ‘पागल’, ‘वसन्तपूर्णिमाप्रति’ र ‘पानी’) कविता उच्चतर गुणस्तरका र बाइसओटा (‘वन’, ‘गरीब’, ‘तिनको घँसिया गीत’, ‘घाँसी’, ‘नववर्ष’, ‘बाघले बच्चा किन खान्छ ?’, ‘साँढे’, ‘प्रभुजी ! भेडो बनाऊ’, ‘हामी नेपाली’, ‘राजा केवल एक कलम देऊ !’, ‘इन्द्रेनी’, ‘झञ्झाप्रति’, ‘मानिस विराट्’, ‘एक बिहान’, ‘गौँथली र देवकोटा’, ‘दोर्जेलिङ्गको बाघचूलीमा’, ‘एक सुन्दरी वेश्याप्रति’, ‘सघन तमिस्राप्रति’, ‘गैँडोपासना’, ‘धोबिनीले पगली बोली’, ‘पितृविलाप’ र ‘बाढीको विष्णुमती’) कविता उच्च गुणस्तरका ठहरिई जम्मा बत्तिसओटा कविताकृतिको विश्लषणअनुसार उच्च मध्यमस्तरका कविताका रूपमा मूल्याङ्कन गरिएका उनका (लक्ष्मीप्रसादका) यी छपन्नओटा कवितामा पनि मध्यम स्तरीयताभन्दा उच्च स्तरीयतातर्फकै सङ्क्रमण पाइन्छ र यिनलाई पनि उनका उत्कृष्ट कविताकै श्रेणीमा सूचीबद्ध गर्न सकिन्छ : ‘कविता’, ‘स्वर्गको टुकडा’, ‘टुँडिखेलमा’, ‘कुहुकुहू’, ‘प्रभात’, ‘रानीपोखरी’, ‘जन्मोत्सव’, ‘वृक्ष’, ‘विश्वमन्दिर’, ‘बालककाल’, ‘चार’, ‘विचित्ररोदन’, ‘सुन्दरीजल’, ‘सुषमालोचन’ (महाकाव्यांश), ‘एक डल्लो आलु’, ‘झञ्झावीर’, ‘सरस्वती सम्झना’, ‘जून’, ‘चरी’, ‘दाल भात डुकु’, ‘बाघपर्वतको एक प्रभात’, ‘वसन्त’, (प्रगति २:४) ‘वर्षा’, ‘पूर्णचाकी स्वास्नी मरी’, ‘अहिलेको क्षण’, ‘किन मुस्कान’, ‘एक तिमी’, ‘गोली हो’, ‘जित्नु छ साथी ! जिलाउनु छ साथी’, ‘मातृभूमिको माटो रुन्छ’, ‘एसिया’, ‘कुखुरो’, ‘प्रलय वेदना’ र ‘म शून्यमा शून्य सरी’, ‘साथी इन्द्रधनु’, ‘छ बहिनी’, ‘पानी’, ‘सौन्दर्य उपासना’, र ‘फूलपरी’, जस्ता बालकविता, ‘थाल्नी’, ‘कविहरू’ अन्तर्गतका पाँच ओटा कविता, तिगडम्, नयाँ जवाना जस्ता हास्यव्यङ्ग्य कविता र हामी दाउरे दाउरेनी, भैलो गीत र कविजीवन जस्ता गीतहरू ।
देवकोटा छपन्नओटा र पूर्वोक्त बत्तीसओटा फुटकर कविता गीतसमेत गरी उनका उत्कृष्ट कविताको सङ्ख्या अठासी निर्धारित हुन्छ र उनका कविता तथा गीतको थप सूक्ष्म अध्ययन गरेमा उक्त सङ्ख्यामा केही थपघट हुन सक्ने गुन्जाइस भने छँदैछ । जोशी (२०४७) ले गरको अध्ययनअनुसार नै लक्ष्मीप्रसादले रचेका छओटा महकाव्यमध्ये शाकुन्तल र प्रमिथसमा उच्चतर गुणस्तर रहेको र महाराणा प्रतापमा उच्च गुणस्तर देखा पर्छ भने देवकोटाका महाकाव्यको सम्बन्धमा गरिएको अद्यावधिक समालोचनात्मक अध्ययनले उनका पृथ्वीराज चौहान र सुलोचना महाकाव्यमा क्रमशः उच्च र उच्च मध्यमस्तर रहेको ठहर गरेको छ । यसबाट उनले रचेका छओटा महाकाव्यमध्ये पाँचओटा महाकाव्यले उत्कृष्ट गुणस्तर प्राप्त गरेको कुरा आकलित हुन्छ । यस्तै अवस्थी (२०६१ : ४५५) ले गरेको अध्ययन अनुसार लक्ष्मीप्रसादले रचेका र प्रकाशित रूपमा उपलब्ध