![]() -सम्पा. |
अक्षरहरूको मिलन
सम्मिलन र पुनर्मिलनले
बन्ने शब्दजालमा कुतूहल छ
डर त्रास र चिटचिटाहट छ
बहुरूपी सिर्जना हुन्छ ।
शब्द शङ्का हो
शब्दले बिरानो देख्छ
यो आकाश यो धर्ती
यो हावा यो पानी
आफ्नै छाया
आफ्नै प्रतिविम्ब
आफ्नै कलमको निभबाट कोरिएका अक्षर
वाचा र बन्धनको त के कुरा
मसी नसुक्दै लुक्न खोज्ने शब्दहरूको खेल
आफ्नै दस्तखतमा अपमान देख्ने छलका भेल
वायु र सास शब्द हुन्
शब्दहरू खेल मैदान हुन्
मनअनुसारका नियम बन्ने खेल
वायु र सासमा भरोसा छैन
त्यसैले,
हे अक्षरहरू हो, चुपचाप छुट्टिएर बस
कतै कहीँ मिलेर नबस ।
अक्षरहरू
तिमीहरू उनियौ, तुनियौ र बुनियौ भने
शब्द बन्छ
शब्दले अर्थ खोज्छ
टार, डाँडा र दरबारमा शब्दकोश रचिन्छ
शब्दकोशहरूमा
थरिथरी अर्थहरूले पाना भरिन्छ
बहस र पैरवी चल्छ
नाम बन्छ
दस्तखत बन्छ
सम्झौता हुन्छ
सहिछाप ठोकिन्छ
त्यसैले अक्षरहरू नमिल
सकेसम्म छुट्टिएर बस ।
अक्षरहरू मौन हुन्छन्
शब्दहरू बोल्छन्
केवल तँ र म को खेलमा
वर्षौ बिताउने भद्र सहमतिको मेलमा
ल त, तँ कसरी अर्थ दिन सक्छस्
तँ, स्वतन्त्र अस्तित्व खै
चन्द्रविन्दुको वैशाखी टेकेर
मसँगको जोरी
हलन्त, शिरविन्दु, चन्द्रविन्दु
आकार, इकार,
उकार, एकार
सहाराविनै अर्थ दिन सक्छु म
बस म एक्लै बोल्न सक्नु म
म हो सङ्ग्ला अक्षरको राजा
केवल म
म अर्थका लागि सहारा चाहिन्छ ?
म पूर्ण छ
उत्पति मैं पूर्ण छ
चुपचाप छुट्टिएर बस अक्षरहरू हो
शब्द नबन
तिमीहरू म अक्षर जस्तै बलिया बनेर
अक्षर बनेरै चिनिन सक ।