शिवप्रसाद जैशी खतिवडा (२०२७ माघ २५, कमलबजार ७, अछाम, सुपुत्र : कुलानन्द जैसी खतिवडा र कलुदेवी खतिवडा) मूलत : व्यवस्थापनतर्फ वित्तशास्त्र र मानविकीतर्फ राजनीतिशास्त्र र शिक्षाशास्त्रतर्फ प्रशासन र सुपरीवेक्षणका विद्यार्थी हुन् । उनका टुरिजम मेनेजमेन्ट (२०६४), बिजनेस अर्गनाइजेसन एन्ड मेनेजमेन्ट (२०६४), विक्रयका आधारभूत सिद्धान्त (२०६४), कस्ट एन्ड म्यानेजमेन्ट एकाउन्टेन्सी (२०६७) जस्ता विषय विज्ञताका कृति प्रकाशन भएका छन् । पछिल्लो समय उनी नेपाली साहित्यका कविता स्रष्टाका रूपमा सम्पदा (२०७७) शीर्षकको कृतिमार्फत सार्वजनिक भएका छन् । जैशी विविध सन्दर्भमा देश विदेशको अनुभव बटुलेका स्रष्टा हुन् । उनले अमेरिका, ओमान, कतार, चीन, जर्मनी, जापान, बङ्गलादेश, भारत, मलेसिया, थाइल्यान्ड, सिङ्गापुर, संयुक्त अरब इमिरेट्स, शृलङ्का आदि विभिन्न देशको भ्रमण गरेर त्यहाँका विकास, स्वास्थ्य, शिक्षा र समाज व्यवस्थाका र राजनीतिका बहुमुखी पक्ष बुझेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘छुट्टिएर बस अक्षरहरू’ शीर्षकको कविता समेटिएको छ । यस कविताले अक्षर र शब्दका माध्यमबाट स्वत्वको खोजी गरेको छ । अक्षरमा स्व रहने र शब्दमा नरहने भाषिक विम्बबाट प्रत्येक मानिसको स्वत्व रहने पक्षलाई देखाइएको छ ।
-सम्पा. |
अक्षरहरूको मिलन
सम्मिलन र पुनर्मिलनले
बन्ने शब्दजालमा कुतूहल छ
डर त्रास र चिटचिटाहट छ
बहुरूपी सिर्जना हुन्छ ।
शब्द शङ्का हो
शब्दले बिरानो देख्छ
यो आकाश यो धर्ती
यो हावा यो पानी
आफ्नै छाया
आफ्नै प्रतिविम्ब
आफ्नै कलमको निभबाट कोरिएका अक्षर
वाचा र बन्धनको त के कुरा
मसी नसुक्दै लुक्न खोज्ने शब्दहरूको खेल
आफ्नै दस्तखतमा अपमान देख्ने छलका भेल
वायु र सास शब्द हुन्
शब्दहरू खेल मैदान हुन्
मनअनुसारका नियम बन्ने खेल
वायु र सासमा भरोसा छैन
त्यसैले,
हे अक्षरहरू हो, चुपचाप छुट्टिएर बस
कतै कहीँ मिलेर नबस ।
अक्षरहरू
तिमीहरू उनियौ, तुनियौ र बुनियौ भने
शब्द बन्छ
शब्दले अर्थ खोज्छ
टार, डाँडा र दरबारमा शब्दकोश रचिन्छ
शब्दकोशहरूमा
थरिथरी अर्थहरूले पाना भरिन्छ
बहस र पैरवी चल्छ
नाम बन्छ
दस्तखत बन्छ
सम्झौता हुन्छ
सहिछाप ठोकिन्छ
त्यसैले अक्षरहरू नमिल
सकेसम्म छुट्टिएर बस ।
अक्षरहरू मौन हुन्छन्
शब्दहरू बोल्छन्
केवल तँ र म को खेलमा
वर्षौ बिताउने भद्र सहमतिको मेलमा
ल त, तँ कसरी अर्थ दिन सक्छस्
तँ, स्वतन्त्र अस्तित्व खै
चन्द्रविन्दुको वैशाखी टेकेर
मसँगको जोरी
हलन्त, शिरविन्दु, चन्द्रविन्दु
आकार, इकार,
उकार, एकार
सहाराविनै अर्थ दिन सक्छु म
बस म एक्लै बोल्न सक्नु म
म हो सङ्ग्ला अक्षरको राजा
केवल म
म अर्थका लागि सहारा चाहिन्छ ?
म पूर्ण छ
उत्पति मैं पूर्ण छ
चुपचाप छुट्टिएर बस अक्षरहरू हो
शब्द नबन
तिमीहरू म अक्षर जस्तै बलिया बनेर
अक्षर बनेरै चिनिन सक ।