पैँतिसओटा खण्डकाव्यहरूमध्ये दुईओटा (मुनामदन र मायाविनी सर्सी) उच्चतर श्रेणीका, सात ओटा (लूनी, कुञ्जिनी, सीताहरण, मैना, सृजामाता, झञ्झावर्णन र नासमझको गाँठो), उच्च श्रेणीका र छओटा (राजकुमार प्रभाकर, रावणजटायु युद्ध, वसन्ती एक, वसन्ती दुई, भ्याकुर नारान र घोडचढी उच्चमध्यम श्रेणीका ठहरिई समग्रमा उनका उपर्युक्त पन्ध्रओटा खण्डकाव्य उत्कृष्ट वा विशिष्ट गुणस्तरयुक्त रचनाका रूपमा देखिन्छन् । यसरी लक्ष्मीप्रसादले रचेका कविता कृतिहरूमध्ये अठासीओटा फुकटर कवितागीत, पाँचओटा महाकाव्य र पन्ध्रओटा खण्डकाव्य उत्कृष्ट गुणस्तरयुक्त रचनाका रूपमा कविताका इतिहासमा सर्वाधिक महत्त्वपूर्ण देखिन्छन् र उनको महाकवित्वलाई प्रमाणित गर्न उनको उपर्युक्त गुणस्तरीय प्राप्ति पर्याप्त छ । अझ उनले आफ्ना कविता कृतिमा प्रकृति, मानव, समाज, राष्ट्र र विश्वका विविध विषयको चित्रण जुन तीव्र कल्पनाशील, प्रशस्त भावप्रवण, प्रचुर भावाकुल, प्रायः द्रुतवेग र उच्च सौन्दर्यशील ढङ्गमा गरेका छन् त्यसबाट उनको कविताकला निकै गहिरो/उँचो बनेको देखिन्छ र उनका कविताको त्यस कलात्मक गहिराइ/उचाइको आयामले पनि उनले गरेको कवितात्मक गुणस्तरीय योगदान निकै मूल्यवान् रहेको कुरो सिद्ध गर्दछ ।
४. निष्कर्ष : योगदानको तुलनात्मक मूल्याङ्कन
नेपाली कविताको विकास प्रक्रियामा पुर्याएको ऐतिहासिक, परिमाणगत र प्रकारगत तथा गुणात्मक योगदानका दृष्टिले हेर्दा लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषाका महान् कविप्रतिभा हुन् भन्ने कुराको आकलन हुन आउँछ । उनले नेपाली कविताका विकास प्रक्रियामा स्वच्छन्दतावादी भावधाराको नवप्रवर्तन विकास र समृद्धि गर्ने अनि त्यस धारालाई फुटकर कविता–गीत, खण्डकाव्य, महाकाव्य र बालकविताका क्षेत्रमा कुशलतापूर्वक प्रभावकारी रूपमा परिचालन गर्ने, त्यस धारामा पश्चिमी र पूर्वीय कविता परम्पराको प्रभावका साथै नेपाली अनुकूलन एवम् आफ्नै (देवकोटेली) मौलिकीकरणका विविध प्रवृत्तिहरूको आकर्षण थप्ने र स्वच्छन्दतावादी कविताधारामा राष्ट्रिय मुक्ति आन्दोलन, समाजसुधार, जनवादी आर्थिक न्यायको माग गायनका क्रान्तिकारी रूपान्तरणधर्मी प्रगतिशील सञ्चेतनाको सौन्दर्यपूर्ण संयोजन गर्ने र आफ्नो युगका अनेक थरी असङ्गतिहरूप्रति व्यङ्ग्योपहास गरी निकै घतलाग्दा हास्यव्यङ्ग्य कविताहरू पनि रच्ने जुन ऐतिहासिक योगदान गरे त्यो उनका पूर्ववर्ती र समकालीन (तथा उत्तरवर्तीसमेत) नेपाली कविहरूले गरेको योगदानका दाँजामा निकै विविधतापूर्ण र व्यापक देखा पर्छ । त्यसै गरी उनले फुटकर कविता–गीत, खण्डकाव्य र महाकाव्यको जुन प्रचुर परमाण एवम् प्रकार विविधता प्रस्तुत गरे र तिनमा जुन उच्च सौन्दर्यशील कलात्मक गुणस्तर भरे त्यस दृष्टिले पनि उनले नेपाली कविताका इतिहासमा गरेको योगदान सर्वाधिक महत्त्वपूर्ण देखा पर्दछ ।
