डा. विष्णु राई समाजशास्त्रका विद्धान् एवम् साहित्यका विशिष्ट स्रष्टा र मर्मज्ञ व्यक्तित्व हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ भने उनको मुम्बईको तातो, नैनीतालको चिसो शीर्षकको एउटा कविता समेटिएको छ । यस कविताले क्षणिक रमाइलो र नरमाइलकोको तुलना गर्दै क्षणिक रमाइलो मानवतामाथि घातक हुने चिन्तन अभिव्यक्त गरेका छन् ।
सम्पा. |
मूल्यअनुसार माया पोख्छ
स्वागत गर्छ
असङ्ख्य सुन्दरता पोतेर मुम्बई साँझमा
जब असन्तुष्ट हुन्छ
नयाँ पाउभाजी खोज्न निस्कन्छ सिँगारिएर
जुहीको किनाराहरूमा
ताज होटेलको वरिपरि
गेटवेको सामुद्रिक छालहरूमा मुम्बई रात ।
दिनको अर्कै माया रातको अर्कै
बदल्छ मुम्बई माया
भिक्टोरिया सडकको मधुरो बत्तीमा हराउन
सर्वस्व सकेर ब्युँतेको मुहार
अझ मुम्बईको सपना छातीमा गहिरो बोकेर
हिँड्छन् सडकहरू
जुनेली हार टिप्न
रातभरि मेरिलेन किनारमा ।
सडकहरूमा बेच्दैछ सडक
मामफुली, आइसक्रिम, फोटोग्राफी, बेलुन, पानी
मगन्ते, नाटक…
के के हो के मान्छेको सागर
पसिनाले निथ्रुक्क मुम्बई
भरै रातमा मायाको अलख जगाउन
पर समुद्रमाथि पानी जहाजहरू जाँदैछन् कता हिँडेका
जाँड खाएर हल्लँदै ।
नैनीतालको
तालको माया होइन मुम्बईको
उधारो गर्छ नैनीताल कापकापबाट बग्ने मीठो मन
पिउन सकिन्छ बनावटी होइन मुम्बई जस्तो
डाँडाकाँडामा मुफत सुस्ताउन पाइन्छ
नरम माया बिछ्याएर नैनीतालको ।
नौनी नैनीताल घुस्न सक्यो त्यति नरम
जति कप्न सक्यो त्यति नै गरम
मुम्बईजस्तो तातो होइन नैनीतालको चेहरा
थाहै नपाई टाट पार्छ नैनीतालको ताल
मुम्बईको रूपै गर्मी
नैनीतालको चिसो
तालले बेताल बन्नेहरू भेटियो
बाटो खन्नेदेखि वेटरसम्म
मुम्बईलाई भेट्न नसकेर मुम्बईको सडकमा
भौँतारिएको देखियो
र त मेरिलेनको किनारमा अग्लो पर्खाल उभिएको
मृत्युको अर्थ पनि बुझियो ।