लक्ष्मीप्रसाद देवकोटाले नेपाली कविताका इतिहासमा गरेको योगदान सर्वाधिक मूल्यवान् छ भने कुराको पुष्टि उनका पूर्ववर्ती, समयुगीन र उत्तरकालीन प्रमुख कवि प्रतिभाहरूले गरेको योगदानका सापेक्षतामा पनि गर्न सकिन्छ । उनीभन्दा अगिको नेपाली कविताको परम्परामा देखा परेका कविहरूमध्ये कवितात्मक प्रतिभा र योगदानका दृष्टिले विशेष उल्लेखनीय प्रमुख कवि भानुभक्त आचार्य (जीवनकाल वि.सं. १८७१–१९२५), मोतीराम भट्ट (जीवन काल वि.सं. १९२३–१९५३) र लेखनाथ पौड्याल (जीवनकाल वि.सं १९४१–२०२२) हुन् । नेपाली कविताको पूर्वपरम्पराका यी कविहरूमध्ये भानुभक्त आचार्यले भक्तिधारा, नीतिधारा र सामािजक हास्यव्यङ्ग्य धारामा प्राथमिककालीन उत्कृष्ट कवितात्मक योगदान गर्नुका साथै रामायण जस्तो भावानुदित सरस आख्यानात्मक काव्य मार्फत अपार लोकप्रियता प्राप्त गर्ने ऐतिहासिक मूल्य कायम गरेका भए पनि र मोतीराम भट्टले शृङ्गार धारा, गजल परम्परा तथा समस्यापूर्तिको परम्पराको प्रवर्तन एवम् विकास गर्ने माध्यमिककालीन ऐतिहासिक योगदान गरेको भए पनि यी दुवै कविको ऐतिहासिक महत्त्व मात्र छ र यिनले गरेको उपर्युक्त किसिमको योगदान मुनामदनमार्फत प्राप्त लोकप्रियताको मूल्यसहित देवकोटाले गरेको स्वच्छन्दतावादी धारागत नवप्रवर्तनात्मक र समृद्धिपूर्ण विपुल ऐतिहासिक योगदान, परिमाण–प्रचुर एवम् प्रकार विविध योगदान अनि जीवनजगत् सम्बन्धी अनेक विषय र भावहरूको उच्च कल्पनाशील सौन्दर्यपूर्ण कलात्मक गहनता प्राप्त अभिव्यक्तियुक्त आधुनिकयुगीन गुणस्तरीय योगदानका दाँजामा सीमित प्रकारको देखिनु तिनका युगगत परिस्थितिका सन्दर्भमा पनि स्वाभाविकै हो ।
लक्ष्मीप्रसाद देवकोटाले गरेको कवितात्मक योगदान अग्रज कवि लेखनाथ पौड्यालले गरेको कवितात्मक योगदानका दाँजामा पनि निकै बृहत् देखा पर्छ । लेखनाथ पौड्यालले नेपाली कविताको विकास प्रक्रियामा जहाँ परिष्कारवादी धाराको नवप्रवर्तन र संवद्र्धन गर्ने ऐतिहासिक योगदानसँगै दुईओटा (लालित्य भाग १,२) कवितासङ्ग्रह, पौने दर्जन जति (ऋतुविचार, बुद्धिविनोद, शोकप्रवाह, त्याग र उदयको युगल प्रकाश, सत्यकलिसंवाद, गीताञ्जली,सप्त प्रश्नात्मक बुद्धिविनोद, अमर ज्योतिको सत्य स्मृति, मेरो राम) खण्डकाव्य र एउटा अल्प/उप महाकाव्य (तरुणतपसी) रच्ने परिमाणगत योगदान गर यीमध्ये केही फुटकर कविता, एउटा (ऋतुविचार) खण्डकाव्य अनि एउटा (तरुणतपसी) उपमहाकाव्यमा मात्र उच्च गुणस्तर देखाउन सके त्यहीँ देवकोटाले गरेको स्वच्छन्दतावादी धारागत नवप्रवर्तन, संवर्धन र विविधीकरणको ऐतिहासिक योगदानका साथै सात सय जति फुटकर कविता र तिनका चौधओटा सङ्ग्रह, तीन दर्जन जति खण्डकाव्य तथा आधा दर्जन महाकाव्यको परिमाण प्रचुर र प्रकार विविध प्राप्ति अनि अठासीओटा फुटकर कविता–गीत, पन्ध्रओटा खण्डकाव्य र पाँचओटा महाकाव्यमा स्थापित उच्च गुणस्तर निकै बढी मूल्यवान् देखा पर्छ । त्यसैले नेपाली कविताको पूर्वपरम्पराका प्रमुख कविहरूले गरेको योगदान र आर्जेको मूल्यका सापेक्षतामा लक्ष्मीप्रसाद देवकोटाको कवितात्मक योगदान र मूल्य सर्वोपरि महत्त्वको देखा पर्छ ।
लक्ष्मीप्रसाद देवकोटा समकालीन कविहरूमध्ये उल्लेखनीय र उनीसँग तुलनीय कविका रूपमा सिद्धिचरण श्रेष्ठ र माधव घिमिरे (जन्मवर्ष वि.सं. १९७६) देखा पर्छन् र यी दुवै कविहरूले गरेको योगदानका दाँजोमा पनि लक्ष्मीप्रसादले गरेको योगदान निकै बृहत् देखा पर्छ । सिद्धिचरण श्रेष्ठले प्रारम्भमा १९९१ सालतिर लक्ष्मीप्रसादसँगै नेपाली कविताका विकास प्रक्रियामा स्वच्छन्दतावादी धाराको नवप्रवर्तन गर्ने ऐतिहासिक सहकारी भूमिका खेलेको भए पनि १९९२ सालमा मुनामदन खण्डकाव्य र २००२ सालमा शाकुन्तल महाकाव्य प्रकाशित भएपछि अनि अरू अनेक फुटकर कविता, खण्डकाव्य र महाकाव्य रच्तै र प्रकाशनमा ल्याउँदै गएपछि नेपाली कविताको खास स्वच्छन्दतावादी युग (वि.सं. १९९१–२०१६) मा लक्ष्मीप्रसाद नै त्यस युगका अग्रणी र केन्द्रीय भूमिका खेल्ने कविका रूपमा प्रतिष्ठित भए । त्यसै गरी आधा दर्जन (कोपिला, मेरो प्रतिबिम्ब, कुहिरो र घाम, सिद्धिचरण श्रेष्ठका प्रतिनिधि कविता, बाँचिरहेको आवाज, तिरमिर तारा) जस्ता कविता र बाल कवितासङ्ग्रह र चौधओटा (जूनकिरी, विश्वव्यथा, उर्वशी, आँसु, शबरी, मङ्गलमान, ज्यानमारा शैल, मेरो नेपाल, भीमसेन थापा, आत्मबिलौना, बाँचिरहेको आवाज, नौली, कान्तिमती र युद्ध र शान्ति) जति लघुकाव्य र खण्डकाव्य रच्ने सिद्धिचरणको कृतिगत परिमाण, कविता विधाको प्रकारगत व्याप्ति (महाकाव्य नरच्नुको सीमा) र केही फुटकर कविता तथा एउटा उर्वशी खण्डकाव्य मात्र स्थापित उत्कृष्ट गुणवत्ता देवकोटाका पूर्वोक्त ऐतिहासिक परिमाणगत–प्रकारगत र गुणस्तरगत योगदान तथा मूल्यका दाँजोमा सीमित प्रकारको नै ठहर्छ ।
अर्का कवि माधव घिमिरेले नवमञ्जरी, घामपानी, बाललहरी, किन्नरकिन्नरी, सुनपङ्खी चरी, चैतवैशाख र बिजुले र बिजुला जस्ता फुटकर कविता, गीत र बालकविताका सातओटा सङ्ग्रह तथा पापिनी आमा, गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, धर्तीमाता, इन्द्रकुमारी, बोराको परदा एवम् गौंथली र गजधम्मे जस्ता आठओटा खण्डकाव्य रचेको पाइन्छ अनि उनको यो कृतिगत परिमाण र महाकाव्यबिनाको कविता विधागत प्रकार परिचालन देवकोटेली रचना परिमाण र कविता विधागत प्रकार व्याप्तिका दृष्टिले सीमित नै ठहर्छ । बालकविता र गीतरचनाको गुणस्तरका दृष्टिले हेर्दा घिमिरेको प्राप्ति देवकोटाका दाँजोमा केही मूल्यवान् अवश्य देखा पर्छन् : तर स्वच्छन्दतावादी धाराको नवप्रवर्तनात्मक ऐतिहासिक योगदान र महाकाव्यात्मक परिमाण र गुणस्तर सम्बन्धी मूल्य घिमिरेका दाँजामा देवकोटाको एक्लो प्राप्ति हो । फुटकर कविताका सन्दर्भमा पनि देवकोटाका चौधओटा सङ्ग्रहको परिमाण र अठासीओटा फुटकर कविताको गुणवत्ता घिमिरेका निमित अप्राप्य नै रहेको छ । खण्डकाव्य कृतिका सन्दर्भमा विचार गर्दा घिमिरेले पाँचओटा (पापिनी आमा, गौरी, राजेश्वरी, राष्ट्र निर्माता र धर्तीमाता) खण्डकाव्यमा उच्च गुणस्तर कायम गर्न सकेको भेटिए पनि देवकोटाका खण्डकाव्यको तिन दर्जनजतिको परिमाण र सवा दर्जन (पन्ध्रओटा) खण्डकाव्यमा स्थापित उच्च गुणवत्ता उनका (घिमिरेका) निमित चुनौतीपूर्ण नै रहेको छ । त्यसैले यी दुई समकालीन कवि (सिद्धिचरण श्रेष्ठ र माधव घिमिरे) ले गरेको योगदान तथा कवितात्मक मूल्यका सापेक्षतामा पनि देवकोटाको कवितात्मक योगदान निकै बढी प्राप्ति पूर्ण र मूल्यवान् ठहर्छ ।
६. निष्कर्ष
लक्ष्मीप्रसाद देवकोटाको उत्तरवर्ती (२०१७ साल यताको) युगमा कुनै एक कविका प्रतिभाको विशेष भूमिकाभन्दा अनेक कविहरूका सामूहिक सृजनात्मक गतिविधिको योगबाटै नेपाली कविता विकसित बन्दै आएको देखिन्छ र त्यस यताको युगमा पनि देवकोटाको प्रतिभा, सृजनकर्म तथा स्वच्छन्दतावादी धाराको लोकप्रियता, उत्प्रेरणा र प्रभावको व्याप्ति भने रहेकै पाइन्छ । जहाँसम्म उनका उत्तरवर्ती कविहरूमध्ये उनीसँग तुलनीय योगदान गर्ने कविको प्रश्न छ त्यसमाथि विचार गर्दा कवि मोहन कोइराला (जीवनकाल वि.सं. १९८३–२०६३) को नाम नै उल्लेखनीय हुन आउँछ । मोहन कोइराला कविका रूपमा देवकोटाको कविता यात्राका उत्तरकालतिर (२००७ सालतिर) उदाएका हुन् र त्यतिखेर उनी (कोइराला) देवकोटेली स्वच्छन्दतावादी क्रान्तिकारी प्रगतिशील धाराकै वृत्तभित्र सृजनरत देखा पर्छन् । कोइरालाले २०१६ सालमा देवकोटाको मृत्यु भएपछि नेपाली कवितालाई स्वच्छन्दतावादी युगबाट प्रयोगवादी युगतर्फ मोड्ने योगदान गरी देवकोटा जस्तै धारागत नवप्रवर्तनात्मक ऐतिहासिक योगदान गरेका हुन् । यसपछि मोहन कोइरालाले देवकोटाको स्वच्छन्दतावादी कविताधाराभन्दा नितान्त भिन्न प्रयोगवादी कविताधारालाई हुर्काउने ऐतिहासिक योगदान गरे अनि मोहन कोइरालाका कविता, सारङ्गी बोकेका समुद्र, हिमचुली रक्तिम छ र आज कसैलाई बिदा गर्नु छजस्ता फुटकर एवम् लामा कविताका सङ्ग्रह सूर्यदान, लेक,पलङ नं. २१, नुन शिखरहरू, चो को पर्वत १, चो को पर्वत २, सिमसारका राजदूत जस्ता लामा कविता, नदी किनाराका माझी (छओटा लामा कविताको सङ्ग्रह), ऋतुनिमन्त्रण र गरलपान (दुईओटा लामा कविताको सङ्ग्रह र एउटा पपुलरको पात (तिनओटा लामा कविताको सङ्ग्रह) जस्ता लामा कविता सङ्ग्रह अनि नीलो मह तथा गजपथ जस्ता उपमहाकाव्यका रचना एवम् प्रकाशनमार्फत् उनले प्रचुर परिमाणात्मक र प्रकार विविध योगदानका साथै प्रयोगवादी उच्च गुणस्तरीय योगदान पनि गरे । उनको यो कवितात्मक योगदान प्रयोगवादी मूल्यका दृष्टिले विशिष्ट किसिमको ठहरिए पनि प्रयोगवादी दुर्बोध्यता, जटिलता, समष्टि प्रभावको रूपमा मात्र अर्थसम्प्रेषण र पाठक निरपेक्षताका दृष्टिले विवादास्पद रह्यो । त्यसैले देवकोटाले नेपाली कविताको विकास प्रक्रियामा गरेको विविधतापूर्ण ऐतिहासिक योगदानका साथै परिमाणप्रचुर, प्रकारविविध र अठासीओटा फुटकर कविता, सवा दर्जन खण्डकाव्य तथा पाँचओटा महाकाव्यमा स्थापित गुणस्तरीय योगदान र उनले मुनामदन लगायतका कृतिमार्फत प्राप्त गरेको अपार लोकप्रियताको मूल्य मोहन कोइरालाका प्रयोगवादी कवितात्मक योगदान र मूल्यभन्दा निकै भिन्न, विशिष्ट र बृहत् देखा पर्छ ।
उपर्युक्त सबै कुरालाई दृष्टिगत गर्दा लक्ष्मीप्रसाद देवकोटाको कवितात्मक योगदान र स्थान उनका पूर्ववर्ती, समवर्ती र उत्तरवर्ती प्रमुख कविहरूका दाँजोमा सर्वाधिक महत्त्वपूर्ण देखा पर्छ । त्यसैले नेपाली कविहरूका सम्बन्धमा अहिलेसम्म गरिएका मूल्याङ्कनपरक/निर्णयपरक समालोचकहरूमा लक्ष्मीप्रसादलाई नै सर्वश्रेष्ठ नेपाली कवि ठहर गरेको पाइन्छ । वास्तवमा उनी नेपाली कविताको स्वच्छन्दतावादी धाराका प्रवर्तक र उन्नायक अग्रणी कवि हुन्, त्यस स्वच्छन्दतावादी धाराको पच्चिस बर्से युग (वि.सं १९९१–२०१६) का निर्माता शिखर कवि हुन् र त्यस धारामा क्रान्तिकारी अग्रगामी रूपान्तरणधर्मी प्रगतिशील सञ्चेतनाको कलात्मक संयोजन गरी उच्च सौन्दर्य–चेतनाको सम्प्रसारण गर्नामा सफल रहेका महाकवि हुन् । उनको यो महाकवित्व नेपाली कविताको उच्च, विशिष्ट र अमर प्राप्ति हो ।
सन्दर्भ सामग्री
अवस्थी, महादेव (२०६१). लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता. काठमाडौं : एकता बुक्स ।
जोशी, कुमारबहादुर (२०४७). देवकोटा कवितायात्राको विश्लेषण र मूल्याङ्कन. काठमाडौं : नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
जोशी, कुमारबहादुर (२०४८). देवकोटाका कविताकृतिको कालक्रमिक विवेचना. काठमाडौं : सिद्धार्थ वनस्थली प्राज्ञिक परिषद् ।
त्रिपाठी, वासुदेव (२०५१), ‘महाकवि देवकोटाद्वारा आफ्नै कविता यात्रामा सङ्कलित, कविताक्रान्ति र उनका उत्तरार्ध कविता यात्राको थालनी एवम् दिशाबोध : एक चर्चा’, गोधुली,वर्षा शरद् ।